Saturday, August 20, 2011

इसिजी र जिन्दगी (ECG & Life)


जिन्दगी भनेको आरोह अवरोहको अर्को नाम हो, परिवर्तनको अर्को संज्ञा हो। हरेक पलमा परिवर्तन भैरहेको हुन्छ। यो जीवनका बाटाहरुमा कहिले सुख आँउछ त कहिले दु:ख आउँछ। सुख आयो भनेर मात्तिनु र दु:ख पर्यो भनेर आत्तिनु हुदैंन। किनकी जिन्दगी यसैको अर्को नाम हो, जिन्दगीको मजा यसैमा छ।

केहि दिन अघि एक जना साथीको फेसबुक स्ट्याटसमा देखेको थिए, जिन्दगी भनेको इसिजी (ECG) जस्तै हो, माथितल वेभ आएको इसिजी नर्मल भएजस्तै उतार चढाव भएको जीवन सामान्य हो। उकाली ओराली भएन भने जसरी इसिजीले मानिसलाई मृत घोषित गर्छ, त्यसरी नै ती विनाको जीवन मृतप्रा:य हुन्छ।

एकदमै घत लाग्यो यो कुरा। हुन पनि हो, सामान्य व्यक्तिको इसिजीमा विभिन्न प्रकारका वेभहरु हुन्छन्, माथितल गरेका धर्काहरु हुन्छन्। ती मुटुमा भइरहेका विधुत्तीय तरंगका संकेतहरु हुन्।

सामान्य इसिजी यस्तो हुन्छ।


जिन्दगीका आरोह अवरोहका घटनाहरु जस्तै यसमा पनि एउटा निश्चित नियम अनुसार माथितल गर्दै वेभहरु आइरहेका हुन्छन्। यो ब्रम्हाण्डमा हरेक कुरालाई चलाउने नियम हुन्छ, जबसम्म त्यो कुरा आफ्नो नियममा चल्छ, त्यो सामान्य हुन्छ। नियम छोडेपछि त्यो बिग्रन थाल्छ, अधोगतितिर लाग्छ।

नियम बिगारेर चलिरहेका केहि इसिजीहरु:

यो भेन्ट्रिकुलर ट्याकिकारडिया (Ventricular tachycardia)हो।


यो भेन्ट्रिकुलर फिब्रीलेसन (Ventricular fibrillation) हो।


मुटुका भेन्ट्रिकलको जुनसुकै भागहरुबाट विधुतीय तरंगहरु उत्पन्न हुन थालेपछि (जुन सामान्य होइन) इसिजीमा यस्तो देखिन्छ। तत्काल डिसी सक (DC shock) दिएर मुटुका तरंगहरुलाई सामान्यमा फर्काउने उपचार गर्नुपर्ने हुन्छ।

यो हार्ट एट्याक (Heart attack) हुँदाको इसिजी हो।


यो एट्रियल फिब्रीलेसन (Atrial fibrillation) को इसिजी हो।


अन्त्यमा, यो चाँही मुटुमा केहि विधुतीय तरंग नहुदाँको स्थिती अर्थात मुटुले काम नगर्दाको अवस्था अर्थात् असिस्टोल (Asystole) हो।


कहि पढेको थिएँ, असिस्टोल भनेको सबैभन्दा स्टेबल/stable इसिजी वेभ हो अर्थात् असिस्टोल भनेको सबै उकाली ओरालीहरु चढेर थाकेर, आरोह अवरोह देखेर सन्तुष्ट भएर सधैंको लागि विस्राम गरेको मुटुको चाल हो, अझ भनौं मानिसको चाल हो।

यी माथिका भावनाहरु आज विहान विहानै इसिजी, मुटु र मानिसका जिन्दगीका भिन्नभिन्न चालहरु देखेर, त्यसका उपचार गर्ने प्रयास गरेर तर अन्त्यमा हार मानेर बस्दा मनमा उठेका हुन्।

