Sunday, September 29, 2019

२-३ ले जितेको युद्दको कथा - भाग १

                 
   यी पुराना कथाहरु सम्झदा विरामीको ज्यान जोगाउन कति लडिएको थियो भन्ने याद आइरहेछ। विरामीको मृत्‍युमा डाक्टर र अस्पतालमाथी आक्रोशित भिड र माइक र क्यामरा मात्र बोकेका युट्युबकारहरुले आक्रमण गरेको देख्दा के डाक्टर लगायत स्वास्थ्यकर्मीहरुले त्यो तरिकाले काम गर्न सक्लान् र भन्ने लागिरहेको छ।  डाक्टर र विरामी बीचको विश्वासको सम्बन्ध कायम राख्न गार्हो हुँदै गईरहेको जस्तो लागिरहेको छ।              

"तपाईं जंगलमा हुनुहुन्छ, बाघ आयो, भाग्नलाई खोला तर्नुपर्छ, पौडी खेल्न आउदैंन, डुंगा छैन, खोलामा बाढि आएको छ। तपाईं के गर्नुहुन्छ? यो अवस्था हाम्रो लागि जंगलमा बाघ आएको जस्तै थियो।"
 
                जिन्दगी एउटा युद्द हो, यसमा हर समय मृत्‍युसँग युद्द चलिनैरहेको हुन्छ। चिकित्सक भएको नाताले हामीले विरामीका यस्ता युद्दहरु नजिकबाट नियाल्नुपर्ने हुन्छ, कती समय जीवनले युद्द जितेको हुन्छ भने कती समय मृत्‍युले। जीवनले निकै अफ्ठ्यारो गरी जितेको यो जितको कथा शायद म कहिल्यै बिर्सन्न।

                उनी प्युठानको दूर्गम ठाउँ अर्खाबाट आएकी थिईन्, नाकमा ठूलो बुलाकी लगाएकी उनको बोली पनि भिन्दै पाराको थियो। पेटमा जुम्ल्याहा बच्चा बोकेकी उनी सुत्केरी हुने मिती कटेकोले जिल्ला अस्पताल आएकी थिईन्। उनको प्रेसर पनि बढी थियो, पिसाबमा पनि थोरै प्रोटिन देखिएको थियो। मेडिकल भाषामा यसलाई प्री-एक्लाम्प्सिया (Pre-eclampsia) भनिन्छ, यो प्रसुतीको एउटा जटिल अवस्था हो। यो बढ्दै गएमा गर्भवतीलाई कम्पन हुने, बेहोस हुने अवस्था एक्लाप्सिया (Eclampsia) हुनसक्छ र आमा र बच्चा दूवैको ज्यानलाई खतरा हुनसक्छ। श्रीमान खाडी मुलुकमा भएकोले उनी भाई र नन्दसँग अस्पताल आएकी थिइन्। हामीले उनलाई र उनको भाईलाई उनको अवस्था, आइपर्नसक्ने जटिलता, गरिने उपचार विधी र सम्भावित सिजेरियन अप्रेसनको बारेमा भन्यौं। तर उनीहरुले सकेसम्म अप्रेसन नगर्ने भनेर भने।

                 गाँउघरतिर अझै पनि धेरैको के विश्वास छ भने अप्रेसन गरेपछी जिन्दगीभरलाई कमजोरी हुन्छ, काम गर्न, घाँसदाउरा गर्न सकिदैन, जुन एकदमै गलत हो। पर्याप्त चेतना र शिक्षाको अभावमा आवश्यक नै हुँदा पनि अप्रेसन गर्न मन्जुरी दिदैनन् र सानो भन्दा सानो अप्रेसन गरेको वर्षौंपछी पनि दुखाइ वा अन्य कुनै स्वास्थ्य समस्या भएमा त्यही अप्रेसनलाई दोष दिन्छन्। “मेरो १० वर्ष अघी मिनिल्याप गरेको थ्यो, त्यो घाऊ बिग्रियो होला” यस्तै यस्तै।
             
                 उनले अप्रेसन गर्न नमानेपछी हामीले अर्को दिन बिहानबाट व्यथा लगाउनका लागि औषधी ‘मिसोप्रोस्टोल’ राख्ने निधो गर्यौं, तर औषधी प्रयोग गर्नु अघी नै उनको व्यथा शुरु भएछ। हामीलाई बिहान खबर आयो, उनको व्यथा धेरै बढेको छ र सास फेर्न पनि गार्हो भईरहेको छ। जाँचेर हेर्दा पाठेघरको मुख ८ सेमी खुलिसकेको थियो, सास फेर्न गार्हो भएकोले बच्चा छिटो निकाल्नका लागि सलाइनबाट 'अक्सिटोसिन' औषधी प्रयोग गर्यौं। “अप्रेसन गर्नुपर्ने हुनसक्छ” भन्दा अझै पनि उनले मानिनन्। २.५ युनिट सकेर ५ युनिट लगाउदा पनि बच्चा नजन्मिएको र उनको सास बढ्दै गएको र अक्सिजनको मात्रा घट्दै गएकोले अप्रेसन बाहेक अरु विकल्प नरहेको उनको भाईलाई बतायौं, भाई त जसोतसो अप्रेसन गर्न राजी भए तर सास फुलेर गार्हो भईरहेकी उनी भने "नाइ म अप्रेसन चैं नगर्ने, कमजोरी हुन्छ" भन्दै थिई।
               
