Sunday, August 16, 2015

कान्तिपुर सम्पादकिय

०७२ साउन १५ मा हाम्रो पत्रीकाको पहिलो पृष्‍ठमा प्रकाशित 'अप्रेसन गर्दा पेटमै पाइप छाडियो' समाचारबाट सम्पूर्ण चिकित्साक्षेत्रको ध्यानाकर्षण भएको थाहा हुन आएको छ। उक्त समाचारको शिर्षक र समाचारले पनि अप्रेसनमा विरामीको शरीरमा पाइप बिर्सिएर छोडिएको र त्यसमा अप्रेसन गर्ने चिकित्सकको चरम लापरवाही थियो भन्ने अर्थ लाग्ने भएतापनि पछी सम्बन्धित क्षेत्रका विज्ञहरुसँग सल्लाह गर्दा त्यो पाइप (डीजे स्टेन्ट) म्रिगौलाको पत्थरीको अप्रेसनपछी केही समयको लागि विरामीको शरीरमा राखिनु उपचारकै एउटा भाग रहेको खुल्न आएको छ। यसरी सम्बन्धित क्षेत्रका विज्ञसँग परामर्श नगरी समाचार छाप्दा गलत अर्थ लाग्न गएको र त्यसले गर्दा चिकित्साक्षेत्रको संवेदनशीलतामा पर्न गएको असर प्रति हामी क्षमाप्रार्थी छौं। नेपालमा मेडिकल जर्नालिज्मको अवधारणाको खासै विकास नभएको कारणले चिकित्सा विज्ञान सम्बन्धी समाचारहरु प्रकाशित गर्दा विषयको बुझाईमा फरक पर्न गएको हो, विगतमा पनि यस्ता केही घटना भएका थिए। अत: अब भविष्यमा सकेसम्म यस्ता घटनाहरु नदोहोरिउन् भन्ने उद्देश्यतर्फ हामी सचेत छौं र आजको मितिदेखी यस पत्रीकामा चिकित्सा क्षेत्र सम्बन्धी कुनै पनि समाचार वा लेख प्रकाशित गर्नु अघी सम्बन्धीत क्षेत्रका विज्ञसँग परामर्श लिएर मात्र छाप्ने निर्णय गरेको जानकारी गराउन चाहन्छौं।

चिकित्सा क्षेत्र भनेको सम्बेदन्शील क्षेत्र हो। यसमा बढीरहेको अन्धाधुन्दको व्यापारीकरणले लापरवाहीका घटनाहरु नि नबढेका भन्न सकिन्न। चिकित्सकहरुले चाहेर वा नचाहेर विरामीलाई पर्याप्त समय दिन नसकेका कारणले पनि रोग, उपचार पद्दतीका बारेमा विरामी र विरामीका आफन्तहरुलाई बुझाउन नसक्दा यो घटना भएको हुनसक्ने हाम्रो ठम्म्याई छ। त्यसैले चिकित्सकहरुको तर्फबाट पनि औषधी मात्र नलेखी आफ्ना विरामीहरुलाई पर्याप्त समय दिएर बुझ्ने गरी काउन्सेलिङ भएमा मिसकम्युनिकेसनले हुन जाने यस्ता समस्याहरु धेरै मात्रामा कम हुने थियो।

यो घटनाबारे सहि जानकारी दिनुभएर हामीलाई सुध्रने मौका दिनुभएका सबै चिकित्सकहरु अनि नेपाल मेडिकल काउन्सिल र नेपाल मेडिकल एसोसिएसनलाई पनि धन्यवाद दिन चाहन्छौं। साथै चिकित्सा लगायत सबै क्षेत्रका राम्रा कुरा अनि विकृति, विसंगतिलाई पनि हामी सधैं नै समाजको अघी सहिरुपमा ल्याउन आफूलाई चुस्त राखिरहनेछौं भनी प्रण गर्दछौं।

आज दिउसो झुपुक्कै निदाइएछ, सपनामा कान्तिपुरको यस्तो सम्पादकिय पो पढ्दै रहेछु। झसंग ब्युझें, अब चिसो पानीले मुख धुनुपर्‍यो। :D :D :D
बाँकी पढ्नुहोस् >>

Friday, August 14, 2015

अप्रेसन गर्दा शरीरभित्र रड छोडियो...

