Sunday, November 26, 2017

स्वागत छ दुर्गमका जिल्ला अस्पतालहरुमा

 
  • के तपाईंले हातमा एक पिन्ट रगत विना पनि सिजेरियन अप्रेशन गर्नुपर्ने अवस्था आएको देख्नुभएको छ? 

  • के तपाईंले एउटा सानो पाइप (इन्डोट्राकियल ट्युब- मुखबाट छिराएर श्वासनलीसम्म पुर्याएर कृत्रिम सास दिने पाइप) अस्पतालमा र पूरा बजारभरी नपाएर विरामीले छट्पटिदै प्राण त्याग्नुपरेको देख्नुभएको छ?


  • के तपाईंले अप्रेशन गर्दागर्दै बगीरहेको रगत रोक्न खोज्दा झ्याप्प लाइन गएर मोबाइलको लाइटको भरमा बाँकी काम गर्नुपर्ने अस्पताल देख्नुभएको छ?


  • के तपाईंले नचाही नचाही पनि डिकेए (डायबेटिक केटोएसिडोसिस), सेप्टिक शक जस्ता डरलाग्दा रोगसँग जिल्ला अस्पतालमा जुध्नुपरेको छ र तीसँग लड्ने गोली (अत्यावश्यक औषधी) सकिएर आफ्नै आँखा अघी आफ्नो विरामीले प्राण त्यागेको देख्नुपरेको छ?



  • के तपाईंले विरामीको लागि औषधी किन्न भन्दा गोजीको थोरै पैसाले पेट भर्नु कि औषधी किन्नु भनेर दोधारमा परेको विरामीको आफन्त देख्नुभएको छ?


  • के तपाईंले इमर्जेन्सी सिजेरियन गर्नुपर्ने अवस्था आउँदा अप्रेशन कक्षमा बेहोस बनाउने औषधी नै नभएको वा अप्रेशन गर्दा लाउने पकाएका कपडा गाउन नै सकिएको सुन्नुभएको छ?

स्वागत छ दुर्गम नेपालका जिल्ला अस्पतालहरुमा।

नेपालका दुर्गमका अधिकांश जिल्ला अस्पतालहरुको हालत चित्रमा भएको ट्र्याक्टरको जस्तै दयनीय छ। यो ट्र्याक्टरलाई न धकेलेर चलाऊन सकिन्छ न त तानेर नै। त्यसको लागि पहिले त्यसको बिग्रेको चक्का बनाउनुपर्‍यो, धेरै वर्ष नचलेर इन्जिन बिग्रेको छ भने त्यो पनि बनाउनुपर्‍यो, बाटोको हालत हेर्नुस्, त्यो पनि बनाउनुपर्‍यो (नभए चल्दै गरेको ट्र्याक्टर फेरी फस्छ), अनी बल्ल ड्राइभरले गाडीमा आफ्नो सीप प्रयोग गरेर अघी बढाउन सक्छन्। दुर्गमका अस्पतालहरु नि ठ्याक्कै यस्तै हुन्। वर्षौंदेखी सिटामोल र कोट्रिम बाढेर बसेका जिल्ला अस्पतालहरुमा न त सामाग्री छन्, न चाहिने अत्यावश्यक औषधी छन्, न त काम गरौं भन्ने हुटहुटी। त्यसैले त्यहा डाक्टर मात्र पठाएर सबै कुराको समाधान हुन्छ भनेर कसैले सोच्छ भने त्यो पागलपन मात्र हो। त्यो ट्र्याक्टर चलाऊने ड्राइभर पुगिसक्यो तर न त ट्र्याक्टरको चक्का बनेको छ, न मबिल हालेको छ, न इन्जिन फेरेको छ, न बाटो नै सम्म्याएको छ। अनी ट्र्याक्टर किन चलेन भनेर सबैले दोष चै विचरा ड्राइभरलाई मात्र दिएका छन्।

कुनै पनि डाक्टरलाई विना सम्पूर्ण तयारी अप्रेशन गर्ने रहर हुँदैन। शहरमा आइसीयु, सुविधासम्पन्न अप्रेशन कक्ष भएका अस्पतालहरुमा एनेस्थेसियोलोजिस्ट र गाइनेकोलोजिस्टहरुले सिजेरियन गर्नको लागि २ पिन्ट रगत चाहिन्छ भन्छन्। यो पूर्वतयारी आवश्यक पनि छ। तर गाँउमा रगत नभै म अप्रेशन गर्दिनँ भन्यो भने कि त पेट भित्रको बच्चा मर्छ कि आमाबच्चा दुवै मर्छन्। किनकी न त्यहाँ भन्ने वित्तिकै रगत पाउने ब्लड बैंक हुन्छ न त रगत दिने रक्तदाता नै। सकेसम्म रगत जुटाउने कोशीस गरिन्छ, धेरैजसो रगत व्यवस्था गरेर नै अप्रेशन गरिन्छ तर कैलेकाही आफन्तलाई अवस्था, खतरा, जटिलता बुझाएर अनुमती लिएर नि गर्नुपर्ने हुन्छ। 

वर्षौंदेखी नचलेको मेसिनमा खिया लागेको हुन्छ। त्यस्तै वर्षौं हेल्थपोस्ट जसरी चलेका जिल्ला अस्पतालहरुमा इमर्जेन्सी पर्दा चाहिने न त औषधी हुन्छन् न त सामाग्री नै। एउटा अस्पतालमा छुट्नै नहुने ज्यान बचाउन अत्यावश्यक सामान पाइदैन। हुन त कहिल्यै प्रयोगमा आएको भए पो चाहिन्थ्यो होला, ल्याइन्थ्यो होला। तर यो मुगुमा गएर म:म खोज्या जस्तो त हैन नि। अस्पताल भनेर खोलेपछी त्यसले दिईरहेको सेवा के कस्तो छ भनेर मूल्यांकन गरिनुपर्दैन? यत्रो वर्ष ती जनतालाई देशको स्वास्थ्य सेवाले हैन भगवानले बचाएका हुन्, भाग्यले बचाएको हो। हुन त अवस्था विस्तारै सुधार हुँदैंछ तर अझै पनि यो भित्रबाट गुदि भरिएर बलियो गरी सुधारिएको छैन, बाहिरबाट रंग पोतिएको जस्तो मात्र देखिएको हो। बुझ्नेले बुझ्नेछन् यो कुरा, नबुझ्ने सोध्नुहोला कुनै दिन भन्नेछु।


हिजोआज लापरवाहीका धेरै कुरा उठ्छन्, म बेलाबेलामा सोच्नेगर्छु, अप्रेशन गर्दागर्दै लाइन गएर राम्ररी गर्न नसकी विरामीको मृत्‍यु भयो भने कसको लापरवाही हुन्छ होला? लाइनको वैकल्पिक व्यवस्था नगरी अप्रेशन थाल्ने डाक्टरको कि सोलार, जेनेरेटरको व्यवस्था नगरिदिने अस्पताल व्यवस्थापन समितिको कि अस्पताल जस्तो सम्वेदनशील ठाउँमा लाइन काट्ने विधुत प्राधिकरणको कि त्यस्तो अस्पताललाई चल्न दिने स्वास्थ्य मन्त्रालयको कि त्यस्तो असुविधा, अभावमा खतरापूर्ण स्वास्थ्यसेवा दिईरहेको अवस्थामा नि चुप लाग्ने अनी आफूलाई पर्दा शहरका ठूला अस्पताल भागीहाल्ने स्थानीय बुद्धिजीवी, नेता, धनीमानीहरुको कि त्यस्तो अस्पतालमा अप्रेशन गराउने विरामीको? हुन त जती नै दुर्गम भए पनि हिजोआज जोसँग नि स्मार्टफोन हुन्छ, त्यसको चम्किलो लाइट हुन्छ, त्यसैमा अप्रेशन गर्न, डेलिभरी गराउन सकिन्छ तर के त्यो सुरक्षित हुन्छ?

