Saturday, May 14, 2011

सिटामोलबारे केही जानकारी



सिटामोलको नाम नसुनेको र सिटामोल नखाएको मानिस त शायदै होलान्। सिटामोल सबैभन्दा सरल र सुलभ औषधीहरुमा पर्छ, जुन खानको लागि नेपालमा मात्र हैन, विकसित देशहरुमा पनि डाक्टरको सल्लाहको आवश्यकता पर्दैन र साधारण पसलहरुमा पनि यो सजिलै उपलब्द हुन्छ। आज यहि सिटामोलको बारेमा केहि जानकारी दिने प्रयास गर्दैछु।  

सिटामोल अर्थात् पारासिटामोल/ Paracetamol एक प्रकारको दुखाइ कम गर्ने (पेनकिलर/ Analgesic) र ज्वरो कम गर्ने (Antipyretic) औषधी हो। यसले कसरी काम गर्छ भनेर ठ्याक्कै भन्न सकिदैंन, तर यसले मष्तिस्कमा प्रोस्टाग्लान्डीन (Prostaglandin) भन्ने पदार्थको उत्पादनमा कमि ल्याउँछ र हाम्रो दुखाइ सहनसक्ने क्षमतालाई बढाउँछ भनेर भन्ने गरिन्छ। त्यस्तै मष्तिस्कमै रहेको शरीरको तापक्रम नियन्त्रण गर्ने केन्द्र (Temperature regulating center) मा असर गरी ज्वरो घटाउने काम पनि गर्छ। तर NSAIDs को तुलनामा यसको एन्टी-इन्फ्लामेटरी एक्सन (इन्फ्लामेसनलाई कम गर्ने क्षमता )एकदमै कम हुन्छ। भन्नुको अर्थ इन्फ्लामेसनले भएको दुखाइ वा ज्वरोहरुमा यसको प्रभावकारीता NSAIDs को भन्दा कम हुन्छ।
इन्फ्लामेसन भनेको के हो भन्ने जान्न यो लिन्क हेर्नुहोस्।

कुन कुन अवस्थामा सिटामोलको प्रयोग गर्न सकिन्छ?

यो विशेष गरी दुखाई कम गर्न र ज्वरो कम गर्न प्रयोग गर्ने गरिन्छ। यसले रोगलाई भन्दा नि लक्षणलाई मात्र ठिक गर्ने काम गर्छ। हाडजोर्नी सम्बन्धि दुखाइ, विभिन्न प्रकारका टाउको दुखाइ आदीमा यो सेवन गर्न सकिन्छ। त्यस्तै साधारण भाइरल ज्वरोको साथसाथै अन्य संक्रमणले गर्दा आउने ज्वरोहरुमा पनि यसको प्रयोग गर्न सकिन्छ। ओस्टियोआर्थाइटिस (Osteoarthritis) मा हुने हाडजोर्नीहरुको दुखाइका लागि यो आइबुप्रोफेन जस्ता NSAIDs हरु जत्तिकै प्रभावकारी हुन्छ।  
सिटामोल बढि मात्रामा प्रयोग गरिने अवस्थाहरु:
माइग्रेन, टेन्सन हेडएक (Tension Headache) जस्ता टाउको दुखाइहरुमा,
ओस्टियोआर्थाइटिस जस्ता हाडजोर्नी सम्बन्धि दुखाइहरुमा,
भाइरल ज्वरो आएको अवस्थामा

त्यस्तै ब्रुफेन जस्ता NSAIDs हरु खान नमिल्ने अवस्थाहरु जस्तै ग्यास्ट्राइटिस, पेटको अल्सर भएको अवस्थामा सिटामोल सुरक्षितरुपमा प्रयोग गर्न सकिन्छ, किनकि यसले ग्यास्ट्राइटिस बढाउने गर्दैन।
बच्चाहरुमा भाइरल ज्वरो भएको बेला एस्पिरीन/ Aspirin दिनाले मष्तिस्क र कलेजोमा घातक असर पार्ने अवस्था रेज सिन्ड्रोम/ Reye’s Syndrome हुनसक्ने सम्भावना हुन्छ। त्यसैले त्यस्तो अवस्थामा सिटामोल वा अन्य NSAIDs हरु सुरक्षित मानिन्छन्।

