Friday, June 29, 2018

जीपीले चलाएको जिल्ला अस्पताल


केही समय अघी म छुट्टी मिलाएर जिरी जिल्ला अस्पताल पुगेको थिएँ। त्यहाँ मेरा मित्र डा. निशान्त ढकालले राम्रो काम गरिरहनु भएको थाहा थियो, त्यसैले काम पनि हेरौं, अस्पताल नि हेरौं र ठाउँ पनि घुमौं भनेर जिरी हानिएको थिएँ। आखिर नेपालको स्विजर्ल्याण्ड भनेर चिनिने ठाउँ जो हो।

त्यहाँको पोस्टअप वार्ड हेर्न जाँदा त्यहाँ ३ जना विरामी थिए। एक जना खुट्टाको १५ किलोको ठूलो ट्युमर निकालिएको विरामी, अर्को सानो आन्द्रामा प्वाल परेर पेटभरी फोहोर फैलिएको अवस्थाको ल्यापोरोटोमी/Laparotomy’ गरेर आन्द्राको प्वाल टालिएको विरामी र अर्को हातको हड्डी भाँचिएर अप्रेशन गरि रड हालिएको बच्चा। यी तिनै विरामीको अप्रेशन डा. निशान्त ढकालको नेतृत्वको समूहले नै गरेको थियो। त्यही राती व्यथा लामो लागेर पनि सुत्केरी हुन नसकेपछी सिजेरियन अप्रेशन पनि उहाँकै नेतृत्वमा गरियो। यो कुरा धेरैलाई अचम्म लाग्न सक्छ, एउटै डाक्टरले यी सबै खाले अप्रेशन गाँउको जिल्ला अस्पतालमा कसरी गर्न सक्छ? उ के रोगको विशेषज्ञ हो?

हजुर, उ नेपालको जीपी हो, जीपी अर्थात् जेनेरल प्राक्टिसनर।
डा निशान्तसँग जिरी अस्पतालमा सिजेरियन अप्रेशन गर्दाको क्षण
अधिकांश जनतालाई तथा धेरै स्वास्थ्यकर्मीहरुलाई पनि जीपी भनेको विशेषज्ञ हैन, सामान्य प्राथमिक उपचार मात्र गर्ने डाक्टर हो, विरामीको उपचारमा खासै निर्णायक भूमिका राख्दैनन्, उनीहरुलाई रोगबारे धेरै थाहा हुदैंन र यो विषयको स्कोप पनि खासै छैन भन्ने लाग्छ। तर हामी एउटा अंग वा रोगका विशेषज्ञ हैनौं, हामी सम्पूर्ण मान्छेको विशेषज्ञ हौं, सम्पूर्ण परिवारका स्वास्थ्य समस्याका विशेषज्ञ हौं, त्यसैले त विकसित देशमा 'फेमिली डक्टर' भनेर पनि चिनिन्छ।

मे १९ मा विश्व फेमिली डक्टर दिवस मनाउने गरिन्छ, फेमिली डक्टरको कार्यक्षेत्र, जिम्मेवारी तोकिएको, महत्व बुझेको देशहरुमा धेरै कार्यक्रमहरु गरेर यो पाली नि मनाइयो। हाम्रो देशमा भने धेरैलाई यो 'फेमिली डक्टर' भनेको के हो भन्ने नै थाहा छैन। नेपालमा 'फेमिली डक्टर' भन्ने शब्द त्यती प्रयोग नगरिए पनि लगभग त्यस्तै अर्थ राखेर 'एमडीजीपी' वा 'जीपी' वा 'जेनेरल प्राक्टिसनर' शब्दलाई प्रयोग गरिन्छ। विगतका केही वर्षहरुमा निक साइमन्स इन्स्चिच्युट (एनएसआइ)को सकृयतामा 'जीपी'हरु विशेषत: दुर्गमका जिल्लाहरुमा गएर विभिन्न खाले स्वास्थ्य सेवा, विशेषगरी सर्जिकल सेवा, दिन थालेपछि 'जीपी'हरुको महत्व, आवश्यकता महसुस हुन थालेको छ, देशको स्वास्थ्य क्षेत्रको चित्रमा 'जीपी'हरु देखिन थालेका छन्।

