Showing posts with label मनका कुराहरु. Show all posts
Showing posts with label मनका कुराहरु. Show all posts

Thursday, February 5, 2015

पाठेघर नै फाल्या महिला नि गर्भवती!! के मिलेन त?

रमा तीनवटा बच्चा छन् रे उनका, यो आठौ गर्भ हो रे, अरु कोइ पेटमै खेर गए, कोइ जन्मेर खेर गए रे। लेखाजोखा नै छैन, उनलाई याद नि छैन। पछील्लो बच्चा जन्मेपछी पाठेघर खस्ने समस्या भएर पाठेघर फालेको रे। कालिकोट मान्मको शिविरमा फालेको भन्थिन्। अहिले गर्भवती भएर आएकी थिईन्। हुनै नसक्ने कुरा। पाठेघर नै फालेपछी कसरी गर्भ बस्छ, कहाँ गर्भ बस्छ। हुन त उनी अति नै विपन्न, चेतनाको स्तर न्युन भएकी देखिन्थिन्। गाउघरका धेरैजसो विरामी यस्तै हुने रहेछन्। आफ्नो अवस्थाको बारेमा केही थाहा नहुने, के औषधी खाएको, के अप्रेसन गरेको त झनै थाहा हुने कुरै भएन। उनलाई आफ्नो पाठेघर फालिएको भन्ने चै शायद शिविरमा उपचार पछी कसैले भनेको थियो होला। उनको साथमा कोइ बुझ्ने मान्छे आएको छ कि भनेर सोद्धा जेठी श्रीमतीको छोरा आएका रहेछन्, उनलाई धेरै थाहा नभए नि "शिविरमा आङ खस्ने समस्याको उपचार गरेको, त्यो बेला अरुहरुको पनि पाठेघर फालेको थियो" भनेर मात्रै भन्न सके। पेटमा सुन्दा खेरी बच्चाको मुटुको धड्कन चै सुनिन्थ्यो। पेटमा काटेको दाग केही नभए पनि तलबाट जाच्दा औंला हाली जाच्दा भने योनी एकदम साघुरिएको थियो। सिजेरियन अप्रेसन गरियो, पाठेघर सङ्लै थियो, बच्चा राम्रै भयो।

उनको पाठेघर निकालिएकै थिएन। पाठेघर खस्ने समस्याको लागि योनीमार्गको अप्रेसन (Pelvic floor repair) मात्रै गरिएको थियो कि, उनलाई बुझाउदा पाठेघर नै फालेको भनेर पो बुझिन् कि। अथवा पाठेघर नै ननिकाली निकालेको पो भनेका हुन् कि। जे पनि हुनसक्छ।

मैले यहाँ भन्न खोजेको चै हाम्रो उपचार प्रणालीमा 'डकुमेन्टेसन'को कमजोरी र स्वास्थ्य प्रणालीमा गरिनुपर्ने सुधार बारे हो। ती महिलाको के उपचार, अप्रेसन गरिएको थियो भनेर लिखित रेकर्ड कतै भएको भए यति 'कन्फ्युजन' नै हुन्थेन। हो, विरामीलाई के कस्तो उपचार, अप्रेसन भनेर सबै बुझाउन सकिदैन, सबैको त्यत्तिको मेडिकल ज्ञान पनि हुँदैन। तर कुनै पनि विरामीको उपचारको कतै रेकर्ड हुने सिस्टम भयो भने त्यो व्यक्तीको जिन्दगी भरको लागि सजिलो हुन्छ।

हाम्रोमा कती विरामी अस्पताल आउनु अघी नै विभिन्न एन्टीवायटिक, थरीथरीका औषधी खाएर आएका हुन्छन्, के खानुभाथ्यो भनेर सोध्यो भने नाम थाहा हुने त कुरै भएन अनी एउटा सेतोसेतो लामो ट्याब्लेट थ्यो, अर्को गुलियो गुलियो झोल थ्यो, दिनको ३ पटक खाने, यस्तै यस्तै भन्छन्, त्यसैका आधारमा अन्दाज मानेर यो खाएको होला भनेर चल्नुपर्ने हुन्छ। कति बेला पहिल्यै चलेको औषधी फेरी दोहोरिन्छ, भन्न सकिदैन। कसै कसैले पुराना कागजात, औषधीहरुको थुप्रो बोकेर आएका हुन्छन्, कतिले त के बोक्ने के नबोक्ने थाहा नपाएर औषधीको, जाचहरुका बिलहरु पनि लिएर हिड्छन्। पुराना प्रेस्क्रिप्सनहरु पनि कहिले कस्कोमा देखा'को हुन्छ, कहिले कस्कोमा। एउटै औषधी दोहोरिएको हुन्छ, एउटै जाच अनावश्यकरुपमा पटक पटक भईरहेका हुन्छन्, पैसा अनावश्यक खर्च भईरहेको हुन्छ, समस्या जहिको तही हुन्छ। विरामीले नि पटक पटक डक्टर फेरेको भएर डक्टरसँगको कुनै स्थायी सम्बन्ध अनुभव गर्न पाएका हुँदैनन्, डक्टरहरुले नि ४-५ मिनेटको भेटमा विरामीलाई खासै केही सेवा दिन सकिरहेका हुँदैनन्।    

त्यसो भने हुनुपर्ने के हो त? कस्तो हो त?

खासमा हुनुपर्ने के भने कुनै एउटा निश्चित क्षेत्रको लागि एउटा एमडीजीपी डक्टर वा फेमिली डक्टर हुनुपर्छ, जस्को जिम्मामा त्यो क्षेत्रका सबै महिला, पुरुष, बच्चा, बुढाबुढी, सबैको स्वास्थ्य अवस्थाको हेरचाह हुनुपर्छ। कुनै महिला गर्भवती भईन् भने गर्भावस्थाको जाच गर्ने, टिटी सूई लाउने, आइरन चक्की खाने आदी सबै काम उसैको मातहतमा हुनुपर्छ, र त्यो सबको रेकर्ड उसको अफिसमा हुनुपर्छ। र केही गरेर रिफर गर्नुपर्यो भने उसले नै केन्द्रको स्त्री रोग विशेषज्ञकोमा रिफर गर्ने र रिफरको बेला आवश्यक जानकारी सम्बन्धित विशेषज्ञकोमा पठाउने जिम्मा नि उही डक्टरको हुनुपर्छ। त्यसै गरी त्यो क्षेत्रका हरेक बच्चाबच्चीको स्वास्थ्य अवस्था, खोप लाए नलाएको रेकर्ड, जन्मको बेलाको रेकर्ड, प्रत्येकपल्ट विरामी हुँदा, अस्पताल भर्ना हुँदाको रेकर्ड त्यो क्षेत्रको जीपीको अफिसमा हुनुपर्छ। त्यस्तै क्यान्सर, उच्च रक्तचाप, मधुमेह जस्ता विभिन्न दिर्घरोगहरुको पनि नियमित फलोअप उनैको अफिसबाट हुनुपर्छ। केन्द्रका ठुला अस्पतालहरुमा भर्ना भएर, अप्रेसन गरेर फर्केका विरामीहरुको पनि फलोअप गर्नको लागि क्षेत्रकै जीपीको माध्यमबाट गरिनुपर्छ, जसले गर्दा विरामीलाई नि शहर नै धाउनुपर्ने झन्झट हुँदैन र डक्टर-डक्टर बीचको कम्युनिकेसनबाट फलोअप हुने हुँदा गलत जानकारी जाला भन्ने डर पनि हुँदैन। साथै जीपीले आफ्नो क्षेत्रका विरामीको रिफरलका लागि व्यवस्था मिलाउने, केन्द्रका स्पेसलिस्टलाई विरामीको मेडिकल रेकर्ड उपलब्ध गराउने, गरिएको उपचार, औषधीका बारेमा थाहा दिने, केही नबुझिएको भए थप जानकारी दिने अनी विरामीको मेडिकल प्रवक्ताको रुपमा काम गर्ने पनि गर्नुपर्छ।