                  मेडिकल फिल्डमा यो एउटा गार्हो र दूविधाको अवस्था हो। उपचार गराउने नगराउने भन्ने अन्तिम निर्णय विरामीले लिन पाउछ त्यसलाई विरामीको स्वनिर्णयको अधिकार (Patient Autonomy) भनिन्छ। कुनै पनि वयस्क विरामीले सबै कुरा बुझेर, सोचेर विचारेर आफ्नो उपचार गराउदिन भनेर भन्छ भने स्वास्थ्यकर्मीले जबर्जस्ती गर्न पाउन्न। अब यो अवस्थामा उनले सबै कुरा बुझेर "अप्रेसन गराउन्न" भनिरहेकी थिईन् कि नबुझिकन? उनले जुन कारण र विश्वासले अप्रेसन गराउन्न भनिरहेकी थिईन्, के त्यो जायज कुरा थियो? फेरी यहाँ उनको आफ्नो मात्र ज्यानको सवाल थिएन, उनको पेटमा दुईटा बच्चा पनि थिए। उनीहरुको लागि के राम्रो हुन्थ्यो होला त? मेडिकल इथिक्समा अर्को महत्वपूर्ण कुरा भनेको उपचार पद्दतीले विरामीको फाईदा गर्छ गर्दैन, विरामीलाई हानी गर्छ गर्दैन (Beneficence र Non-maleficence) भन्ने कुरा पनि हुन्छ। यो अवस्थामा उनको मन्जुरी विना अप्रेसन गर्दा ठीक कि उनको निर्णय गर्ने अधिकारलाई स्वीकार गर्दै "ज्यानै गए पनि म अप्रेसन गर्न राजी छुइनँ" भन्ने मन्जुरीनामा लेखाएर चुपचाप बस्नु ठीक?
                 
                  यो प्रश्नको जवाफ यही नै सहि भन्ने छैन। तर हामीले उनको मन्जुरी विना नै अप्रेसन गर्ने निधो गर्यौं। उनको भाईलाई सबै कुरा सम्झाएर, बुझाएर, “ज्यान बचाउनका लागि विरामीको मन्जुरी विना अप्रेसन गर्न लागिएको र पछी केही प्रश्न उठेमा आफूले उत्तर दिनेछु” भन्ने मन्जुरीनामा गराइ अप्रेसन कक्षमा लग्यौं। सिजेरियन अप्रेसनको लागि आधा जीउ बेहोस बनाउनलाई ढाडबाट सूई दिने बेला उनलाई "दुखाइ कम मात्र गर्ने हो" भनेर औषधी दियौं। हुन त उनी बढ्दो सास र घट्दो अक्सिजनका कारण धेरै कुरा गर्नसक्ने अवस्थामा नै थिईनन्। पहिलो बच्चा छोरी रहेछ, पेट भित्रै मरिसकेको थियो। दोस्रो बच्चा छोरा थियो, बाहिर निकाल्ने बित्तिकै "च्या च्या" गरेर रोयो। एउटा भए नि ज्यान बाँच्यो, हामी केही भए नि ढुक्क भयौं। अप्रेसन त सकियो तर आमाको अवस्था भने अझै पनि निकै नाजुक थियो। सासको दर प्रतिमिनेट ४० भन्दा बढी थियो, रगतमा अक्सिजनको मात्रा ६०-७०% थियो।

                    उनलाई आइसीयु अर्थात सघन उपचार कक्षमा राखेर उपचार गर्नुपर्ने थियो, जुन नजिक भनेको बुटवल, भैरहवा थियो। त्यहाँसम्म पुग्नका लागि धेरै अवरोधहरु थिए, एउटा त विरामीको अवस्था यति नाजुक थियो कि जती पनि उपचार जिल्ला अस्पतालमा चलिरहेको थियो, त्यो बन्द गरेर अक्सिजनको मात्र भरमा एम्बुलेन्समा हालेर पठाउदा ३-४ घण्टाको बाटोमा जे पनि हुनसक्थ्यो। अर्को रिफर नै गरिए पनि तुरुन्त नै आइसीयुमा बेड पाईन्छ वा आइसीयुको उपचार शुरु भईहाल्छ, ठूला अस्पतालका इमर्जेन्सीमा केस थन्किएर बस्नुपर्दैन भनेर भन्न सकिन्नथ्यो। प्रमुख अवरोध भनेर पैसाको थियो, आर्थिकरुपले विपन्न उनको प्युठानबाट निस्कने बित्तिकै ७-८ हजार एम्बुलेन्सको, इमर्जेन्सी, आइसीयुको डिपोजिट, औषधी आदी गरेर एकैपटक २५-३० हजार खर्च हुनेवाला थियो, अझ सरकारी अस्पताल वा मेडिकल कलेजमा बेड नपाएर प्राइभेट अस्पताल लैजानु पर्‍यो भने त यो खर्च झन लाखौंमा नपुग्ला भन्न सकिदैनथ्यो।
         
