Thursday, December 29, 2011

मधुमेह र खुट्टाको हेरविचार/ Diabetic Foot Prevention


धुमेह एउटा दीर्घरोग हो र लामो समयमा यसले शरीरका विभिन्न अंगहरुमा खराब असर पार्छ। ती मध्ये डायवेटिक फुट/Diabetic Foot अर्थात् मधुमेह रोगमा देखिने खुट्टामा हुने घाउ र त्यसका कारणले औंला खुट्टा नै काट्नुपर्ने समस्या पनि एउटा हो।

चित्रमा भनिएका आधारमा नै अनुमान लगाउन सकिन्छ कि समस्या कति भयानक छ भनेर। तर उचित स्वास्थ्य उपचार सावधानीका उपाय र हेरविचारले यो समस्या ८५% सम्म कम गर्न सकिन्छ।

सबैभन्दा पहिले यस्तो समस्या किन आउँछ त्यो बारे केही बुझौं।

मधुमेहका कारणले पर्ने विभिन्न समस्याहरुमा शरीरका स्नायुहरुमा पर्ने खराब असर (डायवेटिक न्युरोप्याथी/Diabetic Neuropathy), सानाठुला रगतका नलीहरुमा पर्ने खराब असर (माइक्रो-म्याक्रो भास्कुलर कम्लिकेसन/Micro-macro vascular complications)हरु पनि पर्दछन्। यी असरहरु विशेष गरी शरीरमा लामो समयसम्म ग्लुकोजको मात्रा आवश्यकताभन्दा बढि भइरहेमा विस्तारै देखिन थाल्छन्। स्नायु/नसाहरुमा परेको असरका कारणले मधुमेहका विरामीका खुट्टाहरुमा दुखाइ, तातोचिसो थाहा पाउने शक्ति विस्तारै घट्दै जान्छ। जसका कारणले राम्रोसँग हेरविचार नगरेमा खुट्टामा घाउ हुनजाने सम्भावना बढेर जान्छ। त्यस्तै रक्तनलीहरुमा पर्ने असरका कारणले ती भागहरुमा राम्रो रक्तसंचार हुन पाउँदैन र घाउ राम्रोसँग ठिक नहुने, बढेर जाने र औंलाहरु मरेर जाने पनि हुन्छ।


चित्रमा देखाए जस्तै मधुमेहमा खुट्टामा रक्तसंचारमा कमि आई त्यसको रंग परिवर्तन हुँदैजाने, औंलाका कापहरु(जुन प्राय: राम्ररी सफा गरिदैंन)मा संक्रमण हुने, घाउ हुने, खुट्टाका औंलाहरु क्रमश: बांगो हुँदैजाने, घाउहरु बढ्दै गएर मरेर जाने, कालो हुने (ग्यांगरिन/Gangrene बन्ने) आदी समस्याहरु देखिन जान्छ। जसको समयमा उपचार नगरे संक्रमण शरीरभरी फैलेर विरामीको मृत्यु पनि हुनसक्छ। साथै उपचारका क्रममा खुट्टा वा खुट्टाका औंलाहरु काट्नुपर्ने हुनजान्छ।

मधुमेह रोगीहरुमा खुट्टाका यस्ता समस्याहरुबाट बच्नका लागि के गर्न सकिन्छ त? 

पहिलो कुरा त खुट्टाको हेरविचार नै हो। आफ्नो अनुहारको जस्तै खुट्टाको पनि हेरविचार गर्नुपर्छ। हरेक दिन सुत्नुभन्दा अघि खुट्टाको सरसफाइ गर्नुका साथै राम्रोसँग सुख्खा पनि राख्नुपर्छ। धेरै सुख्खा खालको छाला छ भने हल्का भ्यासलिन लगाएर छाला नरम राख्नु राम्रो हुन्छ। त्यस्तै नंग काट्दा भित्रसम्म छोटो गरेर काट्नु हुदैंन।


त्यस्तै नांगो खुट्टा कहिल्यै हिड्नु हुदैंन। हिटर, आगोमा खुट्टा सेक्नु हुदैंन।


राम्रोसँग जाँच गरेर मात्र जुत्ता लगाउने गर्नुपर्छ। जुत्ताभित्र पहिले हात छिराएर राम्रोसँग जाँचेर मात्र आफ्नो खुट्टा छिराउने गर्नुपर्छ। आफ्नो खुट्टाको नाप अनुसारको जुत्ता लगाउनुपर्छ।

नियमितरुपमा व्यायाम गर्ने गर्नुपर्छ, जसले गर्दा खुट्टामा रक्तसंचार राम्रोसँग भएर डायबेटिक फुट हुने सम्भावना कम रहन्छ।


कुनैपनि कस्सिने वस्तुहरु खुट्टा वा खुट्टाका औंलामा नलाऔं।


खुट्टामा देखिएको समस्याका आधारमा चिकित्सकलाई कतिकति समयमा देखाउनुपर्छ भन्ने जानकारी तलको चित्रमा दिइएको छ। 


र अन्त्यमा, 



धुम्रपानले शरीरका रक्तनलीहरुलाई पनि खराब असर पार्ने भएकोले डायबेटिक फुटको समस्यालाई धेरै गुणाले बढाउने गर्छ। त्यसैले धुम्रपान त्याँगौं र बेलाबेलामा चिकित्सकको सल्लाह लिन नहिच्किचाउँ।


बाँकी पढ्नुहोस् >>

Friday, December 16, 2011

अर्काको गल्तिबाट सिक्नु राम्रो हुन्छ।


केही दिन अघि भारतको कोलकाताको एउटा ठुलो प्राइभेट नर्सिङहोम एएमआरआई/AMRI (एडभान्स्ड मेडिकेर एण्ड रिसर्च इन्सिच्युट)मा आगलागी भएको घटना त धेरैले थाहा पाउनु भएकै होला। उक्त घटनामा हालसम्म विरामी र अस्पतालका कर्मचारी गरेर करिब ९६ जनाको मृत्यु भैसकेको पुष्टि भएको छ। धेरै जनाको मृत्यु आगोका कारणले भन्दा पनि धुँवामा निसास्सिएर भएको थियो। आगलागी हुँदा सुचना दिने फायर अर्लामको प्रयोग नभएको, आगलागीलाई रोक्ने उपकरणहरु जडान नगरिएको, बचाउकार्य ढिलो शुरु गरिएको जस्ता थुप्रै कारणहरुले गर्दा त्यति ठुलो संख्यामा मानिसहरुको मृत्यु भएको भनेर प्रारम्भिक छानविनमा भनिएको छ।

कारण जेसुकै भएपनि यो हेलचेक्राइको एउटा चरम विन्दु हो। अस्पताल जस्तो सम्वेदनशील क्षेत्रमा आकस्मिक भवितव्य पर्दा अपनाइनुपर्ने सुरक्षाका उपायहरु बारे बेलैमा नसोचिनु भनेको लापरवाहीको उच्च नमुना हो। प्राइभेट अस्पताल नै हो, सेवा दिनका लागि मात्र त पक्कै बनाइएको होइन, व्यवसायकै लागि खोलिएको हो। तर पनि व्यवसायमा उपभोक्ताप्रतिको जिम्मेवारी भन्ने कुरा पनि त हुन्छ। हाम्रो देश र केही छिमेकी देशहरुमा व्यवसायमा व्यवसायिकता/Professionalism को कमि देखिन्छ। नाफाका लागि खोलिएको भन्दैमा सामाजिक जिम्मेवारीको बोध नगरी आफ्ना सेवाग्राहीहरुको सुविधा र सेवालाई चटक्कै बिर्सेंर व्यापार मात्र गरिएको उदाहरण यहाँ थुप्रै देख्न पाइन्छ।

हुन त यो विकासशील देशहरुमा प्राय: गरेर देखिने समस्या हो। तर विकास हुनुनहुनुसँग भन्दा पनि नियम कानुन कतिको कडा छ, मानिसहरुमा जिम्मेवारीपन कत्तिको छ भन्नेसँग यसको बढि सम्बन्ध छ। विकसित देशहरुमा ससाना देखि लिएर ठुला घरहरुमा सुरक्षाका यस्ता उपकरणहरु, आपतकालीन अवस्थामा निस्कनका लागि आकस्मिक ढोकाहरु आदी सबैको व्यवस्था गरिएको हुन्छ र कानुनले पनि ती विनाका घरहरुको निर्माण गर्न रोक लगाएको हुन्छ। तर हाम्रोमा केकस्तो हुन्छ सबैलाई थाहा भएकै कुरा हो।

यस्तै अर्को उदाहरण आजका समाचारपत्रहरुमा देखियो। विषाक्त मदिराको सेवनले भारतमा लगभग १४३ जनाको मृत्यु। स्थानीय रुपमा बनाइएको मदिरामा स्वाद बढाउन र थप कडा पार्नका लागि मिसाइएको एमोनियम नाइट्रेट र अन्य रसायनहरुका कारण यस्तो समस्या देखिएको भनाइ छ। यो त के मिसाइएको थियो, मिसाएको रक्सी सेवन गर्दा के भयो भन्ने कुरा भयो। तर किन यस्तो घटनाहरु दोहोरिरहन्छ, भइरहन्छ भन्ने प्रश्नको फरक पाटो छ। माथि भनेको जस्तै नियममा कडाइ, व्यापारीहरुमा व्यावसायिकताको कमि र उपभोक्ताहरुमा जागरुकता र शिक्षाको कमिले पटकपटक यस्तो हुनेगर्छ।

यी त छिमेकी देशका घटनाहरु भए। तर हाम्रो देशमा पनि यस्तो नहोला भन्न कदापी सकिदैंन। राम्रो संरचना, सुरक्षाका उपायहरु विना खोलिएका प्राइभेट अस्पतालहरुमा कुनै दिन यस्तै दु:खदायी घटना नहोला भन्न सकिदैंन। तर कुरा प्राइभेट अस्पतालहरुको मात्र चाहीं पक्कै होइन। सरकारी अस्पतालका भवनहरुमा पनि सुरक्षाका उपायहरु अपनाइएको देखिएको छैन। आपतकालीन अवस्थामा बाहिर निस्कने आकस्मिक बाटोहरु/ Emergency exits, बाहिर निस्कने बाटोहरुको बारे जानकारी, आगो लागेमा सुचना दिने फायर अर्लाम, आगो निभाउन प्रयोग गरिने उपकरणहरुको व्यवस्था जस्ता आपतकालीन अवस्थाका व्यवस्थाहरु गरिनुपर्छ। साथै यस्ता आपतकालिन अवस्थाहरुमा के गर्ने भनेर आममानिसहरुलाई नि शिक्षा दिनुपर्छ। त्यस्तै यहाँ नीतिनियमहरुमा कडाइ, व्यापारीहरुमा जिम्मेवारीपन र उपभोक्ताहरुमा पनि जागरुकताको टड्कारो खाँचो देखिन्छ।

तर आफैंलाई परेर मात्र चेत्ने हामी नेपालीले के अरुको गल्तीबाट केही सिकौंला त? 

बाँकी पढ्नुहोस् >>

Monday, December 12, 2011

छोरा वा छोरी, बन्छन् कसरी?



