यी पुराना कथाहरु सम्झदा विरामीको ज्यान जोगाउन कति लडिएको थियो भन्ने याद आइरहेछ। विरामीको मृत्युमा डाक्टर र अस्पतालमाथी आक्रोशित भिड र माइक र क्यामरा मात्र बोकेका युट्युबकारहरुले आक्रमण गरेको देख्दा के डाक्टर लगायत स्वास्थ्यकर्मीहरुले त्यो तरिकाले काम गर्न सक्लान् र भन्ने लागिरहेको छ। डाक्टर र विरामी बीचको विश्वासको सम्बन्ध कायम राख्न गार्हो हुँदै गईरहेको जस्तो लागिरहेको छ।
"तपाईं जंगलमा हुनुहुन्छ, बाघ आयो, भाग्नलाई खोला तर्नुपर्छ, पौडी खेल्न आउदैंन, डुंगा छैन, खोलामा बाढि आएको छ। तपाईं के गर्नुहुन्छ? यो अवस्था हाम्रो लागि जंगलमा बाघ आएको जस्तै थियो।"
जिन्दगी एउटा युद्द हो, यसमा हर समय मृत्युसँग युद्द चलिनैरहेको हुन्छ। चिकित्सक भएको नाताले हामीले विरामीका यस्ता युद्दहरु नजिकबाट नियाल्नुपर्ने हुन्छ, कती समय जीवनले युद्द जितेको हुन्छ भने कती समय मृत्युले। जीवनले निकै अफ्ठ्यारो गरी जितेको यो जितको कथा शायद म कहिल्यै बिर्सन्न।
उनी प्युठानको दूर्गम ठाउँ अर्खाबाट आएकी थिईन्, नाकमा ठूलो बुलाकी लगाएकी उनको बोली पनि भिन्दै पाराको थियो। पेटमा जुम्ल्याहा बच्चा बोकेकी उनी सुत्केरी हुने मिती कटेकोले जिल्ला अस्पताल आएकी थिईन्। उनको प्रेसर पनि बढी थियो, पिसाबमा पनि थोरै प्रोटिन देखिएको थियो। मेडिकल भाषामा यसलाई प्री-एक्लाम्प्सिया (Pre-eclampsia) भनिन्छ, यो प्रसुतीको एउटा जटिल अवस्था हो। यो बढ्दै गएमा गर्भवतीलाई कम्पन हुने, बेहोस हुने अवस्था एक्लाप्सिया (Eclampsia) हुनसक्छ र आमा र बच्चा दूवैको ज्यानलाई खतरा हुनसक्छ। श्रीमान खाडी मुलुकमा भएकोले उनी भाई र नन्दसँग अस्पताल आएकी थिइन्। हामीले उनलाई र उनको भाईलाई उनको अवस्था, आइपर्नसक्ने जटिलता, गरिने उपचार विधी र सम्भावित सिजेरियन अप्रेसनको बारेमा भन्यौं। तर उनीहरुले सकेसम्म अप्रेसन नगर्ने भनेर भने।
गाँउघरतिर अझै पनि धेरैको के विश्वास छ भने अप्रेसन गरेपछी जिन्दगीभरलाई कमजोरी हुन्छ, काम गर्न, घाँसदाउरा गर्न सकिदैन, जुन एकदमै गलत हो। पर्याप्त चेतना र शिक्षाको अभावमा आवश्यक नै हुँदा पनि अप्रेसन गर्न मन्जुरी दिदैनन् र सानो भन्दा सानो अप्रेसन गरेको वर्षौंपछी पनि दुखाइ वा अन्य कुनै स्वास्थ्य समस्या भएमा त्यही अप्रेसनलाई दोष दिन्छन्। “मेरो १० वर्ष अघी मिनिल्याप गरेको थ्यो, त्यो घाऊ बिग्रियो होला” यस्तै यस्तै।
उनले अप्रेसन गर्न नमानेपछी हामीले अर्को दिन बिहानबाट व्यथा लगाउनका लागि औषधी ‘मिसोप्रोस्टोल’ राख्ने निधो गर्यौं, तर औषधी प्रयोग गर्नु अघी नै उनको व्यथा शुरु भएछ। हामीलाई बिहान खबर आयो, उनको व्यथा धेरै बढेको छ र सास फेर्न पनि गार्हो भईरहेको छ। जाँचेर हेर्दा पाठेघरको मुख ८ सेमी खुलिसकेको थियो, सास फेर्न गार्हो भएकोले बच्चा छिटो निकाल्नका लागि सलाइनबाट 'अक्सिटोसिन' औषधी प्रयोग गर्यौं। “अप्रेसन गर्नुपर्ने हुनसक्छ” भन्दा अझै पनि उनले मानिनन्। २.५ युनिट सकेर ५ युनिट लगाउदा पनि बच्चा नजन्मिएको र उनको सास बढ्दै गएको र अक्सिजनको मात्रा घट्दै गएकोले अप्रेसन बाहेक अरु विकल्प नरहेको उनको भाईलाई बतायौं, भाई त जसोतसो अप्रेसन गर्न राजी भए तर सास फुलेर गार्हो भईरहेकी उनी भने "नाइ म अप्रेसन चैं नगर्ने, कमजोरी हुन्छ" भन्दै थिई।