                     तपाईं जंगलमा हुनुहुन्छ, बाघ आयो, भाग्नलाई खोला तर्नुपर्छ, पौडी खेल्न आउदैंन, डुंगा छैन, खोलामा बाढि आएको छ। तपाईं के गर्नुहुन्छ? यो अवस्था हाम्रो लागि जंगलमा बाघ आएको जस्तै थियो। उनको रोग यती बढेको थियो कि न ‘साधारण’ जिल्ला अस्पतालले उनलाई धान्न सक्थ्यो, न उनलाई रिफर गरेर हाम्रा अक्सिजनको एउटा सिलिन्डर मात्र भएका एम्बुलेन्सहरुबाट सुविधासम्पन्न आइसीयु भएका अस्पतालहरुमा पुर्याउन सकिन्थ्यो, न उनीहरुसँग भएको केही हजार खर्चले त्यो उपचार किन्न सक्थ्यो। अत: हामीले बाघसँग जुध्ने निर्णय लियौं। उनका भाईलाई उनको अवस्थाको बारेमा, आउनसक्ने जटिलताको बारेमा, आइसीयु के हो, त्यहाँ लगियो भने उनको के उपचार गरिन्छ, के कती खर्च लाग्छ, हामीले यहाँ के सम्म गर्न खोजिरहेका छौं, किन गर्न खोजेका हौं, सबै सकेसम्म बुझ्ने भाषामा भन्यौं, एकपटक भन्दा नबुझेर पटकपटक भन्यौं। किन कि मृत्युसँगको यो युद्दमा सबै साथ हुनु जरुरी थियो।

                   धेरैलाई लाग्ला आइसीयुमा जादु हुन्छ, सिकिस्त विरामी आइसीयु छिरायो भने केही दिनमा तंग्रेर बाहिर निस्कन्छ। वास्तवमा त्यो गलत हो। आइसीयुमा जादु हैन विरामीको अवस्थाको राम्रो, लगातार र सुक्ष्म निरिक्षण हुन्छ, जसबाट जटिल विरामीको उपचार सम्भव हुन्छ, सिकिस्त विरामीलाई चाहिने पनि त्यही हो। हामी कति स्वास्थ्यकर्मीहरुले पनि यो कुरालाई गलत तरिकाले बुझेका हुन्छौं र विरामी, उनका आफन्तहरुलाई गलत तरिकाले बुझाईरहेका हुन्छौं जसले गर्दा उनीहरुको आशा पनि अव्यवहारिक बन्न पुग्छ। ठुलो अस्पताल लगेपछी सब निको हुन्छ, आइसीयु छिराएपछी सब ठीक हुन्छ, पैसा खर्चेपछी सब उपचार पाईन्छ, यस्तै यस्तै। हुन त हिजोआजको अस्पताल तोड्फोड र स्वास्थ्यकर्मीमाथिको हातपातको बढ्दो फेसनको समयमा "सकेसम्म रिफर गरेर आफ्नो टाउको बचाउ" भन्ने सोचका कारण पनि अलिकती जटिल हुने बित्तिकै, अलिकती बढी प्रश्न आउने बित्तिकै रिफर गरेर ‘डिफेन्सिभ मेडिसिन’ प्राक्टिस गर्ने चलन पनि बढ्दो छ। कुनै पनि स्वास्थ्यकर्मीले आफूले विरामी वा उनका आफन्तको ठाउँमा राखेर, तिनको गोजीलाई आफ्नो मानेर, तिनको समस्यालाई आफ्नो ठानेर अनि आफूसँग भएको स्वास्थ्य, रोग, जटिलताको ज्ञान, अस्पतालहरुमा पाइने सेवा, एम्बुलेन्समा हुने सेवा, लाग्ने खर्चको ज्ञानलाई मन्थन गरेर सुझाव दियो भने मात्र सहि सुझाव हुन्छ जस्तो लाग्छ। हुनेखाने विरामीको लागि त सिधै काठमाण्डौ वा विदेश पुग्न नि केही गार्हो नहोला, तर जसलाई बिहान बेलुका हातमुख जोड्न गार्हो छ, तिनलाई के गर्ने नि? तिनको सकेजती राम्रो, सहि उपचार पाउने अधिकार हुँदैन? तिनको बाच्ने अधिकार हुँदैन?
                 