कस्तोकस्तो रुपमा बजारमा पाइन्छन् र कति मात्रामा खानुपर्छ?
सिटामोल प्रायः गरेर ५०० मी.ग्रा.का ट्याबलेटको रुपमा बजारमा पाइन्छ। साथै बच्चाहरुको लागि १२५ मी.ग्रा. प्रति ५ मीली वा २५० मी.ग्रा. प्रति ५ मीली को सिरप (Syrup)/ झोलरुपमा पाइन्छ। त्यस्तै इन्जेक्सनको लागि १५० मी.ग्रा. प्रति १ मीली मा पाइने गर्छ। बजारमा विभिन्न कम्पनीका विभिन्न नामका सिटामोलहरु पाइन्छन्। ती नामहरुलाई ब्रान्ड नेम (Brand name) भनिन्छ, जुन कम्पनी अनुसार फरक फरक हुनेगर्छ। तर त्यसमा सानो अक्षरमा कुन औषधी छ भनि लेखिएको हुन्छ, जसलाई केमिकल नेम (Chemical name) भनिन्छ। औषधी किन्दा त्यो पनि हेर्ने गर्नुपर्छ।
त्यस्तै यो अन्य औषधीहरुसँगको विभिन्न कम्बिनेसनहरुमा पनि पाइने गर्छ। जस्तै सिटामोल र आइबुप्रोफेन (Ibuprofen), सिटामोल र कोडिन (Codeine), सिटामोल र एन्टिहिस्टामीनिक (Anti-histaminics) - रुघाको लागि आदि।
यो एकपल्टमा ५००-१००० मी.ग्रा. सम्म प्रत्येक ४-६ घण्टामा दैनिक मात्रा ४ ग्रामभन्दा बढि नहुने गरी सेवन गर्न सकिन्छ। बच्चाहरुको लागि १५ मी.ग्रा./केजी प्रत्येक पल्टको हिसाबले प्रत्येक ४-६ घण्टामा दिन सकिन्छ।

यसले के के खराब असरहरु (side effects) गर्न सक्छन् र अन्य औषधीहरुसँग यसले कस्तो प्रतिक्रिया (reactions) गर्छ?
यसको साइड इफेक्ट धेरै नै कम हुन्छ। NSAIDsको जस्तो ग्यास्ट्राइटिसका समस्याहरु, प्लेटेलेटको काममा असर गरी पेट, आन्द्राहरुमा रगत बग्ने समस्या सिटामोलको सेवनपछि देखिदैंन।
गर्भवती महिला, स्तनपान गराइरहेका महिलाहरुले पनि सुरक्षित रुपमा यसको सेवन गर्न सक्छन्।
यसको मुख्य साइड इफेक्ट भनेको अत्यधिक मात्राको सेवनले कलेजोमा पार्ने खराब असर हो। सिटामोलको मेटाबोलिजम/ metabolism (सरल रसायनमा टुक्राउने प्रक्रिया) कलेजोमा हुन्छ। अत्यधिक मात्राको सेवनले कलेजोले त्यो मेटाबोलिजम राम्रो र पूर्णरुपमा गर्न सक्दैन र त्यसका हानिकारक मेटाबोलाइट/metabolite हरुले कलेजोमा असर गरी एक्युट लिभर फेलर (Acute Liver Failure) गराउने गर्छ। एकैपटकमा ७-१० ग्राम सिटामोल (१४-२० वटा ५०० मी.ग्रा.का ट्यावलेटहरु) को सेवनले कलेजोमा यस्तो नराम्रो असर पर्ने गर्छ। बच्चाहरुमा १४० मी.ग्रा./केजी तौल भन्दा बढि सिटामोलको सेवनसँगै कलेजोले काम गर्न छोड्छ। तर कलेजोको रोगी वा रक्सी सेवन गर्नेहरुमा अझ कम मात्राको सेवनमै पनि कलेजोमा खराब असर देखिने गर्छ। अमेरिका, बेलायत जस्ता विकसित देशहरुमा आत्महत्याको लागि सिटामोलको अत्यधिक मात्रामा सेवन गर्ने गर्छन्।
अन्य औषधीहरुसँग पनि यसले खासै प्रतिक्रिया गर्दैन, तर माथि भनिए जस्तै कलेजोमा मेटाबोलाइज हुने हुनाले कलेजोमा असर गर्ने औषधीहरु जस्तै आइसोनाइजिड/ Isoniazid, रिफाम्पीन/ Rifampin, कारबामेजेपीन/ Carbamazepine आदीले सिटामोलको प्रभावकारीतालाई केहि कम गर्ने गर्छ।

स्रोतहरु:


बाँकी पढ्नुहोस् >>

Friday, May 6, 2011

अन्धकार विरुद्धको लडाईं - मोतिबिन्दु (Cataract) बारे केही जानकारी



केहि दिनपछि लेख्छु भनेको केहि हप्ता र महिना नै हुन लागेछ। त्यसको लागि क्षमा चाहन्छु। कामको व्यस्तता अरु विषयका लेखहरु लेख्ने मन आदि कारणले गर्दा यो शिर्षकको लेखलाई चाँही बिर्सन पुगेछु।

