Monday, April 25, 2011

आइ सि यु मा युद्धको अनुभुति



आइ सि यु को ड्युटी कहिलेकाहि मलाई एउटा युद्धभुमी जस्तो लाग्नेगर्छ। एकछिन अघि आफूसँग राम्ररी बोलीरहेको, कुरा गरिरहेको विरामी एकछिनमा अचेत भएर सुतिरहेको हुन्छ। जसरी युद्धभुमीमा कुन गोलीको शिकार कुन साथी हुने हो थाहा हुदैंन, त्यसरी नै आई सि यु मा कुन बेलामा कुन विरामीलाई कुन रोगको के जटिल अवस्था (complications) आउने हो, कुन विरामीले जीवनको अन्तिम संघर्ष गर्ने हो सजिलै भन्न सकिदैंन। अस्पतालका अरु वार्डहरुमा र इमरजेन्सीमा पनि विरामी नमर्ने होइनन्, तर अस्पतालकै सबैभन्दा सिकिस्त विरामीहरु राखिने आई सि यु मा दिनहुँ जस्तो विरामीहरु मर्न थालेपछि भने मलाई यस्तो सोचाइ आउन थालेको हो।

मृत्यु जीवनको एउटा शास्वत सत्य हो। तर दैनिक जीवनको भागदौड, समय र परिवर्तनसँगै दौडने होडबाजीमा हामी धेरैले यो सत्यलाई बिर्सिरहेका हुन्छौं। मृत्यु हाम्रो लागि नबोलाइकन आएको, खबरै नगरी आएको शत्रु जस्तो हुनजान्छ। वास्तवमा यो त जीवनको शुरुवातसँगै जोडिएर आएको हुन्छ।

डाक्टर नर्सहरु कठोर हृदयका हुन्छन्, अर्काको दुःख सजिलै बुझ्न सक्दैनन्, विरामीको मृत्युले पनि उनीहरुलाई केहि असर गर्दैन भनेर धेरैले भन्ने गरेको पाएको छु। यो केहि मात्रामा सत्य पनि हो। हामी केहि मात्रामा कठोर हृदयका हुन्छौं र हाम्रो पेशाले हामीलाई यस्तो बनाएको हुन्छ। हरेक दिनजस्तो जीवन र मृत्युको लडाईंको प्रत्यक्षदर्शी बन्नुपर्ने हाम्रो पेशामा समयले हामीलाई कठोर हृदयको बनाइदिएको हुन्छ। विरामीको मृत्यु विरामीको परिवारको लागि सबैभन्दा बढि दुःखको घटना हुन्छ, तर उसको उपचारमा संलग्न डाक्टर र नर्सहरुका लागि पनि त्यो एउटा नमिठो कुरा हुन्छ। त्यो उनीहरुको प्रयास असफल भएको संकेत हुनेगर्छ। तर असफलताको त्यही एक सम्झनालाई काखी च्यापेर बसिरहन सम्भव हुदैंन। त्यस्ता नमिठा यादहरु संगालेर अगाडि हिडिरहनुपर्छ, त्यसबाट शिक्षा लिएर भविष्यमा अघि बढिरहनुपर्छ। त्यसैले त एउटा विरामीलाई बचाउन गरिएको अथक, तर असफल प्रयासका पसिनाहरु सुक्न पनि नपाई हामी उसलाई उसको आफन्तको जिम्मा लगाई अर्को विरामीको सेवाको लागि तयार हुन्छौं। यसलाई हाम्रो हृदयको कठोरताको रुपमा नहेरियोस्। हामी समयले दिएको शिक्षाले गर्दा, जीवन र मृत्युको हुने युद्धको दैनिक जस्तो प्रत्यक्षदर्शी बन्दा बन्दा र अर्को त्यस्तै जिन्दगीको लडाईको लागी सहयोग गर्नुपर्ने कर्तव्यका कारणले गर्दा केहि कठोर भएका हुन्छौं।

मेडिकल लाईफको शुरुवातका दिनहरुमा अर्थात् इन्टर्नसीपको बेलामा विरामीको मृत्यु धेरै ठूलो कुरा हुन्थ्यो। त्यस्तो घटनाको त्यो भन्दा पहिले प्रत्यक्ष अनुभव नभएर पनि होला, जीवन र मृत्युको लडाईंलाई र त्यसमा मृत्युको जीतलाई त्यति नजिकबाट नहेरिएकोले पनि होला, विरामीको मृत्युमा कति साथीहरु कुनामा बसेर मन अमिलो पारेर आँसु खसाल्ने गर्थे र दिनभर ढोका थुनेर कोठामा बस्ने गर्थे। तर समयसँगै आएको परिपक्वता भन्नुपर्छ यसलाई, आज हामी यसलाई सहजरुपमा लिनसक्छौं, जीवनको शास्वत सत्यलाई हामी सजिलै स्विकार्न सक्छौं। कृपया यसलाई हाम्रो कठोरताको रुपमा नलिइयोस्।

