Thursday, June 22, 2017

मिडियाले पीडित मेडिसिन

हुन त सत्य भनेको एउटै हुनुपर्ने हो, तर देखेको कुरा, सुनेको कुरा र वास्तविक कुरा फरक हुनसक्छ। पब्लिसिटी, लाइक्स, शेयरको लागि लेखिने न्युजहरुले त यो फरकलाई झन उदांगो पारीदिएको छ। कतै सुनेको थियो, शहरमा "कोइरालाको मृत्‍यु, कोइरालाको मृत्‍यु" भन्दै पत्रीका बेच्ने केटो दौडदै थियो रे, सबैले लौ गिरिजाप्रसाद कोइराला नै बितेछन् कि क्या हो भनेर पढ्नलाई पत्रीका किन्न थाले, पत्रीका एकै छिनमा सकेर केटो पैसा बटुली हिडि हाल्यो, न्युजको हेडलाइन पनि 'कोइरालाको मृत्‍यु' नै थियो, पढ्दै जाँदा पो थाहा भयो, कता हो ट्र्याक्टर दूर्घटनामा कुन चैं हो कोइराला को मृत्‍यु भएको रहेछ। हुन त त्यसमा लेखिएका हेडलाइन, समाचार, त्यो केटोले भनेको एक एक कुरा सत्य हो, तर समाचार लेख्ने र मार्केटिङ गर्ने नियत पूरै झुट र गलत हो। अचेल हाम्रा अधिकांश न्युजहरु यस्तै हुने गर्छन्, पोल्ला झैं तात्तातो, छिनभरमै आगोसरी फैलने, पत्रीका र पत्रकारलाई क्षणिक पब्लिसिटी दिने तर साधारण मान्छेको मनमा लामो समयसम्म त्यसको असर रहिरहने।

स्वास्थ्य यसै पनि संवेदनशील क्षेत्र हो, तर यहाँ संवेदनशीलता स्वास्थ्यकर्मीहरुबाट मात्र खोजिन्छ। सिस्टममा रहेर विरामी जाँच हुनुपर्नेमा आफ्नो मात्र विरामीको छिटो र राम्रो हुनुपर्ने, आफ्नो विरामीको जे पनि इमर्जेन्सी, अलिकती ढिलो, नसोचेको भयो भने लापरवाही, अनि तोडफोड, हातपात, त्यसपछी मिडियाको सनसनीपूर्ण रिपोर्टिङ, कसरी मार्यो अस्पतालले विरामी, लुटेरा अस्पताल, डाक्टरको लापरवाहीले विरामीको ज्यान गयो आदी आदी। हुन त जमाना यसैको छ, फेसन यसैको चलेको छ। लापरवाहीले विरामीको मृत्‍यु भनेर समाचार लेख्नुस्, छिनभरमै हजारौं पटक पढिन्छ, शेयर हुन्छ र सयौंले डाक्टर, नर्स र अस्पताललाई पढ्नै नसकिने गाली बर्षाउछन्। यस्ता सतही समाचारले स्वास्थ्यकर्मी र विरामी आफन्त बीच रहेको सानो विश्वासको घर पनि ढलाइदिन्छ, अनि उनीहरुले हरेक अस्पताल, हरेक डाक्टरलाई शंकाले हेर्न थाल्छन्।

स्वास्थ्यकर्मी र विरामी-आफन्तबीचको यति ठुलो शंकाको वातावरणमा विरामीको स्वास्थ्यमा सोचेजस्तो परिणाम नआउदा अस्पताल तोडफोड हुनु, स्वास्थ्यकर्मी माथि हातपात हुनु कुनै नौलो कुरा भने हैन। केही दिन अघीको एउटा घटना अहिले खुब चर्चामा छ। '३८ वर्षिया एक महिलाको काठमाण्डौको एउटा अस्पतालमा भएको मृत्‍यु, त्यसपछी अस्पतालको तोडफोड र मिडियाको रिपोर्टिङ।'

