Friday, July 7, 2017

मिडियाले पीडित मेडिसिन - भाग २


म मिडिया पर्सन हैन, न मैले कोही मिडियापर्सनलाई मिडिया कसरी चलाऊने, पत्रकारिता कसरी गर्ने सिकाउन सक्छु वा सिकाउने हैसियत राख्छु। मात्र एक मेडिकल पर्सन भएको नाताले अन्धाधुन्द र अनियन्त्रित रिपोर्टिङले मेडिकल क्षेत्रको विश्वास गुम्न लागेको देख्दा दु:ख लागेर लेख्छु। मिडियामा कति शक्ति हुन्छ भन्ने सबैलाई थाहा भएकै कुरा हो र यही शक्तिको सहि ठाउँमा सहि प्रयोग नगरिए यसले धेरैलाई धेरै नै नराम्रो असर गर्नसक्छ। यो कुरा साधारण पढेलेखेको मान्छेले पनि बुझेको हुन्छ। संसारभर कतिपय मिडिया स्वतन्त्ररुपमा नभएर कसरी कहाँ कुन प्रयोजनको लागि प्रयोग हुने गर्छ भन्ने कुरा मलाई भन्दा धेरै मिडियाका साथीहरुलाई थाहा होला।

हिजोआज नेपाली मिडियामा स्वास्थ्य क्षेत्रका कतिपय कुराहरु सनसनीपूर्ण र पूर्वाग्रही ढंगले आउने गरेका छन्। हुन त यसमा मिडियाको मात्र दोष छैन, मेडिकल क्षेत्रका स्वास्थ्यकर्मीहरु, विरामी, उनका आफन्त, अनि फितलो कानुन र त्यसको अझ फितलो कार्यन्वयन सबैको अलि अलि भूमिका छ।

पहिले प्रभाव र परिणामको कुरा गरौं।

हिजो नेपाली सोसल मिडियामा एउटा खबरले सनसनी मच्चाइदियो। 'पत्थरीको अप्रेसन गर्दा म्रिगौला निकालियो' भन्ने शिर्षकमा 'म्रिगौला काण्ड' भनी नाम दिईएको समाचारले शिर्षक मात्र पढेर कमेन्ट गर्ने, शेयर गर्ने र विचार राख्ने नेपाली सोसल मिडिया प्रयोगकर्ताहरुमा हुरी ल्याइदियो।
पढ्नेहरु धेरैजसोले अस्पताल र डाक्टरलाई लापरवाही गरेको, गल्ती गरेको, उनीहरुलाई झुन्ड्याउनुपर्ने, डाक्टरको म्रिगौला निकालेर विरामीलाई दिनुपर्ने आदी इत्यादी विभिन्न खाले गालीहरु गरे। धेरैले न्युजको शिर्षक मात्र पढेर आफ्नो सोच बनाइ डाक्टरले ढुंगाको अप्रेसन गर्दा जानीजानी म्रिगौला निकालेको भन्ने बुझी त्यसलाई सरासर डाक्टरको गल्ती भन्दै गाली गरे। कतिले त्यसमा मसला थपे, म्रिगौला तस्करीको लागि विरामीलाई थाहा नदीई म्रिगौला गायब गरे भनेर दोष लगाए। कतिले यसलाई राजनितीकरण पनि गरिदिए, एमालेको अस्पतालमा यस्तो भो, राजेन्द्र पाण्डेको अस्पतालले यस्तो गर्‍यो। जे मा नि राजनीति घुसाउन सक्ने नेपालीहरुले यसमा नि घुसाउनु घुसाए, माओवादीको अस्पताल भए यस्तो हुन्थ्यो, गोविन्द केसी विरोधमा उत्रन्थे, जुलुस निस्कन्थ्यो आदी आदी। 
साधारण मान्छे त प्रभावित भए भए, उच्च पदमा भएका केहीले पनि मानव अंग बेचबिखन वा तस्करीमा लागेको त हैन भनेर शंका व्यक्त गरे। देशकै पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालले त ठोकुवा गरेरै भने 'किड्नी नै चोरिने, मानव अंगको खरिद विक्री हुने प्रतिष्ठानको बिषयमा किन मौन बसेको?' उनले यसमा प्रा डा गोविन्द केसीलाई पनि मिसाएर धमिलो पानीमा माछा मार्न खोजे।

कति अनलाइन मिडियाले त सिधै 'मनमोहन मेमोरियल मेडिकल कलेजमा म्रिगौला तस्करी' भन्ने शिर्षकमै न्युज राखी आगोमा घ्यु हैन पेट्रोल छर्कदै आफ्नो वेबसाइटको भ्यु बढाए।

जे होस् समग्रमा भन्दा विरामी र स्वास्थ्यकर्मीबीचको अविश्वासको खाडल बढीरहेको यो बेला हाम्रो देशमा पनि अस्पतालको बन्द कोठाभित्र डाक्टरको मुकुन्डो ओडेर मानव अंग बेचबिखन, तस्करी गर्ने गर्छन् कि क्या हो भन्ने शंका उपशंका गर्न थालियो।







बधाई छ तपाईंहरुलाई, यसलाई सनसनीपूर्ण न्युज बनाएर लेख्ने र छाप्नेहरु तपाईंहरुको उद्देश्य पूरा भयो, नेपाली समाजले नेपाली डाक्टर र अस्पतालहरुलाई थप शंका गर्ने वातावरण मिलाइदिनुभयो।

यो त भयो प्रभाव र परिणामको कुरा। अब कुरा गरौं, यो केही मिडियाहरुमा आएका न्युजको जसले समाजमा यो प्रभाव बनाउन भूमिका खेले।

धेरै मिडियाले 'मनमोहन अस्पतालमा पत्थरीको अप्रेशन गर्दा म्रिगौला निकालियो' भनेर न्युज लेखे। कतिले यसलाई 'म्रिगौला काण्ड' भन्ने राम्रो नाम पनि दिए। हरेक न्युज यसरी शुरु गरिएका छन् कि अस्पताल र डाक्टरले अप्रेसन गर्दा गल्ती गरेर म्रिगौला निकाले र त्यसको ढाकछोप गर्न जबर्जस्ती सम्झौता गराए र अहिले यो काण्ड बाहिर आयो। हुन त सबैले आफ्नो न्युज ब्यालेन्समा रहेको दुवै पक्षका कुराहरु राखिएको भनेर भनेका छन्, ठानेका छन्, तर शिर्षक देखी नै लेखको नाडी छाम्दा थाहा हुन्छ उनीहरुले अस्पताल र डाक्टरलाई दोषीकै रुपमा समाजको अघी उभ्याईदिएको। यो कुरा यी न्युजहरुको प्रभाव हेर्दा नै थाहा हुन्छ। जुन उद्देश्य राखेर जुन सोच राखेर पत्रकारहरुले लेखेका थिए, त्यो सोच उनीहरुको लेखमा झल्कन्छ र हरेक पाठकको दिमागमा त्यो सोच मिसाइएको छ। 'मान्छेले यसरी कमेन्ट गर्दिन्छन् भने त्यसमा हाम्रो के दोष, हामीले त न्युज दिने हो, बस्' भनेर कसैले भन्छ भने त्यो उ आफ्नो जिम्मेवारीबाट भागेको ठान्छु, एउटा न्युट्रल र सामान्य मान्छेले यी खाले न्युज पढ्दा यही खाले विचार र प्रतिकृया दिने गर्छन् र यी र यस्ता विचार सिर्जना गर्न यी न्युजहरुको ठुलो हात हुन्छ।

