Saturday, September 29, 2018

आँखामा स्टेथ लगाएर जाँचेको फोटो!

कैलेकाही चुपचाप लागेर दुनियाँले के गर्दो रहेछ, के सोच्दोरहेछ, के बोल्दो रहेछ भनेर हेरिरहन पनि आनन्द आउदोरहेछ। आज बिहान मैले मेरो फेसबुकमा यस्तै एक फोटो पोस्ट गरेर कस्तो कमेन्ट आउदो रहेछ भनेर जाँच्न चाहें।
फोटो ठ्याक्कै कहाँको हो, कसको हो थाहा भएन, मैले Doctors Society of Nepal पेजबाट लिएको हुँ।
फोटोमा एउटा ओपिडीमा डाक्टर (सम्भवत:)ले आफ्नो स्टेथेस्कोपले विरामीको आँखामा जाँचिरहेको जस्तो देखिन्छ।
यो साधारणत: गरिने र देखिने कुरा हैन। यसमा धेरै थरीका साथीहरुले धेरै थरिका कमेन्टहरु गरे। २०० जती लाइक अाएकोमा ८० जना जतीले 'हाँसो'को एक्सप्रेसन दिए। त्यसमा डाक्टर, नर्स, पत्रकार, सर्वसाधारण, डाक्टर पढिरहेका विधार्थीहरु सबै नै परे। कती डाक्टर, पारामेडिक्स, नर्सहरुले पनि "यो के गरेको हो?", "नक्कली डाक्टर होला", "यो त अती नै भयो" आदी भन्दै अचम्म माने। स्वास्थ्य क्षेत्र बाहिरका अधिकांशले त "डाक्टरै हैन होला", "आँखा जाँच्ने नयाँ मेसिन", "आरक्षणको कमाल हो कि", "फिल्मको सुटिङ हो कि" भनेर हाँसोमै उडाए। कतिले गाली समेत गरे। केही हामीले कसरी कमेन्ट गर्दारहेछौं भनेर हेर्ने साथीहरु नि भेटिए, खुसी लाग्यो। केही डाक्टरहरुले यो एक खालको क्लिनिकल जाँच हो जसमा आँखाको भित्रको रगतको नलीमा हुने रगतको असाधारण बहावले गर्दा आउने आवाज सुन्नको लागि गरिन्छ भनेर यसका बारेमा बताउन खोजे। यसरी सरर हेर्दा हामीले कुनै पनि कुरामा प्रतिकृया दिदा कसरी दिदा रहेछौं भनेर विश्लेषण गर्न मन लाग्यो।

कुरा नबुझी प्रतिकृया दिने बानी
हामी धेरैमा कुनै पनि घटना के हो, कस्तो हो, किन भएको हो, कसरी यस्तो रुपमा देखियो भन्ने धेरै कुरा सोधखोज नै नगरी हतारमा प्रतिकृया दिने बानी छ। हिजोआज फेसबुक, ट्विटर जस्ता सोसल मिडियाले त यस्ता कमेन्ट गर्ने बानीलाई झन बढावा दिएको छ। एउटा फोटो देख्नु हुँदैन आफ्नै मनले यो भएको होला भनेर सोच्छौं वा त्यही लेखिएको कुरा पत्याउछौं अनी आफ्नो हिसाबले कमेन्ट गर्छौं। एउटा भिडियो देख्नु हुँदैन, आफ्नो मनमा भएका आक्रोस, पूर्वाग्रहहरुलाई मज्जाले पोखिदिन्छौं, त्यो कमेन्ट त्यो घटनासँग मिलोस् नमिलोस्। त्यो फोटो वा भिडियो साँचो हो हैन पनि हामीलाई खासै मतलब हुँदैन। केही हप्ता अघी भाईरल भएको नयाँ बाटोमा हिड्दै गरेको मोटरसाइकलले पारेको खाल्डोको फोटो नि खुब भाईरल भएको थियो, त्यसमा वरीष्ठ कलाकार हरिवंश आचार्यले पनि कमेन्ट गरेका थिए, जुन फोटो एडिटेड रहेछ भनेर पछी बल्ल थाहा भयो। हिजो आज त भिडियोमा देखिने कुरा, अडियोमा सुनिने कुरा पनि सत्य हो हैन भनेर सजिलै भन्न सकिदैन। अर्थात कुनै कुरामा कमेन्ट गर्दा आँखा, कान मात्र हैन दिमाग खुला राख्नुपर्ने हुन्छ।


