Saturday, June 25, 2011

ढाडको पानीको जाँच (Cerebro-Spinal Fluid Examination)


चिकित्सकहरुले कहिलेकाहि विरामीको ढाडबाट पानी निकालेर जाँच्नुपर्ने भनेर भनेको सुन्नभएको होला। तपाईहरुलाई अचम्म लाग्नसक्छ ढाडबाट कस्तो पानी निकाल्ने हो भनेर। आज म यहि जाँचका बारेमा केहि जानकारी दिने प्रयास गर्दैछु।
यो जाँचलाई मेडिकल भाषामा लम्बर पंचर (Lumbar Puncture)वा सी एस एफ (Cerebro-Spinal Fluid) जाँच भनिन्छ।

लम्बर पंचर (Lumbar Puncture) भनेको के हो? 
यो मेरुदण्डको तल्लो भाग, जसलाई लम्बर रिजन भनिन्छ, मा सुईको सहायताले घोचेर त्यसभित्र भएको पानी अर्थात् सेरब्रो स्पाइनल फ्लुड (Cerebrospinal fluid) निकाल्ने प्रक्रिया हो। उस्ताउस्तै लाग्ने भएपनि छातीबाट पानी निकाल्ने अर्थात् प्लुरल ट्यापिङ (Pleural Tapping)भन्दा यो फरक जाँच हो।

सेरेब्रो स्पाइनल फ्लुड भनेको के हो? 
हाम्रो केन्द्रिय स्नायु प्रणाली (Central Nervous System), मष्तिस्क र सुषुम्नालाई सुरक्षाका लागि बाहिरबाट तीन तह भएको एउटा झिल्लीले ढाकेको हुन्छ, जसलाई मेनिन्जिज (Meninges) भनिन्छ। त्यसैको इन्फ्लामेसनलाई मेनिन्जाइटिस भनिन्छ। हेर्नुहोस्- http://myhealthynepal.blogspot.com/2011/04/itis.html
उक्त मेनिन्जिजका तहहरु भित्र एक प्रकारको तरल पदार्थ हुन्छ, जसलाई सेरेब्रो स्पाइनल फ्लुड भनिन्छ।

किन गरिन्छ लम्बर पंचर?
प्राय: जसो यो सेरेब्रो स्पाइनल फ्लुड निकालेर जाँच्नका लागि गरिन्छ। मेनिन्जाइटिस, इन्सेफलाइटिस जस्ता मष्तिस्कका संक्रमणहरु, जीबीएस (GBS), मल्टिपल स्क्लेरोसिस्(Multiple sclerosis) जस्ता केन्द्रिय स्नायु प्रणालीका रोगहरु पत्ता लगाउन र तीनका उपचारमा सी एस एफको जाँच अत्यन्त जरुरी हुन्छ। त्यस्तै यसको जाँचबाट मष्तिस्कको क्यान्सरहरु, मष्तिस्क वरिपरिको रगतका नलीहरु फुटेर रगत बग्ने रोग (सब एराक्नोएड हेमोरेज/Sub Arachnoid Hemorrhage वा एस ए एच) का बारेमा पनि महत्वपूर्ण जानकारी पाउन सकिन्छ।
यी त भए रोगहरुका बारेमा जानकारी लिन गरिने कारणहरु। तर यो प्रक्रिया उपचारका लागि पनि गर्ने गरिन्छ। जस्तो बच्चा निकाल्नका लागि गरिने अप्रेशन (सीएस/CS) गर्दा प्राय: ढाडभन्दा मुनि बेहोस बनाएर गर्ने गरिन्छ। यसको लागि लम्बर पंचर गरेर मेनिन्जिजका बीचमा बेहोस बनाउने औषधी हाल्ने गरिन्छ, जसले गर्दा त्यो भागभन्दा मुनिको भाग मात्र बेहोस हुने गर्छ।
त्यस्तै मेनिन्जिजको बीचको उक्त ठाँउमा डाइ/कन्ट्रास्ट हालेर माएलोग्राफी (Myelography), एक प्रकारको जाँच गर्ने गरिन्छ।

यो जाँच कसरी गरिन्छ?
यो जाँच प्राय: इमरजेन्सी वा वार्डमा गर्ने गरिन्छ। चिकित्सकले तपाईंलाई वा तपाईंका नजिकका आफन्तलाई यो जाँच किन गर्न लागिएको हो भनेर जानकारी दिन्छन्।

यो जाँच गर्दा तपाईलाई समतल सतहको बेडमा देब्रे कोल्टे पारेर सुताइन्छ र खुट्टा खुम्चाएर छातिसम्म ल्याउन लगाइन्छ। यसो गर्दा मेरुदण्डहरु बीचका खाली भागहरु खुल्न जान्छ, जसले गर्दा लम्बर पंचरका लागि सूई छिराउन सजिलो हुन्छ।

त्यसपछि सूई छिराउने स्थान (लम्बर भर्टिबा/Lumbar vertebrae, तेस्रो र चौथोको बीचमा र त्यसको वरिपरि)लाई सफा गरेर लाटो बनाउने औषधी लिग्नोकेन लगाइन्छ। अनि लम्बर पंचर निडल, जुन अरु सूईभन्दा अलि लामो हुन्छ, ती मेरुदण्डहरुका बीचबाट छिराएर सीएसएफ हुने स्थानसम्म पुर्याइन्छ। यसो गर्दा कहिलेकाहि त्यो ठाँउमा भएका स्नायु, नसाहरुलाई लाग्नसक्ने भएकोले खुट्टातिर झमझमाउने वा दुख्ने हुनसक्छ।