न्युजमा सम्झौता पत्र पनि छापिएको छ, जुन पढ्दा न अस्पताल डाक्टरको गल्ती देखिन्छ न म्रिगौला तस्करी गर्न निकालिएको भन्ने बुझिन्छ। त्यसमा प्रष्टसँग लेखिएको छ, 'म्रिगौला सामान्य ठाउँभन्दा तल रहेको र त्यसबाट पत्थरी निकाल्ने क्रममा अचानक अत्यधिक रगत बगी विरामीको ज्यान जोगाउन म्रिगौला निकालिएको'। त्यसमा विरामीको काका लगायत अन्य आफन्तलाई पनि जानकारी गराइएको भनिएको छ र सम्झौता पत्रमा विरामीकी श्रीमतीको सहि पनि छ।


धेरैको शंका उब्जिएको कारण चाँही यो यदी अप्रेसनको जटिलता मात्र हो भने यति धेरै मागहरु किन मानियो, विरामीको म्रिगौला र सो सम्बन्धी समस्याहरुको जिन्दगी भर उपचार, रोजगार दिने, छोराहरुलाई पढाईदिने जस्ता विभिन्न सम्झौताहरु किन गरियो। धेरैले यत्रो सम्झौता गुपचुप गरेका रहेछन् पक्कै पनि अस्पताल र डाक्टरको दोष हुनुपर्छ, नत्र किन मान्थे भन्ने खालको सोच राखेको देखिन्छ। जुन स्वाभाविक पनि हो, तर सत्य के हो सम्झौतामा हस्ताक्षर गर्नेहरुलाई मात्र थाहा होला। ती सम्झौताको आधारमा मात्र लापरवाही गरी म्रिगौला निकालिएको, म्रिगौला तस्करी गरेको भन्ने प्रमाणित भएको मान्नु कागले कान लाग्यो भन्दै कानै नछामी कागको पछी दौडनु हो। अब त स्थिती कस्तो अाइसक्यो भने हिजो पत्रकार सम्मेलन गरेर के भएको थियो भनेर अस्पताल र सर्जनले भनिसकेपछी पनि मान्छेहरु 'यस्तो कुरा नि कहाँ प्रमाणित हुन दिन्छन् त, फेरी झुटो बोलेर ढाकछोप गर्न थाले' भन्दै पूर्वाग्रही सोच लिएर उफ्रन थालेका छन्। दोष लगाइएकै आधारमा झुण्ड्याउन तयार छन्।

मिडिया र धेरैजसोले यी सम्झौताहरु 'पीडित'लाई फकाउन गरिएको भनेर निर्क्यौल निकालेका छन्। तर यहाँ पीडित म्रिगौलाको पत्थरी निकाल्न जाँदा म्रिगौला निकाल्नुपरेका विरामी हुन् कि पत्थरीको अप्रेसन गर्दा अचानक रगत बग्दा म्रिगौला निकालेर भएपनि विरामीको ज्यान जोगाएका डाक्टर जो लापरवाह डाक्टर र म्रिगौला तस्करसम्मको उपाधी भिराईएर समाजको सामू उभ्याईए? यो निस्पक्ष अनुसन्धान भएपछी मात्र पत्ता लाग्ला। तर बेथितीले भरिएको देशमा मान्छेहरु छानवीन समिती बनाएर रिपोर्ट निकाले पनि पत्याउदैनन् र आफ्नो सोच अनुसारको रिपोर्ट नआए 'यस्तै हो यहाँ, गरिवको म्रिगौला चोरिन्छ, नेताहरुलाई के मतलब' भन्छन्। के मेडिकल घटनाहरुमा, जटिलताहरुमा सधैं पीडित, पिडक हुन्छन् नै? विरामीलाई सानो भन्दा सानो अप्रेसन गर्दा पनि ज्यान जानसक्ने सम्म जटिलताहरु आउनसक्छन्, थोरै भए पनि सम्भावना रहन्छ, अनि त्यस्तो जटिलता देखियो भने उपचार गर्ने स्वास्थ्यकर्मीलाई 'पिडक' को बिल्ला भिराउन मिल्छ? सामान्य भनिएका सूईहरु लगाउदा पनि ठुलो रियाक्सन 'एनाफाइलाक्सिस' भएर विरामीको ज्यान जान सक्छ, त्यो अवस्थामा के स्वास्थ्यकर्मीलाई 'पिडक' भनेर उपाधी दिन मिल्छ?


'पत्थरीको अप्रेसन गर्दा म्रिगौला निकालियो' र 'पत्थरीको अप्रेसन गर्दा म्रिगौला निकाल्नुपर्‍यो' मा आकाश जमिनको फरक छ र यही एउटा शब्दले कहाँको कुरा कहाँ पुर्याइदियो। शिर्षकमै 'निकालियो' र 'विरामीको जीवनसँग खेलबाड' राखेपछी भित्रको लेख जती नै सन्तुलित राखे नि त्यसले गर्ने असर गरिसकेको हुन्छ। 

अब के गर्ने त?


यस्तो संवेदनशील विषयमा सामाजिकरुपमै यत्रो बहस चलिसकेपछी अस्पतालले पत्रकार सम्मेलन गरेर मात्र यसलाई सामसुम पार्नु उचित हुन्न। पहिले पनि 'नक्कली डाक्टर' भन्दै समाए, मिडियामा बेइज्जती गरे, पछी अदालतले 'नक्कली' हैन भन्दै छोड्दै गयो। प्रहरीले हावाहावामा १२०० नक्कली डाक्टर छन् भन्दियो, सनसनी मच्चाइदियो। नेपाली डाक्टर र विरामीबीचको अविश्वासको खाडल झन बढाइदियो, केस सेलायो र शंका रहिरह्यो। अब भने स्वास्थ्य मन्त्रालय, नेपाल मेडिकल काउन्सिल, प्रशासन, प्रहरी मिलेर समिती बनाइ यो घटनाको छानवीन गरी सत्य तथ्य निकाल्नुपर्छ। दोषी देखिए डाक्टर र अस्पताललाई कार्वाही गर्नुपर्छ र यदी अप्रेशनको जटिलताले गर्दा ज्यान जोगाउन त्यसो गरिएको प्रमाणित भए अनाहकमा दोष लगाउने विरामी र उसका आफन्तलाई अदालतमा उभ्याउनुपर्छ, साथमा लहैलहैमा लागेर वा विभिन्न उद्देश्य राखेर समाजमा भ्रमको खेती गर्ने र स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा सतहीरुपमा सनसनी फैलाउने हिसाबले रिपोर्टिङ गर्नेहरुलाई पनि कठघरामा उभ्याइनुपर्छ। टुंगोमा नपुर्याइ सामसुम भएमा अहिलेलाई त हराउला तर जनताको दिमागमा बस्दै थुप्रदै गएको शंकाले कुनै दिन ठुलो क्षति पुर्याउछ।
बाँकी पढ्नुहोस् >>

