डेंगु ज्वरो भनेको के हो?
यो डेंगु भाइरसको संक्रमणले गर्दा लाग्ने रोग हो। यो भाइरस ४ प्रकारका हुन्छन्। डेंगु भाइरस-१, २, ३ र ४ (DENV-1, 2, 3, 4)। एक खालको भाइरसको संक्रमणबाट यो रोग लागेपछि जीवनभरलाई त्यो भाइरसबाट सुरक्षा मिल्छ, अर्थात् एकपटकको संक्रमणपछि लाइफ लंग इम्युनिटि (lifelong immunity) हुन्छ। तर अन्य प्रकारका डेंगु भाइरसको संक्रमणबाट भने केहि समयलाई मात्र सुरक्षा हुन्छ र त्यो लागेपछि त्यसका जटिल समस्याहरु आउने सम्भावना बढेर जान्छ।
डेंगु ज्वरोका तीन अवस्थाहरु हुन्छन्।
१. साधारण डेंगु ज्वरो (Dengue Fever)
२. डेंगु हेमोरेजिक ज्वरो (Dengue Hemorrhagic Fever)
३. डेंगु शक सिन्ड्रोम (Dengue Shock Syndrome)
यो भाइरस एडिज लामखट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्कोमा सर्ने गर्छ।
डेंगु ज्वरोका लक्षणहरु के के हुन्?
यसका मुख्य लक्षणहरु अत्यधिक ज्वरो आउने (१०४-१०५ डिग्री फरेन्हाइट सम्म), सम्पूर्ण शरीर दुख्ने, छालामा राताराता दागहरु देखिने हुन्। अत्यधिक जीउ दुख्ने भएकोले यस रोगलाई अंग्रेजीमा ब्रेकबोन फिभर (Breakbone Fever) पनि भनिन्छ।
एडिज लामखुट्टेले टोकेर यो भाइरसको संक्रमण भएको धेरैजसोलाई कुनै समस्या नदेखिने वा साधारण डेंगु ज्वरो मात्र आउने हुन्छ। यो बेलाका लक्षणहरु साधारण रुघाखोकीको जस्तो नै हुने गर्छ र ज्वरोको साधारण उपचार, आरामले मात्रै यो ठिक भएर जान्छ। बच्चाहरुमा ज्वरोको साथमा छालामा राताराता दागहरु देखिने गर्छ भने वयस्कहरुमा ज्वरोसँगै जीउ दुख्ने, आँखाको गेडीको पछाडि दुख्ने (Retroorbital pain), टाउको दुख्ने आदि समस्याहरु देखिने गर्छन्। लामखुट्टेले टोकेर भाइरस सारेको करिब ३-१४ दिनमा यस्ता लक्षणहरु देखिने गर्छन्।
धेरैजसोमा साधारण असर मात्रै गरेपनि केहि प्रतिशतमा भने यसका अन्य जटिल अवस्थाहरु जस्तै डेंगु हेमोरेजिक ज्वरो र डेंगु शक सिन्ड्रोम देखिने गर्छ।
डेंगु हेमोरेजिक ज्वरोमा नाम अनुसारकै शरीरका विभिन्न भागहरुमा रक्तनलीहरुबाट बाहिर रगत बग्ने गर्छ। रक्तनलीहरुका भित्ताहरुबाट रगत चुहिने र रगत जमाउने कोष प्लेटेलेट(Platelet) हरुको कमि र कलेजोमा पर्ने खराब असरका कारणले पेटमा पानी जम्ने(Ascites), फोक्सोमा पानी जम्ने(Pleural effusion), छालामा रगतका केसिकाहरु फुटेर सानासाना राता दागहरु देखिने देखि लिएर पेटमा, मष्तिस्कमा रगत बग्ने जस्तो ज्यानै जाने अवस्था पनि आउन सक्छ।
त्यस्तै त्यसपछिको अवस्था डेंगु शक सिन्ड्रोममा रक्तचाप कम भएर जान्छ र अन्तत: शरीरका महत्वपूर्ण अंगहरुमा रगत र अक्सिजन नपुगेर विरामीको मृत्यु हुनजान्छ।
डेंगु ज्वरोका यी पछिल्ला दुई खतरनाक अवस्थाहरु संक्रमण भएकाको ५% भन्दा कमलाई मात्रै देखिने गर्छ र प्राय:लाई त्यो भन्दा अघि पनि डेंगु भाइरसको संक्रमण भएको हुन्छ। अर्थात् एकपटक डेंगुको संक्रमण भैसकेपछि फेरी अर्को पटक अर्को खालको डेंगु भाइरसको संक्रमण भएमा जटिलता आउने सम्भावना धेरै बढि हुन्छ।
डेंगु ज्वरो कसरी सर्छ?