यस्ता घटनाहरुले हामीलाई हाम्रो limitation को ज्ञान दिलाएको हुन्छ, हाम्रो धरातल देखाएको हुन्छ। कोहिकोहि विरामी र उनका आफन्तहरुले भन्ने जस्तो डाक्टर एउटा भगवान कदापी हैन। उसले त मात्र मानव शरीरको बारेमा पढेको हुन्छ, रोगहरुलाई चिनेको हुन्छ, कसरी उपचार गर्ने सिकेको हुन्छ। मानिसको जीवन र मृत्‍युको साँचो त अरु कसैको हातमा हुन्छ। तर पनि हामी हिप्पोक्र्याटिक ओथ (Hippocratic Oath) लिँदा भनेको जस्तै मानव जीवनलाई सम्मान गर्दै त्यसको बचावका लागि विरामीको आत्मनिर्णयको अधिकार, आफ्नो अवस्थाबारे जान्न पाउने अधिकार र गोपनियताको अधिकारलाई आफ्नो कर्तव्य मान्दै यो युद्धभुमीमा आफ्नो ज्ञानको हतियार र सहयोग गर्ने भावनाको शक्ति लिएर अघि बढीरहने छौं। 
बाँकी पढ्नुहोस् >>

Friday, April 22, 2011

मेडिकल जाँचहरु किन गरिन्छ? यसका आवस्यकता र औचित्यहरु



म जनमानसमा रोग जति जटिल भयो, त्यति नै जटिल त्यसका जाँचहरु हुन्छन् भन्ने सोचाइ रहेको पाइन्छ। प्रायजसो विरामी र उसका परिवारले रोगको पहिचान र निदानका लागि डाक्टरहरुलाई कुनै पनि कसर बाँकी नराखी हुनसक्ने सबै जाँच र उपचार गर्न दवाव दिने गर्छन्। उपचारका लागि भन्नु राम्रो कुरा हो तर रोगको जाँच भनेकै रोगको उपचार हो भन्ने जसरी आफूले देखेसुनेको भरमा यो समस्याको लागी यो, त्यो समस्याको लागी त्यो जाँच गर्ने भनेर डाक्टरहरुलाई दवाव दिनु राम्रो होइन। हाम्रो समाजमा जति धेरै जाँच गरायो त्यति राम्रो डाक्टर रहेछ भन्ने, जति महंगो जाँच गरायो त्यति राम्रो उपचार भएको मान्ने सोचाइ धेरैमा रहेको पाइन्छ। र यदि डाक्टरले आफ्नो क्लिनिकल ज्ञानका आधारमा रोगको पहिचान गरी उपचार शुरु गर्न खोजेमा उसको डाक्टरी ज्ञान र उपचारलाई नै शंकाको दृष्टिले हेर्ने गरिन्छ। यस्तो समस्या मानसिक स्वास्थ्यको क्षेत्रमा अझ बढि हुन्छ, जहाँ रोगको पहिचान र उपचार प्राय: क्लिनिकल समस्याबारे विरामी र उसका परिवारसँगको कुराकानी र विरामीको जाँच आधारमा गर्ने गरिन्छ।

मेडिकल स्कुलमा रोगको पहिचानका लागि विरामीसँग गरिने समस्याबारेको पुछताछ (हिस्ट्री/ History लिनु) र विरामीको क्लिनिकल जाँच (Physical exam/ डाक्टरले गर्ने विरामीको जाँच) लाई बढि प्राथमिकता दिनुपर्छ भनेर सिकाइन्छ र वास्तवमा त्यो ठिक पनि हो किनभने धेरैजसो रोगहरु क्लिनिकल ज्ञानको राम्रो प्रयोगबाट नै पत्ता लगाउन सकिन्छ। तर व्यवसायको नाममा हरेकजसो चोक र गल्लीमा खुलेका ल्याबहरुले हाम्रो वर्तमान मानसिकता र अवस्थालाई दर्शाउँछ। यी व्यापारिक संस्थाहरुले चिकित्सा शास्त्रमा भनिएको आधारमा भन्दा पनि व्यावसायिक लाभका लागि विभिन्न जाँचहरु गर्ने गराउने गर्छन्। अनि विरामी र रोगको उपचार नभएर जाँचको रिपोर्टको उपचार शुरु हुन्छ। तपाईको जन्डिस थोरै बढेको छ, यो औषधी खाएर पछि फेरी जाँच्न आउनु होला। तपाईको युरिक एसिड थोरै बढि देखिन्छ, यो औषधी खानुहोला। तपाईको पेट दुखेको रहेछ, त्यसैले एउटा भिडियो एक्सरे र इन्डोस्कोपी गर्नुपर्छ। आदी आदी

