Saturday, October 6, 2018

एम्बुलेन्सको गतिमा बिरामीको सास

कहिलेकाहीँ जिन्दगीमा हामीले सोचेजस्तो हुँदैन। हामी एउटा सोचेर काम गर्छौं, भैदिन्छ अर्को। यस्तै भयो यसपालि दसैं बेला।

मेरो पोखरा जाने र त्यहाँबाट साथीसँग घान्द्रुकको पुनहिल यात्रामा निस्कने योजना थियो। म बुटवलबाट पाल्पा, स्याङ्जा भएर पोखरा निस्कने बाटो कहिल्यै हिँडेको थिइनँ। त्यसैले लामो पट्यारलाग्दो बाटो छ भन्ने थाहा हुँदाहुँदै मैले यही रुटबाट हिँड्ने निर्णय गरें। छुट्टी अभावलेमलाई एकै दिनमा प्युठानबाट बुटवल पुगेर पाल्पा, स्याङ्जा अनि बेलुकासम्म जसरी नि पोखरा पुग्नुपर्ने थियो।

म प्युठानको जुम्रीबाट बुटवलको बस चढेँ। एकैछिनमा त्यसले आफ्नो औकात देखाइहाल्यो। उसको अन्तिम गन्तव्य नै बुटवल रहेछ। उसलाई दिनभरि लगाएर बुटवल पुग्नुरहेछ, छिनछिनमा यत्तिकै रोकेर हैरान पार्यो। हामी १ घन्टामा पनि चेरनेटामै हल्लिदै थियौं। लाग्यो, अब यसरी तभएन, यै ताल हो भने आज बुटवलमै बास बस्नुपर्छ।

मैले अर्को उपाय खोजेँ। अस्पतालमा फोन गरेर “कुनै एम्बुलेन्स बुटवल जाँदैछ” भनेर सोधेँ। भाग्य भनौं कि के, ठ्याक्कै एउटा बिरामी बच्चा लिएर एम्बुलेन्स अस्पतालबाट हिँड्न लागेको रहेछ। अब त्यसैमा जानुपर्यो भन्ने सोचें। हुन त उपचारमा संलग्न नभएको वा विरामीसँगअसम्बन्धित व्यक्ति एम्बुलेन्समा त्यसरी यात्रा गर्न मिल्दैन। तर बिरामीको उपचारमा फरक नपर्ने र एउटै ठाउँ पुग्ने भएकोले मैले चिनेको आधारमा चकचके भन्ने ठाउँबाट एम्बुलेन्समा बुटवलको यात्रा शुरु गरें। छिट्टै पुग्ने आशमा, तर यो मेरो जिन्दगीको सबैभन्दा लामो यात्रा भैदियो।

एम्बुलेन्सले बोकेको बिरामी रहेछ- सात दिनअघि घरैमा जन्मेको नवजात शिशु। आमा भर्खरकी देखिन्थिन्, १७-१८ मात्रै थिइन् शायद। एउटा हातले छोरा च्यापेर अर्को हातले अक्सिजनको नाकमा लाउने पाइप (नेजल प्रोङ) समातेर बच्चाको नाकको प्वालमै लगाइदिँदै थिइन्। सानो खालेसिलिन्डरबाट अक्सिजन आइरहेको थियो।

“सिलिन्डर त सानो रहेछ नि,” मैले सोधेँ।

"२-३ लिटरमा चलायो भने बुटवलसम्म धान्छ" एम्बुलेन्सका ड्राइभरले भने।

साथमा बच्चाका बाजेबजै पनि रहेछन्। बच्चालाई हेर्नेबित्तिकै मलाई समस्याको गम्भिरता महसुस भयो। बच्चाले धेरै नै छिटो सास फेरिरहेको थियो, दूध नखाएको र बान्ता भइरहेकोले हुनसक्छ, उसको शरीरमा पानीको अभाव प्रष्टै देखिन्थ्यो।

 उसको शरीरमा सलाइन चढाउन, ग्लुकोजदिन, औषधी दिन हातखुट्टा कतै पनि रगतको नसामा क्यानुला लगाइएको थिएन। त्यसको मतलब अस्पतालमा उसको उपचारमा केही पनि गरिएन।

"बाफ मात्र लगायो अनि सिकिस्त छ भनेर बुटवल रिफर गरिदियो" उनीहरुले भने।

मैले रिफर कागज मागें। त्यसमा लेखिएको विवरण देखेर हाँसो लाग्यो, हाम्रो अवस्था र तरिका देखेर दया पनि लाग्यो, रिस पनि उठ्यो।

एम्बुलेन्स घुम्ती, उकाली, ओराली, खोंच केही नभनी तीव्र गतीमा अगाडि बढिरहेको थियो। अब बच्चाको सास त्यै सानो सिलिन्डरको अक्सिजन र एम्बुलेन्सको गतिमा अडिएको थियो। म त त्यहाँ एउटा मुकदर्शक मात्र थिएँ। मलाई थाहा थियो, बच्चाको अवस्थाअनुसार उसलाई तुरुन्तसलाइन चढाइनुपर्थ्यो। हिजो अस्तिदेखि दूध नखाएको उसलाई ग्लुकोज चढाइनुपर्थ्यो। सम्भावित संक्रमणको लागि उपयुक्त मात्रामा एन्टिबायोटिक दिइनुपर्थ्यो। उसको रगतमा अक्सिजनको मात्रा पुगेनपुगेको हेरेर घट्दै गएको भए मुखबाट पाइप हालेर फोक्सोसम्म पुर्याइ बाहिरबाट सासफेराउनुपर्थ्यो (इन्टुबेसन गरेर भेन्टिलेटरमा जोडीनुपर्थ्यो)।

