टिटि भनेको टिटानस टोक्सोइड हो। यो भ्याक्सिन टिटानस रोगबाट बच्नको लागि दिइन्छ। तर हाम्रो देशमा सम्भवत: सबैभन्दा बढि दुरुपयोग हुने भ्याक्सिन यहि होला। हामी सानोभन्दा सानो काटेको, कोतरेको, छाला गएको जस्तोसुकै घाउको लागि पनि टिटानसबाट बचाउने भनेर यो भ्याक्सिन लगाइहाल्छौं। त्यसो गर्न या त अस्पतालका स्वास्थ्यकर्मीले नै सल्लाह दिन्छन् या त आफैं भएपनि लगाउने भनेर भन्छौ। कहिले हामीले सोचेका छौं कि यो कस्तो खालको भ्याक्सिन हो, यसले के काम गर्छ, कति पटकसम्म लगाउन सकिन्छ, जस्तोसुकै घाउमा पनि यो लगाउनै पर्ने हो कि होइन, यसका बेफाइदा छन् कि छैनन्। आज यी सबैको बारेमा चर्चा गरौं।
पहिले भ्याक्सिनको बारेमा केहि जानौं।
भ्याक्सिनको काम शरीरमा रोग प्रतिरोधक क्षमताको विकास र वृद्धि गर्ने हो। भ्याक्सिनहरु प्राय: गरेर तीन प्रकारका हुन्छन्। लाइभ एट्टेनुएटेड/Live attenuated, किल्ड/Killed र टोक्सोइड/Toxoid।
भ्याक्सिनले कसरी काम गर्छ?
भ्याक्सिन बनाउनको लागि रोग लगाउने किटाणु/Virus, जीवाणु/Bacteria लाई मारेर वा जिउदो भएपनि रोग लगाउन नसक्ने अवस्थाको बनाएर वा ती किटाणु, जीवाणुले बनाउने रोग लगाउने पदार्थको प्रयोग गरिन्छ। लाइभ एट्टेनुएटेड/Live attenuated भन्नाले त्यसमा रोग लगाउने किटाणु वा जीवाणु जिउदै हुन्छ तर मानिसको शरीरमा प्रवेश गरेपनि तीनलाई रोग लगाउन नसक्ने गरी निस्क्रिय बनाइएका हुन्छन्। किल्ड/Killed भ्याक्सिन रोग लगाउने जीवाणु वा किटाणुलाई विभिन्न तरिकाले मारेर तयार पारिएका हुन्छन्। त्यस्तै टोक्सोइड/Toxoid भ्याक्सिन जीवाणु वा किटाणुले बनाउने रोग लगाउने पदार्थ/Toxin बाट तयार पारिएका हुन्छन्।
यी सबै खालका भ्याक्सिन लगाएपछि ती पदार्थ शरीरभित्र प्रवेश गर्छन्, जसलाई निस्क्रिय पार्न शरीरले प्रतिरोधक पदार्थ एन्टिबडि/Antibody बनाउँछ। शरीरमा भ्याक्सिनको रुपमा प्रवेश गराइएको पदार्थले एन्टिजेन/Antigen को काम गर्छ र त्यसको विरुद्धमा शरीरले त्यसलाई निस्क्रिय पार्ने पदार्थ बनाउँछ, जसलाई एन्टिबडि भनिन्छ। शरीरले यी सबै कुराको सम्झना राख्ने गर्छ। अत: भविष्यमा त्यस्तै खालको किटाणु वा जीवाणुको संक्रमण हुँदा शरीरले त्यसका विरुद्धमा प्रतिरोधक पदार्थ/Antibody बनाइ रोग लाग्नबाट जोगाउँछ।
टिटानस टोक्सोइड भ्याक्सिन नामले भनेजस्तै एउटा टोक्सोइड भ्याक्सिन हो। यो टिटानस रोग गराउने जीवाणु क्लसट्रीडियम टेटानी/Clostridium tetani ले उत्पादन गर्ने टक्सिन टेटानोस्पाज्मीन/Tetanospasmin बाट तयार पारिएको हुन्छ।
टिटानस/धनुस्टन्कार, डिपीटी/DPT र हाम्रो देशमा त्यस्को अवस्था कस्तो छ?