स्याउ किन तल झर्छ भन्ने न्युटनलाई झक्झकाउने प्रश्न जस्तै सामान्य जनजीवनमा यो प्रश्न कमै मानिसको मनमा आउँछ होला। तर विज्ञानको भाषामा यो प्रश्नको उत्तरमा नै संसार र सारा प्राणी जगतको अस्तित्व अडेको छ। आज यही प्रश्न र यससँग सम्बन्धित केही स्वास्थ्य सम्बन्धि समस्याहरुका बारेमा चर्चा गर्दैछु।

माथिको प्रश्नको उत्तर दिनु अघि अर्को प्रश्नको उत्तर थाहा पाउनुपर्ने हुन्छ। मानिसले ठ्याक्कै मानिस नै कसरी जन्माउँछ अथवा कुनै पनि जीवले ठ्याक्कै त्यही जीव कसरी जन्माउँछ, जस्तै विरालोले विरालो नै, कुखुराले कुखुरा नै। सामान्यरुपमा सोच्दा यी बौलाहा प्रश्नहरु हुन् तर संसारका सम्पूर्ण जीवीत वस्तु (प्राणी वा वनस्पति)को आधार त्यसैमा अडेको छ। यसलाई प्रजनन शक्ति/ Reproduction भनिन्छ। र यसरी आफू जस्तै अर्को जीवनको शुरुवात गर्ने क्षमता क्रोमोजोम/Chromosome भन्ने कुरामा रहेको हुन्छ। हरेक जीवीत वस्तुको शरीरका कोषहरुमा एउटा निश्चित संख्याका क्रोमोजोमहरु रहेका हुन्छन्। यी क्रोमोजोमहरु जोडीमा मिलेर बसेका हुन्छन्। जस्तै हरेक सामान्य मानिसका कोषहरुमा ४६ वटा वा २३ जोडा क्रोमोजोमहरु हुन्छन्। त्यस्तै बिरालोको १९ जोडा, कुखुराको ३९ जोडा क्रोमोजोम हुन्छन्। तर फरक देखिनु क्रोमोजोम को सँख्यामा मात्र नभै त्यस्मा हुने जीनहरु/Genes मा पनि भर पर्छ।

क्रोमोजोमहरु हजारौ लाखौं जीनहरु मिलेर बनेका हुन्छन्, जसमा जीवीत वस्तुका विभिन्न गुणहरुका मेमोरी/memory (सम्झना) बसेको हुन्छ। आँखा कस्तो हुने, कपालको रंग कस्तो हुने, कतिको अग्लो हुने, छालाको रंग कस्तो हुने जस्ता विभिन्न गुणहरु यिनै क्रोमोजोममा भएका जीनहरुले निर्धारण गर्छन्। र यी जीनहरु बच्चाहरुले आमाबुवाबाट पाउने गर्छन्, त्यसैले त साधारणतया बच्चाहरुमा आमाबुवाका जस्ता शारिरीक गुणहरु देखिन्छन्।

मानिसमा हुने २३ जोडा क्रोमोजोमहरुमा २२ जोडा अटोजोम/Autosome र १ जोडा सेक्स क्रोमोजोम/Sex chromosome हुन्छन्। अटोजोममा शरीरका विभिन्न गुणहरुको सम्झना/ मेमोरी रहेको हुन्छ र त्यसैका आधारमा बच्चाको शरीरको निर्माण हुन्छ भने सेक्स क्रोमोजोममा मुख्यरुपमा बच्चाको लिङ निर्धारण गर्ने मेमोरी रहेको हुन्छ। महिलामा यो एक्स-एक्स/XX र पुरुषमा एक्स-वाई/XY रहेको हुन्छ।






यौनसम्पर्कको बेलामा पुरुषको वीर्य/Semen महिलाको योनीमार्गमा छोडिन्छ। वीर्यमा करोडौंको संख्यामा शुक्रकिटहरु/Spermatozoa हुन्छन्, जुन गएर महिलाको डिम्बाशय/Ovaryबाट निस्केको डिम्ब/Ovumसँग फेलोपियन ट्युव/Fallopian tubeमा मिल्छ। यसलाई फर्टिलाईजेसन/Fertilization वा डिम्ब निशेचन हुनु भनिन्छ। यही फर्टिलाइजेसन हुने बेलामा बन्ने नयाँ जाइगोट/Zygote वा नयाँ जीवन एक्स-एक्स/XX हुने वा एक्स-वाई/XY हुने भनेर फैसला हुन्छ र त्यहीबाट शुरु हुन्छ छोरा वा छोरीको जन्म हुने कथा।


शुक्रकिट/Spermatozoon र डिम्ब/Ovum भनेका के हुन्?
यी वास्तवमै मानिसको जीवनका उदगम विन्दुहरु हुन्। माथि भनेको जस्तो मानिसको हरेक कोषिका/Cellमा २३ जोडा क्रोमोजोम हुने भए शुक्रकिट र डिम्ब (जुन पनि मानव शरीरका एक प्रकारका कोषहरु हुन्) मिलेर नयाँ कोष बन्दा त्यसमा किन ४६ जोडा क्रोमोजोम भएर त्यो अर्कै जीव किन बन्दैन? यसैमा प्रकृतिको जादु लुकेको छ। हरेक कोषको विभाजन भएर नयाँ कोष बन्ने बेलामा साधारणत: माइटोसिस/Mitosis प्रकृयाबाट जस्ताको तस्तै १ बाट २ र २ बाट ४ कोषहरु बन्छन्। तर प्रजननका लागि प्रयोग हुने कोषहरु पुरुषमा शुक्रकिट र महिलामा डिम्ब बन्ने बेलामा केहि फरक हुन्छ। यसलाई मिओसिस/Meiosis प्रकृया भनिन्छ। यो प्रकृयामा पुरुषमा एउटा कोषबाट चारवटा शुक्रकिटहरु/Spermatozoa बन्छन्, जसमा २३ वटा मात्रै क्रोमोजोम हुन्छन्। त्यस्तै महिलामा पनि २३ वटा क्रोमोजोम भएका चारवटै कोष बन्छन्, जसमा एउटा मात्र डिम्ब/Ovum बन्छ र बाँकी ३ वटा पोलार बडिज/Polar bodies बन्छन्।

माथि भनिएजस्तै महिला र पुरुषका शरीरका कोषहरुमा भएका अटोजोमल क्रोमोजोमहरु एकै खालका हुन्छन् तर १ जोडा क्रोमोजोमहरु, जसलाई सेक्स क्रोमोजोम/Sex chromosomes भनिन्छ, तिनीहरु केही फरक हुन्छन्। महिलामा यो एक्स-एक्स/XX हुन्छ भने पुरुषमा एक्स-वाई/XY हुन्छ। यसैले नै मानिसको लिगं निर्धारण गर्ने काम गरेको हुन्छ।

पुरुषमा शुक्रकिट बन्ने बेलामा हुने मिओसिस प्रकृयामा बन्ने चारवटा शुक्रकिटहरुमा दुईटामा एक्स/X सेक्स क्रोमोजोम र बाँकी दुईटामा वाई/Y बस्न जान्छन्। महिलामा भने बन्ने एउटै डिम्बमा एक्स/X क्रोमोजोम बस्छ। फर्टिलाइजेसनको बेलामा यदी एक्स/X बोकेको शुक्रकिट र डिम्बको मिलन भएमा नयाँ कोष/जाइगोट/ एक्स-एक्स (XX) सेक्स क्रोमोजोम भएको बन्छ, जुन पछि गएर छोरी बन्छ। त्यस्तै वाई/Y बोकेको शुक्रकिट र डिम्बको मिलन भएमा एक्स-वाई(XY) सेक्स क्रोमोजोम भएको जाइगोट बन्छ, जसबाट छोराको जन्म हुन्छ।

यो त भयो क्रोमोजोमल सेक्स/Chromosomal sex को कुरा। अर्को हुन्छ, बाहिरबाट देखिने शारीरिक रुपमा महिला वा पुरुष भन्ने कुरा।

वाई/Y क्रोमोजोम हुदैंमा बच्चाको कसरी पुरुषको प्रजनन अंगको र नहुदैंमा कसरी महिलाको प्रजनन अंगको विकास हुन्छ? 
यसमा वाई/Y क्रोमोजोममा भएका जीनहरुले काम गर्छन्। भ्रुणमा प्रजनन अंगहरु बन्नको लागि मुलेरियन डक्ट/Mullerian Duct/Paramesonephric Ductवुल्फियन डक्ट/Wollfian duct/Mesonephric Duct गरी २ प्रकारका नलीहरु हुन्छन्। मुलेरियन डक्टबाट महिलाको भित्री प्रजनन अंगहरु जस्तै फेलोपियन ट्युव, पाठेघर, योनीको भित्री भाग आदी बन्छ भने वुल्फियन डक्टबाट पुरुषको भित्री प्रजनन अंगहरु जस्तै इपीडिडाइमिस/Epididymis, भास डिफरेन्स/Vas deferens आदी भागहरु बन्छन्। डिम्बाशय र अण्डकोष भने अर्कै भागबाट बन्ने गर्छ।

वाई/Y क्रोमोजोमको जीनले बनाउने टेस्टिस डिटरमाइनिगं फ्याक्टर/Testes Determing Factor/टिडिएफ (TDF) ले भ्रुणमा अण्डकोष बनाउने गर्छ, जुन बनेपछि पुरुष हर्मोन टेस्टोसटेरोन/Testosterone, डिएचटी/DHT, मुलेरियन इन्हीबिटिगं फ्याक्टर/Mullerian Inhibiting Factor/एमआईएफ(MIF) उत्पादन गर्छ। यी हर्मोनहरुले मुलेरियन डक्टको विकासलाई रोक्छ र वुल्फियन डक्टको विकासलाई सहयोग गर्छ, जसले गर्दा भ्रुणमा पुरुष प्रजनन अंगहरुको विकास हुनगई बच्चा पूर्णरुपमा छोराको रुपमा जन्म लिन्छ। र यदी वाई/Y क्रोमोजोम छैन भने मुलेरियन डक्टको विकास हुनगई भ्रुण छोरीको रुपमा विकसित हुन्छ।

यो त सामान्य अवस्थामा भ्रुण छोरा वा छोरी बन्ने प्रकृया भयो।
यदी यसमा केही गडबडी भयो भने के हुन्छ?


जस्तै फर्टिलाइजेसन हुँदा एक्स-ओ/XO भएमा अर्थात डिम्ब वा शुक्रकिट कुनै एक सेक्स क्रोमोजोम नै नभएको परेमा के हुन्छ? अथवा एक्स-एक्स-वाई/XXY अर्थात एउटा एक्स क्रोमोजोम बढी भएमा के हुन्छ? त्यस्तै फर्टिलाइजेसन त एक्स-वाई/XY को रुपमा भयो अर्थात क्रोमोजोमल सेक्स पुरुषको तर शारीरिक विकास महिलाको रुपमा हुनसक्छ कि सक्दैन?

यी र यस्तै स्वास्थ्य सम्बन्धी समस्याहरुको बारेमा अर्को भागमा चर्चा गर्नेछु।


स्रोतहरु:



बाँकी पढ्नुहोस् >>

Thursday, December 1, 2011

एचआईभी र एड्स: केही भ्रम, केही सत्य

ज डिसेम्बर १, विश्व एड्स दिवस हो। दिनानुदिन बढी रहेको यो रोगका बारेमा रहेका केही भ्रम र सत्य कुराहरुलाई यहाँ प्रस्तुत गरेको छु।


एच आई भी हुनु भनेको एड्स हुनु हो। 
भ्रम
एच आई भी (Human Immunodeficiency Virus/ HIV) ले शरीरको रोगसँग लड्ने प्रतिरोधात्मक कोषिकाहरु सीडि फोर (CD 4) लाई मार्ने काम गर्छ। एचआईभीको संक्रमण भएर सीडि फोर कोषहरुको संख्या २०० भन्दा कम भएमा वा रोग प्रतिरोधात्मक शक्ति कमजोर भएका व्यक्तिहरुमा मात्र देखिने खालका संक्रमणहरु देखिएमा त्यस अवस्थालाई एड्स (Acquired Immunodeficiency Syndrome/ AIDS) भनिन्छ। सहि औषधीको प्रयोग र नियमित जाँचबाट एचआईभी संक्रमण भएको व्यक्ति पनि वर्षौं एड्स नभई बाँच्न सक्छन्।



साधारण सम्पर्कबाट एचआईभी संक्रमण सर्दैन।
सत्य 
साधारण सम्पर्क जस्तै अँगालो मार्ने, एउटै रुमालको प्रयोग गर्ने, जुठो खाने गर्नाले एचआईभी संक्रमण सर्दैन। साधारणतया रगत लिँदादिँदा पनि यो रोग सर्दैन किनकी त्यस्तो बेला एचआईभी लगायत हेपाटाइटिस बी जस्ता सर्नसक्ने रोगहरुको परिक्षण गरिएको हुन्छ। तर असुरक्षित यौनसम्पर्क, एउटै सई प्रयोग गरेमा, राम्ररी सफा नगरिएको सामानले टाटु गरेमा यो रोग सर्न सक्छ।


एचआईभी संक्रमण भइपछि केही समय मात्र बाँच्छ। 
भ्रम
यो विरामी अनुसार फरक हुन्छ। कसैमा केही एचआईभी संक्रमण भएको केही महिनामै एड्स हुन्छ भने कतिमा दशौं वर्षसम्म पनि केही हुदैंन र शरीरमा भाइरसको मात्रा धेरै बढ्दैन। यसमा नियमित रुपमा आफ्नो चिकित्सकसँगको जाँच र औषधीहरुको सेवनले पनि सहयोग गर्छ। अमेरिकी बास्केटबल खेलाडी म्याजिक जोन्सनले आफूलाई एचआईभी संक्रमण भएको घोषणा गरेको २० वर्ष भैसकेको छ, तरपनि उनलाई आज पनि एड्स भएको छैन।