                    हामीले उनीहरुको सहमतिमा यो युद्द लड्ने निर्णय गर्यौं......

बाँकी पढ्नुहोस् >>

Wednesday, January 2, 2019

रोग ढिला पत्ता लाग्नुमा डाक्टरलाई मात्र दोष दिनु गलत हो

'गलत उपचार पद्धतिको परिणाम, १० वर्ष लाग्यो श्रीमानको क्यान्सर पहिचान गर्न' शिर्षकमा अनुभव सहितको लेख पढ्न पाइयो, म लेखकलाई व्यक्तिगतरुपमा त चिन्दिनँ, उहाँको श्रीमानको स्वास्थ्यको बारेमा सुनेर नराम्रो लाग्यो। राम्रो उपचार हुँदैंछ भन्ने सुनेर खुसी पनि लाग्यो। बाँकी उपचार पनि राम्रो होस्, उहाँलाई शिघ्र स्वास्थ्य लाभको कामना।
लेख पढेपछी नेपालको स्वास्थ्य क्षेत्र १० वर्ष बुझेको अनुभवको आधारमा केही लेख्न मन लाग्यो, कृपया यसलाई व्यक्तिगतरुपमा नलिईदिनुहोला ।

हामीले धेरै नेपालीलाई क्यान्सर रोग भैसकेपछि वा फैलिसकेपछी मात्र पत्ता लागेको सुनेका र भोगेका छौं। के साँच्चै क्यान्सर रोग ढिलो पत्ता लाग्ने हुन्? त्यसो भए किन त्यसो हुन्छ?
लक्षण शुरुमै देखिदैन। 
क्यान्सर मात्र हैन धेरै जसो रोग शुरुको अवस्थामै पत्ता लगाएर छिटो उपचार शुरु गरे पूर्ण रुपमा निको बनाउन सकिन्छ। यसको लागि संसारभरकै स्वास्थ्यकर्मी, स्वास्थ्य क्षेत्रमा लागेका संस्था, विश्व स्वास्थ्य संगठन लागेका छन्। तर धेरै रोगहरुमा जस्तो क्यान्सरमा दुख्ने, ज्वरो आउने, गार्हो हुने समस्या शुरुमै नदेखिने हुनाले मान्छेहरु अस्पताल गएर जचाउने हुँदैन। त्यसैले चाहेर पनि सबै खाले क्यान्सरलाई छिटो पत्ता लगाउन सकिदैन, विकसित देशहरुमा पनि यो सम्भव छैन र प्राय:जसो क्यान्सर भैसकेपछि नै पत्ता लाग्छन्।
नियमित स्वास्थ्य जाँचको चलन छैन। 
मैले नियमित जाँच भनेर हिजोआज फेसनमा आएको 'होल बडी चेकअप' को कुरा गरेको हैन। जसमा विभिन्न रगतको ल्याब जाँच, एक्सरे, अल्ट्रासाउन्ड आदीलाई प्याकेजको रुपमा गर्ने गरिन्छ, जसमा डाक्टरसँगको ‘हिस्ट्री’ र शारीरिक जाँचलाई खासै महत्व दिईदैन, त्यसलाई न विरामीले न डाक्टरले खासै चासो दिन्छन्, किनकी त्यसमा नाफा हुँदैन। तर धेरै रोग शुरुकै अवस्थामा पत्ता लाग्ने भनेको ‘हिस्ट्री’ र शारीरिक जाँच राम्रोसँग गरिएको छ भने हो, न कि ‘होल बडी चेकअप’ नामक ल्याब रिपोर्टहरुको थुप्रोबाट।
‘स्क्रीनिङ टेस्ट’ लाई महत्व दिईदैन।
क्यान्सर जस्ता रोगहरु शुरुको अवस्थामै पत्ता लगाउने जाँचहरुलाई ‘स्क्रीनिङ टेस्ट’ भनिन्छ। यी जाँचहरु स्वस्थ व्यक्तिहरुमा अर्थात कुनै पनि लक्षण नदेखिएको अवस्थामा गर्ने गरिन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार ‘स्क्रीनिङ टेस्ट’ हरुबाट छिटो पत्ता लगाउन सकिने क्यान्सरहरुमा स्तन, पाठेघरको मुख, ठुलो आन्द्रा, मलाशय, मुख, स्वरयन्त्र र छालाका क्यान्सरहरु पर्दछन्। अर्थात निश्चित उमेरका स्वस्थ व्यक्तिहरुमा तोकिएका जाँचहरु (शारीरिक तथा ल्याब लगायत अन्य) गरेमा यी क्यान्सरहरु शुरुकै अवस्थामा र कतिपय बेलामा हुनुभन्दा अगाडि पनि पत्ता लगाउन सकिन्छ र उपचार गर्न सकिन्छ। यी बाहेकका धेरै क्यान्सरहरुमा विभिन्न जाँचहरु गर्ने भए पनि तिनलाई स्वस्थ व्यक्तिहरुमा 'स्क्रीनिङ टेस्ट'को रुपमा प्रयोग गर्न नसकिने भनेर विभिन्न अध्ययनहरुले देखाएका छन्।