यो चित्र केहि साथीहरुले भन्नुभएको जस्तै मोतिबिन्दु (Cataract) को हो।

मोतिबिन्दु संसारमै र नेपालमा पनि अन्धोपनाको एउटा प्रमुख कारण हो। मोतिबिन्दु भनेको आँखाको लेन्सको पारदर्शितामा कमि आइ हेर्ने क्षमतामा कमि आउने वा पूर्णरुपमा बन्द हुने रोग हो।  

यो रोग कसरी हुन्छ?
यो रोग कसरी हुन्छ भन्ने बुझ्नको लागि हाम्रो आँखाले कसरी काम गर्छ भनेर बुझ्नु जरुरी हुन्छ। कुनै पनि वस्तुबाट परावर्तन भएको प्रकाश (वस्तुमा ठोकिएर फर्किएको प्रकाश) हाम्रो आँखाको कोर्निया (Cornea)- आँखाको सबैभन्दा अगाडीको पारदर्शी तह, बाट छिरेर अर्को पारदर्शी भाग लेन्स हुदैं पछिल्लो भागमा भएको प्रकाश सेन्सिटिभ तह रेटिनामा गएर ठोकिन्छ। उक्त प्रकाशले रेटिनामा रसायनिक प्रक्रिया गराएर त्यहाँका स्नायुहरुलाई उत्तेजित गर्छ र अप्टिक स्नायु (Optic nerve) ले त्यो खबर मष्तिस्कमा लैजान्छ र हामीले त्यो वस्तु देख्छौं।

मोतिबिन्दु रोगमा पारदर्शी हुनुपर्ने लेन्स विभिन्न कारणले गर्दा अपारदर्शी हुनजान्छ, जसले गर्दा रेटिनामा बन्ने आकृति स्पष्ट हुदैन र व्यक्तिको दृष्टि कमजोर हुनजान्छ।  

यो रोग किन हुन्छ?
लेन्स मुख्यरुपमा प्रोटिन र पानी मिलेर बनेको हुन्छ। यसका प्रोटिनहरु निश्चित तरिकाले मिलेर बसेका हुन्छन् र लेन्स पारदर्शी हुन्छ। तर उमेर बढ्दै जाँदा लेन्सका प्रोटिनहरु बस्ने तरिकामा गडबडी आउँछ र लेन्सको पारदर्शीतामा पनि कमि आउँदै जान्छ र मोतिबिन्दु रोग हुन्छ।

बढ्दो उमेरको कारणले हुने मोतिबिन्दुले संसारको अन्धोपनाको करीब आधा भाग ओगट्छ। तर यो अन्य थुप्रै कारणहरुले गर्दा पनि हुने गर्छ। आँखामा कुनै किसिमको चोट लाग्नाले पछि गएर मोतिबिन्दु हुनसक्छ। त्यस्तै मधुमेह (चिनी रोग) का कारणले पनि मोतिबिन्दु हुनसक्छ। कुनै औषधीहरु लामो समयसम्म सेवन गर्नाले पनि मोतिबिन्दु हुनसक्छ। जस्तै- दम, जोर्नीहरु दुख्ने रोगका लागि भनेर खाइने औषधी स्टेरोइड (प्रेडनिसोन/ Prednisone) को लामो सेवनले आँखामा यस्तो समस्या आउन सक्छ। त्यस्तै कसैकसैमा विभिन्न प्रकारका वंशानुगत रोगहरुका कारणले पनि सानै उमेरमा मोतिबिन्दु देखिन सक्छ।

यसका लक्षणहरु के के हुन् र यो रोग कसरी पत्ता लाग्छ?
शुरुको अवस्थामा यसको खासै लक्षण देखिदैंन। पछिपछि हेर्ने क्षमतामा कमि आउने, प्रकाश, बत्तीको वरिपरि गोलो घेरा (Halo) देखिने, धमिलो देखिने, अध्यारोमा हेर्न गाह्रों हुने आदि समस्याहरु देखिने गर्छन्। त्यस्तै कसैमा एउटै वस्तु दुईटा देखिने (Double vision) पनि हुनेगर्छ। चश्मा वा कन्ट्याक्ट लेन्स लगाएर पनि देख्ने क्षमतामा खास सुधार नभएको महसुस हुनसक्छ।

मोतिबिन्दु अन्तिम अवस्थामा वा मच्युर स्टेज (Mature stage) मा हो भने लेन्स पूर्णरुपमा सेतो र अपारदर्शी हुन्छ र बाहिरबाट हेर्दा माथिको चित्रमा जस्तो देखिने गर्छ। तर यदि यो शुरुको अवस्थामा छ भने आँखाको डाक्टरले जाँचेर मात्र रोग पत्ता लाग्ने गर्छ। साथै डाक्टरले स्लिट ल्याम्प (Slit Lamp) बाट आँखाको जाँच गरेर लेन्सको अवस्था विस्तृत रुपमा थाहा पाउने गर्छन्। त्यस्तै देख्ने क्षमता (भिजुअल एक्युटि/ Visual acuity) को परिक्षणमा पनि खराबी देखिन्छ।