प्राय: विकसित देशहरुमा यस्तै खाले मेडिकल प्रणाली सरकारीरुपमा नै लागू भएको हुन्छ। यसले जनताको स्वास्थ्य अवस्थाको रेकर्ड राम्रो रहन्छ, विरामीलाई आफ्नो स्वास्थ्य समस्या आफ्नो क्षेत्रको जीपी वा फेमिली डक्टरलाई भन्ने भनेर निश्चित हुन्छ, विरामीको उपचारमा निरन्तरता हुन्छ, रिफरलको राम्रो सिस्टम नि बस्छ, कम्युनिकेसन ग्याप पनि हुँदैन। सरकारले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न सरकारीरुपमै स्वास्थ्य विमा गर्ने कानुन ल्याएर त्यस अन्तर्गत यस्तो प्रणाली बसाल्न सक्यो भने हाम्रो पनि स्वास्थ्य क्षेत्र व्यवस्थित भएर जान्थ्यो कि।

शुरुको केसमा शायद हाम्रो स्वास्थ्य सेवा प्रणाली नमिलेको हो, कुनै मेडिकल चमत्कार भएको हैन।

बाँकी पढ्नुहोस् >>

Sunday, January 18, 2015

लेखको प्रतिकृया अनि मनका केही कुरा।

धेरै अघी दिलिप आचार्यजीको यो लेख ‘के चिकित्सकहरु कमिसनकै लागि यस्तो गर्छन् त?’ पढ्ने बेलामै मनमा लागेका कुराहरु लेख्ने भन्ने सोचिरहेको थिए तर के के नमिलेर लेख्न भ्याएको थिईन। आज अलि फुर्सद भएकोले त्यो लेख पढ्दा मनमा लागेका कुराहरु लेख्न लाग्दैछु। लेख पुरानो भए पनि यी सन्दर्भहरु हामीकहा अझै सधैंजसो नै भई नै रहन्छन्, र हामी मध्ये धेरैले आफूसँग यी कुराहरु कतै न कतै जोडीएको पाउनेछौ।

सर्वप्रथम् यो लेख डक्टर वा कोही पनि स्वास्थ्यकर्मीको कुनै पनि गलत कार्यको बचाउको लागि लेखिएको हैन। उनीहरु पनि मान्छे नै हुन् र उनीहरुबाट नजानीकन र कती बेला जानीजानीकन गल्तीहरु र अपराधको कामहरु समेत हुनसक्छन्। तिनको सही छानविन गरी गल्ती, अपराध अनुसारको सजाय दिनुपर्छ भन्नेमा कसैको दुई मत हुनै सक्दैन।

लेखकले उक्त लेखमा राख्नुभएको आफ्नो धारणा जस्तै धेरैले आफ्नो वा आफन्तको उपचारको क्रममा त्यस सम्बन्धी आफ्नै धारणा बनाएका हुन्छन्। यो लेख मार्फत मैले त्यसलाई फरक दृष्टिकोणले पनि हेर्न सकिन्छ र हेर्दा दृष्य र घटनाहरु फरक देखिन्छन् भन्ने मात्रै बताउन खोजेको हुँ। साथै आफ्न केही कुराहरु नि जोडेको छु।

पहिलो घटना-
केही दिनदेखी पेट दुखेको भनेर पेट रोग विशेषज्ञकोमा देखाउन जानुभएको, डक्टरले केही सोधपुछ मात्रै गरेर जाचहरु पठाइदिए, जुनमा खासै केही खराबी देखिएन, पछी घरमै बस्ने हड्डीका डक्टरले दिएको अमिबाको औषधी खाएर ठीक भो भन्ने कुरा।

विरामीसँगको सोधपुछ, जसलाई ‘हिस्ट्री लिने’ भनिन्छ, राम्ररी समय लगाएर गरिएको छ भने रोगबारे धेरै कुरा त्यसैबाट अन्दाज लगाउन सकिन्छ। त्यसको आधारमा विरामी जाच्दा के के हेर्नुपर्छ भन्ने कुरा डक्टरको दिमागमा खेलिरहेको हुन्छ। अनि त्यस अनुसार ल्याब टेस्टहरु पठाएर रोगलाई खुट्याउन थप सहयोग मिल्छ। रोग पत्ता लगाउने यो तरिका संसारभर उस्तै हो। तर अवस्था अनुसार यसमा केही फेरबदल हुन्छ नै। जस्तो रोग सामान्य झै लाग्यो र लक्षणहरुको आधारमा लगभग पक्का जस्तो भो भने विना ल्याब टेस्टहरु नै उपचार शुरु गरेर कत्तीको सुधार हुन्छ हेर्न सकिन्छ। त्यस्तै विरामी सिकिस्त छ भने रिपोर्ट कुरेर रोग निर्क्यौल गरेर मात्रै औषधी चलाऊन नभ्याइने हुन्छ, त्यसैले हिस्ट्री र विरामी जाच्दाको प्रमाणहरु अनुसार हुनसक्ने रोगहरुको लागि भनेर औषधी शुरु गरिन्छ।  यो प्रक्रीया डक्टर अनुसार अलिअलि फरक पर्छ नै।
लेखकले भने अनुसार ती विशेषज्ञ डक्टरले विरामीलाई हात नै नलगाई भिडियो एक्सरे, स्टुल आदीको जाच लेख्दिएका थिए, जुन मेडिकल हिसाबले गलत हो। जस्तै सामान्य समस्याको विरामी भए पनि एकपटक राम्ररी विरामी जाँच्नैपर्छ। तर लेखकको यो धारणा पनि गलत हो कि पेट छामेर नै अमिबाले दु:ख दिएको पत्ता लाग्छ। हो उनको पेट दुखाइ अमिबाको औषधी खान शुरु गरेको दोस्रो दिनदेखी नै ठीक हुन थाल्यो, तर त्यो औषधीले नै त्यो जादु गरेको होला भनेर मेडिकल साइन्स पढेको कुनै पनि मान्छेले शायदै पत्याउला। र पेट दुख्ने मात्र समस्याको लागि मात्र पेट छामेर अमिबाको औषधी (पक्कै पनि मेटोनिडाजोल एन्टिबायटिक होला) चलाउनु उचित हुँदैन। पेट रोग विशेषज्ञले शुरुमा दिएको ५ दिने औषधी नै पो एन्टिबायटिक थिए कि? तिनले पनि अमिबालाई ठीक गर्थे कि?
खासमा हुनुपर्ने के हो भने डक्टरले विरामी जाचिसकेपछी “मलाई यो यो रोगको शंका लागेको छ, यो यो जाच गराएर यी रोगहरु हो हैन हेरौ, अनि यसको लागि यो औषधी चलाऊदैछु” भनेर जानकारी दिनुपर्छ। र विरामीसँग उसको राय, भन्न मन लागेको कुराहरु बारे नि छलफल गर्नुपर्छ। विरामीले पनि डक्टरले भनेको सबै कुरा यत्तिकै मान्नुभन्दा सकेसम्म आफ्नो रोगबारे, भनिएका जाचहरु बारे, आफूलाई चलाइएको औषधी बारे जान्ने प्रयास गर्नुपर्छ।

दोस्रो घटना-
१० वर्षकी बच्चीको पेटको समस्या जती औषधी गरे पनि निको नभएको तर आँफैले गुगल गरेर जुकाको औषधी चलाएको भोलिपल्टै ठीक भएको भन्ने घटना।