यहाँ म लाचार थिएँ, सबै थाहा पाएर नि सामान, औषधी सबको अभावमा हात बाँधेर बस्न बाध्य थिएँ। म आफैंले पढेका मेडिसिनका मोटामोटा किताबलाई धिक्कार्दै थिएँ, सिकेका सिप, लिएका ट्रेनिङलाई गाली गर्दै थिएँ। चाहिएको बेला प्रयोगमा ल्याउन नसकिने ज्ञानको के काम?

म हतियारबिना युद्दमा पठाइएको एउटा योद्दाजस्तो भएको थिएँ, जो आफूलाई त गोली लाग्दैन तर शत्रुका गोलीले भकाभक आफ्न साथी ढलिरहेको हेर्नुपरिरहेको थियो। उ टुलुटुलु हेर्नु बाहेक केही गर्न सक्दैनथ्यो, हरेक मृत्युमा आँसुको सानो थोपा चुहाउनुबाहेक केही गर्न सक्दैनथ्यो।

चिन्ता मात्रै गरेर के नै पो होला र भनेर यो विवसता, यो पीडा बिर्सन म झ्याल बाहिरबाट वरिपरिका पहाड, तल बगेको नदी हेर्दै रमाउन खोज्थेँ, आफैंमा हराउन खोज्थेँ। मन भने बाहिर उडेर रमाउन मान्थेन, बरु अर्कै सपना पो देख्न थाल्यो। हामी पनि पूर्ण सुविधासम्पन्न एम्बुलेन्समाथियौं, बच्चाको छातीमा इसिजीका तार जोडिएका थिए, ती तार एम्बुलेन्समा भएको मनिटरमा गएर जोडिएका थिए, त्यहाँ उसको मुटुको इसिजी, गति, रगतमा अक्सिजनको मात्रा सबै देखाइरहेको थियो। उसको हातमा सानो क्यानुला जोडिएको थियो, जसमा पाइप जोडिएको थियो र त्योपाइपमा माथि झुण्डाइएको सलाइनबाट थोपाथोपा औषधी झरिरहेको थियो। उसलाई नेजल प्रोङबाट हैन कि उसको टाउको पूरै हुड बक्सभित्र राखेर त्यसैबाट अक्सिजन दिइरहेको थियो। मसँग हातमा एट्रोपिन, एड्रेनलिन, ग्लुकोज, मिडाजोलाम जस्ता इमर्जेन्सी औषधी तयारी अवस्थामाथिए। उसलाई सास फेर्न धेरै गार्हो भयो भने, उसको रगतमा अक्सिजनको मात्रा धेरै घट्यो भने इन्टुबेसन गरेर बाहिरबाट सास दिन विभिन्न साइजका ट्युब, ल्यारिङोस्कोप, सक्सन, एम्बुब्याग सबै थियो, अनि कृत्रिम श्वासप्रश्वास गराउनलाई सानो भेन्टिलेटर पनि थियो। बच्चाकोस्वास्थ्यमा आउने सबै खाले अवस्थाका उपचारका लागि म पूर्णरुपमा तयार थिएँ। नजिकै भएका बच्चाका आफन्तलाई म निरन्तर उसको अवस्थाको बारेमा अपडेट गरिरहेको थिएँ र उसलाई संसारकै उत्कृष्ट उपचार गरिरहेको र नआत्तिन भनिरहेको थिएँ।

अचानक ढ्वाङ आवाज आयो, झ्याप्प ब्रेक लाग्यो। हामी (म र ड्राइभर) अगाडि भएकोले तुरुन्त सम्हाली हाल्यौं, पछाडि बच्चाको बाजे हुत्तिएर आएर सिलिन्डरमा ठोक्किएछन्, सानो घाऊ भएछ, आमा बच्चा पनि धन्नै लडे। स्पिडमा घुम्तीमा मोड्दा बाटोमा ठूलो खाल्डो देखिएछ, अनिअचानक ब्रेक लगाउनुपरेको रहेछ। बच्चाको उपचारको लागि मैले थुपारेका सबै सपनाका सामाग्री, औषधीहरु छरिए, फुटे अनि छिनभरमै बिलाए। म विपनामा फेरि उही मुकदर्शक बन्न पुगें। पछाडि फर्केर बच्चालाई हेरें, उसको अवस्था उस्तै थियो, आमाको काखमा बसेर बाँच्न संघर्षरत।

भालुवाङ पुगेपछि भने केही सजिलो भयो, बाटो सिधा र फराकिलो भयो, एम्बुलेन्सको गति दोब्बरै बढ्यो। बुटवलसम्म बच्चालाई सकुशल पुर्याउन सकिन्छ कि भन्ने सबैको आश पलायो तर मलाई भने उसको अवस्था देखेर भित्रभित्र नजानिदो डर लागिरहेको थियो।