बीरबहादुर थापा(नाम परिवर्तन)भाँचिएको खुट्टा लिएर हजारौं खर्च गरी गाँउबाट शहरको ठुलो भनाउदो अस्पतालसम्म आईपुगेका थिए। लाखौं शुल्क तिरेर अप्रेसन पनि भयो, उनलाई निको हुने आस पनि थियो। तर अप्रेसनपछी पनि घाऊ निको हुनुको सट्टा झन पाक्दै गयो। घर जान्न भन्दाभन्दै नि डाक्टरले जबर्जस्ती डिस्चार्ज गरिदिए। अत्यधिक दुख्न थालेपछी अर्कै अस्पतालमा देखाउन जाँदा एक्सरे गरेपछी पो थाहा भयो उनको भाचिएको खुट्टा भित्र त अप्रेसनको बेला लामो रड नै छुटेको रहेछ। रडको साथमा थुप्रै नटबल्टुहरु नि छुटेका रहेछन्। डाक्टरको चरम लापरवाहीका कारण विरामीको रोग निको हुनुको साटो झन पिडा थपिएको छ। मेडिकल क्षेत्रमा यस्तो हदैसम्मको लापरवाहीको अन्त कहिले होला? सम्वेदनशीलताको कमी, व्यापारीकरणको कारणले यस्ता लापरवाहीहरु दिनानुदिन बढ्दै गईरहेका छन्, कहिले मुटुको भल्भ फेर्ने भनेर फलामका टुक्रा मुटुभित्र छोडिदिन्छन्, कहिले चालकलाई कडा एन्टीबायटिक दिएर दुर्घटना गराइदिन्छन्, कहिले अप्रेसन गर्नै नपर्ने रोगलाई नि अप्रेसन गर्नुपर्छ भनेर जबर्जस्ती पैसा असुल्ने गर्छन्।

माथिको घटना एउटा काल्पनिक व्यङ्य मात्र हो भनेर बुझिसक्नुभयो होला। तर यही तरिकाले स्वास्थ्य सम्बन्धी खबरहरुमा विना कुनै मेडिकल ज्ञान जथाभावी लेख्दै जाने हो भने भविष्यमा यस्ता खबर पनि नछापिएला भन्न सकिन्न। आफूलाई नेपालको नम्बर एक पत्रीका भन्ने पत्रीकामा छापिएको समाचार पढेपछी म लगायत धेरै मेडिकल क्षेत्रका साथीहरुलाई यस्तै लागेको छ। 'अप्रेसन गर्दा पेटमै पाइप छाडियो' जस्तो सनसनीपूर्ण शिर्षक देखेपछी के रहेछ भनेर पढ्दा पत्रकार महोदयले अरुको बेइज्जती गर्न खोज्दा आफ्नै धोती फुस्केको थाहा नपाएका रहेछन्। म्रिगौलाको ढुङ्गाको अप्रेसनपछी जुन पाइप छोडियो भनेर लापरवाहीको नाम दिइएको छ, विचरा उहाँलाई के थाहा कि त्यो उपचारकै एउटा प्रकृया हो भनेर। र ठूला पत्थरहरुको अप्रेसन गर्दा सबै ढुङ्गा एकैपटकमा ननिस्कन पनि सक्छ वा एकपटक अप्रेसन गर्‍यो भन्दैमा अब कहिले पनि पत्थरी हुँदैन भन्ने पनि हैन। जहाँसम्म यो कुराहरु विरामी वा विरामीका आफन्तहरुलाई किन भनिएन भन्ने सवाल छ, अप्रेसन गर्ने सर्जनले ती कुराहरु अवश्य भनेको हुनुपर्छ। या त उनीहरुले त्यसलाई सिरियस्ली लिएनन् वा बुझ्न चाहेनन्। हाम्रो समाजमा प्राय: विरामीहरु अस्पताल पुगेपछी सबै जिम्मा डाक्टर, नर्सको हो, रोगबारे उपचार पद्दती बारे बुझ्न नै चाहदैनन्। अनि हामी डाक्टरहरु पनि यी सबै कुरा बुझाउनलाई झन्झट मान्छौं।

