Tuesday, January 24, 2012

मधुमेह रोगीले के खान हुन्छ, खानु हुदैंन?


धुमेह रोगीहरुले यो खान नहुने, त्यो खान नहुने, यो बार्नुपर्ने, त्यो बार्नुपर्ने भनेर भनिन्छ। विकसित देशहरुमा डायटिसियनसँग छलफल गरेर खानाको बारेमा राम्रो जानकारी लिएर त्यसै अनुसार गर्ने गर्छन्। हाम्रो देशमा त्यो अलि सम्भव हुदैंन। चिनीरोगीको खाना भनेको एक छाक सुख्खा रोटी, एक छाक उसिनेको चामलको भात, चिनी नहालेको चिया यस्तैयस्तै हुन्छ। गुलियो कुरा केही नि खानु हुदैंन, माटोमुनि फल्ने आलु, पिडालु खानुहुदैंन भन्ने गरिन्छ। आज मधुमेहका रोगीले के खान हुने, के नहुने बारे चित्रहरुका मार्फत केही जानकारी दिने प्रयास गर्दैछु।

वास्तवमा भन्ने हो भने मधुमेहका रोगीले (र सकेसम्म सबैले पनि)खानुपर्ने खाना भनेको 'सन्तुलित खाना/Balanced Diet' नै हो। चित्रमा देखाएको खानाहरुको समिश्रणलाई 'प्लेट मोडल' भनिन्छ अर्थात् सम्पूर्ण खानालाई एउटा प्लेट मानेर त्यसको कति भाग के खाने भनेर बाडिएको मोडल। जस्तो माथिको चित्रमा एक छाकको खाना/एक प्लेटलाई बराबर तीन भागमा बाँडिएको छ। एक भागमा कार्बोहाइड्रेट, दोस्रोमा भिटामीन र खनिज पदार्थ र तेस्रो भागमा प्रोटिन र चिल्लो पदार्थ राखिएका छन्। चित्रमा कार्बोहाइड्रेट, भिटामीन, खनिज, प्रोटिन, चिल्लो पदार्थ पाउने खानाहरु पनि देखाइएका छन्। त्यसैले मधुमेह रोगीहरुले पनि सबै खालका खानाहरु खान हुन्छ तर सन्तुलित रुपमा खानुपर्ने हुन्छ। सामान्य अवस्थामा खाना सन्तुलित नभए पनि तत्कालै खासै फरक पर्दैन तर मधुमेह रोग लागेपछि भने खाना सन्तुलित हुनु अति जरुरी हुनजान्छ, जुन गर्न अलि गाह्रैं हुन्छ। त्यसैले प्राय: चिकित्सकहरुले सजिलोको लागि गुलियो पदार्थ, चामलको भात नखानु भन्छन्, तर ती खानै नहुने भने पक्कै होइन।

शरीरमा चिनीको मात्रा नियन्त्रित राख्नु अति जरुरी हुन्छ। सामान्य अवस्थामा यो काम इन्सुलिन र अन्य हर्मोनहरुले आफैं गरिरहेका हुन्छन्। तर मधुमेह भएपछि त्यो सम्भव हुदैंन र रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने जटिल काम विरामी आफैंले परिवार, चिकित्सक र औषधीहरुको सहयोगमा गर्नुपर्ने हुन आउँछ। चिनीको मात्रा नियन्त्रित राख्न सकिएमा मधुमेहका खराब असरहरुलाई धेरै कम गर्न र पछाडी सार्न सकिन्छ।

मधुमेहमा पोषण सम्बन्धी पालना गर्नुपर्ने केही महत्वपूर्ण बुँदाहरु चित्रमा दिइएका छन्। माथि भनिए जस्तै यी कुराहरु मधुमेह रोगीका लागि मात्र नभएर सबैजनाले अपनाउनु सबैभन्दा उत्तम हुन्छ। त्यस्तै घरमा मधुमेह रोगीका लागि भनेर छुट्टै प्रकारको खाना बनाएर छुट्याउनु पनि हुदैंन। बरु घरका सबैजनाले सन्तुलित खाना खानु उचित हुन्छ।