बाँकी पढ्नुहोस् >>

Thursday, August 18, 2011

धर्मसंकट - भाग १


चिकित्सकको जीवन बाहिरबाट हेर्दा खेरी कति सजिलो, कति सुविधा सम्पन्न लाग्छ होला तपाईहरुलाई। चिल्लो गाडी, ठूलो बंगला, दिनकै हजारौंको कमाइ, अझ समाजमा सम्मान र सान पनि। तर बाहिरबाट हेर्दा जति सान, जति ऐस आरामको जिन्दगी देखे पनि उसको जीवन पनि साधारण मानिसको जस्तै चुनौतिहरुले भरिएको हुन्छ। साधारण जीवनमा जस्तै सयौं धर्मसंकटहरुको सामना गर्नुपर्छ। मेरो छोटो चिकित्सकरुपी जीवनका केहि धर्मसंकटहरुको बारेमा म यहाँ चर्चा गर्दैछु। यो यसको पहिलो भाग हो। 

विभिन्न थरीका कथा व्यथाहरु सुन्नु छ भने अस्पतालको आकस्मिक कक्षमा बस्नुपर्दोरहेछ, त्यो पनि अझ सरकारी अस्पतालको। गरीब, केही नभएका, कोही नभएका मानिसहरु ठूलाठूला रोगहरु लिएर आउने गर्छन्। हार्ट एट्याक, स्ट्रोक, क्यान्सर आदी आदी। यस्तो लाग्छ भगवानले नि उनिहरुलाई अझ दु:ख दिनका लागि यसो गरेका हुन्। उपचार त गर्नैपर्यो। तर के ले गर्ने उपचार। नेपाल सरकारले गरिबहरुका उपचारको लागि केहि थरिका औषधीहरु, भर्ना, जाँचका लागि सरकारी अस्पतालमा गरिने खर्चहरु सित्तैमा गरिने व्यवस्था नगरेको होइन। तर हाम्रो सरकारी अस्पतालहरुको अवस्था यति दयनिय छ कि साधारण खालका उपचार र जाँच बाहेक यहाँ केहि हुदैंनन्। बाजेको पालादेखिको सरकारी अस्पतालमा इमरजेन्सी भिडियो एक्सरे हुदैंन, सिटि स्क्यानको त मेसिनै छैन। सिटि स्क्यानको मेसिन भएको सरकारी अस्पताल त सायद वीर अस्पताल मात्रै हो की। त्यसको पनि हालत कति गएगुज्रेको छ भन्ने समाचार केहि दिन अघि एउटा राष्ट्रिय दैनिकमा आएको थियो। अनि त्यस्ता जाँचहरु गराउन या त नजिकैको प्राइभेट नर्सिङ होममा पठाउनुपर्छ, या त अति नै गरिब छन् भने विना ती जाँच सरकारको नि:शुल्क औषधी (प्राय: गरेर सलाइन पानी) दिएर राख्नुपर्छ।

चिकित्सकको हिसाबले चांहि के अफ्ठ्यारो पर्छ भने विरामीको उपचार राम्रो भईरहेको हुदैंन भन्ने थाहा हुन्छ, राम्रो उपचार गर्न के गर्नुपर्छ भन्ने पनि थाहा हुन्छ, तर गर्न भने केहि सकिदैंन। अलिकति पैसाको बन्दोबस्त गर्न सके, त्यो जाँच गर्न सके, त्यो औषधी चलाउन सके विरामीको राम्रो उपचार हुन्थ्यो भन्ने हुन्छ, तर गर्न केहि सकिदैंन।