एचआईभी संक्रमण भएको लक्षणबाट नै थाहा पाउन सकिन्छ। 
भ्रम 
कति मानिसमा संक्रमणको बेलामा केही पनि लक्षणहरु नदेखिने गर्छ। कतिलाई भने संक्रमण भएको केही साताभित्र ज्वरो आउने, थकाई लाग्ने, घाँटी दुख्ने जस्ता सामान्य लक्षणहरु देखिने गर्छ। यी लक्षणहरु पनि केही हप्तापछि हराएर जान्छन् र वर्षौंसम्म केही पनि लक्षण नदेखिने र पछि एड्स हुने हुन्छ। एचआईभी संक्रमण भए नभएको जान्ने एउटै मात्र तरिका भनेको रगतको परिक्षण हो। त्यसैले शंका लागेको छ भने रक्त परिक्षण गरी चाँडै पत्ता लगाएर उपचार गर्नु उत्तम हुन्छ।


एचआईभी अन्य सन्क्रमण जस्तै औषधी खाएमा पूर्णरुपमा ठिक हुन्छ। 
भ्रम 
आजको दिनसम्म यसलाई पूर्णरुपमा निको पार्ने कुनै औषधीको विकास भएको छैन। हामीसँग भएका औषधीहरु(Anti Retroviral Therapy/ ART) ले शरीरमा एचआईभीको संख्यालाई नियन्त्रणमा राखी शरीरको रोग प्रतिरोधात्मक शक्तिलाई सामान्य राख्न र एड्सको अवस्थामा पुग्नबाट बचाउने काम गर्छन्। आफ्नो चिकित्सकसँग सल्लाह गरी रगतको जाँच गरी कुन अवस्थामा औषधी शुरु गर्न सकिन्छ, आफ्नो शरीरमा भाइरसको मात्रा कति छ (Viral Load), रोग प्रतिरोधात्मक कोषहरुको संख्या कति छ (CD4 count) भनेर थाहा पाउन सकिन्छ।


जसलाई पनि एचआईभी संक्रमण हुनसक्छ। 
सत्य
के महिला, के पुरुष, के बच्चा, के वृद्ध, यो संक्रमण कसैलाई पनि हुनसक्छ। त्यस्तै समलिङी, विपरीतलिङी सबैलाई यो संक्रमण हुनसक्छ। त्यसैले आजैदेखि यो रोगबाट बच्ने तरिकाहरु जानी राखौं र प्रयोगमा पनि ल्याऔं।


दुवैलाई एचआईभी संक्रमण छ भने यौनसम्पर्क गर्दा कण्डम लगाउनु जरुरी हुदैंन। 
भ्रम 
दुवैलाई एचआईभी संक्रमण हुदैंमा कण्डमको प्रयोग बेकार भन्ने हुदैंन। यसले सम्पर्कको बेलामा एचआईभी का अन्य प्रकारहरु र यौनसम्पर्कबाट सर्ने अन्य खालका रोगहरु (Sexually Transmitted Diseases) बाट बचाँउछ। त्यस्तै तपाईंले एचआईभीको औषधी खाइराख्नु भएको छ र तपाई स्वस्थ महसुस गर्नुहुन्छ भने पनि तपाईंले अरुलाई यो संक्रमण सार्न सक्नुहुन्छ।


एचआइभी संक्रमित आमाको बच्चालाई एचआईभी नहुनसक्छ।
सत्य
एचआईभी संक्रमित आमाले बच्चा पाउँदा गर्भाधारणको बेलामा वा सुत्केरी हुने बेलामा बच्चालाई यो संक्रमण सर्नसक्छ। तर यो शतप्रतिशतमा हुदैंन। चिकित्सकसँगको सल्लाह, औषधीको सेवन, नियमित जाँच आदीले बच्चामा यो संक्रमण सर्ने सम्भावनालाई घटाउन सकिनछ।


रोग प्रतिरोधात्मक शक्ति कमजोर भएको अवस्थामा हुने खतरनाक संक्रमणहरु (Opportunistic Infections) बाट केही गरेपनि बच्न सकिदैंन। 
भ्रम 
एचआईभी पोजिटिभ भएका व्यक्तिहरुको रोग प्रतिरोधात्मक शक्ति कम हुने हुँदा क्षयरोग, क्यान्डीडीयासीस/ Candidiasis, न्युमोसिस्टीस न्युमोनिया/ Pneumocystis Pneumonia जस्ता रोगहरु हुने सम्भावना धेरै हुन्छ। तर एचआईभीका औषधीहरुको प्रयोग र ती संक्रमणहरुबाट बचाउने औषधीहरुको प्रयोगले त्यो सम्भावनालाई कम गर्न सकिन्छ।


अन्त्यमा,
नेपाल सरकारले एचआइभी सन्क्रमणका औषधीहरु नि:शुल्क वितरण गर्ने गर्छ। त्यस्तै यो सम्बन्धी रक्तपरिक्षण सेवाहरु पनि नि:शुल्क प्रदान गरी रहेको छ। तरपनि यो सबै सन्क्रमितहरुको लागि पर्याप्त छैन। साथै यसको औषधी र यसका सन्क्रमितहरुलाई सेवा मात्र उपलब्ध नगरी अन्य सामान्य जनमानसमा यो रोग सम्बन्धी जनचेतना जगाउने काम पनि गर्नुपर्छ। हामी स्वयम् पनि जागरुक भएर यसको बारेमा जानकारी दिने र लिने गरी एचआइभी र एड्सको विरुद्धको लडाईंमा सह्भागी हुनुपर्छ।


स्रोत:
http://www.medicinenet.com/hiv_aids_myths_and_facts_pictures_slideshow/article.htm









बाँकी पढ्नुहोस् >>

Tuesday, November 22, 2011

मधुमेह सम्बन्धी जानकारी - बाँकी अंश

धुमेहका लक्षणहरु के-के होला भनेर कसैलाई पनि सोध्दा बढि भोक लाग्ने, बढि प्यास लाग्ने, बढि पिसाब लाग्ने भन्ने उत्तर पाइन्छ। तर ती भनेका पछिका वा रोगले बढि नै असर गरिसकेपछिका लक्षणहरु हुन्। त्यसैले रोगलाई पहिले नै समाएर त्यसका जटिलताहरुबाट आफूलाई बचाउनका लागि यसका सुरुका लक्षणहरु थाहा पाउनुपर्ने हुन्छ। अन्य दिर्घरोगहरुमा जस्तै यसमा पनि शुरुमा केहि पनि लक्षणहरु नदेखिन सक्छ। त्यस्तो बेलामा अघिल्लो पोष्टरमा भनिएका मध्ये मधुमेह हुनसक्ने सम्भावना भएका कुनै अवस्था वा समस्या भएमा आफूलाई मधुमेह भए नभएको जाँच गर्नुपर्छ।


के मधुमेह निको पार्न सकिन्छ त?
सकिदैंन। उचित रेखदेख र उपचारबाट यसलाई नियन्त्रणमा मात्र राख्न सकिन्छ र एक पटक यो रोग लागिसकेपछि हाम्रो प्रयास पनि यसलाई नियन्त्रणमा राखेर यसका कारणले अन्य अंगहरुमा जटिलता नआओस् भन्ने नै हुन्छ न कि चमत्कारिक रुपमा यसलाई ठिक पार्ने, जुन सम्भव पनि छैन र यसका विरामी र सामान्य व्यक्तिहरुले पनि यो बुझ्नु अति जरुरी छ।


त्यसोभने यस्तो महामारीको रुपमा फैलिदै गरेको दीर्घरोगबाट बच्ने कुनै उपाय छैन त? त्यसो होइन। यदी तपाईं मधुमेह हुनसक्ने सम्भावित सूचीमा पर्नुहुन्छ भने तल दिइएका उपायहरु अपनाएर यो रोग लाग्ने सम्भावनालाई धेरै कम गर्न सक्नुहुन्छ। यसमा पेटको गोलाई (नाइटोको वरीपरिको)/Abdominal Girth अति महत्वपूर्ण हुन्छ। यसको नाप पुरुषहरुमा ९० सेमी भन्दा कम र महिलाहरुमा ८० सेमी भन्दा कम राख्नुपर्छ। यी उपायहरु स्वस्थ जीवन शैलीका तरिकाहरु हुन्, जुन रोग लागेपछि वा रोग लाग्ने सम्भावना देखिएका व्यक्तिहरुले मात्र नभई सबैले अपनाउनु फाइदाजनक हुन्छ।


मधुमेह नियन्त्रणका उपलब्ध विधिहरु निम्न हुन्। ध्यान दिनुहोस्- औषधी र इन्सुलिन यसको पाचौं नम्बरमा परेको छ र पहिले नम्बरमा शिक्षा र ज्ञान छ। मधुमेह, उच्च रक्तचाप जस्ता दीर्घरोगहरुमा रोग लागेर उपचार गर्नुभन्दा पहिले नै रोगका बारेमा जानकारी ज्ञान लिएर त्यसलाई लाग्नै नदिने उपायहरु अपनाउनु बुद्धिमानी हुन्छ।


नियमित व्यायामले शरीरमा इन्सुलिनको कार्य प्रभावकारिता बढाई रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्छ। त्यस्तै शरीरको तौल नियन्त्रणमा राख्ने र शरीरलाई स्फूर्त राख्ने गर्छ।


मधुमेह रोग एउटा भएपनि शरीरका धॆरै अंगहरुमा यसले असर गर्छ। त्यसैले नियमित रुपमा रगतमा चिनीको मात्रा जाँचेर मात्र यसको असर र अवस्थाका बारेमा थाहा पाउन सकिदैंन। पोष्टरमा भनिएजस्तै नियमित समयमा मृगौला, आँखा, मुटु, खुट्टा आदीको जाँच गरिरहनुपर्छ।


मधुमेहका विरामीहरुमा आपतकालीन दीर्घकालीन गरी दुई थरीका जटिलताहरु देखिनसक्छन्। चिनीको मात्रा अचानक कम हुनु/Hypoglycemia बढि हुनु/Diabetic KetoAcidosis (DKA) or HyperOsmolar Non-Ketotic coma (HONK) ले विरामीको ज्यान पनि जानसक्छ। त्यसैले विरामी र उसका परिवारले यस्ता अवस्थाका लक्षण र त्यस्तो बेलामा गर्नुपर्ने उपचारका बारेमा जानकारी लिइराख्नुपर्छ। कहिलेकाही चिनीको मात्रा कम हुँदा र बढि हुँदाको अवस्थाका लक्षणहरु छुट्टयाउन गाह्रों हुनसक्छ, त्यस्तो बेलामा चिनीको मात्रा कम भएको ठानेर ग्लुकोज पानी वा गुलियो कुरा खानुपर्छ, किनकी चिनी कम हुने अवस्थाले विरामीको ज्यान तुरुन्तै जानसक्छ भने बढि हुने अवस्थामा त्यस्तो स्थिती आउन केही घण्टा वा दिन लाग्नेगर्छ साथै चिनीको मात्रा बढि भैरहेको बेलामा थप केही बढि भएमा खासै फरक पर्दैन तर चिनीको मात्रा कम हुँदा क्षणभरमा ज्यान जानसक्छ।


दीर्घकालीन रोगहरुमा धुम्रपान जस्ता कुलतले समस्या र जटिलताहरुलाई बढाउने छिटो ल्याउने काम गर्छ।


त्यसैले त्यस्ता कुलतहरुलाई चटक्कै छोडेर स्वस्थ जीवन जीउनु नै बुद्धिमानी हुन्छ।

बाँकी पढ्नुहोस् >>

Sunday, November 20, 2011

मधुमेह सम्बन्धी जानकारी

'विश्व मधुमेह दिवस' नोवेम्बर १४ को उपलक्ष्यमा यही मङ्सीर ४ गते भरतपुर अस्पतालको प्रांगणमा 'मधुमेह सम्बन्धी जानकारी मुलक कार्यक्रम' राखिएको थियो। शिक्षण अस्पताल/IOM, काठमाडौंका प्राध्यापक डा. प्रदीप श्रेष्ठको नेतृत्व र भरतपुर अस्पतालका केही मेहेनेती साथीहरुको सहयोगमा गरिएको यो कार्यक्रममा मधुमेह रोगका बारेमा विभिन्न सामान्य तर महत्वपूर्ण जानकारीहरु दिइएको थियो। कार्यक्रममा मधुमेह सम्बन्धी थुप्रै जानकारीमुलक पोष्टरहरु राखिएका थिए। ती पोष्टरहरुलाई म यो ब्लगमा क्रमैसँग प्रकाशित गर्नेछु।