उक्त न्युजको हेडलाइनमा लेखिएको छ, चिकित्सक भन्छन् "रोगको पहिचानमा हामी झुक्कियौं", प्रिन्ट पेपरको हेडलाइन छ "रोगको लक्षण पहिचानमै झुक्किए चिकित्सक" जुन कुरा एकदम सहि हो। अब कुरा आउछ, एउटा चिकित्सक झुक्किनु उसको लापरवाही हो कि हैन? चिकित्सक मान्छे हो, उसले पढेको, देखेको, सिकेको आधारमा उसले कुनै पनि विरामीको समस्या सुनेर, आफूले जाँचेर, ल्याबमा परिक्षण गरेर यो हुने सम्भावना धेरै छ भनेर उपचार थाल्छ। त्यसैले कुनै पनि डाक्टरलाई "के तपाईं १००% कन्फर्म हुनुहुन्छ कि मेरो रोग यही हो?" भनेर सोध्नुस्, धेरैजसो अवस्थामा उसले "१००% कन्फर्म हुँ" भन्न सक्दैन। चिकित्साशास्त्र अंकगणित हैन, २ र २ जोड्दा सधैं ४ हुने न त यो ज्योतिषशास्त्र नै हो कि यो विरामी निको हुन्छ, यो हुँदैंन भन्ने। 
यो सुनेर तपाईं डराएर सोध्नुहोला, "त्यसो भने डाक्टरहरुले त अन्दाजमा पो औषधी चलाऊने रहेछन्!" 
हो, चिकित्सा शास्त्रमा धेरैजसो अवस्थामा उपचारको शुरुवात 'अन्दाज'मै गरिन्छ, तर यो हचुवाको 'अन्दाज' भने हुँदैंन। विरामीको समस्या सुनेर, जाँचेर सबै प्रमाण जुटाएर आफ्नो ज्ञान र अनुभवको प्रयोग गरी त्यो 'अन्दाज' लगाइएको हुन्छ, जसलाई मेडिकल भाषामा 'प्रोभिजनल डायग्नोसिस' भनिन्छ, यो धेरैजसो अवस्थामा सहि हुन्छ तर सधैं हुँदैंन। 
"त्यसो भने मेरो उपचार गलत भईरहेको हुनसक्छ?" 
अहिलेको अवस्थामा विरामीलाई दिईने समय, जाँच गरिने ल्याबहरुको अवस्था सबैलाई नहेरेर सबै सहि गर्दा पनि रोगको सहि पहिचान नभएको हुनसक्छ। 
"यो स्थिती त निकै भयावह हो त!" 
"हैन, संसारभर नै विरामीको उपचार यसरी नै गरिन्छ, 'प्रोभिजनल डायग्नोसिस' बाट उपचारको थालनी गरेर सकेसम्म 'फाइनल डायग्नोसिस'मा पुग्ने हरसम्भव प्रयास गरिन्छ, जुन सधैं सफल नहुनसक्छ। किनभने रोग सधैं सजिलै चिनिन सकिने लक्षणहरु लिएर प्रस्तुत हुँदैन र प्राय: नदेखिने लक्षणहरु नसोचेको उमेर समूहमा जाँचमा नदेखिने गरी प्रस्तुत हुँदा झुक्किनु स्वाभाविक हो, कुनै पनि स्वास्थ्यकर्मीले आफ्नो ज्ञान, सीप, अनुभवको पूरा प्रयोग गरी उपचार गरेको छ भने यसलाई लापरवाही भन्न कदापी मिल्दैन। त्यसैले 'डाक्टर झुक्किए' भनेर हेडलाइनमा जुन तरिकाले डाक्टरले लापरवाही गरे भनेर भन्न खोजिएको छ, त्यो एकदम गलत छ।


अब न्युजको कन्टेन्टको कुरा गरौं।

जहिले पनि यस्तो न्युज पढ्दा 'विरामी हिंडेर अस्पताल गएको' भनेर भनिएको हुन्छ। हिड्दैमा विरामीको अवस्था ठीक थियो भन्ने हुन्छ र? रगतको मात्रा २-३ मात्र (हुनुपर्ने ११-१२) भएका विरामी पनि हिंडेर आउनसक्छन्। प्रेसर २००/१३० भएका विरामी पनि हिंडेको देखेको छु। थर्ड डिग्री हार्ट ब्लक (मुटुको तारहरुमा पूर्ण गडबडी) भएका विरामीहरु नि हिंडेर आएको भेटेको छु। त्यसैले यो 'हिडेर आएको विरामी' भन्दैमा सामान्य हुन्छ भन्ने भ्रम नराखेको राम्रो, मूख्यरुपमा आफूलाई 'मेडिकल जर्नालिस्ट' भनेर चिनाउने साथीहरुले।

'विरामी उठ्न खोज्दा अचानक बेहोस (मल्टी अर्गान फेल) भएर ढल्नुभयो'