अस्ति भर्खरैको कुरा, पश्चिमतिरको एक जना महिला आफ्नो श्रीमानसँग देखाउनका लागि लामो दुरी पार गरेर आएकी थिइन्। जीउ सुन्निने, दुख्ने, आलस्य हुने, पेट दुख्ने जस्ता थुप्रै समस्याहरुका लागि उनले पहिले देखि नै थरीथरीका ठाँउको थरीथरीका औषधीहरु खाएकी रहिछिन्। तर अलिअलि ठिक हुने फेरी बल्झिने रे। अनि अहिले चाहिँ खाली औषधी मात्र लिएर जाने रे, जाँचहरु गर्न, भर्ना भएर बस्न पैसा छैन रे। १०-११ वर्ष अगाडी गलगाँडको अप्रेशन गरेर फालेको भनी घाउको दाग देखाएपछि भने मेरो दिमागमा हाइपो थाइरोइडिजम (Hypothyroidism) मात्रै घुमिरह्यो। लक्षणहरु लगभग धेरै मिल्छन्, शारीरिक जाँच गर्दा चांहि ठ्याक्कै भन्न गाह्रों थियो। थाइरोइड फङसन टेस्ट (Thyroid Function Test) गर्नु जरुरी थियो। तर समस्या थियो, पैसाको। नि:शुल्क गराँऊ भने सरकारी अस्पतालमा उक्त जाँच हफ्ताको एक पटक मात्रा हुने, त्यो पनि रिपोर्ट आउन कती दिन लाग्ने हो थाहा नहुने। केही दिन कुरेर जान्छ गरेर जानुस् भनौ भने कहाँ बस्ने, होटेलमा बस्ने पैसा नि हुनु पर्‍यो। बाहिर प्राइभेटमा गर्न लगाउ भने घर फर्कनलाई मात्र पैसा छ रे। औषधी दिउँ भने थाइरोइडको रगत जाँच नगरी दिन नमिल्ने। मलाई कस्तो धर्मसंकट... अनि गर्ने के त।

यो जाँच गर्न आवश्यक छ भनेर जति बुझाएपनि अन्त्यमा उनिहरुको एउटै कुरा हुन्थ्यो। अहिले औषधी मात्र लैजाने, त्यसले ठिक हुदैं गयो भने पछि पैसा मिलाएर जाँच गरौंला। अन्त्यमा मैले हार मानेर उपचार गर्न नसके पनि हानी चाँहि नपुर्याउनु भन्ने कुरालाई सम्झेर ग्यास्ट्राइटिसको लागि केहि औषधीहरु लेखेर पठाइदिएँ। घर फर्केपछि पनि मनमा चाहिँ चुकचुक लागि रह्यो। मैले राम्रोसँग सम्झाइन कि, केहि गरी त्यो टेष्ट गरेर रोग पत्ता लागेको भए उपचारले उनी पूरै ठिक हुन्थिन् कि, एउटा समस्याको लागि आएको विरामीलाई राम्रोसँग पत्ता नलगाई अर्कैको लागि औषधी लेखेर पठाएर केहि नराम्रो गरें कि आदि प्रश्नहरु मनमा खेलिरहे।

त्यस्तै अर्को प्रसंग पनि जोडौं।

बाहिर नर्सिङ होममा देखाएर आएको स्किजोफ्रेनिया (Schizophrenia) को विरामी भर्नाको लागि भनेर सरकारी अस्पतालको इमरजेन्सीमा आयो। (स्किजोफ्रेनिया कस्तो रोग हो भन्ने बारे यो लिन्कमा हेर्नु होला। http://en.wikipedia.org/wiki/Schizophrenia . यस्को बारेमा लेख अर्को समय लेखौला ) पाल्पाको दुर्गम गाँउतिरबाट आएको विरामी र उसको श्रीमानको लवाइ हेरेर नै अनुमान लगाउन सकिन्थ्यो, उनीहरु कति गरीब होलान् भनेर। विरामी जचाँउन सिधै सरकारी अस्पतालको ओपीडी नआएर कसरी उनीहरु महंगो नर्सिङ होम पुगे, त्यो मलाई थाहा भएन। चिकित्सकले त्यहाँ उनीहरुलाई कति पैसा बुझाउन लगाए, त्यो पनि मलाई थाहा भएन। तर भर्नाको लागि सरकारी अस्पताल जानु भन्दा "अस्पताल कता हो, हामीलाई त केहि थाहा छैन, कसैले बाटो देखाइदिनु" भन्दैथिए रे। धन्न त्यहि नर्सिङ होममा काम गर्ने एकजना महिलाले सरकारी अस्पतालसम्म पुर्याइदिन आएकी थिइन्। तर विडम्बना अस्पतालमा कहि कतै बेड खाली नभएको अवस्था थियो। अब गर्ने के त?? यता उता नजिकै आफन्तको घरमा बस्नु भनौं भने पनि कताकताको मान्छे चिनेजानेको कोहि पनि छैन। सँगै काम गर्ने दाईले भन्नुभयो, मानसिक रोगीलाई राखेर उपचार गर्ने फलानो संस्था छ, त्यहि पठाइदिउ। तर त्यहाँ पनि पैसा अलि बढि नै लाग्दो रहेछ। विचरा उनीहरुसँग त फर्कनलाई पनि बल्लबल्ल पुग्ने मात्रै पैसा रहेछ। २-३ हजार लिएर आएका रे, बाटोमा खाँदा बस्दा, नर्सिङ होममा औषधीमा खर्च भयो रे। एक महिनाको लागि औषधी किनेर घरै लानु न त भनेको, त्यो पैसाले औषधी किने घर कसरी फर्कने फेरी.. अब गर्ने के? अर्को धर्मसंकट... 

