Tuesday, March 20, 2018

'रेम्बो' अफ नेपाल


'रेम्बो' नाम त धेरैले सुन्नुभएको होला, कतिले फिल्म पनि हेर्नुभएको होला। आज शहर (भरतपुर महानगरपालिका) बाट गाँउ (प्युठान नगरपालिका- नेपालका धेरै ठाउँ नगरपालिका भनिए पनि सुविधाको हिसाबले गाँउ नै छन्) हिंड्न लाग्दा आफूलाई मिसनमा हिंड्न लागेको 'रेम्बो' जस्तै फिलिङ आईरहेको छ। कसरी?

'रेम्बो' एउटा योद्धा हो, कमाण्डो हो, उसको सबै कथा विकट, अफ्ठ्यारा युद्दक्षेत्रहरुकै वरीपरी घुम्छ। उ आफ्ना थोरै सहयोगीलाई लिएर आफ्ना हतियारहरु आँफैं बोकेर शत्रुको फौजसँग लड्न 'वार जोन'को 'ग्राउन्ड जिरो'मा घुस्छ र आफ्नो गुरिल्ला युद्दको कला देखाउछ। 'रेम्बो' खासमा गुरिल्ला युद्दको विशेषज्ञ हो, विकटमा, दुर्गममा, अभावमा कसरी 'सर्भाइभ' गर्ने, त्यही उपलब्ध साधनस्रोतबाट कसरी माटो सुहाउदो हतियार बनाउने,  कसरी आफूले सोचेको परीणाम निकाल्ने भनेर उ पोख्त छ, त्यसको लागि चाहिने उसका हतियार उ आँफैंले छान्छ र आँफैंले बोक्छ।

मैले पहिले देखी नै भन्दै आएको छु, हाम्रा दुर्गमका जिल्ला अस्पतालहरु युद्दक्षेत्रका 'ग्राउण्ड जिरो' हुन्। जहाँ एउटा बम पड्किदैन नत्र अभाव, रोग, गरिवी सबैले चारैतिरबाट आक्रमण गरिरहेका हुन्छन्। अझ जसोतसो अप्रेशन सेवा शुरु भएका जिल्ला अस्पतालहरुमा आक्रमण गर्ने शत्रु झन बढी हुन्छन्। अप्रेशन 'हुन्छ' भनौं भने बेहोस गराउने मेसिन छैन, अक्सिजनकै अभाव हुन्छ, कुनै कुनै अप्रेशन मात्र गर्न सकिन्छ, "हुँदैंन बाहिर जाउ" भन्यो भने "पैसा छैन, सक्दैनौं, मरे यही मर्छौं" भन्दिन्छन्, सिधै। अर्थात लड्नुपर्ने शत्रुहरु धेरै हुन्छन्। तर 'ग्राउण्ड जिरो'मा बंकर खोलेर आर्मी जसरी स्वास्थ्यकर्मी पठाएको सरकारले तिनलाई चाहिने गोली गठ्ठा, हतियार भने खासै पठाएको हुँदैन; बंकर पनि वर्षौं पुराना भत्किन लागेका, गोली पनि ओस्सेका, ती पनि थोरै; अचेलका अत्याधुनिक शत्रुसँग लड्न चाहिने कतिपय इमर्जेन्सी गोली त पूरै 'नगरपालिका' भरीका फार्मेसी खोजे पनि भेटिन्नन्; आफ्नै फार्मेसीमा गोली, बारुद मगाउन सरकारी कामकारवाहीको आफ्नै ढिलासुस्ती; बन्दुक, तोप पनि खिया लागेका, गोली हान्दा हान्दै बिग्रियो भने बनाउन फेरी उही 'महानगरपालिका'लाई गुहार्नुपर्ने।

आर्मी ज्यान, खटाइएपछी त जानै पर्‍यो' तर ज्ञान, सीप र मनले जागिरको लागि मात्र जान भने नमान्ने रहेछ। आफू योद्दा भएपछी आफ्नै आँखा अगाडि शत्रु (रोग)ले पीडा दिई दिई आफ्न दाजुभाइ दिदीबैनीलाई मारेको देख्दा मनै कुडिंने रैछ। पढेको छ यो औषधी दिनुपर्छ भनी, सिकेको छ यो सामानले यसरी उपचार गर्नुपर्छ भनी, तर विडम्बना न औषधी छ न सामान। अनी आफू नि 'रेम्बो' बन्नुपरिहाल्यो, आफूलाई त्यो दुर्गमको युद्द क्षेत्रमा बाँच्न र त्यहाँ दु:खमा फसेकाहरुलाई बचाउन आफूलाई चाहिने सामान गोला बारुद आँफैंले बोकेर लग्नुपर्यो। ज्यान जोगाउन चाहिने इमर्जेन्सी औषधी, सामाग्री, जटिल अप्रेशन गर्दा चाहिनसक्ने सामानहरु आँफैंले बोकेर हिंड्नुपर्छ।  के थाहा 'ग्राउण्ड जिरो' मा पुगेपछी चारैतिरबाट शत्रुले आक्रमण गरेपछी बाँच्न र बचाउन के के चाहिन्छ के के? आफू सकेसम्म पूर्व तयारी गरेर लड्न निस्कनुपर्‍यो नि, आखिर कसैको जिन्दगीको सवाल छ।

