Monday, April 17, 2017

'विपन्न विरामी सहयोग कोष'

सरिता विकसँग (उपचार हुँदैं गर्दा)
नेपाल सरकारले अति गरिव विरामीका लागि सम्पूर्ण उपचार सेवा नि:शुल्क भनेको भए पनि त्यसले विरामीलाई चाहिने सबै उपचारलाई समेट्दैन। त्यस अन्तर्गत अस्पतालमा उपलब्ध भएका औषधी नि:शुल्क दिन मिल्छ, नभएका औषधी र सामानका लागि विरामीले आफ्नो खर्च गर्नैपर्छ, त्यस्तै अस्पतालसम्म पुग्न गाडी भाडा, भर्न भएन भने बस्ने भाडा, खानामा (अस्पतालमा नि:शुल्क खाना नहुने भए), अन्य धेरै औषधी र सामानहरुमा विरामीका खर्च लाग्ने गर्छन्। 
उपचारपछीको भेटमा सरिताको हाँसो
यी खर्च न सरकारको नि:शुल्क सेवाले ओगट्न सक्छ न ती अति गरिव विरामीका गोजीले नै तिर्न सक्छ। र यही केही हजारको अभावमा ती विरामीका उपचार अधकल्चो हुनपुग्छ र सरकारले नि:शुल्क सेवा भने पनि ती लक्षित वर्गसम्म त्यो सेवा पुग्नै सक्दैन। दुर्गममा काम गराइको क्रममा यही समस्या देखेर नै यस्ता केही हजारको अभावमा विरामीले ज्यान गुमाउनु नपरोस्, विरामी भएर, अपांग भएर जीवन विताउनु नपरोस् भनेर उपचारमा सहयोग पुर्याउनका लागि 'विपन्न विरामी सहयोग कोष' स्थापना गरेको हुँ।
'विपन्न विरामी सहयोग कोष' सहयोगी दाताहरुले स्वस्फूर्तरुपमा रकम दान दिनुभएर चलेको एउटा कोष हो। यो कुनै दर्ता भएको संस्था वा कोष नभएकोले यसको खाता मेरो आफ्नै नाममा छुट्टै खाताको रुपमा छ।
समीर लामा, राष्ट्रिय वाणिज्य बैंक, बिजुवार, प्युठान,
खाता नं. ४४३००१६०५०१०
नर बहादुर सुनारसँग ओपिडीमा
यसका धेरै दाताहरु हुनुहुन्छ, धेरैजसोले आफ्नो नाम खुलाउन चाहनुहुन्न, धेरैले मलाई र मेरो कामलाई विश्वास गरेर सहयोग दिनुभएको छ। दाताहरुमध्ये बढीमा एउटैले १ लाखसम्म नि सहयोग गर्नुभएको छ भने कसैले नियमित महिनाको ३,००० सहयोग गर्नुहुन्छ। यो कोषबाट सहयोग गर्दा विरामीको उपचार सम्भव भएसम्म जिल्ला अस्पतालमै गराउने र रिफर गर्नुपर्ने भए पनि सकेसम्म कम खर्चमा सरकारी अस्पतालमा गराउने व्यवस्था मिलाउने गरेको छु। यसले गर्दा सहयोगमा जम्मा भएको रकमको दुरुपयोग हुन कम हुने विश्वास लिएको छु। 
यो एउटा सानो कोष भएकोले एउटै विरामीको लागि लाखौंं खर्च गर्न असम्भव छ तर केही हजारको सहयोगले कसैको जिन्दगी परिवर्तन हुन्छ भने सकेसम्म त्यस्ता विरामीलाई प्राथमिकता दिने गरेको छु। कसलाई कती सहयोग गर्ने भन्ने निर्णय म आँफैंले गर्ने गरेको छु। विश्वासको लागि पारदर्शिता कुनै पनि संस्थामा हुनुपर्दछ, कसलाई कती सहयोग दिइयो भन्ने १-१ रुप्पेको पूर्ण विवरण दिन नसके पनि कुन विरामीलाई कती दिइयो भन्ने मोटामोटी विवरण यहाँ दिन खोजेको छु।
  • ·         नर बहादुर सुनार रु. ६७,००० (डायबेटिक फुटको किर्तीपुर अस्पतालमा छाला ट्रान्सप्लान्ट गरेको)
  • ·   मुकुन्द केएम रु. ५०,००० (मलद्वारबाट आन्द्रा बाहिर आएको- रेक्टल प्रोलाप्सको चितवन मेडिकल कलेजमा अप्रेसन गरेको)
  • ·         रमेश उर्खुट्टी रु. २७,००० (हेपाटाइटिस बी, लिभर सिरोसिसको लागि औषधीमा मासिक सहयोग)
  • ·         हरिकला सुनार रु. २६,००० (पोलेको सुस्तमनस्थिती विरामीको छाला ट्रान्सप्लान्ट गरेको)
  • ·         सरिता विक रु. २५,००० (छातीमा पिप जमेको टिचिङ अस्पतालमा अप्रेसन गरेको)
  • ·         किर्तिमान नेपाली रु. २०,५०० (भरतपुर क्यान्सर अस्पतालमा उपचार चलिरहेको)
  • ·         शोबी पुन रु. २३,००० (खुट्टाको हाडको पुरानो संक्रमण- क्रोनिक ओस्टियोमाइलाइटिसको भरतपुर अस्पतालमा अप्रेसन भएको)
  • ·         अनिका तामाङ रु. २०,००० (ब्लड क्यान्सरको टिचिङ अस्पतालमा उपचार भएको)
  • ·      रिता नेपाली रु. १०,००० (छातीमा पिप जमेको लागि भरतपुर क्यान्सर अस्पतालमा अप्रेसन भएको)
  • ·         गिर बहादुर घर्ती रु.,००० (मुटुको वरीपरी पानी जमेको- पेरिकार्डियल इफ्युजनको लागि टिचिङ अस्पतालमा अप्रेसन भएको)
  • ·    सिर्जना नेपाली रु.,००० (खुट्टाको हाडको पुरानो संक्रमण- क्रोनिक ओस्टियोमाइलाइटिसको भरतपुर अस्पतालमा अप्रेसन भएको)
  • ·         पवित्रा तामाङ रु.,००० (लिम्फोमाको वीर अस्पतालमा उपचार भएको)
  • ·         भिम बहादुर दमाइ रु.,४९० (पोलेको विरामीको औषधीका लागि)
  • ·         केशर बहादुर पुन रु.,००० (ढाड भाँचिएको प्रेसर सोर भएको विरामीको रिफरल खर्च)
  • ·         मति बहादुर सुनार रु.,००० (मधुमेहको लागि इन्सुलिन पेन)
  • ·         लोकमान नेपाली रु.,००० (छातीमा पिप जमेको उपचारको लागि)
  • ·         छातीमा पिप जमेको अर्को विरामी रु.,२०० (क्लिन्डामाइसिन एन्टिबायटिकको लागि)
  • ·         यस बाहेक केही ओपिडी, वार्डका विरामीका लागि केही औषधी खरिदमा १०० देखी ५०० सम्मका खर्च भएका छन्।
  • ·         अहिलेसम्ममा यो खाताबाट ३ लाख भन्दा बढी उपचार सहयोग भईसकेको छ।
  • ·         अहिले खातामा जम्माजम्मी रु.,०९,००० बाँकी रहेको छ।