कुनै एक डक्टरको उपचार गराउदा ठीक नभएपछी हामी प्राय: डक्टर परिवर्तन गरिहाल्छौ र रोग ठीक नभएसम्म गरी नै रहन्छौ। यो खासमा आफ्नो डक्टरप्रति विश्वास नभएको हो वा भनौ डक्टरले विरामीको विश्वास जित्न नसकेको हो। "म तपाईंको समस्या समाधानको लागि सक्दो प्रयासरत छु, हामी मिलेर यसको हल निकाल्न सक्छौ र केही गरेर मबाट भएन भने सही विशेषज्ञकोमा रिफर गर्नेछु" भन्ने विश्वास विरामी, उसको परिवारलाई दिन सकियो भने ‘डक्टर सपिङ’को यो चलन केही कम गर्न सकिन्छ कि। नत्र फरक फरक अस्पताल र डक्टर चाहर्दाचाहर्दा विरामीको खर्च नि बढ्छ, अनावश्यकरुपमा जाचहरु नि दोहोरिन्छन्, सुधार नगरेका औषधीहरु नि पटक पटक उही चल्छन्। त्यसैले विरामीले पनि सकेसम्म एउटै डक्टरकोमा लगातार देखाउने र उक्त डक्टरले विरामीसँगको सल्लाहपछी रिफर गरेर मात्रै अर्को डक्टरकोमा जाने बानी गर्नुपर्छ।
खासमा हुनुपर्ने के हो भने, शुरुमा समस्याहरु सधैं एकै जेनेरल फिजिसियन वा फेमिली डक्टरलाई देखाउने गर्नुपर्छ, त्यसो भएमा उनलाई विरामीको, उसको परिवारको बारेमा धेरै जानकारी हुन्छ र शुरुका सामान्य रोगहरुको उपचार उसैले गर्छ र कुनै जटिलता आएमा रोग, अवस्था अनुसारको विशेषज्ञकोमा रिफर गर्छ। धेरैजसो विकसित देशहरुमा यसप्रकारको सिस्टम नै हुन्छ।
अर्को कुरा हामी उपचारको क्रममा औषधीको साइड इफेक्ट भएको होला भनेर प्राय: शंका गर्दैनौ, अनि साइड इफेक्ट भयो भने पनि त्यसलाई काट्न अर्को औषधी थपिदिन्छौ। र कतीपय बेला रोगले भन्दा नि औषधीको साइड इफेक्टले विरामीलाई झन बढी सिकिस्त बनाइरहेको हुन्छ। त्यसो हो भने सोही डक्टरकोमा गएर मलाई यस्तो यस्तो भयो भनेर थाहा दिनु उचित हुन्छ।
हुन त लेखकले ३ घण्टा गुगल गरेर पत्ता लगाएर एक डोज जुकाको औषधी दिएर भोलीपल्टै च्वाट्टै निको भयो भनेका छन् तर किन किन मलाई पहिले चलाईएका औषधीहरु बन्द गरेकाले साइड इफेक्ट विस्तारै हराएर आँफै ठीक भएको हो कि भन्ने लागिर'छ, तर वाह वाह चै एक डोज अल्बेन्डाजोलले पायो कि।

तेस्रो घटना-
विशेषज्ञले जाच गर्दा, इन्डोस्कोपि गरेर औषधी चलाऊदा नि ठीक पार्न नसकेको पेट दुखाइ एमबीबीएस पास गरेका तर नाम नचलेको "क्वाक डक्टर" ले दिएको एउटा औषधीले ठीक गरेको घटना।

पहिलो कुरा एमबीबीएस पास गरेको तर नाम नचलेको भन्दैमा ती डक्टर कसरी "क्वाक डक्टर" भए, बुझिएन। त्यसो हो भने त नेपालमा गाउगाउ सेवा गर्ने एमबीबीएस पास डक्टरहरु त सबै नै 'क्वाक' हुने भए। दोस्रो कुरा ती क्वाक भनिएका डक्टरले दिएको Razo-20 भन्ने औषधी Rabeprazole/राबेप्राजोल हो, जुन ग्यास्ट्राइटिस रोगहरुमा चलाइन्छ। ती शुरुका विशेषज्ञ डक्टरले उनको पेट दुखाइका लागि त्यही ग्रुपको कुनै औषधी (प्यान्टोप्राजोल ओमेप्राजोल, एस्मोप्राजोल आदी) चलाएनन् होला भनेर मलाई चै पत्यार लाग्दैन। हो, ती औषधीहरुले उनको दुखाइ ठीक भएन त्यो आफ्नो ठाउँमा छ, तर एउटा समस्या ठीक पारेको, नपारेको आधारमा कोही डक्टर राम्रो वा नराम्रो भनिहाल्न मिल्दैन। हामी धेरैले डक्टरको उपचारलाई त्यसरी नै तौलिरहेका हुन्छौ। कसैले धेरै औषधी लेख्ने डक्टर राम्रो भन्छन्, कसैले एउटै समूहका फरक औषधी लेखेर ठीक हुँदा शुरुको खत्तम, पछीको दामी डक्टर भन्छन्, कसैले मेडिकल साइन्सले नै गर्न नसक्ने ग्यारेन्टी दिएर औषधी गर्ने, अप्रेसन गर्ने डक्टरलाई विश्वास गरिरहेका हुन्छन्। हुन त यो मान्छेको आ-आफ्नो विश्वासको कुरा हो, यसले खासै फरक त पर्दैन तर सत्य नबुझी बनाइएका यस्ता धारणाले भविष्यमा धोका दिनसक्छ।

आफ्नो लेखमा लेखकले शंका गरेजस्तै ती डक्टरहरुले कमिसनकै लागि अनावश्यक जाचहरु पठाएका पनि हुनसक्छन्। यो समस्या हाम्रो मेडिकल क्षेत्रमा धेरै नै छ। त्यसैले जाचहरु गर्दा किन गरिएको, के रोगको शंका हो भनेर बुझाउने वा कम्तीमा बुझाउन प्रयास गर्ने डक्टरलाई देखाउनु बेस हुन्छ। साथै आँफैले पनि आफ्नो स्वास्थ्यको बारेमा जान्ने, खोजविन गर्ने प्रयास गर्नुपर्छ।

"सामान्य रोगलाई जटिल भन्दिने र जटिललाई सामान्य मान्दिने" कुरा बारे -
डक्टरले विरामीको हिस्ट्री, जाच्दाका देखिएका प्रमाणहरु, ल्याब रिपोर्टहरु अनि आफ्नो ज्ञानका आधारमा नै रोगको पहिचान गर्ने हो, त्यसमा कोही पनि सधैं शतप्रतिशत सही हुन्छ भनेर संसारको कुनै पनि भागमा ग्यारेन्टि दिन सकिदैन। त्यसैले त मेडिसिन साइन्स हो, जादु हैन। फेरी त्यो भनाइ सबैकुरा वितेपछी पछाडि फर्केर हेरी गरिएको कमेन्ट हो, फर्केर हेर्दा कहाँ को के गलत भयो, ठीक भयो भन्न सजिलो हुन्छ, तर शुरुको अवस्थामा भएका लक्षण, जाचका प्रमाण, ल्याब रिपोर्टहरु, उपलब्ध पूर्वाधारहरुका आधारमा गर्नसकिने त्यति नै थियो कि, त्यही नै थियो कि।

सबैलाई मेरो सुझाव-

  • उपचारको लागि विरामीसँग राम्रोसँग कुरा गर्ने, सबै समस्या बुझ्न कोसिस गर्ने, विरामी जाँच्नलाई समय दिने डक्टरलाई विश्वास गर्नुहोला न कि हतार हतारमा कुरा सुनेर औषधी लेख्ने डक्टरलाई। नामै चलेको डक्टर भए पनि विरामीको कुरा राम्ररी नसुनी, राम्ररी नजाची उसले गरेको उपचार गलत हुनसक्छ। त्यसैले कस्को क्लिनिकमा बढी भिड लाग्छ उसैलाई देखाउने भन्दा नि कस्ले समय दिएर विरामी हेर्छन् उस्लाई आफ्नो डक्टर छान्नुहोला। 
  • औषधी शुरु गर्नु अघी आफूलाई वा आफ्नो आफन्तलाई के समस्या भएको हो डक्टरसँग सोध्ने गर्नुहोला। एउटै रोग ठ्याक्कै भन्न नसकिए पनि के रोगको शंका छ, के के हुनसक्छ भनेर डक्टरले सोचेको हुन्छ नै, त्यसैको आधारमा नै औषधी चलाऊने हो। कहिलेकाही त्यो शुरुको प्रोभिजनल डायग्नोसिस पछी फेरिन सक्छ, फरक रोग हुनसक्छ, त्यसैले भनेको मेडिकल साइन्सले १००% ग्यारेन्टि दिन सक्दैन। तर तपाईंको डक्टरले रोग पत्ता लगाउनका लागि सकेसम्म प्रयास गरेका छन् भन्ने कुरामा तपाईं ढुक्क हुनुपर्यो। 
  • टाउको दुखेको छ भने टाउकोको डक्टर, छाती दुखेको छ भने छातीकै डक्टर, पेट दुखेको छ भने पेटकै डक्टर खोज्नुभन्दा पहिले जेनेरल फिजिसियन वा जेनेरल प्राक्टिसनर वा एमडी जीपीलाई देखाउनुहोला, जसले तपाईंको रोगबारे बुझेर समस्या साधारण भए उपचार गर्दिन्छन् र सम्बन्धित रोगकै विशेषज्ञ चाहिने भए रिफर गर्दिन्छन्। यसो गर्दा ग्यास्ट्राइटिस, निमोनिया भएको विरामी गंगालाल (मुटुरोग अस्पताल) पुग्नुपर्दैन, सर्जनले हेर्नुपर्ने पेट दुखाइको विरामी मेडिसिनको डक्टरको मा लाइन बस्नुपर्दैन, मानसिक रोग विशेषज्ञले हेर्नुपर्ने विरामी सबै अस्पताल चहारी हिंड्नुपर्दैन।  


धन्यवाद...
बाँकी पढ्नुहोस् >>

Saturday, December 6, 2014

डक्टरी वास्तवमा के हो? पेशा कि समाजसेवा?