त्यसोभने यी जाँचहरु के साच्चिकै आवश्यक छन् त? साधारण सस्तो औषधी पनि किन्न नसक्ने अवस्था भएको बेलामा के यस्ता जाँचहरु गराइराख्नु आवश्यक हुन्छ? साधारणतया यस्ता जाँचहरुले निम्न लिखित कुराहरुमा सहयोग पुर्याइरहेका हुन्छन्।
   १.      रोगको पहिचान (डायग्नोसिस/ Diagnosis) मा,
   २.      रोग र विरामीको अवस्थाको जानकारी दिनमा,
   ३.      मेडिकल स्कुलहरुमा अध्ययन र अनुसन्धानमा

रोगको उपचारका लागि पहिला रोगलाई चिन्नु र बुझ्नुपर्छ। त्यसका लागि विरामीसँग समस्याका बारेमा सोधपुछ गर्ने, विरामीको क्लिनिकल जाँच गर्ने गरिन्छ र माथि भनिएजस्तै धेरैजसो अवस्थामा यो रोगको पहिचानका लागि या त काफी हुन्छ या यो यो रोगहरु हुनसक्छन् भनेर अनुमान लगाउन सकिन्छ र त्यसका आधारमा आवश्यक जाँचहरु गरेर उपचार शुरु गर्न सकिन्छ। क्लिनिकल ज्ञानका आधारमा मात्रै रोगको पहिचान गर्नसकिएको अवस्थामा अन्य जाँचहरु गराइरहनुले विरामी र उनको परिवारमा अनावश्यक आर्थिक भार पर्नुका साथै विरामीलाई अनावश्यक खतरामा पनि पारिरहेको हुन्छ। जस्तै- एक्सरे, सिटी स्क्यान गर्दा विरामीलाई केहि मात्रामा भएपनि हानिकारक विकिरण पर्ने गर्छ। त्यस्तै इन्डोस्कोपी गर्दा खानानलीमा घाउ हुनसक्ने, प्वाल पर्नसक्ने थोरै भएपनि खतरा हुन्छ। त्यसैले जाँचहरु गराउँदा फाइदा बेफाइदा राम्रोसँग विचार गरेर मात्रै गर्ने गर्नुपर्छ, जसले गर्दा विरामीलाई अनावश्यक खतरा पनि नपुगोस्, अनावश्यक खर्च पनि नहोस् र रोगको बारेमा पनि जानकारी मिलोस्।

रोगको पहिचान गरेर उपचार शुरु गरीसकेपछि पनि रोगको अवस्थाको बारेमा जानकारी पाउन, रोगको हुनसक्ने जटिल अवस्थाहरु आएको छ छैन, रोगले भविष्यमा कुन रुप लिनसक्छ (प्रोग्नोसिस/ prognosis) भन्न जाँचहरु गर्नुपर्ने हुन्छ। जस्तै- मधुमेह रोगको पहिचान भएर उपचार शुरु गरिसकेपछि पनि नियमित रुपमा रगतमा सुगरको मात्रा हेरिरहनुपर्ने हुन्छ। तर यदि कुनै जाँचले विरामीको उपचारमा वा अवस्था बारे जानकारी दिन केहि मद्दत पुर्याउदैन भने त्यो जाँच गरेर विरामी र परिवारलाई अनावश्यक सास्ती दिनु मेडिकल इथिक्समा पर्दैन। किनभने यो पेशा व्यापार गर्ने ठाँउ होइन।

कहिलेकाहि जाँचहरु अध्ययन र अनुसन्धानका लागि गर्नुपर्ने हुन्छ। विरामीको अवस्था सुधारको लागि, रोगको उपचारका लागि ती जाँचहरुको रिपोर्टले केहि फरक पार्दैन तर भविष्यमा अन्य विरामीमा हुने यस्तै रोगहरुको उपचारको अनुसन्धानका लागि यस्ता जाँचहरुले फाइदा पुर्याइरहेका हुन्छन्। यस्ता जाँचहरु गर्दा यो कुराको जानकारी विरामीलाई गराउनुपर्छ र विरामीबाट त्यसको लिखित स्वीकृति (written consent) लिएको हुनुपर्छ। साथै विरामीलाई त्यसको आर्थिक भार पर्नु हुदैंन।