यसमा धेरैजसो विरामी प्युठानका छन् भने रमेश उर्खुट्टी (मैले एमडी गर्दाताका देखी चिनेको) रामेछापका र अनिका तामाङ ओखलढुङाका वासिन्दा हुन्।
भरतपुर अस्पतालमा उपचार गराउदै शोबी पुन
अन्तमा मलाई विश्वास गरेर सहयोग गरिदिनुहुने सबै दाताहरुलाई मेरो र ती सहयोग लिएर निको हुनुभएका विरामीहरुको तर्फबाट धेरै धेरै धन्यवाद। यो समाजसेवाको महान कार्य यहाँहरुको सहयोगको कारण नै सफल भएको हो। भविष्यमा पनि यहाँहरुबाट र अन्य साथीहरुबाट पनि यस्तैयस्तै साथको आशा लिएको छु।
बाँकी पढ्नुहोस् >>

Wednesday, March 29, 2017

एक्स्काभेटर र नेपालका जीपीहरु

प्यूठानको सबैभन्दा दूर्गम क्षेत्र स्याउलीवाङ पुग्ने सौभाग्य मिल्यो। गाडीको लागि खनिएका बाटाहरु सकिएर पनि ५-६ घण्टा अझै हिंड्नुपर्ने गरी टाढा रहेछ। बाटोमा हिड्दै गर्दा पहाड फोर्दै बाटो खन्दै गरेका एक्स्काभेटरहरु भेटिए। पहाडका कडा चट्टानहरुसँग लडिरहेका भविष्यको राम्रो बाटो सुविधाको यात्राको लागि एकनासले एक्लै त्यो विरानो पहाडमा लागिपरेका ती एक्स्काभेटरहरुलाई देख्दा एक्कासी मलाई आफ्नै झल्को पो आयो। मलाई यी एक्स्काभेटर हाम्रो देशका जीपीहरु जस्ता पो लागे।

एक्स्काभेटरले बाटो नै नभएको ठाउँमा पहाड फोडेर बाटो निकाल्छ, एक्लै काम गर्छ, दु:ख झेलेर सिमित स्रोत साधानमा काम गर्छ। अनी जब सडक राम्रो बन्छ, चिल्लो कालोपत्रे बन्छ शायद त्यो बाटोमा कसैले एक्स्काभेटरलाई चल्न पनि दिदैन, कसै गरी चल्यो भने पनि "यो यहाँँ किन आयो, कसरी आयो, यो यसको क्षेत्र नै होइन" भनेर डेडो आँखाले हेर्छन्। नेपालका हामी एमडी जीपी (जेनेरल प्राक्टिस स्पेसलिस्ट)हरुको अवस्था पनि लगभग यस्तै छ। दूर्गमका गाँउठाँउहरुमा जबसम्म सुविधा हुँदैन, स्रोत हुँदैन, औषधी हुँदैन, तबसम्म जीपीले जसोतसो गरेर स्वास्थ्य सेवा दिईरहेका हुन्छन्। विना एनेस्थेसियोलोजिस्ट अप्रेसन गर्छन्, विना एनेस्थेसिया मेसिन, विना पोस्ट अप सुविधा कस्ताकस्ता खतरा मोलेर ज्यान बचाउनैका लागि अप्रेसन गर्छन्। विना पर्याप्त र तालिमप्राप्त सहयोगी नर्स, पारामेडिक्स जटिल विरामीहरुको उपचार गर्छन्, रगत उपलब्ध नभै पनि सिजेरियन गर्छन्। एउटै जीपीले फिजिसियन, पेडियाट्रीसियन, गाइनेकोलोजिस्ट, सर्जन, एनेस्थेसियोलोजिस्ट, साइक्याट्रिस्ट, डर्माटोलोजिस्ट, रेडियोलोजिस्ट, काउन्सेलर सबैको भूमिका निभाइरहेको हुन्छ, सेवा दिईरहेको हुन्छ। तर जब सेवाको बिकास हुन्छ, स्रोत साधन थपिन्छन्, अनी ती जीपीहरु पनि एक्स्काभेटर झैं घाँडो बन्न पुग्छन्। "यो फिजिसियन हैन, यल्लाई पेट, मुटु हेर्नै आउँदैन, यो पेडियाट्रिसियन हैन, यल्लाई बच्चा देखाउनुहुदैन, यो गाइनेकोलोजिस्ट हैन, यसलाई सिजेरियन गर्न दिनुहुदैन, यो सर्जन हैन यसलाई अप्रेसन गर्न आउँदैन, यो रेडियोलोजिस्ट हैन, यसले भिडियो एक्सरे गर्न पाउदैन" आदी इत्यादी धेरै गनथनहरु सुनिन थाल्छन्। अंगका विशेषज्ञहरुको भिडमा अनी टाउको दुखे टाउकोकै, मुटु दुखे मुटुकै डाक्टर खोज्ने विरामीहरुको झुण्डमा सम्पूर्ण मानव शरीर, परिवार र समाजका डाक्टर जीपीहरुले आफ्नो स्थान भेट्न सक्दैनन् र भेट्न दिदैनन् पनि। अनी उ पनि एक्स्काभेटर जस्तै अर्को विरानो दूर्गम ठाउँमा त्यहीको समाजमा भिजेर पहाड फोर्दै त्यो गाँउको लागि बाटो बनाउन, भविष्यका लागि ट्र्याक खोल्न जंगल छिर्छ।
बाँकी पढ्नुहोस् >>

Wednesday, February 22, 2017

नीति ल्याउने मात्र हैन, कार्यान्वयन गरेर देखाउ।

   मदिरा नीति आयो? पहिले कार्यान्वयन गराएर देखाउनुस्। यो चुनौती हैन, आग्रह हो। मन्त्रालयले ल्याएको नियममा केही खोट छैन, राम्रा छन्, उद्देश्य नि राम्रा छन्, मात्र कार्यान्वयन कसरी गरिने हो थाहा छैन। सार्वजनिक सवारी साधनको झ्यालबाट फोहोर फाल्न नपाउने कानुन के भयो, कति कार्वान्वयन भयो, कतिले सजाय पाए? त्यस्तै सार्वजनिक स्थलमा धुम्रपान गर्न नपाउने नियम के भयो?
• २१ वर्ष मुनिकालाई मदिरा बेच्न नपाइने। कल्ले र कसरी हेर्छ किन्ने व्यक्ती २१ वर्ष पुगेको छ कि छैन? गाउँमा त यो लागू गर्नै सकिन्न, शहरका रेष्टुरेन्ट, ठमेलका पसल, पबहरुमा कल्ले २१ वर्ष पुग्या नपुग्या हेर्छ र कसरी? नियम आफैंमा भने राम्रो हो, विदेशमा जस्तो शंका लागे पसलेले आईडी कार्ड हेर्ने सिस्टम भए त राम्रो, तर हाम्रोमा व्यवहारमा लागू हुन लगभग असम्भव छ।
• एकजनाले १ लिटर किन्न पाउने। एउटा पसलबाट १ लिटर कि २४ घण्टामा १ लिटर? कस्ले हेर्छ त्यो व्यक्तिले कति किन्यो भनेर? धेरै किन्न खोजे नेपालका पसलेले प्रहरीलाई खबर गर्ला त? ल पसलेले खबरै गर्छु भने पनि खानै मन भएकाले पसलै पिच्छेबाट १-१ लिटर लिएर खान सक्दैनन् होला र? अरु पसलबाट उस्ले कति लियो अर्को पसलेलाई के थाहा?
• रक्सीको बोतलमा बिग्रेको कलेजोको फोटो राख्दैमा कसैले खान कम गर्ला र? चुरोटको खोलमा क्यान्सर लागेको फोक्सोको फोटो राखेर कति जनाले चुरोट छोडे त? यो खानेहरुले यसको बेफाइदा थाहा नपाएर खाएका हुन् र कसैले बेफाइदा भन्ने बित्तिकै वा डर देखाउने बित्तिकै छोड्ने! नेपाली फिल्महरुमा नि मदिरा र चुरोट सेवन गरेको दृश्य पिच्छे 'हानिकारक छ' भनेर लेखिन्छ, नियम अनुसार ठिकै होला तर त्यसले के कति फाइदा पुर्याएको छ, अनुसन्धान विना भन्न गार्है छ। फाइदाजनक हुने भए त हलिउडका फिल्ममा नि अवश्य लेखिन्थ्यो होला, खै कुनैमा नि देखिन्न त।
• विवाह, समारोहमा नि मदिरा निषेधित रे! विहेमा जन्ती बढिमा कती जना जान पाउने नियम छ रे? के त्यो कार्यान्वयन भयो? अनि यो कसरी हुन्छ? कसैको विहे, समारोहमा मदिरा छ छैन कल्ले हेर्न जान्छ? कुनै समारोहमा मदिरा खाइरहेको खबर कस्लाई दिने? खबर गरे प्रहरी कार्वाहिको लागि पुग्ने हो? आफ्नो समारोहमा 'सोसल ड्रीन्क' नि गर्न नपाइने हो?
• विभिन्न सार्वजनिक स्थल, कार्यालय वरिपरि मदिरा बेच्न नपाइने! वरिपरि भनेको कति नजिक हो? अस्पतालको गेटैमा रक्सी बेचबिखन भैरहेको छ, पहिले त्यो उठाएर देखाउनुस्। रक्सी खाएर विरामीका आफन्त, अन्य मान्छे अस्पताल प्रवेश गर्छन्, त्यो रोकेर देखाउनुस्।
नीति ल्याउनु ठिकै हो, तर कार्यान्वयन भएन भने त्यो मजाक बन्न जान्छ। जति कडा नियम हुन्छ, उत्तिकै कडा कार्यान्वयन नभए त्यो कागजको खोस्टा मात्र बन्छ। अनि अर्को कुरा नीति नियमले नै मान्छेले व्यवहार परिवर्तन गर्छन् भन्ने सोच्नु गलत हो। त्यसको लागि जनचेतना जाग्नु, सचेत हुनु, स्वास्थ्यप्रती जिम्मेवार हुनु नि उत्तिकै जरुरी छ।
जे होस्, अर्को राम्रो नियम आउन लागेको रहेछ, कार्यान्वयन भए खुसी हुनेछु, मदिराको नीतिलाई मदिरामै चोपेर फ्याँक्ने हिम्मत कसैले नगरोस्। 
बाँकी पढ्नुहोस् >>