क्टरी पेशा हो कि समाजसेवा हो भन्ने कन्फ्युजन मेरो दिमागमा बेलाबेलामा चलीरहन्छ। हाम्रो समाजलाई नि डक्टरी समाजसेवा हो र हुनुपर्छ भन्ने भ्रम छ। यहाँ गरिव विरामीले उपचार नपाउदा, प्राइभेट अस्पतालमा उपचारको चर्को शुल्क तिर्नुपर्दा डक्टरी पेशालाई सेवाबाट व्यापारमा बद्लेको भन्ने आरोपहरु लाग्ने गर्छ। सुन्दरमणी दिक्षित सरको पछील्लो लेख (शिर्षक नै चित्त नबुझेकोले मैले यहाँ राखिन) ले मेरो मनमा फेरी यो प्रश्न उठाइदियो। हुन त वहाँको लेख सस्ता शब्दहरु चयनका कारण सर्वसाधारणमा चर्चित रह्यो भने मेडिकल क्षेत्रका साथीहरुमा चै निकै नै विवादस्पद बन्न पुग्यो।

सुन्दरमणी सरलाई मैले वी.पी.को. स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको दिक्षान्त समारोहमा र पाटन अस्पतालको एउटा ग्रान्ड राउन्डमा सुनेको थिए। जहिले पनि उहाका शब्दहरु ठाडो तर विचारहरु सुन्दर हुन्छन्, धेरैजसो मेरा विचारहरु नि उहाकोसँग मिल्छन्। तर पछील्लो पटक प्रकाशित वहाँको लेख मलाई अलि चित्त बुझेन, फेसबुकको नेपाली डक्टरहरुको ग्रुप 'DSON' मा पनि उहाको लेखको विरोध भईरहेको छ। लेखमा पोखिएका उहाका विचारहरु भन्दा मेरा केही फरक धारणा छन् तर शब्द चयनप्रती चै मेरो आपत्ती छ।

"डाक्टरी पेशा सबभन्दा सम्वेदनशील हो, शिक्षक केही मात्रामा सम्वेदनशील हुनुपर्छ, वकिलले त सम्वेदनशील हुने कुरै छैन।" 
पेशा भनेको सबै उत्तिकै जिम्मेवारीपूर्ण हुन्छन् र हरेक पेशाकर्मीले आफ्नो जिम्मेवारी, महत्व बुझेको हुनुपर्छ र त्यसै अनुरुप निभाउनु पनि पर्छ। “वकिलले सम्वेदनशील हुने कुरै छैन” भनेर के भन्न खोज्नुभएको होला? उसको पनि आफ्नो ‘क्लाइन्ट’सँगको सम्बन्ध हुन्छ, उसैप्रती उसको जिम्मेवारी हुन्छ। पेशाकै आधारमा मान्छे ठुलोसानो, जिम्मेवारी बढीकम भन्ने हुँदैन भन्ने मलाई लाग्छ। गाडी चालकहरुको आफ्नो कामप्रतीको असम्वेदनशीलता, हेलचेक्राइले धेरैको ज्यान गएको हामीले सुनी, पढिरहेका हौ।

“कुनै महिलाले डक्टरको अगाडि लुगा खोल्छिन्, त्यत्रो विश्वास गर्छिन्, यो विरामीले डक्टरलाई दिएको इज्जत हो। हामीलाई समाजले कत्रो इज्जत दियो, जुन कुराले गर्दा आज #########################, यत्रो इज्जत कुन चाँही पेशाले पाउछ?” 
यो उदाहरण आँफैमा नपच्दो छ। हरेक पेशामा सेवा दिने र सेवा लिने बीच आफ्नै प्रकारको विश्वासको सम्बन्ध हुन्छ। कुनै होटलमा गएर तपाईं ढुक्कसँग खाना खान सक्नुहुन्छ, खानामा केइ मिसाएको छ कि विष हालेको छ कि भनेर शंका गर्नुहुन्न। आफूले अपराध नै गरेको छ भने पनि आफ्नो वकिलसामू सबै कुरा खुलस्त भन्नुहुन्छ। चुनावको बेला नेताहरुलाई जिताएर हामी आफ्नो देशै उनीहरुलाई सुम्पेका हुन्छौ। कपाल काट्न बस्दा धारिलो चक्कु लिएको नाईसामू आफ्नो घाटी थापेर चुपचाप ढुक्कसँग बस्नुहुन्छ। यी सबै विश्वासकै उदाहरणहरु हुन्, संसार विश्वासमै अडेको छ। त्यसैले विरामीले आफूसामू नाङिएर जाच्न दिनु डक्टरको इज्जत हो भन्ने उदाहरण अपाच्य लाग्यो। यो त डक्टर- विरामीको सम्बन्धको, विश्वासको एउटा पाटो हो। अनी नभुल्नुपर्ने अर्को कुरा के हो भने सबै डक्टरले विपरित लिङको विरामीको जाच गर्दा विरामी पुरुष भए पुरुष र विरामी महिला भए महिला सहयोगी राख्नुपर्छ र राख्ने पनि गर्छन्। यो महिला, पुरुष डक्टर दुवैको हकमा लागू हुन्छ। सर्वसाधारणले यो बुझ्नु जरुरी छ र आफ्नो जाचको बेलामा विरामीले त्यसको माग राख्न पाउछन्।

अर्को मन नपरेको उदाहरण हो- “डक्टर खान नपाउने हुँदैनन्, खाए लाएको परिवारबाट आएको हुन्छ, झन खाएलाएको हुन्छ, त्यसैले उ सम्वेदनशील हुनुपर्ने, सभ्य हुनुपर्ने।“
भावको हिसाबले उहाका कुरा ठिकै हुन् तर ४०-५० लाख खर्च गरेर एमवीवीएस पढेर, १ करोडसम्म खर्च गरेर एमडी सकेपछी अब म यो समाजलाई के दिनसक्छु, देशलाई के दिनसक्छु भनेर सोच्नुपर्छ भनेर तपाईं वा यो समाजले सोच्छ भने त्यो दिवास्वप्न बाहेक केही हुँदैन। हो छात्रव्रितीमा पढेको डक्टरसँग यो आशा राख्नु ठीक हो, देशले पढाएको छ भने त्यो गुन तिर्नु उस्को जिम्मेवारी नि हो। मन्त्रालयबाट छात्रव्रितीमा एमबीबीएस गरेका प्राय: सबैले ‘बोन्ड’ अनुसार गाउगाउमा गएर सेवा नि गरिरहेकै छन्। तर सबै डक्टरलाई एउटै पोल्टामा हालेर “तैले समाजसेवा नै गर्नुपर्छ, तैले देश छोड्न पाउदैनस्, अमेरिका, बेलायत उड्न पाउदैनस्” भन्नु चै हिटलरीपना हो। कि चै देशले, सरकारले उनिहरुको लागि राम्रो सम्भावनाका बाटोहरु बनाउन सक्नुपर्छ हैन भने आफ्नो क्षमता अनुसारका राम्रा मौकाहरु खोज्दै उ कही पनि जान स्वतन्त्र हुन्छ। हो, तपाईंलाई देश छोड्न मन नलाग्ला, मलाई नलाग्ला, अरु केहीलाई नलाग्ला, तर डक्टर भयो भन्दैमा सबैलाई यो भावना आउनुपर्छ भन्ने केही हुँदैन। र त्यो भावना छैन भन्दैमा उ नराम्रो, कम सम्वेदनशील भन्न मिल्दैन। उहाकै शब्दमा “डाक्टरमा अलिकति समाजसेवा, राष्ट्र सेवा, जनताको सेवाको भावना आएन भने डाक्टरी पेशामा सम्वेदनशीलता रहँदैन।“ यही कुरा सबै पेशाकर्मीहरुबाट खोजिनुपर्ने हैन र? कर्माचारी, नेता, इन्जिनियर, प्रहरी, मिडियाकर्मी आदी सबैबाट। यो प्रकारको देशप्रेम, समाजसेवीभाव किन डक्टरहरुसँग मात्र खोजिन्छ भनेर मैले अझैसम्म बुझ्न सकेको छुइन।