यी माथिका अवस्थाहरु बाहेक अन्य उदेश्यले गर्ने गराइने जाँचहरु अनइथिकल (unethical) हुन्। आजको टेक्नोलोजीको दुनियामा डाक्टरहरु जाँचहरुमा यति भरपर्न थालेका छन् कि उनीहरु विरामीसँगको सामान्य कुराकानीले पत्ता लाग्ने रोगहरुमा पनि अनावश्यक जाँचहरु गराउने गर्छन्। विरामीहरुसँगको छोटोमिठो कुराकानी, सान्त्वनाका केहि शब्दहरु, न्यानो स्पर्शले उनीहरुको समस्या कम गर्न र उपचार गर्न कति सहयोगी हुनसक्छ भन्ने कुरा बिर्सदै गइरहेका छन्। कति नाम चलेका डाक्टरहरुका बारेमा मैले सुनेको छु उनीहरु विरामीलाई राम्ररी हेर्दा पनि हेर्दैनन्, कुरा गर्दा पनि गाली गरेको जसरी गर्छन् र खालि जाँचहरुका रिपोर्टका आधारमा औषधी लेख्छन्। त्यस्तै पैसाको लागि डाक्टरहरु अनावश्यक जाँचहरु गराउँछन् भनेर कति आरोपहरु लाग्ने गर्छन्, जुन पूर्णरुपमा असत्य पनि होइन। विरामी र उनका परिवारसँग राम्रोसँग कुरा नगर्नु, राम्रो तरिकाले कुरा बुझाएर क्लिनिकल जाँच नगर्नु, अन्य जाँचहरुको किन आवश्यक छन्, तिनका रिपोर्ट के आयो, त्यसले विरामीको अवस्थाबारे के जनाउँछ भन्ने कुरा नबुझाउनु, उपचारका के के विकल्पहरु छन्, रोगको र औषधी उपचारको के कस्ता जटिल अवस्था खराबीहरु आउनसक्छन् भनेर जानकारी नदिनु र समग्रमा विरामीको उपचारमा विरामी र उनका परिवारलाई सहभागी नगराई रोबोटले जस्तो जाँचहरुको रिपोर्ट हेर्दै औषधी मात्रै लेख्ने गर्नाले यस्ता आरोपहरु लाग्ने गर्छन्।

जुनसुकै अस्पतालमा दिनहुँ देखिने भीडबाट अनुमान लगाउन सकिन्छ कि डाक्टरहरु कति व्यस्त हुन्छन् भनेर। तर यो कुराले विरामीसँग गर्नुपर्ने कुराकानी, जानकारी र सान्त्वनाका शब्दहरुको वार्तालापमा वाधा पार्नु हुदैंन। र यसको लागि उपभोक्ता समूह विरामी र उनका परिवारमा पनि चेतनाको आवश्यकता पर्छ। किनभने रोगको पहिचान र उपचारका लागि जाँचहरु गर्नैपर्छ भन्ने मानसिकताले राम्रो गर्छु भन्ने डाक्टरहरुलाई पनि अनावश्यक जाँचहरु गराउन दवाव पर्ने गर्छ।

(यो लेख ११ अप्रिल २०११ को 'दि काठमाडौं पोस्ट' मा प्रकाशित डा. रवि शाक्यले लेख्नु भएको 'Medical Investigations: their relevance in treatment' लेखका आधारमा लेखिएको हो। उहाँ हाल मानसिक रोग विशेषज्ञको रुपमा मानसिक अस्पताल, लगनखेल मा कार्यरत हुनुहुन्छ। यो लेख लेख्न सहयोग पुर्‍याउनु भएकोमा उहाँलाई धेरै धेरै धन्यबाद्)

बाँकी पढ्नुहोस् >>

Tuesday, April 5, 2011

मेडिकल भाषामा ‘-itis’ ‘आइटिस’ जोडिएका शब्दहरु



मेडिकल भाषामा ‘-itis’ ‘आइटिस जोडिएका शब्दहरुले इन्फ्लामेसन (Inflammation) लाई जनाउँछ। जुन कुराको पछाडी यो ‘itis’ जोडिएको हुन्छ, त्यसैको इन्फ्लामेसन भएको भन्ने बुझिन्छ। इन्फ्लामेसन भनेको शरीरको कुनै पनि अंगको संक्रमण चोट वा सामान्य बाहेकका अन्य अवस्थाप्रति शरीरको प्राकृतिक प्रतिकृया हो यसमा उक्त अंग तातो हुने (Redness), रातो हुने (Heat), सुन्निने (Swelling), दुख्ने (Pain) र सामान्य रुपमा काम गर्न नसक्ने (Loss of function) हुन्छ। यो शरीरको संक्रमणसँग लड्ने कोषहरु (विभिन्न प्रकारका सेता रक्तकोषहरु) बाट निस्कने विभिन्न रसायनहरुको कारणले गर्दा हुन्छ।