यो वाक्य पढ्दा कुनै पनि मेडिकल विधार्थीलाई हार्ट अट्याक आउन बेर छैन। एक त बेहोस हुनु भनेको मल्टी अर्गान फेल हुनु हैन, अर्को 'मल्टी अर्गान फेल' भन्ने कुरा अचानक हुने कुरा हैन। त्यसैले यो वाक्य पूरै गलत छ। कुरा नबुझी लेख्दा यस्तै हुन्छ। उहाँलाई कसले यस्तो कुरा बुझाईदिएको हो थाहा भएन।

मुटुको विरामीलाई ग्यास्टिकको उपचार, किन मुटुको विरामीलाई घण्टौं ग्यास्टिकको औषधी दिएर राखेको भनिएको छ।

कुनै पनि घटना घटिसकेपछी पछाडि फर्केर कमेन्ट गर्न सजिलो हुन्छ, तर शुरुको अवस्थामा यो यही नै हो, यो तरिकाले उपचार गर्दा सहि हुन्छ भनेर सधैं १००% सहि कदम चाल्न असम्भव छ। किनकी अस्पतालमा डाक्टर, नर्स बस्छन्, जो मान्छे हुन्, भगवान हैनन्। संसारको कुनै पनि अस्पतालले सतप्रतिशत विरामी बचाउन सकेको छैन, डाक्टरको जतिसुकै नाम चलेको किन नहोस्, कुनै न कुनै अवस्थामा उ चुकेको हुन्छ नै। यसलाई मानवीय गुण भनौं वा कमजोरी। हो यो कमजोरी वा गुण, अवगुण जे भने पनि, को कारणले विरामीको गलत उपचार हुनजान्छ, कतिपय बेला ज्यानै जाने पनि हुनसक्छ, तर यो शुन्यमा झार्न असम्भव छ, किनकी हामी मान्छे हौं। पढाई, तालिम, ज्ञान, अनुभव तिखार्दै, सिस्टमका अन्य अंगहरुलाई पनि चुस्त बनाउदै लगेर यो कमजोरीलाई सकेसम्म कम गर्दै लाने भन्ने हुनुपर्छ तर हुँदैं हुँदैन भन्ने ग्यारेन्टी कसैले पनि दिन सक्दैन। यसो भनेर मैले जानीजानी गरिने लापरवाही, गल्तीहरुको समर्थन गरेको भनेर नसोच्नुहोला। अर्को कुरा न्युजमै भनिए अनुसार विरामीको मृत्‍यु भर्ना भएको २ घण्टाभित्रमै भएको भनिएको छ। अनि फेरी विरामीलाई घण्टौं ग्यास्टिकको औषधी चलाएर राखियो भन्ने प्रश्न नै उठ्दैन।

हुन त लेख अनुसन्धानमुलक हैन, तर पनि यति संवेदनशील विषयमा सतहीरुपमा 'यसरी भयो विरामीको मृत्‍यु' भनेर लेखिएकोमा कुनै पनि स्वास्थ्यकर्मीलाई चित्त नबुझ्नु स्वाभाविक हो। विरामीको मृत्‍युको कारण पत्ता लगाउने वैज्ञानिक तरिका पोस्टमार्टम हो, जुन हाम्रोतिर कमै गरिन्छ। यस्ता विवादास्पद मृत्‍युहरुमा कारणको सहि पहिचान गर्न पोस्टमार्टम गर्नु जरुरी हुन्छ। तर नियम र कानुन कमजोर भएको हाम्रो देशमा भिड र हुलले तुरुन्त फैसला गर्छ, दोषी को भनेर, मिडियाले लेख्छ कसको लापरवाही भनेर, अनि सजायको रुपमा तोडफोड शुरु हुन्छ, हातपात शुरु हुन्छ, लाशको मोलमोलाई शुरु हुन्छ। खै कहिले होला यो अवस्थाको अन्त्य?