डक्टरी पेशा हो कि समाजसेवा?
यो पेशामा गरिने विरामीको सेवा, उपचारको हिसाबले धेरैलाई समाजसेवा हो कि भन्ने लाग्नसक्छ। तर आखिरमा यो पेशा नै हो। सरकारी अस्पतालमा तलव लिन्छन् अनि सेवा दिन्छन्, प्राइभेटमा ओपिडी शुल्क, कन्सल्टेसन शुल्क लिन्छन् अनि सेवा दिन्छन्। हरेक पेशाको आफ्नै जिम्मेवारी हुन्छ र यो पेशाको जिम्मेवारी भनेको विरामीको उपचार हो।
वरिष्ठ पत्रकार रविन्द्र मिश्रले भने झै ‘पेशाको जिम्मेवारी भित्र रहेर गरिने कुनै पनि काम समाजसेवा हुँदैन।‘ डक्टरहरुको काम नै विरामीको उपचार गर्नु हो, त्यसैले कसैको उपचार गरेर निको बनाउनुलाई समाजसेवा भनेर न त समाजले हेर्नु ठीक हुन्छ न त डक्टर आँफैले। त्यो कामको लागि उस्ले शुल्क लिएको हुन्छ र त्यही अनुसार बनेको डक्टर-विरामीको सम्बन्ध भित्र रहेर सबै उपचारका कामहरु गरिन्छ। यसलाई "मैले तपाईंको यो ठीक गरिदिए, तपाईंलाई बचाइदिए" भनेर डक्टरले फूर्ती लगाउनु ठीक हैन, उस्ले त मात्र आफ्नो काम गरेको हो, जिम्मेवारी निभाएको हो।
पूरानो समयमा डाक्टरहरुले गरेका उपचार, अप्रेसनहरुले ठीक भएको, बाच्ने सम्भावना नभएकाहरुको पनि रोग निको भएको देखेर अचम्म मानेर भगवानको दर्जा दिएर सम्मान गर्ने गर्थे। त्यो एक हिसाबले त्यो समयको लागि ठिकै होला। तर समय परिवर्तन भएको छ, यसको माने यो हैन कि अहिले डक्टरहरुले त्यसो गर्दैनन्, तर उस्ले गर्ने कुनै पनि कुरा चमत्कार हैन, दैवी हैन, उस्ले मात्र आफ्नो जिम्मेवारी निभाएको हो, आफूले सिकेको, जानेको कुरा गरेको हो भन्ने सबैलाई थाहा भईसकेको छ। त्यसैले न डक्टरले आफूलाई चमत्कार गर्ने भगवानको रुपमा हेरेर घमन्ड गर्न सुहाउछ न त विरामी, उस्को परिवार र समाजले त्यो दर्जा दिन मिल्छ। बरु एउटा सहयोगी साथीको रुपमा डक्टर-विरामीको सम्बन्धमा एउटै लेभलमा काम गर्नु अहिलेको समय सापेक्ष हुन्छ।

प्राइभेट अस्पतालमा डक्टरले पैसा नभएको विरामीको उपचार गर्दिन भन्न पाउने कि नपाउने?
सुन्दा नराम्रो लाग्ला, तर त्यो डक्टरको अधिकारको कुरा हो। पहिलो कुरा, जल्ले जे भनोस् प्राइभेट अस्पताल पैसा कमाउनकै लागि खोलिएका हुन्, उनीहरु महँगो शुल्क लिन्छन् र त्यै अनुसारको सेवा दिन्छन्, सरकारलाई कर बुझाउछन्। त्यसैले प्राइभेटमा कुनै पैसा नभएका विरामीको उपचार हुन्छ भने त्यो डक्टर वा अस्पतालको निर्णय अनुसार हुन्छ, कसैले ‘यो गर, त्यो गर’ भनेर कर लाउन पाउदैन। प्राय: प्राइभेट अस्पतालहरुले आफ्नो पब्लिसिटीको लागि त्यसो गरिरहेका हुन्छन्। दोस्रो कुरा, गरिव विरामीहरुका लागि सरकारी अस्पतालहरु छन्, त्यहा सरकारले थोरै शुल्कमा र नि:शुल्क पनि सेवा दिने व्यवस्था मिलाएको हुन्छ। पैसा अभाव भएका विरामीहरु सरकारीमा जानुस् न, प्राइभेटमा गएर महँगो लियो भनेर भन्नु उचित हुँदैन। तर यहाँ के कुरा महत्वपूर्ण छ भने सरकारी अस्पतालहरुलाई राम्रो, सुद्रीढ बनाउने र प्राइभेट अस्पतालहरुलाई शुल्क, सन्ख्यामा नियन्त्रण गर्ने, मनिटरिङ्ग गर्ने काम स्वास्थ्य मन्त्रालयले गर्नुपर्छ।

मलाई अचम्म लाग्ने कुरा चै के भने लाखौ करोडौ खर्च गरेर डक्टर बन्न चै दिने, अनी खर्च भएको पैसा काम गरेर उठाउछु भन्दा चै पेशा सेवाको हो, विरामीको गोजीमा प्वाल पर्यो भन्ने? कि उसलाई त्यत्रो खर्च गरेर पढ्नै नदिनुपर्ने वा भनौ पैसा लिएर डक्टरी पढाउनै नदिनुपर्ने, यी यत्रा महङा प्राइभेट मेडिकल कलेजहरु खोल्नै नदिनुपर्ने। अनि आउछ मेडिकल शिक्षामा बढ्दै गएको प्राइभेट मेडिकल कलेजहरुको हालीमुहाली, यसैलाई नियन्त्रण गरिनुपर्छ भन्ने गोविन्द केसी सरको आन्दोलन। यदी मेडिकल शिक्षा यही गतीमा महँगो हुँदै जाने र प्राइभेट मेडिकल कलेजहरु बढ्दै जाने हो भने हामीले सरकारी अस्पतालमा काम गरेर थोरै तलवमा चित्त बुझाउने डक्टर मुश्किलले भेट्टाउने छौ।

अन्तमा कुरा के भने डक्टरी एउटा पेशा हो, यसमा लागेकाहरुको आफ्नै खालको जिम्मेवारी हुन्छ, डक्टर-विरामी सम्बन्धमा रहेर यिनले काम गर्छन्, तर यो समाजसेवा हैन, कसैले आफ्नो काम बाहेक समाजसेवा गर्छ भने त्यो उसको व्यक्तिगत रुची हो, गरेको राम्रो हो (समाजसेवा त हरेक पेशाकाले गरेको राम्रो हो) तर सबैले त्यसो गर्नुपर्छ वा गर्लान् भनेर आस राख्नु चै मूर्खता मात्रै हो। अनि समस्याको जरा भनेको सरकारी अस्पताल, सरकारी मेडिकल कलेजहरुलाई सुधार नगरिनु, प्रोत्साहन नगरिनु र प्राइभेट अस्पतालहरु, प्राइभेट मेडिकल कलेजहरुलाई च्याउ सरह उम्रन दिनु हो। यो समस्याको उर्लदो भेललाई आँखा चिम्लेर यही वातावरणमा हुर्किएका डक्टरहरुमा समाजसेवीको भाव आएन, पैसाको पछी मात्रै दौडिए, विरामीको गोजीमा प्वाल पारे भन्नुको कुनै तुक छैन।