गर्न सकिने केहि थिएन तर म पछिल्लो पटकको जस्तो चुकचुकाउँदै बस्न पनि चाहन्नथें। त्यसैले एकछिन सोंचे र खल्तीबाट केहि पैसा निकालेर दिई "यसको एक महिनाको लागि पुग्ने औषधी किन्नुस् र बाँकि पैसा आफैंसँग राख्नुहोला" भनेर भने। त्यो बेलामा के गर्नु उपयुक्त हुन्थ्यो, मलाई थाहा भएन, तर मेरो तर्फबाट गर्न सकिने मैले गरेको थिएँ। म ठुलो समाज सेवी होइन वा कसैलाई देखाउनका लागि भनेर मैले त्यसो गरेको थिइन। मैले कुनै ठुलो काम गरे भनेर पनि भन्दिन। किनकी त्यसमा मेरो व्यक्तिगत स्वार्थ थियो। आफ्नै मनको सन्तुष्टिका लागि मैले त्यसो गरेको थिएँ।

तपाईंहरु मध्ये कतिलाई लाग्न सक्ला, यसले जाबो त्यति पैसा दे'को रहेछ के के न गरे भनेर सुनाउँदो रहेछ। हो, त्यो ठुलो सहयोग केहि थिएन, त्यसले उनीहरुको जीवनमा केहि परिवर्तन पनि नल्याउँला। तर मैले भन्न खोजेको के भने हामी मध्ये धेरैले यस्ता सानातिना सहयोगहरु गर्नसक्छौं। सहयोग गर्नका लागि गोजी हैन, मन चाहिन्छ। पैसाको समस्या सबैलाई हुन्छ, पैसा कसैलाई पनि पुगेको हुदैंन, तर सहयोग गर्ने मन छ भने धेरैथोरै निकाल्न सकिन्छ। उदाहरणका लागि तपाईं यदि हरेक शुक्रबार जस्तो सिनेमा हल पुग्नुहुन्छ भने एक हप्ता नजानुस्, १-२ सय त अवश्य बँच्छ। यदि हरेक विकइन्डमा साथीहरुसँग बस्नुहुन्छ भने एउटा विक इन्ड नबस्नुहोला, २-३ सय त अवश्य नै बचाँउन सकिन्छ। त्यस्तै २० हजारको मोबाइल किन्ने सोचाइ छ भने अलि कम्प्रोमाइज गर्नुहोस्, १५ हजारको किन्नुस्, ५ हजार त बचाउन सकियो नि। यस्ता सानातिना कुराहरुबाट पनि अलिअलि बचाउ गर्न सकिन्छ। यदि त्यसरी नि भएन भने आफ्नो वार्षिक आयको सीमित प्रतिशत दीनदु:खीहरुको लागि भनेर छुटट्याउन सकिन्छ। मुश्लिमहरुको धर्ममा नै त्यस्तो भनेको हुन्छ रे। त्यसैले सहयोग गर्नाको लागि गोजी दह्रों हैन, मन कमलो चाहिन्छ, सहयोगको भावना हुनुपर्छ। मन्दिर मन्दिर चाहार्दै देवीदेउताको पूजा गर्नु, बली चढाएर पाप पखाल्नुको साटो गरीब दु:खीहरुको लागि सानोतिनो सहयोग गर्नुहोस् र त्यसैमा आफ्नो मनको शान्ति पाँउनुहोस्। धार्मिक यज्ञहरुमा हजारौंको दान (धेरैजसो उधारोमा गर्छन् र आफ्नो नामको खोक्रो प्रचार गर्दै सम्मानको दोसल्ला ओढ्छन्) गरेर आफ्नो नाम माइकमा फुकाउनु भन्दा गरीब रोगीहरुको सेवामा लागेको सहि संस्था, व्यक्तिलाई सहयोग दिनुहोस्, त्यो उत्तम हुन्छ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको 'यात्री' कविताको लिङक छोड्दै यो लेखको अन्त्य गर्छु।
http://sanjaal.com/ganthan/562/articles/laxmi-prasad-devkota-yatri/
यी त भए एक खाले धर्मसंकटको कुरा। अर्को खालको धर्मसंकटको कुरा अर्को भागमा है।