Thursday, June 22, 2017

मिडियाले पीडित मेडिसिन

हुन त सत्य भनेको एउटै हुनुपर्ने हो, तर देखेको कुरा, सुनेको कुरा र वास्तविक कुरा फरक हुनसक्छ। पब्लिसिटी, लाइक्स, शेयरको लागि लेखिने न्युजहरुले त यो फरकलाई झन उदांगो पारीदिएको छ। कतै सुनेको थियो, शहरमा "कोइरालाको मृत्‍यु, कोइरालाको मृत्‍यु" भन्दै पत्रीका बेच्ने केटो दौडदै थियो रे, सबैले लौ गिरिजाप्रसाद कोइराला नै बितेछन् कि क्या हो भनेर पढ्नलाई पत्रीका किन्न थाले, पत्रीका एकै छिनमा सकेर केटो पैसा बटुली हिडि हाल्यो, न्युजको हेडलाइन पनि 'कोइरालाको मृत्‍यु' नै थियो, पढ्दै जाँदा पो थाहा भयो, कता हो ट्र्याक्टर दूर्घटनामा कुन चैं हो कोइराला को मृत्‍यु भएको रहेछ। हुन त त्यसमा लेखिएका हेडलाइन, समाचार, त्यो केटोले भनेको एक एक कुरा सत्य हो, तर समाचार लेख्ने र मार्केटिङ गर्ने नियत पूरै झुट र गलत हो। अचेल हाम्रा अधिकांश न्युजहरु यस्तै हुने गर्छन्, पोल्ला झैं तात्तातो, छिनभरमै आगोसरी फैलने, पत्रीका र पत्रकारलाई क्षणिक पब्लिसिटी दिने तर साधारण मान्छेको मनमा लामो समयसम्म त्यसको असर रहिरहने।

स्वास्थ्य यसै पनि संवेदनशील क्षेत्र हो, तर यहाँ संवेदनशीलता स्वास्थ्यकर्मीहरुबाट मात्र खोजिन्छ। सिस्टममा रहेर विरामी जाँच हुनुपर्नेमा आफ्नो मात्र विरामीको छिटो र राम्रो हुनुपर्ने, आफ्नो विरामीको जे पनि इमर्जेन्सी, अलिकती ढिलो, नसोचेको भयो भने लापरवाही, अनि तोडफोड, हातपात, त्यसपछी मिडियाको सनसनीपूर्ण रिपोर्टिङ, कसरी मार्यो अस्पतालले विरामी, लुटेरा अस्पताल, डाक्टरको लापरवाहीले विरामीको ज्यान गयो आदी आदी। हुन त जमाना यसैको छ, फेसन यसैको चलेको छ। लापरवाहीले विरामीको मृत्‍यु भनेर समाचार लेख्नुस्, छिनभरमै हजारौं पटक पढिन्छ, शेयर हुन्छ र सयौंले डाक्टर, नर्स र अस्पताललाई पढ्नै नसकिने गाली बर्षाउछन्। यस्ता सतही समाचारले स्वास्थ्यकर्मी र विरामी आफन्त बीच रहेको सानो विश्वासको घर पनि ढलाइदिन्छ, अनि उनीहरुले हरेक अस्पताल, हरेक डाक्टरलाई शंकाले हेर्न थाल्छन्।

स्वास्थ्यकर्मी र विरामी-आफन्तबीचको यति ठुलो शंकाको वातावरणमा विरामीको स्वास्थ्यमा सोचेजस्तो परिणाम नआउदा अस्पताल तोडफोड हुनु, स्वास्थ्यकर्मी माथि हातपात हुनु कुनै नौलो कुरा भने हैन। केही दिन अघीको एउटा घटना अहिले खुब चर्चामा छ। '३८ वर्षिया एक महिलाको काठमाण्डौको एउटा अस्पतालमा भएको मृत्‍यु, त्यसपछी अस्पतालको तोडफोड र मिडियाको रिपोर्टिङ।'

उक्त न्युजको हेडलाइनमा लेखिएको छ, चिकित्सक भन्छन् "रोगको पहिचानमा हामी झुक्कियौं", प्रिन्ट पेपरको हेडलाइन छ "रोगको लक्षण पहिचानमै झुक्किए चिकित्सक" जुन कुरा एकदम सहि हो। अब कुरा आउछ, एउटा चिकित्सक झुक्किनु उसको लापरवाही हो कि हैन? चिकित्सक मान्छे हो, उसले पढेको, देखेको, सिकेको आधारमा उसले कुनै पनि विरामीको समस्या सुनेर, आफूले जाँचेर, ल्याबमा परिक्षण गरेर यो हुने सम्भावना धेरै छ भनेर उपचार थाल्छ। त्यसैले कुनै पनि डाक्टरलाई "के तपाईं १००% कन्फर्म हुनुहुन्छ कि मेरो रोग यही हो?" भनेर सोध्नुस्, धेरैजसो अवस्थामा उसले "१००% कन्फर्म हुँ" भन्न सक्दैन। चिकित्साशास्त्र अंकगणित हैन, २ र २ जोड्दा सधैं ४ हुने न त यो ज्योतिषशास्त्र नै हो कि यो विरामी निको हुन्छ, यो हुँदैंन भन्ने। 
यो सुनेर तपाईं डराएर सोध्नुहोला, "त्यसो भने डाक्टरहरुले त अन्दाजमा पो औषधी चलाऊने रहेछन्!" 
हो, चिकित्सा शास्त्रमा धेरैजसो अवस्थामा उपचारको शुरुवात 'अन्दाज'मै गरिन्छ, तर यो हचुवाको 'अन्दाज' भने हुँदैंन। विरामीको समस्या सुनेर, जाँचेर सबै प्रमाण जुटाएर आफ्नो ज्ञान र अनुभवको प्रयोग गरी त्यो 'अन्दाज' लगाइएको हुन्छ, जसलाई मेडिकल भाषामा 'प्रोभिजनल डायग्नोसिस' भनिन्छ, यो धेरैजसो अवस्थामा सहि हुन्छ तर सधैं हुँदैंन। 
"त्यसो भने मेरो उपचार गलत भईरहेको हुनसक्छ?" 
अहिलेको अवस्थामा विरामीलाई दिईने समय, जाँच गरिने ल्याबहरुको अवस्था सबैलाई नहेरेर सबै सहि गर्दा पनि रोगको सहि पहिचान नभएको हुनसक्छ। 
"यो स्थिती त निकै भयावह हो त!" 
"हैन, संसारभर नै विरामीको उपचार यसरी नै गरिन्छ, 'प्रोभिजनल डायग्नोसिस' बाट उपचारको थालनी गरेर सकेसम्म 'फाइनल डायग्नोसिस'मा पुग्ने हरसम्भव प्रयास गरिन्छ, जुन सधैं सफल नहुनसक्छ। किनभने रोग सधैं सजिलै चिनिन सकिने लक्षणहरु लिएर प्रस्तुत हुँदैन र प्राय: नदेखिने लक्षणहरु नसोचेको उमेर समूहमा जाँचमा नदेखिने गरी प्रस्तुत हुँदा झुक्किनु स्वाभाविक हो, कुनै पनि स्वास्थ्यकर्मीले आफ्नो ज्ञान, सीप, अनुभवको पूरा प्रयोग गरी उपचार गरेको छ भने यसलाई लापरवाही भन्न कदापी मिल्दैन। त्यसैले 'डाक्टर झुक्किए' भनेर हेडलाइनमा जुन तरिकाले डाक्टरले लापरवाही गरे भनेर भन्न खोजिएको छ, त्यो एकदम गलत छ।