जिल्ला अस्पतालमा आइसीयु चाहिने सिकिस्त विरामी राखेर उपचार गराउने कसैलाई रहर हुँदैन, न त त्यहाँका डाक्टरलाई न त विरामीका आफन्तलाई। तर गरिवी र रोगले एकैपटक हानेपछी यो बाध्यता बन्न जान्छ। डायबेटिक केटोएसिडोसिस (डायबेटिज रोगको एकदमै जटिल अवस्था) भएको विरामी गोजीमा २-३ हजार लिएर थोरै गोली र झोल बोकेर घर फर्कने भन्ने सोचले जिल्ला अस्पताल आएका हुन्छन्। सेप्टिक शक (संक्रमण शरीर भरी फैलिएको अवस्था) भएका विरामी जिल्ला अस्पताल नै अन्तिम लक्ष्य हो, जे गर्ने त्यही गर्ने, त्यही नि:शुल्क उपचार गर्ने नभए मर्ने भनेर २ छाक खानलाई मात्र पैसा बोकेर आउछन्। अब तिनलाई रोगको हिसाबले त तुरुन्तै आइसीयु राखेर घण्टैपिच्छे सुगर, सोडियम, पोटासियम, एबीजी हेर्नुपर्छ, कडा एन्टिबायटिक दिनुपर्छ, मनिटरमा राख्नुपर्छ भनेर त मेडीकल किताब पढेको जोसुकैले पनि फररर भन्नसक्छ। तर गोजीमा सुको पैसा र भोको पेट लिएर तीनका आफन्तले एम्बुलेन्सका हजारौं भाडा वा भनौं एयर एम्बुलेन्सका लाखौं भाडा तिरेर कसरी त्यस्तो ठाउँमा लैजान सकुन् जहाँ मोटामोटा मेडिकल किताबमा लेखिएका जटिल निर्देशिकाहरु अक्षरश: प्रयोग गर्न सकियोस्। तिनले त्यस्तो बेला घर लैजानमै फाईदा हुने हिसाब निकाल्छन्। अनी लड्न तालिम पाएका हामी जस्ता सिपाहीहरु बरु जे हुन्छ हुन्छ भनेर जिल्ला अस्पतालमै अन्तिम लडाईं लड्न तयार हुन्छौं, खिया लागेका बन्दुक र ओस्सिएका सिमित गोलीहरु लिएर। अनी जब शत्रुले जित्दै जान्छ, आफ्ना गोली सकिदै जान्छ हार मानेर घुँडा टेक्नु भन्दा अर्को विकल्प हुन्न। अनी जीवन मृत्‍यु त भगवानको खेला हो भनेर चित्त बुझाउदै फेरी अर्को विरामीको लागि त्यस्तै अर्को युद्द लड्न तयार भईन्छ। तर कहिलेकाही भने यस्ता दुस्साहसपूर्ण लडाईंहरुमा विजयप्राप्त हुन्छ, जसको मजा आइसीयुमा राखेर विरामी निको पारीएको भन्दा हजारौं गुणा हुन्छ, किनकी त्यो विजयसँग धेरै अनिदा रातहरु, व्यग्रता, पीर, माया जोडीएको हुन्छ।

अलिअली बिग्रेको गाडी पो ड्राइभरले, खलासीले बनाउन सक्छ, पूरै मेसिन नै खतम भएको बनाउन त मेकानिक चाहिन्छ, ग्यारेजमै लैजानुपर्छ। व्यवस्थापनका समस्या अलीअली भए पो स्वास्थ्यकर्मीले सुधार्नसक्छ, पूरै व्यवस्था नै खिया लागेको भए एक दुई डाक्टर वा स्वास्थ्यकर्मीले कसरी चुस्त काम गर्नु? दुर्गमका धेरै जीपी साथीहरु हुनुहुन्छ जसले अस्पतालमा चाहिनसक्ने अत्यावश्यक औषधी आँफैंले बोकेर जानुहुन्छ। के अस्पतालमा फार्मेसी छैन र? के ती फार्मेसीमा चाहिने इमर्जेन्सी औषधी हुन्नन् र? के ती फार्मेसी २४ घण्टा खुल्दैनन् र? हरेक जिल्लामा गएर सोध्नुस्, आँफैं हेर्नुस्, थाहा हुन्छ। हाम्रा कागजका नीति नियमहरु कहाँ छन् र वास्तविकता कहाँ छ। के एउटा डाक्टरले एउटा संस्थाले दिएको बजेटले आँफैले औषधी किनेर दिईरहेको सेवा स्थायी हुन्छ? पछील्लो समय विभिन्न जिल्ला अस्पतालका सेवाहरुमा जती पनि सुधार भएका छन् ती स्थायी हैनन् ती खदिंला छैनन्, जबसम्म देशको सरकारी स्वास्थ्य प्रणाली भित्रबाट यो सुधारको तरिका र बाटहरुलाई आत्मसाथ गरिन्न, ए यसरी पो गर्नुपर्ने रहेछ भनेर तत्परताका साथ अवलम्बन गरिन्न तबसम्म यी सुधारहरु पानीका फोका सरह हुन्छन्। के सरकारसँग बजेट अभाव भएको हो? हैन कदापी हैन। योजना, लक्ष्य नभएको हो? त्यो पनि हैन। तर पनि खै किन हो यो खाले कछुवा हिडाइ?


कैलेकाही लाग्छ हामीले अली बढी आस गर्यौं कि? हाम्रो गती अली छिटो भयो कि? तर देशको जनता भएपछी, भोट दिएर पठएपछी, कर तिरेपछी स्वास्थ्य जस्तो नैसर्गिक अधिकार पनि खोज्न नपाउनु? हामी भन्दा अघिल्ला पुस्ताका जीपीहरुसँग कुरा गर्दा पनि यस्तै दुरावस्था भएका जिल्ला अस्पतालहरु ३०-४० वर्षपछी पनि उही अवस्थामा हल्लिरहेको हुनुलाई सुधारमा हिंडेको भन्नु कि चक्का, मेसिन बिग्रिएर थन्किएको गाडी झैं छ भन्नु? सम्बन्धित सबैको ध्यानाकर्षण भएर दुर्गमका अस्पताल लगायत सबै स्वास्थ्य संस्थाहरुको यो अवस्थामा छिट्टै सुधार आउँला भन्ने आशा राखौं।

के यो भेगका नेपालीको जीवन कहिले परिवर्तन होला त?