बाँकी पढ्नुहोस् >>

Sunday, April 13, 2014

नजन्मिएका जीवनहरु

'गाइने ड्युटी डक्टर बोल्नु भा हो?' मैलेहो” भने। उताबाटइमर्जेन्सीमा एउटाइन्कमप्लिट एबोर्सन’को केस है, आइदिनुस्” भन्ने आवाज आयो। इमर्जेन्सीमा पुग्दा गाइनेको जाँच कोठामा एक जना महिला सुतिरहेकी थिईन्, साथमा श्रीमान सासु होला शायद। इमर्जेन्सीको फाइल हेर्दै केही कुराहरु सोद्धै गरे, बिहे गरेको - महिना भो रे, अन्तिम महिनावारीबाट जोड घटाऊ गर्दा ९हप्ता जतिको गर्भ देखिन्थ्यो। हिजोदेखी रगत गएको रे, पेट पनि दुखीरहेछ भन्दै थिईन्। एकछिनमा नर्सलाई बोलाएर विरामीका मान्छेलाई बाहिर बस्न लगाई जाँच गर्न शुरु गरे। रगत बगिरहेको थियो, गर्भको बच्चा पनि पाठेघरको मुख खुलेर बाहिर आइसकेको रहेछ, निकालिदिए, अलिअलि सफा पनि गरिदिए। सकेर पछी श्रीमान सासुलाई नि सँगै राखीगर्भको बच्चा खेर 'को , मैले निकालिदिए, अलिअली रगत बग्दैछ, औषधी खाएर जान मिल्छ” भनेर काउन्सेलिङ गरे। एकछिनमा कागज बनाएर दिन गएको ती आमा अघी सफा गरेर निकालेको रगत, सामानहरुलाई खुट्टाले ओल्टाइपल्टाइ गरिरहेकी थिईन्। अचम्म लागेर "के भो आमा? के खोज्नुभको?" भनेको "नाति थ्यो कि नातिनी थ्यो, कस्तो थ्यो भनेर हेर्न मन लायो नि बाबु" भनिन्। अवाक भएँ।

जीवन कहिले शुरु हुन्छ? सोझो हेर्दा कस्तो बाङो प्रश्न जस्तो लाग्नसक्छ। बच्चा आमाको गर्भबाट बाहिर निस्किएपछी जीवन शुरु हुन्छ नि, त्यस्पछी उस्को जिन्दगी शुरु हुन्छ नि। सोझो उत्तर। तर आमाको गर्भमा रहेको भ्रुण जस्ले हातखुट्टा चलाऊछ, जस्को मुटु चलिरहेको हुन्छ, के त्यो जिवित हैन ? त्यसो भने भ्रुणको जन्म बुवाको शुक्रकिट आमाको डिम्ब मिल्ने वित्तिकै भएको हुन्छ नि। के जीवन त्यती खेरै शुरु हुन्छ ? अनि त्यो भन्दा अघीको कोषहरु चै के जिउदो हुँदैनन् त? त्यसो भने एबोर्सन एक कानुनी हत्या हो त? उत्तर त्यत्ती सजिलो छैन, उत्तर मसँग छैन पनि।

अर्को दिनको ड्युटीमा पनि त्यस्तै 'कल' आयो, छोटो हिस्ट्री (विरामीसँग समस्यालाई लिएर गरिने प्रश्नोत्तर) लिएर जाँच्नको लागि नर्सलाई बोलाएँ। सिस्टरले लुगा हटाएर जाचको लागि तयार गर्न लागेको झसंग भएँ। योनीबाट सानो हातबाहिर निस्किरहेको रहेछ। पानीमा डुबिरहेको मान्छेले 'मलाई बचाउ' भनेर सहयोगको लागि हात बाहिर निकालेर चिच्याएको जस्तो। जाच्ने बेलामा सामान लगाएर हात समाती निकाल्न खोजेको आएन, तर जे होस् बच्चा खेर गईसकेको भनेर विरामीलाई भन्दा उन्को अनुहारको पिडा हेर्नै नसकिने थियो। यो दोस्रो पटक खेर गएको थियो, उन्ले संसार हारे झै भएको थियो, वर्षदिनपछी फेरी देख्न शुरु गरेको सपना बीचमै निमोठिएको थियो। उन्लाई पछी अप्रेसन कक्षमा लगेर क्युरेट गरेर खेर गएको बच्चा निकालियो, अस्पताल केही दिन बसेर उनी डिस्चार्ज भईन्। जानेबेलामा सोध्दै थिईन् “अब कती पछी फेरी बच्चा राख्न सकिन्छ डाक्साब?” शायद उनी नमिठो विगत विर्सेर भविष्यको लागि तयार भैसकेकी थिईन्, फेरी आमा बन्ने सपना बोकेर घर जादै थिईन्।  

नजन्मिएका बच्चाहरुले दुखाइ थाहा पाउछन् कि पाउन्नन् होला है। आमाको गर्भ भित्र मुटुको अन्तिम धड्कन धड्किनु अघी के उनिहरु जीवनको लागि छट्पटिएका हुन्छन् होला? मलाई बचाउ, मर्न लागे भनेर सहयोगको लागि तड्पिएका हुन्छन् होला?

पूरा सुत्केरी वार्ड नै थर्कने गरी कोइ रोइरहेको आवाज आउँदैथ्यो, ग्वाँ ग्वाँ गरेर ठुलो स्वरमा रोइरहेको थियो। एडमिसन कक्षमा बिजी थिएँ, एकछिनमा इन्टर्न बैनी आएर भनिन् “दाई आइ यु एफ डि/ IUFD भयो”। अर्थात् गर्भ भित्र बच्चाको मृत्यु हुनु। बच्चा हुन दिईएको मिती भन्दा दुई दिन कटेको थियो, अस्ति जचाउन आउँदा बच्चा ठिकै , बच्चा चलेको, नचलेको राम्ररी याद गर्नुहोला, अनी पर्सी आएर पानीको जाँच गर्ने भनेर पठाएको थियो रे। त्यो दिन बिहानदेखी नै राम्रो नचलेको भएर दिउसोतिर एक्लै देखाउन आइपुगेकी थिईन्। जाच्नेक्रममा स्टेथेस्कोप अनी डप्लरले पनि बच्चाको मुटुको धड्कन सुनिएन। हाम्रो शंका पनि बढ्दै गयो, बच्चा खेर गएको हुनसक्छ भनेर काउन्सेलिङ गरियो। कन्फर्म गर्नलाई इन्टर्न बैनीको साथमा तुरुन्त भिडियो एक्सरे गर्न पठाएका थियौं। फर्कदा उनी आँफै पनि डिस्टर्ब्ड थिईन्, भन्दै थिईन् "विरामी त्यो भन्ने वित्तिकै ग्वाँ ग्वाँ रुन थाल्नुभो, मलाई केइ भन्नै आएन, सम्झाउनै सकिनँ।" मलाई लाग्यो कहिलेकाही दु: आँसुसँगै बग्न दिनुपर्छ, यस्तो बेला नरुनुस्, रुनुहुन्न भनेर जवर्जस्तीको सान्त्वना दिनु नि ठीक हैन। महिना गर्भमा राखेर हुर्काएको बच्चा जन्मिने दिन आउने बेलामा विनाकारण बित्यो भनेको थाहा पाउदा कुन चै आमाले मन थाम्न सक्लिन् ?