मुटु चल्न बन्द हुँदा दिइने औषधी 'एड्रेनालिन', रोग शरीर भरी फैलिएर रक्तचाप न्युन हुँदा दिइने 'नर एड्रेनालिन, डोपामिन, डोब्युटामिन' मेरो लागि 'बुलेट' हुन्, विभिन्न कारणले विरामीको सास रोकिन लाग्दा घाँटीबाट छिराएर श्वासनलीमा पुर्याएर कृत्रिम सास दिने 'इन्डोट्राकिएल ट्युब' मेरो लागि 'एके-४७' हो। मुटुको धड्कन एक्कासी गडबड भएर ज्यानै जान लाग्दा दिईने 'एडोनोसिन' मेरो लागि 'ग्रिनेड' हो। छाती भरी पिप बोकेर छट्पटाइ रहेको बेला छातीमा हाल्ने पाइप चेस्ट ट्युब मेरो लागि 'रेम्बो नाइफ' हो।

एकपटक सोधी हेर्नुस्, दुर्गमका जिल्ला अस्पतालहरुमा काम गर्ने जीपीहरुले धेरैले मैले जस्तै अत्यावश्यक औषधी, सामाग्रीहरु आँफैं नै बोकेर अस्पतालसम्म लाने गर्छन्। यसमा निक साइमन्स इन्स्टिच्युट(NSI)को 'जीपी फन्ड' भन्ने कोषले पनि धेरै सहयोग गरेको छ। कति बेला अत्यावश्यक औषधी नि:शुल्क दिने संस्थाहरु नि छन्। मैले कैलेकाही 'विपन्न विरामी सहयोग कोष'को रकमले नि यस्ता औषधीहरु किनेर लाने गर्छु। अनी सब गोली गठ्ठा बारुद बन्दुक बोकेर युद्द भूमीमा हिंड्न् लाग्दा आफूलाई गुरिल्ला युद्दको मिसनमा हिंड्न लागेको कमाण्डो झैं लाग्ने रैछ।

अब थाहा पाउनुभो होला म किन 'रेम्बो' फिलिङ गर्दैछु भनेर।

यो लेख दिलोज्यान दिएर देशका 'वार जोन'को 'ग्राउण जिरो'मा खटिएका जीपी साथीहरु, मेडिकल अफिसरहरु, अन्य सबै स्तरका स्वास्थ्यकर्मीहरुलाई र तिनलाई सहयोग गर्ने संघसंस्थाहरुलाई समर्पित गर्छु।


यु अल आर द 'रेम्बो' अफ नेपाल।
बाँकी पढ्नुहोस् >>

जीवनको ज्ञान ओपिडीमा पाईन्छ

Pic: from Google.
नी ७५ वर्षकी बुढी आमा थिईन्, उनका खुट्टाका औंलाहरु सुकेर मरेर कालो भएका थिए। यस भन्दा अघी पनि देब्रे खुट्टाका दुई औंला मरेर काटिसकेको रहेछ। अहिले फेरी रोग बढेर माथि माथि सरेको र अरु औंलाहरु पनि मर्न थालेका रहेछन्। ती मरेर कालो भएका र कुहिएर गनाउन थालेका औंलाहरुले उनलाई खुब पीडा दिने रहेछ। उनलाई आफन्तले बोकेर अस्पताल ल्याएका थिए।

उनको रोगलाई मेडिकल भाषामा बर्जर डिजिज (Buerger’s Disease) वा थ्रोम्बोएन्जाइटीस अब्लिटरेन्स (Thromboangitis Obliterans) भनिन्छ। यसमा विरामीका साना र मध्यमखाले रक्तनलीहरुको इन्फ्लामेसन हुन्छ र ती रक्तनलीहरुले रगत पुर्याउने शरीरका अंगहरु बिस्तारै रगत, पोषण, अक्सिजन नपाएर मर्न थाल्छन्। चुरोट, बिंडी बढी सेवन गर्नेहरुमा यो रोग धेरै देखिने गर्छ।