छिट्टै 'जजमेन्टल' बनिदिने बानी
'Don’t judge the book with its cover' भनिन्छ अर्थात बाहिरी खोललाई हेरेर सबै भित्री कुराको बारेमा अन्दाज नलगाउ। तर हाम्रो बानी त्यो भन्दा उल्टो छ। हामी बाहिरी रुप हेरेर, लुगा लगाइ, बाहिरी स्टाइल हेरेर त्यो मान्छे कस्तो होला, त्यसको स्टाटस कस्तो होला भनेर अनुमान लगाइहाल्छौं, जुन सधैं सहि नहुनसक्छ। यो फोटोमा पनि जाँच्ने डाक्टरले कोट पाइट, टाई लगाएको भए, उनको कपाल फुलेको भए, उनी स्मार्ट देखिएको भए धेरैले उनले सहि जाँच नै गरेको होला, उनी ठुलै डाक्टर होला भनेर अनुमान लगाउथे होलान्। तर उनको बाहिरी ‘लुक’ले धेरैलाई त्यो अनुमान लगाउनबाट रोक्यो। कतीले त उनलाई नक्कली डाक्टर पनि भने।
यो फोटोको बारेमा मलाई पनि ठ्याक्कै थाहा नभएकोले उनी डाक्टर हुन् कि हैनन्, उनले सहि तरिकाले जाँचेका हुन् कि हैनन् भन्न सक्दिनँ। तर सत्य कुरा चाँही के हो भने स्टेथेस्कोपलाई आँखामा राखेर जाँच्ने क्लिनिकल तरिका पनि हुन्छ, जुन हिजोआजको जस्तो विभिन्न एड्भान्स्ड परिक्षणहरु आएपछी धेरै नै कम गरिन थालिएको छ। कती डाक्टर, नर्स, पारामेडिक्स, मेडिकल विधार्थीहरुलाई समेत थाहा नभएको देखियो। थाहा नहुनु नराम्रो हैन, सबैलाई सबै कुरा थाहा पनि हुँदैन। तर थाहा पाउन नखोज्नु र थाहा नपाई 'यो होला', त्यो होला भनेर हावा अनुमानको भरमा कमेन्ट गर्नु चै गलत हो।
यो आँखा भन्दा भित्रको रगतको नलीमा हुने रगतको बहाव असाधारण भएर आउने आवाजलाई सुन्नको लागि गरिने जाँच हो। यसलाई 'Ocular auscultation' भनिन्छ। यसरी नै बन्द आँखा माथि भिडियो एक्सरेको प्रोब राखेर त्यही रक्तनलीको डप्पलर जाँच पनि गरिन्छ। कती पटक बंगाराको जोर्नीमा स्टेथेस्कोप राखेर त्यो जोर्नीको समस्या बारे जाँच पनि गरिन्छ।
अर्को कुरा भनेको कहिलेकाही विरामीले उसलाई जहाँ समस्या छ त्यही स्टेथेस्कोप लगाएर जाँचिदिनु भनेर जिद्दी गर्ने पनि हुन्छन्। जस्तो घुँडा दुखेको छ भने घुँडामै स्टेथ लगाउनुपर्छ, ढाड दुखेको छ भने ढाडमै लगाउनुपर्छ। मेडिकल हिसाबले त्यसो गर्नु वाहियात हुन्छ तर थाहा हुँदाहुँदै पनि राम्ररी जाँचेको छ, उसको रोग राम्ररी हेरेको छ भनेर देखाउनको लागि, विरामीको मनको शान्तीको लागि त्यसो गर्नुपर्ने हुन्छ, जुन गलत नै हो भन्न मिल्दैन।

अन्त्यमा छोटकरीमा भन्नुपर्दा,
कुनै पनि कुरामा हतारमा सतही रुपमा अन्दाजको भरमा कमेन्ट नगरौं, सबैलाई सबै कुरा थाहा नहुनसक्छ, तर नयाँ कुरा सिक्नको लागि आफ्नो दिमागलाई सधैं तयार राख्नुपर्छ। मेडिकल लगायत हरेक क्षेत्रको आफ्नै समुद्र हुन्छ, हामीलाई त केवल हत्केला भरको ज्ञान हुन्छ।
बाँकी पढ्नुहोस् >>

Friday, August 10, 2018

व्याक्टेरियल संक्रमणले 'भाइरल' भएको बच्चा

लगभग १ हप्तादेखी सोसल मिडियामा यो बच्चाको छालाको संक्रमणको फोटो र उसलाई उपचारको लागि सहयोग जुटाउने काम भाइरल भैरहेको छ। डाक्टरहरुका अनुसार बच्चालाई Staphylococcal scalded skin syndrome भएको हो र अहिले यो धेरै निको भैसकेर डिस्चार्ज नि भैसकेको छ। म आफू पनि जीपीको रुपमा प्यूठान जिल्ला अस्पताल बसेर ३ वर्ष काम गरेको हुनाले यस्ता केसहरु बारे अनुभव राख्दछु। बोमबहादुर भाईले प्यूठानबाट बुटवल हुँदै काठमाण्डौसम्म ल्याइ पुर्याएर सहयोग जुटाई उपचार गराउनुभएको छ। त्यो अत्यन्तै सर्हानीय छ।
तर यो केसमा मलाई चित्त नबुझेका केही कुराहरु सार्है भन्न मन लाग्यो र भन्न चाहन्छु।
धेरैलाई यी कुरा नमिठा लाग्न सक्छ। सकारात्मकरुपमा र सल्लाहको रुपमा लिनुहुनेछ भन्ने आस छ।

• अहिले 'बच्चाको उपचारको लागि' भनेर सहयोग मागिएको हो। खर्च कति भएको छ, हुने वाला छ, त्यो हेरेर आवश्यकता भन्दा बढी उठ्न थालेपछी सहयोग लिन बन्द गरिनुपर्थ्यो। बच्चाको उपचार सरकारी अस्पतालमा भएको हो, उनलाई २ दिन मात्र आइसीयुमा राखियो, धेरै छिटो निको हुन लागेको लक्षण देखिएको थियो, बच्चा निकै राम्रो देखिन थालिसकेको थियो। उनको उपचारमा खर्च ५० हजार पनि छोएको छैन होला जबकी सहयोग ओइरो चलेको चल्यै थियो। यो बेठिक भयो। आवश्यक भन्दा बढी पैसा आउन थालेपछी यो तत्काल रोकिनुपर्थ्यो। किनकी सहयोग 'उपचार'को नाममा उठाइएको थियो र उपचारमा र उपचार अवधीमा खानपान, एम्बुलेन्स भाडा, बस भाडा आदि विषयमा मात्र खर्चिनु उत्तम हुन्थ्यो।

• धेरै निको भएर सूई नै दिनुनपरेको बेलामा पनि युट्युबमा "बच्चा बचाइदिन आमाबुवाकी हारगुहार" भनेर रिपोर्टिङ आएको थियो, जबकी भिडियोमा आमाबुवा हाँसीरका थिए, बच्चा लगभग निको भैसकेको थियो, डिस्चार्ज गर्ने अवस्था भैसकेको थियो। अझ कान्ति अस्पतालमा भएको बच्चालाई भिडियोको टाइटलमा "वीर अस्पतालमा विरामी" रे। मिडियाको यो अस्वाभाविक कभरेज र संसारभरबाट आवश्यकता भन्दा बढी ओइरेको सहयोग बच्चाको जिम्मा लिएका व्यक्तीले नियन्त्रण गर्नुपर्थ्यो। एउटै केसमा त्यस्तरी सबै हानथाप गरेर पैसाको खोलो बगाउनुको साटो अरु गरिव विरामीलाई नि हेरेको भए?

