“डाक्टरहरुले मर्नै लागेको मेरो विरामीको छाती थिचेर मारिदिए। मैले मेरै आँखाले देखेको हुँ।“ यस्तो भनाइ विरामीका आफन्तहरुबाट कहिलेकाहीं नसुनिएको होइन। के डाक्टरहरुले साँच्चिकै छाती थिचेर विरामी मार्छन त? डाक्टरहरुबाट गल्ती नहुने होइन तर यस्तो हदैसम्मको दानवीय प्रवृतिका डाक्टर त सायदै हुन्छन् होला। त्यसो भए भएको के हो त? किन डाक्टरहरुले मर्न लागेको विरामीको छाती जोडजोडले थिच्छन्? त्यसो गर्दा अन्तिम अवस्थामा पुगेको विरामीलाई झन गाह्रों हुदैन?
के हो सिपीआर?
छाती थिच्ने त्यस्तो प्रक्रिया सिपीआर (कार्डियो पल्मोनरी रिसस्सीटेसन/ Cardiopulmonary Resuscitation)को एउटा भाग हो। यो प्रक्रियामा विरामीको छाती थिच्नुका साथै मुखमा मुख जोडेर वा मुखबाट स्वासनलीसम्म पुग्ने गरी पाइप हालेर स्वासप्रश्वास गराउने गरिन्छ।
किन गरिन्छ सिपीआर?
कुनै कारण वा रोगले गर्दा अचानक मुटु चल्न बन्द भएमा बाहिरबाट मुटु थिचेर रगत पम्प गराउनका लागि सिपीआर गर्ने गरिन्छ। यसले आफैं मुटुको संचालन शुरु गर्ने होइन कि मात्र आंशिक रुपमा रगतको संचालन गराएर मष्तिस्कमा रगत र अक्सिजनको मात्रा पुर् याइ अन्य उपचार उपलब्ध नभएसम्म मष्तिस्कलाई बचाइराख्ने प्रयास गर्छ। मष्तिस्कमा ४ मिनेटसम्म रगत नपुगेमा त्यसका कोषहरु मर्न थाल्छन् र ७ मिनेटसम्म पनि नपुगेमा पूर्णरुपमा मर्छन्। त्यसैले मष्तिस्कलाई बचाइराख्न र डिफिब्रीलेसन (Defibrillation) वा मुटुको चाल ठिक गर्न दिइने इलेक्ट्रिक सक का लागि मुटुलाई तयार पार्नलाई सिपीआर गरिन्छ।
डिफिब्रीलेसन मुटुका चालका केहि खराबीहरु जस्तै भेन्ट्रिकुलर फिब्रीलेसन (Ventricular fibrillation), पल्सलेस भेन्ट्रिकुलर ट्याकिकार्डिया (Pulseless Ventricular Tachycardia) आदीमा मात्र उपयोगी हुन्छन्। डिफिब्रीलेसन उपयोगी नहुने मुटुको चालका खराबीहरु जस्तै असिस्टोल (Asystole), पल्सलेस इलेक्ट्रिकल एक्टिभिटी (Pulseless Electrical Activity) लाई सिपीआरले डिफिब्रीलेसन उपयोगी हुने चालहरुमा परिवर्तन गर्नसक्ने सम्भावना हुन्छ। त्यसैले त्यस्ता मुटुका चालका खराबीहरुमा सिपीआर उपयोगी हुन्छ।
सिपीआर कसरी गरिन्छ?
छाती थिच्ने प्रक्रिया कम्तिमा १ मिनेटमा १०० पटक सम्म गर्नुपर्ने हुन्छ र यो र कृत्रिम स्वासप्रश्वासको प्रक्रियाको रेसियो वयस्कमा ३०:२ को हुनुपर्छ। त्यस्तै छाती थिच्दा वयस्क र केटाकेटीहरुमा करिब ५ सेमी र नवजातहरुमा करिब ४ सेमी थिचिनुपर्छ। वयस्कमा गर्दा दुबै हातको प्रयोग, केटाकेटीहरुमा गर्दा एउटा हातको मात्र प्रयोग र नवजातहरुमा गर्दा दुई औंलाको मात्र प्रयोग गर्ने गर्नुपर्छ।
सन् २०१० मा अमेरिकन हार्ट एसोसिएसन (American Heart Association)ले सिपीआर सम्बन्धी आफ्नो गाईडलाइनहरुमा केहि परिवर्तन गरेको छ। सिपीआरमा गर्नुपर्ने प्रक्रियाहरुको क्रमलाई परिवर्तन गर्दै नवजात शिशुहरुमा बाहेक अन्य सबै उमेर समूहमा एयर वे (Airway), ब्रिदिङ (Breathing) र चेष्ट कम्प्रेसन (Chest compression) बाट चेष्ट कम्प्रेसन (Chest compression), एयर वे (Airway) र ब्रिदिङ (Breathing) बनाएको छ।
कम्प्रेसन अन्लि सिपीआर (Compression only CPR/ छाती थिचेर मात्र गरिने सिपीआर)
यो सिपीआरको परम्परागत तरिका भन्दा केहि फरक छ। यसमा विरामीको छाती थिच्ने काम १ मिनेटमा १०० पटकसम्म गरिन्छ तर कृत्रिम स्वासप्रश्वास भने दिइदैन। तालीम नपाएका आम मानिसहरुको लागि तयार पारिएको यस प्रक्रियाले आवश्यक पर्दा सिपीआर गर्न उनीहरुलाई सजिलो बनाइदिएको छ।