मधुमेह चिनी बढी खानाले वा गुलियो कुरा धेरै खानाले हुन्छ भन्ने भ्रम धेरैलाई छ, जुन सत्य होइन। यो रोग पोस्टरमा भनिए झै इन्सुलिन/Insulin को कमी वा भएको इन्सुलिनले काम गर्न नसकी रगतमा चिनीको मात्रा सामान्य भन्दा बढी भएर लाग्ने गर्छ। 


माथि देखाइएको जस्तै मधुमेह ४ प्रकारको हुन्छ। आजभोलि संसारमा र हाम्रो देशमा पनि महामारीको रुपमा देखिन थालेको चाँही दोस्रो प्रकारको मधुमेह/Type 2 Diabetes हो र अबका जानकारीहरु यही दोस्रो प्रकारको मधुमेह सम्बन्धी हुन्। 


माथि भनिएका १० मध्ये कुनै पनि अवस्था वा समस्या भएको व्यक्तीलाई मधुमेह हुने सम्भावना बढी हुन्छ। र तपाईंमा माथिका कुनै १ भन्दा बढी अवस्थाहरु छन् भने त्यो सम्भावना झन् बढेर जान्छ। जस्तो तपाईंको परिवारमा मधुमेह छैन तर तपाईं मोटो हुनुहुन्छ, तपाईंको शारीरिक कृयाकलाप थोरै छ, तपाईंलाई उच्च रक्तचाप छ भने तपाईंलाई मधुमेह हुने सम्भावना धेरै नै बढी हुन्छ। 

'महिलाको डिम्बाशयमा पानी भएका गोलाहरु धेरै भएमा' भनेर Polycystic ovary syndrome (डिम्बाशयमा पानीका फोकाहरु हुने सिन्ड्रोम) लाई भन्न खोजिएको हो, जसमा पनि मधुमेह हुने सम्भावना बढी हुन्छ। 

क्रमश:
बाँकी पढ्नुहोस् >>

Tuesday, November 15, 2011

औषधीको प्रयोग द्वारा गरिने सुरक्षित गर्भपतन/ Medical Abortion

यस्तो लोगो राखिएको स्वास्थ्य संस्था मा मात्र सुरक्षित गर्भपतन सेवा प्रदान गरिन्छ। 

यस विधिबाट ९ हफ्ता(६३ दिन) भित्रको गर्भलाई सुरक्षित रुपमा गर्भपतन् गर्न सकिन्छ।

यो कसरी गरिन्छ, यो गर्दा के के कुरामा ध्यान पुर्‍याउनुपर्छ, कहाँबाट यो सेवा लिन सकिन्छ, कतिको प्रभावकारी छ आदीबारे केही चित्रहरु मार्फत बुझाउने प्रयास गरेको छु।


तालिमप्राप्त स्वास्थ्यकर्मीद्वारा सुचिक्रित स्वास्थ्य संस्थामा मात्र यो सेवा दिइन्छ। तर अनुगमन र कारवाहीको कमीको कारणले हाम्रो देशमा यी औषधीहरु सामान्य औषधी पसलहरुमा पनि सजिलै पाईन्छ। उनीहरुले राम्रो तरिकाले सबै कुराको जानकारी दिएर खाने तरिका राम्ररी बाबताइदिए त अलि ठिकै पनि हो तर विना तालिम र साधारण जानकारी हचुवाको भरमा विरामीलाई औषधी दिएर पठाउछन् र पछि कति जटिल समस्या लिएर स्वास्थ्य संस्थामा आइपुग्छन्।


तालिमप्राप्त स्वास्थ्यकर्मीद्वारा सुचिक्रित स्वास्थ्य संस्थामा महिलाको शारीरिक जाँच गरेर, प्रयोग गरिने औषधीको नराम्रो असर देखिने अवस्था छ, छैन निर्णय गरेर, पाठेघरको आकार छामेर ९ हफ्ता भन्दा कमको हो, होइन निस्चित गरेर मात्रै यो सेवा दिनु र लिनु पर्छ। साथै दोस्रो औषधी घरमा आँफैले नै लिन सकिने भएकोले त्यो कसरी, कुन बेला लिने, त्यसपछी शरीरमा के-के परिवर्तन आउन सक्छन, के भएमा खतरा हो भनी बुझेर स्वास्थ्य संस्था जाने आदी सबै कुराको जानकारी यो सेवा लिने बेलामै दिनुपर्छ, जुन साधारण औषधी पसलमा शायदै दिईन्छ।



गर्भपतनलाई परिवार नियोजनको साधनको विकल्पको रुपमा कदापी लिनु हुँदैन। त्यसैले सकेसम्म गर्भ रहन नदिनको लागि परिवार नियोजनका अस्थायी/ स्थायी साधनहरुको प्रयोग गर्नुपर्छ।

गर्भपतन गरेको १० दिन भित्र तुरुन्तै अर्को गर्भ रहनसक्ने सम्भावना भएकोले गर्भपतन गरिसकेपछी परिवार नियोजनको साधनको प्रयोग गर्नुपर्छ।

बाँकी पढ्नुहोस् >>

Friday, November 11, 2011

परिवार नियोजन (Family Planning)


सुरक्षित गर्भपतन (Comprehensive Abortion Care/ CAC) को १० दिने तालिम लिदैं गर्दा महिला स्वास्थ्य, परिवार नियोजन र गर्भपतन सम्बन्धी विभिन्न तरिका, फाइदा बेफाइदा लगायत यी सम्बन्धी विविध जानकारी र अनुभव सँगाल्ने मौका मैले पाइरहेको छु। मैले पाएका यिनै जानकारी र अनुभवहरुलाई यहाँ बाँड्ने प्रयास गरेको छु।

गर्भान्तरको लागि परिवार नियोजनका साधनहरु:

केहि वर्ष बिराएर बच्चा पाउनु आमा र बच्चाको स्वास्थ्यका लागि उत्तम छ।

परिवार नियोजन (Family Planning)
महिलाहरुको प्रजनन् अधिकार सुरक्षित राखी आमा र बच्चाको स्वास्थ्य राम्रो हुने दम्पतीबीच कहिले र कतिवटा बच्चा जन्माउने भनी भविष्यका लागि तयार पारिएको परिवार बच्चा संख्यालाई परिवार नियोजन भनिन्छ। यसका विभिन्न आधुनिक उपायहरु निम्नानुसार छन्।

कण्डम (Condom) 
कण्डम के हो?
कण्डम पुरुषले प्रयोग गर्ने पातलो रबरको खोल हो। यसभित्र भएको चिल्लो पदार्थले गर्दा पुरुषले आफ्नो लिङमा सजिलैसँग लगाउन सक्छन्। हरेक पटकको सहवासमा यो प्रयोग गरेमा गर्भ हुनबाट बचाउँछ। साथै कण्डमको प्रयोग गरेमा यौनरोग तथा एच. आई. भी. एड्स हुनबाट पनि बचाउँछ।

कण्डमले कसरी गर्भ रोक्छ?
कण्डम लगाएर सहवास गरेमा पुरुषको लिङबाट निस्कने वीर्य कण्डमको टुप्पामा जम्मा भई शुक्रकीट महिलाको पाठेघरमा पुग्न पाउँदैन। जसले गर्दा महिला गर्भवती हुदैंनन्। कण्डम एकपटक प्रयोग गरेपछि फेरी प्रयोग गर्नुहुदैंन। लगाईसकेको कण्डम सुरक्षित ठाँउमा फ्याँक्ने वा जलाउने गर्नुपर्दछ।

पिल्स (Pills) 
पिल्स के हो?
पिल्स भनेको महिलाले खाने परिवार नियोजनको एक भरपर्दो अस्थायी साधन हो। यो छोटो अवधिका लागि गर्भान्तर गर्न चाहने महिलालाई धेरै नै उपयोगी छ। यो चक्की हरेक दिन नबिराई खाने गरेमा गर्भ रहँदैन। तर यो चक्की खान छोडेमा महिलाले तुरुन्तै गर्भधारण गर्न सक्छिन्।
पिल्स एक साइकल (एक पुरिया)मा जम्मा २८ चक्की हुन्छन्। २८ चक्कीहरुमध्ये २१ वटा सेतो र ७ वटा खैरो रंगको हुन्छ। महिलाले चक्की खान छाडेपछि उनको प्रजनन् शक्ति चाँडै नै फर्कन्छ। यसबाट उनको महिनावारी चक्रमा कुनै असर गर्दैन। यदि चक्की खान छाडेपछि पनि महिलाले गर्भधारण गर्न सकेनन् भने यो समस्या पिल्स छोडेको कारणबाट नभई अन्य कुनै कारण हुनसक्छ भनी सो कुराको जाँच गराउनुपर्छ।

पिल्सले कसरी गर्भ रोक्छ?
मिश्रित चक्की (पिल्स)ले डिम्ब परिपक्व भई निस्कने क्रियालाई रोक्छ। जसका कारणले मासिक डिम्ब निष्काशन हुन पाउँदैन। साथै पाठेघरबाट निस्कने तरल पदार्थलाई बाक्लो बनाउँछ। त्यसैगरी पाठेघरको भित्री भागलाई पातलो बनाई गर्भ रहनबाट रोक्दछ।

डिपोप्रोभेरा (Depoprovera) 
डिपोप्रोभेरा के हो?
संगीनी सुईको नामले परिचित यो सुई महिलाले प्रयोग गर्ने परिवार नियोजनको एक भरपर्दो अस्थायी साधन हो। एउटा बच्चा पाइसकेपछि अर्को बच्चा केही वर्षको फरकमा पाउन चाहने महिलाले हरेक ३-३ महिनामा एक-एक पटक यो सुई लगाउने गरेमा गर्भ रहँदैन। एक पटक लगाएको सुईले तीन महिनासम्म काम गर्दछ।






डिपोप्रोभेराले कसरी गर्भ रोक्ने काम गर्छ?
१. महिलाको शरीरभित्रको डिम्बाशयबाट डिम्ब निस्कन दिँदैन।
२. पाठेघरको मुखमा हुने तरल पदार्थलाई बाक्लो बनाएर शुक्रकिटलाई पाठेघरमा पस्न दिँदैन।
३. पाठेघरभित्रको पत्रलाई पातलो बनाइदिन्छ जसले गर्दा डिम्ब टाँसिन पाउँदैन।

नरप्लान्ट (Norplant) 
नरप्लान्ट के हो?
नरप्लान्ट महिलाले प्रयोग गर्ने परिवार नियोजनको अति भरपर्दो अस्थायी साधन हो। यो महिलाको पाखुरामा राखिने गर्भनिरोधक साधन हो। यसले सात वर्षसम्म गर्भ रहन दिँदैन। यो नरम रबरजस्तो वस्तुले बनेको हुन्छ। यसमा सिन्थेटिक प्रोजेस्टेरोन (लेभोनरजेस्ट्रोल/Levonorgestrol) हर्मोन भरिएको हुन्छ। यी ६ वटा पातला लचिला क्याप्सुलहरु सलाइको काँटी जस्ता हुन्छन्। यो महिलाको पाखुराको माथिल्लो भित्री भागको छालामुनि तालिमप्राप्त स्वास्थ्यकर्मीले राखीदिन्छन्। यो राखेको २४-४८ घण्टाभित्र काम गर्न थाल्दछ। साथै यसलाई निकालेपछि महिलाको प्रजनन् शक्ति तुरुन्तै फर्केर सामान्य रुपमा काम गर्न थाल्दछ।

नरप्लान्टले कसरी गर्भ रोक्छ?
यी क्याप्सुलहरु महिलाको पाखुराको माथिल्लो भित्री भागको छालामुनि राखिन्छ। यो हर्मोन क्रमश: रसाएर शरीर भित्र रगतमा मिसिन्छ।
1. क्याप्सुलको मुखबाट निस्कने स्रावलाई बाक्लो र थोरै बनाइदिन्छ र शुक्रकीटलाई छिर्न दिँदैन।
2. पाठेघरको भित्री पत्रलाई (Endometrium/इण्डोमेट्रियम)पातलो बनाउँछ।
3. डिम्ब निष्काशन प्रक्रियालाई दबाएर (Suppression/सप्रेशन) राख्छ।
नरप्लान्ट लगाएको सात वर्षपछि स्वास्थ्य संस्थामा गई झिक्नुपर्छ।

कपर-टी (Copper-T) 
कपर-टी के हो?
लामो समयसम्म गर्भ निरोध गर्नको लागि महिलाको पाठेघरमा राखिने परिवार नियोजनको अस्थायी साधनलाई कपर-टी भनिन्छ। यो अंग्रेजी अक्षर 'T' आकारको हुन्छ र तीनैतिर तामाको मसिनो तारले बेरिएको हुन्छ। यसको तल्लो टुप्पोमा सेतो मसिनो धागो हुन्छ र धागो पाठेघरको मुख बाहिरसम्म निस्किएको हुन्छ जुन महिलाले छामेर थाहा पाउन सकिन्छ। यो तालिमप्राप्त स्वास्थ्यकर्मीले महिलाको पाठेघरमा राखिदिन्छन्। एकपटक राखेको कपर-टीले १२ वर्षसम्म गर्भ रहन दिँदैन। सन्तानको रहर पुगेका वा लामो समयसम्म बच्चा पाउन नचाहने महिलाको लागि यो उपयुक्त र निकै नै भरपर्दो साधन हो। यसमा कुनै किसिमको रासायनिक पदार्थ नहुने भएकोले यसले शरीरलाई कुनै असर गर्दैन।

कपर-टीले कसरी गर्भ रोक्छ?
कपर-टी लाई महिलाको पाठेघरमा राखेपछि शुक्रकीटलाई डिम्बसँग मिल्न दिँदैन अथवा डिम्बलाई पाठेघरमा बस्न दिँदैन।

आफ्नो लागि कुन परिवार नियोजनको साधन उपयुक्त हुन्छ भन्ने कुरा सम्बन्धित स्वास्थ्यकर्मीसँग सल्लाह गरेर निर्णय गर्न सकिन्छ। 
बाँकी पढ्नुहोस् >>

Wednesday, October 19, 2011

कान्तिपुर सम्पादकीय सम्बन्धमा...