• कतिलाई यो केसको फोटो र अपडेटहरु देखेपछी धेरैलाई "ओहो, गाउँका अस्पतालमा केई रहेनछ, बुटवलमा नि निको भएनछ, जेको लागि नि काठमाण्डौ आउनुपर्ने, सरकारले यस्ता गरिव विरामीलाई नहेर्ने" भन्ने भावना आएको पाएँ। अभिनेत्री मेलिना मानन्धरले पनि त्यही भन्नुभयो। तर कुरा त्यसो हैन। बुटवलमा बच्चालाई हेरेका बालरोग विशेषज्ञले भने अनुसार आइसीयु नै चाहिने जस्तो छैन, संक्रमणको केस भएर आइसोलेसनमा राखेर हेर्ने, सूईबाट एन्टिबायटिक चलाउने र बिस्तारै सुधार हुने भन्ने कुरा थियो। तर आइसीयु बेड नपाएको र केस भाइरल भएर सहयोगको ओइरो लागेपछी कान्ति बाल अस्पताल ल्याइयो। यो विरामी बुटवलमै निको हुनसक्थ्यो। "ग्यारेन्टी हुन्थ्यो?" भनेर सोध्नुहुन्छ भने ग्यारेन्टी त कान्तिमा पनि दिएको थिएन, इन्डिया नै लगे पनि दिन्न। मिडियाको अस्वाभाविक कभरेजका कारण पनि बुटवलमा डाक्टरहरु उपचार गर्न अफ्ठ्यारो मान्नुभयो। भोलि केही भयो भने "बेलैमा किन रिफर नगरेको" भनेर ठूलो इस्यु आउँछ भनेर। यस्ता गरिव विरामीहरुलाई सरकारले 'अति गरिव' भनेर सकेसम्म नि:शुल्क स्वास्थ्य सेवा दिने व्यवस्था गरेको छ। त्यसको लागि कारवाही अघि बढाइएको भए धेरै नि:शुल्क नै हुन्थ्यो होला। कान्तिमा उपचार प्रकृया खासै महंगो पनि छैन। त्यसैले जे कुरामा पनि "सरकारले गरेन, गाउँमा केही छैन" भनेर रोष प्रकट गर्नु हाम्रो पूर्वाग्रही सोचको नमूना हो। गाउँका अस्पतालमा नि धेरै कुरा हुन्छन्, यो भन्दा जटिल केसहरुको उपचार हामीले जिल्ला अस्पतालमै गरेका पनि छौं।
यस्ता कुराले जिल्ला अस्पताल, राजधानी बाहिरका अस्पतालमा खासै केही नहुने र राम्रो उपचार पाउन राजधानी नै आउनुपर्दोरैछ भन्ने सन्देश जान्छ, जुन गलत हो।

• भित्री सुत्रबाट कान्ति बाल अस्पतालमा बुझ्दा पनि बच्चालाई आइसीयु चाहिने अवस्था थिएन, मिडियाको धेरै कभरेज र फोर्स लागेकोले आइसीयु हैन, आइसोलेसनमा राखिएको भन्ने कुरा थाहा हुन आयो। उपचारमा रिस्क, जटिलता जहाँ पनि हुनसक्छ, अवस्था अनुसार सक्दो उपचार गर्ने हो। यो बच्चाको उपचार बुटवलमै पनि सम्भव हुन्थ्यो। हेर्दा डरलाग्दो देखिदैमा रोग र अवस्था ज्यानै लिने भन्ने हुदैंन। धेरै मान्छे बच्चाको डरलाग्दो फोटो देखेर पग्लिए र मिडियाले पनि यसलाई चाहिनेभन्दा बढी उचाल्यो।

• सोसल मिडिया र पत्रपत्रिकामा नाम, फोटो र समाचारकै लागि पैसा दिएर फोटो, भिडियो खिचाउने नि धेरै हुनेरैछन्। हो, सहयोग गर्नु राम्रो हो तर सहयोग दिएर जानकारी गराउनु र मिडियामा आउनको लागि पैसा दिनु फरक कुरा हो। उनीहरुलाई विरामीको अवस्था के छ, आवश्यकता कति छ, सहयोग कसरी प्रयोग हुन्छ भन्ने भन्दा नि "मैले पैसा दिनुपर्छ र त्यो मिडियामा आउनुपर्छ" भन्ने बढी ध्याउन्न हुनेरैछ।

मेरो मनमा उठेका केही प्रश्नहरु र सुझावहरु-

• बच्चाको रोग के थ्यो? फाइनल डायग्नोसिस के आयो? (डिस्चार्ज पेपरको अगाडि पछाडीको फोटो खिचेर राखिदिनुहोला)
• बच्चाको उपचार, एम्बुलेन्स भाडा लगायत खाने बस्नेमा के कति खर्च भयो? कान्ति बाल अस्पतालले के के कुरामा नि:शुल्क सेवा दियो? (खर्च विवरण सबै सार्वजनिक गर्छु भनेर बोमबहादुर भाईले भन्नुभएको छ)
• बाँकी बचेको सहयोग रकम, जुन भएको उपचारखर्च भन्दा धेरै बढी छ, को के हुन्छ? बच्चाको बुवाआमालाई बुझाउने हो वा अरु गरिव विरामीको उपचारको कोष बनाएर प्रयोग गर्ने हो?
• बच्चाको बुवाआमाको हेलचेक्राईले पहिलेको बच्चा नि मरेको भन्ने अवस्थामा अहिले उठेको पैसा उनीहरुले सदुपयोग नै गर्छन् भनेर कसरी भन्न सकिन्छ? पैसा बच्चाको लालनपालन र पढाइमै खर्च होला भनेर कसरी भन्न सकिन्छ? डोनरले उसको नाममा दिएको पैसा "म जस्तोसुकै तरिकाले खर्च गर्छु, मेरो कुरा हो" भनेर बुवाआमाले भने कसैले केही भन्न मिल्ला र?
• मानौं अबको १ वर्षमा उहीँ बच्चा बुवाआमाले ऐले उठेको सबै पैसा सकि फेरि उहीँ अवस्थामा अस्पतालमा आइपुगे फेरि यहि तरिकाले मिडिया कभरेज दिएर सहयोग गर्ने कि नगर्ने?
• महिनाको ३०० रुपेको औषधी किन्न नसकेर पीडामा बाँचेका विरामी पनि देखेको छु। औषधी किन्न १०० रुपे नभएर आफैंले कति पटक औषधी किनिदिएको छु। अनि एउटै केसमा किन यत्रो सहयोगको ओइरो? किन यत्रो मिडिया कभरेज? के मिडियामा आइनपुगेका गरिव विरामी चैं गरिव विरामी होइनन्? तिनलाई चैं सहयोग चाहिंदैन? सहि तरिकाले अघि बढेको भएको भए यो बच्चालाई उठेको रकमले अरु २०-३० जना गरिव विरामीको उपचार गर्न सकिन्थ्यो, जुन हुन सकेन।
• डिस्चार्जपछी बच्चाको फलोअपको लागि १ हप्तामा आउनु भनेको छ। के फलोअप कान्ति बाल अस्पतालमै गर्नुपर्ने हो? आफ्नै जिल्ला अस्पतालमा गर्दा खर्च र दौडधुप पनि कम हुन्छ। त्यसो गर्न नसकिने हो र? जीपी, मेडिकल अफिसर भएको आफ्नै जिल्ला अस्पताललाई त्यति नि विश्वास गर्न नसकिने हो र?

