Monday, December 8, 2014

लिजोनेर्स डिजिज (Legionnaires disease)

लिजोनेर्स रोगको बारेमा भ्रमहरुको बारेमा डा. चिरायु रेग्मी ले आफ्नो फेसबुक वालमा लेख्नुभएको कुराहरु:-

लिजोनेर्स डिजिज (Legionnaires disease) को बारेमा पत्रिकामा यसरी समाचार आइदियो कि, पाठकहरुले सामाजिक संजालमा पानी 'उमालेर' मात्र खान समेत सुझाब दिए।

यी भ्रमहरुको खिलाफमा केहि तथ्यहरु-

१. लिजोनेर्स डिजिज- यो एक किसिमको निमोनिया हो। लिजोनेल्ला भन्ने व्याक्टेरियाले गर्दा यो रोग लाग्ने गर्छ। निमोनियाको कारणको रुपमा यो व्याक्टेरिया नेपालमा पहिलो पटक पत्ता लागेको हो।  
२. यो रोग संक्रमित/फोहोर पानी खाएर सर्दैन- बरु जीवाणुयुक्त पानीको बाफ/फोहरालाई साससंगै फोक्सो भित्र तानियो भने सर्छ- AC को प्रयोग हुदा, अस्पतालमा nebulizer/respirator द्वारा, आधुनिक shopping mall मा तरकारीलाई ताजा राख्न प्रयोग गरिने पानीको स्प्रेद्वारा र कहिलेकाही sauna/shower मा नुहाउदा सर्न सक्छ। यी किसिमले प्रयोग गर्ने पानीलाई रासायनिक माध्यमले प्रसोधन गरे यो रोग फैलनबाट रोक्न सकिन्छ।
३.  रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका बृद्ध, दिर्घ धुम्रपान गरेका र फोक्सोमा पहिलै अरु समस्या भएकाहरुलाई सजिलै सर्छ, अरुमा सर्न गार्हो छ।
४.  यसको उपचार नेपालमा सजिलै उपलब्ध छ। मान्छेबाट मान्छेमा सर्दैन, त्यसैले ठूलो महामारी फैलने सम्भावना कम छ।

बाँकी पढ्नुहोस् >>

Saturday, December 6, 2014

डक्टरी वास्तवमा के हो? पेशा कि समाजसेवा?

क्टरी पेशा हो कि समाजसेवा हो भन्ने कन्फ्युजन मेरो दिमागमा बेलाबेलामा चलीरहन्छ। हाम्रो समाजलाई नि डक्टरी समाजसेवा हो र हुनुपर्छ भन्ने भ्रम छ। यहाँ गरिव विरामीले उपचार नपाउदा, प्राइभेट अस्पतालमा उपचारको चर्को शुल्क तिर्नुपर्दा डक्टरी पेशालाई सेवाबाट व्यापारमा बद्लेको भन्ने आरोपहरु लाग्ने गर्छ। सुन्दरमणी दिक्षित सरको पछील्लो लेख (शिर्षक नै चित्त नबुझेकोले मैले यहाँ राखिन) ले मेरो मनमा फेरी यो प्रश्न उठाइदियो। हुन त वहाँको लेख सस्ता शब्दहरु चयनका कारण सर्वसाधारणमा चर्चित रह्यो भने मेडिकल क्षेत्रका साथीहरुमा चै निकै नै विवादस्पद बन्न पुग्यो।

सुन्दरमणी सरलाई मैले वी.पी.को. स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको दिक्षान्त समारोहमा र पाटन अस्पतालको एउटा ग्रान्ड राउन्डमा सुनेको थिए। जहिले पनि उहाका शब्दहरु ठाडो तर विचारहरु सुन्दर हुन्छन्, धेरैजसो मेरा विचारहरु नि उहाकोसँग मिल्छन्। तर पछील्लो पटक प्रकाशित वहाँको लेख मलाई अलि चित्त बुझेन, फेसबुकको नेपाली डक्टरहरुको ग्रुप 'DSON' मा पनि उहाको लेखको विरोध भईरहेको छ। लेखमा पोखिएका उहाका विचारहरु भन्दा मेरा केही फरक धारणा छन् तर शब्द चयनप्रती चै मेरो आपत्ती छ।