अब न्युजको कन्टेन्टको कुरा गरौं।

जहिले पनि यस्तो न्युज पढ्दा 'विरामी हिंडेर अस्पताल गएको' भनेर भनिएको हुन्छ। हिड्दैमा विरामीको अवस्था ठीक थियो भन्ने हुन्छ र? रगतको मात्रा २-३ मात्र (हुनुपर्ने ११-१२) भएका विरामी पनि हिंडेर आउनसक्छन्। प्रेसर २००/१३० भएका विरामी पनि हिंडेको देखेको छु। थर्ड डिग्री हार्ट ब्लक (मुटुको तारहरुमा पूर्ण गडबडी) भएका विरामीहरु नि हिंडेर आएको भेटेको छु। त्यसैले यो 'हिडेर आएको विरामी' भन्दैमा सामान्य हुन्छ भन्ने भ्रम नराखेको राम्रो, मूख्यरुपमा आफूलाई 'मेडिकल जर्नालिस्ट' भनेर चिनाउने साथीहरुले।

'विरामी उठ्न खोज्दा अचानक बेहोस (मल्टी अर्गान फेल) भएर ढल्नुभयो'

यो वाक्य पढ्दा कुनै पनि मेडिकल विधार्थीलाई हार्ट अट्याक आउन बेर छैन। एक त बेहोस हुनु भनेको ‘मल्टी अर्गान फेल’ हुनु हैन, अर्को 'मल्टी अर्गान फेल' भन्ने कुरा अचानक हुने कुरा हैन। त्यसैले यो वाक्य पूरै गलत छ। कुरा नबुझी लेख्दा यस्तै हुन्छ। उहाँलाई कसले यस्तो कुरा बुझाईदिएको हो थाहा भएन।

मुटुको विरामीलाई ग्यास्टिकको उपचार, किन मुटुको विरामीलाई घण्टौं ग्यास्टिकको औषधी दिएर राखेको भनिएको छ।

कुनै पनि घटना घटिसकेपछी पछाडि फर्केर कमेन्ट गर्न सजिलो हुन्छ, तर शुरुको अवस्थामा यो यही नै हो, यो तरिकाले उपचार गर्दा सहि हुन्छ भनेर सधैं १००% सहि कदम चाल्न असम्भव छ। किनकी अस्पतालमा डाक्टर, नर्स बस्छन्, जो मान्छे हुन्, भगवान हैनन्। संसारको कुनै पनि अस्पतालले सतप्रतिशत विरामी बचाउन सकेको छैन, डाक्टरको जतिसुकै नाम चलेको किन नहोस्, कुनै न कुनै अवस्थामा उ चुकेको हुन्छ नै। यसलाई मानवीय गुण भनौं वा कमजोरी। हो यो कमजोरी वा गुण, अवगुण जे भने पनि, को कारणले विरामीको गलत उपचार हुनजान्छ, कतिपय बेला ज्यानै जाने पनि हुनसक्छ, तर यो शुन्यमा झार्न असम्भव छ, किनकी हामी मान्छे हौं। पढाई, तालिम, ज्ञान, अनुभव तिखार्दै, सिस्टमका अन्य अंगहरुलाई पनि चुस्त बनाउदै लगेर यो कमजोरीलाई सकेसम्म कम गर्दै लाने भन्ने हुनुपर्छ तर हुँदैं हुँदैन भन्ने ग्यारेन्टी कसैले पनि दिन सक्दैन। यसो भनेर मैले जानीजानी गरिने लापरवाही, गल्तीहरुको समर्थन गरेको भनेर नसोच्नुहोला। अर्को कुरा न्युजमै भनिए अनुसार विरामीको मृत्‍यु भर्ना भएको २ घण्टाभित्रमै भएको भनिएको छ। अनि फेरी विरामीलाई घण्टौं ग्यास्टिकको औषधी चलाएर राखियो भन्ने प्रश्न नै उठ्दैन।

हुन त लेख अनुसन्धानमुलक हैन, तर पनि यति संवेदनशील विषयमा सतहीरुपमा 'यसरी भयो विरामीको मृत्‍यु' भनेर लेखिएकोमा कुनै पनि स्वास्थ्यकर्मीलाई चित्त नबुझ्नु स्वाभाविक हो। विरामीको मृत्‍युको कारण पत्ता लगाउने वैज्ञानिक तरिका पोस्टमार्टम हो, जुन हाम्रोतिर कमै गरिन्छ। यस्ता विवादास्पद मृत्‍युहरुमा कारणको सहि पहिचान गर्न पोस्टमार्टम गर्नु जरुरी हुन्छ। तर नियम र कानुन कमजोर भएको हाम्रो देशमा भिड र हुलले तुरुन्त फैसला गर्छ, दोषी को भनेर, मिडियाले लेख्छ कसको लापरवाही भनेर, अनि सजायको रुपमा तोडफोड शुरु हुन्छ, हातपात शुरु हुन्छ, लाशको मोलमोलाई शुरु हुन्छ। खै कहिले होला यो अवस्थाको अन्त्य?

मैले यहाँ सो अस्पताल वा त्यहाँका डाक्टर लगायत स्वास्थ्यकर्मीहरुले गल्ती गरेका छैनन् भन्न खोजेको हैन। म त्यो भन्न सक्ने अवस्थामा पनि छुईनँ, किनभने मैले उक्त घटना आफूले देखेको हैन। घटना भित्रको 'डिटेल्स' त अनुसन्धान गरियो भने थाहा होला तर जती र जसरी मिडियामा प्रस्तुत गरिएको छ, त्यतीका आधारमा मात्र भन्ने हो भने चैं यसमा लापरवाही भएको देखिदैन। एउटा मेडिकल अफिसरले न्युजमा लेखिए जती र जसरी उपचार गरेको हो भने त्यसलाई सहि मान्नुपर्छ। त्यसो भने हरेक हार्ट अट्याकलाई ग्यास्टिकको औषधी दिदै राखे भो त?" भन्नुहोला। यसको जवाफमा "त्यसो भने हरेक पेट छाती दुखाइलाई इसीजीमा नर्मल आएपनी हार्टअट्याक मान्दै गंगालाल र टिचिङ रिफर गरिदिनु उचित होला? हार्ट अट्याक प्राय: नहुने उमेर समूहका महिलालाई पनि पेट छाती दुख्यो भने हार्टअट्याक हुनसक्छ भन्दै त्यसको औषधी चलाइहाल्ने, इकोकार्डियोग्राफी र एन्जियोप्लास्टी गरिहाल्ने बानी बसाउनु उचित होला?" भन्छु। इसिजीमा हार्टअट्याक नदेखिनसक्छ तर इसीजीले नदेखाउने भन्दा देखाउने हार्टअट्याक धेरै बढी हुन्छ। र दु:खका साथ भन्नुपर्छ यही ‘प्रोबाबिलिटी‘ र ‘पोसिबिलिटी‘का आधारमा चिकित्सा क्षेत्र चलेको हुन्छ र यो अनुभवी र ज्ञानको आधारमा गरिने 'अन्दाज' ले नै धेरै धेरैको ज्यान बचाएको हुन्छ।