बाँकी पढ्नुहोस् >>

Saturday, August 6, 2011

डिप्रेसन रोग (Depression)

साउदी अरब काम गर्न गएका २५ वर्षिय खड्बहादुरलाई राती निद्रा नपर्ने, मनमा अनेकौं कुरा खेल्ने गथ्र्यो। पेट पोल्ने, खानामा पटक्कै रुची नहुने गथ्र्यो। उनी त्यहाँ गएको दुई महिना भएको थियो। शरिर झमझम गर्न थाल्यो, आफुलाई हाँसखेल गर्न पटक्कै मन नहुने, काम गर्न जाँगर नहुने, दिनदिनै घरपरिवारको सम्झना आइरहने, बेलुकीपख चर्को टाउको दुख्ने गथ्र्यो। मन चिन्ताले पिडित हुन्थ्यो। दिन काट्न अत्यन्त गाह्रो हुन्थ्यो। विदेशमा एकछिन बस्ने मन हुन्थेन। आफुलाई अत्यन्त दुखी सम्झन्थे, उनी। उनले त्यहाँ उपचार गराउन खोजे पनि निको भएन र अहिले उनी स्वदेशमै आई उपचार गराईरहेका छन्। उनको यो समस्यालाई डिप्रेसन रोग (Depression) भनिन्छ। अहिले उनको स्वास्थ्य राम्रो भएको छ।


रोग पत्ता नलाग्दा यस्ता विरामीहरु अनेकौ औषधि पसल चार्हछन्। कतिपय बिरामी पुरानो उपचार धामीझांक्रि लगाउछन् जसवाट रोग त निको हुदैन बरु आवश्यक उपचार पाउन भने ढिला हुन्छ। नेपालमा डिप्रेसन रोगको मुख्य कारणहरुमा पारिवारिक कलह, कार्य असफल हुनु, श्रीमान बिदेशिनु, प्रेममा वियोग, आफन्त वा नजिकको मानिस मर्नु, बिदेशमा बस्नु, ब्यापारमा नोक्सानी, जागिर छाड्नु/जानु, बालक अवस्थामा आमाबाबुबाट टाढा रहनु र राजनीतिक असन्तुलनको असर आदि पर्दछन्। कतिपय डिप्रेसन रोगका विरामीहरुलाई निद्रा नपर्ने हुन्छ। डिप्रेसनका बिरामीहरु आत्तिने खालको सपना देख्छन्। धेरै डिप्रेसनका बिरामी आफुलाई असफल ठान्छन् र भविष्यप्रति निराशाबादी हुन्छन्। कोही यौन क्रियामा कमि भयो भन्ने समस्या लिई डाक्टरकहाँ आउँछन्। डिप्रेसन रोग हो भन्न डिप्रेसनका लक्षणहरु कम्तीमा २ हप्तासम्म रहनुपर्छ। विश्व स्वास्थ्य संगठनले डिप्रेसन जिवनकालमा पुरुषमा १५% र महिलामा २५% सम्म हुने बताएको छ। महिलामा डिप्रेसन बढी हुने खास कारण थाहा भएको छैन तर सहन सक्ने क्षमता महिलामा कम हुने भएकोले रोग बढी लागेको भन्ने अनुमान छ।


