Tuesday, January 11, 2011

एन्टीवायटिकको प्रयोग की दुरुपयोग?

हामी मध्ये धेरैले दैनिक जीवनमा बढी प्रयोग गर्ने गरेको औषधी हो, एन्टीवायटिक। ज्वरो आयो, एन्टीवायटिक, रुघा लाग्यो, एन्टीवायटिक, पखाला लाग्यो, एन्टीवायटिक। हामीले कहीले सोचेका छौ की यो औषधीले के काम गर्छ र मलाई यो औषधी आवस्यक छ की छैन? नेपालमा मात्रै हैन संसारमै प्रयोग भन्दा दुरुपयोग बढी हुने औषधीहरुमा एन्टीवायटिक एउटा हो।

एन्टीवायटिक भनेको के हो?
एन्टीवायटिक भनेको व्याक्टेरियालाई मार्ने वा नियन्त्रण गर्ने औषधीहरु हुन्। यहाँ हामीले बुझ्नुपर्ने कुरा के हो भने एन्टीवायटिकले भाइरल सन्क्रमणमा काम गर्दैन र भाइरल सन्क्रमणमा भाइरस मार्न वा नियन्त्रण गर्न प्रयोग हुने औषधी एन्टीभाइरल (Antiviral) हुन्। एन्टीवायटिकको प्रयोग चिकित्सकको सल्लाह विना गर्नु हुदैन। यसको प्रयोग चिकित्सकले भने बमोजिम समयमा, भनेको दिनसम्म गर्नु पर्छ। चिकित्सकको सल्लाह विना जुनसुकै समस्या, साधारण भाइरल सन्क्रमणको लागि एन्टीवायटिक प्रयोग गरेमा त्यसले तपाईंलाई केही फायदा त गर्दैन बरु नोक्सान गर्न सक्छ। साथै चिकित्सकहरुले पनि चाहिने भन्दा बढी प्रयोग गर्ने, आवस्यक भन्दा बढी शक्ति (Broad Spectrum)को एन्टिवायटिक प्रयोग गर्ने गर्छन्। यसले भविस्यमा ती एन्टीवायटिकहरुले काम नगर्ने खतरा पनि बढेर जान्छ।
हरेक औषधीको जस्तै यिनका पनि खराब असरहरु (Side Effects) हुन्छ्न् र यिनका जथाभावी प्रयोगले ती खराब असरहरु तपाइमा देखिन सक्छ्न्। छिमेकी मुलुक चीनमा झन्डै १० लाख बालबालिका स्ट्रेप्टोमाइसिन (Streptomycin) एन्टीवायटिकको साइड इफेक्टका कारणले बहिरो हुन पुगेको अनुसन्धानले देखाएको छ।

कसरी भैरहेको छ दुरुपयोग?
एन्टीवायटिकको बढ्दो दुरुपयोगले देखिदै गएको समस्या भनेको पहिले काम गर्ने व्याक्टेरियल सन्क्रमणहरुमा एन्टीवायटिकहरुले काम नगर्नु हो अर्थात ती औषधीहरुले व्याक्टेरियालाई मार्न नसक्नु हो। एन्टीवायटिकहरुको दुरुपयोग निम्न तरिकाले भैराखेका छन्- आवस्यक नभएको बेलामा प्रयोग गर्नु, तोकिएको समयसम्म प्रयोग नगर्नु, पहिले अरु एन्टीवायटिक प्रयोग भए नभएको नबुझी अर्को एन्टीवायटिक दिनु, एकै खालका धेरै एन्टीवायटिकहरु को एकैपटक प्रयोग गर्नु आदि।
साधारण रुघाखोकीमा एन्टीवायटिकले केही फायदा गर्दैन किनकी यो भाइरल सन्क्रमण हो। तर एन्टीवायटिक प्रति हामी यति आँखा चिम्लेर विस्वास गर्छौ की या त हामी आफै एन्टीवायटिक किनेर खान्छौ या त डक्टरलाई एन्टीवायटिक लेखिदिन जिद्दी गर्छौ। डक्टरहरु पनि या त विरामीलाई सन्तुस्ट पार्ने नाममा या व्याक्टेरियल सन्क्रमण हो की भन्ने संकामा एन्टीवायटिक प्रयोग गर्नमै खुशी हुन्छौ। कान पाक्ने रोग (Otitis Media) मा हामी एन्टीवायटिक प्रयोग नगर्ने सोच्न पनि सक्दैनौ। हुन त यो प्राय: व्याक्टेरियल सन्क्रमणले गर्दा हुन्छ तर यो रोग लागेका बालबालिकाहरुमा ६६% लाई एन्टीवायटिकको प्रयोग विना सिटामोल र अन्य ज्वरोको औषधीले ठीक हुने अनुसन्धानहरुमा देखिएको छ। एन्टीवायटिकको प्रयोगले त्यस्का साइड इफेक्टहरु त छदैछन्, एमोक्सीसिलिन (Amoxycillin - एक प्रकारको एन्टीवायटिक)को प्रयोगले भविस्यमा फेरि कानको सन्क्रमन हुने सम्भावना बढेको पनि देखिएको छ। साधारण पिसाबको सन्क्रमण (Uncomplicated Urinary Tract Infection) करिब हफ्तादिनमा घरेलु उपचारबाट नै ५०% मा निको हुन्छ। तर पनि रोग अरु नबढोस् र त्यस्का खराब असरहरु नदेखियोस भनेर ट्राइमेथोप्रिम-सल्फामेथोक्साजोल (Trimethoprim-Sulphamethoxazole) ३ दिनसम्म प्रयोग गर्ने अन्तरराष्ट्रिय मान्यता छ। ट्राइमेथोप्रिम-सल्फामेथोक्साजोल धेरै नै सस्तो र पिसाबको सन्क्रमणको उपचारमा उपयुक्त एन्टीवायटिक हो। तर हामी(बिरामी, डक्टर र फार्मेसीवाला सबै)यसलाई यति अविस्वास गर्छौ की महँगो सिप्रोफ्लोक्ससिन (Ciprofloxacin) ७ दिनसम्म प्रयोग गर्छौ।

