आइ सि यु को ड्युटी कहिलेकाहि मलाई एउटा युद्धभुमी जस्तो लाग्नेगर्छ। एकछिन अघि आफूसँग राम्ररी बोलीरहेको, कुरा गरिरहेको विरामी एकछिनमा अचेत भएर सुतिरहेको हुन्छ। जसरी युद्धभुमीमा कुन गोलीको शिकार कुन साथी हुने हो थाहा हुदैंन, त्यसरी नै आई सि यु मा कुन बेलामा कुन विरामीलाई कुन रोगको के जटिल अवस्था (complications) आउने हो, कुन विरामीले जीवनको अन्तिम संघर्ष गर्ने हो सजिलै भन्न सकिदैंन। अस्पतालका अरु वार्डहरुमा र इमरजेन्सीमा पनि विरामी नमर्ने होइनन्, तर अस्पतालकै सबैभन्दा सिकिस्त विरामीहरु राखिने आई सि यु मा दिनहुँ जस्तो विरामीहरु मर्न थालेपछि भने मलाई यस्तो सोचाइ आउन थालेको हो।
मृत्यु जीवनको एउटा शास्वत सत्य हो। तर दैनिक जीवनको भागदौड, समय र परिवर्तनसँगै दौडने होडबाजीमा हामी धेरैले यो सत्यलाई बिर्सिरहेका हुन्छौं। मृत्यु हाम्रो लागि नबोलाइकन आएको, खबरै नगरी आएको शत्रु जस्तो हुनजान्छ। वास्तवमा यो त जीवनको शुरुवातसँगै जोडिएर आएको हुन्छ।
डाक्टर नर्सहरु कठोर हृदयका हुन्छन्, अर्काको दुःख सजिलै बुझ्न सक्दैनन्, विरामीको मृत्युले पनि उनीहरुलाई केहि असर गर्दैन भनेर धेरैले भन्ने गरेको पाएको छु। यो केहि मात्रामा सत्य पनि हो। हामी केहि मात्रामा कठोर हृदयका हुन्छौं र हाम्रो पेशाले हामीलाई यस्तो बनाएको हुन्छ। हरेक दिनजस्तो जीवन र मृत्युको लडाईंको प्रत्यक्षदर्शी बन्नुपर्ने हाम्रो पेशामा समयले हामीलाई कठोर हृदयको बनाइदिएको हुन्छ। विरामीको मृत्यु विरामीको परिवारको लागि सबैभन्दा बढि दुःखको घटना हुन्छ, तर उसको उपचारमा संलग्न डाक्टर र नर्सहरुका लागि पनि त्यो एउटा नमिठो कुरा हुन्छ। त्यो उनीहरुको प्रयास असफल भएको संकेत हुनेगर्छ। तर असफलताको त्यही एक सम्झनालाई काखी च्यापेर बसिरहन सम्भव हुदैंन। त्यस्ता नमिठा यादहरु संगालेर अगाडि हिडिरहनुपर्छ, त्यसबाट शिक्षा लिएर भविष्यमा अघि बढिरहनुपर्छ। त्यसैले त एउटा विरामीलाई बचाउन गरिएको अथक, तर असफल प्रयासका पसिनाहरु सुक्न पनि नपाई हामी उसलाई उसको आफन्तको जिम्मा लगाई अर्को विरामीको सेवाको लागि तयार हुन्छौं। यसलाई हाम्रो हृदयको कठोरताको रुपमा नहेरियोस्। हामी समयले दिएको शिक्षाले गर्दा, जीवन र मृत्युको हुने युद्धको दैनिक जस्तो प्रत्यक्षदर्शी बन्दा बन्दा र अर्को त्यस्तै जिन्दगीको लडाईको लागी सहयोग गर्नुपर्ने कर्तव्यका कारणले गर्दा केहि कठोर भएका हुन्छौं।
मेडिकल लाईफको शुरुवातका दिनहरुमा अर्थात् इन्टर्नसीपको बेलामा विरामीको मृत्यु धेरै ठूलो कुरा हुन्थ्यो। त्यस्तो घटनाको त्यो भन्दा पहिले प्रत्यक्ष अनुभव नभएर पनि होला, जीवन र मृत्युको लडाईंलाई र त्यसमा मृत्युको जीतलाई त्यति नजिकबाट नहेरिएकोले पनि होला, विरामीको मृत्युमा कति साथीहरु कुनामा बसेर मन अमिलो पारेर आँसु खसाल्ने गर्थे र दिनभर ढोका थुनेर कोठामा बस्ने गर्थे। तर समयसँगै आएको परिपक्वता भन्नुपर्छ यसलाई, आज हामी यसलाई सहजरुपमा लिनसक्छौं, जीवनको शास्वत सत्यलाई हामी सजिलै स्विकार्न सक्छौं। कृपया यसलाई हाम्रो कठोरताको रुपमा नलिइयोस्।
यस्ता घटनाहरुले हामीलाई हाम्रो limitation को ज्ञान दिलाएको हुन्छ, हाम्रो धरातल देखाएको हुन्छ। कोहिकोहि विरामी र उनका आफन्तहरुले भन्ने जस्तो डाक्टर एउटा भगवान कदापी हैन। उसले त मात्र मानव शरीरको बारेमा पढेको हुन्छ, रोगहरुलाई चिनेको हुन्छ, कसरी उपचार गर्ने सिकेको हुन्छ। मानिसको जीवन र मृत्युको साँचो त अरु कसैको हातमा हुन्छ। तर पनि हामी हिप्पोक्र्याटिक ओथ (Hippocratic Oath) लिँदा भनेको जस्तै मानव जीवनलाई सम्मान गर्दै त्यसको बचावका लागि विरामीको आत्मनिर्णयको अधिकार, आफ्नो अवस्थाबारे जान्न पाउने अधिकार र गोपनियताको अधिकारलाई आफ्नो कर्तव्य मान्दै यो युद्धभुमीमा आफ्नो ज्ञानको हतियार र सहयोग गर्ने भावनाको शक्ति लिएर अघि बढीरहने छौं।