कान्तिपुरको आजको सम्पादकीय पढें। चितवन मेडिकल कलेजमा भएको पछिल्लो घटनाको बारेमा लेखिएको उक्त सम्पादकीयको आशय ठिकै होला तर उक्त घटनालाई जसरी उदाहरण दिएर त्यसले आफ्नो कुरा भन्न खोजेको छ त्यो चाँही मलाई उतिसारो ठिक लागेन।

"पानीको पोका भनेर बिरामीको दाँया मृगौला झिकेर गैरजिम्मेवार र लापरवाही प्रवृतिको नमुना पेश गरे।" "पानी जमेको डल्लो र मृगौलाबीचको अन्तर छुट्याउन नसक्ने चिकित्सकले कसरी शल्यक्रिया गर्ने अनुमति पाए?"

हो, कहिलेकाहि शल्यक्रिया गर्ने चिकित्सकले पनि त्यो अन्तर छुट्याउन सक्दैनन्। त्यसैले त चिकित्सा विधामा प्याथोलोजी/pathology र रेडियोलोजी/radiology भन्ने छुट्टै डिपार्टमेन्ट हुन्छ। नांगो आँखाले हेरेर सधैं सबै अंग र रोग पत्ता लगाउन सम्भव छैन, त्यसैले त अप्रेशन गर्नु अघि एक्सरे, भिडियो एक्सरे, सिटि स्क्यान, एमआरआई, आइभीयु जस्ता रेडियोलोजिकल जाँचहरु गर्ने गरिन्छ। यस्ता जाँचहरुले अप्रेशन अघि अप्रेशन गर्ने चिकित्सकलाई रोग र रोगको अवस्थाका बारेमा बढिभन्दा बढि जानकारी दिएर अप्रेशनमा सहयोग गर्छ। त्यस्तै कहिले अप्रेशन अघि नै र कहिले अप्रेशन गरेर निकालेपछि निकालिएको मासु वा तन्तुको प्याथोलोजिकल जाँच गर्न पठाइन्छ। विभिन्न प्रकारका केमिकलहरु प्रयोग गरेर शक्तिशाली माइक्रोस्कोपहरुबाट जाँच गरेर मात्रै निकालिएको तन्तुमा कस्तो प्रकारको रोग थियो, मेलिगनेन्ट/malignant (फैलन सक्ने क्यान्सर) वा बेनाइन/benign (नफैलने खालको क्यान्सर) हो, गरिएको अप्रेशन पूर्ण थियो वा फेरी दोहोराएर गर्नुपर्ने हो आदी भनेर थाहा हुन्छ। सामान्य अवस्थाको मृगौला भएको भए त एउटा कुरा, रोगले बिग्रेर पानीको डल्लो जस्तोमा परिणत भैसकेको मृगौलालाई अनुभवी सर्जनै भएपनि कसरी चिन्ने? जसरी विमान दुर्घटनामा क्षतविक्षत भएका शवहरुलाई आफ्नै आफन्तहरुले त चिन्न नसकेर डिएनए जाँचको भर पर्नुपर्ने हुन्छ, त्यसरी नै रोगले बिग्रेर सबै कुरा एउटै डल्लो भएको मृगौलालाई चिन्न नसक्नु सर्जनको कमजोरी हो जस्तो लाग्दैन।

अप्रेशन अघि राम्ररी भिडियो एक्सरे र सिटी स्क्यान गरिनुपर्थ्यो। यस घटनामा सिटी स्क्यानको लागि विरामीका आफन्तहरुलाई सुझाव दिइएको थियो तर आर्थिक अवस्थाका कमजोरीका कारण देखाइ त्यसलाई नगर्ने भनियो। र शुरुको भिडियो एक्सरे पनि एउटा रेडियोलोजिस्टले नभएर एक एमडिजीपीले गरेका थिए। म एमडिजीपीले भिडियो एक्सरे गर्नैहुन्न भनेर भन्दिन। हाम्रा गाँउघरतिर र कतिपय शहरी क्षेत्रहरुमा पनि एमडिजीपी र कहिले त एमबीबीएस डाक्टरले पनि केहि महिनाको ट्रेनिङको भरमा भिडियो एक्सरे गरिरहेका छन्।  उनीहरुले लामो दुरी पार गरेर शहरै पुग्नुपर्ने, धेरै पैसा खर्च हुने समस्याबाट केहि भनेपनि राहत दिएका हुन्छन्। अझ रेडियोलोजिस्टको अभाव भएका कति सरकारी अस्पातलहरुमा एमडिजिपिहरुले नै त्यो सेवा दिइरहेका हुन्छन। तर सम्झनुपर्ने के हो भने कम्लिकेटेड, जटिल अवस्थाहरुमा राम्रो डायग्नोसिस र रिपोर्टिङका लागि उनीहरुले रेडियोलोजिस्टको सहयोग लिने गर्नुपर्छ वा रेडियोलोजिस्टकोमा रिफर गर्ने गर्नुपर्छ, जुन बानीको हाम्रो समुदायमा कमी छ।

माथिको केसमा अप्रेशन गरेर निकालिएको त्यो पानीको डल्लोमा मृगौला पनि हुनसक्छ भनेर विरामीका आफन्तहरुलाई राम्ररी नसम्झाइनुमा गल्ति भएको हो, रोग र रोगको फैलावट र जटिलतालाई अप्रेशन अगावै पुनः रेडियोलोजिस्टसँग भिडियो एक्स रे र सिटि स्क्यान गरेर राम्ररी नहेरी विरामीका आफन्तको आर्थिक समस्यालाई ठुलो मानेर त्यहि अनुसार चल्नुमा लापरवाहि भएको हो। तर विरामी र उसको रोगको उपचारमा र गर्नुपर्ने अप्रेशनमा केहि गल्ति भएको छैन। गल्ति अप्रेशन अघि र पछि अप्रेशनका दौरान आइपर्नसक्ने र आइपरेका जटिलताका बारेमा विरामीका आफन्तहरुलाई राम्ररी समय दिएर नबुझाइनुमा भएको हो। तर त्यसलाई नेपालकै सबैभन्दा बढि बिक्री हुने दाबी गरेको पत्रिकाको पनि सम्पादकियमा राम्ररी कुरै नबुझी लेखिनु कत्तिको सम्वेदनशीलताको प्रर्दशन हो?

हल्लैहल्लाको देश हो नेपाल, तर त्यसमा पत्रकारहरु जस्तो जिम्मेवारी बोकेका मानिसहरुले त्यस्ता अनावश्यक हल्लाहरुलाई कम गरेर सम्वेदनशील क्षेत्र भनेर भनिएको स्वास्थ्य क्षेत्रमा बढ्दो अविश्वासको खाडललाई कम गर्न सहयोग गर्नुपर्नेमा हल्लाको पछि दौडेर सत्यतालाई झन बंगाउने काम गरेका छन्। त्यो हल्ला "उपचार गर्दागर्दै मृगौलै गायब", "मृगौला नचिन्ने सर्जन", "पेटको अप्रेशन गर्दा मृगौलासमेत झिकियो" हुँदाहुँदै साधारण जनमानसमा "विरामीको अर्कै रोगको अप्रेशन गर्दा नचिनेर गल्तिले राम्रै मृगौला झिकियो" वा अझ "अप्रेशन गर्ने चिकित्सकले विरामीको मृगौला गायब गरे" भन्ने सम्म बन्न गयो। यसले विरामीको अस्पताल र चिकित्सकहरु प्रतिको विश्वासमा कस्तो धक्का पुग्न जाला सहजै अनुमान लगाउन सकिन्छ।

अस्पताल र स्वास्थ्य क्षेत्र सम्वेदनशील क्षेत्र हो तर के यो चिकित्साकर्मीको हकमा मात्र लागु हुने कुरा हो र? के पत्रकार र पत्रिकाहरुलॆ यसको सम्बन्धमा लेख्दा यसले विरामी र चिकित्सक बीच घट्दै गैरहेको विश्वसनीयताको वातावरणलाई कत्तिको नकारात्मक असर पार्छ भन्ने कुरालाई ख्याल राख्नुपर्दैन? के त्यसमा चाँही उनीहरुले सम्वेदनशीलता देखाउनु उनीहरुको नैतिक जिम्मेवारी होइन? समाजलाई जागरुक बनाउनु, समाजमा भइरहेका नकारात्मक कुराहरुलाई सबैका अघि ल्याएर प्रस्तुत गरी त्यस्ता काम गर्ने, गराउनेहरुलाई हतोत्साहित पार्नु पत्रकारहरुको धर्म हो। यो मैले भनिराख्नुपर्ने कुरा हो जस्तो लाग्दैन। तर पहिलो बन्ने होडबाजीमा, अरु पत्रिका वा च्यानलभन्दा पहिले समाचार ब्रेक गर्ने कम्पिटिसनमा समाचारको गुदी कुरा नै नबुझी एक पक्षिय हिसाबले र आफ्नो सोचाइका अनुसारले समाचारलाई बंगाएर गलत अर्थ लाग्ने तरिकाले आम मानिसका सामु प्रस्तुत गरिनु कस्तो पत्रकार धर्म हो? सम्वेदनशील क्षेत्र भनेर कुर्लने अनि त्यहि क्षेत्रका बारेमा चाँही राम्ररी कुरै नबुझी दौडने अनि सबैलाई दौडाउन खोज्ने कस्तो सम्वेदनशीलता हो? हुन त "कागले कान लग्यो" भन्दा कान छाम्न छोडेर कागको पछी दौडने १०० मीटरका धावक जस्ता पत्रकारहरुको दौडने र दौडाउने बानी केहि समय अघिको "अनुजा काण्ड"ले पनि प्रस्टै देखाएको थियो। भलै कान्तिपुरले पछी त्यसमा क्षमा माग्यो। तैपनि पत्रिका र पत्रकार भनेका अझै पनि सबैभन्दा भरपर्दा माध्यम हुन्। उनीहरुको आवाज सबैले सुन्छन् र धेरैले पत्याउछन् पनि। त्यसैले त हामी उनीहरुको व्यवहारमा र रिपोर्टिङमा धावकियपन भन्दापनि सत्यता र सम्वेदनशीलताको आशा गर्छौं।

हो, हामीमा पनि कमजोरी छ। हामी मध्ये धेरै पैसाको पछि दौडेका छौं। विरामीलाई सेवा दिने भन्दा कसरी बढि भन्दा बढि विरामी हेर्ने र लगानी उठाउने भन्ने होडबाजीमा लागेका छौं। विरामी र उसका आफन्तसँग रोग र विरामीका अवस्थाका बारेमा राम्रोसँग एकछिन कुरा गर्न हामीसँग समय हुदैंन। विरामी र उसका आफन्तलाई रोगको बारेमा जानकारी दिएर उपचारका लागि फैसला उनीहरुलाई नै लिन दिने र त्यसका लागि उनीहरुलाई सहयोग गर्ने हाम्रो बानी छैन। नाफाकै लागि खोलिएका नर्सिङ होमहरुको त कुरै छाडौं, चिकित्सकहरुमा र चिकित्सक उत्पादन गर्ने मेडिकल कलेजहरुमा पनि व्यापारिकरणको भुतले छोएको छैन भन्दा गलत हुनेछ। तैपनि जानीजानी विरामीको लागि नराम्रो सोच्ने र नराम्रो गर्ने चिकित्सक त शायदै होलान्। आफ्नो क्षमताले भ्याएसम्म र अनुभवले जानेसम्म विरामीलाई उपचार दिन प्राय: सबै चिकित्सकले खोजेका हुन्छन्। यस्तोमा विरामी र चिकित्सकबीचको बचेखुचेको विश्वसनीयताको वातावरणलाई सुधार्नमा सहयोग गर्नुको साटो भएको पनि बिगार्ने गरी वास्तविकता नै नबुझी "कान्तिपुर" जस्तो पत्रिकाको सम्पादकीय लेख्नुले हामी चिकित्सकहरुको पत्रिका र पत्रकारप्रतिको विश्वासलाई हल्लाएको छ। अत: समाचार लेख्दा समाचारको सम्वेदनशीलता र सत्यता बुझेर त्यसलाई नबंगाई, अनावश्यक र गैरजिम्मेवारपुर्ण तरिकाले रंगीचंगी नबनाई लेखिदिनुहुन समस्त पत्रकार साथीहरुमा अनुरोध छ। तपाईंहरुको पनि आशय समाज जगाउने होला तर सत्यको बाङो अर्थ नलाग्ने गरी लेखेर त्यसो गरे कसो होला?