Thursday, November 17, 2016

बुढा बाजे, काँक्रो र मकै


एउटा डाक्टरको जीवनमा हजारौं विरामी आउछन्, सबैलाई सम्झन सम्भव नै हुँदैन। एउटा विरामीको जीवनमा हजारौं, सयौं नभए पनि १०, २० वा ५० सम्म डाक्टरहरु आउन सक्लान्। त्यसैले विरामीले आफूलाई हेर्ने डाक्टरलाई सजिलै सम्झन सक्छन्, नाम थाहा नभए पनि देख्दा चिन्ने गर्छन्। कसैकसैले त "मलाई चिन्नुभएन? अस्ती भर्खर तपाईंले मलाई जाँच्नुभाको हैन त" भन्छन्, कसैले बाटोतिर, घरतिर "ओहो डाक्टरसाब, नमस्कार तपाईंले दिएको औषधीले निको भएँ नि" भन्छन्, आफूलाई देख्यादेख्या जस्तो मात्र लाग्छ। ठुलो पल्टेर बिर्सेको हैन, दिमागको सम्झना शक्ति भन्दा बाहिरको कुरा भएर हो। तर कोही कोही विरामी यस्ता हुन्छन्, जो एकपल्टको भेटमै डाक्टरको मनमा सधैंको लागि बसेका हुन्छन्। वर्षौं पहिलेका त्यस्ता विरामी आज पनि सम्झना आउने गर्छन्। नाम याद नहोला, कतीको त अनुहार पनि याद नहोला तर तिनिसँग विताएका केही पलहरु सधैंका लागि 'लङ टर्म मेमोरी'मा बसिसकेका हुन्छन्। यस्तै एक विरामीसँग केही हप्ता अघी भेट भएको थियो।

म ज्येष्ठ नागरिक ओपिडीमा बसिरहेको थिएँ। हाम्रो अस्पतालमा (प्युठान जिल्ला अस्पताल) सोमबार र बिहीवार कोठा नं ५ मा ज्येष्ठ नागरिक ओपिडी चल्नेगर्छ। ७०-७५ वर्षका एक बुढा बाजे आए, उनीसँग उनकी बहिनी पनि आएकी रहेछिन्। उनको समस्या सुनें, केही हप्ता पहिले उनको देब्रे हातको हड्डी भाँचिएको रहेछ, त्यसको उपचारको लागि हाडजोर्नी रोग विशेषज्ञकोमा गएर देखाउने र अप्रेसन गर्नुपर्ने हुनसक्ने भनेर सल्लाह दिईएको रहेछ। तर उनको आर्थिक समस्याका कारणले उनी जान नसकी घरै बसेका रहेछन्। गाँउमा यस्ता अनगिन्ती विरामीहरु हुन्छन् जो लाख हैन केही हजार रुपैया, सही सल्लाह दिने र साथ लाग्दिने बुझ्ने मान्छेको अभावमा रोग लिएर, रोग बढाएर घरमै बसिरहेका हुन्छन्। अब अहिले उनलाई त्यो भाँच्चिएर बांगो भएर जोडीएको हात दुख्न थालेको थियो। त्यसैले त्यसको केही उपचार हुन्छ कि भनेर जिल्ला अस्पताल आइपुगेका रहेछन्। उनको समस्याको खास उपचार अप्रेसन गरेर हाड जोड्नु नै थियो, तर त्यो सम्भव थिएन। मसँग उनको लागि अर्को विकल्प दुखाइको औषधी मात्र थियो, नि:शुल्कमा पाइने सिटामोल वा आइबुप्रोफेन। त्यही लेख्दिदैथिएँ, उनकी बहिनीले भनिन्,"मेरो पनि देखाउनुपर्ने थियो, डाक्साब, मसँग पर्ची त छैन, के गर्ने?"

विरामी हेरेर कागजको टुक्रामा औषधी लेखिदिए त भईहाल्छ निभनेर कतीले भन्लान्, तर म विरामी हेर्नु भनेको डाक्टर-विरामीको सम्बन्ध स्थापित भएको मान्छु, त्यसको जिम्मेवारी कागजको टुक्रामा एक दुई वटा औषधीको नाम धस्काउदैमा पूरा हुँदैन। विरामीको कुरा सुन्नुपर्‍यो, समस्या बुझ्नुपर्‍यो, जाँच्नुपर्‍यो, समाधानबारे छलफल गर्नुपर्‍यो, आवश्यक भए औषधी लेख्ने नभए सही सल्लाह मात्र दिनुपर्‍यो। मात्र औषधी लेख्ने डाक्टरको काम हैन, जुन धेरै विरामीले र कती डाक्टरले पनि सोच्छन्। त्यसको सहि रेकर्डिङ, रिपोर्टिङ पनि उत्तिकै महत्वपूर्ण हुन्छ, नभए काम मात्र गरिन्छ तर प्रतिवेदन, तथ्यान्कमा देखिदैन। त्यसैले मैले विना दर्ता, विना पूर्जा विरामी नहेर्ने भनेको छु वा भनौं पर्चा भएका विरामीलाई प्राथमिकता दिने गरेको छु।

अँ कहाँ थिएँ ?