यो रोग मानिसबाट मानिसमा सोझै सर्दैन र सबै खालका लामखुट्टेले यसलाई सार्दैन। डेंगु ज्वरो लागेको विरामीलाई टोक्दा यसको भाइरस लामखुट्टे (एडिज/Aedes)मा सर्ने गर्छ र उक्त लामखुट्टेले अरुलाई टोक्दा ती भाइरसहरु सर्ने गर्छ। डेंगु ज्वरोको रोगीको रगत अरुलाई चढाउँदा, अंग प्रत्यारोपण गर्दा पनि यो रोग सर्ने सम्भावना रहन्छ। तर यसको रोगीलाई छुँदा, स्याहार गर्दा, सँगै उठबस गर्दा, सँगै खाँदा भने यो रोग सर्दैन।
एडिज लामखुट्टे कसरी चिन्न सकिन्छ?
यो खालको लामखुट्टेका खुट्टाहरुमा सेतोकालो दागहरु हुन्छन्। यिनीहरुले प्राय: विहान र बेलुकाको समयमा टोक्ने गर्छन्। र यी लामखुट्टेहरुले जमेको पानी, गमलाका पानी, ट्वाइलेटका ट्यांकी, फालिएका टायरहरुमा जमेको पानी आदिमा अण्डा पार्ने गर्छन्।
चित्र: चितवनमा पाइएको एडिज/Aedes लामखुट्टे।सौजन्य: डा. अरुण सेढाई
डेंगु ज्वरोको कसरी उपचार गरिन्छ?
यसका लक्षणहरु (ज्वरो आउने, टाउको दुख्ने, जीउ दुख्ने), विरामी बस्ने वा गएको स्थानमा डेंगुको प्रकोप, लामखुट्टेको प्रकोप आदि सबै कुरालाई ध्यानमा राखेर डेंगु हुनसक्ने, नसक्ने बारेमा पत्ता लगाउन सकिन्छ। त्यसका साथै विरामीको जाँच गर्दा ज्वरो, छालामा राता दागहरु, कलेजो सुन्निएको, फोक्सोमा पानी जमेको, पेटमा पानी जमेको, रक्तचाप कम भएको आदिका अनुसार पनि डेंगु ज्वरोको उपचार शुरु गरिन्छ। साथै यसको लागि रगतका विभिन्न जाँचहरु पनि गर्ने गरिन्छ। सेतो रक्तकोषहरुको संख्या(WBC count), प्लेटेलेटको संख्या(Platelet count), कलेजोमा कति असर गरेको छ भनेर गरिने जाँचहरु(लिभर फंसन टेस्ट/ LFT), रगतमा विभिन्न लवणहरुको मात्रा(सोडियम/Sodium, पोटासीयम/Potassium), क्रियटिनिनको मात्रा(Creatinine), छातीको एक्सरे, पेटको भिडियो एक्सरे आदि जाँचहरु रोगीको अवस्था र रोगको जटिलताहरु हेरेर गर्ने गरिन्छ। साथै यो भाइरसको संक्रमणपछि हुने इम्युनोलोजिकल रियाक्सन (Immunological reaction)लाई जाँच्ने एलाइजा टेस्ट (Dengue ELISA test)ले पनि यसको बारेमा राम्रो जानकारी दिन्छ। यी जाँचहरुका बारेमा आफ्नो चिकित्सकसँग राम्ररी छलफल गर्नुपर्छ।
प्राय: भाइरल संक्रमणहरु जस्तै साधारणतया यो पनि आफैं ठिक हुने गर्छ। यसको लागि खास उपचारको आवश्यकता पर्दैन। ज्वरोको लागि NSAIDS, एस्पिरिन/Aspirin भन्दा सिटामोलको प्रयोग गर्नु उचित हुन्छ। वान्ता हुने, खानामा अरुची हुने कारणले शरीरमा पानीको कमि हुने भएकोले प्रशस्त मात्रामा पानी सेवन गर्नुपर्छ। साथै आराम पनि गर्नुपर्छ।