"डाक्टरी पेशा सबभन्दा सम्वेदनशील हो, शिक्षक केही मात्रामा सम्वेदनशील हुनुपर्छ, वकिलले त सम्वेदनशील हुने कुरै छैन।" 
पेशा भनेको सबै उत्तिकै जिम्मेवारीपूर्ण हुन्छन् र हरेक पेशाकर्मीले आफ्नो जिम्मेवारी, महत्व बुझेको हुनुपर्छ र त्यसै अनुरुप निभाउनु पनि पर्छ। “वकिलले सम्वेदनशील हुने कुरै छैन” भनेर के भन्न खोज्नुभएको होला? उसको पनि आफ्नो ‘क्लाइन्ट’सँगको सम्बन्ध हुन्छ, उसैप्रती उसको जिम्मेवारी हुन्छ। पेशाकै आधारमा मान्छे ठुलोसानो, जिम्मेवारी बढीकम भन्ने हुँदैन भन्ने मलाई लाग्छ। गाडी चालकहरुको आफ्नो कामप्रतीको असम्वेदनशीलता, हेलचेक्राइले धेरैको ज्यान गएको हामीले सुनी, पढिरहेका हौ।

“कुनै महिलाले डक्टरको अगाडि लुगा खोल्छिन्, त्यत्रो विश्वास गर्छिन्, यो विरामीले डक्टरलाई दिएको इज्जत हो। हामीलाई समाजले कत्रो इज्जत दियो, जुन कुराले गर्दा आज #########################, यत्रो इज्जत कुन चाँही पेशाले पाउछ?” 
यो उदाहरण आँफैमा नपच्दो छ। हरेक पेशामा सेवा दिने र सेवा लिने बीच आफ्नै प्रकारको विश्वासको सम्बन्ध हुन्छ। कुनै होटलमा गएर तपाईं ढुक्कसँग खाना खान सक्नुहुन्छ, खानामा केइ मिसाएको छ कि विष हालेको छ कि भनेर शंका गर्नुहुन्न। आफूले अपराध नै गरेको छ भने पनि आफ्नो वकिलसामू सबै कुरा खुलस्त भन्नुहुन्छ। चुनावको बेला नेताहरुलाई जिताएर हामी आफ्नो देशै उनीहरुलाई सुम्पेका हुन्छौ। कपाल काट्न बस्दा धारिलो चक्कु लिएको नाईसामू आफ्नो घाटी थापेर चुपचाप ढुक्कसँग बस्नुहुन्छ। यी सबै विश्वासकै उदाहरणहरु हुन्, संसार विश्वासमै अडेको छ। त्यसैले विरामीले आफूसामू नाङिएर जाच्न दिनु डक्टरको इज्जत हो भन्ने उदाहरण अपाच्य लाग्यो। यो त डक्टर- विरामीको सम्बन्धको, विश्वासको एउटा पाटो हो। अनी नभुल्नुपर्ने अर्को कुरा के हो भने सबै डक्टरले विपरित लिङको विरामीको जाच गर्दा विरामी पुरुष भए पुरुष र विरामी महिला भए महिला सहयोगी राख्नुपर्छ र राख्ने पनि गर्छन्। यो महिला, पुरुष डक्टर दुवैको हकमा लागू हुन्छ। सर्वसाधारणले यो बुझ्नु जरुरी छ र आफ्नो जाचको बेलामा विरामीले त्यसको माग राख्न पाउछन्।