सीएसएफ भएको स्थानमा सूई पुगेपछि त्यसबाट विस्तारै सीएसएफ बग्न थाल्छ, जुन जाँचका लागि प्राय गरेर तीनवटा भाँडाहरुमा जम्मा गरिन्छ। त्यसपछि सूईलाई झिकेर उक्त स्थानमा सानो ब्यान्डेज लगाइन्छ जुन करिब २४ घण्टापछि निकाल्न सकिन्छ।
यो जाँचमा साधारणतया ३० देखि ४५ मिनेट लाग्नसक्छ।


यो जाँच प्रक्रियाका कारण के के समस्याहरु हुन सक्छन्? 

टाउको दुख्ने (Post LP headache/पोष्ट एलपी हेडएक) 
यो समस्या करिब ३०%मा देखिने गर्छ। यो समस्या कम गर्नका लागि एलपी गरीसकेपछि आधा-एक घण्टासम्म समतल बेडमा सुत्ने, प्रशस्त मात्रामा झोलपदार्थ, पानी पिउने गर्नुपर्छ। धेरै नै टाउको दुख्यो भने चिकित्सकको सल्लाहमा दुखाइको औषधी खान सकिन्छ। कहिलेकाही एलपी गरेको ठाँउबाट सेरेब्रो स्पाइनल फ्लुड लिक भएमा, निरन्तर बगीरहेमा पनि लगातार टाउको दुखिरहने हुनसक्छ। त्यसो भएमा चिकित्सकलाई जानकारी गराउनुपर्छ।

ढाड र त्यसभन्दा तलको भागहरुमा दुखाइ
एलपी गर्दा सूई छिराउने स्थान तपाईंको सुषुम्ना भन्दा तल रहेको हुन्छ। त्यसैले प्रत्यक्ष रुपमा सुषुम्नालाई सूईले असर पार्ने सम्भावना साह्रैं कम रहन्छ। तर सुषुम्नाका तल्लो भागबाट निस्किएका नसाहरुको सम्पर्कमा सूई आउनसक्छ, जसले गर्दा ढाड र तलको भागहरुमा झमझमाउने र दुख्ने हुनसक्छ। यी असरहरु प्राय: गरेर केहि समयका लागि मात्र हुन्छन्।

एलपी गरेको ठाउँबाट रगत बग्ने समस्या 
विरामीलाई रगत जम्ने सम्बन्धी रोग (Bleeding Disorder/ब्लिडिङ डिसअर्डर) छ भने यस्तो समस्या हुन सक्छ। त्यसैले आफुलाई त्यस्तो रोग पहिले देखि भएनभएको जानकारी एलपी गर्न अघि चिकित्सकलाई गराउनुपर्छ।

ब्रेन स्टेम हर्निएसन(Brain-stem herniation) 
एलपीको सबैभन्दा डरलाग्दो तर कमै मात्र हुने कम्लिकेसन हो यो। इन्ट्राक्रेनियल प्रेसर (Intracranial pressure)अर्थात मष्तिस्क भित्रको प्रेसर धेरै बढेको अवस्था (जुन प्राय: गरेर मष्तिस्कका ट्युमरहरुमा हुनेगर्छ) मा एलपी गर्नाले मष्तिस्कको तल्लो भाग ब्रेनस्टेम(Brainstem) तल झरेर हर्निएट (herniate) भएर च्यापिन जान्छ। जसले गर्दा विरामीको मृत्यु पनि हुनसक्छ। त्यसैले एलपी गर्नु अघि विरामीको राम्रोसँग जाँच गरेर मष्तिस्क भित्रको प्रेशर बढे नबढेको हेर्ने गर्नुपर्छ।

सीएसएफको जाँचको सामान्य रिपोर्ट कस्तो हुन्छ?

रंग: सफा, पानीजस्तो
निकाल्दा खेरीको प्रेशर:  ७०-१८० mmHg
प्रोटिन: १५-६० mg/dL
ग्लुकोज: ५०-८० mg/dL
कोषहरुको संख्या: ०-५ सेतो रक्तकोषहरु, ० राता रक्तकोष
त्यस्तै माइक्रोबायलोजिकल जाँचहरु (ग्राम स्टेन/Gram's stain, ए एफ बी स्टेन/AFB stain, कल्चर/Culture) गरेर सीएसएफमा कुनै किटाणुहरु भएनभएको हेर्न सकिन्छ। साथै मष्तिस्क र सुषुम्नाका क्यान्सरहरुको बारेमा र अन्य थुप्रै रोग र अवस्थाहरुका बारेमा सीएसएफ जाँचबाट जानकारी पाउन सकिन्छ।


आफ्नो र आफ्नो विरामीको सीएसएफको रिपोर्टका बारेमा, त्यसमा देखिएका खराबीका बारेमा, त्यसले उपचारमा पुर्याउने असरका बारेमा आफ्नो चिकित्सकसँग राम्ररी छलफल गर्नुपर्छ।

No comments:

Post a Comment