रोगको अवस्था र जटिलताका आधारमा सपोर्टिभ उपचार (Supportive treatment) गर्ने गरिन्छ। जस्तै- रक्तचाप कम भएको बेलामा सलाइन पानी (नर्मल सलाइन/Normal saline, रिङ्गर ल्याक्टेट/Ringer lactate आदि दिनुपर्छ। त्यस्तै रगतको कमि वा रगतमा प्लेटेलेटको कमि भएमा त्यहि अनुसार रगत दिनुपर्ने हुन्छ। साथै विरामीको अवस्था हेरेर विरामीलाई अस्पतालको वार्डमा वा सघन उपचार कक्षमा भर्ना गर्नुपर्ने हो सल्लाह गर्नुपर्छ।
यस्ता उपचारबाट डेंगु ज्वरोको मृत्युदर २०% बाट १% भन्दा कममा झार्न सकिन्छ।
अरु कुनकुन रोग वा अवस्थाहरुसँग यो रोग झुक्किन सक्छ?
उस्ताउस्तै लाग्न सक्ने रोग वा अवस्थाहरुलाई मेडिकल भाषामा Differential Diagnoses भनिन्छ। मलेरिया, मेनिन्जाइटिस, इन्फ्लुएन्जा, लेप्टोस्पाइरोसिस/Leptospirosis, भाइरल हेपाटाइटिस, टाइफाइड, अन्य ब्याक्टेरियल संक्रमणहरु, संक्रमणले गर्दा हुने रक्तचापको कमि (सेप्टिक शक/Septic shock) आदि। यी विभिन्न रोगहरुका लक्षणहरुसँग मेल खाने भएकोले यसको उपचार गर्दा यी रोगहरु पनि हुनसक्ने सम्भावनालाई विस्रनुहुदैंन।
यो रोगबाट कसरी बच्न सकिन्छ?
डेंगु रोगको विरुद्ध खोपको विकास गर्ने प्रयासहरु भैरहेका छन् तर प्रयोगका लागि उपलब्द भैसकेका छैनन्। त्यसैले यसबाट बच्ने एउटै मात्र उपाय भनेको यसका भाइरसलाई सार्ने लामखुट्टेको नियन्त्रण गर्ने र त्यसको टोकाइबाट बच्ने हो। सुत्ने बेलामा झुल लगाएर सुत्ने, घर वरिपरि सफा राख्ने, फोहोर पानी जम्न नदिने, हातखुट्टा छोप्ने गरी लामा कपडा लगाउने, घर वरिपरि लामखुट्टे मार्ने औषधीहरु छर्ने गर्नुपर्छ। त्यस्तै सरकारी स्तरमा गाँउशहरमा फोहर जम्नसक्ने खाल्डोहरु पुर्ने, लामखुट्टे मार्ने औषधीहरु छर्ने, डेंगु ज्वरोको बारेमा जनचेतना जगाउने कार्यक्रमहरु गर्ने गर्नुपर्छ।
स्रोतहरु:
Dr. Lama, नेपाली विकिपीडियामा तपाइंले लेख्नु भएका जस्तै उपयोगी लेख हरूको खाँचो छ. कृपया आफ्नो समय मिलेको बेला केहि सहयोग गर्न सक्नु हुन्छ कि? विकिपीडिया-स्वास्थ्य पोर्टलका लागि तपाईंको सहयोग महत्वपूर्ण हुनेछ. धेरै धेरै धन्यबाद!
ReplyDeletehttp://ne.wikipedia.org
धन्यवाद। नेपाली विकीपेडिया पनि छ भन्ने कुरा मलाई थाहा थिएन। तर उक्त साइट्मा तपाईंले भन्नुभ्एको जस्तो स्वास्थ्य पोर्टल मैले देखिन। जे होस् समय मिले र बिषय भएमा नेपाली विकीपेडियालाई उपयुक्त हुने लेख लेख्नेछु।
ReplyDelete