ती आमैले "मलाई नि जाँचिदिनुस्, पर्चा चैं छैन है" भनिन्। मैले "पर्चा त चाहिन्छ आमा, यो त उहाँको पर्चा हो, यसमा लेख्न मिल्दैन, तपाईंको लागि बरु अर्को बनाम्ला" भनेर आफ्नो गोजीबाट पैसा निकालेर ओपिडीमा बसेको विधार्थी भाईलाई "उहाँको नामको टिकट काटेर ल्याउ त" भनेर उनलाई पनि सँगै जानुस् भनें। हाम्रो अस्पतालको बुकलेट टाइपको नयाँ पर्चा भर्खर शुरु भएकोले ज्येष्ठ नागरिक, अपांग जस्ता लक्षित वर्गलाई के गर्ने भन्ने निर्क्यौल भईसकेको थिएन (अचेल लक्षित वर्गलाई नि:शुल्क हुन्छ)। त्यसैले टिकटको १० रुप्पे लाग्छ कि भनी मैले पैसा दिएर पठाएको थिएँ। यो कुरा छेउमा बसीरहेका उनका दाजुले देखेका रहेछन्। खै उनलाई के लाग्यो कुन्नी, उनले आफ्नो पुरानो, मैलो, चेन बिग्रीएको झोला खोतल्न थाले। अनि झोलाभित्रबाट तीन वटा पोलेको मकै, एउटा काँक्रो झिकेर मेरो टेबलमा राखिदिएर "ल यो तपाईंलाई बाबु, खानुहोला" भनें। एकछिन त म के भनुँ के भनुँ भए, मन भारी भयो, अनि "पर्दैन बुवा तपाईंको खाजा होला, तपाईं आफ्नै लागि राख्नुस्" भनें। तर उनले मान्दै मानेनन्, हैन मेरो तर्फबाट राख्नुस् भन्दै जिद्दी गरे। मलाई राख्न करै लाग्यो, त्यस्तरी मायाले दिएको कुरा रुखो भएर लिन्नँ, फिर्ता लानुस् भन्न नि मन लागेन। एकछिनमा पर्ची लिएर दुवै आइपुगे, पर्चीको पैसा लागेनछ, उनलाई जाँचे र औषधी लेखिदिए।

त्यो एकछिनको भेटमा मैले खासै ठुलो केही गरेको थिईनँ। न उनको भाँच्चिएको हातको लागि केही जादु गरिदिएको थिएँ न उनको उपचारलाई भनी हजारौ दिएको थिएँ, मात्र मिठो बोलिदिएको थिएँ, उनका समस्या राम्ररी सुनिदिएको थिएँ, सरकारले उपलब्ध गराएका केही नि:शुल्क औषधी लेखिदिएको थिएँ, अनि थोरै मानवता देखाइ टिकटको १० रुप्पे तिर्न खोजेको थिएँ। त्यत्तिमै उनले मलाई उनको दिनभरीको खाजा उपहार दिएर गए। हाम्रो समाजमा त्यस्ता कैयौं लखपती, करोडपतीहरु छन्, जो सहयोगको नाममा सय, हजार दिन नि असाध्यै गार्हो मान्छन् (हुन त आफ्नो सम्पत्ती, आफ्नो अधिकार हो), त्यस्ता लखपती, करोडपती, धेरै हामी भन्दा उनी कैयौं गुणा धनी रहेछन्, आफ्नो भागको खानै काटेर उनले उपहार दिएर गए। त्यती सानो सहयोगी भावना, मानवता, जुन सबैले देखाउनुपर्ने नै हो, देखाए वापत उनले आफ्नो झोला भरीको खाना दिए। कि उनले अचेल यत्तिको मानवता नि भेटाउन छोडेका हुन्? यतिको सहयोगी भावना नि पाउन छोडेका हुन्? कतै उनले हामीमा मर्दै गएको मानवताको नमिठो ईतिहास पो भोग्दै आएका थिए कि?


जे होस्, उनको अमूल्य उपहार र उनलाई म कहिल्यै बिर्सने छैन।
बाँकी पढ्नुहोस् >>

Sunday, October 2, 2016

म भित्रको डाक्टर मरेको दिन


   त्यो दिन ओपिडी सकेर ट्रेनिङमा बसेर ढिलो गरी क्वार्टरमा फर्केर फेसबुक हेर्दा एउटा साथीले भिडियोमा ट्याग गर्नुभएको रहेछ। जब त्यो भिडियो हेरें, मेरो मुटु चिसो भयो, ओठ सुक्यो, हातखुट्टा काम्न थालें। त्यहाँ मेरो साथी र सँगै काम गर्ने अन्य स्वास्थ्यकर्मीहरुलाई भिडको अघी लहरै उभ्याइएर हात जोड्न लगाएर हाम्रो लापरवाहीको कारणले तपाईंको बच्चा मर्यो, माफ गर्दिनुहोला भनेर भन्न लगाइएको थियो। अझ त्यो भिडबाट ती निरिह साथीहरुमाथि विभिन्न गालीहरु पनि थपिएका थिए। झन अचम्मको दृश्य त त्यहाँ प्रहरीको पनि उपस्थिती देखिन्थ्यो। आजको गणतान्त्रिक नेपालमा कानुनको संरक्षक भनेर चिनिने प्रहरी र प्रशासनकै उपस्थितीमा यस्तो अमानवीय काम हुनु भनेको देशमा कानुन भन्दा भिडतन्त्र, गुण्डातन्त्र र दण्डहिनता हावी छ भन्ने तितो प्रमाण हो। 
   त्यो हेर्दै गर्दा मैले त्यहाँ ती स्वास्थ्यकर्मी साथीहरु मात्र उभिएको नभै म आँफैं त्यो भिडको अगाडि उभिएको पाएँ, मेरो आत्मसम्मान, मेरो नैतिकता, विरामीप्रतीको मेरो लगन, सेवाभाव, मेरो पेशाको मान सबै त्यो भिडको अगाडि हात जोडेर नमस्कार गरी झुकेर माफ माग्न विवश बनाइएको पाएँ। क्षणभरमा मेरो मनमा प्रश्नहरुका हजारौं ज्वारभाटाहरु आएँ, हामी डाक्टर लगायत स्वास्थ्यकर्मीहरुले विरामीको उपचारमा गरेको लगानीको के यही प्रतिफल हो? दिनरात नभनी विरामीहरुको पीडा कम गर्न लागिपरेका हामी स्वास्थ्यकर्मीहरुले पाएको पुरस्कार यही हो त? यदी आफ्नै सुरक्षा र सम्मान छैन भने हामी केका लागि विरामी हेरेर बस्ने? मात्र पैसाका लागि? के यो समाजले हामी पैसामा बिकेको र पैसाका लागि कसैको ज्यान पनि लिनसक्ने देखेको हो त? समाजले हामी स्वास्थ्यकर्मीहरुलाई के सोच्छन्- ख्यालख्यालमै ज्यान लिनसक्ने ज्यानमारा? उनीहरुको नजरको स्तर गिरेको हो कि हाम्रो सेवाको स्तर? कि यो विरामी र स्वास्थ्यकर्मीबीचको सम्बन्धमा भाँजो हालेर फाईदा लुट्न चाहने व्यापारीहरुको चलखेल हो? कतै यो सम्पूर्ण स्वास्थ्य पेशालाई नै पैसामा किन्न खोज्नेहरुले आपसी मिलोमतोमा गरेको षड्यन्त्र त हैन? प्रश्न हजारौं उठे तर उत्तर कुनैको पनि थिएन।

   त्यसपछी मैले फेसबुकमा लेखें, "म भित्रको डाक्टर मर्यो। अब नेपाल बस्न नसकिएला जस्तो छ।"

भएको के थियो?
   धेरैजसो मेनलाइन मिडियामा विरामी र विरामीका आफन्तका मात्र कुरा आउछन्। बस दूर्घटना हुँदा चालक दोषी, प्लेन खस्दा पायलट दोषी देखाइने समाजमा जेसुकै कारणले विरामीको मृत्‍यु भए पनि डाक्टरकै दोष देख्ने चलन चलेको छ। विरामीको मृत्‍युपछीको विक्षिप्त र भड्केको मनहरुको आगोमा सबैले आ-आफ्ना स्वार्थका घ्यु थप्ने गर्छन्। डाक्टरको कथा कसैलाई मतलब हुँदैन, स्वास्थ्यकर्मीले कती दु:ख गरेर उसलाई बचाउन प्रयास गरेको थियो कसैले सुन्ने चेष्टा गर्दैनन्। 
  