बाँकी पढ्नुहोस् >>

Monday, October 16, 2017

अभाव र अफ्ठ्याराबीच काम गर्नुको पीडा

हुन त यी कुरा आधिकारिक वक्तव्यको रुपमा आउनुपर्छ भन्ने कुरा उठ्ला। तर त्यो आश गर्न नमिल्ने कुरा हो। सामाजिक सरोकारको कुरा भएर यसरी लेख्दैछु, जनताले यी कुरा थाहा पाउनुपर्छ, हामी कुन स्तरमा छौं भनेर।

नलुकाई भन्दा हाम्रो प्यूठान जिल्ला अस्पतालमा अप्रेशन गर्नका लागि पूरा बेहोस बनाउने एनेस्थेसिया मेसिन छैन, ढाडबाट दिइने बेहोसीको औषधीको र अन्य जटिलता आएर कृत्रिम सास दिनुपरेमा भेन्टिलेटर मेसिन छैन, मुटुको गतीमा गडबडी भएमा चाहिने मेसिन डिफिब्रीलेटर छैन, आइसीयु छैन, यी सबैको विशेषज्ञ डाक्टर एनेस्थेसियोलोजिस्ट छैन, अप्रेशन गर्नका लागि राम्रो काम गर्ने पर्याप्त औजार छैन, अप्रेशन गर्ने कोठामा तापक्रम ठिक राख्न एसीले काम गरेको छैन, चित्त बुझ्दो सरसफाई छैन, अप्रेशन गरिसकेपछी राम्रो हेरचाह गर्न गतिलो पोस्टअप वार्ड छैन, त्यहाँ विरामीको अवस्था हेर्न मनिटर छैन, छिनछिनमा अवस्था बारे बुझ्न पर्याप्त नर्सिङ स्टाफ छैन, अप्रेशन गर्दा इमर्जेन्सी चाहिने रगतको लागि ब्लड बैंक छैन, दिने पर्याप्त रक्तदाता छैन, २४ घण्टा खुल्ने इमर्जेन्सी ल्याब छैन, सिजेरियन अप्रेशन पछि बच्चामा केई समस्या आए उस्लाई राख्ने बच्चाको आइसीयु छैन, बच्चाको विशेषज्ञ डाक्टर छैन। बढ्दो डेलिभरी केस हेर्नलाई पर्याप्त नर्सिङ स्टाफ छैन, बढ्दो इमर्जेन्सी विरामी हेर्नलाई पर्याप्त पारामेडिक्स छैन।

त्यसो भने छ चैं के त?

थोरै औजार, उपकरण, औषधी, जनशक्ती र धेरै इक्षाशक्ति, दुर्गम ठाउमा यो अभावमा पनि केहि गरौं भन्ने चाहना र भगवानको आशीर्वाद।

हुन त हामीले गर्ने धेरै अप्रेशनलाई यी हामीसँग नभएका कुरा चाहिदैन पनि। गत साल हामीले यहि अभाव र अफ्ठ्याराका बीच २२६ सिजेरियन गर्यौं, १५०० नर्मल डेलिभरी गरायौं, अरु धेरै अप्रेशन गर्यौं। अप्रेशनका १-२ आमालाई बाहेक ठूलो जटिलता आएन, अरु केही बच्चालाई माथिका सुविधा नभएकोले गुमाउनुपर्यो वा बाहिर पठाउनुपर्यो। बाकी जिल्लामै स्वास्थ्य सेवा पाएर धेरै खुसी भएर घर फर्किए। डेलिभरी केसहरुले नि:शुल्क सेवा लिएर संस्थागत डेलिभरीको १००० रुप्पे प्रोत्साहन भत्ता र ४ पटक गर्भ जाँचको ४०० रुप्पे पनि पाएर गए।

अब प्रश्न उठ्छ,
यो अभाव र अफ्ठ्याराका बीच जोखिम मोलेर अप्रेशन गर्नु हाम्रो लापरवाही, हाम्रो जागिर मात्र कि सेवा भावना, के हो? हाम्रो रहर हो कि बाध्यता?
व्यवस्थापनलाई थाहा छैन र यो अभावमा काम हुदैंगरेको? थाहा छ।
स्वास्थ्यका विभाग र मन्त्रालय अनि त्यसका कुर्सीमा आसिन पदाधिकारीहरुलाई थाहा छैन र यो अवस्थामा काम हुदैंगरेको? थाहा छ।
पटक पटक जानकारी नि गराइएको छ, सामान, उपकरण, जनशक्ती माग पनि गरिएको छ। तर आश्वासन बाहेक केही पाइएन।

सूचनाको विकाससँगै सेवाग्राहीले चैं यो दुर्गमको जर्जर (हुन त यो भन्दा गए गुज्रेका जिल्ला अस्पतालहरु पनि नभएको हैन) अस्पतालबाटै सबै थोक आस गर्ने भएका छन्। नगरोस् पनि किन, उनका नेताले भाषणमा ठूला आस बोलेका हुन्छन्, संविधानमा स्वास्थ्य हरेक नागरिकको आधार भनेकै छ। वास्तविकता कति विकराल छ, त्यस्को आफ्नै व्यथा छ।

अब के गर्ने?
दुइटा बाटा छन्।
• जनता, सेवाग्राहीको सामू हाम्रो अभाव र अफ्ठ्यारा छर्लङ पारिदिने, हुनसक्ने जटिलता सबै बताइदिने (खासमा हरेक सामान्य रोग, औषधि र अप्रेशनका कारण ज्यानै जानसक्ने खतरा रहन्छ, जुनको लागि जिल्ला अस्पताल सुविधा सम्पन्न छैन) र उनीहरुलाई नै यो अभाव र अफ्ठ्यारालाई स्विकारेर उपचार सेवा यहि लिने वा ठूला अस्पताल जाने निर्णय गर्न दिने।
• अप्रेशन र अन्य उपचारमा पनि हुनसक्ने जटिलताहरु मध्ये केही र थोरैमा मात्र हुने जटिलताको व्यवस्थापन गर्न अस्पतालको क्षमता छैन, अन्तर्राष्ट्रिय स्तरको सुविधा छैन भनेर सकेसम्म सबै विरामी रिफर गरेर ज्वरो, रुघा र पखालाको उपचार गरेर बस्ने।

दोस्रो बाटो हामीलाई सजिलो हो, ड्युटी सजिलो नि हुन्छ, शरीर नि दुख्दैन, निद्रा नि मजाले पुग्छ, तर हामी पहिलो बाटो ठिक छ भन्छौं? किन? किनकी त्यसबाट दुर्गमका धेरै गरिव जनतालाई राहत मिल्छ, जिल्लामै स्वास्थ्य सेवा (स्तरिय नभए पनि) पाउँछन्, उनीहरुको हजारौं खर्च बच्छ, जग्गा, सुन, गाईवस्तु धितो राखेर ऋण लिनुपर्दैन। तर यो अभाव र अफ्ठ्यारामा खटेर काम गरिरहेका छौं भनेर सेवाग्राहीले बुझ्नु जरुरी छ। सेवाग्राहीले सबै बुझेर उनीहरुको मन्जुरीमा नै यहिं उपलब्ध सेवा दिने हो। हामी मान्छे हौं (कैलेकाई गधा जस्तो नि लाग्छ) भगवान हैनौं, भएको ज्ञान, औजार, उपकरण, औषधि, जनशक्तीले राम्रो गर्ने सक्दो प्रयास गर्ने हो, धेरै सफल भएका छौं (त्यसैले भनेको भगवानको आशीर्वाद छ) तर सधैं सफल भएका छैनौं र त्यो असम्भव पनि छ।