जस्तो रगतको जाँच छिटो गरिए ब्लड क्यान्सर शुरुमै पत्ता लाग्थ्यो कि, छातीको एक्सरे गरिराखे फोक्सोको क्यान्सर छिटो पत्ता लाग्थ्यो कि, इन्डोस्कोपी समय समयमा गरिरहे आमाशयको क्यान्सर छिटो पत्ता लाग्थ्यो कि भन्ने हामीलाई लाग्छ। तर वैज्ञानिक अध्ययनहरुले देखाए अनुसार त्यस्तो सम्भव हुँदैन। विकसित देशमा अत्याधुनिक र व्यवस्थित स्वास्थ्य प्रणाली हुँदा पनि ती लागिसकेपछी, फैलिसकेपछी नै पत्ता लाग्छन्। किनभने हरेक टेस्टको आफ्नै समस्या हुन्छन्, कुनै पनि १००% ठीक हुन्छ भन्ने हुन्न, कुनैले नभएको रोगलाई देखाउछ भने कुनैले भएको रोगलाई नि देखाउदैन। त्यसैले त हरेक ‘टेस्ट’ विज्ञको सल्लाहमा गर्नुपर्छ र रिपोर्ट पनि विज्ञलाई देखाएर नै सल्लाह गर्नुपर्छ।

त्यसैले रोग पत्ता लागिसकेपछी फर्केर हेर्दा धेरैलाई "त्यो बेला नै यो जाँच गरिदिएको भए", "उ बेला नै यसो गरिदिएको भए" भन्ने लाग्नु स्वाभाविक हो, जुन ठुलो रोग पत्ता लागिसकेपछीको सामान्य मानसिक प्रतिकृया हो, तर शुरुको बेलामा, लक्षण नदेखिएको बेलामा जे जती गरियो, वा सामान्य लक्षण देखिदा जे जती गरियो त्यो मात्र सम्भव हुनसक्छ।

अब कुरा गरौं लक्षण देखिसकेको अवस्थाको बारेमा।
“गलत उपचार पद्दतीको परिणाम, १० वर्ष लाग्यो क्यान्सर पत्ता लाग्न।“
उहाँले “नेपालको उपचार पद्दतीलाई गलत” भएको र यसैको कारणले “उहाँको श्रीमानको क्यान्सर पत्ता लाग्न १० वर्ष लागेको” भन्नुभएको छ। के नेपालको उपचार पद्दती गलत छ? के साँच्चै उहाँको क्यान्सर १० वर्ष अगाडि पत्ता लाग्न सक्थ्यो?
हाम्रोमा कुनै पनि समस्यामा सामान्य अन्तराष्ट्रीय निर्देशिका अनुसार ‘सिस्टमेटिक’ तरिकाले अगाडि बढ्ने चलन छैन। हुन त यो सधैं सम्भव पनि हुँदैन। विदेशमा ‘एपेन्डिसाइटिस’ पत्ता लगाउन पेटको सिटी स्क्यान गर्छन्, हरेक दूर्घटनाका घाइतेको कुनै पनि ‘इन्ज्युरी’ नछुटोस् भनेर टाउको देखी खुट्टासम्मको सिटी स्क्यान गर्छन्, यसरी जाँच गरिनु ठीक होला तर के हाम्रोमा त्यो सम्भव छ त? त्यसैले धेरैजसो हाम्रोमा ‘प्राक्टिकल’ भएर आफ्नै खाले परीमार्जित निर्देशिकाहरु प्रयोग गरिरहेका हुन्छन्, अझ धेरै अस्पतालमा त यस्तो कुनै निर्देशिका नै हुन्न, डाक्टरहरुको व्यक्तिगत गुण र निर्णयमा नै भर पर्छ। 