  घटनाका पीडित डाक्टर, त्यहाँ काम गर्ने स्वास्थ्यकर्मीहरुसँगको कुराकानीको आधारमा मैले बुझेको त्यहाँको घटनाक्रम यहाँ लेखेको छु।

  साँढे दुई वर्षका बालकलाई झाडापखाला लागेकोले नजिकको उक्त अस्पताल ल्याइएको थियो। राती ल्याइएको बच्चाको अवस्था ठिकै भएकोले अभिभावकले त्यतिबेला घर लाने र भोली राउन्डमा ल्याउने भनेर घर लगे। भोलिपल्ट राउन्डको बेला हेरियो, केही जाँचहरु गर्न लगाइयो। बिहानको डाक्टरको राउन्डसम्म पनि बच्चा ठिकै थियो। तर त्यसपछी चिया बिस्कुट खुवाउदा बच्चा एक्कासी सास फेर्न गार्हो भएर नीलो भएर गयो। तुरुन्त इमर्जेन्सीका पारामेडिक्सले आफूले सक्दो प्रयास गरे, डाक्टरलाई खबर गरे, डाक्टरले पनि आएर सीपीआर (बाहिरबाट सास दिने र छाती थिचेर मुटु चलाऊने मेडिकल तरिका) गरे। तर सबै सक्दो प्रयास गरे पनि बच्चालाई बचाउन सकेनन्। बच्चाका एक आफन्तले उपचाररत डाक्टरहरुकै अगाडि "डाक्टरहरुको नेग्लिजेन्सले हाम्रो बच्चा मर्यो, तपाईंहरु आउनुस्" भनेर अरु आफन्तलाई बोलाए। त्यसपछी बच्चाका आफन्त र अन्य स्थानीयहरुको त्यहाँ भिड लाग्यो। सबै जना रुने कराउने गर्न थालिसकेका थिए, भिड नियन्त्रण भन्दा बाहिर गैसकेको थियो, तोडफोड हुने बातावरण बनिसकेको थियो।

   त्यसपछी त्यहाँका हेल्थ असिस्टेन्टलाई हातपात गरियो, डाक्टरलाई हत्यारा भनेर कुट्ने स्थिती आईसकेको थियो। पुलिस आयो, सुरक्षा दिन खोज्यो तर भिडको अघी केही लागेन र डाक्टरहरुलाई तपाईंहरु यहाँबाट भाग्नुस्भन्यो। सुरक्षाको लागि एक डाक्टर पुलिस थानामा रात बिताउन वाध्य भए, अरु लुकेर अन्त कतै गए। भोलीपल्ट भिड अस्पताल जलाउने भनेर नै आइपुगेको थियो, “डाक्टरले छाती थिचेर जताततै सूई रोपेर बच्चा मार्यो भनेर डाक्टर काटेर त्यही अस्पातल अगाडि गाड्ने धम्की भिडले दिन थाल्यो, स्थिती साम्य बनाउन पुलिस र सिडिओको उपस्थितीमै माफि माग्नुपर्ने कुरा उठ्यो, प्रहरीले नै माफिनामा लेख्यो, कोठाभित्र पढ्ने भन्दा भिडले मानेन, ज्यान बचाउनका लागि जे पनि गर्नुपर्ने अवस्था आइसकेको थियो, भिडले प्रहरी र प्रशासनकै अगाडि डाक्टरहरुलाई बाहिर लाग्यो र भिडियोमा देखिए जसरी सार्वजनिकरुपमा गालीगलौज गर्दै, अपमान गर्दै माफि माग्न लगाए। आफ्नो केही गल्ती नभए पनि, त्यो ज्यान बचाउन आफूले सक्दो प्रयास गरेको भए पनि भिडको अगाडि उनीहरुको केही चलेन र कानुनी राज्यमा प्रहरी र प्रशासनकै उपस्थितीमा आफ्नो आत्मसम्मानलाई घुँडा टेकाएर उनीहरु सबैको अगाडि माफि माग्न वाध्य भए। सबै उपस्थित भिडको क्रोध, लान्छना, मानसिक हिंसा चुपचाप सहन वाध्य भए। आखिर ती डाक्टर र स्वास्थ्यकर्मीको दोष के थियो त? के तिनको केही गल्ती थियो? लापरवाही थियो? हरेक ज्यानलाई बचाउन सक्ने जादुइ शक्ति बोकेर त कोइ पनि डाक्टर आएका हुँदैनन्। त्यसो भए उनीहरुका बच्चा बचाउन गरेको अथक प्रयास देख्दादेख्दै किन उनीहरु त्यसरी डाक्टरहरु माथि नै खनिए त? नबुझेर मात्रै हो भनौं भने पनि नर्सिङ पढेकी बच्चाकी एक आफन्त यो सबै घटना हुँदा सँगै थिईन्, उनले किन अवस्था बिग्रन नदिन केही बोलिनन्?

   घटना असोज ८ गते भएको थियो। तर बाहिर कसैलाई थाहा थिएन। भोलिपल्ट आईतबार र सोमबार पनि उक्त अस्पताल खुल्यो, त्यहाँका डाक्टर लगायत स्वास्थ्यकर्मीहरुले काम गरे। त्यहाँको अस्पताल व्यवस्थापनले घटनाको स्थानीय समिती बनेर छानवीन भईरहेको र यो दूर्व्यवहारको घटनाबारे माथिल्लोस्तरमा कुरा उठाउने आश्वासन दिएर डाक्टरहरुलाई काममा लगाएको थियो। तर उक्त घटनाको कसैले भिडियो बनाएर फेसबुकमा पोस्ट गरेका रहेछन् र जनमानसमा "मान्छे मारेर माफि माग्दै छुटकारा पाईन्छ?" भनेर डाक्टरहरुलाई तल्लो स्तरको गाली गर्दै र मेडिकल सोसाइटीमा "हाम्रो आत्मसम्मान र सुरक्षामा हमला भयो, अब चुप लाग्नुहुन्न" भन्दै त्यो भिडियो भाईरल भयो।

   सरसर्ती हेर्दा बच्चाको मृत्‍यु खानेकुरा सर्केर भएको जस्तो देखिन्छ। नत्र बिहान १० बजेको राउन्डसम्म ठीक भएको बच्चा केही खाएपछी अचानक त्यसरी नीलो भएर मर्ने हुँदैन। बच्चालाई नजाचेको, नहेरेको पनि हैन रहेछ। अकस्मात सिकिस्त भएको बच्चालाई बचाउन डाक्टर लगायत स्वास्थ्यकर्मीहरुले उपलब्ध साधनस्रोतले हरसम्भव प्रयास पनि गरेका रहेछन्। मृत्‍युको सहि कारण त पोस्टमार्टम गरेको भए आउथ्यो होला, तर हाम्रो समाजमा सहि कारण पत्ता लगाउन अनुसन्धान गर्ने भन्दा नि भिड र मिडिया लगाएर आफ्नै फैसला सुनाउने चलन व्याप्त छ।