केहि ‘itis’ जोडिएका शब्दहरु:-
एपेन्डिसाइटिस (Appendicitis) – एपेन्डिक्स (Appendix)को इन्फ्लामेसन
कोलेसिस्टाइटिस (Cholecystitis) – पित्तथैली (Gall bladder)को इन्फ्लामेसन
प्यान्क्रियाटाइटिस (Pancreatitis) – प्यान्क्रियाज (Pancreas)को इन्फ्लामेसन
मेनिन्जाइटिस (Meningitis) मेनिन्जेज/ Meninges (मष्तिस्कलाई ढाकेर राख्ने बाहिरी पातलो तह)को इन्फ्लामेसन
इन्सेफलाइटिस (Encephalitis) - मष्तिस्कको इन्फ्लामेसन
ब्रोन्काइटिस (Bronchitis) – ब्रोन्कस/ Bronchus (एक प्रकारको श्वासनली)को इन्फ्लामेसन
फोलिकुलाइटिस (Folliculitis) – फोलिकल/ Follicle (रौं वा कपालको जरा भएको भाग)हरुको इन्फ्लामेसन
प्रोस्टाटाइटिस (Prostatitis) - प्रोस्टेट ग्रन्थीको इन्फ्लामेसन
मास्टाइटिस (Mastitis) - स्तनको इन्फ्लामेसन
मायोकारडाइटिस (Myocarditis) - मुटुको मांसपेशीको इन्फ्लामेसन
पेरीकारडाइटिस (Pericarditis) – पेरीकारडियम/ Pericardium (मुटुको बाहिरी झिल्ली)को इन्फ्लामेसन
प्लुराइटिस (Pleuritis) - प्लुरा/Pleura (फोक्सोको बाहिरी झिल्ली)को इन्फ्लामेसन
कोन्ड्राइटिस (Chondritis) - कोन्ड्रियम/Chondrium (कुरकुरे हाड)को इन्फ्लामेसन
साइनोभाइटिस (Synovitis) साइनोभियम/ Synovium (जोर्नीमा भएका हाडहरुको सतहलाई ढाक्ने झिल्ली)को इन्फ्लामेसन
डरमाटाइटिस (Dermatitis) - छालाको इन्फ्लामेसन
कोलाइटिस (Colitis) – कोलोन/ Colon (ठुलो आन्द्रा)को इन्फ्लामेसन
भास्कुलाइटिस (Vasculitis) भेसल/ Vessel (रगतका नलीहरु)को इन्फ्लामेसन
ग्लोमेरुलोनेफ्राइटिस (Glomerulonephritis) - मृगौलाको इन्फ्लामेसन
सिस्टाइटिस (Cystitis) - पिसावको थैलीको इन्फ्लामेसन
भजाइनाइटिस (Vaginitis) - योनीको इन्फ्लामेसन
सर्भिसाइटिस (Cervicitis) – सर्भिक्स/ Cervix (पाठेघरको मुख)को इन्फ्लामेसन
इन्डोमेट्राइटिस (Endometritis) - पाठेघरको भित्री सतहको इन्फ्लामेसन
साल्पीन्जाइटिस (Salpingitis) - फेलोपियन ट्युव/ Fallopian tube (पाठेघरबाट डिम्बाशयतिर जाने नली)को इन्फ्लामेसन
उफोराइटिस (Oophoritis) - डिम्बाशयको इन्फ्लामेसन
बालानाइटिस (Balanitits) – ग्लान्स पेनिस/ Glans penis (लिंगको टुप्पो)को इन्फ्लामेसन
इपीडिडाइमाइटिस (Epididymitis) – इपीडिडाइमीस/ Epididymis (अण्डकोषबाट निस्कने नलीको पहिलो भाग)को इन्फ्लामेसन
ओरकाइटिस (Orchitis) - अण्डकोषको इन्फ्लामेसन
आरथ्राइटिस (Arthritis) - जोर्नीको इन्फ्लामेसन
साइनोसाइटिस (Synositis) - साइनसहरुको इन्फ्लामेसन
हेपाटाइटिस (Hepatitis) - कलेजोको इन्फ्लामेसन
इसोफेजाइटिस (Esophagitis) – इसोफेगस/ Esophagus (खानाको नली)को इन्फ्लामेसन
ग्यास्ट्राइटिस (Gastritis) - आमाशयको इन्फ्लामेसन
केराटाइटिस (Keratitis) कोर्निया/ Cornea (आँखाको अगाडीको पारदर्शी भाग)को इन्फ्लामेसन
ब्लेफाराइटिस (Blepharitis) - आँखाको ढकनी (Eyelids)को इन्फ्लामेसन
आइराइटिस (Iritis) – आइरिस/ Iris (आँखाको रंगीन भाग)को इन्फ्लामेसन
अप्टिक न्युराइटिस (Optic neuritis) - अप्टिक नर्भ/ Optic nerve (आँखाको नसा)को इन्फ्लामेसन
फ्लेबाइटिस (Phlebitis) भेन/ Vein (शिरा - एक प्रकारको रगतको नली)को इन्फ्लामेसन
थाइरोइडाइटिस (Thyroiditis) - थाइरोइड ग्रन्थीको इन्फ्लामेसन
टन्सीलाइटिस (Tonsillitis) - टन्सीलहरुको इन्फ्लामेसन
ग्लोसाइटिस (Glossitis) - जिब्रोको इन्फ्लामेसन
जिन्जीभाइटिस (Gingivitis) - गिजाहरुको इन्फ्लामेसन
ओटाइटिस एक्सटर्ना/ मेडिया/ इन्टर्ना (Otitis externa/ media/ interna) – बाहिरी, बीचको र भित्री कानको इन्फ्लामेसन
एओर्टाइटिस (Aortitis) – एओर्टा (मुटुबाट रगत बाहिर लाने सबैभन्दा ठुलो रक्तनली)को इन्फ्लामेसन
लिम्फान्जाइटिस (Lymphangitis) - लिम्फाटिक च्यानलहरुको इन्फ्लामेसन
ओस्टाइटिस (Ostitis) - हाडहरुको इन्फ्लामेसन
युरेथ्राइटिस (Urethritis) – युरेथ्रा/ Urethra (पिसाबको नली)को इन्फ्लामेसन
बाँकी पढ्नुहोस् >>