कार्बोहाइड्रेट खानामा हुने शक्तिको प्रमुख स्रोत हो। त्यसैले यो अति जरुरी हुन्छ। दिनभरी चाहिने जम्मा क्यालोरी शक्तिको ५० देखि ६०% कार्बोहाइड्रेटबाट लिनुपर्छ। त्यसमा खस्रोपना भएका खानाहरु/Fibre Dietsको बढी मात्रामा प्रयोग गर्नुपर्छ, त्यो भन्नाले उसिना चामल, मिलमा नपिनीएको चामल, ब्राउन राइस, मकैको पिठो, गहुँको पिठो आदी पर्छन्।

माछामासु, अण्डा, दूधदही पनि खान नहुने भन्ने होइन। यिनमा प्रोटिनको मात्रा प्रशस्त हुन्छ र शरीरको वृद्धिविकास, मर्मतसम्भारको लागि यो आवश्यक हुन्छ। त्यसैले चिल्लो कम भएका प्रोटिनयुक्त खानाहरु आवश्यक मात्रामा खान जरुरी हुन्छ। मधुमेहका कारणले मृगौलामा समस्या देखापरेमा भने चिकित्सकको सल्लाहमा प्रोटिनयुक्त खानाको मात्रा घटाउनुपर्ने हुनसक्छ।

भिटामीन, खनिज पदार्थ भएका हरियो सागसब्जी, फलफूलहरु पनि आवश्यक मात्रामा सेवन गर्नुपर्छ। रेशादार खानाहरुले खानापछि रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्न, रगतमा बोसो कोलेष्टेरोलको मात्रा नियन्त्रणमा राख्न, कब्जियतको समस्या कम गर्न, रक्तचाप नियन्त्रणमा राख्न मद्दत गर्ने गर्छ।

चिल्लो पदार्थ पनि हाम्रो शरीरका लागि आवश्यक हुन्छ। तसर्थ यो पनि प्रयोग गर्नुपर्ने हुन्छ तर आवश्यक मात्रामा मात्र र स्वर्थवर्धक तेलको प्रयोग गर्नुपर्छ। के हो त स्वस्थवर्धक तेल भनेको? मुटुको लागि राम्रो मानिने बोसो HDL/एचडिएलको मात्रा बढाउने र हानिकारक बोसो(LDL)लाई घटाउने खालका तेलहरु (जस्तै चित्रमा हरियो बक्समा देखाइएका तेलहरु)लाई स्वस्थवर्धक तेल भनिन्छ। कुन तेल स्वस्थवर्धक हो र कुन होइन भनेर सजिलै थाहा पाउन- जुन तेल सामान्य तापक्रममा तरल हुन्छ, ती सामान्य तापक्रममा जम्ने तेल वा घ्युभन्दा स्वस्थवर्धक हुन्छन्। रातो बक्समा भएका तेल, घ्युहरु स्वास्थ्यका लागि हानिकारक हुन्, तिनीहरुको सेवन सकेसम्म कम गर्नुपर्छ। त्यस्तै ओमेगा-3 बोसो भएको माछाको सेवन पनि स्वास्थ्यको लागि राम्रो मानिन्छ।

माथिका खानाहरुको साथसाथै पानी पनि प्रशस्त मात्रामा सेवन गर्नुपर्छ। दिनभरमा कम्तिमा ६ देखि ८ गिलास पानी सेवन गर्ने गर्नुपर्छ।

अन्त्यमा,

मधुमेहका रोगीले खान नहुने र अन्य सबैजनाले पनि सकेसम्म कम खानुपर्ने केही खानेकुराहरु र भोक लागेमा थप खान सकिने खानाहरु:
खाना सम्बन्धी उचित ज्ञान लिइ आफ्नो जीवन सहज, सरल र सुखद बनाऔं।   
बाँकी पढ्नुहोस् >>

Tuesday, January 3, 2012

ज्युँदोमा नि:शुल्क, मरेपछी स:शुल्क..