आखिर यो घटना किन भएको रहेछ त?
   चरिकोटको त्यो अस्पताल केही समय अघी नेपाल सरकारसँग सम्झौता गरेर पोसिबल हेल्थ (न्याय हेल्थ) नामक आइएनजीओले चलाइरहेको थियो। पोसिबल हेल्थ विदेशी दाताहरुबाट रकम संकलन गरी नेपालका दुर्गम स्थलहरुमा रहेको स्वास्थ्यसंस्थालाई भौतिक र जनशक्तिमा सुधार गरी जनतालाई नि:शुल्क स्वास्थ्य सेवा दिन संचालित संस्था हो। यसको राम्रो र सफल उदाहरण सुदुर पश्चिममा अछामको बयलपाटामा देख्न सकिन्छ। केही वर्षदेखी उक्त संस्थाद्वारा संचालित त्यहाँको अस्पतालले अहिले पूरै काचुँली फेरेको छ, त्यो ठाउँमा बयलपाटा एउटा रिफरल अस्पताल जस्तो बनिसकेको छ। त्यही तरिकाले सेवा विस्तार गर्ने उद्देश्यले पोसिबल हेल्थले दोलखाको चरिकोटमा पनि हात हालेको थियो र अहिलेसम्ममा ३०,००० भन्दा बढी विरामीलाई नि:शुल्क सेवा दिईसकेको थियो, सयौं अप्रेसनहरु भईसकेको थियो। तर यो घटनापछी सो अस्पताल र संस्था विवादमा तानियो।

   चरिकोट सानो बजार क्षेत्र हो। त्यहाँ कम्तीमा ३ वटा अलि चलेका प्राइभेट मेडिकलहरु संचालनमा थिए र राम्रै चलिरहेका थिए। तर गत वर्ष देखी पोसिबल हेल्थले त्यहाँको प्राथमिक स्वास्थ्य चौकीलाई लिएर नि:शुल्क स्वास्थ्य सेवा दिदैं अस्पतालमा अपग्रेड गरी आफ्नो सेवा विस्तार गर्न थाल्यो। जनताले त सेवा पाउन थाले तर त्यहाँका व्यापारीहरुको व्यापार चौपट भयो। स्वयं पोसिबल हेल्थका एक डाक्टर पनि त्यहीको एक प्राइभेट अस्पतालमा राम्रो काम गरी पछी उता सरेका थिए। अनि उनीहरु उक्त संस्थालाई सकेसम्म त्यहाँबाट धपाउने र सबक सिकाउने मौका हेर्दै थिए। नि:शुल्क स्वास्थ्य सेवा अछामको बयलपाटा जस्तो विकट ठाउँमा फाप्यो तर त्यसले चरिकोट जस्तो प्राइभेट अस्पतालहरु भएको ठाउँमा सोचे अनुसार साथ पाउन सकेन।

   अस्पतालको व्यवस्थापन पोसिबल हेल्थले लिएपछी अर्को समस्या पनि देखिन थाल्यो। त्यहाँ आइएनजिओको तलब खाने र सरकारी तलब खाने दुवै थरीका कर्मचारी र स्वास्थ्यकर्मीहरु थिए। यसले उनीहरुमा स्पष्ट फाटो ल्याइदियो। थोरै तलबमा सरकारी कर्मचारी र डाक्टरहरुले पनि काम गर्न मानेनन्। यो विवाद केही समय अघी नै उठेको थियो, तर ठोस समाधान ननिस्की सामसुम मात्रै भएको थियो। अस्पतालको व्यवस्थापनको जिम्मा पूर्णरुपमा एउटा आइएनजिओलाई दिएकोमा त्यो समूह रुष्ठ थियो। आइएनजिओ सबै कर्मचारीबाट काममा एकै खाले जोस र लगन चाहन्थ्यो, जुन सम्भव नै थिएन। उसले त्यसमा कडाइ गर्न थाल्यो, त्यसले त्यो समूहलाई झन चिढाएको थियो।

   घटना प्रायोजितरुपमा गरेको भन्दा नि बच्चाको मृत्‍यु भईसकेपछी स्थितीलाई सामान्य नबनाएर झन बढावा दिदै जाँदा अन्त्यमा नियन्त्रण बाहिर गएर भएको जस्तो देखिन्छ। त्यसमा केही स्थानीयहरु र त्यहीका प्राइभेट अस्पतालहरुको केही न केही स्वार्थ अवश्य जोडीएको छ। अझ स्थानीय मिडियाले घटनालाई गलतरुपमा रिपोर्टिङ गरेर आगोमा घ्यू थप्ने काम गरेको थियो।

मिडियाको गलत रिपोर्टिङ

 देशको एउटा ठुलो दैनिक पत्रिका अन्नपूर्ण पोस्टमा बच्चाको मृत्‍यु भएको अस्पतालमा बियरको बोतल भेटियो भनेर समाचार छापेर घटनालाई इमोसनल बनाउने र डाक्टरहरुको विरुद्धमा जनमत बनाउने प्रोपगण्डा गरेको थियो। घटना भएको बेला आएको अनियन्त्रित भिडले डाक्टरका क्वार्टरहरुमा ढोका फोरेर भित्र छिरी सामान चोरी गर्नुका साथै त्यहाँ भएको बियरको बोतल र स्टेथलाई सँगै राखेर फोटो खिची मिडियामा दिएर नौटन्की रचेको थियो। हो, ड्युटीको बेलामा मादक पदार्थ सेवन कुनै पनि हालतमा ठीक हैन तर डाक्टरको निजी क्वार्टरमा गएर त्यहाँ भएको बियरका बोतलको फोटो खिचेर "ल हेर यस्ता पनि डाक्टर हुन्छन्, अस्पतालमै पार्टी गर्छन्" भनेर कसैलाई बदनाम गराउन खोज्नु भनेको तल्लो स्तरको सोच र षड्यन्त्र हो। डाक्टर ड्युटीको बेलामा डाक्टर हो, विरामी हेर्दा डाक्टर हो, २४सैं घण्टा, हरसमय उ डाक्टरी गरेर बसेको हुँदैन, उसको निजी जिन्दगी पनि हुन्छ र कसैलाई पनि उसको निजी जिन्दगी मिडियामा उछालेर बद्नाम गराउने अधिकार हुँदैन।

   
 त्यस्तै नेपालको नं १ दैनिक भनेर आफूलाई भन्ने कान्तिपुरले घटनापछीको अवस्थाबारे एकतर्फी समाचार लेखेको थियो। सहायक सिडिओले माफि मगाउदा प्रहरी र प्रशासनको प्रतिनिधि उपस्थित नभएको दावी गरे र प्रहरी नायव उपरिक्षकले माफि मगाइदा प्रहरी संलग्नता छैन भने भनेर लेखिएको छ। जबकी भिडियोमा प्रष्टरुपमा फुली भएको नीलो ड्रेस लगाएका र वाकिटाकी भिरेका मान्छेहरु देखिन्छन्। के उनीहरु प्रहरी हैनन् सिडिओ सर? कि प्रहरीको ड्रेसमा अरु कोइ नै थिए त्यहाँ? कमजोरी भएको स्वीकार्नुस् तर यसरी मध्य दिनको उज्यालोमा झुट नबोलिदिनुस्, हामीलाई लाज लाग्छ। अनि त्यो भिडियो हेरेपछी पत्रकार महोदयले 'सिडिओ र प्रहरीले अस्विकार गरेपनी भिडियोमा प्रहरीको उपस्थिती प्रष्ट देखिन्छ' भनेर किन लेख्न सकेनन्? सत्य लेख्नलाई उनलाई आखिर के ले रोक्यो? यस्ता एकतर्फी समाचारले जनताको स्वास्थ्य क्षेत्रप्रतीको सोचाइमा कतिको नकारात्मक असर पर्छ भनेर थोरै पनि नसोच्ने कस्ता सम्पादक हुन्, नेपालका नं १ दैनिकका।

   स्वास्थ्यखबर पत्रिकाले मात्र घटनाको सहि समाचार लेखिरह्यो। यसको लागि उसलाई धन्यवाद।