अन्त्यमा,

हामीमा पनि कमिकमजोरी प्रशस्त छन्, च्याउसरी खुलेका प्राइभेट मेडिकलहरु कत्तिको स्तरिय छन् कसैलाई थाहा छैन, राम्रा नाम चलेका अस्पतालमा पनि बढ्दो भिडका कारण डाक्टर लगायत स्वास्थ्यकर्मीले विरामीलाई पर्याप्त समय दिन सकेका छन् छैनन् कसैको चासोको विषय भएको छैन, हाम्रा ल्याबहरु कत्तिका भरपर्दा छन् थाहा छैन, औषधीहरु कत्तिको काम गर्छन् थाहा छैन, त्यसमाथी खस्कदो मेडिकल शिक्षा, चिकित्सा क्षेत्रको व्यापारिकरणले समस्या झन बल्झाएको छ। यी समस्याहरुको सहि रिपोर्टिङ गरेर समस्याको वास्तविक चित्र समाजमा प्रस्तुत गर्नुको साटो अलिअली भएको डाक्टर-विरामी बीचको विश्वासको वातावरणलाई पनि धमिल्याउने खालको रिपोर्टिङहरुले मनै अमिलो पारीदिन्छ। कुनै पनि स्वास्थ्य सम्बन्धी न्युज प्रकाशित गरिनु अघी त्यसै क्षेत्रसँग सम्बन्धितलाई एक पटक देखाएर सोधे यस्तो गल्ती हुने थिएन। साथै मेडिकल जर्नालिज्म गर्छु भन्ने पत्रकार साथीहरुलाई सामान्य स्वास्थ्य क्षेत्र र सेवा सम्बन्धी ओरिन्टेसन पनि गराए केही सजिलो होला कि। 

नेपाल मेडिकल काउन्सिल र नेपाल मेडिकल एसोसिएसनले यसबारेमा केही सोचेको छ?
बाँकी पढ्नुहोस् >>

Saturday, June 10, 2017

'होल बडी चेकअप'को हौवा


हिजोआज स्वास्थ्यको बजारमा 'होल बडी चेकअप'को खुब फेसन चलेको छ। यसलाई छोटकरीमा 'WBC' नि भन्दा रहेछन्। विभिन्न अस्पतालहरुले यसका विभिन्न प्याकेजहरु ल्याएर ग्राहकहरुलाई आफूतिर तान्ने होडबाजी नै चलेको छ। यसको आफ्नै फाईदाहरु पनि छन्। आफूलाई स्वस्थ ठान्ने व्यक्तिहरुले पनि यो जाँच गराउदा रोग पत्ता लागि बेलैमा उपचार शुरु गरेर जीवन नै बचेको घटनाहरु पनि छन्। जुन देख्दा सुन्दा सबैले यो गर्नैपर्ने जस्तो भान हुन्छ। आफूले वरपर जे देखियो, सुनियो, आफूलाई नि त्यही रोग लागे झैं लाग्नु सामान्य ह्युमन साइकोलोजी नै हो। फलाना त जन्डिस लागेर मर्यो भनेपछी सामान्य विरामी भए पनि अस्पताल पुगेर जन्डिस जाँच नगराई मनले मान्दैन। फलाना टाउको दुख्यो दुख्यो भन्थ्यो, पछी त ब्रेन ट्युमरले मरेछ भनेको सुन्दा आफ्नो टाउको दुखाइ नि कतै ब्रेन ट्युमर त हैन, एकपटक सिटी स्क्यान गर्न पाए ढुक्क हुन्थ्यो भन्ने कुरा मनमा खेलिरहन्छ। तर के यसरी डाक्टरको उचित सल्लाह विना आफ्नो डरले गरिने, प्याकेजको रुपमा गरिने जाँचहरुले वास्तवमै हित गरिरहेका हुन्छन् त?

'होल बडी चेकअप' गरेर बेलैमा रोग पत्ता लागेर यसको फाईदा लिएकाहरुका लागि त यो वरदान नै हुन्छ। तर ती कती छन्? कती जनाको होल बडी चेकअप गर्दा कती प्रतिशतमा रोग देखिएको हो? अर्थात जाँच गरिएको मध्ये कती प्रतिशतलाई यसले फाईदा पुर्याएको हो? यसको भने कतै हिसाब भएको पाइदैन। हुन त स्वास्थ्यको लागि के पैसाको हिसाब गर्ने भन्ने पनि होलान् तर स्वास्थ्य भनेर जथाभावी र अनावश्यक जाँचहरु गर्नु र जनतामा त्यसको गलत सन्देश दिएर त्यसबाट व्यापारिक फाईदा उठाउनु गलत हो।

यहाँ मैले नियमित स्वास्थ्य परिक्षणको विरोध गरेको छुइनँ। स्वस्थ हुँदा नै नियमितरुपमा चिकित्सकलाई गएर भेटेर शारिरिक परिक्षण गराउनु, जसमा ल्याब टेस्ट गर्नैपर्छ भन्ने हुन्न, तौल, उचाइ, पेटको गोलाई नाप्ने, बीएमआइ (BMI) नाप्ने, स्वास्थ्य सम्बन्धी जानकारीहरु लिने र आवश्यक परेमा ल्याब टेस्टहरु गराउने प्रकृयाको म समर्थन गर्छु। तर यहाँ त विभिन्न रगत जाँचहरुलाई प्याकेजको रुपमा सुपथ मूल्यमा अफर दिएर ग्राहकलाई दिग्भ्रमित गर्दै आकर्षित गरिदैछ, त्यसको मैले विरोध गरेको हुँ। हामी चिकित्सकसँग गरिने कन्सल्टेसन, शारिरिक जाँचलाई भन्दा मेसिनले गर्ने रगत, पिसाब, पेट, छाती र सम्पूर्ण शरीर जाँचलाई बढी महत्व दिईरहेका छौं, जुन गलत हो। यस्ता होल बडी चेकअपका प्याकेजहरुले समाजमा ठुलो समस्याको रुपमा रहेको मानसिक रोगहरुलाई पनि नजरअन्दाज गरेको छ। हामी रोग रगत, पिसाब, एक्सरे, सिटी स्क्यान, कागजी रिपोर्टमा खोज्दै गर्छौं, उपचार गोली, सूई, सलाइनमा खोज्दै गर्छौं, र चिकित्सकसँगको सल्लाह, परामर्श, रोग र स्वास्थ्य बारेको जानकारीलाई बिर्सदै गएका छौं।