हुन त तेस्रो बाटो नि छ, तर त्यो हामी स्वास्थ्यकर्मीको हातमा छैन। माग र विरामीको चाप अनुसारका उपकरण, जनशक्ती, औषधि, औजार तुरुन्त वा २ हप्ता, १ महिनाभित्रमा झिकाई सेवाको स्तर सुधार गर्दै जाने। विगत २ वर्षको अनुभवमा यी कुरा आवश्यक गतीमा भएको नदेखेको हुनाले सम्भव छैन जस्तो लाग्छ।

अनि फेरि हामीले हाम्रो अभाव र अफ्ठ्यारा देखाएको हामीले लापरवाही गर्न पाउनुपर्छ भनेर ती छोप्नका लागि भने हुँदै हैन, अन्तर्राष्ट्रियस्तरका अस्पतालमा त गल्ती हुन्छन् भने अभाव र अफ्ठ्यारामा ती झन बढ्छन् नै। तर लापरवाही भन्या फरक कुरा हो।

अब कुन बाटो रोज्ने सम्बन्धित सबै (सेवाग्राही, स्थानीय बुद्धिजीवी, पत्रकार, स्थानीय नेता, अस्पताल व्यवस्थापन, विकास समिती, नगरपालिका, स्वास्थ्य विभाग, मन्त्रालय) ले बुझेर भनिदिनुहोला। 
बाँकी पढ्नुहोस् >>

Thursday, September 28, 2017

नर्भिक केसकी विरामीको बुवाको भनाइप्रती मेरो प्रतिकृया


अमेरिकाका वरिष्ठ डा. रमेश आचार्यको नेपाली मेडिकल क्षेत्रलाई दोषारोपण सहितको भिडियो नै आएछ। उनी भर्खरै नर्भिक अस्पतालको इमर्जेन्सीमा मृत्‍यु भएकी भिक्टोरियाका बुवा हुन् जसले उनको उपचारमा लापरवाही भएको भन्दै उजुरी हालेका थिए र स्वास्थ्य मन्त्रालयबाट गठित छानवीन समितिले "लापरवाहिको प्रमाण नभेटिएको" भनेर आफ्नो रिपोर्ट दिएको थियो। यहाँ हेरौं - 
'नर्भिकमा बालिका मृत्यु प्रकरण : भेटिएन लापरबाहीको ठोस आधार'

यो उनलाई बद्नाम गर्नका लागि लेखिएको हैन र नर्भिक अस्पतालको बचावमा पनि लेखिएको हैन। उनले आफ्नी १६ महिनाकी छोरीलाई भर्खरै गुमाएका छन्, त्यसमा हामीलाई नि दु:ख लागेको छ तर उनले जुन तरिकाले आफ्नो अल्प मेडिकल ज्ञानलाई प्रयोग गरी मिडिया र दुनियाँको आँखामा छारो हाली नेपाली डाक्टरहरु र नेपाली मेडिकल क्षेत्रलाई पूरै गलत देखाउने कुचेष्टा गरेका छन् त्यसको पर्दाफास भने हुनैपर्छ। 

उनका कुराहरुमा मेरा केही असहमतिहरु-
१. छोरीलाई Common cold मात्र जस्तो देखिन्थ्यो भन्नुभो, सिरियस नि हैन भन्नुभो अनि सिधै PICU छ छैन किन सोध्नुभाहोला? कुरा अलि मिलेन।
२. Ceftriaxone भन्ने high dose को औषधि दिएर छोरीको तापक्रम १०५ पुग्यो। कुनै मेडिकल पर्सनले यसरी बोल्छ र? Antibiotic दिएर ज्वरो न त बढ्छ न त घट्छ। पत्रकारलाई बुझाउन नि वरिष्ठ चिकित्सकले यसरी बोल्दैनन्।
३. उनको छोरीलाई जबर्जस्ती समातेर ET tube राखिदिए। कुनै पनि स्वास्थ्यकर्मीले जबर्जस्ती ET tube राख्दैन। काठमाण्डौ भित्रै विरामी transfer गर्दा  नि ET Tube राख्ने अवस्था आएको थियो थिएन, तपाईं यदि वरिष्ठ चिकित्सक हो भने आफैंले थाहा पाउनुपर्ने। त्यस्तो अवस्था नआई कसैले नि बुवाले लिइसकेको बच्चीलाई खोसेर ट्युब हाल्दैन। 
४. १६ महिनाको बच्चीलाई ६ नं को ET tube हाल्यो, त्यो पनि बालरोग विशेषज्ञले! कसैले पत्याउछ? ३ वर्ष बच्चासम्बन्धी अध्ययन गरेको, NICU, PICU मा काम गरेको बालरोग विशेषज्ञले १६ महिने बच्चालाई ६ को ट्युब हाल्न सपनामा पनि सोच्दैन। तपाईंले कहाँबाट सोच्नुभो?
५. Pediatric pulmonologist र Pediatric anesthesiologist नेपालमा कति छन्? इमर्जेन्सी कन्डिसनमा ती विशेषज्ञ छैनन् भने तिनलाई विदेशबाट भए नि बोलाएर कुरेर बस्ने हो? हाम्रो इमर्जेन्सीको तालिममा त त्यस्तो हुन्थेन। तपाईंले कहाँ पढ्नुभा हो कुन्नी?
६. Midazolam sensitive to body. कहिल्यै नसुनेको। vancomycin र ceftriaxone को sensitivity test गरेर मात्र हालिन्छ र? खै थाहा भएन। त्यै पनि इमर्जेन्सी condition मा severe allergic drug लाई मात्र sensitivity test गरिएला। अरुलाई गरिन्न। 
७. ET tube intubation procedure ले pneumothorax भएको रे। intubate गरेर ambu bagging ले बढी प्रेशर भएर वा ventilator मा राख्दा positive pressure ventilation ले भए अर्को कुरा, intubating procedure ले नै pneumothorax गराउछ भन्ने कुरा anatomically नि सम्भव छैन।
८. postmortem report ले autopsy को कुरा बोल्दैन। यो कस्तो कुरा हो? दुवै एउटै हैन र?
९. निमोनिया आफैंले suspect गरे रे। शुरुमा चैं common cold रे। कुरा कतैबाट नि मिल्दैन।
१०. पेडियाट्रीक सोसाइटी पेडियाट्रीक डाक्टरहरुलाई बचाव गर्न बनेको संस्था हो। उनीहरुले गल्ती गरे पनि, अपराध गरे पनि बचाउने संस्था हो। मेडिकल पर्सनले विभिन्न मेडिकल सोसाइटी बारे यहि बुझेको हुन्छ? के हाम्रा सोसाइटीहरु गल्ती छोप्न र बचाउन मात्र बनेका हुन् र?
११. मेडिकल कुराहरुमा उनको कमेन्टहरु एकदमै नन मेडिकल मान्छेले भन्ने जस्ता छन्। सुन्दा उनले मेडिकल पढेका हुन् भन्नेमै शंका लाग्छ। उनले चिनबाट मेडिसिन पढेको सर्टिफिकेट ल्याएका थिए रे। तर नेपाल मेडिकल काउन्सिलको लाइसेन्से जाँच पास गर्न सकेनन्। अहिले उनले आफूलाई अमेरिकाको वरिष्ठ फिजिसियन भनेर चिनाएका छन्, जुनमा शंका छ।