पत्रकारिता भनेको संवेदनशील पेशा हो, हातमा कलम बोक्नु भनेको समाजलाई सहि बाटो देखाउने, गलत कुरालाई सबैको सामु ल्याउने जिम्मेवारी हो। तर न्युज ब्रेक गर्ने नाममा, आफ्नो बिक्री बढाउने नाममा समाचारलाई तोडेर, मोडेर, थपेर, घटाएर सनसनीपूर्ण बनाएर पिरो, अमिलो चाट जसरी बेच्ने पीत पत्रकारिता बढ्दो छ। मनोरन्जन क्षेत्रका तातापिरा गफहरु लेखे जस्तै मेडिकल क्षेत्र जस्तो संवेदनशील विषयलाई हल्का पाराले लेखिदिनाले समाजमा नराम्रो असर परेको छ। हो, मेडिकल क्षेत्रमा पनि सुधार गर्नुपर्ने धेरै कुराहरु छन्, तिनका बारेमा कुराहरु बाहिर आओस्, सबैले थाहा पाउन् भन्ने हामीलाई पनि लाग्छ। जस्तो विना रजिष्ट्रेसन, विना कुनै पढाई झोले डाक्टर बनेर दुनियाँ ठगिरहेका छन्, मान्छेका अंगहरुको साइज ग्यारेन्टीका साथ बढाइदिने, घटाइदिने भनेर तपाईंकै पत्रपत्रीकाहरुबाट प्रचारप्रसार गरिरहेका छन्, विना प्रेस्क्रिप्सन अन्धाधुन्द एन्टीबायटिक र अनावश्यक औषधीहरु चलाएर एकातिर पैसा नि लुट्दै, अर्कोतिर जनताको स्वास्थ्यमा नि खेलवाड गर्दैछन्। मेडिकल क्षेत्रमा पनि अनइथिकल व्यापारीकरण बढेको छ। राम्ररी खोज्ने हो भने यस्ता धेरै लापरवाहीका घटनाहरु देख्न पाईन्छन् तर त्यसलाई कमसेकम साधारण मेडिकल ज्ञान भएको आँखाले हेर्नुपर्छ। जसरी मलाई पत्रकारिता आउँदैन, त्यसरी नै पत्रकार साथीहरुलाई मेडिकल ज्ञान छैन भन्ने लाग्छ। तर आफूलाई थाहा नभएको कुरा लाखौं पाठकहरुले पढ्ने पत्रीकामा लेख्दा त सम्बन्धित विज्ञहरुसित परामर्श गरेर पो लेख्नुपर्थ्यो। त्यसो गर्नुभएको भए तपाईंको लेख स्तरिय पनि बन्थ्यो र समाजमा स्वास्थ्य सम्बन्धी ज्ञान पनि बढ्न जान्थ्यो। बरु भन्नुस् त्यस्तो सहयोग चाहिन्छ भने, हामी सकेसम्म सहयोग गर्न तयार छौं।

तपाईंको कलममा कति तागत छ भन्ने कुरा तपाईंको लेख कति पढियो, कति शेयर भए, मान्छेले कस्ता धारणा बनाए, कस्ता कमेन्ट गरे, त्यसैले देखाउछ। तर आफ्नो सस्तो लोकप्रियताको लागि विना अनुसन्धान लेखिएका यस्ता लेखले समाजमा मेडिकल क्षेत्रप्रती हेर्ने नजरमा कस्तो असर गर्छ, सम्बन्धीत डाक्टरको आत्मसम्मानमा कस्तो चोट पुग्छ भन्ने कुरा कहिले ख्याल गर्नुभएको छ? हुन त अरुको सम्वेदनामा पर्ने असर बारे पत्रकारितामा पढाईन्न होला। तैपनी सत्यतथ्य जे जस्तो हो त्यो त्यसरी नै अघी ल्याउनु भनेर त तालिम दिइएकै होला।

