Saturday, August 20, 2011

इसिजी र जिन्दगी (ECG & Life)


जिन्दगी भनेको आरोह अवरोहको अर्को नाम हो, परिवर्तनको अर्को संज्ञा हो। हरेक पलमा परिवर्तन भैरहेको हुन्छ। यो जीवनका बाटाहरुमा कहिले सुख आँउछ त कहिले दु:ख आउँछ। सुख आयो भनेर मात्तिनु र दु:ख पर्यो भनेर आत्तिनु हुदैंन। किनकी जिन्दगी यसैको अर्को नाम हो, जिन्दगीको मजा यसैमा छ।

केहि दिन अघि एक जना साथीको फेसबुक स्ट्याटसमा देखेको थिए, जिन्दगी भनेको इसिजी (ECG) जस्तै हो, माथितल वेभ आएको इसिजी नर्मल भएजस्तै उतार चढाव भएको जीवन सामान्य हो। उकाली ओराली भएन भने जसरी इसिजीले मानिसलाई मृत घोषित गर्छ, त्यसरी नै ती विनाको जीवन मृतप्रा:य हुन्छ।

एकदमै घत लाग्यो यो कुरा। हुन पनि हो, सामान्य व्यक्तिको इसिजीमा विभिन्न प्रकारका वेभहरु हुन्छन्, माथितल गरेका धर्काहरु हुन्छन्। ती मुटुमा भइरहेका विधुत्तीय तरंगका संकेतहरु हुन्।

सामान्य इसिजी यस्तो हुन्छ।


जिन्दगीका आरोह अवरोहका घटनाहरु जस्तै यसमा पनि एउटा निश्चित नियम अनुसार माथितल गर्दै वेभहरु आइरहेका हुन्छन्। यो ब्रम्हाण्डमा हरेक कुरालाई चलाउने नियम हुन्छ, जबसम्म त्यो कुरा आफ्नो नियममा चल्छ, त्यो सामान्य हुन्छ। नियम छोडेपछि त्यो बिग्रन थाल्छ, अधोगतितिर लाग्छ।

नियम बिगारेर चलिरहेका केहि इसिजीहरु:

यो भेन्ट्रिकुलर ट्याकिकारडिया (Ventricular tachycardia)हो।


यो भेन्ट्रिकुलर फिब्रीलेसन (Ventricular fibrillation) हो।


मुटुका भेन्ट्रिकलको जुनसुकै भागहरुबाट विधुतीय तरंगहरु उत्पन्न हुन थालेपछि (जुन सामान्य होइन) इसिजीमा यस्तो देखिन्छ। तत्काल डिसी सक (DC shock) दिएर मुटुका तरंगहरुलाई सामान्यमा फर्काउने उपचार गर्नुपर्ने हुन्छ।

यो हार्ट एट्याक (Heart attack) हुँदाको इसिजी हो।


यो एट्रियल फिब्रीलेसन (Atrial fibrillation) को इसिजी हो।


अन्त्यमा, यो चाँही मुटुमा केहि विधुतीय तरंग नहुदाँको स्थिती अर्थात मुटुले काम नगर्दाको अवस्था अर्थात् असिस्टोल (Asystole) हो।


कहि पढेको थिएँ, असिस्टोल भनेको सबैभन्दा स्टेबल/stable इसिजी वेभ हो अर्थात् असिस्टोल भनेको सबै उकाली ओरालीहरु चढेर थाकेर, आरोह अवरोह देखेर सन्तुष्ट भएर सधैंको लागि विस्राम गरेको मुटुको चाल हो, अझ भनौं मानिसको चाल हो।

यी माथिका भावनाहरु आज विहान विहानै इसिजी, मुटु र मानिसका जिन्दगीका भिन्नभिन्न चालहरु देखेर, त्यसका उपचार गर्ने प्रयास गरेर तर अन्त्यमा हार मानेर बस्दा मनमा उठेका हुन्।

No comments:

Post a Comment