अन्तमा सम्पादकीयकै अर्को वाक्य सापटी लिन्छु, "यो अवस्थामा सरकार, स्वास्थ्य मन्त्रालय, मेडिकल कलेजहरु, अस्पताल व्यवस्थापन, मेडिकल काउन्सिल लगायत स्वास्थ्य क्षेत्रका नेतृत्वदायी संघसंस्थाहरु गम्भीर हुनुपर्छ। जनतामा चिकित्सा पेसाप्रति उत्पन्न हुदैं गएको डर र आशंकालाई चिर्न केन्द्रित हुनुपर्छ।" यसमा म सानो कुरा थप्न चाहन्छु, यो काममा पत्रकार र पत्रिकाहरुको पनि गम्भिरताको आवश्यकता छ र उनीहरु पनि यस काममा सम्वेदनशीलताका साथ हातेमालो गर्छन् भन्ने आशा राखौं।

बाँकी पढ्नुहोस् >>

Sunday, October 16, 2011

आफ्नो आँङको भैसी नदेख्ने, अर्काको आँङको जुम्रा देख्ने


हामी नेपालीहरु कति चाँडो अर्काले जिम्मेवारी पूरा नगरेको, लापरवाही गरेको भनेर कुर्लन्छौं, तोडफोड गर्छौं। आफ्नो जिम्मेवारी के हो, आफूले त्यो पूरा गरियो, गरिएन भनेर कहिल्यै विचार गर्दैनौं। अर्काको गल्ति देखाउन, अर्कालाई "तेरो काम यो हो, तैंले यो काम राम्ररी गरिनस् है" भनेर थर्काउने, खबरदार गर्ने काममा हामी धेरै अघि छौं। तर जब आफ्नो पालो आउँछ, तब हामी मुसा लुकेजस्तो लुसुक्क त्यहाँबाट बाटो तताउँछौं (यदी केहि लाज बाकि छ भने) र त्यो पनि छैन भने बेफ्वाकको घमण्ड देखाएर त्यही बसिरहन्छौं।

अस्पताल आइरहेको कुनै विरामी इमर्जेन्सी कक्षको बाहिर बेहोस भएर लड्यो भने के गर्नुहुन्छ? उसका आफन्तलाई विरामीलाई चाँडोभन्दाचाँडो इमर्जेन्सी कक्षभित्र लैजान सहयोग गर्नुहुन्छ कि भित्र गएर त्यहाँ अर्को विरामी हेरिरहेका स्वास्थ्यकर्मीलाई "ल त्यहाँ विरामी ढलेको छ है, हेर्न जानु" भनेर आफ्नो कर्तव्य पूरा भएको ठान्नुहुन्छ? इमर्जेन्सीमा खबर गरिदिनु त ल ठिकै मान्न सकिएला तर स्वास्थ्यकर्मी गएर त्यहि ढलेकै ठाँउमा उपचार गर्ने त होइन। अनि डाक्टर त्यही गएर विरामीलाई हेरी उसलाई इमर्जेन्सी भित्र लैजानका लागि सहयोग माग्दा दिने कि नदिने? के त्यति सहयोग त मानवताको नाताले पनि दिनुपर्छ, होइन र? तर मैले त्यो सहयोग पाइनँ। खोइ मानिसहरुमा मानवता हराएको हो वा उनीहरु सम्वेदनाविहिन भएका हुन्। कुनै जरुरी काम गरेरै बसेका भएपनि एउटा कुरा। मस्त गफ हाँकेर बसेकाहरु र त्यहि विरामीलाई घेरेर 'विचरा' भनेर बसेकाहरु मात्र थिए, त्यहाँ। अनि जब सहयोग मागियो तब पालैपालो लाखापाखा लागे सबै गोहिका आँसु खसाउनेहरु।

अर्काको दु:खमा सहानुभुति देखाउनेहरु यहाँ थुप्रै भेटिन्छन्, च्वच्वच्व गर्दै "विचरा, कठै" भन्दै दु:खी मुहार देखाउने सयौं देखिन्छन् तर जब केहि सहयोगको आवश्यकता पर्छ, तब अघि सर्ने कोहि हुदैंन। ठूलो सहयोगको पनि आस गरेको होइन तर सानो सहयोग पनि पाउन यहाँ मुश्किल छ।

त्यहि घटनामा फेरि यदि अस्पतालबाट कोहि पनि हेर्न नगएर "विरामीलाई पहिले भित्र ल्याउनुस्, अनि हेरौंला" भनेर त्यसै छोडेको भए त्यो ठूलो इश्यु बन्न जान्थ्यो। "यहि अस्पतालको अगाडि विरामी ढलेको छ, के हो तपाईंहरु हेर्न नजाने, के गर्न बसेको यहाँ, विरामीको उपचार गर्न होइन, आदी आदी भनाइहरु सुन्न पाइन्थ्यो होला। के थाहा तोडफोड पनि गर्थे कि? मानौं कि सेवाको सम्पूर्ण जिम्मेवारी हामी स्वास्थ्यकर्मीले मात्रै लिएको जस्तो। सम्वेदनशीलताको दायित्व, हाम्रो काँधमा मात्र भएको जस्तो।

हामी नेपालीहरुमा आफ्नो जिम्मेवारी पहिले निभाउने अनि अर्काको दायित्व सम्झाउने बानी कहिले आउँला? आफ्नो कर्तव्य पूरा गर्ने अनि बल्ल अधिकारको कुरा गर्ने बानी कहिले आउँला? आफ्नो आँङको भैसी नदेख्ने अर्काको आँङको जुम्रा देख्ने बानी कहिले सुध्रिएला?

बाँकी पढ्नुहोस् >>

Wednesday, October 12, 2011

डाक्टर भगवान होइन। Doctor is not a GOD.



लाई कहिलेकाही इमर्जेन्सीमा सब विरामीहरुको बीचमा बसेर मज्जाले हाँस्न मन लाग्छ। मलाई पागल नठान्नुहोला। जब कुनै पनि कुरा तपाईंको नियन्त्रण भित्र हुन्छ वा तपाईंले कुनै पनि काम आफ्नो तरिकाले, राम्रो तरिकाले गर्न भ्याउनुहुन्छ तब तपाईंलाई यस्तो बेमौसमको हाँसोको जरुरत पर्दैन। तर जब कुनै कुरा तपाईंको हातबाट बाहिर जान्छ, तपाईं त्यसको लागि केहि गर्न सक्नुहुन्न, त्यतिबेला तपाईं कराएर, रोएर, झगडा गरेर आफ्नो प्रेसर रिलिज गर्नुभन्दा हाँसेर हल्का महसुस गर्न सक्नुहुन्छ। 'मुन्नाभाई एमबीबीएस' को प्रोफेसर अस्थानाको जस्तै।

तपाईं एकपटकमा कति जना विरामी हेर्न भ्याउनुहुन्छ, एक दिनमा कति विरामी हेर्नुहुन्छ भनी विकसित मुलुकका डाक्टरलाई सोध्नुहोस् जवाफमा २०-२५ भन्दा बढि पाउनुहुन्न। एउटा विरामीलाई कम्तिमा पनि ९-१० मिनेट त हेर्ने गरिन्छ। अब हाम्रो अवस्थाको कुरा गर्नुहोस्। प्राइभेट होस् वा सरकारी वा मेडिकल कलेज विरामीको भीड त हामी सबैले देखेकै कुरा हो। त्यत्रो भीडलाई सीमीत संख्याका डाक्टरहरुले जाँच गर्नुपर्ने हुन्छ। त्यस्तो अवस्थामा एउटा विरामीलाई शायदै ५ मीनेट समय दिन सकिन्छ होला। अझ सरकारी अस्पतालको अवस्था त झनै दयनीय हुन्छ। एउटा विरामी जाँचीरहेको हुन्छ, अरु १०जना विरामी उसका कथा सुनिरहेका हुन्छन्। यस्तोमा विरामीको कुराको गोपनीयताको कुरा त नसोचे नि हुन्छ। भ्याइनभ्याइकन विरामी हेरेको बेलामा केको गोपनीयता? मैले यो भनेर मेरो संवेदनहीनता देखाएको होइन, यो हाम्रो वाध्यता हो। यदी मजाले समय दिएर विरामी हेर्ने हो भने दिनभरका विरामी जाँचेर सक्न दुई दिन लाग्छ होला। त्यसैले जब सेवा लिनेको र दिनेको संख्या बीच ठूलो फरक हुन्छ तब दिइने सेवामा नचाहदाँनचाहदैं पनि केहि कमि हुनजान्छ। जस्तो हरेक वार्डमा ८ विरामी बराबर १ नर्स हुनुपर्ने अन्तराष्ट्रिय मान्यता छ, तर हाम्रो देशमा १ नर्सले २०-२५ सम्म विरामी हेर्नुपर्ने हुन्छ। एउटै डाक्टर ओपीडि, वार्ड कुद्नुपर्ने हुन्छ। अनि कसरी गुणस्तरिय सेवा दिन सकिन्छ?

यस्तोमा स्वास्थ्यकर्मीको लापरवाही हुदैंहुदैंन भनेर म भन्न सक्दिनँ तर कति बेलामा चाहेर पनि सबैलाई समयमा सोचेको जस्तो सेवा दिन सकिदैन। यो हाम्रो बाध्यता हो। यसलाई सधैं लापरवाहीको नाम नदिइयोस्। यसले त्यस्तो भ्याइनभ्याइको वातावरणमा पनि सक्दो काम गरिरहेकाहरुलाई पनि निरुत्साहित बनाउने काम गर्छ। विरामी र उनका परिवारले आफ्नो मात्र समस्या नहेरी स्वास्थ्यकर्मीहरुले कस्तो वातावरणमा काम गरिरहेका छन् त्यो बुझिदिने थोरै मात्र प्रयास गरिदिनुभयो भने पनि हाम्रो लागि काफि हुन्छ।