मैले यहाँ सो अस्पताल वा त्यहाँका डाक्टर लगायत स्वास्थ्यकर्मीहरुले गल्ती गरेका छैनन् भन्न खोजेको हैन। म त्यो भन्न सक्ने अवस्थामा पनि छुईनँ, किनभने मैले उक्त घटना आफूले देखेको हैन। घटना भित्रको 'डिटेल्स' त अनुसन्धान गरियो भने थाहा होला तर जती र जसरी मिडियामा प्रस्तुत गरिएको छ, त्यतीका आधारमा मात्र भन्ने हो भने चैं यसमा लापरवाही भएको देखिदैन। एउटा मेडिकल अफिसरले न्युजमा लेखिए जती र जसरी उपचार गरेको हो भने त्यसलाई सहि मान्नुपर्छ। त्यसो भने हरेक हार्ट अट्याकलाई ग्यास्टिकको औषधी दिदै राखे भो त?" भन्नुहोला। यसको जवाफमा "त्यसो भने हरेक पेट छाती दुखाइलाई इसीजीमा नर्मल आएपनी हार्टअट्याक मान्दै गंगालाल र टिचिङ रिफर गरिदिनु उचित होला? हार्ट अट्याक प्राय: नहुने उमेर समूहका महिलालाई पनि पेट छाती दुख्यो भने हार्टअट्याक हुनसक्छ भन्दै त्यसको औषधी चलाइहाल्ने, इकोकार्डियोग्राफी र एन्जियोप्लास्टी गरिहाल्ने बानी बसाउनु उचित होला?" भन्छु। इसिजीमा हार्टअट्याक नदेखिनसक्छ तर इसीजीले नदेखाउने भन्दा देखाउने हार्टअट्याक धेरै बढी हुन्छ। र दु:खका साथ भन्नुपर्छ यही प्रोबाबिलिटीपोसिबिलिटीका आधारमा चिकित्सा क्षेत्र चलेको हुन्छ र यो अनुभवी र ज्ञानको आधारमा गरिने 'अन्दाज' ले नै धेरै धेरैको ज्यान बचाएको हुन्छ।

अन्त्यमा,

हामीमा पनि कमिकमजोरी प्रशस्त छन्, च्याउसरी खुलेका प्राइभेट मेडिकलहरु कत्तिको स्तरिय छन् कसैलाई थाहा छैन, राम्रा नाम चलेका अस्पतालमा पनि बढ्दो भिडका कारण डाक्टर लगायत स्वास्थ्यकर्मीले विरामीलाई पर्याप्त समय दिन सकेका छन् छैनन् कसैको चासोको विषय भएको छैन, हाम्रा ल्याबहरु कत्तिका भरपर्दा छन् थाहा छैन, औषधीहरु कत्तिको काम गर्छन् थाहा छैन, त्यसमाथी खस्कदो मेडिकल शिक्षा, चिकित्सा क्षेत्रको व्यापारिकरणले समस्या झन बल्झाएको छ। यी समस्याहरुको सहि रिपोर्टिङ गरेर समस्याको वास्तविक चित्र समाजमा प्रस्तुत गर्नुको साटो अलिअली भएको डाक्टर-विरामी बीचको विश्वासको वातावरणलाई पनि धमिल्याउने खालको रिपोर्टिङहरुले मनै अमिलो पारीदिन्छ। कुनै पनि स्वास्थ्य सम्बन्धी न्युज प्रकाशित गरिनु अघी त्यसै क्षेत्रसँग सम्बन्धितलाई एक पटक देखाएर सोधे यस्तो गल्ती हुने थिएन। साथै मेडिकल जर्नालिज्म गर्छु भन्ने पत्रकार साथीहरुलाई सामान्य स्वास्थ्य क्षेत्र र सेवा सम्बन्धी ओरिन्टेसन पनि गराए केही सजिलो होला कि। 

नेपाल मेडिकल काउन्सिल र नेपाल मेडिकल एसोसिएसनले यसबारेमा केही सोचेको छ?
बाँकी पढ्नुहोस् >>