"बिरामी बोक्दा अस्पताल नपुग्दै कैले बाटोमा बिरामी मरेको छ?" मैले डराइडराइ एम्बुलेन्सको ड्राइभरलाई सोधें।

"२-३ पटक त्यस्तो परेको छ सर, हामीलाई नि गार्हो छ, केही गर्न सकिँदैन, यही एम्बुलेन्सको स्पिड बढाएर छिटो पुर्याउन सकिन्छ कि भन्ने मात्र हो। एम्बुलेन्समा नि बिरामी हेर्ने छुट्टै स्टाफ भए कत्ति सजिलो हुन्थ्यो, बिरामीले यस्तो घण्टौं लामो बाटोमा पनि लगातार उपचारपाइरहन्थ्यो, राम्रो हुने चान्स बढेर जान्थ्यो कि।" समस्याको समाधान खोज्ने उनको सोचाइ देखेर मलाई सन्तोष लाग्यो।  यही यस्तै सोचाइ घुम्ने कुर्सीमा बसेका हाम्रा योजनाकारमा किन नआएको होला भनेर दिक्क लाग्यो। शायद उनीहरुलाई, उनीहरुका आफ्नाहरुलाई नपरेको हुनाले पोहो कि, जो कि हेलिकप्टरमै क्षणभरमा अस्पताल पुर्याइन्छन् वा पहुँचका आधारमा साधारण जनताले नपाउने सेवा पाउँदै एम्बुलेन्समा कुद्छन्।

हामी बीचमा एकपटक तेल भर्नबाहेक कहीँकतै नरोकीई दौडिरहेका थियौं। बिरामीहरुको घर तिराम रहेछ, जन्मेदेखि नै दूध राम्ररी नखाएको रे, तर ठीक होला नि भनेर धामीझाँक्री गरेर बसेका थिए रे, नभएपछि बल्ल आज तल ओर्लेका रे। एम्बुलेन्स बोलाएर बच्चालाई अस्पताल त लगेतर लग्ने बित्तिकै "यहाँ सकिदैन, बुटवल लग्नुपर्छ" भनेर पठाइदिए रे।

एम्बुलेन्स बीचमा रोक्दा मैले अस्पताल फोन गरेर सोधेँ, "बच्चा त सार्है सिकिस्त छ त, किन क्यानुला नखोली, ग्लुकोज, औषधी केही पनि नदिई पठाएको?"

"अँ, बच्चाको अवस्था सिकिस्त थ्यो, उनीहरुले यहाँ नहुने भए ढिलो नगरी रिफर गर्दिनुस् भने, क्यानुला खोल्ने, ग्लुकोज दिने गर्न खोजेको, ढिलो नगरौं ढिलो नगरौं भन्न थाले, फेरी यहीँ केही भयो भने टाइममा रिफर गरेनन् भन्ने दोष बेकारमा आउँछ भनेर उनीहरुले भनेअनुसार तुरुन्तपठाइदिईहाल्यौं।"

के भन्नु अब। केही उपचार नि नगरी तुरुन्त रिफर गरेर त्यो २-३ घण्टाको बाटोमा चैं के त्यो हावाको भरमा बाँच्छ त बिरामी? कसलाई मात्र पो दोष दिनु के। यसमा बिरामीका मान्छेको नि दोष हो, त्यो घण्टौ लामो बाटोको यात्रामा बिरामीको अवस्था के हुन्छ, त्यो बाटोको यात्राभरकसरी बचाउने भन्ने नै नसोची तुरुन्त-तुरुन्त कुदाउनुपर्छ, मानौं कि जिल्लाबाट निस्केपछी तुरुन्तै ठुलो अस्पताल पुगिहालिन्छ। कमसेकम प्राथमिक उपचार वा ज्यान बचाउने र यात्रा अवधिमा सजिलो बनाउने तयारी नगरी कुनै पनि अस्पताल छोड्नुहुन्न। स्वास्थ्यकर्मीले पनि यो बारेसकेसम्म बुझाउने कोशीस गर्नुपर्छ तर कतिपय अवस्थामा शान्त दिमागले भन्दा चिन्ता, जोस, डर र भिडले निर्णय गर्नाले यस्तो गलत कदम चल्न जान्छ र बाटोमा पुगेपछि एम्बुलेन्सको स्पिड बढाउनुबाहेक अरु विकल्प रहन्न।

आखिर जे कुराको डर थियो त्यो भयो, बुटवल पुग्नुभन्दा केही ४-५ किमी वर “बच्चा चल्न छोड्यो” भनेर आमा कराइन्, एम्बुलेन्स रोकेर मैले पछाडि फर्केर बच्चा जाँचे, बच्चा चिसो भैसकेछ, बच्चा बितिसकेको थियो। आमा रुन थालिन्, उनको पहिलो सन्तानले उनको काखमै प्राणत्यागेको थियो, बाजेबजै पनि रुन थालें। सान्त्वना दिने कुनै शब्द थिएनन्, सार्है नराम्रो लाग्यो, दु:ख लाग्यो। नौ महिनादेखि पेटमा राखेर हुर्काएको उनको पहिलो सन्तानले उनको काखमा उनकै आँखाअघि प्राण त्याग्यो।