साथै हाम्रो जाँच्ने तरिका, विरामी हेर्ने तरिकामा 'फर्मल कन्सल्टेसन' कमै हुन्छ। हामी धेरैजसो भिडमा, हतारमा, गफ गरेको जस्तो विरामी हेर्छौं। दिसामा रगत देखिने धेरै विरामी ओपिडीमा आउछन्, उनीहरु आँफै नै 'पाइल्स' हो भन्ने मानसिकता बोकेर आएका हुन्छन्, सिधै "मलाई पाइल्स छ" भन्छन्। खासमा यस्तो समस्या भएको विरामीलाई दिसा गर्ने ठाउँ (मलद्वार) हेर्ने, औंला छिराएर जाँच्ने (पर रेक्टल एक्जाम), ‘प्रोक्टोस्कोप’ भन्ने सामान्य मेसिन हालेर जाँच्ने (प्रोक्टोस्कोपी) गर्नुपर्ने हो। तर धेरै जेनेरल ओपिडीहरुमा यो जाँच गरिन्न, किनकी यस्तो जाँचको लागि चाहिने गोप्य ठाउँ पनि हुन्न, विरामीले नि अफ्ठ्यारो मान्छन्, डाक्टरले नि झन्झट मान्छन् अनी ‘प्रोक्टोस्कोप’ पनि हुन्न। धेरै विरामी यस्तो केसमा शारिरिक जाँच गराउन अफ्ठ्यारो मान्छन्, डाक्टरले जाँच गर्न खोजे पनि "गर्नै पर्ने हो र, ऐले औषधी मात्र लेखे हुन्न, ऐले औषधी दिनुस्, निको नभए गरम्ला नि" भन्ने जवाफ दिन्छन्। सर्जरी ओपिडीहरुमा, समस्या धेरै नै बढी भएको बेलामा, विरामी र डाक्टर दुवै स्वास्थ्यप्रती गम्भीर भएको अवस्थामा भने केही फरक हुनसक्छ। यस्ता जाँचहरु डाक्टरले जबरजस्ती गर्ने भन्ने पनि हुँदैंन। विरामी आँफैं पनि आफ्नो समस्यामा गम्भीर भए, औषधीमा मात्र केन्द्रीत नभै आफ्नो समस्या के हो, कुनकुन तरिकाले उपचार गर्न सकिन्छ भन्ने कुरा बुझ्नमा चासो दिए, आफ्नो रोग यो हो, समाधान यस्तो हुनुपर्छ भन्ने 'माइन्डसेट' गरेर नबसे डाक्टरले मात्र गलत तरिकाले उपचार गर्न सक्दैन।

अर्को यस्तै खाले उदाहरण लिऔं, योनीबाट सेतो पानी बग्ने कती विरामीहरु हुन्छन्, जसको राम्रो तरिकाले जाँच गर्ने हो भने योनी बाहिर हेर्ने, योनीभित्र सानो मेसिन (भजाइनल स्पेकुलम) राखेर योनीको भित्री भाग, पाठेघरको मुख सबै जाँच गर्नुपर्ने हो। किनभने यो पाठेघरको मुखको क्यान्सरको शुरुको लक्षण पनि हुनसक्छ। तर यस्तो समस्या लिएर अस्पताल जाने कती प्रतिशत महिलाको यसरी जाँच गरिन्छ होला? के यसमा डाक्टर वा स्वास्थ्यकर्मीलाई मात्र दोष लगाएर 'गलत उपचार पद्दती भयो' भनेर भन्न मिल्छ र? “यस्तो जाँच गर्नुपर्छ” भनेर भनियो भने कती जना महिलाहरुले मन्जुरी दिन्छन् होला? कतिले "भो अहिले नगरम्, औषधी मात्र लगम्, पछी गरम्ला" भन्छन् होला? त्यसरी कती पाठेघरको मुखको क्यान्सर शुरुको अवस्थामा पत्ता लाग्नबाट छुटेको होला? के यसको दोष उपचार पद्दती र स्वास्थ्यकर्मीहरुलाई मात्र लगाउन मिल्छ?

यस्ता क्लिनिकल जाँचहरु भन्दा बरु ‘भिडियो एक्सरे’, सिटी स्क्यान गराउन हामी सजिलो मान्छौं र त्यसमा 'नर्मल' देखिए हामी सबै ठीक रहेछ भनेर ढुक्क हुन्छौं। जबकी रोगको डायग्नोसिसमा ‘हिस्ट्री’मा सोधिने हरेक प्रश्नको, हरेक क्लिनिकल जाँचको आफ्नै महत्व हुन्छ। ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, सिटी स्क्यानमा मात्रै रोग पत्ता लाग्ने हुँदैन, ती त मेसिन, केमिकल हुन्, रोग पत्ता लगाउने त स्वास्थ्यकर्मीले हो, उसको तालिमप्राप्त आँखाको हेराइ, कानको सुनाइ, हातको स्पर्श र दिमागको सोचाइले हो, जसको महत्व हाम्रो समाजमा दिनानुदिन घट्दै गईरहेको छ।

लेखबाट मात्र विरामीमा पर ‘रेक्टल एक्जाम’, ‘प्रोक्टोस्कोप’ जाँच गरियो गरिएन भन्न सकिदैन। खाली "विभिन्न अस्पतालमा जँचाइयो तर सबै ठाँउमा भनियो, यो पायल्स नै हो" भनेर भन्नुभएको छ। आयुर्वेद अस्पतालमा जाँच्दा नि पायल्स नै भनिएको भन्नुभएको छ। 