डिप्रेसन रोग परापूर्वकालदेखि देखिदैं आएको रोग हो । डिप्रेसन रोग धेरै मानिसमा पाइने रोग हो । डिप्रेसन रोग लागेको बिरामीलाई आफूलाई अर्कै रोग लागेको भान हुन्छ। पटक पटक उपचारको शिकायत गर्ने धेरै परिक्षण रगत एक्सरे आदि जाँच गर्ने तर रोग नभेटिने यो रोगमा केहि विरामी पिडा सहन नसकी आत्महत्या गर्ने गरेको पनि पाईएको छ। एकै पटक धेरै अंगको लक्षणहरु देखिने समस्या छ भने त्यो डिप्रेसन पनि हुनसक्छ।

डिप्रेसन रोगका बिरामी नेपालमा धेरै छन्। शारिरिक रोग जस्तै क्यान्सर, चिनीको रोग, थाइराइड ग्रन्थिको गडबडी तथा दिर्घ रोगीहरुमा पछि गएर डिप्रेसन रोग लाग्ने सम्भावना बढी रहन्छ।

डिप्रेसनका बिरामी एउटै घटनालाई आधारमानी सधैं त्यसमा अनावश्यक विवाद गर्छन्। जस्तै परिक्षामा १ पटक फेल भएमा अब सधै फेल भइन्छ भनी आतिन्छन्, जुन गलत हो। कतिपय डिप्रेसनका रोगी नकारात्मक सोचाईबाट पिडित हुन्छन्। मनमा यस्ता सोचाई लिन्न भनेपनि ती सोचाइ आउनाले छटपटि महसुस गर्छन्। डिप्रेसनका बिरामीको मस्तिष्कको परिक्षण सि टि स्क्यान(CT scan), एम आर आई(MRI) गर्दा कुनै खरावी देखिदैन तर न्यूरोट्रान्समिटर (Neurotransmitter) को मात्रा जाँच, जुन अत्यन्त शुक्ष्म परिक्षण मानिन्छ र साधारणतया सम्भव पनि छैन, गर्दा सेरोटोनिन (Serotonin) तथा नरइपिनेफ्रिन (Nor-epinephrine) भन्ने केमिकल मस्तिष्कमा घटेको देखिन्छ।




डिप्रेसनका बिरामी रोगको कारण अनौठो लक्षण देखाउँदा कुटाई खाने, बोक्सीको आरोप पाउने गरिएको पनि भेटिएको छ। मानसिक रोगको झन्डै एक तिहाई हिस्सा ओगट्ने डिप्रेसनका बिरामी आफुलाई नसाको रोग लाग्यो भन्न रुचाउँछन तर आफु पागल बनिन्छ भन्ने ठूलो पिर उनीहरुमा हुन्छ। वास्तवमा यो रोग पागल हुनु भन्दा फरक हो र यो अर्को रोगमा परिणत हुदैन।

माथिको भनाईबाट के प्रष्ट हुन्छ भने डिप्रेसन रोग एक जटिल रोग हो। यस रोगका बिरामीहरुका लक्षणहरु एकै प्रकारका हुँदैनन्। उपचार गरे यो रोग निको हुन्छ। यो रोग पहिचान गर्न धेरै डाक्टरलाई गाह्रो हुन्छ किनकी प्राय: डाक्टरहरुले विरामीले जे समस्या भनेका छन्, त्यसै अंगको रोगको बारेमा मात्र सोच्छन् र विरामीहरु पनि प्राय: त्यहि अंगको वा रोगको विशेषज्ञलाई आफ्नै हिसावले देखाउने गर्छन्।