Saturday, June 10, 2017

'होल बडी चेकअप'को हौवा


हिजोआज स्वास्थ्यको बजारमा 'होल बडी चेकअप'को खुब फेसन चलेको छ। यसलाई छोटकरीमा 'WBC' नि भन्दा रहेछन्। विभिन्न अस्पतालहरुले यसका विभिन्न प्याकेजहरु ल्याएर ग्राहकहरुलाई आफूतिर तान्ने होडबाजी नै चलेको छ। यसको आफ्नै फाईदाहरु पनि छन्। आफूलाई स्वस्थ ठान्ने व्यक्तिहरुले पनि यो जाँच गराउदा रोग पत्ता लागि बेलैमा उपचार शुरु गरेर जीवन नै बचेको घटनाहरु पनि छन्। जुन देख्दा सुन्दा सबैले यो गर्नैपर्ने जस्तो भान हुन्छ। आफूले वरपर जे देखियो, सुनियो, आफूलाई नि त्यही रोग लागे झैं लाग्नु सामान्य ह्युमन साइकोलोजी नै हो। फलाना त जन्डिस लागेर मर्यो भनेपछी सामान्य विरामी भए पनि अस्पताल पुगेर जन्डिस जाँच नगराई मनले मान्दैन। फलाना टाउको दुख्यो दुख्यो भन्थ्यो, पछी त ब्रेन ट्युमरले मरेछ भनेको सुन्दा आफ्नो टाउको दुखाइ नि कतै ब्रेन ट्युमर त हैन, एकपटक सिटी स्क्यान गर्न पाए ढुक्क हुन्थ्यो भन्ने कुरा मनमा खेलिरहन्छ। तर के यसरी डाक्टरको उचित सल्लाह विना आफ्नो डरले गरिने, प्याकेजको रुपमा गरिने जाँचहरुले वास्तवमै हित गरिरहेका हुन्छन् त?

'होल बडी चेकअप' गरेर बेलैमा रोग पत्ता लागेर यसको फाईदा लिएकाहरुका लागि त यो वरदान नै हुन्छ। तर ती कती छन्? कती जनाको होल बडी चेकअप गर्दा कती प्रतिशतमा रोग देखिएको हो? अर्थात जाँच गरिएको मध्ये कती प्रतिशतलाई यसले फाईदा पुर्याएको हो? यसको भने कतै हिसाब भएको पाइदैन। हुन त स्वास्थ्यको लागि के पैसाको हिसाब गर्ने भन्ने पनि होलान् तर स्वास्थ्य भनेर जथाभावी र अनावश्यक जाँचहरु गर्नु र जनतामा त्यसको गलत सन्देश दिएर त्यसबाट व्यापारिक फाईदा उठाउनु गलत हो।

यहाँ मैले नियमित स्वास्थ्य परिक्षणको विरोध गरेको छुइनँ। स्वस्थ हुँदा नै नियमितरुपमा चिकित्सकलाई गएर भेटेर शारिरिक परिक्षण गराउनु, जसमा ल्याब टेस्ट गर्नैपर्छ भन्ने हुन्न, तौल, उचाइ, पेटको गोलाई नाप्ने, बीएमआइ (BMI) नाप्ने, स्वास्थ्य सम्बन्धी जानकारीहरु लिने र आवश्यक परेमा ल्याब टेस्टहरु गराउने प्रकृयाको म समर्थन गर्छु। तर यहाँ त विभिन्न रगत जाँचहरुलाई प्याकेजको रुपमा सुपथ मूल्यमा अफर दिएर ग्राहकलाई दिग्भ्रमित गर्दै आकर्षित गरिदैछ, त्यसको मैले विरोध गरेको हुँ। हामी चिकित्सकसँग गरिने कन्सल्टेसन, शारिरिक जाँचलाई भन्दा मेसिनले गर्ने रगत, पिसाब, पेट, छाती र सम्पूर्ण शरीर जाँचलाई बढी महत्व दिईरहेका छौं, जुन गलत हो। यस्ता होल बडी चेकअपका प्याकेजहरुले समाजमा ठुलो समस्याको रुपमा रहेको मानसिक रोगहरुलाई पनि नजरअन्दाज गरेको छ। हामी रोग रगत, पिसाब, एक्सरे, सिटी स्क्यान, कागजी रिपोर्टमा खोज्दै गर्छौं, उपचार गोली, सूई, सलाइनमा खोज्दै गर्छौं, र चिकित्सकसँगको सल्लाह, परामर्श, रोग र स्वास्थ्य बारेको जानकारीलाई बिर्सदै गएका छौं।