उनी २२ हप्ताकी गर्भवती थिईन्, अचानक पिसाब जसरी नै योनीबाट पानी बग्न थालेपछी उनी अस्पताल आएकी थिईन्। पेट दुख्ने, व्यथा लागेको जस्तो केइ थिएन। मेडिकल भाषामा यस्लाई PPROM Preterm premature rupture of membrane (प्री टर्म प्री मच्योर रप्चर अफ मेम्ब्रेन) भनिन्छ। बच्चा जुन झिल्लीभित्र रहेको हुन्छ, त्यो समयभन्दा अगावै अनी व्यथा नलागिकन फुटेपछी बच्चा रहने पानी (Amniotic fluid/ एम्नियोटिक फ्लुड) बाहिर बगेको थियो। यती सानो उमेरको बच्चा केइ गरेर जन्मेपनी बचाउन गार्हो थियो, यस्तो अवस्थामा गर्न सकिने पनि थोरै नै हुन्छ। इन्फेक्सन नहोस् भनेर एन्टिबायटिक चलाइयो, बच्चाको अवस्थाको जाँचहरु गरियो, बच्चाको डक्टरलाई बोलाएर सम्भावित खतरा, त्यस्को लागि कसरी तयार हुने भनेर काउन्सेलिङ पनि गराइयो। भिडियो एक्सरेमा बच्चा रहने पानी घटेर थोरै भईसकेको थियो, तर धड्कन बाँकी नै थियो। बच्चा राम्रो नहुने निश्चित जस्तो लागेपछी होला एकदिन उन्ले "डाक्टरसाब औषधी लगाएर बच्चा निकालिदिनु, कत्ती बोकेर बस्नु यो टेन्सन" भनेर भनिन्। एउटी आमाले यसो भन्नसक्दा उनमा परेको मानसिक दवावको अनुमान नि लगाउन सकिन्न। परिवारका अरुले पनि "बाँच्न नसक्ने बच्चा आफ्नो पेटमा बोकेर बस्नुपर्दा उस्लाई धेरै चिन्ता ', राती नि सुत्नै सक्दैन" भनेर गुनासो गर्दै थिए। तर मुटुको धड्कन भएको तर सानो त्यो जिउदो बच्चालाई औषधी लगाएर निकाल्नु एक किसिमको हत्या नै हुन्थ्यो। कुर्नु सिवाय कुनै उपाय थिएन। अन्तत त्यो भएरै छाड्यो, एकदिन त्यो धड्कन बन्द भयो, अनी आँफै व्यथा पनि लागेर मरेको बच्चा निस्कियो। उन्ले त्यो बच्चाको अनुहार हेर्न चाहिनन्, शायद सम्झनामा सधैं आइरहला भन्ने डरले होला।

कत्ति दु:खको मात्रै कुरा गर्ने, शिर्षकसँग मेल नखाए पनि एउटा मिठो कुरासँगै लेख टुङ्याउन मन लाग्यो।

उनी दिनभर बच्चा नचलेको भनेर आएकी थिईन्, घरमा दिनभर कोइ पनि थिएन रे, बच्चा अब चल्छ कि अब चल्छ कि भनेर कुर्दै बसेकी थिईन् रे। साँझसम्म नि नचलेपछी श्रीमान पनि कामबाट फर्केपछी दौडिदै अस्पताल आइपुगिन्। उन्को अनुहारमा डर प्रस्टै देखिन्थ्यो। झट्ट सुत्न लगाएर पेटमा स्टेथेस्कोप राखी सुन्दा बच्चाको धड्कन सुनिएन, डप्लर लगाएर खोजियो, तैपनी धड्कन भेटिएन। डर बढ्दै थियो। पछी इमर्जेन्सीबाट अल्ट्रासाउन्ड मेसिन मगाएर हेर्दा बच्चाको मुटु चलिरहेको देखियो, बल्ल मन शान्त भयो, त्यो तनाव हल्का भयो। " हेर्नुस् तपाईंको बच्चाको मुटु चलिर'को" उन्ले भिडियो एक्सरेको स्क्रिनमा हेरेर बरर आँसु झारिन्।


बाँकी पढ्नुहोस् >>

Wednesday, February 19, 2014

अब भन्नुस् मेरो दु:ख ठुलो।

के तपाईंलाई आफू दु:खी छु जस्तो लाग्छ? के तपाईंलाई आफ्नो दु:ख ठुलो जस्तो लाग्छ? यो पढ्नुस्।

उनी फेरी आईन् अस्पताल, धेरै रगत बगेको कारणले। रगत धेरै बगेर उनी सेतो फुस्रो भईसकेकी थिईन्। उन्को बिहे भएको लगभग ४-५ वर्ष भएको थियो। पहिलो बच्चा जन्मेको केही घण्टामै मरेको थियो रे। दोस्रोमा 'मोलार प्रेग्नेन्सी' देखिएर खेर गयो रे। अनि तेस्रो पल्ट यानी यसपाली साल तल रहेकोले ७ महिनामै रगत बग्न थालेकाले बच्चा बचाउन सकिन्छ कि भनी अप्रेसन गरी बच्चा निकाल्नु पर्‍यो, जुन पनि केही घण्टा भन्दा बढी बाँच्न सकेन। त्यत्तीले नपुगेर यै अप्रेसनअघी रगत जाँच गर्दा उन्लाई ब्लड क्यान्सरको शँका पनि देखियो, जुन लगभग कन्फर्म नै छ। भर्खरको उमेर, खाली कोखको पिडा, अनि थपिएको नयाँ डरलाग्दो रोग। अब भन्नुस् मेरो दु:ख ठुलो।

उनिहरुको बिहे भएको शायद दश वर्ष भन्दा बढी भ'को थियो। बच्चा नबसेको कारणले उपचारमा लाखौं खर्च भईसकेको थियो। धेरै प्रयासपछी अन्तत बच्चा बस्यो, त्यो पनि ट्रिप्लेट अर्थात तिम्ल्याहा। खुशी पनि डर पनि थियो होला। यत्रो वर्षको चाहना एकै पटकमा पूरा हुने भएर खुशी थिए होलान् दम्पती। तीनवटा एकै पटक हुने भएकोले के हुने कसो हुने भन्ने डर पनि थियो होला। आखिरमा तीनवटै 'नर्मल' जन्मे, तर साह्रै सानो भएकाले एक पछी अर्को गर्दै केही दिनको अन्तरमा तिन्टै बच्चा मरे। यस पटक पनि उनको कोख खाली नै रह्यो, उनिहरु खाली हात नै घर फर्किए। अब भन्नुस् मेरो दु:ख ठुलो।

सुख दु:ख भनेका तुलनात्मक कुरा हुन्। आफूलाई पर्दा आफ्नै दु:ख ठुलो जस्तो लाग्छ। तर एकछिन आफूलाई सम्हालेर यसो वरीपरी हेर्नुस्, अरुको दु:ख सुन्नुस् अनि थाहा हुन्छ, दु:ख त हरेकको जीवनमा रहेछ, समस्या त हरेकले भोगिरहेकै रहेछन्। यस्ले आफ्नो समस्या समाधान त नहोला तर त्यस्लाई हेर्ने दृष्‍टिकोण अवस्य बद्लिनेछ, तपाईंलाई आफ्नो दु:खसँग लड्ने शक्ति, त्यस्लाई फरक तरिकाले 'डिल' गर्ने जुक्ति मिल्नेछ।

अस्पतालमा यस्ता दु:खका कथाहरुको पहाड भेटिन्छ। हरेकको आफ्नै पिडा, आफ्नै समस्या। सधैं सबै ठीक भएर, खुशी भएर फर्कन सक्दैनन्, पाउदैनन्। सुखका कथाले त सबैलाई खुशी बनाउछ नै हरेक दु:खको कथाले पनि एउटा शिक्षा दिएर जान्छ, जीवनलाई माया गर्ने एउटा प्रेरणा दिएर जान्छ।  
बाँकी पढ्नुहोस् >>

Sunday, February 2, 2014

कतै हामी आँफै दुर्घटना निम्ताइरहेका त छैनौं?

स्पतालहरुको विरामीको भिड र त्यहाका सिमित जनशक्तिमाथिको कामको चाप कहिलेकाही मलाई ‘टाइम बम’ जस्तो लाग्छ, जुनसुकै बेला पनि विस्फोट हुनसक्ने। यस्तो भिडमा, यस्तो चापमा काम भईरहेको हुन्छ कि कुनै पनि बेला कुनै कुरा, इन्फर्फेसन छुटेर वा राम्ररी ध्यान दिन नसकिएर गल्तीले विरामीको ज्यान जानसक्छ वा एउटा अङको अप्रेसन गर्नुपर्ने अर्कोको गरिदिने, एउटा विरामीको अप्रेसन गर्नुपर्नेमा अर्कोको गरिदिने, एउटाको बच्चा अर्कोलाई दिने आदी हुनसक्छ। यी चाहेर हुने गल्ती हैनन् र कसैले पनि यस्तो गल्ति/लापर्वाही चाहेर शायदै गर्लान्। तर दैनिक अपनाईने नियम, तौरतरिकामा अलिकति मात्र गडबड भयो भने नि यस्ता धेरै गल्तिहरु हुनसक्छन्। यसो भनेर मैले तर्साउन खोजेको हैन, अस्पतालहरुमा यस्तै गल्ति नहोस् भनेर विभिन्न नियम, प्रोटोकलहरु अपनाउने गरिन्छ। विरामीमा ट्याग राख्ने, बच्चाहरुमा ट्याग लगाउने, फायलहरुको नम्बरिङ्ग गर्ने, डबल चेक गर्ने आदी आदी। तैपनी कैलेकाही भुल हुन्छ नै।

