Friday, May 6, 2011

अन्धकार विरुद्धको लडाईं - मोतिबिन्दु (Cataract) बारे केही जानकारी



केहि दिनपछि लेख्छु भनेको केहि हप्ता र महिना नै हुन लागेछ। त्यसको लागि क्षमा चाहन्छु। कामको व्यस्तता अरु विषयका लेखहरु लेख्ने मन आदि कारणले गर्दा यो शिर्षकको लेखलाई चाँही बिर्सन पुगेछु।

यो चित्र केहि साथीहरुले भन्नुभएको जस्तै मोतिबिन्दु (Cataract) को हो।

मोतिबिन्दु संसारमै र नेपालमा पनि अन्धोपनाको एउटा प्रमुख कारण हो। मोतिबिन्दु भनेको आँखाको लेन्सको पारदर्शितामा कमि आइ हेर्ने क्षमतामा कमि आउने वा पूर्णरुपमा बन्द हुने रोग हो।  

यो रोग कसरी हुन्छ?
यो रोग कसरी हुन्छ भन्ने बुझ्नको लागि हाम्रो आँखाले कसरी काम गर्छ भनेर बुझ्नु जरुरी हुन्छ। कुनै पनि वस्तुबाट परावर्तन भएको प्रकाश (वस्तुमा ठोकिएर फर्किएको प्रकाश) हाम्रो आँखाको कोर्निया (Cornea)- आँखाको सबैभन्दा अगाडीको पारदर्शी तह, बाट छिरेर अर्को पारदर्शी भाग लेन्स हुदैं पछिल्लो भागमा भएको प्रकाश सेन्सिटिभ तह रेटिनामा गएर ठोकिन्छ। उक्त प्रकाशले रेटिनामा रसायनिक प्रक्रिया गराएर त्यहाँका स्नायुहरुलाई उत्तेजित गर्छ र अप्टिक स्नायु (Optic nerve) ले त्यो खबर मष्तिस्कमा लैजान्छ र हामीले त्यो वस्तु देख्छौं।

मोतिबिन्दु रोगमा पारदर्शी हुनुपर्ने लेन्स विभिन्न कारणले गर्दा अपारदर्शी हुनजान्छ, जसले गर्दा रेटिनामा बन्ने आकृति स्पष्ट हुदैन र व्यक्तिको दृष्टि कमजोर हुनजान्छ।  

यो रोग किन हुन्छ?
लेन्स मुख्यरुपमा प्रोटिन र पानी मिलेर बनेको हुन्छ। यसका प्रोटिनहरु निश्चित तरिकाले मिलेर बसेका हुन्छन् र लेन्स पारदर्शी हुन्छ। तर उमेर बढ्दै जाँदा लेन्सका प्रोटिनहरु बस्ने तरिकामा गडबडी आउँछ र लेन्सको पारदर्शीतामा पनि कमि आउँदै जान्छ र मोतिबिन्दु रोग हुन्छ।

बढ्दो उमेरको कारणले हुने मोतिबिन्दुले संसारको अन्धोपनाको करीब आधा भाग ओगट्छ। तर यो अन्य थुप्रै कारणहरुले गर्दा पनि हुने गर्छ। आँखामा कुनै किसिमको चोट लाग्नाले पछि गएर मोतिबिन्दु हुनसक्छ। त्यस्तै मधुमेह (चिनी रोग) का कारणले पनि मोतिबिन्दु हुनसक्छ। कुनै औषधीहरु लामो समयसम्म सेवन गर्नाले पनि मोतिबिन्दु हुनसक्छ। जस्तै- दम, जोर्नीहरु दुख्ने रोगका लागि भनेर खाइने औषधी स्टेरोइड (प्रेडनिसोन/ Prednisone) को लामो सेवनले आँखामा यस्तो समस्या आउन सक्छ। त्यस्तै कसैकसैमा विभिन्न प्रकारका वंशानुगत रोगहरुका कारणले पनि सानै उमेरमा मोतिबिन्दु देखिन सक्छ।

यसका लक्षणहरु के के हुन् र यो रोग कसरी पत्ता लाग्छ?
शुरुको अवस्थामा यसको खासै लक्षण देखिदैंन। पछिपछि हेर्ने क्षमतामा कमि आउने, प्रकाश, बत्तीको वरिपरि गोलो घेरा (Halo) देखिने, धमिलो देखिने, अध्यारोमा हेर्न गाह्रों हुने आदि समस्याहरु देखिने गर्छन्। त्यस्तै कसैमा एउटै वस्तु दुईटा देखिने (Double vision) पनि हुनेगर्छ। चश्मा वा कन्ट्याक्ट लेन्स लगाएर पनि देख्ने क्षमतामा खास सुधार नभएको महसुस हुनसक्छ।