उदाहरणको लागि बेसिक हेल्थ प्याकेजमा सीबीसी, क्रिएटिनिन, टिएसएच, बिलिरुबिनलाई पनि राखिएको रहेछ। यी जाँचहरुले के रोग पत्ता लगाउन खोज्या हुन्? विना कुनै स्वास्थ्य समस्याका सामान्य मान्छेमा सीबीसी जाँच (Complete Blood Count) हेरेर के रोग पत्ता लगाउन खोज्या हुन्? ब्लड क्यान्सर? कि रक्तअल्पता? कि कुनै संक्रमण? क्रिएटिनिन (Creatinine) लाई सामान्यरुपमा म्रिगौलाको जाँचको रुपमा लिइन्छ, तर धेरै नन-मेडिकल मान्छेहरुलाई थाहा नहुनसक्छ, दूवै म्रिगौलाको काम ६०% सम्म बिग्रदा पनि क्रिएटिनिन भन्ने जाँच नर्मल आउनसक्छ। म्रिगौलाको अवस्था सहि भए नभएको थाहा पाउन यो जाँच फाईदाजनक छैन। बरु नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले हेल्थ पोस्ट स्तरसम्म पुर्याएको नि:शुल्क पिसाब जाँचमा हेरिने एल्बुमिन र सुगरको डिपस्टिक टेस्ट (Urine Dipstick test)ले राम्रो स्क्रिनिङ टेस्टको काम गर्छ। हिजोआज थाइरोइडको जाँच पनि अन्धाधुन्द हुने जाँचहरुमा प्रमुखरुपमा आउछ। सबै स्वस्थ मान्छेहरुलाई होल बडी चेकअप भन्दै महंगो थाइरोइडको जाँच गराइनु लुट नै हो। डाक्टरसँगको परामर्शमा थाइरोइड सम्बन्धी रोग हुने शंका लागेमा र केही निश्चित समूहमा स्क्रिनिङ टेस्टको रुपमा यो जाँच गर्न सकिन्छ।



स्वास्थ्यमा गरिने कुनै पनि जाँचले कसरी रिजल्ट दिन्छ, त्यो पोजिटिभ आउनुको मतलब के हो, त्यसको मात्रा सामान्य भन्दा बढी देखिनुको मतलब के हो, कुनै पनि जाँचको सामान्य मात्रा वा नर्मल लेभल भनेको के हो, यी कुराहरु सामान्यतया मान्छेहरुले बुझेका हुँदैनन्। जस्तो खाली पेटको सुगर जाच्दा १२७ आयो भने सुगर भयो भने पूरै खाना बार्ने तर १२५ आयो भने मलाई सुगर छैन भने खुसी हुने जमात ठुलै छ, जुन गलत हो। जन्डिस २ पुग्दा नि 'ओहो, मलाई जन्डिस भयो' भनेर सबै खाना बार्ने अनी १२ पुग्ने बित्तिकै जाँडरक्सी शुरु गर्नेको भिड नि ठुलो छ। अर्को कुरा कुनै पनि टेस्ट सतप्रतिशत सहि हुँदैन। कुनै टेस्ट पोजिटिभ आउँदैमा त्यो व्यक्तीलाई उक्त रोग छ भन्ने १००% ग्यारेन्टी हुँदैन र टेस्ट नेगेटिभ आउँदैमा १००% रोग छैन भन्ने पनि हुँदैन। त्यसैले मेडिसिनमा सधैं भनिन्छ, टेस्टको हैन विरामीको उपचार गर्नुपर्छ। उसको लक्षण, समस्या, अनी उपचार प्रकृयाले आउनसक्ने जटिलता सबैलाई तौलिएर मात्र उपचार अघी बढाउनुपर्छ।

अर्को अचम्मको जाँच भनेको रगतमा हेरिने युरिक एसिड हो। नेपालीलाई जहाँ जे दुखे पनि युरिक एसीड हेर्नुपर्छ, डाक्टरहरुलाई नि सजिलो, युरिक एसिड हेरम् भन्दियो। सुन्दा अचम्म लाग्ला मेडिसिनमा युरिक एसिड भन्ने रोग नै छैन। युरिक एसिडको मात्रा जोर्नीमा बढी भएर जोर्नी दुख्ने रोगलाई गाउट भनिन्छ, यसको डायग्नोसिस क्लिनिकल्ली अर्थात लक्षण र शारिरिक जाँचको आधारमा पनि गर्न सकिन्छ, कन्फर्म जाँचको लागि सुन्निएको जोर्नीबाट पानी (साइनोभियल फ्लुड) निकालेर जाच्नुपर्छ। रगतमा युरिक एसिडको मात्रा बढ्दैमा त्यसैले जोर्नी दुखेको भन्न मिल्दैन। यो कुरा आम मानिसलाई कसले भन्दियोस्, सबै जो रगत जाँच गराउदै युरिक एसिडको नाममा व्यापार गर्न व्यस्त छन्।


४० वर्ष कटेपछीको प्याकेजमा पीएसए (PSA) प्रोस्टेटको क्यान्सरको जाँच पनि रहेछ। अझै पनि विश्वभरी नै पीएसएलाई प्रोस्टेट क्यान्सरको लागि प्रारम्भिक जाँच मान्ने कि नमान्ने भनेर बहस चलिरहेको बेलामा नेपालमा ४० कटेका सबैलाई होल बडी चेकअप भनेर 'पीएसए' टेस्ट राखिनुको अर्थ के हो? पीएसएको मात्रा धेरै आउँदैमा तपाईंलाई प्रोस्टेट क्यान्सर छ नै भन्ने पनि हुँदैन, उमेर बढ्दै गएपछी प्रोस्टेट बढ्दा पनि यसको लेभल बढ्न सक्छ र यो क्यान्सर पत्ता लागे पनि यसको उपचार गराएर फाईदा बढी हुन्छ कि बेफाईदा भन्ने पनि बहसको कुरा छ। यस्तो जाँचलाई ४० वर्ष माथिका सबैलाई भनेर राख्दा पोजिटिभ आएर उक्त व्यक्तीलाई पर्ने अनावश्यक आर्थिक, मानसिक, शारिरिक भारको जिम्मा कल्ले लिन्छ?

सुगर छ छैन भनेर थाहा पाउनको लागि खाली पेटमा गरिने सुगर जाँच (फास्टिङ सुगर) सस्तो र राम्रो जाँच हो। यती किफायती जाँच हुँदा हुँदै एचबीए ए वन सी (HbA1c), जुन राम्रो भए पनि तुलनात्मक रुपमा धेरै महंगो हुन्छ, लाई किन होलबडी चेकअप भनेर ४० कटेका सबैलाई भनेर राखियो? के ४० कटेकाले फास्टिङ सुगर मात्र हेरेर मधुमेह भए नभएको थाहा हुँदैन र?