इमर्जेन्सीमा एउटै बेडमा दुई तीन जना राखेर विरामी जाचिरहेको बेलामा कहिलेकाही महत्वपूर्ण हुनसक्ने कति क्लिनिकल जाँचहरु गर्न असम्भव हुन्छन् वा छुटीरहेका हुन्छन्। पर्याप्त टाइम दिन नसकी विरामीलाई हतारमा सोधिएका हिस्ट्रीमा कति कुरा छुटेका हुनसक्छन्। रेड एरियामा सिरियस विरामीलाई धेरै टाइम दिँदा अर्को एरियाका कम सिरियस विरामीले कम टाइम पाइरहेका हुन्छन्। एउटै वा केही डक्टरले नै इमर्जेन्सी, वार्ड, अप्रेसन सबैतिर भ्याउनुपर्ने हुँदा वार्डका विरामी सिरियस हुँदा वा डक्टरहरु अप्रेसनमा व्यस्त हुँदा इमर्जेन्सीका विरामीले टाइममा सेवा नपाएका हुनसक्छन्।

वार्डमा विरामीले बेड भरिएर नयाँ राख्ने ठाउँ नहुँदा करीडरमा एक्स्ट्रा बेड थपेर भएपनी विरामी भर्ना गरिन्छ। विरामीको हिसाबले त ‘बेड पाइयो, भर्ना भईयो, ठिकै छ’ भन्ने सोचिन्छ तर त्यहा काम गर्ने डक्टर, नर्सहरुको लागि त त्यो एक्स्ट्रा लोड हो। किनभने बेडको संख्याको आधारमा यति बेडको लागि यति डक्टर, नर्स चाहिन्छ भनेर राखिएको हुन्छ। अब त्यो भन्दा झन्डै दोब्बर विरामी त्यही नै संख्याका डक्टर नर्सले हेर्नुपर्ने भएपछी सेवाको क्वालिटीमा त अवश्य नै असर पर्छ। सबै विरामीलाई राम्ररी समय दिन नभ्याउने, कति कुराहरु छुट्न सक्ने, गल्ति हुनसक्ने सम्भावनाहरु बढेर जान्छ।

अस्पतालमा जति बेड हुन्छ त्यती विरामी मात्रै राखेर उनिहरुलाई ‘क्वालिटी केयर’ दिनु ठीक कि आएका जती सबैलाई बेड थपीथपी कुनाकाप्चा नभरिएसम्म सबैलाई राखेर ‘कम्प्रमाईज्ड केयर’ दिनु ठीक? के “हाम्रो अस्पतालमा बेड छैन अरुतिर जानुहोला” भन्नुले मानवता नभएको, विरामीप्रति सम्वेदनशिल नभएको जनाउछ? त्यस्तो भन्दै गर्दा कहिलेकाही म विरामीका आफन्तहरुको अनुहारमा त्यस्तै भाव देख्छु। अनी उनिहरु 'जस्सरी नि मिलाइदिनु न, यताउता गरेर मिलाउन मिल्छ भने' भनेर अनुरोध गर्न थाल्छन्। उनिहरुलाई अफ्ठ्यारोमा पार्ने, भर्ना नगरी अरुतिर पठाउने हाम्रो उद्देश्य, चाहना हैन, बाध्यता हो। हाम्रो पनि लिमिटेसन हुन्छ। हुन त एउटा अस्पतालमा भिड भएर विरामी अन्त पठाउदा जान नसक्ने अवस्था वा पठाउनै नमिल्ने अवस्था पनि हुनेगर्छ।

इमर्जेन्सीमा बेड छैन भनेर त विरामी शायदै अन्त पठाइन्छ होला। त्यहा त एउटै बेडमा दुई तीन जना राखेर भएपनी काम चलाइन्छ। एउटै बेडमा टिबीमा विरामी र म्यानिन्जाइटिसका विरामी सुतिरहेका हुन्छन्। कहिले महिला त पुरुष विरामी ढाड फर्काएर सुतिरहेका हुन्छन्। त्यस्तो बेलामा हामी उनिहरुको उपचार गरिरहेका छौं कि उनिहरुको समस्या थपीरहेका छौं म बुझ्दिनँ। आफ्ना विरामिहरुलाई यस्तरी दु:ख दिएर राख्नु हाम्रो चाहना हैन, तर हामी विवश हुन्छौं। धेरै विरामीले त चित्त बुझाएर बस्छन्, कोही भने "विरामीलाई राम्रो होला भनेको त झन यस्तो दु:ख पो भयो, यस्तो नि अस्पताल हुन्छ" भनेर झगडा गर्न आउछन्। हामीसँग झगडा गर्ने फुर्सद नि हुँदैन र हामीसँग कराएर फायदा नि हुँदैन।

इमर्जेन्सीमा त्यहाको डक्टरले हेरेपछी “सम्बन्धित डक्टरलाई बोलाइदिएको छु, आएर हेर्नुहुन्छ” भनेर राखिदिन्छन्। ती सम्बन्धित डक्टर कति खेर आउने थाहा हुँदैन, कहिलेकाही त कुर्दाकुर्दा दिन, रात वित्न सक्छ। विरामीहरुलाई लाग्नसक्छ ‘यी डक्टरहरु कहाँ जान्छन्’। ‘यस्तो इमर्जेन्सीको विरामीलाई कुराएर राख्ने, कस्तो लापर्वाही’। इमर्जेन्सीमा आएका सबै विरामी उत्तिकै इमर्जेन्सी हुँदैनन्। उनिहरु अरु सिरियस विरामी हेरिरहेका हुन्छन्, वा उनिहरुको अप्रेसनमा बिजी हुन्छन् वा वार्डका सिकिस्त विरामीसँग व्यस्त हुन्छन्। ईमर्जेन्सीमा रियल इमर्जेन्सीलाई प्राथमिकता दिने हुँदा यस्तो हुन्छ नै। हुन त यो कुरा डक्टर, नर्सहरुले अलि राम्रो तरिकाले बुझाए भने यस्तो मिस अन्डर्स्ट्यान्डिङ हुँदैन होला।  

भिडभाड हुने हाम्रा अस्पतालहरु मलाई सिट भरिएर पनि मान्छे कोच्ने अनि छ्तमा नि यात्रु राखेर चलाइने बस, गाडीहरु जस्तो लाग्छ। ट्राफिक नियम अनुसार त्यस्तो गर्नु ठीक हैन, दुर्घटना हुनसक्छ, मान्छेको ज्यानको सवाल हो नि। ट्राफिक पुलिसले देख्यो भने कार्वाही गर्नसक्छ। तर त्यस्तरी नै भिडामभिड गरेर चलाइएका अस्पतालहरुलाई चै कस्ले के भन्ने? के यस्ले विरामीको स्वास्थ्य र ज्यानमा हुनसक्ने दुर्घटनालाई बढावा दिदैन? यस्तो धान्नसक्ने भन्दा बढी लोडमा काम गराएर केइ भुल भयो भने डक्टर, नर्सलाई मात्र औंला देखाउनु कत्तीको जायज हो? भुलचुकको अलिकति नि ठाउँ हुननहुने स्वास्थ्य जस्तो सम्वेदनशिल क्षेत्रमा क्षमता भन्दा बढी विरामीको जिम्मेवारी लिएर हामी आँफैले कुनै दुर्घटना त निम्ताइरहेका छैनौं?

अनि फेरी जस्तै भिड, हतार, प्रेसरको कारणले विरामीको कुनै महत्वपूर्ण कुरा छुटेको, गल्ती भएको भने पनि सो गर्ने डक्टर वा नर्सले माफ पाउने वाला छैन नि। हुन त कुरा ठिकै हो, व्यस्तता, थकान, भिड हाम्रो गल्ती, भुलको लागि एक्स्क्युज बन्नु हुँदैन। त्यसो भने हामीले धान्न सक्ने भन्दा बढी विरामीको जिम्मेवारी लिएर हामी आँफैलाई किन प्रेसरमा राखेको? गल्ती हुने सम्भावनालाई किन बढाएको? मैले नबुझेको कुरा।।

बाँकी पढ्नुहोस् >>