हुन त उनको आफ्नो सर्टिफिकेट सक्कली होस् या नक्कली ले यो अनुसन्धानमा खास असर नगर्नुपर्ने हो तर मिडिया, पब्लिकले उनलाई अमेरिकाको डाक्टरको रुपमा हेरेको छ र उनले भनेका कुराहरु मेडिकल्ली पनि सहि छन् र नेपालका डाक्टरहरु गलत छन् र लापरवाही गर्या हुन् भनेर सोचिरहेका छन्, जुन गलत हो, उनले बोलेका मेडिकल कुराहरु विश्वास गर्न लायक छैनन्। किनकी उनको मेडिकल सर्टिफिकेटमै शंका छ।

उनको पहिलेको रेकर्डहरुको बारेमा थाहा पाउन यो लेख हेर्नुहोला।  
'चीनमा एमबिबिएसका ७० विद्यार्थी अलपत्र, डा. आचार्य सहायक डिन भनेर ठग्दै'
(स्वास्थ्य खबर पत्रीकाको २ वर्ष अघीको न्युजमा लेखिएको छ- 'डा. आचार्य चीनको थ्री गर्जेज विश्वविद्यालयबाट सन् २०११मा एमबिबिएस गरेको प्रमाणपत्र नेपाल मेडिकल काउन्सिलमा पेश गरेका छन्। सन् २०१२मा काउन्सिल दर्ता परीक्षामा फेल भएपछि उनले दोहोर्याएर परीक्षा दिएका छैनन्। एमबिबिएस मात्र गरेका आचार्यले योग्यता बिनै आफूलाई छाङचा विश्वविद्यालयको सहायक डिन दाबी गर्दै आएका हुन्। उनले भर्खरै हिमशिखर टेलिभिजनलाई दिएको अन्तर्वार्तामा पनि आफुलाई सहायक डिनका रुपमा प्रस्तुत गरेका छन्।')

उनका कुराहरुमा मेरा सहमतिहरु-
१. डाक्टरहरु विरामी र विरामीका मान्छेसँग राम्ररी बोल्दैनन्। धेरैजसो नेपाली डाक्टरहरुमा विरामीसँगको कम्युनिकेसन सीप छैन। त्यो हामीले आफूलाई विरामीको ठाउमा उभ्याएर आफैले गरेको व्यवहार सम्झेर हेर्दा थाहा हुन्छ कि हामी कति सुध्रन बाकी छ।
२. अनुसन्धानका केसहरुमा स्वतन्त्र छानवीन भए हुन्थ्यो, रगत जाँच टेकुमै पठाएको भए हुन्थ्यो। उनको अनुमतिमा उनैलाई पनि सँगै राखेर पोस्टमार्ट्म गरिदिएको भए हुन्थ्यो।

अन्त्यमा,
हामीमा नि सुधार गर्नुपर्ने कुराहरु छन्, तर उनले आफ्नो डिग्री (नक्कली) को बलमा मिडिया र जनतालाई झुक्काएर सान्त्वना लिदैं जसरी नेपाली डाक्टरहरुलाई दोष लगाइरहेका छन् त्यो सहन सकिने छैन। यसै पनि बढ्दै गईरहेको विरामी र डाक्टरहरु बीचको अविश्वासको वातावरणलाई यसले झन बढाउने काम गरेको छ।यसलाई नर्भिक अस्पताल वा पेडियाट्रीक सोसाइटी वा सम्बन्धित कसैले खण्डन गरि समाजमा नेपाली डाक्टरको इमेज थप बिग्रनबाट बचाऔं।
बाँकी पढ्नुहोस् >>

Sunday, September 24, 2017

डाक्टरी जिन्दगी र हालको आन्दोलनको कथा


लामो समयदेखी दिनदिनैको अनकल ड्युटीबाट विरक्त लागेर म १ दिनको लागि मात्र भनेर रोल्पा घुम्न जाने तयारीमा थिएँ। झोला प्याक भईसकेको थियो, व्यस्त दैनिकीबाट १ दिन भएनी छुट्टी मिल्ने भो भनेर मन चंगा थियो। त्यती नै बेला इमर्जेन्सीमा 'रप्चर्ड एक्टोपिक प्रेग्नेन्सी अर्थात पाठेघर बाहिर गर्भ बसी फुटेर पेटभरी रगत बगेको अवस्था' भएको विरामीसँग जम्काभेट भयो। यो अति नै इमर्जेन्सी अवस्था हो र तुरुन्त अप्रेशन गरेर पेटभित्र बगीरहेको रगत नरोकेमा ज्यान नै जानसक्छ। मेरो चिकित्सकिय धर्मले उनलाई बाहिर रिफर गरेर आफू रोल्पा घुम्न जान दिएन, अनि सबै प्लानलाई थाती राखेर हाम्रो टोली उनलाई लिएर अप्रेशन थिएटर छिर्यो। गुल्मीदेखी आएकी विरामीलाई बोकेर अप्रेशन कक्षसम्म लान पनि पर्याप्त आफन्त थिएनन्, हामी आँफैंले विरामी बोक्न स्ट्रेचरमा हात लगायौं। उनको पेटभित्र डेढ दुई लिटर जती रगत बगीसकेको रहेछ, अप्रेशन सकेर नाममात्रको पोस्टअपमा विरामी सार्दा झमक्क रात परिसकेको थियो, रोल्पा जान नपाए पनि जीवन र मृत्‍युको बीचमा ठीक समयमा उभिएर कसैको जीवन रक्षा गर्न पाउदाको स्वर्गीय आनन्दले मन खुसी थियो। कोठामा आएर फेसबुक हेरें, जताततै 'उपचारको क्रममा विरामीको मृत्‍यु भए डाक्टरबाट क्षतिपूर्ति तिराउने' भन्ने न्युज र त्यसको प्रतिकृया देखियो। दु:ख लाग्यो, डर पनि लाग्यो, भर्खरैको विरामीलाई अप्रेशनको क्रममा बचाउन खोज्दाखोज्दै पनि नसकिएको भए? पूरा बेहोस बनाउने मेसिन (जेनेरल एनेस्थेसिया मेसिन) पनि नभएको, भेन्टिलेटर नभएको, आइसीयु नभएको, सुविधायुक्त पोस्टअप पनि नभएको हाम्रो अस्पतालमा अप्रेशन र एनेस्थेसियाको जटिलताले विरामीको अवस्था बिग्रेको भए? जनशक्ति अभावका कारण पर्याप्त नर्सिङ केयर दिन नसकेर जटिलता आएमा, अस्पताल, वार्डको सरसफाइको कमीका कारण, अप्रेशन गर्ने औजार, सामाग्रीहरुको उचित निर्मलीकरण नभई विरामीलाई संक्रमण भएर सेप्टिसेमिया भएमा? न तिनमा चलाऊने औषधी उपलब्ध छन्, न तिनमा चाहिने उपकरण छन्, बस् जीवन बचाउनुपर्छ भन्ने उत्कट इक्षा छ, तर त्यसलाई पनि टाउकोको सामुन्ने तरवार झुन्डाइदिएको झैं भान भयो। यस्ता जोखिमका अप्रेशन र अन्य उपचारहरु गरेर के मैले मुर्खता र दुस्साहस गरेको हुँ त? के जनताले सहि र स्तरिय उपचार जिल्लामा नै पाउनुपर्छ भनेर मरिमेटेर लाग्नु मेरो भुल भयो? विना पर्याप्त उपकरण, साधन स्रोत जनशक्ति नि अप्रेशन गरेर ज्यान बचाउन खोज्नु डाक्टरको लापरवाही कि अप्रेशन हुन थालेको ३ वर्ष बितिसक्दा नि साधन स्रोत र जनशक्तिमा पर्याप्त सुधार ल्याउन नखोज्ने नसक्ने अनि स्वास्थ्यकर्मीहरुलाई यस्तो अवस्थामा पनि अप्रेशन गर्न वाध्य पारीरहने व्यवस्थापनको लापरवाही? सोचमा डुब्न पुगें।
समाचार रहेछ कि उपचारको क्रममा लापरवाहीले विरामीको मृत्‍यु भए वा अंगभंग भए क्षतिपूर्ति उपचार गर्ने डाक्टरबाट तिराईने कानुन ल्याउनुपर्ने भनेर मन्त्री परिषदको बैठकमा निर्णय भएको। हिजोआज डाक्टरको लापरवाही बढ्दै गएको र त्यसका कारणले विरामीको ज्यान जाने घटना बढ्दै गएकोले त्यसलाई कम गर्न यो नियम ल्याइनुपर्ने भनेर प्रवक्ताले भनेका छन्।