जाँडरक्सी, चुरोट धेरै खाने, पेटको गोलाई बढी भएको, उचाइको अनुपातमा तौल बढी भएको, बीएमआइ बढी भएको व्यक्तीलाई रक्सी, चुरोट कम गर्नुस्, व्यायाम गर्नुस्, चिल्लो कम गर्नुस्, हरियो सागसब्जी बढी खानुस्, फलफूल खानुस् भन्नलाई महंगा लिभर फङ्सन टेस्ट (एलएफटी/ LFT) र लिपिड प्रोफाइल टेस्ट (रगतमा बोसोको जाँच/ Lipid profile) गरिरहनुपर्दैन।

त्यसैले प्याकेजको रुपमा देखिदा आफ्नो स्वास्थ्यको लागि थोरै पैसामा धेरै जाँच गर्न पाइने जस्तो देखिए पनि यी प्याकेजहरुमा धेरै अनावश्यक र महंगा जाँचहरु सामान्य मान्छेले थाहा नपाउने गरेर घुसाइएका छन्, जुन जाँचहरु अन्तराष्ट्रियस्तरमा पनि स्वस्थ मान्छेका लागि गरिने प्रारम्भिक जाँच (स्क्रिनिङ टेस्ट) भनेर प्रमाणित भएका छैनन्। विना प्रमाण र विना फाईदाका यस्ता अनावश्यक जाँचहरु विशुद्दरुपमा व्यापारिक फाईदाका हिसाबले राखिएका हुन्।

अन्तमा 'होल बडी चेकअप'का प्याकेजको नाममा पैसा र समय फाल्नु भन्दा नियमित चिकित्सकलाई गएर भेट्ने, शारिरिक परिक्षण गराउने र आवश्यक स्क्रिनिङ टेस्टहरु मात्र गराउनु फाईदाजनक हुन्छ। नियमित गराउनुपर्ने जाँचहरुमा प्रेसर नाप्ने, उचाइ, तौल नाप्ने, पेटको गोलाई नाप्ने, बीएमआइ नाप्ने, स्क्रिनिङ टेस्टहरुमा फास्टिङ सुगर टेस्ट, पिसाबमा प्रोटिन, सुगर हेर्ने, महिलाहरुले पाठेघरको मुखको क्यान्सरको लागि प्याप स्मियर टेस्ट (PAP smear test) गर्ने पर्छन्। यी बाहेक अरु डाक्टरसँगको सल्लाहमा आवश्यक जाँचहरु मात्रै गराउनु उपयुक्त हुन्छ।


बाँकी पढ्नुहोस् >>

Monday, April 17, 2017

'विपन्न विरामी सहयोग कोष'

सरिता विकसँग (उपचार हुँदैं गर्दा)
नेपाल सरकारले अति गरिव विरामीका लागि सम्पूर्ण उपचार सेवा नि:शुल्क भनेको भए पनि त्यसले विरामीलाई चाहिने सबै उपचारलाई समेट्दैन। त्यस अन्तर्गत अस्पतालमा उपलब्ध भएका औषधी नि:शुल्क दिन मिल्छ, नभएका औषधी र सामानका लागि विरामीले आफ्नो खर्च गर्नैपर्छ, त्यस्तै अस्पतालसम्म पुग्न गाडी भाडा, भर्न भएन भने बस्ने भाडा, खानामा (अस्पतालमा नि:शुल्क खाना नहुने भए), अन्य धेरै औषधी र सामानहरुमा विरामीका खर्च लाग्ने गर्छन्। 
उपचारपछीको भेटमा सरिताको हाँसो
यी खर्च न सरकारको नि:शुल्क सेवाले ओगट्न सक्छ न ती अति गरिव विरामीका गोजीले नै तिर्न सक्छ। र यही केही हजारको अभावमा ती विरामीका उपचार अधकल्चो हुनपुग्छ र सरकारले नि:शुल्क सेवा भने पनि ती लक्षित वर्गसम्म त्यो सेवा पुग्नै सक्दैन। दुर्गममा काम गराइको क्रममा यही समस्या देखेर नै यस्ता केही हजारको अभावमा विरामीले ज्यान गुमाउनु नपरोस्, विरामी भएर, अपांग भएर जीवन विताउनु नपरोस् भनेर उपचारमा सहयोग पुर्याउनका लागि 'विपन्न विरामी सहयोग कोष' स्थापना गरेको हुँ।
'विपन्न विरामी सहयोग कोष' सहयोगी दाताहरुले स्वस्फूर्तरुपमा रकम दान दिनुभएर चलेको एउटा कोष हो। यो कुनै दर्ता भएको संस्था वा कोष नभएकोले यसको खाता मेरो आफ्नै नाममा छुट्टै खाताको रुपमा छ।
समीर लामा, राष्ट्रिय वाणिज्य बैंक, बिजुवार, प्युठान,
खाता नं. ४४३००१६०५०१०
नर बहादुर सुनारसँग ओपिडीमा
यसका धेरै दाताहरु हुनुहुन्छ, धेरैजसोले आफ्नो नाम खुलाउन चाहनुहुन्न, धेरैले मलाई र मेरो कामलाई विश्वास गरेर सहयोग दिनुभएको छ। दाताहरुमध्ये बढीमा एउटैले १ लाखसम्म नि सहयोग गर्नुभएको छ भने कसैले नियमित महिनाको ३,००० सहयोग गर्नुहुन्छ। यो कोषबाट सहयोग गर्दा विरामीको उपचार सम्भव भएसम्म जिल्ला अस्पतालमै गराउने र रिफर गर्नुपर्ने भए पनि सकेसम्म कम खर्चमा सरकारी अस्पतालमा गराउने व्यवस्था मिलाउने गरेको छु। यसले गर्दा सहयोगमा जम्मा भएको रकमको दुरुपयोग हुन कम हुने विश्वास लिएको छु। 
यो एउटा सानो कोष भएकोले एउटै विरामीको लागि लाखौंं खर्च गर्न असम्भव छ तर केही हजारको सहयोगले कसैको जिन्दगी परिवर्तन हुन्छ भने सकेसम्म त्यस्ता विरामीलाई प्राथमिकता दिने गरेको छु। कसलाई कती सहयोग गर्ने भन्ने निर्णय म आँफैंले गर्ने गरेको छु। विश्वासको लागि पारदर्शिता कुनै पनि संस्थामा हुनुपर्दछ, कसलाई कती सहयोग दिइयो भन्ने १-१ रुप्पेको पूर्ण विवरण दिन नसके पनि कुन विरामीलाई कती दिइयो भन्ने मोटामोटी विवरण यहाँ दिन खोजेको छु।
  • ·         नर बहादुर सुनार रु. ६७,००० (डायबेटिक फुटको किर्तीपुर अस्पतालमा छाला ट्रान्सप्लान्ट गरेको)
  • ·   मुकुन्द केएम रु. ५०,००० (मलद्वारबाट आन्द्रा बाहिर आएको- रेक्टल प्रोलाप्सको चितवन मेडिकल कलेजमा अप्रेसन गरेको)
  • ·         रमेश उर्खुट्टी रु. २७,००० (हेपाटाइटिस बी, लिभर सिरोसिसको लागि औषधीमा मासिक सहयोग)
  • ·         हरिकला सुनार रु. २६,००० (पोलेको सुस्तमनस्थिती विरामीको छाला ट्रान्सप्लान्ट गरेको)
  • ·         सरिता विक रु. २५,००० (छातीमा पिप जमेको टिचिङ अस्पतालमा अप्रेसन गरेको)
  • ·         किर्तिमान नेपाली रु. २०,५०० (भरतपुर क्यान्सर अस्पतालमा उपचार चलिरहेको)
  • ·         शोबी पुन रु. २३,००० (खुट्टाको हाडको पुरानो संक्रमण- क्रोनिक ओस्टियोमाइलाइटिसको भरतपुर अस्पतालमा अप्रेसन भएको)
  • ·         अनिका तामाङ रु. २०,००० (ब्लड क्यान्सरको टिचिङ अस्पतालमा उपचार भएको)
  • ·      रिता नेपाली रु. १०,००० (छातीमा पिप जमेको लागि भरतपुर क्यान्सर अस्पतालमा अप्रेसन भएको)
  • ·         गिर बहादुर घर्ती रु. ८,००० (मुटुको वरीपरी पानी जमेको- पेरिकार्डियल इफ्युजनको लागि टिचिङ अस्पतालमा अप्रेसन भएको)
  • ·    सिर्जना नेपाली रु. ८,००० (खुट्टाको हाडको पुरानो संक्रमण- क्रोनिक ओस्टियोमाइलाइटिसको भरतपुर अस्पतालमा अप्रेसन भएको)
  • ·         पवित्रा तामाङ रु. ६,००० (लिम्फोमाको वीर अस्पतालमा उपचार भएको)
  • ·         भिम बहादुर दमाइ रु. ४,४९० (पोलेको विरामीको औषधीका लागि)
  • ·         केशर बहादुर पुन रु. ४,००० (ढाड भाँचिएको प्रेसर सोर भएको विरामीको रिफरल खर्च)
  • ·         मति बहादुर सुनार रु. २,००० (मधुमेहको लागि इन्सुलिन पेन)
  • ·         लोकमान नेपाली रु. १,००० (छातीमा पिप जमेको उपचारको लागि)
  • ·         छातीमा पिप जमेको अर्को विरामी रु. १,२०० (क्लिन्डामाइसिन एन्टिबायटिकको लागि)
  • ·         यस बाहेक केही ओपिडी, वार्डका विरामीका लागि केही औषधी खरिदमा १०० देखी ५०० सम्मका खर्च भएका छन्।
  • ·         अहिलेसम्ममा यो खाताबाट ३ लाख भन्दा बढी उपचार सहयोग भईसकेको छ।
  • ·         अहिले खातामा जम्माजम्मी रु. २,०९,००० बाँकी रहेको छ।