"अब फर्किनुस्" भनेको ड्राइभरले "अब अलिकति बाटो त हो म तपाईंलाई बस स्ट्यान्डसम्म पुर्याइदिन्छु अनि फर्कौला" भने। केही मिनेटमै हामी बुटवल पुग्यौं, म ओर्लिएँ। मलाई अब पोखरा पुग्नुथियो, म एकदमै टाइममा पुगेको थिएँ, तर यो मेरो जीवनको सबैभन्दा लामो र कष्टकरयात्रा बनेर मनमा बसिसकेको थियो। एम्बुलेन्स फर्कियो, तर अब उसलाई आउँदाको जस्तो हतार हुँदैन होला किनकि बचाउनु पर्ने केही बाँकी थिएन। बाँकी थियो त एउटा सानो मृत शरीर र त्यसलाई च्यापेर बसेको आमाको अर्धमृत शरीर, एम्बुलेन्स एउटा शव बाहन बनिसकेको थियो।

यो एउटा सत्य घटना हो र यस्तै सत्य घटना हरेक दिन, हरेक क्षण भइरहेका हुन्छन्। के यसको समाधान छैन त?

हो सबैलाई बचाउन सकिँदैन तर औषधी, उपकरण, जनशक्ति जुटाउन सकिने भएर पनि स-साना व्यवस्थापकीय कमजोरी, योजना कार्यान्वयनमा शिथिलता, दूरदर्शिताको अभाव आदि कारणले आमनागरिकले आधारभूत र स्तरीय उपचार नपाएको, त्यसको अभावमा ज्यान गुमाएको देख्दा,भोग्दा, सुन्दा चैं चित्त दुख्छ, रिस उठ्छ, मन रुन्छ।

यसको समाधान के त?

१. एम्बुलेन्समा कमसेकम तालिम पाएका स्वास्थ्यकर्मी अहेव, हेल्थ असिस्टेन्ट राखिनुपर्छ र एम्बुलेन्सलाई इमर्जेन्सी औषधी र सामान्य उपकरणयुक्त बनाइनुपर्छ। 

हुन त देशको एम्बुलेन्स निर्देशिकाले यसको पनि क, ख, ग वर्ग गरी वर्गीकरण गरेको छ तर नेपालमा काठमाडौंमा गुड्नेकेही एम्बुलेन्स छाडेर सबै ट्याक्सीभन्दा फरक छैनन्, सबै 'ग' वर्गभन्दा मुनिका छन्। हुन त भन्नेले यति हुनु पनि ठुलो कुरा हो भन्लान् तर यो स्थितिमा अझै सुधार ल्याउनुपर्छ र सही रुपमा सोचेर काम गर्यो भने सकिन्छ पनि।

यसले फाइदा के हुन्छ भने एम्बुलेन्समा भएका स्वास्थ्यकर्मीले घरमै बिरामीको प्रारम्भिक अवस्था जाँच गरेर उपचार शुरु गरिहाल्छन् र जटिल भए अस्पतालमा ड्युटीमा भएका डाक्टरसँग फोनमा गरेर थप के गर्ने भन्ने सरसल्लाह गर्न सक्छन्। जसले गर्दा रिफर गर्नुपर्ने भएअस्पतालमा आउँदाजाँदा समय अनावश्यक रुपमा खर्च हुँदैन। जस्तो यो विरामी पनि तिराम भन्ने ठाउँको थियो, जहाँबाट जिल्ला अस्पताल भएको बिजुवार जान बुटवल आउने भन्दा उल्टो बाटो, पिचबाटो जोडिएपछि लगभग आधा घण्टाजतिको बाटो पर्छ। उसलाई शुरुमै घरमाएम्बुलेन्ससँग गएको स्वास्थ्यकर्मीले हेरेर त्यहीँ प्राथमिक उपचार गरेर त्यतैबाट बुटवल पठाउन सकिएको भए त्यो अमूल्य एक घण्टाको समय बच्थ्यो र उसको ज्यान पनि बचाउन सकिन्थ्यो कि।

२. रिफरल व्यवस्थालाई व्यवस्थित बनाउनुपर्छ। 

अहिलेको रिफरल व्यवस्था अन्धाधुन्ध छ। एउटा अस्पतालले "सक्दैनौं, अन्त जाउ" भनेर रिफर गरेपछि उसको जिम्मेवारी सकियो, त्यसपछि बिरामी जहाँसुकै जाओस्, जसरी जाओस्, जाओस् नजाओस् मतलब हुँदैन। खासमा कहाँ रिफरगरिने हो, त्यो ठाउँमा बेड खाली छ कि छैन रिफर गर्ने अस्पतालले (डाक्टर वा स्वास्थ्यकर्मीले नै गर्नुपर्छ भन्ने छैन) बुझेर मात्र पठाउने गर्नुपर्छ जसले गर्दा बेड खोज्दाखोज्दै बिरामीको उपचारमा ढिलाई नहोस्। साथै त्यो ठाउँमा एकपटक ड्युटीको डाक्टर वा स्वास्थ्यकर्मीसँग कुरा गरेरयस्तो बिरामी यो ठाउँबाट आउँदैछ, यो बेलासम्म आइपुग्ला, यो तयारी चाहिएला भनेर ह्यान्डओभर दियो भने अर्कोतिरको अस्पताल र स्वास्थ्यकर्मी त्यही रुपमा तयार भएर बस्न पाउँछन् र बिरामी पुग्नेबित्तिकै तुरुन्त उपचार शुरु गर्न सकिन्छ। विकसित देशहरुमा यस्तै हुन्छ, यो गार्होकुरा पनि हैन। कमसेकम सरकारी अस्पतालबीचमा यो समन्वय हुनु जरुरी हुन्छ। अहिले पनि कागजी रुपमा प्रेषण पत्र नभएको त हैन तर यसको प्रयोग हेल्थपोस्टबाट जिल्लासम्म भन्दा माथि भएको देखिदैन।