अझ हाट बजारको जस्तो दृश्य त हाम्रा इमर्जेन्सी कक्षहरुमा देख्न सकिन्छ। जेसुकै, जस्तोसुकै समस्याको लागि पनि इमर्जेन्सी छिर्ने हाम्रो नराम्रो बानीले गर्दा पनि यस्तो भीडभाड भएको हो। सानोभन्दा सानो समस्याका लागि पनि इमर्जेन्सीमा चाँडो हुन्छ भनेर देखाउन आइपुग्छन्। साधारण ढाड दुखेको सामान्य, टाउको दुखेको, दाँत दुखेको देखी लिएर दादको, छाला चिलाएको विरामीहरुसम्म पनि इमर्जेन्सीमा आइपुग्छन्। कति त यो वार्ड कहाँ, त्यो वार्ड कहाँ भनेर सोध्नका लागि पनि इमरजेन्सी छिर्छन्, जुन कुरा बाहिरका गार्डहरुलाई सोधेर पनि पत्ता लगाउन सकिन्छ। कोही भने अस्पताल बाहिरै घर भएकाहरु पनि दिनभरी ओपीडीमा नदेखाएर जब रात पर्छ अनि समस्या पर्ला जस्तो लागेर इमर्जेन्सी आइपुग्छन्। मैले यसो भनेर हामी यस्ता विरामीलाई इमर्जेन्सीमा हेर्दैनौं भन्न खोजेको होइन। हामी आएका विरामी सबैलाई हेर्छौं तर यस्ता सामान्य समस्याका विरामीले गर्दा वास्तविक इमर्जेन्सी वा आकस्मिक सेवा चाहिएका विरामीलाई पर्याप्त समय दिन सकिदैंन र यी समस्याहरु इमर्जेन्सीमा नभई ओपीडीमा देखाउनुपर्ने समस्याहरु हुन्। हुन त यो हामी सबैको समस्या हो। पर्याप्त अस्पताल र डाक्टरहरु नहुँदा विरामी भएपछि समस्या लिएर कहाँ जाने त? उहि २४सै घण्टा खुल्ने, जुनसुकै रोगको उपचार गर्नैपर्ने इमर्जेन्सीमा। अझ रोगको मात्र उपचार गर्नुपरे त ठिकै हुन्थ्यो, कहिले त अस्पतालको जुनसुकै कुनामा जेसुकै समस्या परेपनि उजुरी गर्ने ठाँउ बन्नपुग्छ, इमर्जेन्सी। हुन त यसमा विरामीका आफन्तहरुको मात्रै गल्ति होइन। अस्पतालको व्यवस्थापन पक्षको पनि कमजोरी हो। त्यस्ता समस्याहरु बारे, अस्पतालका अन्य समस्याहरु बारे सोधपुछ गर्ने छुट्टै स्थानको व्यवस्था गरेमा यो समस्या केहि कम हुने थियो कि। साथै आममानिसहरु पनि आफ्नो स्वास्थ्य बारे जानकारी राख्ने, समयमै सचेत हुने गर्नुपर्छ, जब पर्‍यो राती, तब बुढी ताती गर्नु हुँदैन।

अस्पताल एउटा सम्वेदनशील स्थल हो, यो सबैलाई थाहा छ। तर यो सम्वेदनशीलता स्वास्थ्यकर्मीको तर्फबाट मात्र खोज्न चाँहि मिल्दैन। सम्वेदनशील क्षेत्र हो भने विरामी र विरामीका आफन्तहरु पनि जिम्मेवारपूर्ण तरिकाले प्रस्तुत हुनुपर्छ। अस्पतालमा विरामीको उपचार गर्न लग्ने हो। त्यहाँ कुनै जादुको छडि हुदैंन न कुनै जादुगर बस्छ त्यहाँ न त भगवान नै। डाक्टर भनेको पनि मानिस नै हो, मानिसको शरीर, रोग, त्यसको उपचारको बारेमा केहि पढेको, केहि जानेको मानिस। एक पल्ट छोएमै ठिक हुने, बोलेमै ठिक हुने भन्ने चाँही विरामीको डाक्टरप्रतिको विश्वास हो। त्यो विश्वासको हामीले सम्मान गर्नुपर्छ र डाक्टर र विरामीको सम्बन्धमा दुई पक्षिय विश्वास सबैभन्दा ठूलो कुरा हो। तर त्यहि विश्वासको कुनै डाक्टरले गलत फाइदा उठाउँछ, त्यसमा घमण्ड गर्छ भने त्यो राम्रो डाक्टर होइन। त्यस्तै त्यो विश्वास 'डाक्टरले जेपनि गर्नसक्छ' भन्ने अन्धविश्वाससम्म पुग्न दिनुहुदैंन। किनभने यो अन्धविश्वास टुट्यो भने सबैलाई नराम्रो धक्का लाग्छ, जुन भयानक रुपमा पनि बाहिर आउनसक्छ। अस्पतालमा विरामीको जाँच गरेर रोग अवस्था पत्ता लगाएर त्यसको उपचारका लागि विरामी, उसका परिवार र डाक्टर मिलेर सौहार्दपूर्ण वातावरणमा छलफल गरेर उपचार गर्ने हो। तर यहाँ त कहिलेकाहि कतिसम्म हुन्छ भने "मेरो विरामीलाई केहि भयो भने तलाईं मैले जानेको छु" भन्ने सम्म पनि सुनिन्छ। त्यस्तो तातो रिस र फुर्ति देखाउने ठाँउ हो र अस्पताल? अनि कहिले चाँही "विरामी ठीक हुने ग्यारेन्टि चाहियो" भन्ने पनि सुनिन्छ। अस्पताल भनेको विरामीको ज्यानको ग्यारेन्टि दिने ठाँउ होइन। क्षमा गर्नुहोला, यो सुन्दा नमिठो, नराम्रो सुनिएला, तर वास्तविकता यहि हो। अस्पतालमा ग्यारेन्टि दिएर कुनै पनि डाक्टरले उपचार गर्न सक्दैन। यदि कसैले त्यस्तो गर्छ भने त्यो नराम्रो मेडिकल प्राक्टिस हो। किनभने चिकित्सा शास्त्रमा कुनै पनि रोगको ग्यारेन्टि उपचार भन्ने हुदैंन। यसको उपचार यो, यो नभए त्यो, त्यो नभए अर्को, अर्को भन्ने हुन्छ। सबै रोगको उपचार सम्भव पनि हुदैंन। त्यस्तै हरेक अवस्था, औषधी र अप्रेशनका आफ्नै समस्या र जटिल अवस्थाहरु पनि हुन्छन्। बाहिर सामान्य लाग्ने समस्या पनि भित्र ठूलो हुनसक्छ। सामान्य लाग्ने औषधीले पनि ज्यानैजाने रियाक्सन गर्न सक्छ। सानो भनिएको अप्रेशन पनि समस्या आइदिएर जटिल हुनसक्छ। त्यसका लागि लापर्वाही नै हुनुपर्छ भन्ने छैन।

हामी समाचारमा कति सुनिरहेका हुन्छौं। खुट्टा भाँचेको विरामीको अप्रेशन गर्दा विरामीको ज्यान गयो। बाहीरबाट हेर्दा त ठूलै लापरवाही भएको जस्तो लाग्छ। तर हाड भाँचिदाको कम्प्लिकेसन स्वरुप फ्याट इम्बोलिजम/Fat embolism (हाडभित्रको बोसो रगतमा गएर फोक्सोमा पुगॆर पल्मोनरी इन्फार्कसन जस्तो प्राणघातक अवस्था) हुनसक्छ। त्यस्तै हिंडेर आएको विरामी मर्यो वा मार्यो भन्ने पनि सुनिन्छ। तर विरामीको अवस्था कस्तो थियो, उसका रिपोर्टहरुले के देखाएको थियो भनेर जान्ने प्रयास गरिदैंन। हेमोग्लोविन १ र प्लेटेलेट हुदैं नभएको विरामी, रक्तचाप २२०/१२० भएको विरामी, आन्द्रामा प्वाल परेर पेरोटिनाइटिस/Peritonitis भएको विरामी पनि हिडेरै आएको हुनसक्छ। साधारण लाग्ने टिटिको सूई, दुखाईको सूईको पनि ज्यानै जाने एलर्जीसम्म हुनसक्छ। अब तपाईंहरु आफैं भन्नुस्, यी सबै कुराको जानकारी भएको कुनै पनि डाक्टरले कसरी विरामीको ग्यारेन्टि लिनसक्छ? कदापी सक्दैन। र त्यो लिने कुरा पनि होइन। यो रोग भएको विरामीको यति प्रतिशतमा यस्तो हुन्छ, यतिमा यस्तो हुन्छ, यति पूर्णरुपमा ठिक हुन्छ भन्न सकिन्छ, तर यहि विरामी ठिक हुन्छ र यहि विरामीमा थप जटिलता आउँछ भनेर त कसरी भन्ने खै?

तर यो भनेर डाक्टरले विरामी उपचारको जिम्मेवारीबाट पन्छिन मिल्दैन। उपचार गर्नु उसको कर्तव्य हो। उपचारका साथै रोग र उपचारका कारणले आइपर्नसक्ने सबै मूख्य र जटिल खालका समस्याहरुबारे राम्ररी जानकारी दिनु पनि उपचार गर्ने डाक्टरको कर्तव्य हो। र यहि कुरामा चाँही हाम्रा धेरैजसो डाक्टरहरु कमजोर हुन्छन्। डाक्टरले विरामीलाई पर्याप्त समय दिन नसकेर हो वा नचाहेर हो वा विरामी र आम मानिसले बुझ्ने भाषामा डाक्टरी भाषाका समस्याहरु बुझाउन गाह्रो परेर हो, रोग र विरामीको अवस्थाका बारेमा विरामी र उसका आफन्तलाई राम्रो जानकारी नभएको र नदिइएको धेरै नै देखिने गर्छ। र विरामी र डाक्टरका बीचको अविश्वासको खाडल बढाउने काममा यसैको ठूलो हात हुन्छ। त्यसैले मिसअन्डरस्ट्यान्डिङको यो समस्यालाई कम गरी डाक्टर र विरामी बीचको अविश्वासको यो खाडल केहि कम गर्न सके विरामी र उसका परिवार सेवाबाट सन्तुष्ट हुनुका साथै बेलाबेलामा हुने रोगको कम्प्लिकेसनलाई पनि डाक्टरको लापरवाहीको नाम दिने नराम्रो प्रथा पनि केहि घट्ने थियो की?

मैले यी सबै कुरा भनेर डाक्टर वा अन्य कुनै पनि स्वास्थ्यकर्मीको लापरवाही ढाकछोप गर्न खोजेको होइन वा त्यस्ता लापरवाही अवश्यम्भावी छ भनेर नजरअन्दाज गर्न भनेको पनि होइन। मात्र विरामीको उपचारको क्रममा डाक्टरको जिम्मेवारी मात्रै खोज्ने तर आफ्नो जिम्मेवारी र कर्तव्य चटक्कै विस्रने गर्नुभएन भन्न खोजेको हुँ। हामी डाक्टर र अन्य स्वास्थ्यकर्मीहरुमा पनि कमजोरी नभएको होइन। हामीमा पनि रिस छ, लोभ छ, पीडा छ, थकान छ, इर्श्या छ, प्रशंसाको भोक छ, एउटा मानिसमा हुने सबै खालका बानीहरु छन्, त्यसैले त हामी पनि मानिस हौं। तर विरामीको उपचारको क्रममा हामी सकेसम्म ती सबैलाई बिर्सेंर काम गर्ने प्रयास गर्छौं र विरामी र उसका परिवारको तर्फबाट पनि त्यस्तै व्यवहारको आशा राख्छौं, जुन स्वाभाविक पनि हो, होइन र?