नेपाल सरकारका नियमहरुले पनि बेलाबेलामा अचम्मै पार्ने गर्छ। अति पिछडिएका, लोपोन्मुख जातिका नेपालीहरुलाई सरकारले नि:शुल्क औषधी उपचार गर्ने भनेर नियम बनाएको छ। त्यसै अनुसार सरकारी अस्पतालहरुमा चेपाङ, बोटे जस्ता जातिका विरामीहरुको 'सकेसम्म' सम्पूर्ण औषधी उपचार नि:शुल्क हुने गरेको छ। 'सकेसम्म' भनेर चाहीं किन भन्नुपरेको भने कहिलेकाहीं उपचारका क्रममा अस्पतालमा नि:शुल्क भनेर सरकारले उपलब्ध नै नगराएको कुनै औषधी चलाउनुपर्ने हुन्छ अथवा अस्पतालमा हुदैंनहुने जाँचहरु जस्तै सिटी स्क्यान, एमआरआई गराउनुपर्ने हुन्छ, त्यस्तो बेलामा विरामीले उक्त औषधीको वा जाँचको खर्च आफैंले गर्नुपर्ने हुन आउँछ। तर ती अवस्थाहरुमा बाहेक अन्य सामान्य अवस्थामा नेपाल सरकारको नियम अनुसार सरकारी अस्पतालमा त्यस्ता जातिका विरामीहरुलाई नि:शुल्क नै उपचार गरिन्छ।

त्यसो भने अचम्म पर्ने कुरा चाहीं के भयो त भनेर तपाईंहरुले सोध्नुहोला।

भयो के भने हिजो मात्र यहाँको सरकारी अस्पतालमा चेपाङ जातिको एक जना विरामी ल्याइएको थियो। विरामीको अवस्था साह्रैं नै चिन्ताजनक थियो। २-३ महिनादेखिको विरामी संक्रमण शरीरभरी फैलेर सबैतिर असर गरिसकेको अवस्था थियो। ज्वरो १०२ डिग्री, शरीर जन्डिसले पूरै पहेंलो भएको र रक्तचाप पनि साह्रै नै कम थियो। विरामीको उपचार तुरुन्तै शुरु गरियो, नि:शुल्क रुपमा अस्पतालभित्रकै औषधीहरु चलाइयो र जाँचहरु पनि गरियो। तर दुर्भाग्यवश उपचारको क्रममा विरामीको मृत्यु भयो। विरामीको परिवारलाई त्यसबारे जानकारी दिएर मृत शरीरलाई जिम्मा लगाइयो। रात परिसकेको र पैसा अभावका कारणले उनीहरुले लाश घर लैजान नसक्ने र आज अस्पतालमै राख्ने निर्णय गरे। तर लाशलाई रातभर नै वार्डमा राख्न मिल्दैनथ्यो। त्यसैले लाशघरमा लगेर राख्ने सल्लाह दिइयो। तर अचम्म के भने उपचार नि:शुल्क गर्ने भन्नॆ नियमले लाशघरलाई चाहीं नछुँदो रहेछ। ज्युँदो हुँदा नि:शुल्क उपचार गराउनु भन्ने सरकारले मरेपछि नि:शुल्क लाशघरमा राख्ने व्यवस्था चाँही नगरेको रहेछ। अस्पताल क्षेत्रका हरेक सुविधा निशुःल्क भनेर नियम बनाएको भएपनि त हुन्थ्यॊ नि। रातभर वार्डमै राख्ने कि लाशलाई निकालेर बाहिर राख्ने कि यताउता केही गरेर एकरातको लागि लाशघरमा राख्ने व्यवस्था मिलाउने कि भन्ने अन्योल सिर्जना भयो। यी दुविधाहरुका बीच रुमल्लिरहेको बेला घडीले ८ बजेको संकेत दियो र अर्को साथीलाई ह्याण्डओभर दिएर म आफ्नो घरतिर लागें।

कहिलेकाहीं यस्ता नियमहरुले पनि अफ्ठ्यारो स्थितिको सिर्जना गर्छ। कति बेला गरिब विरामीहरुको उपचारका लागि पैसा हुदैंन, तुरुन्त नि:शुल्क गराएर उपचार शुरु गर्नुपर्ने हुन्छ। तर नि:शुल्क गराउनका लागि मेडिकल सुपरिटेन्डेन्टको हस्ताक्षरको आवश्यकता पर्छ, जुन भन्ने वित्तिकै सधैं पाउन सकिदैंन। हुन त सुविधाको दुरुपयोग नहोस् भनेर यस्ता नियमहरु बनाइएका होलान् तर यिनले बेलाबेलामा कामको गतिमा अवरोध ल्याउने गर्छन्। सरकारी अस्पताल र अन्य कुनै पनि सरकारी कार्यालयको कामको गति यस्तै कम व्यवहारिक नियमहरु र दृष्टिकोणहरुका कारण बदनाम भएका त होइनन्?


बाँकी पढ्नुहोस् >>