अब कुरा उठ्छ लापरवाही के हो? कसले फैसला गर्ने हो लापरवाही हो हैन भनेर?
चिकित्साक्षेत्र प्राविधिक/ टेक्निकल क्षेत्र हो, यसमा गरिने कुराहरु, उपचार पद्दतीहरु, हुने जटिलताहरु, नयाँ विकास र यसका आफ्नै सिमितताहरु सर्वसाधारणले बुझ्न गार्हो हुन्छ, अझ अन्य क्षेत्रका विज्ञहरुलाई नि बुझ्न गार्हो हुन्छ भन्दा अत्युक्ति नहोला। त्यसैले सामान्य मान्छेले बाहिरबाट हेर्दा देखेको लापरवाही वास्तवमा लापरवाही नहुन सक्छ र नदेखेको लापरवाही चैं भैरहेको हुनसक्छ।
खासमा मेडिकल नेग्लिजेन्स वा चिकित्सा क्षेत्रमा लापरवाही भन्नाले कुनै पनि मेडिकल अवस्थामा कुनै पनि स्वास्थ्यकर्मीले उसको ज्ञान र सीपको आधारमा गर्नुपर्ने वा नगर्नुपर्ने काम भन्दा फरक गर्नुलाई बुझिन्छ। जस्तै- विरामीको रोग पत्ता लगाउन नसक्नु, गलत रोग छ भनेर बताउनु, विरामीको अवस्थाको जटिलताको आधारमा समयमा नहेरिनु, गलत भागको अप्रेशन गर्नु, गलत औषधी दिनु आदी। यी उदाहरण हेर्दा त हरेक दिन यी लापरवाहीहरु भएका छन् भन्ने धेरैलाई पर्छ होला तर हामीले लापरवाही भन्नु अघी हाम्रो साधनस्रोत, जनशक्ति, क्षमता के कति हो त्यसलाई भने बिर्सन मिल्दैन। नेपाल जस्तो गरिव देशमा उपचारका अन्तरराष्ट्रियस्तरका निर्देशिका त पढाई होलान् तर के ती व्यवहारमा उपलब्ध छन्? डाक्टर, नर्स लगायत स्वास्थ्यकर्मीहरुबाट अन्तरराष्ट्रियस्तरको व्यवहार र उपचारको आश गरिएला तर तिनको सीप, ज्ञान, कामको भार, तलब अन्तरराष्ट्रियस्तरको छ त? त्यसैले रोग गलत पत्ता लगाउनुलाई सिधै 'लापरवाही' भन्न मिल्दैन।
जस्तै पेट दुखेर आएको विरामीलाई नेपालमा प्राय: ग्यास्टिक (ग्यास्ट्राइटिस) भनेर औषधी गरिन्छ, ती सबै ग्यास्टिक नहुन सक्छन्, विकसित देशमा ती विरामीको रोग पत्ता लगाउन 'गाइडलाइन' हुन्छन् र त्यसै अनुसार उपचार प्रकृया अगाडि बढ्छ। तर के हाम्रो देशमा इन्डोस्कोपी, एच. पाइलोरी भनिने ग्यास्ट्राइटिस गराउने किटाणुका जाँच लगायत जाँचहरु सर्वत्र उपलब्ध छन् त? के हरेक विरामीले प्राय: प्राइभेट अस्पतालमा मात्र उपलब्ध यस्ता महंगा जाँचहरु गर्न सक्छन् त? अनि विना ल्याब परिक्षण लक्षण र सामान्य शरीर जाँचको आधारमा गरिने 'डायग्नोसिस' गलत भएर पछी अरु रोग वा पेटको क्यान्सर नै निस्कियो भने के त्यो डाक्टरको लापरवाही ठहरिन्छ? क्यान्सर पत्ता लागिसकेपछी त शुरुमै भनिदिएको भए, शुरुमा 'ग्यास्टिक' भन्दै उपचार गरेर लापरवाही गरेर पत्ता लगाउन ढिलो भयो भन्न सजिलो हुन्छ, तर के साधन स्रोत जनशक्तिको कमिले के त्यो सम्भव हुन्थ्यो त? कति केसमा त्यो सम्भव हुँदाहुँदै पनि लापरवाहीका कारण गलत रोगको उपचार भएको, ढिलो पत्ता लागेको र साच्चिकै 'मेडिकल नेग्लिजेन्स'को केस हुनसक्छ, त्यस्तो छ भने त्यसको विशेषज्ञ टोलीले छानवीन गरेर लापरवाही हो हैन फैसला गर्नुपर्छ। विरामी, विरामीका आफन्त वा मिडियाका मान्छेलाई लापरवाही लाग्दैमा वा विरामीको अवस्था बिग्रेमा वा मृत्‍यु हुँदैमा त्यो डाक्टर वा नर्सको लापरवाही हो भन्ने प्रमाणित हुँदैन।
फोक्सोको क्यान्सरका विरामीलाई क्षयरोग भन्दै ६ महिना क्षयरोगको औषधी खुवाएको र पछी क्यान्सर पत्ता लागेर उपचार गर्न नसकी मृत्‍यु भएको घटना सतहीरुपमा हेर्दा लापरवाही देखिएला तर त्यो सधैं लापरवाही नहुनसक्छ। उसको डाक्टरलाई क्यान्सर शंका लागेर सिटीस्क्यान गर्नुस्, ‘ब्रोन्कोस्कोपी गर्नुस् भनेको हुनसक्छ तर विभिन्न कारणले विरामी आँफैंले ढिलो गरेको वा नगरेको हुनसक्छ, वा अहिले गर्न नसकिने भनी सल्लाहमै 'इमपेरिकल्ली' अर्थात लक्षण, शारीरिक जाँच, छातीको एक्सरे, रोगको 'इपिडेमियोलोजी'को आधारमा क्षयरोगको औषधी शुरु गरिएको हुनसक्छ। जुन पछी गलत भयो, तर त्यसलाई लापरवाही भन्न मिल्दैन। त्यसैले भनेको आफ्नो वा आफ्नो विरामीको उपचारको क्रममा के भएको हुनसक्छ, के उपचार गर्ने हो, के जटिलता हुने सम्भावना हुन्छ भनेर सकेसम्म बुझ्ने कोशीश गर्नुपर्छ र डाक्टर, नर्स लगायत अन्य स्वास्थ्यकर्मीहरुले पनि सकेसम्म सरल भाषामा बुझाउने प्रयास गर्नुपर्छ।
तर हाम्रो देशमा अहिले कसले लापरवाही भयो भनेर फैसला सुनाउछन् त? विरामीको अवस्था बिग्रेपछी वा विरामीको मृत्‍यु भएपछी विक्षिप्त आफन्तहरुले, अनि त्यसमा हो मा हो थप्दै वरिपरि जम्मा भएको भिडले, तोडफोड र बार्गेनिङको बिजनेस गर्ने समूहले र त्यसलाई ब्रेकिङ न्युज बनाउने मौका खोजीरहेका पत्रकारहरुले। उत्तेजित भिड फोड्न र मार्न उत्रेपछी न सरकारले सुरक्षा दिन सक्छ, न कानुन नै बाँकी रहन्छ। अनि अस्पताल र स्वास्थ्यकर्मीहरुले पनि गल्ती नभए नि भिडको अघी घुँडा टेक्छन्, माफि माग्न वाध्य पारीन्छन्, चरिकोट अस्पतालमा जस्तै, अनि मिडियामा नाम उचालिएर बद्नाम हुनुभन्दा केही लाख तिरेर घटना सामसुम पार्न प्राइभेट अस्पतालहरु आतुर हुन्छन्। केही लाख पाएपछी आफन्तलाई पनि झन्झटिलो कानुनी प्रकृयामा जानु बेकार लाग्छ, बिचौलियाहरुले आफ्नो भाग पाईसकेका हुन्छन्, अनि त्यो पटकको घटना सकिन्छ। सर्वसाधारणको मन मस्तिष्कमा पोस्टमार्टम पनि नभएको, विशेषज्ञद्वारा छानवीन नि नभएको, आफन्तले रुदैं बताएको, मिडियाले सनसनीपूर्ण बनाएको त्यो घटना सधैं लापरवाही नै थियो भन्ने छाप बसीरहन्छ। नेपालमा अहिले भएको यही नै हो।
विगत केही वर्षदेखी जती पनि लापरवाहीको दोष लगाएर समाचार आएका छन्, तिनमा कतिको कानुनी बाटोबाट छानवीन भयो होला? कतिको मुद्दा लडियो होला? कतिको विशेषज्ञ टोलीले छानवीन गर्‍यो होला? कतिको भिड र मिडियाले दवावमा केही लाख क्षतिपूर्ती दिन लगाएर घटना सामसुम पारीयो होला? केही वर्ष अघि कान्तिपुरमा लेखिएको 'किड्नीमा पाइप छोडियो' भन्ने भ्रमपूर्ण समाचार, जसमा पाइप छोडिएको हैन, उपचारकै लागि स्टेन्ट (पाइप) राखिएको थियो। त्यही पत्रीकामा आएको 'किड्नी नै चिन्न नसक्ने सर्जन' भन्ने खाले समाचार। चरिकोट काण्ड, जहाँ उपचार गर्ने स्वास्थ्यकर्मीको टिमलाई प्रहरी र प्रशासनकै सामुन्ने जबरजस्ती हत्यारालाई जसरी माफि माग्न लगाइएको थियो। यस्ता घटनाहरुको लामो न लामो लिस्ट नै बन्न जान्छ। के यी घटनाहरुको विशेषज्ञ टोलीले छानवीन गरेर कानुनी दायरामा ल्याउने र लापरवाही प्रमाणित भए सम्बन्धित डाक्टर, नर्स, स्वास्थ्यकर्मीलाई कार्वाही गर्ने, नभए परिक्षणको प्रतिवेदन सार्वजनिक गर्दै विना आधार दोष लगाउने, हातपात गर्ने, बेइज्जत गर्ने आफन्त र मिडियालाई कार्वाही गर्ने काम भयो त? भएन। र त अहिले हामी यो विषम परिस्थितीमा छौं। केही महिना अघी संसदमै एक दुई जना सांसदले भाषण ठोकिदिए- यहाँ दिनदहाडै अस्पतालमा म्रिगौला तस्करी भएको छ, राज्य कहाँ छ?” उनले हचुवाको तालमा लेखिएका पत्रपत्रीकाका न्युजहरु पढेर यस्तो बोलेका थिए। सांसदलाई त यस्तो भ्रम छ भने जनतालाई कति अविश्वास होला हामीसँग। यस्तै सोचाइ भएका नेताहरु मन्त्री भएको मन्त्री परिषदले 'केही समय यता चिकित्सकिय लापरवाहीको घटना बढेकोले, त्यसलाई नियन्त्रण गर्न' भनेर लापरवाहीको कारण विरामीको मृत्‍यु वा अंगभंग भएमा डाक्टरले नै क्षतिपूर्ति तिर्नुपर्ने भनेर कानुन बनाउने प्रकृया थाल्ने निर्णय गर्‍यो। यो अहिलेको स्थिती सुधारको लागि चालिएको कदम हैन कि सतही गफबाट प्रचारबाजीको लागि ल्याइएको नियम हो। नत्र मन्त्रीज्युहरुले कुन आधारमा 'चिकित्सकिय लापरवाही बढीरहेको अवस्था' भनेर यकिनका साथ भन्नसके? नाम चलेका पत्रपत्रीकाका न्युजहरु पढेर, अनलाइन न्युजहरुका सनसनीपूर्ण हेडलाइनहरु हेरेर? 
उपचारको क्रममा विरामीको अवस्था बिग्रने पहिले पनि हुन्थे, विरामीको मृत्‍यु हुने पहिले पनि हुन्थ्यो। तर पहिले यस्तो लापरवाहीको दोष र तोडफोड हुन्थेन त, के त्यती बेला भन्दा अहिले डाक्टर र स्वास्थ्यकर्मीहरु बढी लापरवाह भएका हुन् त? के अचेल डाक्टरहरु बढी लुटेरा, ठग, गैरजिम्मेवार भएका हुन् त?
अन्धाधुन्दरुपमा बढ्दो मेडिकल कलेज, नर्सिङ कलेज र पारामेडिक्स कलेजहरु, जसलाई नियमनकारी निकायहरुले सहि नियन्त्रण गरिरहेका छैनन्, तीनले उत्पादन गरिरहेका नयाँ स्वास्थ्यकर्मीहरुको ज्ञान र सीपको स्तर कत्तिको स्तरिय होला मलाई शंका लाग्छ। नेपाल मेडिकल काउन्सिलको लाइसेन्सिङ परिक्षामा प्रत्येक पटक बढ्दो फेल प्रतिशतले पनि यो कुरा इंगित गरिरहेको देखिन्छ। काउन्सिल परिक्षा फेल डाक्टरले विरामी जाँच्न पाउदैनन्। साथै अन्य स्वास्थ्यकर्मीहरुको सीप र ज्ञानको स्तर पनि अहिलेको जस्तो अति सरल लाइसेन्सिङ परिक्षाले मात्र नाप्न सक्दैन।
त्यस्तै देशभरी च्याउ सरी उम्रिएका प्राइभेट अस्पताल, पोलिक्लिनिक, औषधी पसलहरुले मेडिकल क्षेत्रलाई नाफाको लागि व्यापार गर्ने थलो बनाएको छ। सरकारी अस्पतालहरु सुक्दै जाने र प्राइभेट संस्थाहरुमा मेडिकल इथिक्स भन्दा बढी व्यापार हुँदैगएको पनि धेरैले अनुभव गर्दै आएको कुरा हो। साथै विश्वव्यापीकरणले गर्दा विरामीले पनि अन्तराष्ट्रियस्तरको उपचार सेवा भोगेर, देखेर आएको हुनाले त्यही अनुसारको आश गर्दै जान थाले, जुन बढ्दो आश अनुरुप न त सरकारी स्वास्थ्य संस्थाको सुधार भयो न त नाफामुखी प्राइभेट अस्पतालहरुले त्यो दिन सके। यसरी वास्तविकता र आशा बीचको बढ्दो खाडलका कारण स्वास्थ्यकर्मी र सेवाग्राहीबीच 'अविश्वास' ले घर जमाउन पायो, जुन फितलो कानुन, निरिह सुरक्षा प्रणालीका कारण दिन प्रतिदिन ठुलो हुँदै गैरहेको छ।