Saturday, April 2, 2011

यसैले मलाई यो पेशा मन पर्छ/ पर्दैन



हिजोसम्म यो लेखको शिर्षक यसैले मलाई यो पेशा मनपर्छ भन्ने थियो तर आज मैले यसलाई यसैले मलाई यो पेशा मन पर्छ/ पर्दैन मा बद्लिदिएको छु। उसलाई होस आएर लगभग पूरै ठिक बनाएर हिजो मात्रै वार्डमा सारिएको थियो र म यो लेख लेख्ने बारे सोच्दैथिए। 

ऊ निकै खुशी थियो र हामी सबै पनि खुशी थियौं, उसलाई ठिक बनाएर विदा गर्न सकेकोमा। उ लगभग १ हप्ता अघि पूरै अचेत अवस्थामा आएको थियो। एक डेढ घण्टा देखि लगातार हातखुट्टा, जीउ काम्ने, जीब्रो टोक्ने (छारेरोगमा जस्तो सिजर लक्षणहरु) देखिएको उ अस्पताल आउँदा पूरै अचेत थियो। एम्पुलका एम्पुल डाइजेपाम (Diazepam) दिदा पनि उसको सिजर नियन्त्रणमा आइरहेको थिएन। सलाईनमा नै मिसाएर लगातार रुपमा रगतको नलीबाट औषधी चलाउँदा पनि बेलाबेलामा उसलाई सिजर आइरहेको थियो। उसले स्टाटस इपिलेप्टिकस (Status epilepticus - लगातार रुपमा सिजर आएर बेहोस् भएको अवस्था) को हरेक क्राइटेरिया पूरा गर्थ्यो। आइ सि यु मा आइपुग्दा पनि हरेक सानो स्पर्शसँगै उसको सिजर देख्न सकिन्थ्यो। त्यसैले एनेस्थेसियाको सरलाई बोलाएर उसलाई पूरै बेहोस बनाई भेन्टिलेटरमा राख्ने निर्णय गरियो। प्रोपोफोल (Propofol - बेहोस् बनाउने एक प्रकारको औषधी) को शुरुवातसँगै उ अचेत भयो र मसल रिलाक्सेण्ट (Vecuronium) दिएर उसलाई इन्टुबेट (Intubate) गरी भेन्टिलेटरमा राखियो। इन्टुबेट भन्नाले ट्युव मुखबाट छिराएर श्वासनली सम्म पुर्याउनुलाई भनिन्छ। 