सिपीआर प्रत्येकले थाहा पाउनैपर्ने र सिक्नैपर्ने इमरजेन्सी विधि हो। यसले मुटु अचानक बन्द भएर हुने मृत्युहरुलाई केहि कम गर्न सहयोग पुग्छ।
सिपीआरको प्रभावकारिता वास्तविकतामा र पर्दामा
सिपीआर गरेर मात्रै विरामी पूर्ण रुपमा ठिक हुने धेरै कम मात्र हुन्छ। सिपीआरको उदेस्य विरामीको मुटुलाई पहिलेको जस्तै पूर्णरुपमा सामान्य अवस्थामा ल्याउनु होइन कि अन्य उपचार पद्धतीहरु (Advanced Life Supports) उपलब्ध नभएसम्म रगतको संचालन कायम राख्दै मष्तिस्क र शरीरलाई बचाएर राख्नु हो। सिपीआर पाएका करिब सय विरामीहरुमा जम्मा ५-१० जना बाँच्न सफल हुन्छन्। अर्को एउटा अध्ययनमा सिपीआर पाएका करिब १५% विरामी अस्पतालबाट डिस्चार्ज भएर घर जान सफल भएको देखिएको छ। तर अस्पताल बाहिरको अवस्थामा गरिने सिपीआरको भन्दा अस्पतालमा भर्ना गरिएका विरामीहरुमा गरिने सिपीआरको परिणाम नराम्रो भने पक्कै हुन्छ। किनभने अस्पतालमा गरिने सिपीआर पाउने विरामीहरु प्राय: जटिल रोगहरु र अवस्थाहरु भएका हुन्छन्।
सिनेमा र टिभी सिरियलहरुमा सिपीआरलाई बढी नै प्रभावकारी देखाइने गरेको पाइन्छ। साथै सिपीआर गर्दा हात कुइनामा बंगाउने गरेको देखाइन्छ, जुन ठिक तरिकाको सिपीआर होइन। यसले गर्दा एकातिर आममानिसहरुलाई सिपीआरप्रति बढी नै आशावादी बनाइदिन्छ भने अर्कोतिर सिपीआर गर्ने गलत तरिका पनि सिकाइरहेको हुन्छ।
र अन्त्यमा,
यो लेखको शुरुमा भनिएको कुरा डाक्टरले विरामीका परिवारलाई सिपीआर विधि र यसका प्रक्रियाहरुको बारे राम्रो तरिकाले बुझाउन नसक्नुको परिणाम हो। अन्य उपचारमा जस्तै यसमा पनि विरामी र उसको परिवारलाई यस बारेमा पहिले नै राम्रोसँग जानकारी दिनुपर्छ। अझ विरामीको अवस्था जटिल र अन्तिम तिर हुने भएकोले विरामीका परिवारलाई यसबारे बुझ्ने भाषामा जानकारी दिनु अत्यन्त जरुरी हुन्छ। यो प्रक्रिया के हो, यो गर्नुको कारण के हो, यसको फाइदा, बेफाइदा आदी बारे पहिले नै छलफल गरिनुपर्छ। अस्पताल बाहिर गर्नुपर्ने इमरजेन्सी अवस्थाहरुमा यसो गर्न सम्भव नहुनसक्छ तर अस्पतालमा भर्ना गरिएका विरामीहरु, जसमा सिपीआर गर्नुपर्ने अवस्था आउनसक्छ, उनीहरुसँग यसबारे पहिले नै सल्लाह गरिनुपर्छ।
स्रोतहरु:-
1. Cardiopulmonary resuscitation
http://en.wikipedia.org/wiki/Cardiopulmonary_resuscitation
2. CPR survival in the Hospital setting
http://www.eperc.mcw.edu/fastFact/ff_179.htm
3. Cardiopulmonary resuscitation on Television- Miracles and Misinformation
http://www.nejm.org/doi/full/10.1056/NEJM199606133342406
4. Public Expectations of CPR Outcome: We Can't Just Blame TV
http://emergency-medicine.jwatch.org/cgi/content/full/2000/401/22
5. Lack of CPR education risks lives
http://www.suite101.com/content/lack-of-cpr-education-risks-lives-a41829
2. CPR survival in the Hospital setting
http://www.eperc.mcw.edu/fastFact/ff_179.htm
3. Cardiopulmonary resuscitation on Television- Miracles and Misinformation
http://www.nejm.org/doi/full/10.1056/NEJM199606133342406
4. Public Expectations of CPR Outcome: We Can't Just Blame TV
http://emergency-medicine.jwatch.org/cgi/content/full/2000/401/22
5. Lack of CPR education risks lives
http://www.suite101.com/content/lack-of-cpr-education-risks-lives-a41829