एन्टीवायटिकले मार्न नसक्ने व्याक्टेरिया (Resistant bacteria) को कसरी जन्म हुन्छ?    
सरल भाशामा भन्नु पर्दा जब हामीले अनावश्यक रुपमा (आवस्यक नभएको बेलामा प्रयोग गर्नु, पुरा डोज नखानु, साधारण सन्क्रमणको लागि ब्रोड इस्पेकट्रम एन्टीवायटिक प्रयोग गर्नु) एन्टीवायटिक प्रयोग गर्छौ तब यसले धेरै व्याक्टेरिया त मार्छ तर सानो संख्यामा रहेका एन्टीवायटिकले मार्न नसक्ने व्याक्टेरिया (Resistant bacteria) मर्दैनन र तिनले एन्टीवायटिकसँग लड्न सक्ने क्षमता अर्को वंशमा सार्छन। त्यसरी वंशवंशमा हस्तान्तरन हुँदाहुँदै पछि यस्तो वंश बन्न जान्छ जसलाई त्यो एन्टीवायटिकले मार्नै सक्दैन। र एन्टीवायटिकले मार्न नसक्ने एउटा नयाँ खालको व्याक्टेरियाको जन्म हुन्छ। यस्ता व्याक्टेरियाको सन्क्रमणको उपचार गर्न धेरै गाह्रो हुन्छ। Methicillin Resistant Staphylococcus aureus (MRSA), Vancomycin Resistant Enterococcus (VRE), Clindamycin Resistant Clostridium difficile जस्ता थुप्रै व्याक्टेरियाले दिनदिनै जन्म लिइरहेका छ्न्। तर हामीले त्यहि गतिमा नयाँ एन्टिवायटिक बनाउन सकिरहेका छैनौ। त्यसैले हामीले उपलब्द एन्टिवायटिकहरुको एकदम सावधानीपुर्वक प्रयोग गर्नुपर्छ, अन्यथा हामी यस्ता व्याक्टेरियाको सन्क्रमणहरुले ग्रस्त हुनेछौ की जस्को उपचारको लागि हामीसँग औषधी नै हुनेछैन।