अर्को मन नपरेको उदाहरण हो- “डक्टर खान नपाउने हुँदैनन्, खाए लाएको परिवारबाट आएको हुन्छ, झन खाएलाएको हुन्छ, त्यसैले उ सम्वेदनशील हुनुपर्ने, सभ्य हुनुपर्ने।“
भावको हिसाबले उहाका कुरा ठिकै हुन् तर ४०-५० लाख खर्च गरेर एमवीवीएस पढेर, १ करोडसम्म खर्च गरेर एमडी सकेपछी अब म यो समाजलाई के दिनसक्छु, देशलाई के दिनसक्छु भनेर सोच्नुपर्छ भनेर तपाईं वा यो समाजले सोच्छ भने त्यो दिवास्वप्न बाहेक केही हुँदैन। हो छात्रव्रितीमा पढेको डक्टरसँग यो आशा राख्नु ठीक हो, देशले पढाएको छ भने त्यो गुन तिर्नु उस्को जिम्मेवारी नि हो। मन्त्रालयबाट छात्रव्रितीमा एमबीबीएस गरेका प्राय: सबैले ‘बोन्ड’ अनुसार गाउगाउमा गएर सेवा नि गरिरहेकै छन्। तर सबै डक्टरलाई एउटै पोल्टामा हालेर “तैले समाजसेवा नै गर्नुपर्छ, तैले देश छोड्न पाउदैनस्, अमेरिका, बेलायत उड्न पाउदैनस्” भन्नु चै हिटलरीपना हो। कि चै देशले, सरकारले उनिहरुको लागि राम्रो सम्भावनाका बाटोहरु बनाउन सक्नुपर्छ हैन भने आफ्नो क्षमता अनुसारका राम्रा मौकाहरु खोज्दै उ कही पनि जान स्वतन्त्र हुन्छ। हो, तपाईंलाई देश छोड्न मन नलाग्ला, मलाई नलाग्ला, अरु केहीलाई नलाग्ला, तर डक्टर भयो भन्दैमा सबैलाई यो भावना आउनुपर्छ भन्ने केही हुँदैन। र त्यो भावना छैन भन्दैमा उ नराम्रो, कम सम्वेदनशील भन्न मिल्दैन। उहाकै शब्दमा “डाक्टरमा अलिकति समाजसेवा, राष्ट्र सेवा, जनताको सेवाको भावना आएन भने डाक्टरी पेशामा सम्वेदनशीलता रहँदैन।“ यही कुरा सबै पेशाकर्मीहरुबाट खोजिनुपर्ने हैन र? कर्माचारी, नेता, इन्जिनियर, प्रहरी, मिडियाकर्मी आदी सबैबाट। यो प्रकारको देशप्रेम, समाजसेवीभाव किन डक्टरहरुसँग मात्र खोजिन्छ भनेर मैले अझैसम्म बुझ्न सकेको छुइन।

डक्टरी पेशा हो कि समाजसेवा?
यो पेशामा गरिने विरामीको सेवा, उपचारको हिसाबले धेरैलाई समाजसेवा हो कि भन्ने लाग्नसक्छ। तर आखिरमा यो पेशा नै हो। सरकारी अस्पतालमा तलव लिन्छन् अनि सेवा दिन्छन्, प्राइभेटमा ओपिडी शुल्क, कन्सल्टेसन शुल्क लिन्छन् अनि सेवा दिन्छन्। हरेक पेशाको आफ्नै जिम्मेवारी हुन्छ र यो पेशाको जिम्मेवारी भनेको विरामीको उपचार हो।
वरिष्ठ पत्रकार रविन्द्र मिश्रले भने झै ‘पेशाको जिम्मेवारी भित्र रहेर गरिने कुनै पनि काम समाजसेवा हुँदैन।‘ डक्टरहरुको काम नै विरामीको उपचार गर्नु हो, त्यसैले कसैको उपचार गरेर निको बनाउनुलाई समाजसेवा भनेर न त समाजले हेर्नु ठीक हुन्छ न त डक्टर आँफैले। त्यो कामको लागि उस्ले शुल्क लिएको हुन्छ र त्यही अनुसार बनेको डक्टर-विरामीको सम्बन्ध भित्र रहेर सबै उपचारका कामहरु गरिन्छ। यसलाई "मैले तपाईंको यो ठीक गरिदिए, तपाईंलाई बचाइदिए" भनेर डक्टरले फूर्ती लगाउनु ठीक हैन, उस्ले त मात्र आफ्नो काम गरेको हो, जिम्मेवारी निभाएको हो।
पूरानो समयमा डाक्टरहरुले गरेका उपचार, अप्रेसनहरुले ठीक भएको, बाच्ने सम्भावना नभएकाहरुको पनि रोग निको भएको देखेर अचम्म मानेर भगवानको दर्जा दिएर सम्मान गर्ने गर्थे। त्यो एक हिसाबले त्यो समयको लागि ठिकै होला। तर समय परिवर्तन भएको छ, यसको माने यो हैन कि अहिले डक्टरहरुले त्यसो गर्दैनन्, तर उस्ले गर्ने कुनै पनि कुरा चमत्कार हैन, दैवी हैन, उस्ले मात्र आफ्नो जिम्मेवारी निभाएको हो, आफूले सिकेको, जानेको कुरा गरेको हो भन्ने सबैलाई थाहा भईसकेको छ। त्यसैले न डक्टरले आफूलाई चमत्कार गर्ने भगवानको रुपमा हेरेर घमन्ड गर्न सुहाउछ न त विरामी, उस्को परिवार र समाजले त्यो दर्जा दिन मिल्छ। बरु एउटा सहयोगी साथीको रुपमा डक्टर-विरामीको सम्बन्धमा एउटै लेभलमा काम गर्नु अहिलेको समय सापेक्ष हुन्छ।