समुदायमा ५% मानिस डिप्रेसन रोगबाट पिडित छन्, जुन पहिचान गर्न नसकिने भएकोले उपचार गर्न पाएका हुदैंनन्। समुदायमा प्राय: सुनिने आत्महत्याकॊ घटनासँग कुनै न कुनै रुपमा डिप्रेसनको सम्बन्ध हुने गर्छ। डिप्रेसन रोगका विरामी नसा पोल्यो, नसा दुख्यो, नसा सड्कियो, नसा छिन्यो, रगत बिग्रियो, नशा झमझम ग-यो भन्दै अस्पतालअस्पताल धाँउने गर्छन्।



लक्षणहरु
क) २ हप्ता भन्दा बढी समयसम्म दिक्क लागि रहने।
ख) रुन मन लाग्ने निराशा हुने, hopeless, helpless र worthless महसुस गर्ने।
ग) एक्लै वस्न रुचाउने।
घ) झर्को लाग्ने, दिक्क मान्ने।
ङ) बोल्न मन नलाग्ने।
च) छटपटी हुने, छाती दुख्ने, पेट दुख्ने, हातखुट्टा झमझम गर्ने, पैतला पोल्ने, तालु पोल्ने, मुख सुक्ने। कति विरामीहरु विभिन्न प्रकारका अनौठा लक्षणहरु लिएर आउँने गर्छन्।
छ) आत्मग्लानी हुने।
ज) भूत, वर्तमान र भविष्यबारे नकारात्मक सोचाई रहने।
झ) निदाउन गाह्रो हुने, निद्रा कम पर्ने, विहान चाँडै बिउझने।
 
ञ) खानामा रुचि नहुने ।
ट) शारीरिक सम्पर्क गर्न रुचि नहुने ।
ठ) आफुलाई बेकम्मा सम्झने । टाउको दुख्ने, फूर्ती नआउने ।
ड) मर्न पाए हुन्थ्यो भन्ने। कसैकसैले आत्महत्याको प्रयास पनि गर्छन् र सफल पनि हुन्छन्।
ढ) बारम्बार रुने ।
ण) शंका लाग्ने र कानमा आवाज आउने पनि कसैकसैमा पाइन्छ ।
यो रोग पटक पटक दोहरिन पनि सक्छ ।



डिप्रेसन रोग बिभिन्न किसिमका हुन्छन्
न्युरोटिक डिप्रेसन- यस्ता बिरामीहरु मलाई कस्तो रोग लाग्यो भनि चिन्ता गर्छन।
साइकोटिक डिप्रेसन- यस्ता बिरामीहरु अरु मानिसदेखि संका गर्ने गर्छन।
सेनाइल डिप्रेसन- बुढेसकालमा देखिने डिप्रेसनलाइ सेनाईल डिप्रेसन भनिन्छ। यस्ता बिरामीहरु प्राय: आत्महत्या गर्ने डर हुन्छ। एक्लै बोल्ने, एक्लै हाँस्ने पनि गर्न सक्छन्।
डिप्रेसन स्टूपर- यस्ता बिरामी अत्यन्त नचली नवोलि बस्छन्, कोहि बिरामीहरु त्यसरी बस्दा आँखामा आँसु बगाइरहन्छन्।
एजिटेटेड डिप्रेसन- यस्ता बिरामीहरु अत्यन्त छटपट गर्छन्। एक ठाउँमा बस्न सक्दैनन्। आत्तिने र अस्थिर मनस्थिती भएका हुन्छन्।
रेटार्डेड डिप्रेसन- यस्ता बिरामीहरु बहूत कम बोल्छन् र टोलाउने गर्छन्।
बच्चामा देखिने डिप्रेसन- बच्चामा दखिने डिप्रेसन केहि फरक हुन्छ। पेट दुख्ने, टाउको दुख्ने, रिसाउने, पढ्न नजाने आदि लक्षण लिई यस्ता बिरामी आउछन्।
बयस्कमा पाईने डिप्रेसन- यस्ता बिरामीहरु अनेक शारिरिक लक्षण लिइ पटक पटक डाक्टरकहाँ धाउछन्।
जाडो महिनामा पाईने डिप्रसन- केहि डिप्रेसन जाडो महिनामा मात्र देखापर्छ। यस्तो डिप्रसनलाई जाडो महिनामा पाउने डिप्रेसन भनिन्छ। रात लामो हुनाले मेलाटोनिन (Melatonin) भनिने हर्मोन गडबडी हुँदा यो देखिन्छ।
छोपिएको डिप्रेसन(Masked Depression)- यस्ता बिरामी बाहिरी रुपमा खुसि देखिन्छन् तर जब बिरामीको बारे हामी जानकारी लिन्छौ तव बिरामी रुने गर्छन।
दोहोरिएको डिप्रेसन(Recurrent Depression)-करिव ५०% बिरामीहरुमा डिप्रेसन रोग दोहोरिने सम्भावना रहन्छ। औषधी छुटाउने, बिरामीको घरायसि वातावरण राम्रो नहुनाले र कहिलेकाही औंषधी सेवन गर्दागदै पनि यस्तो हुन्छ।