अस्तु।

बाँकी पढ्नुहोस् >>

Wednesday, September 28, 2011

टिटि भ्याक्सिन/TT vaccine


टिटि भनेको टिटानस टोक्सोइड हो। यो भ्याक्सिन टिटानस रोगबाट बच्नको लागि दिइन्छ। तर हाम्रो देशमा सम्भवत: सबैभन्दा बढि दुरुपयोग हुने भ्याक्सिन यहि होला। हामी सानोभन्दा सानो काटेको, कोतरेको, छाला गएको जस्तोसुकै घाउको लागि पनि टिटानसबाट बचाउने भनेर यो भ्याक्सिन लगाइहाल्छौं। त्यसो गर्न या त अस्पतालका स्वास्थ्यकर्मीले नै सल्लाह दिन्छन् या त आफैं भएपनि लगाउने भनेर भन्छौ। कहिले हामीले सोचेका छौं कि यो कस्तो खालको भ्याक्सिन हो, यसले के काम गर्छ, कति पटकसम्म लगाउन सकिन्छ, जस्तोसुकै घाउमा पनि यो लगाउनै पर्ने हो कि होइन, यसका बेफाइदा छन् कि छैनन्। आज यी सबैको बारेमा चर्चा गरौं।

पहिले भ्याक्सिनको बारेमा केहि जानौं।
भ्याक्सिनको काम शरीरमा रोग प्रतिरोधक क्षमताको विकास र वृद्धि गर्ने हो। भ्याक्सिनहरु प्राय: गरेर तीन प्रकारका हुन्छन्। लाइभ एट्टेनुएटेड/Live attenuated, किल्ड/Killed र टोक्सोइड/Toxoid।

भ्याक्सिनले कसरी काम गर्छ? 
भ्याक्सिन बनाउनको लागि रोग लगाउने किटाणु/Virus, जीवाणु/Bacteria लाई मारेर वा जिउदो भएपनि रोग लगाउन नसक्ने अवस्थाको बनाएर वा ती किटाणु, जीवाणुले बनाउने रोग लगाउने पदार्थको प्रयोग गरिन्छ। लाइभ एट्टेनुएटेड/Live attenuated भन्नाले त्यसमा रोग लगाउने किटाणु वा जीवाणु जिउदै हुन्छ तर मानिसको शरीरमा प्रवेश गरेपनि तीनलाई रोग लगाउन नसक्ने गरी निस्क्रिय बनाइएका हुन्छन्। किल्ड/Killed भ्याक्सिन रोग लगाउने जीवाणु वा किटाणुलाई विभिन्न तरिकाले मारेर तयार पारिएका हुन्छन्। त्यस्तै टोक्सोइड/Toxoid भ्याक्सिन जीवाणु वा किटाणुले बनाउने रोग लगाउने पदार्थ/Toxin बाट तयार पारिएका हुन्छन्।

यी सबै खालका भ्याक्सिन लगाएपछि ती पदार्थ शरीरभित्र प्रवेश गर्छन्, जसलाई निस्क्रिय पार्न शरीरले प्रतिरोधक पदार्थ एन्टिबडि/Antibody बनाउँछ। शरीरमा भ्याक्सिनको रुपमा प्रवेश गराइएको पदार्थले एन्टिजेन/Antigen को काम गर्छ र त्यसको विरुद्धमा शरीरले त्यसलाई निस्क्रिय पार्ने पदार्थ बनाउँछ, जसलाई एन्टिबडि भनिन्छ। शरीरले यी सबै कुराको सम्झना राख्ने गर्छ। अत: भविष्यमा त्यस्तै खालको किटाणु वा जीवाणुको संक्रमण हुँदा शरीरले त्यसका विरुद्धमा प्रतिरोधक पदार्थ/Antibody बनाइ रोग लाग्नबाट जोगाउँछ।

टिटानस टोक्सोइड भ्याक्सिन नामले भनेजस्तै एउटा टोक्सोइड भ्याक्सिन हो। यो टिटानस रोग गराउने जीवाणु क्लसट्रीडियम टेटानी/Clostridium tetani ले उत्पादन गर्ने टक्सिन टेटानोस्पाज्मीन/Tetanospasmin बाट तयार पारिएको हुन्छ।

टिटानस/धनुस्टन्कार, डिपीटी/DPT र हाम्रो देशमा त्यस्को अवस्था कस्तो छ?
टिटानस रोग मुख्यतया सुत्केरी हुने बेलामा फोहर गरेर सुत्केरी गराइयो भने, खिया लागेको वा फोहर ब्लेडले बच्चाको नाल काटियो भने आमा र बच्चामा हुनेगर्छ। बच्चामा हुने त्यसखालको टिटानसलाई नियोनेटल टिटानस/Neonatal Tetanus भनिन्छ। नेपालबाट नियोनेटल टिटानस उन्मुलन भैसकेको भनेर सन् २००५ डिसेम्बरमा भनिएपनि २००७ मा १३ जना यसका रोगी बच्चाहरु भेटिएका थिए।

यो रोगबाट आमा र बच्चालाई बचाउनका लागि गर्भ रहनसक्ने उमेरका महिलाहरु/Reproductive age group women लाई गर्भवती भएको बेलामा वा अन्य समयमा टिटि भ्याक्सिन लगाउने गरिन्छ। यो सुई गर्भवती भएको समयमा जतिसक्दो चाँडो पहिलोपटक र त्यसको कम्तिमा ४ हप्तापछि दोस्रो पटक लगाउनुपर्छ। त्यसको ६ हप्तामा वा अर्को गर्भ रहने बेलामा तेस्रो पटक, त्यसको १ वर्षमा वा अर्को गर्भ रहँदा चौथो पटक र त्यसको १ वर्षमा वा अर्को गर्भ रहँदा पाँचौ पटक गरी जीवनभरमा जम्मा ५ पटक लगायो भने जिन्दगीभरलाई पुग्छ। यसको तेस्रो पटकसम्मको डोज/dose ले ५ वर्ष र चौथो पटकसम्मको डोजले १० वर्ष टिटानस रोगबाट बचाँउछ।

त्यस्तै बच्चाहरुलाई नियमित खोपको कार्यक्रम/Extended Program of Immunization/EPI अन्तर्गत डिपीटि सुई लगाउने गरिन्छ। यसले बच्चालाई डिपथेरिया/भ्यागुते रोग, परट्युसिस/Pertusis/लहरे खोकी र टिटानस/धनुषटंकार रोगबाट बचाउने गर्छ। यो खोप बच्चाहरुलाई २,४ र ६ महिनाको उमेरमा दिइन्छ। चौथो डोज १५-१८ महिनामा र पाँचौ डोज ४-६ वर्षको उमेरमा दिने गरिन्छ। यी नियमित समयका भ्याक्सिनका डोजहरु छुटेमा त्यहि अनुसारका सुझावहरु छन्, जुन लेखका विषयभन्दा बाहिर पर्छ।
समग्रमा जम्माजम्मी पाँचवटा टिटि भ्याक्सिन र हरेक १० वर्षमा एउटा बुस्टर डोज लगाएमा त्यसले जीवनभरीलाई पुग्छ। 

हाम्रो देशमा यो खोप कार्यक्रमको प्रभावकारीता राम्रो छ। EPI भनिने यसको प्रभावकारीता डिपीटीको तेस्रो डोज/DPT3 कति प्रतिशतले लगाउँछन् भन्नेबाट निकालिन्छ, जुन सन् २००९ मा करिब ८२% थियो।

कुनै पनि समयमा घाउ हुँदा वा काट्दा टिटि सुई लगाउने वा नलगाउने भन्ने कुरा घाउको प्रकृति, कत्तिको फोहर लागेको छ अर्थात् टिटानस हुने सम्भावना छ कि छैन भन्ने कुरा र विरामीले विगतमा कतिवटा भ्याक्सिन लिएको थियो, पछिल्लो भ्याक्सिन कति समय अगाडि लिएको थियो भन्ने कुरामा भर पर्छ।

टिटानस हुनसक्ने घाउहरु/Tetanus prone wounds भन्नाले गहिरो काटेको घाउ, जनावरले टोकेको घाउ, फोहर, माटो, गोबर लागेको घाउ, पीप जमेको वा पाकेको घाउ, जलेको घाउहरुलाई जनाउँछ। यस्ता घाउहरु भएको अवस्थामा पनि कम्तिमा ३ वटा टिटि सुई (डिपीटि समेत गरेर) लगाएको छ र अन्तिम डोज लगाएको ५ वर्षभन्दा बढि समय भएको छैन भने थप भ्याक्सिन लगाउनु जरुरी हुदैंन। अझ साधारण खालको र फोहर नभएका घाउहरुमा त पछिल्लो भ्याक्सिन लगाएको १० वर्षसम्म अर्को टिटि भ्याक्सिनको आवश्यकता पर्दैन। त्यस्तै डिपीटिका सबै खोपहरु लगाएका बच्चाहरुलाई ६ वर्षसम्मको उमेरसम्ममा थप टिटि भ्याक्सिनको जरुरत नै हुदैंन।

घाउको प्रकृति, उमेर, टिटि लगाएको समय आदिका आधारमा टिटि भ्याक्सिनको आवश्यकताको वृस्तित विवरण यो लिन्कमा हेर्नसक्नुहुन्छ

यसका बेफाइदा वा हानीहरु के के हुन्?
हरेक औषधीका फाइदा, बेफाइदा दुवै हुन्छन् भन्या जस्तै यसका पनि बेफाइदाहरु छन्। यसको प्रयोगले कसैकसैमा एलर्जी देखिने हुनसक्छ। छालामा राताराता दागहरु देखिने, चिलाउने, ज्वरो आउने देखि लिएर खतरनाक र ज्यानै जाने एलर्जीक प्रतिकृया/Allergic reaction पनि हुनसक्छ। त्यस्तै लाखौंमा १-२ जनालाई विभिन्न प्रकारका नसासम्बन्धी रोगहरु/Neurological disorders देखिन सक्छ। याद गर्नुहोस् नसा सम्बन्धी रोग र मानसिक रोग/Psychiatric Disorder भनेका फरक रोगहरु हुन्। 

लगातार बढि मात्रामा भ्याक्सिन लगाउने र चाहिने भन्दा बढि लगाउने गर्नाले माथिका बेफाइदाहरु हुने सम्भावना बढेर जान्छ। त्यसैले विरामीलाई बेनिफिट अफ डाउट/Benefit of doubtको नाममा हरेक साना घाउहरुमा टिटि भ्याक्सिन लगाउने सल्लाह दिनु पनि राम्रो उपचार पक्कै होइन।

यसको दुरुपयोग किन भैरहेको छ? 
यसको दुरुपयोग हुनुमा धेरै कारणहरु छन्। जस्तै:

१. यो भ्याक्सिनको बारेमा जानकारी नहुनु।
धेरैजसो मानिसहरु (र कतिपय स्वास्थ्यकर्मीहरुको पनि)को सोचाइ जस्तो यसले तपाईको भैसकेको घाउबाट हुनसक्ने टिटानसबाट सामान्यतया बचाउदैंन। यसले त भविष्यमा हुनसक्ने टिटानसको लागि एन्टिबडि बनाउनलाई प्रेरित गर्ने काम मात्रै गर्छ। यो एउटा एक्टिभ भ्याक्सिन भएकोले यसले काम गर्न यो शरीरमा प्रवेश गरिसकेपछी कम्तीमा शरीरलाई यसको विरुद्ध एन्टिबडी बनाउने समय चाहिन्छ। तपाईं हामीले सोचेका जस्तो काम गर्ने भ्याक्सिन प्यासिभ भ्याक्सिन/Passive vaccine हो, जसलाई टिटानस इम्युनोग्लोबुलिन/Tetanus immunoglobulin भनिन्छ।

२. आफ्नो भ्याक्सिनेसन अवस्था/vaccination status को बारेमा राम्रो जानकारी नराख्नु। 
हामी मध्ये धेरैले बच्चामा सबै खोपहरु लगाएका छौं, तर कमैसँग मात्र ती लगाइएका खोपहरुका कागजपत्र होलान्। आफूले लगाएका खोपहरुको विवरण भएमा भविष्यमा त्यस्तै प्रकारका खोपहरु थप्नु पर्ने, नपर्ने जानकारी लिन धेरै सजिलो हुन्छ। साथै अनावश्यक रुपमा खोपहरु लिइराख्नुपर्दैन।

३. टिटानस रोगको बारेमा जानकारी नहुनु।
हामी के सोच्छौं भने फलामले काट्यो कि टिटानस हुन्छ, घाउ भयो कि टिटानस हुन्छ। तर सफा घाउ छ, साधारण खालको घाउ छ र आफुले बच्चामा डिपिटि र पछि त्यसको बुस्टर डोज/Booster dose पनि लगाएको छ भने तपाईं आत्तिनुपर्दैन। तपाईंको शरीरमा टिटानससँग लड्ने एन्टिबडि पर्याप्त मात्रामा भएको खण्डमा टिटानस हुदैंन। त्यस्तै टिटानसबाट बच्ने उपाय टिटि खोप मात्र होइन। घाउ भएपछि त्यसलाई राम्रो तरिकाले साबुन पानीले सफा गर्ने, त्यसमा माटो, गोबर पर्न नदिने, सुत्केरी गराउँदा सफा, नयाँ ब्लेडले नाल काट्ने, सफा हातले सुत्केरी गराउने गर्नाले पनि टिटानसको सम्भावनालाई धेरै कम गर्छ।

४. सस्तो र सर्वसुलभरुपमा टिटि खोप पाइनु। 
अन्य खोपहरु जस्तो यो महंगो र पाइन गाह्रों हुदैंन। तर त्यसो भनेर यसको दुरुपयोग गरिनु उचित हुदैंन।

अन्त्यमा, 
विना जानकारी कुनै पनि खोप वा सुई लिनु हानिकारक हुनसक्छ। त्यसैले त्यस्तो सुई लिनु अघि त्यसको बारेमा, त्यसले गर्ने कामको बारेमा, आफुलाई त्यसको आवश्यकता भएनभएको बारेमा राम्रो जानकारी लिनु स्वस्थकर हुन्छ। सस्तो छ, सर्वसुलभ छ भन्दैमा अनावश्यक र हानीकारक हुनसक्ने कदम नचालौं।

स्रोतहरु:
बाँकी पढ्नुहोस् >>