३. लामो बाटोमा रिफर गरिँदा त्यो घण्टौं लामो बाटोमा बिरामीको अवस्था के हुन्छ, केही गार्हो भए बीचमा के गर्ने भनेर हिँड्नुअघि नै सोच्नुपर्छ र बिरामीका आफन्तलाई पनि बुझाउनुपर्छ। 

हिँडाउनलाई हतार गरेर मात्र, एम्बुलेन्स छिटो कुदाएर मात्र घण्टौं लामो बाटोमा बिरामी बचाउनसकिँदैन। नेपालमा यस्ता लामा कष्टकर बाटोहरु धेरै छन्। सही तरिकाले सोचिएन भने बाटो बीचमा पुगेर भगवान पुकार्नुबाहेक अरु उपाय हुन्न। त्यसैले टाढाको बाटोमा एकछिन हतार गरेर कुदाइहाल्नुभन्दा प्राथमिक इमर्जेन्सी उपचार गरेर मात्र लैजानुपर्छ। बिरामीका आफन्तले पनियसको महत्व बुझ्नुपर्छ, इमर्जेन्सी उपचार भइरहेको बेला छिटो रिफर गरेन, ढिलाई गर्‍यो भनेर अनावश्यक दवाव दिनुहुदैन।

आशा छ यो स्थितिमा सुधार हुनेछ र कसैले पनि यसरी अकालमा ज्यान गुमाउनु पर्नेछैन।

(यो लेख सेतोपाटी अनलाइन पत्रीकामा चैत २५, २०७२, बिहीवार प्रकाशित भएको थियो। )
बाँकी पढ्नुहोस् >>

Friday, October 5, 2018

माननीय रामनारायण बिडारीलार्इ खुला पत्र


माननीय रामनारायण बिडारीज्यु,
सादर नमस्कार

तपाईंले संचार केन्द्र नेपालद्वारा आयोजित 'नागरिकको स्वास्थ्य उपचारको अवस्था र विधमान पारीमार्जित ऐन' विषयक अन्तर्कृया कार्यक्रममा दिएको अभिव्यक्तिको आधारमा 'हेल्थपोस्ट नेपाल' अनलाइनमा २०७५ असोज ११ गते प्रकाशित लेख पढें। तपाईंको विचार र अभिव्यक्ति पढेर भन्न मन लागेका केही कुराहरु थिए, त्यसैले तपाईं र तपाईं जस्तै सोच र विचार बोक्नुभएका धेरैका लागि भनेर यो खुला पत्र लेख्दैछु।