यसमा धेरैजसो विरामी प्युठानका छन् भने रमेश उर्खुट्टी (मैले एमडी गर्दाताका देखी चिनेको) रामेछापका र अनिका तामाङ ओखलढुङाका वासिन्दा हुन्।
भरतपुर अस्पतालमा उपचार गराउदै शोबी पुन
अन्तमा मलाई विश्वास गरेर सहयोग गरिदिनुहुने सबै दाताहरुलाई मेरो र ती सहयोग लिएर निको हुनुभएका विरामीहरुको तर्फबाट धेरै धेरै धन्यवाद। यो समाजसेवाको महान कार्य यहाँहरुको सहयोगको कारण नै सफल भएको हो। भविष्यमा पनि यहाँहरुबाट र अन्य साथीहरुबाट पनि यस्तैयस्तै साथको आशा लिएको छु।
बाँकी पढ्नुहोस् >>

Wednesday, March 29, 2017

एक्स्काभेटर र नेपालका जीपीहरु

प्यूठानको सबैभन्दा दूर्गम क्षेत्र स्याउलीवाङ पुग्ने सौभाग्य मिल्यो। गाडीको लागि खनिएका बाटाहरु सकिएर पनि ५-६ घण्टा अझै हिंड्नुपर्ने गरी टाढा रहेछ। बाटोमा हिड्दै गर्दा पहाड फोर्दै बाटो खन्दै गरेका एक्स्काभेटरहरु भेटिए। पहाडका कडा चट्टानहरुसँग लडिरहेका भविष्यको राम्रो बाटो सुविधाको यात्राको लागि एकनासले एक्लै त्यो विरानो पहाडमा लागिपरेका ती एक्स्काभेटरहरुलाई देख्दा एक्कासी मलाई आफ्नै झल्को पो आयो। मलाई यी एक्स्काभेटर हाम्रो देशका जीपीहरु जस्ता पो लागे।

एक्स्काभेटरले बाटो नै नभएको ठाउँमा पहाड फोडेर बाटो निकाल्छ, एक्लै काम गर्छ, दु:ख झेलेर सिमित स्रोत साधानमा काम गर्छ। अनी जब सडक राम्रो बन्छ, चिल्लो कालोपत्रे बन्छ शायद त्यो बाटोमा कसैले एक्स्काभेटरलाई चल्न पनि दिदैन, कसै गरी चल्यो भने पनि "यो यहाँँ किन आयो, कसरी आयो, यो यसको क्षेत्र नै होइन" भनेर डेडो आँखाले हेर्छन्। नेपालका हामी एमडी जीपी (जेनेरल प्राक्टिस स्पेसलिस्ट)हरुको अवस्था पनि लगभग यस्तै छ। दूर्गमका गाँउठाँउहरुमा जबसम्म सुविधा हुँदैन, स्रोत हुँदैन, औषधी हुँदैन, तबसम्म जीपीले जसोतसो गरेर स्वास्थ्य सेवा दिईरहेका हुन्छन्। विना एनेस्थेसियोलोजिस्ट अप्रेसन गर्छन्, विना एनेस्थेसिया मेसिन, विना पोस्ट अप सुविधा कस्ताकस्ता खतरा मोलेर ज्यान बचाउनैका लागि अप्रेसन गर्छन्। विना पर्याप्त र तालिमप्राप्त सहयोगी नर्स, पारामेडिक्स जटिल विरामीहरुको उपचार गर्छन्, रगत उपलब्ध नभै पनि सिजेरियन गर्छन्। एउटै जीपीले फिजिसियन, पेडियाट्रीसियन, गाइनेकोलोजिस्ट, सर्जन, एनेस्थेसियोलोजिस्ट, साइक्याट्रिस्ट, डर्माटोलोजिस्ट, रेडियोलोजिस्ट, काउन्सेलर सबैको भूमिका निभाइरहेको हुन्छ, सेवा दिईरहेको हुन्छ। तर जब सेवाको बिकास हुन्छ, स्रोत साधन थपिन्छन्, अनी ती जीपीहरु पनि एक्स्काभेटर झैं घाँडो बन्न पुग्छन्। "यो फिजिसियन हैन, यल्लाई पेट, मुटु हेर्नै आउँदैन, यो पेडियाट्रिसियन हैन, यल्लाई बच्चा देखाउनुहुदैन, यो गाइनेकोलोजिस्ट हैन, यसलाई सिजेरियन गर्न दिनुहुदैन, यो सर्जन हैन यसलाई अप्रेसन गर्न आउँदैन, यो रेडियोलोजिस्ट हैन, यसले भिडियो एक्सरे गर्न पाउदैन" आदी इत्यादी धेरै गनथनहरु सुनिन थाल्छन्। अंगका विशेषज्ञहरुको भिडमा अनी टाउको दुखे टाउकोकै, मुटु दुखे मुटुकै डाक्टर खोज्ने विरामीहरुको झुण्डमा सम्पूर्ण मानव शरीर, परिवार र समाजका डाक्टर जीपीहरुले आफ्नो स्थान भेट्न सक्दैनन् र भेट्न दिदैनन् पनि। अनी उ पनि एक्स्काभेटर जस्तै अर्को विरानो दूर्गम ठाउँमा त्यहीको समाजमा भिजेर पहाड फोर्दै त्यो गाँउको लागि बाटो बनाउन, भविष्यका लागि ट्र्याक खोल्न जंगल छिर्छ।
बाँकी पढ्नुहोस् >>