अन्त्यमा,
पैसा उठाएर हातमा दिनु मात्र समाजसेवा हैन। यसले अहिलेको लागि विरामीको रोग निको होला, केहि समय उनीहरुको गरिबी नि निको होला, दिनेको नाम, फोटो, भिडियो मिडियामा आउला, तर परनिर्भरता बढाउछ, सित्तैमा उठेको पैसा दुरुपयोग हुने र आँसुको व्यापार हुने डर बढाउछ। यो बारे सहयोग दिने र सहयोगको वातावरण बनाइदिने 'असली' समाजसेवीहरुले बेलैमा ध्यान दिनुपर्ने देखिन्छ।

तर यो नभनी लेख रोक्न सकिनँ,
अरुको दु:ख देखेर आफ्नै विरामी जस्तोगरी दिनरात खटिएर विरामीको उपचार र सहयोग व्यवस्था मिलाउनु भएका युवा पत्रकार भाइ बोमबहादुरलाई धेरै धन्यवाद। 
बाँकी पढ्नुहोस् >>

Friday, June 29, 2018

जीपीले चलाएको जिल्ला अस्पताल


केही समय अघी म छुट्टी मिलाएर जिरी जिल्ला अस्पताल पुगेको थिएँ। त्यहाँ मेरा मित्र डा. निशान्त ढकालले राम्रो काम गरिरहनु भएको थाहा थियो, त्यसैले काम पनि हेरौं, अस्पताल नि हेरौं र ठाउँ पनि घुमौं भनेर जिरी हानिएको थिएँ। आखिर नेपालको स्विजर्ल्याण्ड भनेर चिनिने ठाउँ जो हो।

त्यहाँको पोस्टअप वार्ड हेर्न जाँदा त्यहाँ ३ जना विरामी थिए। एक जना खुट्टाको १५ किलोको ठूलो ट्युमर निकालिएको विरामी, अर्को सानो आन्द्रामा प्वाल परेर पेटभरी फोहोर फैलिएको अवस्थाको ल्यापोरोटोमी/Laparotomy’ गरेर आन्द्राको प्वाल टालिएको विरामी र अर्को हातको हड्डी भाँचिएर अप्रेशन गरि रड हालिएको बच्चा। यी तिनै विरामीको अप्रेशन डा. निशान्त ढकालको नेतृत्वको समूहले नै गरेको थियो। त्यही राती व्यथा लामो लागेर पनि सुत्केरी हुन नसकेपछी सिजेरियन अप्रेशन पनि उहाँकै नेतृत्वमा गरियो। यो कुरा धेरैलाई अचम्म लाग्न सक्छ, एउटै डाक्टरले यी सबै खाले अप्रेशन गाँउको जिल्ला अस्पतालमा कसरी गर्न सक्छ? उ के रोगको विशेषज्ञ हो?

हजुर, उ नेपालको जीपी हो, जीपी अर्थात् जेनेरल प्राक्टिसनर।
डा निशान्तसँग जिरी अस्पतालमा सिजेरियन अप्रेशन गर्दाको क्षण
अधिकांश जनतालाई तथा धेरै स्वास्थ्यकर्मीहरुलाई पनि जीपी भनेको विशेषज्ञ हैन, सामान्य प्राथमिक उपचार मात्र गर्ने डाक्टर हो, विरामीको उपचारमा खासै निर्णायक भूमिका राख्दैनन्, उनीहरुलाई रोगबारे धेरै थाहा हुदैंन र यो विषयको स्कोप पनि खासै छैन भन्ने लाग्छ। तर हामी एउटा अंग वा रोगका विशेषज्ञ हैनौं, हामी सम्पूर्ण मान्छेको विशेषज्ञ हौं, सम्पूर्ण परिवारका स्वास्थ्य समस्याका विशेषज्ञ हौं, त्यसैले त विकसित देशमा 'फेमिली डक्टर' भनेर पनि चिनिन्छ।

मे १९ मा विश्व फेमिली डक्टर दिवस मनाउने गरिन्छ, फेमिली डक्टरको कार्यक्षेत्र, जिम्मेवारी तोकिएको, महत्व बुझेको देशहरुमा धेरै कार्यक्रमहरु गरेर यो पाली नि मनाइयो। हाम्रो देशमा भने धेरैलाई यो 'फेमिली डक्टर' भनेको के हो भन्ने नै थाहा छैन। नेपालमा 'फेमिली डक्टर' भन्ने शब्द त्यती प्रयोग नगरिए पनि लगभग त्यस्तै अर्थ राखेर 'एमडीजीपी' वा 'जीपी' वा 'जेनेरल प्राक्टिसनर' शब्दलाई प्रयोग गरिन्छ। विगतका केही वर्षहरुमा निक साइमन्स इन्स्चिच्युट (एनएसआइ)को सकृयतामा 'जीपी'हरु विशेषत: दुर्गमका जिल्लाहरुमा गएर विभिन्न खाले स्वास्थ्य सेवा, विशेषगरी सर्जिकल सेवा, दिन थालेपछि 'जीपी'हरुको महत्व, आवश्यकता महसुस हुन थालेको छ, देशको स्वास्थ्य क्षेत्रको चित्रमा 'जीपी'हरु देखिन थालेका छन्।