हुन त यो घटना पहिलो हैन, यस्ता संवेदनहिन पत्रकारिता पहिले पनि देखी आएको हो र केही वर्षदेखी बढ्दो छ। यो कुरा पत्रकारिता क्षेत्रका जिम्मेवार व्यक्तिहरुले बुझिरहनुभएकै होला। केही हप्ताअघी एउटा विरामीको फेसबुक स्टाटसमा लेखिएको कुरालाई सम्बन्धित अस्पताल र डाक्टरसँग एकपटक पनि बुझ्दै नबुझी केही अनलाइन न्युजपोर्टलहरुले सन्सनीपूर्णरुपमा छापेका थिए। सोसल मिडियाको जमानामा यस्तो कुरा आगो जसरी फैलिहाल्यो, हुन त मान्छेहरु पनि छापिएका हरेक न्युज पत्याइहाल्छन्, पूर्वाग्रही कमेन्ट गरिहाल्छन् र शेयर पनि गरी हाल्छन्। अनि त्यो समाजको ठुलो हिस्साको धारणा बन्न जान्छ। कुरै नबुझी एकतर्फीरुपमा लेख्नुको साटो सम्बन्धित डाक्टरसँग बुझेर विषयबारे ज्ञान लिएर लेख्न बसे आफ्नो नि ज्ञान बढ्थ्यो, समाजमा नि सहि सन्देश जान्थ्यो।

लगभग ४ वर्ष अघी पनि पेटको अप्रेसन गर्दा मिर्गौला निकालियो भनेर केही अब्बल भनाउदा पत्रपत्रीकाहरुले हंगामा गरेका थिए। त्यसको बारेमा मैले त्यती बेला नै एउटा ब्लग लेखेको थिए, यहाँ हेर्नुस्- 'कान्तिपुर सम्पादकीय सम्बन्धमा...' यो लेख सम्बन्धित पत्रीका, पत्रकारसम्म पुग्यो कि पुगेन थाहा भएन तर त्यसपछी न त त्यो घटना बारे केही समाचार आए, न सच्याएर केही लेखियो नै। मैले त्यती बेला नि लेखेको थिए- "कागले कान लग्यो भन्दा कान छाम्न छोडेर कागको पछी दौडने १०० मीटरका धावक जस्ता पत्रकारहरुको दौडने र दौडाउने बानी केहि समय अघिको "अनुजा काण्ड"ले पनि प्रस्टै देखाएको थियो। भलै कान्तिपुरले पछी त्यसमा क्षमा माग्यो। तैपनि पत्रिका र पत्रकार भनेका अझै पनि सबैभन्दा भरपर्दा माध्यम हुन्। उनीहरुको आवाज सबैले सुन्छन् र धेरैले पत्याउछन् पनि। त्यसैले त हामी उनीहरुको व्यवहारमा र रिपोर्टिङमा धावकियपन भन्दापनि सत्यता र सम्वेदनशीलताको आशा गर्छौं।" तर यो प्रव्रितीमा अझै केही परिवर्तन आएको रहेनछ, बरु झन बढेको झै लाग्दैछ।


यस्ता घटनाहरुमा हामी डाक्टरहरु पनि या त फेसबुकमा आफ्नो ग्रुपमा पोस्ट गरी पत्रकारहरुलाई एकतर्फी गाली मात्र गरेर बस्छौं, वा यस्ताहरुसँग के बोल्नु भनेर चुप बस्दिन्छौं। नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एसोसियसन जस्ता मेडिकल क्षेत्रको लागि काम गर्ने भनिएका संस्थाहरुले पनि खै किन हो यस्ता कुराहरुमा आवाज नउठाएको? यो विषयमा सम्बन्धित पत्रकार र पत्रीकाको ध्यानाकर्षण होस् र माफी सहित घटनालाई सहिरुपमा सच्याएर फेरी लेखियोस् भन्ने मेरो माग छ। हुन त नेपालको एक नम्बरको पत्रीकाले हाम्रो कुरा के मान्ला र। यसमा एनएमसी, एनएमए ले केही पहल गर्छ कि भन्ने आस छ। साथै आउँदा दिनहरुमा मेडिकल क्षेत्रको सुधारको लागी, मेडिकल जर्नालिज्मको विकासको लागि डाक्टर र पत्रकारहरु मिलेर संयुक्तरुपमा केही काम होस् भन्ने पनि चाहना राख्छु।  
बाँकी पढ्नुहोस् >>