आखिर किन हुन्छ यस्ता घटना?
   स्वास्थ्यकर्मीहरु माथिको यत्तिको तुच्छ र अमानवीय व्यवहार पहिलो भए पनि ड्युटीको बेला हामीहरु माथिको मानसिक र शारिरिक हिंसा भने नौलो हैन। हामी स्वास्थ्यकर्मीहरु भगवान हैनौं, सबैलाई सधैं निको बनाउन सक्दैनौं। तैपनी हरेक पटक विरामी निको नहुँदा, मर्दा डाक्टर वा नर्सको लापरवाहीले मर्यो भनेर दोष लगाइन्छ। स्वास्थ्यक्षेत्र र स्वास्थ्य शिक्षामा अत्यधिक र अनियन्त्रितरुपमा बढेको व्यापारीकरणले यसको सेवाको स्तर विगत केही वर्षदेखी खस्कदै आएको थियो, देशमा दण्डहिनता, अराजकता र भिडतन्त्र त बढेकै थियो, यसको मारमा भने विरामीसँग प्रतक्ष्य सम्बन्धमा रहने, विरामीको सेवामा रहने डाक्टर, नर्स, पारामेडिक्सहरु पर्ने थाले। मापदण्ड नपुगेका कैयौं अस्पतालहरुमा चाहेर पनि सोचेको जस्तो सेवा दिन सकिदैन। यो कुरा न अस्पताल व्यवस्थापनले बुझ्यो न सेवा लिन आउने जनताले। अस्पतालमा कुनै विरामी मर्ने बित्तिकै आफन्तहरुले डाक्टर, नर्सको दोष देख्न थाले, उद्दण्ड भिडले आफन्तका आँसु र विक्षिप्त मनको आक्रोश मात्रै देख्ने र तुरुन्तै हिंसात्मक हुने बानी बनाउन थाल्यो, कति त्यस्ता प्रायोजित भिडले त लासमै व्यापार गर्ने र क्षतीपूर्तीमा पाएको रकममा भागबण्डा लगाउने गर्न थाल्यो, राष्ट्रको चौथो अंग भनेर आफूलाई चिनाउने मिडियाले आफ्नो टिआरपी र समाचारको व्यापारको लागि कुरै नबुझी आगोमा घ्यु थप्न थाल्यो, अस्पताल व्यवस्थापनले घटनाको छानवीन गरेर जरासम्म पुगी सत्यतथ्य बुझेर अगाडि बढ्नु भन्दा गल्ती भए पनि नभए पनि केही लाख दिएर घटना सल्टाउन सजिलो मान्न थाल्यो। सबैका यी गलत कदमहरु बीच डाक्टर र नर्सहरु एकपछी अर्को घटनाहरुमा पिल्सिदै गए, गल्ती भएपनी नभएपनी विना प्रमाण दोषी बन्दै गए, मानसिक र कति पटक शारीरिक हिंसाको पनि शिकार बन्दै गए।

   यस्तो घटना चरिकोटमा मात्र भएको हैन, शायद देशभरका हरेक डाक्टर र नर्सहरुले भोगेका व्यथा हुन्। यस्ता धेरै घटनाहरु अस्पताल व्यवस्थापन र विरामीका आफन्तहरुले केही लाखको सम्झौता गरेर ढाकछोप गर्छन्। न कुनै छानवीन हुन्छ, न सत्यतथ्य पत्ता लाग्छ, न कसैको गल्ती देखिन्छ, न त भविष्यमा यस्तो नहोस् भनेर कुनै ठोस् कदम नै चालिन्छ। प्राय: प्राइभेट अस्पतालहरुले र सरकारी अस्पतालहरुले पनि यस्तो मृत्‍युको घटना र स्वास्थ्यकर्मी माथि लगाईएको दोषलाई आफ्ना स्वास्थ्यकर्मीहरुको लापरवाही भए पनि नभएपनी १०-२० लाख दिएर चुप लगाइदिन्छन्, आफ्नो अस्पतालको बेकारमा बद्नाम हुने डरले। अनि भित्रभित्रै पिसिन्छन् स्वास्थ्यकर्मीहरु र उनीहरुलाई भविष्यमा स्वच्छन्द भएर काम गर्न एउटा डरले रोकिराख्छ। केही त यस्ता सार्वजनिक बेइज्जतीलाई खप्न सक्दैनन् र आत्महत्या पनि गर्न पुग्छन्। केही समयअघी एक डाक्टरले यस्तै केस परेर आत्महत्या गरेका थिए। यस्ता कुरा न अस्पताल प्रशासनका लागि इश्यु बन्छ, न स्वास्थ्य क्षेत्रसँग सम्बन्धित मन्त्रालय, संस्था र पदाधिकारीहरुका लागि, जनताको लागि त झन सरोकार हुने कुरै भएन।
विरामीको मृत्‍युमा डाक्टर र स्वाथ्यकर्मीलाई लापरवाही गरेर मार्यो, क्षतिपूर्ति चाहियो भनेर माग्ने घटना धेरै हुने भए पनि यो घटना भने डाक्टर र स्वास्थ्यकर्मीहरुको विरुद्द मिडिया, समाज, राजनीति हरेक क्षेत्रका केहीले आफ्नो स्वार्थका लागि गर्दै आएको प्रहारको सबैभन्दा तल्लो र भयानक कदम हो। हेर्दै जानुस्, यो घटनाको सहि र कानुनी व्यवस्थापन नभए अबदेखी अस्पतालमा विरामी मर्दा डाक्टर र नर्सलाई दोष लगाएर क्षतिपूर्ती माग्नुका साथै स्वास्थ्यकर्मीहरुले सार्वजनिकरुपमा माफि माग्नुपर्ने अर्को माग पनि थपिनेछ।

अबको बाटो के हुनुपर्छ?
   अहिले डाक्टर लगायत सम्पूर्ण स्वास्थ्यकर्मीहरुको कार्यस्थलमा ड्युटीको बेला सुरक्षालाई मुद्दा बनाएर नेपाल मेडिकल एसोसिएसन लगायत धेरै युवा चिकित्सकहरुले पनि आवाज उठाएर आन्दोलन चर्काउदैछन्। अहिले चरिकोटको उक्त अस्पतालबाट दुई डाक्टर र एक नर्सलाई उद्दार गरी काठमाण्डौ ल्याइसकिएको छ। स्वास्थ्यका सचिव, मन्त्री लगायत सबै सम्बन्धित निकायहरुमा यो कुरा पुर्याइसकिएको छ। घटना हुँदाका सहायक सिडिओ र प्रहरी प्रमुख डिएसपीलाई केन्द्रमा बोलाइएको छ। छानवीन गरेर ३ दिनमा रिपोर्ट बुझाउने भनेर एउटा उच्च स्तरिय समिती बनाइ काम पनि शुरु गरिसकेको छ। देशका अधिकांश डाक्टरहरुले यो समस्या धेरै समयदेखी भोगीरहेकोले यसको स्पष्ट र कानुनी समाधानको लागि स्वास्थ्यकर्मीमाथि हातपात वा गालीगलौज गर्नेलाई धरौटीमा पनि छुट्न नसक्ने गरी जेल राख्ने (Jail without bail) कानुन ल्याउने माग सहित आन्दोलन गरिरहेका छ्न्। ड्युटीमा रहेको स्वास्थ्यकर्मीहरुको सुरक्षाको लागि कडा भन्दा कडा कानुन बनाउन के ले रोकेको छ? यो कुनै ठुलो र गर्नै नहुने माग त हैन। बरु यस्ता घटनाहरु भएपछी स्वास्थ्य मन्त्रालय आँफैंले यो प्रकृयालाई जोडका साथ अगाडि बढाउनु पर्थ्यो।