मानौं माथि भनिएको जिरी जिल्ला अस्पतालमा एउटा जीपीको नेत्रित्वमा भएका हरेक अप्रेशन गर्नका लागि हरेक अंगका विशेषज्ञलाई जिल्लामा राख्यौं। त्यसको लागि जेनेरल सर्जन, अर्थोपेडिक सर्जन, गाइने अब्स सर्जन, जन्मेको बच्चा हेर्नलाई पेडियाट्रीसियन, बेहोस बनाउनलाई एनेस्थेसियोलोजिस्ट गरी ५ खाले स्पेसलिस्टहरुलाई जिल्ला अस्पतालमा राख्नुपर्ने रहेछ। के नेपाल जस्तो गरिव देशको सरकारले यो खर्च धान्न सक्छ? अनि त्यसमा कुनै एक डाक्टर छुट्टीमा गयो भने वा बेहोस बनाउने डाक्टर छुट्टीमा गयो भने सबै अप्रेशन बन्द हुन्छ। बजेटले धान्ने नधान्ने भन्ने मात्रै कुरा पनि हैन, जसरी हिजोआज हरेक समस्याको लागि त्यसैको स्पेसलिस्टलाई देखाउनैपर्ने बानी वा फेसनको विकास हुदैंछ के त्यो सहि छ वा के त्यो जरुरी छ भन्ने पनि प्रश्न हो।

इन्डोस्कोपी ट्रेनिङ लिएका उनले जिल्लामा इन्डोस्कोपी सेवा पनि दिन्छन्
डा. निशान्त लगायत जिल्लामा काम गर्ने सबै जीपीको ३ वर्षे कोर्समै रेडियोलोजीको पोस्टिङ हुन्छ, हामी सबैले अल्ट्रासाउन्ड सेवा दिइरहेका छौं, कतिले त्यसपछी थप केही महिना, वर्षको तालिम लिएका छन्, उनीहरुले झन राम्रो सेवा दिइरहेका छन्। कतिले इन्डोस्कोपी, इकोकार्डियोग्राफीको तालिम लिएका छन् र जिल्लामा नै त्यो सेवा दिइरहेका छन्। कतिले डायबेटिज, हाइपरटेन्सन सम्बन्धी, कतिले मानसिक रोग सम्बन्धी, कतिले पाठेघरको शल्यकृया (एब्डोमिनल वा भजाइनल हिस्टेरेक्टोमी) सम्बन्धी, कतिले हाडजोर्नीका सामान्य शल्यकृया सम्बन्धी तालिम लिएका छन्, तिनले आआफ्ना ठाँउमा त्यही सम्बन्धी स्तरिय सेवा दिइरहेका छन्।

केही अघी आफ्नो विरामी जचाउन टिचिङ अस्पताल, महाराजगन्ज जाँदा टिकट काट्ने ठाउँमा "तपाईको के सम्बन्धी समस्या हो?" भनेर टिकट काट्ने कर्मचारीले सोध्दैथिए, अनि पेटको हो, छातीको हो, नसाको हो भन्यो भने मेडिसिनको काट्ने, डल्लाडल्ली छ भन्यो भने सर्जरीको काट्ने, अनि स्त्रीसम्बन्धी हो भन्यो भने गाइनेको काट्ने, यस्तै यस्तै गर्दैथिए। यो हाम्रो नेपालभरीकै चलन हो। अब भन्नुस् पेटको समस्या भनेर मेडिसिनको डाक्टरलाई देखाउन जाने मध्ये कती मेडिसिनकै डाक्टरले हेर्नुपर्ने समस्या हुन्छन् होला? कती सर्जरीले हेर्ने, कती गाइनेले हेर्ने, कती साइकाइट्रीले हेर्ने, कती जीपीले हेरे पुग्ने खाले समस्याहरु नि होलान्। तर हैन हामीलाई टाउको दुखे न्युरोलोजिस्ट वा न्युरोसर्जनलाई नै भेट्नुपर्छ, मुटु दुखे गंगालाल नै पुग्नुपर्छ, अरु सामान्य तरिकाले जाँचे, प्रोटोकल अनुसार उपचार अघी बढाए त हामीलाई चित्तै बुझ्दैन।