Wednesday, August 12, 2015

स्वास्थ्यसम्बन्धी भ्रमहरुसँगको लडाईं


मेरो विरामीलाई पखाला लागेको छ, उसको जीउ तातो खालको हो, भित्र हपहप पोल्छ रे, उस्लाई सलामी चढाइदिनुपर्‍यो डाक्साब।" विरामी कुर्सीमा बस्ने वित्तिकै विरामीको श्रीमानले भने। सलामी!!” म झसंग भएँ, तर पछी मैले बुझें, उनले सलाइनलाई सलामी भनेका रहेछन्। "बुवा, पहिले विरामीलाई जाच्छु अनी चाहिने भए लगाम्ला नभए किन लगाउने, हुन्न?" तर उनी आफ्नै सुरमा पखाला लाग्या छ, भित्री ज्वरो छ, सलामी त जसरी नि चाहिन्छ भन्दै थिए। मैले विरामी जाँचे, पखाला हिजोदेखी मात्रै थियो, प्रेसर ठिकै थियो, पानीको कमी भईसकेको थिएन। त्यसैले मैले जीवनजल र जिंक चक्की मात्रै लेख्दै भनें, पखालाले गर्दा शरीरमा पानीको कमी भएको छैन, प्रेसर नि ठिकै छ, जीवनजल मुखैबाट खाको राम्रो। उनीहरुले मानेनन्। मैले सम्झाउन खोजें, “वान्ता भको छैन भने मुखैबाट खानु राम्रो हुन्छ, सलाइन महंगो नि हुन्छ, जीउमा घोच्नु नि पर्‍यो। तैपनी उनीहरुले मानेनन्, जसरी नि सलामी लगाउनु पर्‍यो भने। अन्तत: मैले हारेर सलाइन लगाइदिनु भनेर भन्नैपर्‍यो।

मान्छेहरुका स्वास्थ्यसम्बन्धी अचम्मका विश्वास, भ्रमहरु हुन्छन्। खै कसरी बन्छ त्यस्ता भ्रमहरु। धेरैजसो त हामी स्वास्थ्यकर्मीहरुले नै राम्रोसँग नबुझाएर, गलत अर्थ लाग्नेगरी बुझाएर वर्षौंदेखी बनेका विश्वासहरु हुन्, जसको जरा धेरै भित्रसम्म गढेको हुन्छ। त्यसैले त त्यो भ्रम तोड्नको लागि मेरो केही मिनेटको प्रयास पर्याप्त भएन। किनकी उनले वर्षौं देखी मानिआएको, विश्वास गरिआएको गाउँका डाक्टरले त्यसै भनेका थिए होलान्, गाउँमा सबैले त्यही मान्छन् होला, सलाइन चढायो भने ताकत आउछ, सलाइन चढायो भने भित्रको तातो निको हुन्छ, चिसो हुन्छ। कसैले त सलाइन चढाएको कारणले चिसो बढेर निमोनिया भयो पनि भन्छन्।

अस्ति भर्खर एउटी गर्भवती महिलालाई पाठेघरमा पानी कम भयो भनेर सुत्केरीको लागि भर्ना गरेको विरामीले "हामीलाई त बच्चाको पानी कम छ, ठुलो अस्पताल गएर सलाइन चढाउनुपर्छ भनेर गाउँबाट पठाको" भनेर भन्दैथिन्। हाँसो पनि लाग्छ, अचम्म नि लाग्छ, रिस पनि उठ्छ। विचरा विरामीहरुसँग हैन, हामी आँफैंसँग, हामी सबै तहका स्वास्थ्यकर्मीहरुसँग। हाम्रो मेडिकल प्राक्टिस देखेर उदेक लाग्छ। थाहा नभएको कुरा नबोल्दिनु, नगर्दिनु, अथवा जानेर, बुझेर सल्लाह दिनु। हचुवामै जे मन लाग्यो त्यही भनेका छन्, अनी त्यही कुरालाई नै विरामीहरुले आधार मानेर भ्रम पालेर बस्छन्, जुन विस्तारै झनै गहिरो र गाढा भएर जान्छ।