उसको सिजर बल्ल नियन्त्रणमा आयो तर के कारणले त्यस्तो भएको भनेर यसै भन्न सकिने अवस्था थिएन। हुनसक्ने सबै खालका रोगहरुको लागि औषधी चलिरहेको थियो तर पनि उ ठिक भएर पूर्ण स्वस्थ हुने सम्भावना कमैले देखेका थिए। उसको परिवारलाई पनि त्यहि अनुसार काउन्सेलिङ गरिएको थियो। सिटी स्क्यानमा ब्रेन इडिमा (मष्तिस्कको सुजन भएको अवस्था) मात्रै देखिएको थियो। सीएसएफ (CSF/Cerebrospinal Fluid-ढाडबाट निकालिएको पानी) को रिपोर्टबाट पनि यहि नै हो भन्ने स्थिति थिएन। औषधीले पूर्ण बेहोस उसको हरेक २-२ घण्टामा सुत्ने पोजिसन बद्लदिनुपर्थ्यो, हरेक ३-३ घण्टामा नाकबाट लगाइएको पाइपको सहायताले खाना खुवाउनुपर्थ्यो। बेलाबेलामा आउने सिजरको लागि औषधी दिन, उसको शरीरको कहिलेकाहिको चालबाट उसको भेन्टिलेटरको पाइप छुट्ला कि भनेर उसलाई दिनरात लगातार हेरिरहनु पर्थ्यो। यसको लागि उसको उपचारमा संलग्न नर्सहरुको डेडिकेसनलाई मान्नैपर्छ। हामी डाक्टरहरुले त यो रोग हो, यो औषधी दिने, यसरी उपचार गर्ने भनेर भन्छौं तर वास्तवमा ग्राउण्ड लेभलमा काम गर्ने भनेको त नर्सहरुले नै हो, जो डाक्टर भन्दा विरामीको बढि नजिक पनि हुन्छन्। यसरी डाक्टर, नर्स सबैको संयुक्त प्रयासको प्रतिफल स्वरुप लगभग ४-५ दिनपछि प्रोपोफोललाई घटाएर पछि मिडाजोलाम (Midazolam) मा परिवर्तन गरियो र उसको सिजर पनि नियन्त्रण भइसकेको थियो। उसले आँखा हेर्न थालेको थियो। विस्तारै उ पूर्ण रुपमा होसमा आउँदै थियो। भेन्टिलेटरबाट निकाल्नेको अघिल्लो रात उ पूरै होसमा भएकोले उसलाई श्वासको ट्युवले धेरै अफ्ठ्यारो पारेको थियो र हरक्षण त्यो निकालिदिनु भनेर इसारामा भन्थ्यो।

भोलिपल्ट विहान उसको ट्युव निकाल्दैथियौं। ड्युटी सकिएपनि म उसको ट्युव निकालिएको हेर्न र निकालेपछिको उसको स्वर सुन्न बसिरहेको थिए। उसको ट्युव निकालियो तर धेरै दिनसम्म राखिएको कारणले गर्दा भोकल कर्ड (Vocal cord) मा अफ्ठ्यारो भएकोले हुनसक्छ, उसको स्वर बसेको थियो। तैपनि उसको अरु केहि न्युरोलोजीकल असरको लक्षणहरु देखिएका थिएनन्, यो धेरै खुशीको कुरा थियो। लगातारको सिजरले पछि ठिक भएपनि केहि न्युरोलोजीकल असरहरु देखिन्छ कि भन्ने हामीलाई डर थियो, तर त्यसो भएन। भोलिपल्ट ड्युटीमा जाँदा उ मजाले आफ्नो परिवार र नर्सहरुसँग बोलिरहेको थियो। त्यो देखेर साह्रैं खुशी लाग्यो र म पनि उसँग बोले। आउँदा अचेत अवस्थामा भएको भएर उसले मलाई चिन्न सकेन, मैले आफ्नो परिचय दिएँ र हामी एकछिन कुराकानी गर्यौं। केहि दिनपछि पूर्णरुपमा स्वस्थ भएर उ सबैलाई बाईबाई गर्दै, सबैलाई धन्यवाद दिदैं, घर जाने बेलामा भेट्न आउँछु भन्दै व्हिल चेयरमा विदा भयो।

यो थियो, उसको कथा, मलाई मेरो पेशा मनपर्ने एउटा कारणको कथा। विरामी ठिक भएर जाँदाको अवस्था, आफ्नो र पूरा टिमको परिश्रमको फल पाउँदाको अवस्था साह्रैं नै रमाइलो हुन्छ। तर सधैं आफूले भनेको र आफूले चाहेको जस्तो कहाँ हुन्छ र? उसलाई विदा गरेपछि म यो लेख लेख्ने सोच्दै थिएँ तर भोलीपल्ट नै अर्को घटना भयो। त्यसले मेरो यो लेखको शिर्षक र पूरा लेख नै बद्लिदियो।