   पछील्लो घटनाक्रममा मन्त्रालयका प्रतिनिधी, सिडिओ, चरिकोट अस्पतालका मेडिकल डाइरेक्टर, स्थानीय नेताहरुले 'कानुन सम्मत काम कारवाही गर्ने र स्थानीय प्रशासनले सुरक्षा प्रदान गर्ने' भन्ने गोलमटोल भाषामा सहमति गरेर अस्पतालको इमर्जेन्सी सेवा खोलेछन्। खासमा त्यो अस्पताल बन्द गरिएको नै हैन। स्वास्थ्यकर्मीहरु माथि भएको त्यो स्तरको मानसिक र शारीरिक हिंसाले उनीहरु काम गर्न र बस्न पनि नसक्ने भएपछी एनएमएले उद्दार गरेर काठमाण्डौ ल्याएको र अरुले पनि काम गर्न नसकेर बन्द भएको हो। कुनै पनि काम गर्नको लागि सबैभन्दा चाहिने कुरा भनेको मन हो, र त्यो मन सुरक्षा र आत्मसम्मानले मात्र आउछ न कि तलब र सुविधाको लोभले। कुनै पनि डाक्टरले आफू सुरक्षित भएको महसुस गर्दैन भने उसले अरु विरामीको कसरी उपचार गर्न सक्छ? उनीहरुलाई त्यसरी सार्वजनिकरुपमा शारीरिक र मानसिक हिंसा गर्ने व्यक्तिहरु खुला र सानसँग हिडिरहेको अवस्थामा कुन मुख लिएर फेरी फर्केर त्यही ठाउँमा काम गर्न जाने? डाक्टर पनि पहिले मान्छे हो, उसको आत्मसम्मान हुन्छ अनि बल्ल उ डाक्टर हो र उसको प्रोफेसनल इथिक्स आउछ। आफ्नो ज्यान र आत्मसम्मानमै चोट लागेपछी के का लागि र कसका लागि काम गर्ने?

हामीले चाहेका कुराहरु के के हुन्?
  • चरिकोट घटनामा ड्युटीका स्वास्थ्यकर्मीमाथि हातपात र गालीगलौज गर्ने सबैलाई कानुनी कार्वाही गर्ने, दुनियाँले प्रहरी र प्रशासनको उपस्थिती भएको देखेकोमा पनि "हामीलाई थाहै छैन" भनेर प्रष्ट झुट बोल्ने र शान्ति सुरक्षा कायम गर्न नसक्ने सहायक सिडिओ र डिएसपीलाई सरुवा भन्दा कडा (सस्पेन्ड वा अरु कुनै) कार्वाही गर्ने
  • भविष्यमा अस्पतालमा हुने मृत्‍युमा यदी प्रश्न उठेमा कानुनी र वैज्ञानिक तरिकाले छानवीन गरी दोष वा लापरवाही देखिएमा स्वास्थ्यकर्मी र अस्पताललाई समेत कार्वाही गर्ने कानुन ल्याउने,
  • केही लाख दिएर र लिएर घटना लुकाउन खोज्ने र कानुनभन्दा बाहिर गएर गलत नजिर बसाउनेहरुलाई पनि कार्वाहीको दायरामा ल्याउने,
  • ड्युटीमा रहेको स्वास्थ्यकर्मीहरुलाई कुनै पनि बहानामा शारीरिक र मानसिकरुपमा हिंसा गर्ने व्यक्ति वा भिडलाई 'जेल विथ वाउट बेल' गरी कडा सजाय दिने कानुन बनाउने,
  • स्वास्थ्य जस्तो सम्वेदनशील विषयमा रिपोर्टिङ गर्दा वैज्ञानिक तरिकाले सहि र सन्तुलितरुपमा समाचार लेख्न मिडियालाई तालिम दिने, जथाभावी लेखेको पाइएमा कार्वाही गर्ने,
  • यस्ता घटनाहरुबाट पीडित स्वास्थ्यकर्मीहरुको मानसिक स्वास्थ्य अवस्थालाई सहि राख्न उनीहरुलाई काउन्सेलिङको व्यवस्था गर्ने

वास्तवमा भन्नुपर्दा यी हामी स्वास्थ्यकर्मीहरुले मागीरहनुपर्ने कुरा नै हैनन्, झक्झकाउनुपर्ने, दवाव दिनुपर्ने, आन्दोलन गर्नुपर्ने कुरा नै हैनन्, यी त एउटा कानुनी राज्यमा सुरक्षित र स्वतन्त्ररुपमा काम गर्नको लागि सरकारले बनाइदिनुपर्ने वातावरण हो। 

मलाई अचम्म लागेको कुरा-
   डाक्टर लगायतका स्वास्थ्यकर्मीहरुलाई ज्यानकै धम्की दिएर निरिह बनाई त्यसरी भिडको अगाडि उभ्याइएर माफि माग्न लगाइदा पनि समाजका विद्वान, सेलेब्रिटी, बुजुर्ग भनाउदाहरु किन चुप छन्? यो सबै समाजको समस्या किन बन्न सकेको छैन? किन डाक्टर र नर्सहरु मात्रै हाम्रो सुरक्षा भएन, हामीलाई काम गर्ने वातावरण भएन भनेर उफ्रीरहेका हुन् त? गल्ती नै भएको भए पनि के त्यसरी उद्वेलित भिडको अगाडि उभ्याइएर माफि मगाइनु एउटा कानुनी राज्यमा ठीक हो भनेर सोचेका हुन् सबै जनताले? सबैको मौनताले त शायद त्यस्तै भन्छ। उनीहरुको गल्ती थियो होला, स्विकारे, कुन ठुलो कुरा भो रभनेर सबै चुप छन् शायद। तर जब समाज दण्डहिनता र भिडतन्त्रको यस्तो नांगो नाच देखेर नि केही बोल्दैन, मौन भएर बस्छ तब त्यो समाजलाई ओरालो लाग्नबाट कसैले बचाउन सक्दैन।

अन्त्यमा,
   त्यो भिडियो हेरिसकेपछी स्वास्थ्यखबर पत्रिकाका सम्पादक अनिलजीले मेसेज गरेर भन्नुभो- "यसबारे केही लेख्नुस् डाक्साब"। मैले भनें, "मेरो मन शान्त छैन, अहिले लेख्न सक्दिनँ होला, मन अलि स्थिर भएपछी अवश्य लेख्नेछु।"    

   म भित्र डाक्टर मरेको जस्तो लागिरहेको थियो। विरामी हेर्न सक्दिनँ जस्तो लाग्दै थियो तर मेडिकल प्रोफेसन त्यति सजिलो कहाँ छ र? पीडामा आएका विरामीहरुलाई ड्युटीमा भएपछी "नाई हेर्दिनँ" भन्न नसकिने रहेछ। त्यही विक्षिप्त मन लिएर त्यो रात २ बजेसम्म सिजेरियन अप्रेसन गरियो। राम्रो नतिजा आए त सबै खुसी हुने भईहाले, त्यसरी काम गरेर पनि केही गरी सोच्या जस्तो नतिजा नआएको भए, विरामीको ज्यान तलमाथि भएको भए चैं डाक्टरको दोष, डाक्टरको लापरवाही भनेर माफि माग्नुपर्थ्यो होला।


  आखिरमा लाग्यो म भित्रको डाक्टर मरेको हैन रहेछ, घाइते भएको रहेछ, अझै पनि घाइते नै छ, हामी धेरै डाक्टर र स्वास्थ्यकर्मीहरुको मन घाइते भएको छ, आत्मसम्मानले घुँडा टेकेको छ। यसले बेलैमा सहि कानुनी उपचार नपाए यो मर्न पनि सक्छ। हामी आफ्नो तर्फबाट त लड्नेनैछौं, समाज र सरकारले पनि साथ दिनेछ भन्ने आश गरेका छौं।
बाँकी पढ्नुहोस् >>