जण्डिस सम्बन्धी भ्रम।
खै किन हो यो जन्डिस देखी यस्तो डर मानेका। आयुर्वेदले ठुलै रोग भनेर भन्छ कि जन्डिसलाई, थाहा भएन। तर एलोप्याथीमा जन्डिस रोग हैन लक्षण हो, र यो प्राय: गरेर भाईरल हेपाटाइटिस अर्थात भाईरल संक्रमणको कारण कलेजोको सुजनमा देखिन्छ, जुन केही हप्तामा आँफैं निको भएर जान्छ। हाम्रो किताबमा जन्डिसको बेलामा न चिल्लो नखा भनेको छ, न मासु नखा भनेको छ, न बेसार नखा भनेको छ, न मसला नखा भनेको छ। स्वस्थ र सन्तुलित खाने, सफा पानी खाने, आराम गर्ने, बस् त्यत्ती हो, Liv-52 न तागत दिने मल्टी भिटामिन नै खानु भनेको छ। हुन त जन्डिस देखिने रोगको आधारमा उपचार फरकफरक पर्न सक्छ, तर हामी धेरैले गर्नेजस्तो मान्छे विरामी नै पर्ने गरेर सादा जाउलो नुनसँग खानुपर्दैन। जन्डिस देखिएर महिनादिनसम्म जाउलो र उसिनेको साग मात्र खाएर बस्ने अनी कमजोरी भो, खाना रुचेन भनेर आउनेहरु धेरै देखेको छु। अरे बाबा, महिना दिन त्यस्तो खाएपछी त सद्देमान्छे नि विरामी पर्छ। त्यस्तै नवजात शिशुमा देखिने जन्डिस धेरैजसो साधारण प्रक्रीया हो, र त्यसको लागि आमाले केही पनि बार्नुपर्दैन, बच्चालाई पनि केही औषधी गर्नुपर्दैन। यस्ता केही दिनका बच्चाहरुलाई नि जन्डिसको औषधी भनेर के के खुवाएका भेटेको छु। उपचारको नाममा भएको लापर्वाही त यो पो हो त। यस्तो अन्धाधुन्दको व्यापारीकरणको पो विरोध गर्नु नि। 

टाइफाईड सम्बन्धी भ्रम।
ज्वरो बिग्रियो भने टाइफाइड हुन्छ। ज्वरो आको बेलामा मुख बारेन भने, मसलादार खाना, मासु खायो भने ज्वरो बिग्रन्छ र टाइफाइड हुन्छ। खै कल्ले यसरी बुझाउछन् उनीहरुलाई। पक्कै पनि हामीहरु मध्ये कसैको काम हो। वास्तवमा टाइफाइड ज्वरो बिग्रेर हुने हैन, ‘साल्मोनेला टाइफी भन्ने जीवाणुको संक्रमणले गर्दा टाइफाइड हुन्छ र ज्वरो त्यसैको एउटा लक्षण हो, मासु खाएर, भात खाएर ज्वरो गडेर त्यस्तो हुने हैन। फेरी एकदुई दिनको ज्वरोमै सेफिक्सजिम’, ‘सेफ्पोडोक्सिम जस्ता 'कडा' एन्टिबायटिक खाएर आएका हुन्छन्, जस्ले टाइफाइड, निमोनिया सबै रोगलाई काम गर्छ। अनि तेस्रो, चौथो दिनमा अस्पतालमा आएर डाक्टरसँग ज्वरो बिग्रेर टाइफाइड भयो कि भनेर डर पोख्छन्। हामी धेरै स्वास्थ्यकर्मीहरु जो गाँउगाँउमा काम गर्छौं (पारामेडिक्स, फार्मेसी चलाएर बस्ने स्वास्थ्यकर्मीहरु, डाक्टरहरु), उनीहरुसँग विरामीको पहिलो संपर्क हुन्छ, त्यो बेलामा उनीहरुलाई सहि सल्लाह र सहि उपचार दिन सकियो भने यस्ता स्वास्थ्य सम्बन्धी भ्रमहरुलाई विस्तारै हटाउन सकिन्छ।