सि ओ पी डी (COPD) को एकजना वृद् विरामी २-३ दिनदेखि भेन्टिलेटरमा हुनुहुन्थ्यो। उहाँ पूरै होसमा त हुनुहुन्थ्यो, तर फोक्सोको पुरानो रोगका कारणले रगतमा अक्सिजन पुर्याउन नसक्दा उहाँलाई भेन्टिलेटरमा राखिएको थियो। उहाँलाई भेन्टिलेटरबाट निकाल्ने हरेक प्रयास विफल भइरहेको थियो। हरेक पटक त्यस्तो प्रयास गर्दा उहाँको श्वासप्रश्वासको गति धेरै नै बढेर जान्थ्यो र निकाल्न सकिदैनथ्यो। कति दिनसम्म त्यसरी भेन्टिलेटरमा राख्ने, सुधार हुने हो वा होइन, सुधार हुने भए कति समयसम्म लाग्ने हो जस्ता धेरै अनुत्तरित प्रश्नहरु विरामीको परिवारको साथसाथै हामीमा पनि थियो।

डाक्टरलाई रोग र रोगीको बारेमा सबै कुरा थाहा हुनुपर्ने हो जस्तो यहाँहरुलाई लाग्नसक्छ। तर डाक्टर पनि एउटा मान्छे नै हो, फरक यत्ति हो कि उसले रोगहरु र मानव शरीरको बारेमा पढेको, जानेको हुन्छ, त्यसको बारेमा अनुभव लिएको हुन्छ। विभिन्न अनुसन्धानहरुका आधारमा, काम गरेको अनुभवका आधारमा यति प्रतिशतमा राम्रो हुन्छ, यति प्रतिशतमा नराम्रो असर देखिन्छ, यति प्रतिशतको मृत्यु हुने सम्भावना हुन्छ भनेर भन्न सकिन्छ तर यहि विरामीलाई यस्तो हुन्छ भनेर भविष्यवेत्ताको जस्तो ग्यारेन्टी दिएर भन्न भने सकिदैंन।

त्यसैले निर्णय लिन धेरै गाह्रो थियो। तैपनि कन्सल्टेन्टहरु र विरामीको परिवारको आपसी सल्लाहमा भेन्टिलेटरबाट निकाल्ने निर्णय भयो र उहाँलाई भेन्टिलेटरबाट निकालियो। उहाँलाई दिउँसो निकालिएको थियो र मेरो नाइट ड्युटी थियो। निकालेदेखि नै उहाँको श्वासको गति बढि थियो। तैपनि केहि सुधार होला कि भन्ने आसमा उहाँलाई त्यसरी नै राखिएको थियो। तर रात बढ्दै जाँदा उहाँको श्वासको गति पनि बढ्दै गयो र रगतमा अक्सिजनको मात्रा घट्दै गयो। अन्तमा परिवारलाई खबर गरेर फेरी भेन्टिलेटरमा राख्नुपर्ने जानकारी गराएर उहाँलाई फेरी भेन्टिलेटरमा राखियो। भेन्टिलेटरमा राखेपछि उहाँलाई केहि सजिलो भयो र रगतमा अक्सिजनको मात्रा पनि केहि राम्रो भएर आयो। तर कुन बेला के हुन्छ भनेर कसले भन्नसक्छ र विहानीको झिसमिसे उज्यालो नहुदैं एक्कासी मुटुले काम गर्न छोड्यो र सिपीआर शुरु गरियो। तर लामो समय देखिको रोगहरु, उमेरले कमजोर भएको शरीर आदी कारणले उहाँलाई बचाउन सकिएन। अनि गर्नुपर्ने भयो, सबैभन्दा नमिठो काम – ‘विरामीको मृत्यु भएको कुरा परिवारलाई भन्ने। त्यो पनि त्यो विहानीपख। उहाँको छोरा आँखा मिच्दै आउनुभयो र मैले सबै कुरा बताइदिए। हुन त यस्तो अवस्था आउनसक्छ भनेर मेन्टल्ली प्रिपेर भएकोले पनि होला, उहाँमा खास रियाक्सन देखिएन। तैपनि दिनको शुरुवातमा विरामी गुमाउनु पर्दा मलाई नराम्रो लागेको थियो। र यो कुराले मेरो लेख नै परिवर्तन गरिदियो।

हरेक सिक्काको दुई पाटा हुन्छ भनेको जस्तै यो पेशाको पनि राम्रो, नराम्रो, खुशी हुने, दु:खी हुने दुवै पक्षहरु छन्। हामीले राम्रोको लागि प्रयास गर्ने हो, खुशी दिने र खुशी हुने प्रयाश गर्ने हो, तर सधैं सफल भइन्छ भन्ने ग्यारेन्टी छैन। तैपनि यो प्रयाश कहिले छोड्नु हुदैंन, किनकी जिन्दगी भनेकै फलको आशा नराखी कर्म गर्नु हो।

बाँकी पढ्नुहोस् >>