यो समस्या रोक्न/ कम गर्नको लागि हामी के गर्न सक्छौ?
विरामी र विरामीका परिवारको लागि-
१) एन्टिवायटिक कस्तो बेलामा उपयोगी हुन्छ भनेर बुझ्नुपर्छ। यी औषधी सबै खालको सन्क्रमणमा प्रयोग गर्नु उचित हुदैन। साधारण रुघाखोकी, झाडापखाला जस्ता भाइरल सन्क्रमण र कान पाक्ने रोग जस्ता साधारण व्याक्टेरियल सन्क्रमणहरुमा एन्टिवायटिकले फायदा भन्दा बेफाइदा बढी गर्छ।
२) भाइरल सन्क्रमणमा एन्टिवायटिक दिनको लागि डक्टरलाई प्रेसर नदिनुहोस्। औषधी धेरै दिने डक्टर हैन की तपाईंसँग तपाईंको समस्याको बारेमा खुलेर कुरा गर्ने डक्टर राम्रो डक्टर हो। साधारण समस्याको लागि डक्टरसँग घरेलु उपचार (जस्तै नुनपानीले कुल्ला गर्ने, तातोपानीको वाफ लिने आदि )को बारेमा सल्लाह गर्नुहोस्।
३) डक्टरको सल्लाह बमोजिम मात्र एन्टिवायटिकको प्रयोग गर्नुहोस्। के सन्क्रमण हो, कस्तो खालको सन्क्रमण हो भन्ने डक्टरसँग बुझेर आफुले कुन एन्टिवायटिक कति दिन, कसरी प्रयोग गर्ने भन्ने राम्ररी बुझेर मात्रै खानुपर्छ। आफूलाई अलि ठीक भएको जस्तो लाग्यो भनेर एन्टिवायटिक खान बीचमै छोड्नु हुदैन। यसो गर्दा व्याक्टेरियामा एन्टिवायटिकसँग लड्ने शक्ति विकसित हुन्छ र भविस्यमा त्यो एन्टिवायटिकले काम नगर्ने हुनसक्छ।
४) सन्क्रमण सर्नुको कारण हुनबाट आफु बच्नुहोस् र अरुलाई पनि बचाउनुहोस्। साबुनपानीले हात धुने, खोक्दा, हाछिउ गर्दा रुमालले मुख छोप्ने जस्ता क्रियाकलाप गरेर सन्क्रमण सर्नबाट रोक्न सकिन्छ।
५) विना कारण अस्पताल(वार्ड, इमर्जेन्सी)मा भिडभाड गर्नुहुदैन। एन्टिवायटिकको प्रयोग बढी हुने भएकोले अस्पताल क्षेत्रमा साधारण एन्टिवायटिकले मार्न नसक्ने व्याक्टेरिया (Resistant Bacteria) धेरै मात्रामा पाइन्छ। त्यसैले यस्तो सम्बेदनशील क्षेत्रमा विना काम जाने, बालबच्चा लिएर जाने, घुम्नको लागि जाने गर्नु हुदैन। यसो गर्दा त्यस्ता खतरनाक व्याक्टेरियाको सन्क्रमणबाट बच्न र बचाउन सकिन्छ।
चिकित्सकहरुका लागि-
१) रोगको प्रकार, अवस्थाको बारेमा विरामीले बुझ्ने गरी भन्नुपर्छ। एन्टीवायटिकको आवस्यक्ता भए नभएको सम्झाउनुपर्छ। रोग बारे कुरा नबुझाइ ५०० को औषधी लेख्नु भन्दा ५ मिनेट बढी कुरा गरेर घरेलु उपचारको सल्लाह दिएको राम्रो हुन्छ। इमर्जेन्सी, भिडभाड बढी भएको बेलामा यसो गर्न धेरै गाह्रो हुन्छ, तैपनि विरामीसँग बढी कुरा गर्ने, उनीहरुको कुरा बुझ्ने, उनिहरुलाई कुरा बुझाउने सक्दो कोसिस गर्नुपर्छ।
२) अनुसन्धानहरुमा देखिएको तथ्यका आधारमा उपचार गर्ने (Evidence Based Medicine) बानी गर्नुपर्छ। उपचार पध्दती, रोगहरु बारेको जानकारीमा हरसमय नयाँ विकास भैरहेको हुन्छ, त्यस्ता अनुसन्धानहरुका परिणामहरुको आधारमा आफ्नो उपचार प्रणालीमा पनि परिवर्तन गर्ने गर्नुपर्छ। विरामीहरुलाई पनि ती तथ्यहरुको बारेमा आवस्यक्ता अनुरुप जानकारी गराउनुपर्छ।
३) सकेसम्म एन्टीवायटिकको प्रयोग कम गर्नुपर्छ र गर्दा पनि उपयुक्त एन्टीवायटिकको प्रयोग गर्नुपर्छ। चाहिने भन्दा बढी शक्तिको एन्टीवायटिक (Broad Spectrum Antibiotic) प्रयोग गरेर धेरै खालको सन्क्रमण निको हुने, डक्टरको नाम चल्ने त हुन्छ तर भविस्यमा हामी सबैले त्यसको धेरै ठुलो मुल्य तिर्नुपर्छ। सधैं रामवाण चलायो भने पछि चलाउनै पर्ने बेलामा चाँही रामवाणले काम नगर्ने हुन्छ, अनि के गर्ने?
४) अस्पतालमा एउटा विरामीबाट अर्कोमा सन्क्रमण सार्ने कारण बन्नबाट बच्नुपर्छ।
अन्तमा,
“ एन्टीवायटिक प्रयोगको पहिलो नियम: सकेसम्म यसको प्रयोग नगरौ र दोस्रो नियम: धेरै एन्टिवायटिकको प्रयोग नगरौ।“ – Paul L. Marino
स्रोतहरु:

4 comments:

  1. well written..specially for the general pubic consumption....i hope these articles are read by the people...they should somehow be brought to the attention of such people..gr8 work..keep it up..

    ReplyDelete
  2. Thank you Santosh. I am trying to make these articles accessible to as much general people as possible. Thank you for your support.

    ReplyDelete
  3. doctor dherai khushi lagyo hajur ko article padhera. ra dherai kura janne mauka pani paaye.maile pani dherai antibiotic khayekochhu.i have sinusitis problem.doctor please sinustis ko bare maa pani kehi kura janna paaye huntyo.

    ReplyDelete
  4. I am sorry to know about your problem. I will write about it very soon.

    ReplyDelete