मेडिकल फिल्डमा यो एउटा गार्हो र दूविधाको अवस्था हो। उपचार गराउने नगराउने भन्ने अन्तिम निर्णय विरामीले लिन पाउछ त्यसलाई विरामीको स्वनिर्णयको अधिकार (Patient Autonomy) भनिन्छ। कुनै पनि वयस्क विरामीले सबै कुरा बुझेर, सोचेर विचारेर आफ्नो उपचार गराउदिन भनेर भन्छ भने स्वास्थ्यकर्मीले जबर्जस्ती गर्न पाउन्न। अब यो अवस्थामा उनले सबै कुरा बुझेर "अप्रेसन गराउन्न" भनिरहेकी थिईन् कि नबुझिकन? उनले जुन कारण र विश्वासले अप्रेसन गराउन्न भनिरहेकी थिईन्, के त्यो जायज कुरा थियो? फेरी यहाँ उनको आफ्नो मात्र ज्यानको सवाल थिएन, उनको पेटमा दुईटा बच्चा पनि थिए। उनीहरुको लागि के राम्रो हुन्थ्यो होला त? मेडिकल इथिक्समा अर्को महत्वपूर्ण कुरा भनेको उपचार पद्दतीले विरामीको फाईदा गर्छ गर्दैन, विरामीलाई हानी गर्छ गर्दैन (Beneficence र Non-maleficence) भन्ने कुरा पनि हुन्छ। यो अवस्थामा उनको मन्जुरी विना अप्रेसन गर्दा ठीक कि उनको निर्णय गर्ने अधिकारलाई स्वीकार गर्दै "ज्यानै गए पनि म अप्रेसन गर्न राजी छुइनँ" भन्ने मन्जुरीनामा लेखाएर चुपचाप बस्नु ठीक?
यो प्रश्नको जवाफ यही नै सहि भन्ने छैन। तर हामीले उनको मन्जुरी विना नै अप्रेसन गर्ने निधो गर्यौं। उनको भाईलाई सबै कुरा सम्झाएर, बुझाएर, “ज्यान बचाउनका लागि विरामीको मन्जुरी विना अप्रेसन गर्न लागिएको र पछी केही प्रश्न उठेमा आफूले उत्तर दिनेछु” भन्ने मन्जुरीनामा गराइ अप्रेसन कक्षमा लग्यौं। सिजेरियन अप्रेसनको लागि आधा जीउ बेहोस बनाउनलाई ढाडबाट सूई दिने बेला उनलाई "दुखाइ कम मात्र गर्ने हो" भनेर औषधी दियौं। हुन त उनी बढ्दो सास र घट्दो अक्सिजनका कारण धेरै कुरा गर्नसक्ने अवस्थामा नै थिईनन्। पहिलो बच्चा छोरी रहेछ, पेट भित्रै मरिसकेको थियो। दोस्रो बच्चा छोरा थियो, बाहिर निकाल्ने बित्तिकै "च्या च्या" गरेर रोयो। एउटा भए नि ज्यान बाँच्यो, हामी केही भए नि ढुक्क भयौं। अप्रेसन त सकियो तर आमाको अवस्था भने अझै पनि निकै नाजुक थियो। सासको दर प्रतिमिनेट ४० भन्दा बढी थियो, रगतमा अक्सिजनको मात्रा ६०-७०% थियो।
उनलाई आइसीयु अर्थात सघन उपचार कक्षमा राखेर उपचार गर्नुपर्ने थियो, जुन नजिक भनेको बुटवल, भैरहवा थियो। त्यहाँसम्म पुग्नका लागि धेरै अवरोधहरु थिए, एउटा त विरामीको अवस्था यति नाजुक थियो कि जती पनि उपचार जिल्ला अस्पतालमा चलिरहेको थियो, त्यो बन्द गरेर अक्सिजनको मात्र भरमा एम्बुलेन्समा हालेर पठाउदा ३-४ घण्टाको बाटोमा जे पनि हुनसक्थ्यो। अर्को रिफर नै गरिए पनि तुरुन्त नै आइसीयुमा बेड पाईन्छ वा आइसीयुको उपचार शुरु भईहाल्छ, ठूला अस्पतालका इमर्जेन्सीमा केस थन्किएर बस्नुपर्दैन भनेर भन्न सकिन्नथ्यो। प्रमुख अवरोध भनेर पैसाको थियो, आर्थिकरुपले विपन्न उनको प्युठानबाट निस्कने बित्तिकै ७-८ हजार एम्बुलेन्सको, इमर्जेन्सी, आइसीयुको डिपोजिट, औषधी आदी गरेर एकैपटक २५-३० हजार खर्च हुनेवाला थियो, अझ सरकारी अस्पताल वा मेडिकल कलेजमा बेड नपाएर प्राइभेट अस्पताल लैजानु पर्यो भने त यो खर्च झन लाखौंमा नपुग्ला भन्न सकिदैनथ्यो।