  • ·       विरामी रेफर गर्नु डाक्टरको लापरवाही हो, त्यस्तालाई कारवाही गर्नुपर्छ।

लेखको शिर्षक नै गलत र डरलाग्दो भ्रम सिर्जना गर्ने खालको छ। विरामीलाई रिफर गर्नु गल्ती हैन, डाक्टरको अधिकार हो। वास्तवमा विरामीलाई रिफर कुन बेलामा गरिन्छ? जब आफ्नो र आफ्नो अस्पतालको सीप, क्षमता, साधनले विरामीको उपचार गर्न सम्भव हुन्न भन्ने देखिन्छ। के आफूले उपचार गर्न नसक्ने विरामीलाई पनि आफ्नै अस्पतालमा राखिरहनुपर्छ र त्यसो नगरी विरामीको हितमा सोचेर अन्य सुविधासम्पन्न अस्पताल जानुस् भनेर रिफर गर्नु लापरवाही हो? हुन त सिकिस्त विरामीलाई रिफर गर्न पाइन्न वा विरामी सिकिस्त भईसकेपछी सक्दिनँ भनेर अन्त पठाउन पाइन्न, कि शुरुमा नै पठाउनुपर्छ भन्ने भनाइ होला। तर विरामी शुरुमै सिकिस्त छ भने, उपचार नसकिने छ भने पठाइन्छ पनि। र कती बेला विरामी आउँदा शुरुमा अवस्था धेरै बिग्रीएको हुँदैन तर सहि उपचार हुँदाहुँदै पनि अवस्था बिग्रेर जाने हुनसक्छ। त्यस्तो अवस्थामा अरु सुविधा सम्पन्न अस्पातलमा जहाँ उपचार सम्भव हुनसक्छ त्यहाँ रिफर गरिनु के लापरवाही हो? कि बेड नभए पनि भुईंमा राखेर, भेन्टिलेटर नभए पनि हातैले हावा दिएर, औषधी उपलब्ध नभए पनि झारफुक गरेरै भएर पनि, विशेषज्ञ र आवश्यक जनशक्ती नभए जसरी भए पनि रिफर नगरी त्यही उपचार गर्नुपर्छ भन्न खोज्नुभएको हो? देशका सरकारी अस्पतालहरुको स्रोत साधन, जनशक्तीको अवस्था के कस्तो छ कैले सोधखोज गर्नु भएको छ? ४०-५० जना डाक्टर हुनुपर्ने उपक्षेत्रीय अस्पताल जस्तो ठाउँमा ५-१० जना डाक्टर छन्, त्यसमा नि अप्रेशन गर्नसक्ने सीप भएका २-३ जना मात्र? अनी के ती २-३ जना डाक्टर दिन रात सातै दिन, १२ महिनै खटिनुपर्ने हो? तिनले कैलेकाही छुट्टी लिएर विरामी रिफर गर्न पाउछन् कि पाउदैनन् बिडारी सरले भनिदिनुपर्‍यो। डाक्टर मात्र हैन एनेस्थेसिया एसिस्टेन्ट नि धेरै जिल्ला, अञ्चल अस्पतालमा एउटा मात्र हुन्छन् के तिनले छुट्टी बस्न नपाउने हो? किनकी ती छुट्टी बस्दा अप्रेशन सेवा नै बन्द हुन्छ र विरामी त्यहाबाट अन्त रिफर गर्नुपर्छ। ती स्वास्थ्यकर्मीहरुको काम र आरामको सन्तुलन मिलाएर बाँच्न पाउने मानव अधिकारको कसले संरक्षण गरिदिने? तपाईंहरुले हैन?

  • ·       ऐनबाट चिकित्सक मात्र हैन, कोही पनि डराउनुपर्दैन।

सबैले डराउनुपर्दैन, गलत नियत भएकालाई, गलत काम गर्नेलाई मात्र कानुनले समाउछ भन्नुहुन्छ। तर किन र कसरी डराउनुपर्दैन, यो कानुन कसरी सहि छ, यसले कसरी देशको स्वास्थ्य क्षेत्रको सुधारमा सहयोग पुग्छ भनेर कसैले पनि बुझ्ने गरेर बताउन सकेका छैनन्। स्वास्थ्य क्षेत्र र वर्तमान समाज, प्रशासन, भिडतन्त्र बुझेका हामी जस्ता चिकित्सकहरुलाई चाँही यो कानुनमा धेरै खोट रहेको लागेको छ। यो कुरा हामीले धेरै ठाउँमा धेरै पटक उठाइसकेका छौं, खै हामीले बुझाउन नसकेको हो कि तपाईंहरुले बुझ्न नसक्नुभएको, नखोज्नुभएको हो अझै पत्ता लगाउन सकिएको छैन। यो ऐनको बारेमा केही समय अघी युट्युबमा मैले एउटा भिडियो प्रेजेन्टेसन पनि गरेको थिएँ, समय मिलाएर हेर्नुहोला, धेरै कुरा बुझ्नुहुनेछ।
‘नयाँ मुलुकी ऐन र नेपाली डाक्टरका कुराहरु’
https://www.youtube.com/watch?v=A5ngvjLXplE

  • ·       वर्तमान समयमा चिकित्सकहरूले सरकारले ल्याएको मुलुकी अपराध (संहिता) ऐनलाई विरोध गर्ने औजार बनाएका छन्। चिकित्सकहरूले हडताल गरेको विश्व इतिहासमा कहीँकतै छैन। शिक्षित तथा संवेदनशील क्षेत्रमा काम गर्ने चिकित्सकले देखाएको त्यो हदको व्यवहार ज्यादै लज्जास्पद हो।

हामी चिकित्सकहरुले कामै नपाएर विरोधमा उत्रेको, ओपिडी सेवा बन्द गरेका हैनौं। आफ्नो कार्यक्षेत्रमा सुरक्षित भएर आफ्नो सीप र ज्ञानको सहि तरिकाले प्रयोग गरेर विरामीको उपचार गर्न पाए र त्यसको आधारमा गुजारा गर्न पाएँ हामी खुशी हुन्छौं। तर समाजको अहिलेको बद्लिदो स्थितीले अस्पतालमा हुने हरेक मृत्‍युलाई लापरवाहीको नाम दिएर सतही मिडिया रोपोर्टिङ र आक्रोसित भिडले जसरी आत्मसम्मान र ज्यानमा धावा बोल्छ, त्यो देखेर काम गर्न नसक्ने अवस्था आएको महसुस हुन्छ। गल्ती नै नभएकोमा पनि चरिकोट अस्पतालमा स्वास्थ्यकर्मीहरुलाई प्रहरी र प्रशासनकै सामू जबर्जस्ती हत्याराहरुलाई जसरी माफी माग्न लगाइयो। डोटीमा चिकित्सकलाई हातपात गरियो, यस्ता घटना त धेरै छन्। जुन लापरवाही हो हैन भनेर कुनै पनि छानवीन भएको छैन, मात्र आक्रोसित भिड, आफन्त र गलत मिडियाले लापरवाहीको ठप्पा लगाएर भाटे कारवाहीमा उत्रने यस्ता घटना धेरै भए। शायद त्यही सतही रिपोर्टिङ पढेर नै तपाईंले आफ्नो सोच बनाउनु भएको होला। त्यसैले त विरामीको ज्यान बचाउन डाक्टरले बिग्रेको म्रिगौला निकाल्दा हाम्रो संसदमा 'मनमोहन अस्पातलमा म्रिगौला तस्करी भयो' भनेर कार्वाही माग गरिन्छ। कती हास्यास्पद वैचारिक अवस्था छ हाम्रो केही सांसदहरुको। यो लेखेपछी फेरी मलाई कम्युनिष्टको बिल्ला भिराइएला भन्ने पो डर लाग्छ, यो देशमा। राजनीति र पार्टी भन्दा बाहिर निस्केर देशको लागि सोच्ने नेता मात्र हैन त्यस्तो जनताको पनि कमी छ, यो देशमा। यो कानुनले आखिरमा देशको स्वास्थ्य क्षेत्रलाई, गरिव विरामी, जनतालाई नै असर गर्ने हो र यो अहिले व्यवहारमा पनि देखिन शुरु गरिसकेको छ। त्यसैले बेलैमा सचेत हुनु जरुरी छ।