यो अन्धाधुन्द चलेको स्वास्थ्य प्रणालीको उच्चतम नमूना हो।

विकसित देशको स्वास्थ्य सेवा लिएकाहरुलाई अनुभव होला, त्यहाँ कुनै पनि समस्याको लागि पहिले आफ्नो जीपीलाई भेट्नुपर्ने हुन्छ, अनी आवश्यकता अनुसार उसले रिफर गरेर मात्र सम्बन्धित विशेषज्ञलाई भेट्न पाइन्छ। विदेशका जीपी भन्दा नेपालका जीपीहरु भिन्न छन्, उनीहरुको कामको दायरा झन ठुलो छ। विदेशका जीपीहरु अप्रेशन गर्दैनन्, हाम्रोमा माटोको आवश्यकता अनुसार सर्जिकल सीप भएका जीपीहरु छन्, विशेषगरी सिजेरियन अप्रेसन। नेपालको आमामृत्‍यु दर घट्नुको एउटा प्रमुख कारण जटिल प्रसुतीहरुको लागि सिमित स्रोत साधनमा पनि जिल्ला अस्पतालहरुमा नै जीपीहरुले सिजेरियन अप्रेशन सेवा प्रदान गर्नु हो। यसका साथै जीपीहरुले विशेषज्ञहरु र टर्सियरी केयर अस्पतालहरुबाट गएका विरामीहरुलाई निरन्तर स्वास्थ्य सेवा दिने काम पनि गर्छन् र आवश्यकता अनुसार विरामीलाई सम्बन्धित विशेषज्ञकोमा रिफर गर्ने काम पनि गर्छन्। साथै अस्पतालमा आएको विरामी शुरुमा हेर्ने डाक्टर भएकोले इमर्जेन्सी अवस्थाको विरामीको महत्वपूर्ण र जीवन बचाउने उपचारको नेत्रित्व पनि जीपीले नै गर्छ।

नेपालमा स्पष्ट नीतिनियम र कार्यन्वयनको अभावमा देशको लागि कति जीपी चाहिने, कति कस्ता रोगका विशेषज्ञ चाहिने, कसलाई कहाँ पठाउने भन्ने नै गन्जागोल छ। मेडिकल विधार्थीहरुमा पनि जीपी, प्राइमरी केयरमा भन्दा पनि स्पेसलिस्ट र सुपर स्पेसलिस्ट बन्ने चाहना बढ्दो छ। हुन त यो उनीहरुको व्यक्तिगत चाहना हो तर सरकारले आफ्नो जनसंख्या र स्वास्थ्य स्थिती अनुसार कुन विशेषज्ञ कति चाहिन्छ र कति पढाउने भन्ने नीति राख्नु जरुरी हुन्छ। नत्र भविष्यमा जिल्ला अस्पतालमा कार्डियोथोरासिक सर्जनले हर्नियाको अप्रेशन गरेर बस्नुपर्ने अवस्था नआउँला भन्न सकिन्न।


जिल्लामा काम गर्ने डाक्टरहरुको कुरा गर्दा एनएसआइले जीपी लगायत एसबीए ट्रेनिङ लिएको मेडिकल अफिसर, एनेस्थेटिक एसिस्टेन्ट र ओटी मेनेज्मेन्ट ट्रेनिङ पाएको स्टाफ नर्सको टिम पठाएर सहयोग गरेको जिल्ला अस्पतालहरुको प्रगती विवरण अन्य जिल्ला अस्पतालहरुको भन्दा धेरै राम्रो देखिएको छ, यो तथ्यांकले नै देखाएको कुरा हो। यो कसरी सफल हुन सम्भव भयो भनेर पनि विश्लेषण गर्नुपर्ने देखिन्छ। जीपी एक्लै हुँदैमा सबै सम्भव हुने हैन, उसको लागि सहयोगी टिम, आवश्यक औजार, उपकरण, भौतिक पूर्वाधारहरु पनि हुनु जरुरी हुन्छ। साथै जीपी लगायत अन्य स्वास्थ्यकर्मीहरुको स्तरिय तलबको कुरा पनि आउछ। सरकारले अहिले पीजी स्कोलरसीपमा पढाएर बोन्डमा विशेषज्ञ डाक्टरहरुलाई करारमा गाउगाउका जिल्ला अस्पतालहरुमा यति नै तलबस्केलमा खटाएर एनएसआईको सहयोगमा निकालेको जस्तो रिजल्ट निकाल्छु, त्यही स्तरको स्वास्थ्य सेवा दिन्छु भन्ने सोचेको छ भने त्यो गलत हुनेछ। एनएसआईले दिएको मोडल राम्रो छ भन्ने, जीपी चाहिन्छ भन्ने तर जिल्लामा जीपीलाई वा अन्य विशेषज्ञहरुलाई टिकाउन के के गर्नुपर्छ भन्ने कुरा चाँही नदेख्ने पदाधिकारीहरुलाई के भन्नु खै?


नेपाल जस्तो अविकसित मुलुकमा हाम्रो जस्तो सर्जिकल जीपीको सहि तरिकाले सरकारी सिस्टमले नै अपनत्व ग्रहण गरेर जिम्मेवारी लिएर उनीहरुको लागि काम गर्ने वातावरण मिलाउन सक्यो भने स्वास्थ्य क्षेत्रको विशेषगरी दुर्गम र पिछडिएको क्षेत्रका जनताले स्तरिय स्वास्थ्य सेवा पाउनेमा कसैको दुई मत नहोला।
बाँकी पढ्नुहोस् >>