टिटानस रोग मुख्यतया सुत्केरी हुने बेलामा फोहर गरेर सुत्केरी गराइयो भने, खिया लागेको वा फोहर ब्लेडले बच्चाको नाल काटियो भने आमा र बच्चामा हुनेगर्छ। बच्चामा हुने त्यसखालको टिटानसलाई नियोनेटल टिटानस/Neonatal Tetanus भनिन्छ। नेपालबाट नियोनेटल टिटानस उन्मुलन भैसकेको भनेर सन् २००५ डिसेम्बरमा भनिएपनि २००७ मा १३ जना यसका रोगी बच्चाहरु भेटिएका थिए।
यो रोगबाट आमा र बच्चालाई बचाउनका लागि गर्भ रहनसक्ने उमेरका महिलाहरु/Reproductive age group women लाई गर्भवती भएको बेलामा वा अन्य समयमा टिटि भ्याक्सिन लगाउने गरिन्छ। यो सुई गर्भवती भएको समयमा जतिसक्दो चाँडो पहिलोपटक र त्यसको कम्तिमा ४ हप्तापछि दोस्रो पटक लगाउनुपर्छ। त्यसको ६ हप्तामा वा अर्को गर्भ रहने बेलामा तेस्रो पटक, त्यसको १ वर्षमा वा अर्को गर्भ रहँदा चौथो पटक र त्यसको १ वर्षमा वा अर्को गर्भ रहँदा पाँचौ पटक गरी जीवनभरमा जम्मा ५ पटक लगायो भने जिन्दगीभरलाई पुग्छ। यसको तेस्रो पटकसम्मको डोज/dose ले ५ वर्ष र चौथो पटकसम्मको डोजले १० वर्ष टिटानस रोगबाट बचाँउछ।
त्यस्तै बच्चाहरुलाई नियमित खोपको कार्यक्रम/Extended Program of Immunization/EPI अन्तर्गत डिपीटि सुई लगाउने गरिन्छ। यसले बच्चालाई डिपथेरिया/भ्यागुते रोग, परट्युसिस/Pertusis/लहरे खोकी र टिटानस/धनुषटंकार रोगबाट बचाउने गर्छ। यो खोप बच्चाहरुलाई २,४ र ६ महिनाको उमेरमा दिइन्छ। चौथो डोज १५-१८ महिनामा र पाँचौ डोज ४-६ वर्षको उमेरमा दिने गरिन्छ। यी नियमित समयका भ्याक्सिनका डोजहरु छुटेमा त्यहि अनुसारका सुझावहरु छन्, जुन लेखका विषयभन्दा बाहिर पर्छ।
समग्रमा जम्माजम्मी पाँचवटा टिटि भ्याक्सिन र हरेक १० वर्षमा एउटा बुस्टर डोज लगाएमा त्यसले जीवनभरीलाई पुग्छ।
हाम्रो देशमा यो खोप कार्यक्रमको प्रभावकारीता राम्रो छ। EPI भनिने यसको प्रभावकारीता डिपीटीको तेस्रो डोज/DPT3 कति प्रतिशतले लगाउँछन् भन्नेबाट निकालिन्छ, जुन सन् २००९ मा करिब ८२% थियो।
कुनै पनि समयमा घाउ हुँदा वा काट्दा टिटि सुई लगाउने वा नलगाउने भन्ने कुरा घाउको प्रकृति, कत्तिको फोहर लागेको छ अर्थात् टिटानस हुने सम्भावना छ कि छैन भन्ने कुरा र विरामीले विगतमा कतिवटा भ्याक्सिन लिएको थियो, पछिल्लो भ्याक्सिन कति समय अगाडि लिएको थियो भन्ने कुरामा भर पर्छ।
टिटानस हुनसक्ने घाउहरु/Tetanus prone wounds भन्नाले गहिरो काटेको घाउ, जनावरले टोकेको घाउ, फोहर, माटो, गोबर लागेको घाउ, पीप जमेको वा पाकेको घाउ, जलेको घाउहरुलाई जनाउँछ। यस्ता घाउहरु भएको अवस्थामा पनि कम्तिमा ३ वटा टिटि सुई (डिपीटि समेत गरेर) लगाएको छ र अन्तिम डोज लगाएको ५ वर्षभन्दा बढि समय भएको छैन भने थप भ्याक्सिन लगाउनु जरुरी हुदैंन। अझ साधारण खालको र फोहर नभएका घाउहरुमा त पछिल्लो भ्याक्सिन लगाएको १० वर्षसम्म अर्को टिटि भ्याक्सिनको आवश्यकता पर्दैन। त्यस्तै डिपीटिका सबै खोपहरु लगाएका बच्चाहरुलाई ६ वर्षसम्मको उमेरसम्ममा थप टिटि भ्याक्सिनको जरुरत नै हुदैंन।
घाउको प्रकृति, उमेर, टिटि लगाएको समय आदिका आधारमा टिटि भ्याक्सिनको आवश्यकताको वृस्तित विवरण यो लिन्कमा हेर्नसक्नुहुन्छ।
यसका बेफाइदा वा हानीहरु के के हुन्?