मोतिबिन्दु अन्तिम अवस्थामा वा मच्युर स्टेज (Mature stage) मा हो भने लेन्स पूर्णरुपमा सेतो र अपारदर्शी हुन्छ र बाहिरबाट हेर्दा माथिको चित्रमा जस्तो देखिने गर्छ। तर यदि यो शुरुको अवस्थामा छ भने आँखाको डाक्टरले जाँचेर मात्र रोग पत्ता लाग्ने गर्छ। साथै डाक्टरले स्लिट ल्याम्प (Slit Lamp) बाट आँखाको जाँच गरेर लेन्सको अवस्था विस्तृत रुपमा थाहा पाउने गर्छन्। त्यस्तै देख्ने क्षमता (भिजुअल एक्युटि/ Visual acuity) को परिक्षणमा पनि खराबी देखिन्छ।

मोतिबिन्दु रोग पूर्णरुपमा क्लिनिकल्ली नै पत्ता लाग्छ, यसको लागि कुनै रगत जाँच वा अन्य ल्याव परिक्षण गरिराख्नु जरुरी हुदैंन। यसरी मोतिबिन्दुको परिक्षण गर्दा आँखामा हुनसक्ने अन्य समस्याहरुको पनि जाँच गर्ने गरिन्छ।

यसको उपचार के हो?
यो रोग औषधीले ठिक हुदैंन। यसको उपचार भनेको अप्रेशन गरेर बिग्रेको लेन्स फाल्ने र अर्को लेन्स राख्ने हो। तर मोतिबिन्दु हुने बित्तिकै अप्रेशन गरिहाल्नुपर्छ भन्ने हुदैंन। यसले आफूलाई खास समस्या दिएको छैन भने यसको अप्रेशनलाई पछाडि सार्न सकिन्छ। ढिलो गरेर अप्रेशन गर्दा यो जटिल हुने समस्या यसमा हुदैंन। डाक्टरसँग सल्लाह गरेर कहिले अप्रेशन गर्दा ठिक हुन्छ भनेर निर्णय गर्न सकिन्छ। कहीलेकाही आँखाका अन्य समस्याको राम्रोसँग जाँच गर्नको लागि लेन्स पारदर्शी हुनुपर्छ। जस्तो मधुमेहले आँखाको पर्दा रेटिनामा पार्ने असर (डायवेटिक रेटिनोप्याथी/ Diabetic Retinopathy) को जाँच गर्न आदि। त्यस्तो बेलामा मोतिबिन्दु भएको लेन्सले समस्या दिएमा शुरुकै अवस्थामा पनि अप्रेशन गर्न सकिन्छ।

यसको अप्रेशन अत्यन्त सुरक्षित हुन्छ तर कहीलेकाही संक्रमण, राखिएकॊ लेन्स ठिक ठाँउमा नबस्ने, रेटिना उप्किने (रेटिनल डिट्याचमेन्ट/ Retinal Detachment) आदि जटिलताहरु देखिने गर्छन्।

यसको अप्रेसनलाई सरल भाषामा भन्नुपर्दा यसमा लेन्सको क्याप्सुल/ Capsule (लेन्सलाई ढाकेर राख्ने झिल्ली) मा सानो प्वाल पारेर त्यसबाट पुरानो बिग्रेको लेन्स निकालिन्छ र त्यसको ठाँउमा नयाँ लेन्स राखिन्छ।

यो अप्रेशन गरेपछिको अवस्था कस्तो हुन्छ?
यो अत्यन्तै सानो र छोटो समयमा गरिने भएकोले १-२ दिनभन्दा बढि अस्पताल बसिरहनु पर्दैन। मोतिबिन्दुको अप्रेशनका शिविरहरुमा सयौं अप्रेशनहरु विना जटिलता थोरै समयमै गर्ने गरिन्छ। मोतिबिन्दुले गर्दा मात्रै आँखा नदेख्ने समस्या भएको हो भने यसको अप्रेशनपछि दृष्टि पूर्णरुपमा ठिक हुन्छ। तर कहीलेकाही मोतिविन्दुको साथसाथै अन्य समस्या पनि भएको अवस्थामा यसको नतिजा सोचेजस्तो राम्रो नहुनसक्छ।

अन्त्यमा, 
तिलगंगा आँखा अस्पतालका वरिष्ठ आँखारोग विशेषज्ञ डा. सन्दुक रुइतले मोतिबिन्दुको अप्रेशन गर्ने आफ्नै तरिकाको विकास गर्नुभएको छ, जुन सरल र सस्तो पनि छ। एउटा लेन्सको करिब ५ डलर पर्ने यस्तो अप्रेशनको भने करिब २५ डलर पर्ने गर्छ, जुन विकसित देशहरुमा गरिने अप्रेशनभन्दा २० गुणा कम पर्न जान्छ। उहाँको यो अप्रेशनको तरिकालाई रुइटेक्टोमी (Ruitectomy) पनि भनिन्छ। उहाँले अविकसित र विकासशील देशका डाक्टरहरुलाई यो सरल प्रविधि सिकाउने पनि गर्नुहुन्छ। उहाँ र उहाँको कामको बारेमा अझ थाहा पाउन हेर्नुहोस्-

स्रोतहरु:

No comments:

Post a Comment