क्यान्सर पत्ता लाग्न १०वर्ष लाग्यो भनेर लेखकले २०-२२वर्षको पुरुषमा शुरुमा दिसामा रगत देखिदा नै 'कोलोनोस्कोपी' जाँच गरिदिएको भए त्यतिखेर नै क्यान्सर पत्ता लाग्थ्यो भनेर भन्न खोज्नुभए जस्तो लाग्यो। अहिले फर्केर सोच्दा त्यसो गरिएको भए ठीक हुन्थ्यो भन्ने लागे पनि त्यस्तो कसैले पनि गर्दैन, कुनै पनि विकसित देशको निर्देशिकाले पनि त्यसो गर्न भन्दैन। जबसम्म परिवारमा ठुलो आन्द्राको क्यान्सर धेरै सदस्यमा देखिएको, कम उमेरमा देखिएको 'हिस्ट्री', वा अन्य कुनै 'रिस्क फ्याक्टर' हुँदैन। किनकी तपाईंले भन्नुभए जस्तै ५० वर्षभन्दा माथिको व्यक्तिलाई बाहेक असामान्य लक्षण नदेखिए सिधै क्यान्सर सोचेर जाँच कुनै पनि डाक्टरले शुरु गर्दैन। यदी यही तरिकाले दिसामा रगत देखिने हरेक व्यक्तिलाई ‘रेक्टल’ क्यान्सर नि हुनसक्छ भनेर 'कोलोनोस्कोपी' गर्न थालिए के हुन्छ होला? अहिले ‘अल्ट्रासाउन्ड’को व्यापार भए जस्तै ‘कोलोनोस्कोपी’को अन्धाधुन्द व्यापार हुन्छ, जसबाट अन्तत: धेरै विरामीले घाटा बेहोर्नुपर्ने हुन्छ।

“दिशामा रगत देखिए पनि भित्र कहीँ कतै नदुख्ने, अप्ठेरो अनुभव नहुने। विभिन्न अस्पतालमा जँचाइयो तर सबै ठाँउमा भनियो, यो पायल्स नै हो।“

हामी दुख्यो, अफ्ठ्यारो भयो भने मात्रै त्यो समस्या बारे गम्भीर हुन्छौं, त्यसैले त उच्च रक्तचाप देखिए पनि, डाक्टरले औषधी खान भनेर पटक पटक भने पनि औषधी नखान विभिन्न बहानाहरु खोज्छौं। किनकी प्रेसर बढेको कुनै लक्षण देखिदैन। डायबेटिजका रोगीहरुमा पनि यही समस्या हुन्छ। हरेक लक्षण नदेखिने वा ढिलो गरी देखिने वा 'भेग' वा अस्पष्ट लक्षण देखिने रोगहरुमा यही समस्या हुन्छ। यसमा स्वास्थ्यकर्मीले पनि समय दिएर विरामीलाई रोगबारे बुझाउन खोज्नुपर्छ। तर विरामीले पनि डाक्टरको कुरा सुनिदिने गर्नुपर्छ, आफ्नो ‘माइन्ड सेट’ मात्र बोकेर बस्नुहुन्न।

हाम्रो समाजमा देखिएको अर्को ठूलो समस्या भनेको डाक्टर र अस्पताल फेर्दै हिंड्ने बानी हो। हुन त यो कसैको चाहना हैन होला, तर आफ्नो समस्याको लागि कुन डाक्टरलाई देखाउदा ठीक हुन्छ भन्ने कुराको टुंगो नपाएर, धेरैजनाका धेरै कुरा सुनेर कहिले एउटा त कहिले अर्को डाक्टरकोमा धाइरहेका हुन्छन्। त्यो पनि पुराना कागजात, रिपोर्टहरु केही पनि नबोकी। अनी हरेक पटक फरक डाक्टरले हेर्दा उत्तिकै गम्भीर भएर नहेर्न सक्छ, किनकी विरामीको लागि समस्या पुरानो र लामो हुन्छ तर डाक्टरको लागि विरामीसँगको पहिलो भेट हुन्छ, त्यसमाथि उसको पहिलेका कागजात नि नभएपछी समस्याको जटिलता आंकलन गर्न डाक्टरलाई पनि गार्हो हुन्छ र धेरै कुरा अनुमानको भरमा गर्नुपर्ने हुन्छ। "त्यो डाक्टरलाई देखाएको निको भएन, अनी फलाना डाक्टरको औषधी खाए त्यो पनि भएन, अनी डिस्काना डाक्टरकोमा गए त्यहा नि भएन, कसैले सकेन अनी मेरो यो मान्छेले भनेर तपाईंकोमा आएको।" ओपिडी कन्सल्टेसनमा धेरै विरामीले सुनाउने यस्ता कथाको कागजी रिपोर्ट र लिखित अभिलेख नभए उपचारमा खासै महत्व हुँदैन। पुराना कागजात, रिपोर्टहरु देखाउन नसके हरेक नयाँ डाक्टरले ती पुराना जाँचहरु के थिए होलान् भनेर अनुमान लगाएर नयाँ ‘पोइन्ट’ बाट उपचार शुरु गर्छ। नेपालमा धेरै जसो हुने उपचार पद्दती भनेको यही हो। यो गलत हो, तर यसमा डाक्टरहरुको मात्र दोष हो त?