विभिन्न कारणले गर्दा डिप्रेसन रोग लाग्दछ। 
वंशानुगत रुपमा सर्ने।
Neurotransmitter को गढबढी जस्तै- Dopamine, Serotonin र Norepinephrine।
मस्तिस्कमा कुनै खराबी वा रोग भएमा।
आमा बाबुबाट बाल्यवस्थामा टाढा रहनाले।
हर्मोनको गडबडी जस्तै थाइराइर्ड, एड्रिनल, ग्रोथ(Growth) हर्मोनको गडबडी भएमा।
लामो समय सम्म लाग्ने शारीरिक रोग लागेमा, जस्तै चिनिको रोग, मृगौलाको रोग आदि।
विरामी हुनु अघिको व्यक्तित्व।
तात्कालिन घटनाक्रम जस्तै नजिकको मानिस मर्नु, नोक्सानी हुने कुनै पनि घटना घट्नु।
पारिवारिक अस्वस्थ सम्बन्ध।
लागू पदार्थ सेवन गर्नाले।
गर्भवस्थामा संक्रमण भएर मस्तिष्कको वृद्धि रोकिनु।
समाजबाट टाढा रहनाले, बसाइ सर्नाले।



डिप्रेशन रोगका विरामीहरु कस्ता कस्ता समस्या लिएर आउछन्? 
विरामीहरु आफुलाई टाउको दुख्ने रोगको लक्षण बताउंछन।
कतिपय विरमीहरु आफुलाई क्यान्सर लागेको शंका गर्छन।
कोही घांटिमा केहि अड्कियो भनी आत्तिन्छन।
कोही यौन अंगको समस्या, यौन क्रियामा कमी भएको बताउछन।
कोही विरामीहरु वारम्बार पेट पोल्ने, पेटमा अप्ठ्यारो महसुस भएको बताउंछन।
कोही मुटुको रोग लाग्यो भन्दै मुटु रोग विशेषज्ञकहाँ पुग्दछन्।
कोही ढाड दुख्ने, जोर्नि दुख्ने समस्याको सिकायत गर्छन।
कोही खाना अपच हुने, पाचन शक्तिमा कमी आएको शिकायत गर्छन।
कोही काम्ने र बक्ने गर्छन र बोक्सी लागेको विस्वास गर्छन।
कोही अचानक वेहोस भएको बताउंछन।
डिप्रेशनका विरामी एक्लै शान्त ठांउमा बस्न रुचाउंछन। रेडियो सुन्ने, टिभि हेर्ने चाख हुदैन। बढि चिन्ता गरिरहने र आफ्नो जिवन देखि नै हरेस खाएका हुन्छन।



(यो लेखका लागि डा. सि पी सेढाईंलाई धेरैधेरै धन्यवाद। उहाँ हाल चितवन मेडिकल कलेज, भरतपुरमा मानसिक रोग विशेषज्ञको रुपमा कार्यरत हुनुहुन्छ।)

बाँकी पढ्नुहोस् >>