निमोनिया गढेर बसेको छ, बेलाबेला फर्कन्छ।
धेरै विरामीले यस्तो भनेको सुन्छु। मेडिकल साइन्समा यस्तो हुंदैन भन्दा पनि हुन्छ। निमोनिया भनेको भाईरल वा ब्याक्टेरियल संक्रमणको कारणले हुने फोक्सोको रोग हो। एन्टीभाइरल वा एन्टिव्याक्टेरियल औषधी चलाएर निको भएपछी त्यो गढेर बस्ने भन्ने हुँदैन। अर्कोपल्ट फेरी निमोनिया हुनु भनेको अर्को संक्रमण हुनु हो। कोइकोइ रोगसँग लड्ने क्षमता कम भएका व्यक्तीहरुमा पटकपटक यस्तो संक्रमण देखिनसक्छ तर यो थोरैमा मात्रै देखिन्छ। हुन त हामीहरु स्वास्थ्यकर्मीहरुले नै खोकी लाग्यो कि निमोनिया, स्वास्वा गर्‍यो कि निमोनिया भनेर एन्टिबायटिक भिडाएर नि यस्तो भ्रम बढेको हो। वास्तवमा ज्वरो आएर खोकी लाग्दैमा, छाती दुख्दैमा सबै निमोनिया हुँदैनन्।

जाँचहरु सम्बन्धी भ्रम
मेरो एक्सरे गर्दिनुपर्‍यो, मेरो भिडियो एक्सरे गर्दिनुपर्‍यो। के गर्दा मेरो रोग देखिन्छ, सिटी स्क्यान, एम आर आई के गर्नुपर्‍यो?” यस्तो भन्ने विरामीहरु धेरै भेटिन्छन्। रोग पत्ता लागोस् भनेर सोच्नु राम्रो हो, रोगले उनीहरुलाई धेरै सताएको नि होला, तर कुन समस्यामा कस्तो जाँच गर्नुपर्छ, कुन जाँचमा के हेर्नुपर्छ भन्ने कुरा डाक्टरलाई थाहा हुन्छ। त्यसैले सिधै मेरो यो गर्नुपर्‍यो त्यो गर्नुपर्‍यो भन्नु भन्दा नि आफ्नो समस्या सबै डाक्टरलाई सुनाएर केके गर्न सकिन्छ भनेर छलफल गर्ने हो। यहाँ त लड्ने वित्तिकै एक्सरे गर्नु परीहाल्छ, शरीरको कुनै भाग दुख्यो कि एक्सरे गरिहाल्नुपर्छ। अनि कतीको भ्रम के छ भने भिडियो एक्सरेबाट सब कुरा छर्लङ देखिन्छ, त्यसैले त पेट दुखे पेटको, टाउको दुखे टाउकाको, खुट्टा दुखे खुट्टाको भिडियो एक्सरे गर्ने भनेर भन्छन्। यो कुरा गलत हो, शायद स्वास्थ्य क्षेत्रको व्यापारीकरणको कारणले जथाभावी जाँचहरु गराउनाले नि यस्तो भ्रमहरु फैलनलाई मद्दत पुगेको हो कि।

खानासम्बन्धी भ्रम
ओपिडी, वार्डमा हरेकजसो विरामीको प्रश्न हुन्छ "खाना के खानुहुन्छ के बार्नुपर्छ?" केही रोगलाई छोडेर अरु सबैमा सन्तुलित खाना खानु भन्ने हामीले पढिआएको हो। पिनासमा दुध र दुधका पारीकार खान नहुने, दममा चिसो पानी, चिसो फलफूल खान नहुने, भैंसीको मासु खायो भने दाद सन्चो नहुने, ज्वरो आउँदा भात खान नहुने, टाइफाइडमा सार्हो खाना खान नहुने, यो लिस्ट निकै लामो छ।  केही हप्ताअघी अन्नपूर्णपोस्टमा छापिएको एउटा मेडिकल लेख, जुन एउटा डाक्टरले नै लेखेका थिए, टाइफाईड सम्बन्धी त्यो लेखमा आन्द्रामा प्वाल पर्ने सम्भावना भएकोले सार्हो खाना खानुहुन्न भनेर लेखिएको थियो। जती नै सार्हो खाना खाएपनी आन्द्रासम्म पुग्दा के त्यो सार्हो रहिरहन्छ र? किन हामी यस्तो भ्रामक सन्देश दिन्छौं?