तपाईं जंगलमा हुनुहुन्छ, बाघ आयो, भाग्नलाई खोला तर्नुपर्छ, पौडी खेल्न आउदैंन, डुंगा छैन, खोलामा बाढि आएको छ। तपाईं के गर्नुहुन्छ? यो अवस्था हाम्रो लागि जंगलमा बाघ आएको जस्तै थियो। उनको रोग यती बढेको थियो कि न ‘साधारण’ जिल्ला अस्पतालले उनलाई धान्न सक्थ्यो, न उनलाई रिफर गरेर हाम्रा अक्सिजनको एउटा सिलिन्डर मात्र भएका एम्बुलेन्सहरुबाट सुविधासम्पन्न आइसीयु भएका अस्पतालहरुमा पुर्याउन सकिन्थ्यो, न उनीहरुसँग भएको केही हजार खर्चले त्यो उपचार किन्न सक्थ्यो। अत: हामीले बाघसँग जुध्ने निर्णय लियौं। उनका भाईलाई उनको अवस्थाको बारेमा, आउनसक्ने जटिलताको बारेमा, आइसीयु के हो, त्यहाँ लगियो भने उनको के उपचार गरिन्छ, के कती खर्च लाग्छ, हामीले यहाँ के सम्म गर्न खोजिरहेका छौं, किन गर्न खोजेका हौं, सबै सकेसम्म बुझ्ने भाषामा भन्यौं, एकपटक भन्दा नबुझेर पटकपटक भन्यौं। किन कि मृत्युसँगको यो युद्दमा सबै साथ हुनु जरुरी थियो।
धेरैलाई लाग्ला आइसीयुमा जादु हुन्छ, सिकिस्त विरामी आइसीयु छिरायो भने केही दिनमा तंग्रेर बाहिर निस्कन्छ। वास्तवमा त्यो गलत हो। आइसीयुमा जादु हैन विरामीको अवस्थाको राम्रो, लगातार र सुक्ष्म निरिक्षण हुन्छ, जसबाट जटिल विरामीको उपचार सम्भव हुन्छ, सिकिस्त विरामीलाई चाहिने पनि त्यही हो। हामी कति स्वास्थ्यकर्मीहरुले पनि यो कुरालाई गलत तरिकाले बुझेका हुन्छौं र विरामी, उनका आफन्तहरुलाई गलत तरिकाले बुझाईरहेका हुन्छौं जसले गर्दा उनीहरुको आशा पनि अव्यवहारिक बन्न पुग्छ। ठुलो अस्पताल लगेपछी सब निको हुन्छ, आइसीयु छिराएपछी सब ठीक हुन्छ, पैसा खर्चेपछी सब उपचार पाईन्छ, यस्तै यस्तै। हुन त हिजोआजको अस्पताल तोड्फोड र स्वास्थ्यकर्मीमाथिको हातपातको बढ्दो फेसनको समयमा "सकेसम्म रिफर गरेर आफ्नो टाउको बचाउ" भन्ने सोचका कारण पनि अलिकती जटिल हुने बित्तिकै, अलिकती बढी प्रश्न आउने बित्तिकै रिफर गरेर ‘डिफेन्सिभ मेडिसिन’ प्राक्टिस गर्ने चलन पनि बढ्दो छ। कुनै पनि स्वास्थ्यकर्मीले आफूले विरामी वा उनका आफन्तको ठाउँमा राखेर, तिनको गोजीलाई आफ्नो मानेर, तिनको समस्यालाई आफ्नो ठानेर अनि आफूसँग भएको स्वास्थ्य, रोग, जटिलताको ज्ञान, अस्पतालहरुमा पाइने सेवा, एम्बुलेन्समा हुने सेवा, लाग्ने खर्चको ज्ञानलाई मन्थन गरेर सुझाव दियो भने मात्र सहि सुझाव हुन्छ जस्तो लाग्छ। हुनेखाने विरामीको लागि त सिधै काठमाण्डौ वा विदेश पुग्न नि केही गार्हो नहोला, तर जसलाई बिहान बेलुका हातमुख जोड्न गार्हो छ, तिनलाई के गर्ने नि? तिनको सकेजती राम्रो, सहि उपचार पाउने अधिकार हुँदैन? तिनको बाच्ने अधिकार हुँदैन?
हामीले उनीहरुको सहमतिमा यो युद्द लड्ने निर्णय गर्यौं......