हरेक औषधीका फाइदा, बेफाइदा दुवै हुन्छन् भन्या जस्तै यसका पनि बेफाइदाहरु छन्। यसको प्रयोगले कसैकसैमा एलर्जी देखिने हुनसक्छ। छालामा राताराता दागहरु देखिने, चिलाउने, ज्वरो आउने देखि लिएर खतरनाक र ज्यानै जाने एलर्जीक प्रतिकृया/Allergic reaction पनि हुनसक्छ। त्यस्तै लाखौंमा १-२ जनालाई विभिन्न प्रकारका नसासम्बन्धी रोगहरु/Neurological disorders देखिन सक्छ। याद गर्नुहोस् नसा सम्बन्धी रोग र मानसिक रोग/Psychiatric Disorder भनेका फरक रोगहरु हुन्।
लगातार बढि मात्रामा भ्याक्सिन लगाउने र चाहिने भन्दा बढि लगाउने गर्नाले माथिका बेफाइदाहरु हुने सम्भावना बढेर जान्छ। त्यसैले विरामीलाई बेनिफिट अफ डाउट/Benefit of doubtको नाममा हरेक साना घाउहरुमा टिटि भ्याक्सिन लगाउने सल्लाह दिनु पनि राम्रो उपचार पक्कै होइन।
यसको दुरुपयोग किन भैरहेको छ?
यसको दुरुपयोग हुनुमा धेरै कारणहरु छन्। जस्तै:
१. यो भ्याक्सिनको बारेमा जानकारी नहुनु।
धेरैजसो मानिसहरु (र कतिपय स्वास्थ्यकर्मीहरुको पनि)को सोचाइ जस्तो यसले तपाईको भैसकेको घाउबाट हुनसक्ने टिटानसबाट सामान्यतया बचाउदैंन। यसले त भविष्यमा हुनसक्ने टिटानसको लागि एन्टिबडि बनाउनलाई प्रेरित गर्ने काम मात्रै गर्छ। यो एउटा एक्टिभ भ्याक्सिन भएकोले यसले काम गर्न यो शरीरमा प्रवेश गरिसकेपछी कम्तीमा शरीरलाई यसको विरुद्ध एन्टिबडी बनाउने समय चाहिन्छ। तपाईं हामीले सोचेका जस्तो काम गर्ने भ्याक्सिन प्यासिभ भ्याक्सिन/Passive vaccine हो, जसलाई टिटानस इम्युनोग्लोबुलिन/Tetanus immunoglobulin भनिन्छ।
२. आफ्नो भ्याक्सिनेसन अवस्था/vaccination status को बारेमा राम्रो जानकारी नराख्नु।
हामी मध्ये धेरैले बच्चामा सबै खोपहरु लगाएका छौं, तर कमैसँग मात्र ती लगाइएका खोपहरुका कागजपत्र होलान्। आफूले लगाएका खोपहरुको विवरण भएमा भविष्यमा त्यस्तै प्रकारका खोपहरु थप्नु पर्ने, नपर्ने जानकारी लिन धेरै सजिलो हुन्छ। साथै अनावश्यक रुपमा खोपहरु लिइराख्नुपर्दैन।
३. टिटानस रोगको बारेमा जानकारी नहुनु।
हामी के सोच्छौं भने फलामले काट्यो कि टिटानस हुन्छ, घाउ भयो कि टिटानस हुन्छ। तर सफा घाउ छ, साधारण खालको घाउ छ र आफुले बच्चामा डिपिटि र पछि त्यसको बुस्टर डोज/Booster dose पनि लगाएको छ भने तपाईं आत्तिनुपर्दैन। तपाईंको शरीरमा टिटानससँग लड्ने एन्टिबडि पर्याप्त मात्रामा भएको खण्डमा टिटानस हुदैंन। त्यस्तै टिटानसबाट बच्ने उपाय टिटि खोप मात्र होइन। घाउ भएपछि त्यसलाई राम्रो तरिकाले साबुन पानीले सफा गर्ने, त्यसमा माटो, गोबर पर्न नदिने, सुत्केरी गराउँदा सफा, नयाँ ब्लेडले नाल काट्ने, सफा हातले सुत्केरी गराउने गर्नाले पनि टिटानसको सम्भावनालाई धेरै कम गर्छ।
४. सस्तो र सर्वसुलभरुपमा टिटि खोप पाइनु।
अन्य खोपहरु जस्तो यो महंगो र पाइन गाह्रों हुदैंन। तर त्यसो भनेर यसको दुरुपयोग गरिनु उचित हुदैंन।
अन्त्यमा,
विना जानकारी कुनै पनि खोप वा सुई लिनु हानिकारक हुनसक्छ। त्यसैले त्यस्तो सुई लिनु अघि त्यसको बारेमा, त्यसले गर्ने कामको बारेमा, आफुलाई त्यसको आवश्यकता भएनभएको बारेमा राम्रो जानकारी लिनु स्वस्थकर हुन्छ। सस्तो छ, सर्वसुलभ छ भन्दैमा अनावश्यक र हानीकारक हुनसक्ने कदम नचालौं।
स्रोतहरु:
Tetanus toxoid adsorbed
Tetanus toxoid vaccination
Immunisation program of Nepal : an update
Tetanus vaccine for wound management
Management of tetanus prone wounds.
Child survival
DPT dose schedule
Nepal 2009 EPI fact sheet
No comments:
Post a Comment