अचम्म लाग्छ, दिनदिनै रक्सी, चुरोटमासु खानेले ज्वरो आउँदा मैले के के बार्नुपर्छ भनेर सोधेको सुन्दा। के हामीले विरामी हुने बेलामा मात्र स्वस्थ सन्तुलित खाना खाने, अरु बेलामा जे खाए नि हुने हो र? अरु बेला पिरो, अमिलो, चिल्लो, नुनिलो खाना खाने अनि रोगले समातेपछी चै सादा जाउलो खाने हो र? खानासम्बन्धी यो भ्रम आयुर्वेदतिरबाट नि आएको हो जस्तो लाग्छ। यो खाना तातो, यो खाना चिसो भन्ने आयुर्वेदमै हुन्छ जस्तो लाग्छ। अनि यो विषयमा हामी आँफैं सर्वज्ञानी हुन्छौं, एउटा अस्पतालको क्यान्टिनकी साहुनीले खाना माग्दा जन्डिस भको विरामीलाई बेसार, तेल भको दिनुहुन्न भनेर सादा जाउलो दिएर पठाएछिन्, पछी "केही नबारी भातदालतरकारी नै खुवाउनु र तपाईंलाई दिएन भने मलाई भन्नु" भनेपछी बल्ल विरामीले मिठो भातदालतरकारी खान पाए।

रोगलाई हेर्ने र बुझ्ने हामी स्वास्थ्यकर्मीहरुको सोचाइ र विरामीहरुको सोचाइमा धेरै फरक हुन्छ। मैले ग्यास्ट्राइटिस वा ग्यास्ट्रिक भन्दा जे बुझेको हुन्छु, विरामीले अर्कै बुझेको हुन्छ, उसको लागि त्यो गानो गोला, छातीमा भुकभुक हान्ने, गोला घुम्ने रोग हुन्छ। मैले निमोनिया भन्दा भाईरल वा ब्याक्टेरियल संक्रमणको कारणले भनेर औषधी चलाएको हुन्छु, उसले चिसो गढेर वा पानीमा भिजेर निमोनिया भयो भनेर बुझेको हुन्छ। मैले प्रेसर घटेर सक हुँदा वा शरीरमा पानी कम हुँदा सलाइन चढाउनुपर्छ भन्ने पढेको हुन्छु विरामीले भित्री तातोपनालाई कम गर्न, तागत दिन, अनि कसैकसैलाई सलाइन चढाउने बानी परेकाले सलाइन चढाउनुपर्छ भन्ने बुझेका हुन्छन्।

हाम्रा विरामीहरु अनि विरामीका आफन्तहरु अनि अरु सर्वसाधारणहरु र धेरै स्वास्थ्यकर्मीहरुमा पनि स्वास्थ्यसम्बन्धी यस्ता धेरै भ्रमहरु छन्, हामीले हरेक दिन यस्ता भ्रमहरुको सामना गर्नुपर्छ। त्यस्तो बेला ह्या यो यस्तै हो भनेर छोड्नुको साटो केही समय बढी खर्चेर आफूले जानेको, बुझेको कुरालाई विरामी र उनका मान्छेहरुलाई बुझाउने कोसिस गर्नुपर्छ। विरामीले नि औषधी लिएर चुपचाप फर्कनुको साटो आफ्नो रोगबारे बुझ्न डाक्टरसँग प्रश्नहरु गर्ने गर्नुपर्छ। अनि उपचारका सम्बन्धमा मनमा लागेका कुरा आफ्नो डाक्टरसँग सल्लाह गर्ने गर्नुपर्छ, न कि गाँउशहर, छरछिमेकका भनाई सुनेर औषधी लिने। वर्षौंदेखी गढेका यी भ्रमहरु एकदिनको एकछिनको प्रयासले त अवश्य जादैनन् तर हामी स्वास्थ्यकर्मीहरु लगायत शिक्षित सर्वसाधारणहरुको प्रयासले यस्ता भ्रमहरु बिस्तारै हराउदै जान्छन् भन्ने आस गर्न सकिन्छ।

नोट: स्वास्थ्यसम्बन्धी तपाईंले अनुभव गर्नुभएका केही विश्वासहरु, केही भ्रमहरु छन् भने शेयर गर्नुहोला।


नसासम्बन्धी रोगका भ्रमहरुबारेको मेरो अनुभव यहाँ पढ्नुस्।  स्वास्थ्य शिविरबाट फर्केपछी…’
बाँकी पढ्नुहोस् >>