चिकित्सकले विश्वमा कहिकतै हड्ताल गरेका छैनन् भन्नुभएको देखेर अचम्म लाग्यो। हुन त तपाईंले विश्वका विभिन्न देशको मेडिकल क्षेत्रमा भएका क्रान्तिहरुको बारेमा अध्ययन गर्नुभएको छैन होला। तलब र सुविधा कम भयो भनेर बेलायत लगायत धेरै देशमा हड्ताल भएको थाहा पाउनुभएनछ। अस्पतालमा स्वास्थ्यकर्मीको सुरक्षाको माग गर्दै विभिन्न देशमा डाक्टरहरुले गरेको आन्दोलनको बारेमा ज्ञान रहेनछ। समाचारहरु हेर्न गार्हो लाग्छ भने 'List of health and medical strikes' भनेर विकिपेडियामा हेर्नुभए हुन्छ।

खासमा विकसित देशहरुमा ५०-१०० वर्ष अगाडि जुन माग राखेर आन्दोलन हुन्छन् नि ती हाम्रा अहिलेका मागहरु हुन्। हो, स्वास्थ्य क्षेत्र संवेदनशील क्षेत्र हो तर यसमा काम गर्ने मान्छे नै हुन्, तिनलाई नि भोक लाग्छ, खानुपर्छ, परिवार हुन्छ, पाल्नुपर्छ, थकाईलाग्छ सुत्नुपर्छ, आत्मसम्मान हुन्छ, जोगाउनुपर्छ, सुरक्षा दिनुपर्छ भन्ने आधारभुत ज्ञान पनि देशका नेता र सांसदहरुमा नभएपछी आफ्नो माग राखी आन्दोलन गर्नुको विकल्प नभेटिएको हो। यो रहर हैन, बाध्यता हो।

  • ·       ९९ प्रतिशत चिकित्सकले आफ्नो सीप तथा क्षमताको सही रूपमा प्रदर्शन गरेर इमानदारीसाथ बिरामीको उपचार गर्छन्, १ प्रतिशतले मात्र उपचारमा हेलचक्य्राइँ गर्छन्। त्यसैले ९९ प्रतिशत चिकित्सकले डराउनुपर्दैन।

भन्दा सबैले यही भन्छन्, तर ती ९९ प्रतिशत चिकित्सकको कार्यक्षेत्रमा सुरक्षाको ग्यारेन्टी दिन 'जेल विथ वाउट बेल' अर्थात स्वास्थ्यसंस्था तोडफोड र स्वास्थ्यकर्मीलाई हातपात गर्नेलाई धरौटीमा छोड्न नमिल्ने गरी हिरासतमा राखेर कडा कारवाही गर्न कानुन ल्याउन चाँही सक्दैनन्। सबै उही १ प्रतिशत नराम्रालाई समात्ने भनेर सारा मेडिकल क्षेत्रलाई नै बदनाम गर्न हतारोमा छन्। हुँदैनभएका गल्ती र लापरवाहीमा पनि प्रहरी, प्रशासन र कानुनले संरक्षण गर्न नसकेको र स्वास्थ्यकर्मीहरुले ज्यान जोगाउन भाग्नुपरेको उदाहरणहरु धेरै छन्। अब त झन कानुनले नि चिकित्सकहरुलाई कुनालाई लगेर तर्साइरहेछ, तपाईंहरु चाँही डराउनुपर्दैन भन्नुहुन्छ, कसरी पत्याउने?