मानौं माथि भनिएको जिरी जिल्ला अस्पतालमा एउटा जीपीको नेत्रित्वमा भएका हरेक अप्रेशन गर्नका लागि हरेक अंगका विशेषज्ञलाई जिल्लामा राख्यौं। त्यसको लागि जेनेरल सर्जन, अर्थोपेडिक सर्जन, गाइने अब्स सर्जन, जन्मेको बच्चा हेर्नलाई पेडियाट्रीसियन, बेहोस बनाउनलाई एनेस्थेसियोलोजिस्ट गरी ५ खाले स्पेसलिस्टहरुलाई जिल्ला अस्पतालमा राख्नुपर्ने रहेछ। के नेपाल जस्तो गरिव देशको सरकारले यो खर्च धान्न सक्छ? अनि त्यसमा कुनै एक डाक्टर छुट्टीमा गयो भने वा बेहोस बनाउने डाक्टर छुट्टीमा गयो भने सबै अप्रेशन बन्द हुन्छ। बजेटले धान्ने नधान्ने भन्ने मात्रै कुरा पनि हैन, जसरी हिजोआज हरेक समस्याको लागि त्यसैको स्पेसलिस्टलाई देखाउनैपर्ने बानी वा फेसनको विकास हुदैंछ के त्यो सहि छ वा के त्यो जरुरी छ भन्ने पनि प्रश्न हो।

इन्डोस्कोपी ट्रेनिङ लिएका उनले जिल्लामा इन्डोस्कोपी सेवा पनि दिन्छन्
डा. निशान्त लगायत जिल्लामा काम गर्ने सबै जीपीको ३ वर्षे कोर्समै रेडियोलोजीको पोस्टिङ हुन्छ, हामी सबैले अल्ट्रासाउन्ड सेवा दिइरहेका छौं, कतिले त्यसपछी थप केही महिना, वर्षको तालिम लिएका छन्, उनीहरुले झन राम्रो सेवा दिइरहेका छन्। कतिले इन्डोस्कोपी, इकोकार्डियोग्राफीको तालिम लिएका छन् र जिल्लामा नै त्यो सेवा दिइरहेका छन्। कतिले डायबेटिज, हाइपरटेन्सन सम्बन्धी, कतिले मानसिक रोग सम्बन्धी, कतिले पाठेघरको शल्यकृया (एब्डोमिनल वा भजाइनल हिस्टेरेक्टोमी) सम्बन्धी, कतिले हाडजोर्नीका सामान्य शल्यकृया सम्बन्धी तालिम लिएका छन्, तिनले आआफ्ना ठाँउमा त्यही सम्बन्धी स्तरिय सेवा दिइरहेका छन्।

केही अघी आफ्नो विरामी जचाउन टिचिङ अस्पताल, महाराजगन्ज जाँदा टिकट काट्ने ठाउँमा "तपाईको के सम्बन्धी समस्या हो?" भनेर टिकट काट्ने कर्मचारीले सोध्दैथिए, अनि पेटको हो, छातीको हो, नसाको हो भन्यो भने मेडिसिनको काट्ने, डल्लाडल्ली छ भन्यो भने सर्जरीको काट्ने, अनि स्त्रीसम्बन्धी हो भन्यो भने गाइनेको काट्ने, यस्तै यस्तै गर्दैथिए। यो हाम्रो नेपालभरीकै चलन हो। अब भन्नुस् पेटको समस्या भनेर मेडिसिनको डाक्टरलाई देखाउन जाने मध्ये कती मेडिसिनकै डाक्टरले हेर्नुपर्ने समस्या हुन्छन् होला? कती सर्जरीले हेर्ने, कती गाइनेले हेर्ने, कती साइकाइट्रीले हेर्ने, कती जीपीले हेरे पुग्ने खाले समस्याहरु नि होलान्। तर हैन हामीलाई टाउको दुखे न्युरोलोजिस्ट वा न्युरोसर्जनलाई नै भेट्नुपर्छ, मुटु दुखे गंगालाल नै पुग्नुपर्छ, अरु सामान्य तरिकाले जाँचे, प्रोटोकल अनुसार उपचार अघी बढाए त हामीलाई चित्तै बुझ्दैन।

यो अन्धाधुन्द चलेको स्वास्थ्य प्रणालीको उच्चतम नमूना हो।

विकसित देशको स्वास्थ्य सेवा लिएकाहरुलाई अनुभव होला, त्यहाँ कुनै पनि समस्याको लागि पहिले आफ्नो जीपीलाई भेट्नुपर्ने हुन्छ, अनी आवश्यकता अनुसार उसले रिफर गरेर मात्र सम्बन्धित विशेषज्ञलाई भेट्न पाइन्छ। विदेशका जीपी भन्दा नेपालका जीपीहरु भिन्न छन्, उनीहरुको कामको दायरा झन ठुलो छ। विदेशका जीपीहरु अप्रेशन गर्दैनन्, हाम्रोमा माटोको आवश्यकता अनुसार सर्जिकल सीप भएका जीपीहरु छन्, विशेषगरी सिजेरियन अप्रेसन। नेपालको आमामृत्‍यु दर घट्नुको एउटा प्रमुख कारण जटिल प्रसुतीहरुको लागि सिमित स्रोत साधनमा पनि जिल्ला अस्पतालहरुमा नै जीपीहरुले सिजेरियन अप्रेशन सेवा प्रदान गर्नु हो। यसका साथै जीपीहरुले विशेषज्ञहरु र टर्सियरी केयर अस्पतालहरुबाट गएका विरामीहरुलाई निरन्तर स्वास्थ्य सेवा दिने काम पनि गर्छन् र आवश्यकता अनुसार विरामीलाई सम्बन्धित विशेषज्ञकोमा रिफर गर्ने काम पनि गर्छन्। साथै अस्पतालमा आएको विरामी शुरुमा हेर्ने डाक्टर भएकोले इमर्जेन्सी अवस्थाको विरामीको महत्वपूर्ण र जीवन बचाउने उपचारको नेत्रित्व पनि जीपीले नै गर्छ।