उदाहरणको लागि बेसिक हेल्थ प्याकेजमा सीबीसी, क्रिएटिनिन, टिएसएच, बिलिरुबिनलाई पनि राखिएको रहेछ। यी जाँचहरुले के रोग पत्ता लगाउन खोज्या हुन्? विना कुनै स्वास्थ्य समस्याका सामान्य मान्छेमा सीबीसी जाँच (Complete Blood Count) हेरेर के रोग पत्ता लगाउन खोज्या हुन्? ब्लड क्यान्सर? कि रक्तअल्पता? कि कुनै संक्रमण? क्रिएटिनिन (Creatinine) लाई सामान्यरुपमा म्रिगौलाको जाँचको रुपमा लिइन्छ, तर धेरै नन-मेडिकल मान्छेहरुलाई थाहा नहुनसक्छ, दूवै म्रिगौलाको काम ६०% सम्म बिग्रदा पनि क्रिएटिनिन भन्ने जाँच नर्मल आउनसक्छ। म्रिगौलाको अवस्था सहि भए नभएको थाहा पाउन यो जाँच फाईदाजनक छैन। बरु नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले हेल्थ पोस्ट स्तरसम्म पुर्याएको नि:शुल्क पिसाब जाँचमा हेरिने एल्बुमिन र सुगरको डिपस्टिक टेस्ट (Urine Dipstick test)ले राम्रो स्क्रिनिङ टेस्टको काम गर्छ। हिजोआज थाइरोइडको जाँच पनि अन्धाधुन्द हुने जाँचहरुमा प्रमुखरुपमा आउछ। सबै स्वस्थ मान्छेहरुलाई होल बडी चेकअप भन्दै महंगो थाइरोइडको जाँच गराइनु लुट नै हो। डाक्टरसँगको परामर्शमा थाइरोइड सम्बन्धी रोग हुने शंका लागेमा र केही निश्चित समूहमा स्क्रिनिङ टेस्टको रुपमा यो जाँच गर्न सकिन्छ।



स्वास्थ्यमा गरिने कुनै पनि जाँचले कसरी रिजल्ट दिन्छ, त्यो पोजिटिभ आउनुको मतलब के हो, त्यसको मात्रा सामान्य भन्दा बढी देखिनुको मतलब के हो, कुनै पनि जाँचको सामान्य मात्रा वा नर्मल लेभल भनेको के हो, यी कुराहरु सामान्यतया मान्छेहरुले बुझेका हुँदैनन्। जस्तो खाली पेटको सुगर जाच्दा १२७ आयो भने सुगर भयो भने पूरै खाना बार्ने तर १२५ आयो भने मलाई सुगर छैन भने खुसी हुने जमात ठुलै छ, जुन गलत हो। जन्डिस २ पुग्दा नि 'ओहो, मलाई जन्डिस भयो' भनेर सबै खाना बार्ने अनी १२ पुग्ने बित्तिकै जाँडरक्सी शुरु गर्नेको भिड नि ठुलो छ। अर्को कुरा कुनै पनि टेस्ट सतप्रतिशत सहि हुँदैन। कुनै टेस्ट पोजिटिभ आउँदैमा त्यो व्यक्तीलाई उक्त रोग छ भन्ने १००% ग्यारेन्टी हुँदैन र टेस्ट नेगेटिभ आउँदैमा १००% रोग छैन भन्ने पनि हुँदैन। त्यसैले मेडिसिनमा सधैं भनिन्छ, टेस्टको हैन विरामीको उपचार गर्नुपर्छ। उसको लक्षण, समस्या, अनी उपचार प्रकृयाले आउनसक्ने जटिलता सबैलाई तौलिएर मात्र उपचार अघी बढाउनुपर्छ।

अर्को अचम्मको जाँच भनेको रगतमा हेरिने युरिक एसिड हो। नेपालीलाई जहाँ जे दुखे पनि युरिक एसीड हेर्नुपर्छ, डाक्टरहरुलाई नि सजिलो, युरिक एसिड हेरम् भन्दियो। सुन्दा अचम्म लाग्ला मेडिसिनमा युरिक एसिड भन्ने रोग नै छैन। युरिक एसिडको मात्रा जोर्नीमा बढी भएर जोर्नी दुख्ने रोगलाई गाउट भनिन्छ, यसको डायग्नोसिस क्लिनिकल्ली अर्थात लक्षण र शारिरिक जाँचको आधारमा पनि गर्न सकिन्छ, कन्फर्म जाँचको लागि सुन्निएको जोर्नीबाट पानी (साइनोभियल फ्लुड) निकालेर जाच्नुपर्छ। रगतमा युरिक एसिडको मात्रा बढ्दैमा त्यसैले जोर्नी दुखेको भन्न मिल्दैन। यो कुरा आम मानिसलाई कसले भन्दियोस्, सबै जो रगत जाँच गराउदै युरिक एसिडको नाममा व्यापार गर्न व्यस्त छन्।