  • ·       डाक्टरले परीक्षणका रूपमा औषधिको प्रयोग गरेको पाइन्छ। मलाई नै डाक्टरले ३ महिनासम्म क्षयरोगको औषधि खुवाए, तर दिनुपर्ने अर्कै थियो। नेपालमा यस्ता डाक्टर पनि छन्।

कैले १ प्रतिशत खराब भन्नुहुन्छ, कैले धेरै डाक्टरले विरामी माथि परिक्षण गर्छन् भन्नुहुन्छ, कुरै मिलेन। खासमा मेडिकल क्षेत्रमा उपचार कसरी शुरु गरिन्छ, फाईदा बेफाईदा के के हुनसक्छन्, उपचार विधीहरु कसरी निर्क्यौल गरिन्छ भनेर सबैले अलिअली बुझ्नुपर्ने हुन्छ। तर हाम्रोमा डाक्टरलाई कि भगवान बनाइन्छ कि दानव भनिन्छ, उ विज्ञानको विधार्थी, मान्छे त हुँदैहैन। विकसित देशहरुमा समेत कतिपय रोग पत्ता लगाउन गार्हो हुन्छ, त्यहाका विशेषज्ञ, अत्याधुनिक जाँच, उपकरण, प्रोटोकल, प्रणालीहरुको कारणले जाँच र उपचार प्रकृया राम्रो र छिटो हुन्छ। हाम्रो देशमा त्यो सम्भव भईसकेको छैन, जती उपलब्ध छ त्यसको आधारमा गर्ने हो। त्यसलाई विरामीहरुले परिक्षण गर्‍यो भनिदिनुहुन्छ। कुनै पनि डाक्टरलाई सोध्नुस् "ज्वरो आएको विरामीको उपचार शुरु गर्दा ज्वरो के कारणले आएको हो भनेर १००% कन्फर्म हुनुहुन्छ?" नढाटी भन्दा लगभग १००% डाक्टर नै यसमा कन्फर्म हुँदैनन्। तर यसलाई हचुवाको उपचार भन्न मिल्दैन। यो मेडिकल ज्ञान, सीप, अनुभवले गरिने कुरा हो। धेरै जसो बेला उपचार 'प्रोभिजनल डायग्नोसिस' को आधारमा शुरु गरिन्छ। १००% कन्फर्म भएर मात्र उपचार शुरु गर्ने भन्नुहुन्छ भने कतिपय अवस्थामा विरामीको मृत्‍यु भईसक्छ वा गाँउका सरकारी अस्पतालहरुमा र शहरमै पनि उपचार शुरु गर्न सम्भवै हुँदैन।

  • ·       निजी अस्पताल नाफाका लागि नै खोलिएका हुन् । मैले जनतालाई सेवा गर्न अस्पताल खोलेको हुँ भन्नु पानीमाथिको ओबानो बन्नु हो । निजी अस्पतालले पनि सकेसम्म कमाउने हो । त्यसलाई नियमन गर्नुचाहिँ सरकारको काम हो । हाम्रो नियमनकारी संस्था कमजोर भयो ।

 निजी संस्थाहरु व्यवसायका लागि खोलिएका हुन्छन्, हरेकले आफूसँग भएको स्तरिय सीप वा वस्तु त्यसको मूल्यमा ग्राहकलाई बेच्ने हो, त्यसैबाट उसको कमाइ हुन्छ र ग्राहकले सेवा पनि पाएका हुन्छन्। निजी अस्पताल पनि त्यस्तै हो। निजी अस्पतालले कमाएको नाफाबाट २५% त सरकारले नै कर उठाएको हुन्छ। सरकारले आफूले निजी अस्पतालहरुलाई सहुलियतमा सुविधा, सुरक्षा दिन सकेको छैन अनी 'नाफा कमाउन खोलेको संस्था' भनेर विभिन्न शुल्क र करहरु लगाएर अझ छड्के नजरले हेरेर मात्र हुन्छ र? सरकारी अस्पतालहरुको अवस्था कस्तो छ जगजाहेर छ। सुधार गरौं भन्दा पनि फलामको चिउरा चपाए जत्तिको गार्हो छ। आफ्ना सरकारी अस्पतालहरुलाई स्तरिय बनाउनेमा पनि ध्यान दिनुपर्‍यो। मिनिमम सर्भिस स्ट्यान्डर्डमा वर्षौं फेल हुने फोहोर, दुर्घन्धित, अव्यवस्थित सरकारी अस्पतालहरुलाई कहिले केही कार्वाही गर्नु भएको छ?
हाम्रा नियमनकारी संस्थाहरु कमजोर भएका हुन्। अब तिनलाई कसरी बलियो बनाउने भनेर छलफल, विचार विमर्श गर्नुहोला, विज्ञहरुको टोली राखेर उनीहरुको कुरा सुन्नुहोला, न्युज पेपरको हावा हेडलाइन र समाचारको आधारमा मात्र नबोल्नुहोला, आफ्नो विचार नबनाउनुहोला।  

माननीय बिडारी ज्यू,
हामी सबैले चाहेको एउटै कुरा हो, देशको स्वास्थ्य क्षेत्रको सुधार। हामी सबैले देखेको सपना एउटै हो, देशका सबैले स्तरिय स्वास्थ्य सेवा पाउन्। त्यसैले यी बिमतीहरुलाई एकै ठाउँ बसेर सबैलाई छलफल, मन्थन गरेर देश सुहाउदो राम्रो कानुन ल्याउने काम गर्नुपर्‍यो।

पत्र अली लामो भएकोमा क्षमा माग्दै कलम बन्द गर्न चाहन्छु।

धन्यवाद...




बाँकी पढ्नुहोस् >>