नेपालमा स्पष्ट नीतिनियम र कार्यन्वयनको अभावमा देशको लागि कति जीपी चाहिने, कति कस्ता रोगका विशेषज्ञ चाहिने, कसलाई कहाँ पठाउने भन्ने नै गन्जागोल छ। मेडिकल विधार्थीहरुमा पनि जीपी, प्राइमरी केयरमा भन्दा पनि स्पेसलिस्ट र सुपर स्पेसलिस्ट बन्ने चाहना बढ्दो छ। हुन त यो उनीहरुको व्यक्तिगत चाहना हो तर सरकारले आफ्नो जनसंख्या र स्वास्थ्य स्थिती अनुसार कुन विशेषज्ञ कति चाहिन्छ र कति पढाउने भन्ने नीति राख्नु जरुरी हुन्छ। नत्र भविष्यमा जिल्ला अस्पतालमा कार्डियोथोरासिक सर्जनले हर्नियाको अप्रेशन गरेर बस्नुपर्ने अवस्था नआउँला भन्न सकिन्न।


जिल्लामा काम गर्ने डाक्टरहरुको कुरा गर्दा एनएसआइले जीपी लगायत एसबीए ट्रेनिङ लिएको मेडिकल अफिसर, एनेस्थेटिक एसिस्टेन्ट र ओटी मेनेज्मेन्ट ट्रेनिङ पाएको स्टाफ नर्सको टिम पठाएर सहयोग गरेको जिल्ला अस्पतालहरुको प्रगती विवरण अन्य जिल्ला अस्पतालहरुको भन्दा धेरै राम्रो देखिएको छ, यो तथ्यांकले नै देखाएको कुरा हो। यो कसरी सफल हुन सम्भव भयो भनेर पनि विश्लेषण गर्नुपर्ने देखिन्छ। जीपी एक्लै हुँदैमा सबै सम्भव हुने हैन, उसको लागि सहयोगी टिम, आवश्यक औजार, उपकरण, भौतिक पूर्वाधारहरु पनि हुनु जरुरी हुन्छ। साथै जीपी लगायत अन्य स्वास्थ्यकर्मीहरुको स्तरिय तलबको कुरा पनि आउछ। सरकारले अहिले पीजी स्कोलरसीपमा पढाएर बोन्डमा विशेषज्ञ डाक्टरहरुलाई करारमा गाउगाउका जिल्ला अस्पतालहरुमा यति नै तलबस्केलमा खटाएर एनएसआईको सहयोगमा निकालेको जस्तो रिजल्ट निकाल्छु, त्यही स्तरको स्वास्थ्य सेवा दिन्छु भन्ने सोचेको छ भने त्यो गलत हुनेछ। एनएसआईले दिएको मोडल राम्रो छ भन्ने, जीपी चाहिन्छ भन्ने तर जिल्लामा जीपीलाई वा अन्य विशेषज्ञहरुलाई टिकाउन के के गर्नुपर्छ भन्ने कुरा चाँही नदेख्ने पदाधिकारीहरुलाई के भन्नु खै?


नेपाल जस्तो अविकसित मुलुकमा हाम्रो जस्तो सर्जिकल जीपीको सहि तरिकाले सरकारी सिस्टमले नै अपनत्व ग्रहण गरेर जिम्मेवारी लिएर उनीहरुको लागि काम गर्ने वातावरण मिलाउन सक्यो भने स्वास्थ्य क्षेत्रको विशेषगरी दुर्गम र पिछडिएको क्षेत्रका जनताले स्तरिय स्वास्थ्य सेवा पाउनेमा कसैको दुई मत नहोला।
बाँकी पढ्नुहोस् >>