अब समाधान के हो त?
कानुन बलियो हुनुपर्छ। कतिलाई लापरवाहीको क्षतिपूर्ति डाक्टरबाट तिराउने नियमको विरोध हुँदा 'डाक्टरहरुले लापरवाही' गरेर छुट पाउनुपर्छ भन्ने माग गरेको बुझेका होलान्। तर त्यसो बिल्कुलै हैन। भिडतन्त्र मौलाएको अहिलेको अवस्थामा आफन्त र वरपरको भिड, राजनीतिक कार्यकर्ता, सतही पत्रकारहरुले लापरवाही हो भनेर निर्णय सुनाएर उपचार गर्ने डाक्टरलाई जबरजस्ती क्षतिपूर्ती तिर्न लगायो भने? के सरकारले अघी बढेर तिनलाई न्याय दिलाउन सक्छ? अहिलेसम्मको अवस्था हेर्दा सक्दैन।
अहिलेसम्म यस्ता घटनाहरु साम्य पार्न प्राइभेट अस्पतालहरुले विना कुनै अनुसन्धान केही लाख बुझाउने चलन छ। के अब यो नियम ल्याएर अब भिडलाई साम्य पार्न दिईने केही लाख पनि डाक्टरबाट तिराएर प्राइभेट अस्पतालका संचालकहरु आफू चोखिन थालेका त हैनन्? यसको लागि नेताहरुमा उनीहरुको पहुँचको गलत फाईदा लिईरहेका त हैनन्?
अर्को कुरा विरामीको उपचारमा डाक्टर मात्र संलग्न हुँदैन, यो एउटा 'टिमवर्क' हो। अप्रेशन गर्दा सर्जनले अप्रेशन गर्छ, तर उसलाई बेहोस बनाउने अर्को डाक्टर हुन्छ, अप्रेशनमा साथ दिने नर्स हुन्छन्, अप्रेशन पछी हेर्ने, औषधी दिने अरु स्टाफ हुन्छन्, अप्रेशन गर्दा प्रयोग गरिने औजारहरु सफा राख्ने, निर्मलिकरण गर्ने अरु स्टाफ हुन्छन्, वार्ड सफा गर्ने, विरामीको लुगा सफा गर्ने अरु स्टाफ हुन्छन्। लापरवाही जहाँ जसको हातबाट नि भएको हुनसक्छ। अनि दोषी चै अप्रेशन गर्ने डाक्टर मात्रै? औजार सफा नभएर, वार्ड सफा नभएर विरामीको घाऊ पाके, विरामीलाई 'सेप्सिस' भए पनि डाक्टर नै दोषी? अब डाक्टरले नै वार्ड सरसफाइ गर्ने, लुगा धुने, औजार धुने, औषधी दिने सबै काम गर्नुपर्ने भएको हो त?