मोतिबिन्दु रोग पूर्णरुपमा क्लिनिकल्ली नै पत्ता लाग्छ, यसको लागि कुनै रगत जाँच वा अन्य ल्याव परिक्षण गरिराख्नु जरुरी हुदैंन। यसरी मोतिबिन्दुको परिक्षण गर्दा आँखामा हुनसक्ने अन्य समस्याहरुको पनि जाँच गर्ने गरिन्छ।

यसको उपचार के हो?
यो रोग औषधीले ठिक हुदैंन। यसको उपचार भनेको अप्रेशन गरेर बिग्रेको लेन्स फाल्ने र अर्को लेन्स राख्ने हो। तर मोतिबिन्दु हुने बित्तिकै अप्रेशन गरिहाल्नुपर्छ भन्ने हुदैंन। यसले आफूलाई खास समस्या दिएको छैन भने यसको अप्रेशनलाई पछाडि सार्न सकिन्छ। ढिलो गरेर अप्रेशन गर्दा यो जटिल हुने समस्या यसमा हुदैंन। डाक्टरसँग सल्लाह गरेर कहिले अप्रेशन गर्दा ठिक हुन्छ भनेर निर्णय गर्न सकिन्छ। कहीलेकाही आँखाका अन्य समस्याको राम्रोसँग जाँच गर्नको लागि लेन्स पारदर्शी हुनुपर्छ। जस्तो मधुमेहले आँखाको पर्दा रेटिनामा पार्ने असर (डायवेटिक रेटिनोप्याथी/ Diabetic Retinopathy) को जाँच गर्न आदि। त्यस्तो बेलामा मोतिबिन्दु भएको लेन्सले समस्या दिएमा शुरुकै अवस्थामा पनि अप्रेशन गर्न सकिन्छ।

यसको अप्रेशन अत्यन्त सुरक्षित हुन्छ तर कहीलेकाही संक्रमण, राखिएकॊ लेन्स ठिक ठाँउमा नबस्ने, रेटिना उप्किने (रेटिनल डिट्याचमेन्ट/ Retinal Detachment) आदि जटिलताहरु देखिने गर्छन्।

यसको अप्रेसनलाई सरल भाषामा भन्नुपर्दा यसमा लेन्सको क्याप्सुल/ Capsule (लेन्सलाई ढाकेर राख्ने झिल्ली) मा सानो प्वाल पारेर त्यसबाट पुरानो बिग्रेको लेन्स निकालिन्छ र त्यसको ठाँउमा नयाँ लेन्स राखिन्छ।

यो अप्रेशन गरेपछिको अवस्था कस्तो हुन्छ?
यो अत्यन्तै सानो र छोटो समयमा गरिने भएकोले १-२ दिनभन्दा बढि अस्पताल बसिरहनु पर्दैन। मोतिबिन्दुको अप्रेशनका शिविरहरुमा सयौं अप्रेशनहरु विना जटिलता थोरै समयमै गर्ने गरिन्छ। मोतिबिन्दुले गर्दा मात्रै आँखा नदेख्ने समस्या भएको हो भने यसको अप्रेशनपछि दृष्टि पूर्णरुपमा ठिक हुन्छ। तर कहीलेकाही मोतिविन्दुको साथसाथै अन्य समस्या पनि भएको अवस्थामा यसको नतिजा सोचेजस्तो राम्रो नहुनसक्छ।

अन्त्यमा, 
तिलगंगा आँखा अस्पतालका वरिष्ठ आँखारोग विशेषज्ञ डा. सन्दुक रुइतले मोतिबिन्दुको अप्रेशन गर्ने आफ्नै तरिकाको विकास गर्नुभएको छ, जुन सरल र सस्तो पनि छ। एउटा लेन्सको करिब ५ डलर पर्ने यस्तो अप्रेशनको भने करिब २५ डलर पर्ने गर्छ, जुन विकसित देशहरुमा गरिने अप्रेशनभन्दा २० गुणा कम पर्न जान्छ। उहाँको यो अप्रेशनको तरिकालाई रुइटेक्टोमी (Ruitectomy) पनि भनिन्छ। उहाँले अविकसित र विकासशील देशका डाक्टरहरुलाई यो सरल प्रविधि सिकाउने पनि गर्नुहुन्छ। उहाँ र उहाँको कामको बारेमा अझ थाहा पाउन हेर्नुहोस्-

स्रोतहरु:
बाँकी पढ्नुहोस् >>