Saturday, May 12, 2018

विपन्न विरामी सहयोग कोष, २०७४ सालमा।

Add caption
२०७४ साल वैशाख देखी २०७५ वैशाखसम्ममा विपन्न विरामी सहयोग कोषबाट विरामीको उपचार लगायत विभिन्न काममा गरिएका सहयोगहरुको विवरण- 
सुनिता विक, २ वर्ष, प्युठान                                                                                 रु.,४००
कडा खालको निमोनिया भएर बुटवल रिफर गरिएको
शिव बहादुर केएम ३५ वर्ष, रातामाटा, प्युठान                                                     रु. ११,०००
निमोनिया र अत्यधिक रक्सी सेवनको समस्या (जिल्ला अस्पतालमै उपचार भएको)
राधा विक २७ वर्ष, मरन्ठाना, प्युठान नपा-९,                                                      रु. २२०० (६००+६००+५००+५००)
कडा मानसिक रोगको नियमित औषधीको लागि
वीर बहादुर नेपाली, प्युठान                                                                                   रु.,००० 
हड्डीको पुरानो संक्रमणको लागि भरतपुर अस्पताल रिफर गरिएको
विपना श्रेष्ठ, ९ वर्ष, मल्लरानी-३, प्युठान,                                                              रु.,०६०
क्षयरोग, निमोनिया, छातीमा पानी जमेको समस्याको लागि उपचार भएको
अन्जली परियार, ४ वर्ष, प्युठान न पा-८,                                                               रु.,०००
हातको हड्डी भाँच्चिएको रड हालेर जिल्लामै अप्रेशन गरेको, जिल्लामा पहिलो पटक गरिएको
अर्जुन केसी, झिम्रुक-३, प्युठान                                                                               रु.,०००
छाला प्रत्यारोपण गरिएको, जिल्लामै अप्रेशन भएको
तराईमा बाढीपीडितहरुको सहयोगको लागि DSON (Doctors Society of Nepal) बाट संचालित शिविरलाई दिईएको                                                                                               रु. ४०,०००
विमला परियार १२ वर्ष,लिवाङ-३, प्युठान                                                              रु. २६,०००
दाहिने खुट्टामा हड्डीको पुरानो संक्रमण, भरतपुर अस्पताल रिफर गरिएको
विनोद घर्ती मगर, १० वर्ष, प्युठान                                                                          रु.,०००    
नाक भित्र मासु पलाएको समस्याको लागि चितवन पठाएको
रोमे सार्की ५६ वर्ष प्युठान नगरपालिका ८,                                                          रु.,०००
फोर्नियर्स ग्याङग्रीन (Fourneir’s gangrene), जिल्लामै उपचार भएको
भुन बहादुर नेपाली, ४९ वर्ष, झिम्रुक गापा-१, प्युठान                                             रु.,०००
ढाड मुनी पारालाइसिस भएको विरामी (काठमाण्डौबाट एयर मेट्रेस मगाएर दिएको)
सिमा पुन, ३९ वर्ष अरेश-४, रोल्पा                                                 रु. ८६० (रक्तदानको लागि)
पेनसाइटोपेनिया(Pancytopenia) रगतका सबै खाले कोषहरु कम हुने रोग नेपालगंजबाट उपचार गराउने पैसा सकिएर फर्केको विरामी
कृष्ण दमाइ, ४० वर्ष, उदयपुरकोट, प्युठान                                                               रु. ८०००
छातीको सिटी स्क्यान गर्नको लागि सहयोग दिई पठाईएको
रमेश सार्की २० वर्ष, गोठगाँउ, रामेछाप                                           रु.,०००+,०००+ ,००० + ,०००
हेपाटाइटिस बी र कलेजो बिग्रेको विरामी, नियमित औषधी सेवनको लागि सहयोग गरिदै आएको
रुपलाल पुन, ३४ वर्ष, सल्यान                                                                                 रु. १५,०००
कालाजार रोग पत्ता लागे पनि उपचार खर्चको अभावमा घर फर्किएको, सल्यान जिल्ला अस्पतालका जीपी डा. प्रदीप शर्माको समन्वयमा सहयोग गरी बुटवल रिफर गरिएको
ईन्द्रम शाही, ३ वर्ष, स्वर्गद्वारी नपा-४, प्युठान                                                      रु.,५००
पोलिएको हातको जिल्ला अस्पतालमै उपचार भएको
करीश्मा थापा, ११ वर्ष, झिम्रुक गापा-७, प्युठान                                                     रु.,०००
हातको हड्डी भाच्चिएर भरतपुर अस्पताल रिफर गरिएको
सोमे घर्ती, ५ वर्ष, प्युठान                                                                                       रु.,०००
निमोनिया भएर दुवै फोक्सोमा पानी जमेको विरामी आम्दा बुटवल रिफर गरिएको
छोटु नेपाली ४ वर्ष ऐरावती-४, प्युठान                                                                  रु. ३०,०००
टाउकोको समस्याको कारणले बुटवल रिफर गरिएको
हरी बहादुर नेपाली, ४६ वर्ष, ऐरावती गापा-६, बिजुली                                            रु. १०,०००
३५ वर्ष पुरानो हर्निया पैसा अभावका कारण अप्रेशन नगराइ बसेका, जिल्ला अस्पतालमा नै अप्रेशन गरिएको
साजन विक ११ वर्ष, झिम्रुक गापा-५, ओखरकोट, प्युठान                                      रु.,०००
हातको हड्डी भाँच्चिएको अप्रेशन जिल्लामै गरिएको
केशवराज बस्याल, प्युठान                                                                                    रु. १०,०००
हर्नियाको अप्रेशन जिल्लामै गरिएको
कृष्ण दमाई, ४० वर्ष, उदयपुरकोट, प्युठान                                                             रु.,०००
छातीको सिटी स्क्यानको लागि बुटवल रिफर गरिएको
रेशमी केएम, ३० वर्ष, प्युठान                                                                                 रु. १०,०००
देब्रे खुट्टाको दुवै हड्डी भाँच्चिएको, भरतपुर सरकारी अस्पताल रिफर गरिएको
कर्णदेवी पुन, नौबहिनी गापा-२, लिगा, प्युठान                                                         रु. १०,०००
हर्नियामा आन्द्रा अड्केको अवस्थाको अप्रेशन गरी आन्द्रा काटेर जोडेको, हर्निया अप्रेशन गरेको, यस्तो खालको ठुलो अस्प्रेशन जिल्ला अस्पतालमै पहिलो पटक भएको।
मनोज झाँक्री, ९ वर्ष, नौबहिनी गापा-३, खवाङ, प्युठान                                            रु.,००० 
हातको हड्डी भाँच्चिएको अप्रेशन जिल्ला अस्पतालमै गरिएको
बीना बस्नेत, कपुरकोट गापा-६, सल्यान                                                                रु. १०,०००
स्टेरोइडले काम नगर्ने खालको कडा नेफोटिक सिन्ड्रोम (म्रिगौलाको समस्या)को लागि काठमाण्डौ रिफर गरिएको
ईश्वर घले, ३६ वर्ष, नवलपरासी                                                                               रु.,०००
फैलिएको क्षयरोग, रक्सी सेवन, सेप्सिसको कारणले जिल्ला अस्पतालमा मृत्‍यु भएको तर शव घरसम्म लैजान रकम अभाव भएकोले सहयोग गरिएको।
महिला                                                                                                                     रु.,०००
आगोले जलेर उपचारको क्रममा मृत्‍यु भएको
बाटुली केएम, २० वर्ष, प्युठान                                                                                 रु. १५,०००
रियुमाटिक हार्ट डिजिज (मुटुको भल्भ सम्बन्धी रोग) पैसा अभावमा अप्रेशन नगराई बसेको, कागजपत्र बनाएर सहयोग गरी गंगालाल मुटु अस्पताल पठाइएको
नेमबहादुर घर्ती, १० वर्ष, प्युठान                                                                            रु.,०००
भीरबाट लडेको विरामी, रिफर गरी पठाइएको
पवित्रा के एम, ४६ वर्ष, प्युठान                                                                              रु.,०००
निमोनिया, सेप्टिक शक, बुटवल रिफर गरिएको
पूर्ण बहादुर केसी, ५३ वर्ष, गौमुखी गापा-४, प्युठान                                              रु.,०००
फोक्सोमा पीप जमेको, छातीमा पाइप हालेर जिल्ला अस्पतालमै उपचार भएको
लिले घर्ती, ४९ वर्ष, सिर्प, रोल्पा                                                                             रु.,०००
फोक्सोमा पीप जमेको, छातीमा पाइप हाली जिल्ला अस्पतालमै उपचार गरिएको
तारा ग्वाम मगर, ११ वर्ष, मान्डवी गापा-२, प्युठान                            रु. ५२,००० (विभिन्न समयमा गरी)
फोक्सो र कलेजोमा ठूला फोकाहरु (हाइडटीड सिस्ट/Hydatid Cyst) भएको, २ वर्षअघी नै रोग पत्ता लागे पनि पैसा अभावमा उपचार नगरी बसेको, शुरुमा बुटवल पठाइएको, पछी अप्रेशनका लागि मनमोहन कार्डियोथोरासिक सेन्टर काठमाण्डौ पठाईएको
घन्द्र योगी, ४२ वर्ष, दाखा-१, प्युठान                                                                      रु.,५००
रक्सीको कारणले दिमागमा समस्या भई हिंड्न, उभिन समस्या भएको
पदम केएम, २२ वर्ष, प्युठान नपा-८                                                                        रु. २२,५००
तिघ्राको हड्डी भाँच्चिएकोले उपचारको लागि भरतपुर अस्पताल रिफर गरिएको, एम्बुलेन्सको भाडा तिरिएको।
विभिन्न विरामीहरुका लागि फार्मेसीबाट औषधीहरु किनेको                                  रु. १०,०३५