‘हेल्थ टिभी अनलाइन, स्वास्थ्यको लागि संचार’ भनेर नयाँ अनलाइन शुरु हुँदा स्वास्थ्यको बारेमा सहि रिपोर्टिङ हुनेभयो भनेर केही आशावादी भएको थिएँ, तर यसमा पनि अती सामान्य कुराहरुमा त्रुटी देख्दा धेरै सुधार गर्न जरुरी रहेछ भन्ने लाग्यो। लेखक स्वयम् पनि स्वास्थ्यको विषयमा कलम चलाऊने पत्रकार भन्नुभएको छ, धेरै डाक्टरहरुको अन्तर्वाता लिनुभएको रहेछ, तर पनि लेखमा त्रुटीहरु भेटिए, स्वास्थ्यबारे गलत सन्देशहरु पाइए। 
'क्रोनोस्कोपी' टेस्ट भन्नुभएको छ, 'कोलोनोस्कोपी' हुनुपर्ने हो।
डाक्टरले टेस्टहरु 'प्रेस्क्राइब' गर्दैनन्, औषधी 'प्रेस्क्राइब' गर्छन्।
हुन त यी सामान्य भाषागत समस्या मात्र हुन्। तर स्वास्थ्य पत्रकारिता गर्नेले बुझ्नुभएको राम्रो हुन्छ।
"क्यान्सरको सेललाई शरीरभर स्थान जमाउन, वर्ष, महिना, दिन कुनुपर्दैन, सेकेण्ड नै काफी हुन्छ भन्नेसम्मको ज्ञान हामीमा थियो।"
यो कुरा तपाईंलाई कसले कहाँ कहिले भनेको हो? कही पढ्नुभएको हो कि? सेकेन्डमा नै क्यान्सर सेल शरीरभरी फैलन्छ भनेर मैले अहिलेसम्म कतै पढेको, भनेको सुनेको छैन।
‘एडिनो क्यार्सिनोमा’ अर्थात् शुरुको अवस्थाको मात्र क्यान्सर भएको पुष्टि भयो।
'एडिनोकार्सिनोमा' भनेको क्यान्सरको एउटा प्रकार हो, यसले शुरु वा अन्तिम अवस्थाको क्यान्सर भनेर भन्दैन। क्यान्सर कती फैलेको छ भन्ने कुरालाई त्यसको 'स्टेज' ले बताउछ। ‘एडिनोकार्सिनो’ पनि विभिन्न अंगहरुमा फैलेको अन्तिम अवस्थाको (चौथो स्टेजको) हुनसक्छ। उपचारको क्रममा तपाईंहरुलाई पक्कै पनि यो भनिएको होला।

अनी अर्को भन्न मन लागेको कुरा, हुन त यो विरामी र परिवारको नितान्त व्यक्तिगत निर्णयको कुरा हो, उहाँहरु रेक्टल क्यान्सरको उपचारको लागि भारतको राजीव गान्धी क्यान्सर अस्पताल जानुभएको रहेछ।
म यही लेखबाट नेपालका क्यान्सर विशेषज्ञहरुलाई सोध्न चाहन्छु।
"के रेक्टल क्यान्सरको स्तरिय उपचार नेपालमा सम्भव छैन? के नेपाली जनताले यो लगायत विभिन्न क्यान्सर र अन्य जटिल उपचारहरुको लागि भारत लगायत विभिन्न देशहरुमा धाउनै पर्ने हो? यो मेसिन, ज्ञान, औषधीको कमीले सिर्जित आवश्यकता हो कि प्रशासनिक कमजोरी, अती हावी व्यापारीतन्त्र र गलत प्रचार, मिडियाबाजीले सिर्जित भ्रमको अवस्था हो?”

हुन त कतीलाई लाग्ला दु:खमा परेको बेलामा अरुलाई किन धेरै चलाएको होला, कती कुरा खोतलेको होला, सानो कुरामा नि चुप लागेर बसिदिए हुन्थ्यो नि। विरामीलाई छिटो स्वस्थ हुनुहोला भन्ने मेरो मनैदेखी शुभकामना छ, दु:खमा परेको परिवारप्रती मेरो पूर्ण सान्त्वना छ। तर सार्वजनिक मिडिया (यस्तो स्वास्थ्यमै केन्द्रीत रहेका पत्रकार र मिडिया)मा स्वास्थ्य जस्तो संवेदनशील विषयमा सहि सन्देश जाने तरिकाले विचार प्रस्तुत गर्नुभएको भए धेरै बेस हुन्थ्यो भन्ने मेरो सोच हो।

धन्यवाद।।।

बाँकी पढ्नुहोस् >>