हाम्रो माग के हो?
बुँदागतरुपमा भन्दा
  • जस्तोसुकै घटनापछी पनि डाक्टर, नर्स लगायत कुनै पनि ड्युटिमा रहेको स्वास्थ्यकर्मीलाई हातपात गर्ने, गालीगलौज गर्ने, अस्पताल वा स्वास्थ्यसंस्थालाई तोडफोड गर्ने जो कोहीलाई पनि प्रहरीले धरौटीमा पनि नछुट्ट्ने गरी तुरुन्त नियन्त्रणमा लिई कानुनी प्रकृया (Jail without Bail) चलाऊनुपर्छ।
  • विरामी वा आफन्तलाई शंका लागेका घटनाहरुको विज्ञ टोलीद्वारा निस्पक्ष छानवीन हुनुपर्छ, मृत्‍यु भएको हो भने पोस्टमार्टम हुनुपर्छ, वैज्ञानिक अनुसन्धान हुनुपर्छ, घटनाक्रमको छानवीन हुनुपर्छ, कानुनी प्रकृया शुरु गरिनुपर्छ। प्रशासनिक, राजनीतिक मान्छे बसेर मेडिकल लापरवाहीको सहि अनुसन्धान हुँदैन, पत्ता पनि लाग्दैन।
  • त्यसरी विज्ञहरुको टोलीले प्रमाणित गरेको लापरवाहीमा कानुनले तोकेको सजाय भोग्न जो कोही स्वास्थ्यकर्मी पनि तयार हुनुपर्छ र छन् पनि, त्यसमा कुनै शंका छैन। सजाय भनेको दोषी तयार भएपनी नभए पनि भोग्नैपर्छ।


स्वास्थ्य संवेदनशील क्षेत्र हो भने डाक्टर र स्वास्थ्यकर्मीले मात्र हैन कि सबैले यसलाई संवेदनशील मान्नुपर्‍यो र व्यवहारमा देखाउनुपर्‍यो। हामीलाई भगवान नबनाउनुस् तर मान्छे भएर सुरक्षित वातावरणमा काम गर्न दिनुहोस्।
बाँकी पढ्नुहोस् >>