यो कोषबाट २०७४ सालभरीमा विभिन्न विरामीहरुलाई गरेर रु.,८६,३९५ रकम सहयोग गरियो। म प्युठान जिल्ला अस्पताल आएर यो कोष शुरु गरिसकेपछी गरिएको सहयोग रकम भने रु.,९८,३०५ पुगिसकेको छ। यो कोषमा अहिले पनि रु.,६०,४३२ बाँकी छ।

ससानो रकमको अभावमा निको हुनसक्ने रोगले पनि मान्छेले ज्यान गुमाएको वा पीडामा बस्नु परेको देखेर त्यसमा केही राहत दिन सकिन्छ कि भनेर यो 'विपन्न विरामी सहयोग कोष' शुरु गरिएको हो। पहिलेपहिलेका लेखहरुमा पनि यो कोषको उद्देश्य, कस्ता विरामीहरुलाई लक्षित गरिएको हो भनेर लेखिसकेको छु।

यो कोषबाट प्युठानका साथै रोल्पा, सल्यान, रामेछाप, ओखलढुंगा, नवलपरासी जिल्लाका विरामी साथै तराईका बढी पीडित जनताले पनि सहयोग पाएका छन्।

यो कोषमा धेरै जनाले समय समयमा र केहीले नियमितरुपमा नि:स्वार्थ भावनाले सहयोग गर्नु भएको छ। धेरैले आफ्नो नाम प्रकाशित नगरिदिनुहोला भन्ने अनुरोध गर्नुभएकोले दाताहरुको नाम समावेश गरेको छुइनँ। सबै सहयोगीहरुलाई हृदयदेखी नै धेरै धन्यवाद।


कतिले ठुलो ठाउँको ठुलो अस्पतालमा विरामी पुर्याउने बेलामा विरामीलाई बसपार्कसम्म लिन जाने, त्यहाबाट अस्पताल पुर्याउने, अस्पतालको बसाइको दौरान विरामी र उनका आफन्तलाई आफ्नो अमूल्य समय दिएर सहयोग गर्ने काम गर्नुभएको छ। गाँउका विपन्न विरामी जसका शहरमा कोही आफन्त छैनन्, चिनेका मान्छे छैनन्, ठूला अस्पतालमा बोलिदिने कोही हुन्नन्, तिनका लागि उहाँहरुको यो सानो सहयोग पनि ठुलो हुनजान्छ र उपचार सहज हुनेगर्छ र दुर्गमका ती विरामीले विरानो शहरमा पनि आफ्नोपन महसुस गर्ने गर्छन्। विरानो ठाउँमा आफ्नो मान्छेलाई झैं न्यानो सत्कार दिनुहुने सबै भोलेन्टियर साथीहरुलाई धेरै धन्यवाद। 

विपन्न विरामीहरुको उपचार गर्ने क्रममा प्युठान जिल्ला अस्पतालका सम्पूर्ण स्टाफहरु, बुटवल, चितवन, किर्तीपुर, काठमाण्डौका विभिन्न अस्पतालहरु(आम्दा अस्पताल, क्रीमसन अस्पताल, भरतपुर अस्पताल, किर्तीपुर अस्पताल, टिचिङ अस्पताल, मनमोहन कार्डियोथोरासिक सेन्टर आदी), त्यहाँका डाक्टरहरु, स्टाफहरुबाट भएको सहयोगको लागि धन्यवाद दिन चाहन्छु। साथै नेपाल सरकारले दिने गरेको नि:शुल्क औषधी (भनेजती उपलब्ध नहुने भए पनि) र कडा रोगहरुको नि:शुल्क उपचार सेवाले पनि धेरै सहयोग पुर्याएको छ।  

प्युठान जिल्लामा स्वास्थ्य बीमा सेवा लागू भईसकेको अवस्थामा अब यो कोषको रकम विपन्न विरामीको उपचारका साथसाथै विपन्न परिवारहरुको स्वास्थ्य बीमामा पनि प्रयोग गर्ने निर्णय गरेको छु। यस अन्तर्गत सरकारले तोकेको विपन्नको सूचीमा नपरेका, दीर्घ रोगी, जेष्ठ नागरिकहरुलाई प्राथमिकता दिइने छ।


अन्तमा, यो कोष पूर्णरुपमा विश्वासको आधारमा चलेको कोष हो। मेरो कामलाई विश्वास गरेर सहयोगी भावना राखी अहिलेसम्म विभिन्नरुपमा साथ दिनुभएका सम्पूर्ण महानुभावहरुलाई मेरो व्यक्तिगत र मेरा विरामीहरुको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु।
बाँकी पढ्नुहोस् >>