प्राइभेट अस्पतालमा डक्टरले पैसा नभएको विरामीको उपचार गर्दिन भन्न पाउने कि नपाउने?
सुन्दा नराम्रो लाग्ला, तर त्यो डक्टरको अधिकारको कुरा हो। पहिलो कुरा, जल्ले जे भनोस् प्राइभेट अस्पताल पैसा कमाउनकै लागि खोलिएका हुन्, उनीहरु महँगो शुल्क लिन्छन् र त्यै अनुसारको सेवा दिन्छन्, सरकारलाई कर बुझाउछन्। त्यसैले प्राइभेटमा कुनै पैसा नभएका विरामीको उपचार हुन्छ भने त्यो डक्टर वा अस्पतालको निर्णय अनुसार हुन्छ, कसैले ‘यो गर, त्यो गर’ भनेर कर लाउन पाउदैन। प्राय: प्राइभेट अस्पतालहरुले आफ्नो पब्लिसिटीको लागि त्यसो गरिरहेका हुन्छन्। दोस्रो कुरा, गरिव विरामीहरुका लागि सरकारी अस्पतालहरु छन्, त्यहा सरकारले थोरै शुल्कमा र नि:शुल्क पनि सेवा दिने व्यवस्था मिलाएको हुन्छ। पैसा अभाव भएका विरामीहरु सरकारीमा जानुस् न, प्राइभेटमा गएर महँगो लियो भनेर भन्नु उचित हुँदैन। तर यहाँ के कुरा महत्वपूर्ण छ भने सरकारी अस्पतालहरुलाई राम्रो, सुद्रीढ बनाउने र प्राइभेट अस्पतालहरुलाई शुल्क, सन्ख्यामा नियन्त्रण गर्ने, मनिटरिङ्ग गर्ने काम स्वास्थ्य मन्त्रालयले गर्नुपर्छ।

मलाई अचम्म लाग्ने कुरा चै के भने लाखौ करोडौ खर्च गरेर डक्टर बन्न चै दिने, अनी खर्च भएको पैसा काम गरेर उठाउछु भन्दा चै पेशा सेवाको हो, विरामीको गोजीमा प्वाल पर्यो भन्ने? कि उसलाई त्यत्रो खर्च गरेर पढ्नै नदिनुपर्ने वा भनौ पैसा लिएर डक्टरी पढाउनै नदिनुपर्ने, यी यत्रा महङा प्राइभेट मेडिकल कलेजहरु खोल्नै नदिनुपर्ने। अनि आउछ मेडिकल शिक्षामा बढ्दै गएको प्राइभेट मेडिकल कलेजहरुको हालीमुहाली, यसैलाई नियन्त्रण गरिनुपर्छ भन्ने गोविन्द केसी सरको आन्दोलन। यदी मेडिकल शिक्षा यही गतीमा महँगो हुँदै जाने र प्राइभेट मेडिकल कलेजहरु बढ्दै जाने हो भने हामीले सरकारी अस्पतालमा काम गरेर थोरै तलवमा चित्त बुझाउने डक्टर मुश्किलले भेट्टाउने छौ।

अन्तमा कुरा के भने डक्टरी एउटा पेशा हो, यसमा लागेकाहरुको आफ्नै खालको जिम्मेवारी हुन्छ, डक्टर-विरामी सम्बन्धमा रहेर यिनले काम गर्छन्, तर यो समाजसेवा हैन, कसैले आफ्नो काम बाहेक समाजसेवा गर्छ भने त्यो उसको व्यक्तिगत रुची हो, गरेको राम्रो हो (समाजसेवा त हरेक पेशाकाले गरेको राम्रो हो) तर सबैले त्यसो गर्नुपर्छ वा गर्लान् भनेर आस राख्नु चै मूर्खता मात्रै हो। अनि समस्याको जरा भनेको सरकारी अस्पताल, सरकारी मेडिकल कलेजहरुलाई सुधार नगरिनु, प्रोत्साहन नगरिनु र प्राइभेट अस्पतालहरु, प्राइभेट मेडिकल कलेजहरुलाई च्याउ सरह उम्रन दिनु हो। यो समस्याको उर्लदो भेललाई आँखा चिम्लेर यही वातावरणमा हुर्किएका डक्टरहरुमा समाजसेवीको भाव आएन, पैसाको पछी मात्रै दौडिए, विरामीको गोजीमा प्वाल पारे भन्नुको कुनै तुक छैन।

बाँकी पढ्नुहोस् >>