यहाँ कुरा उनको रोग भन्दा नि उनीबाट पाइएको जीवन ज्ञानको बारेमा लेख्न खोज्दैछु।

मेडिकल उपचारको हिसाबले उनको रोग जहाँसम्म फैलिएको हो त्यहाँसम्मका खुट्टाहरु काट्नुपर्थ्यो, उनको रोग घुँडासम्म फैलिएकोले घुँडाभन्दा माथिसम्म खुट्टा काट्नुपर्थ्यो। तर मेडिकल हिसाबले जे ठीक हो, जे गर्नुपर्छ भनेर गाइडलाइन निर्देशिकाहरुमा लेखेको छ हरेक विरामीमा त्यही गरिनुपर्छ भन्ने छ? छैन र त्यो गर्न जबर्जस्ती गर्नु पनि हुन्न। रोग र अवस्थाका बारेमा विरामी र उनका आफन्तलाई जानकारी दिने र सहि निर्णय लिनका लागि उनीहरुलाई सहयोग गर्ने हो, न कि आफ्नो निर्णय उनीहरुलाई थोपर्ने, जसरी नि गर भन्ने, नगरे "कस्ता खालका आफन्त रहेछन् वा कस्तो नबुझ्ने मान्छे रहेछ" भनेर जजमेन्टल हुने। उनले पनि त्यस्तै निर्णय लिईन्।

"यो उमेरमा दुवै खुट्टा काटेर मलाई अझ कती वर्ष बाँच्नु छ र? खुट्टा काट्दाको दु:ख, त्यसपछीको दु:ख, त्यो भन्दा त मेरो यो दुखाइ कम गरिदेउ, यो गन्हाउने कम गरिदेउ, त्यत्ती भए म शान्तिले मर्न सक्थें।"

यहाँ नेर उनका शब्दहरुले अहिलेको मेडिकल क्षेत्रले बिर्सन लागेको स्वास्थ्यकर्मीहरुको असली कर्तव्यको बारेमा याद दिलाइदियो। हिजोआज हामी रोग निको पार्ने, जसरी नि ज्यान बचाउने भन्नेमा मात्र केन्द्रित हुन थालेका छौं। हुन त स्वास्थ्यकर्मीले ज्यान नबचाए के मार्ने त भनेर सिधा प्रश्न नि मनमा उठ्ला। तर मैले भन्न खोजेको क्वालिटी अफ लाइफ अर्थात जीवनको स्तर हो। यी बुढी आमाले खोजेको पनि त्यही हो। उनले पनि दुवै खुट्टा काटिएर केही वर्ष बाँच्नु भन्दा रोगको दुखाइ पीडा विनाको केही महिनाको जीवन रोज्न निको मानिन्। त्यो उनको र परिवारको पनि निर्णय थियो। हामी रोग निको पार्न सके मात्र "मैले केही गरें, त्यो डाक्टरले केही गर्‍यो" नभए असफल भयो भन्ने सोच्छौं। निको पार्न नसक्ने गरी बढेका, बिग्रेका रोग र अवस्थाहरुमा "अब केही गर्न सकिन्न, घर लानुस्" भन्छौं। हो हामीले बिर्सन लागेको कुरा यहीं छ, मेडिसिन रोग निको पार्नका लागि मात्र हैन, मान्छेको पीडा कम गर्नको लागि हो।

कसैलाई निको पार्न नसकिने रोग लाग्दैमा मेडिसिन उसको लागि बेकार भयो भन्ने हुँदैन। जबसम्म उसको जीवन रहन्छ, त्यसलाई पीडामुक्त बनाउने र मृत्‍युको बेलामा पनि सजिलोगरी जान दिने पनि मेडिसिन नै हो। किनभने मृत्‍यु अन्तिम सत्य हो, विज्ञानको कुनै पनि विकासले त्यसलाई बदल्न सक्दैन।

म निराशावादी भएको हैन मात्र जीवनको शास्वत सत्य कति कडा र रुखो हुन्छ भनेर याद दिलाएको मात्रै हो।

मैले पाएका ज्ञान:
  • ·         जिन्दगीलाई यति वर्ष, उती वर्षमा गन्ने हैन कि रमाइला र यादगार पलहरुमा गन्नुपर्छ। आखिर अन्त्यमा रहने त सम्झना र तिनले दिने खुसीहरु नै हुन्। 
  • ·      चिकित्सा विज्ञान मृत्‍युलाई जित्न हैन कि मान्छेको पीडालाई कम गर्न केन्द्रीत हुनुपर्छ। रोग निको पार्ने मात्र हैन कि मान्छेलाई शारीरिक, मानसिकरुपमा स्वस्थ रहन सहयोग गर्नुपर्छ।

Medicine is not always to cure the disease but should always be to reduce the sufferings.


बाँकी पढ्नुहोस् >>