४० वर्ष कटेपछीको प्याकेजमा पीएसए (PSA) प्रोस्टेटको क्यान्सरको जाँच पनि रहेछ। अझै पनि विश्वभरी नै पीएसएलाई प्रोस्टेट क्यान्सरको लागि प्रारम्भिक जाँच मान्ने कि नमान्ने भनेर बहस चलिरहेको बेलामा नेपालमा ४० कटेका सबैलाई होल बडी चेकअप भनेर 'पीएसए' टेस्ट राखिनुको अर्थ के हो? पीएसएको मात्रा धेरै आउँदैमा तपाईंलाई प्रोस्टेट क्यान्सर छ नै भन्ने पनि हुँदैन, उमेर बढ्दै गएपछी प्रोस्टेट बढ्दा पनि यसको लेभल बढ्न सक्छ र यो क्यान्सर पत्ता लागे पनि यसको उपचार गराएर फाईदा बढी हुन्छ कि बेफाईदा भन्ने पनि बहसको कुरा छ। यस्तो जाँचलाई ४० वर्ष माथिका सबैलाई भनेर राख्दा पोजिटिभ आएर उक्त व्यक्तीलाई पर्ने अनावश्यक आर्थिक, मानसिक, शारिरिक भारको जिम्मा कल्ले लिन्छ?

सुगर छ छैन भनेर थाहा पाउनको लागि खाली पेटमा गरिने सुगर जाँच (फास्टिङ सुगर) सस्तो र राम्रो जाँच हो। यती किफायती जाँच हुँदा हुँदै एचबीए ए वन सी (HbA1c), जुन राम्रो भए पनि तुलनात्मक रुपमा धेरै महंगो हुन्छ, लाई किन होलबडी चेकअप भनेर ४० कटेका सबैलाई भनेर राखियो? के ४० कटेकाले फास्टिङ सुगर मात्र हेरेर मधुमेह भए नभएको थाहा हुँदैन र?

जाँडरक्सी, चुरोट धेरै खाने, पेटको गोलाई बढी भएको, उचाइको अनुपातमा तौल बढी भएको, बीएमआइ बढी भएको व्यक्तीलाई रक्सी, चुरोट कम गर्नुस्, व्यायाम गर्नुस्, चिल्लो कम गर्नुस्, हरियो सागसब्जी बढी खानुस्, फलफूल खानुस् भन्नलाई महंगा लिभर फङ्सन टेस्ट (एलएफटी/ LFT) र लिपिड प्रोफाइल टेस्ट (रगतमा बोसोको जाँच/ Lipid profile) गरिरहनुपर्दैन।

त्यसैले प्याकेजको रुपमा देखिदा आफ्नो स्वास्थ्यको लागि थोरै पैसामा धेरै जाँच गर्न पाइने जस्तो देखिए पनि यी प्याकेजहरुमा धेरै अनावश्यक र महंगा जाँचहरु सामान्य मान्छेले थाहा नपाउने गरेर घुसाइएका छन्, जुन जाँचहरु अन्तराष्ट्रियस्तरमा पनि स्वस्थ मान्छेका लागि गरिने प्रारम्भिक जाँच (स्क्रिनिङ टेस्ट) भनेर प्रमाणित भएका छैनन्। विना प्रमाण र विना फाईदाका यस्ता अनावश्यक जाँचहरु विशुद्दरुपमा व्यापारिक फाईदाका हिसाबले राखिएका हुन्।

अन्तमा 'होल बडी चेकअप'का प्याकेजको नाममा पैसा र समय फाल्नु भन्दा नियमित चिकित्सकलाई गएर भेट्ने, शारिरिक परिक्षण गराउने र आवश्यक स्क्रिनिङ टेस्टहरु मात्र गराउनु फाईदाजनक हुन्छ। नियमित गराउनुपर्ने जाँचहरुमा प्रेसर नाप्ने, उचाइ, तौल नाप्ने, पेटको गोलाई नाप्ने, बीएमआइ नाप्ने, स्क्रिनिङ टेस्टहरुमा फास्टिङ सुगर टेस्ट, पिसाबमा प्रोटिन, सुगर हेर्ने, महिलाहरुले पाठेघरको मुखको क्यान्सरको लागि प्याप स्मियर टेस्ट (PAP smear test) गर्ने पर्छन्। यी बाहेक अरु डाक्टरसँगको सल्लाहमा आवश्यक जाँचहरु मात्रै गराउनु उपयुक्त हुन्छ।


बाँकी पढ्नुहोस् >>