संसार विश्वासमै अडेको छ, विश्वासमै चलेको छ। केही गरेर यसको कमि भयो भने के हुन्छ होला, सम्झदा पनि डर लाग्छ। तर आजभोली हाम्रो देशका हरेक जस्तो क्षेत्रमा यसको कमि खट्कीन थालेको पाइन्छ। अझ स्वास्थ्य जस्तो सम्वेदनशील क्षेत्रमा त यसको आवश्यकता र महत्व कति छ भनेर सहजै अनुमान लगाउन सकिन्छ। यदी यो क्षेत्रमा 'अविश्वासको खाडल' बन्यो भने के होला? डाक्टरले विरामीलाई र विरामीले डाक्टरलाई शंका गर्ने प्रवृति देखियो भने यो स्वास्थ्यक्षेत्र कति अराजक र डरलाग्दो होला।
यस्तै भयो हिजो भरतपुर अस्पतालमा। बच्चा वार्डमा भर्ना गरिएको विरामी राती १२ बजेतिर सिरीयस भयो भनेर मलाई इमरजेन्सीमा दौडदै बोलाउन आइपुगे। के भएको रहेछ भनी हेर्न गएको त वार्ड भरिका सबैजना जम्मा भएका, बच्चाको आमा एकातिर भक्कानो छोडेर रोइरहेकी, बुवा चाहीं "मेरो बच्चालाई मात्र केही भयो भने म यो सिस्टरको टाउको फोरदिन्छु" भनेर बम्कदै थिए। नर्सहरु भने भित्र बच्चालाई अक्सीजन लगाएर बसिरहेका थिए। स्थिति कति सम्वेदनशील भएको रहेछ भन्ने मैले बुझिहालें। बच्चालाई एकछिन हेरेपछि थाहा भयो, बच्चालाई फेब्राइल सिजर/Febrile seizure आएको रहेछ अर्थात् ज्वरो एक्कासी बढेर बच्चा एकोहोरो भएको र कम्पन छुटेको रहेछ, जसमा अक्सीजनको मात्रामा कमि भइ बच्चा निलो पनि हुने गर्छ। अन्य सिजर अर्थात कम्पन छुट्ने समस्यामा जस्तै यसमा पनि विरामीलाई आफ्नै थुक सर्कन नदिन र स्वासनलीलाई जीब्रोले नथुनोस् भनी कोल्टे पारेर सुताउने, अक्सीजन दिने, ज्वरो कम गर्न सिटामोल दिने, पानीपट्टी गर्ने र कम्पन रोक्ने औषधी डायजेपाम/Diazepam दिने गरिन्छ। यी उपचार गरेपछि बच्चा विस्तारै ठिक भएर आयो।
'फेब्राइल सिजर'को बारेमा माथिका भिडियोहरु हेरी हाल्नु भयो। तर खासमा यो लेखमा मैले 'फेब्राइल सिजर' वा ज्वरो एक्कासी बढ्नाले छुट्ने कम्पनका बारेमा भन्दा पनि यो घटनामा मैले देखेको डरलाग्दो अविश्वासको खाडलका बारेमा चर्चा गर्न लागेको हुँ। भएको के थियो भने बच्चालाई औषधी दिएको केही क्षण पछि नै त्यस्तो भएको थियो र बच्चाका आमाबुवाले चाहीं औषधी दिने नर्सलाई दोष लगाउदै थिए। "यो सिस्टरले औषधी दिएर मेरो बच्चालाई यस्तो भएको हो। यसकै लापरवाहीले गर्दा यस्तो भएको हो, यो हस्पिटलमा एकदम लापरवाही हुन्छ, मेरो बच्चालाई मात्र केही भयो भने यही अक्सीजनको सिलिण्डरले म त्यसको टाउको फोर्छु" र अरु के-के हो के-के। विचरा नर्सहरु दु:ख पोख्दै थिए "यस्तो दु:ख गरेर ड्युटी नि गर्नु छ, अझ यस्तो गाली र धम्की खानुपर्ने। कस्तो प्रोफेसनमा आइएछ।"
बच्चाका आमाबुवाको ठाँउमा हामीले आफूलाई राखेर हेर्ने हो भने एक हिसाबले उनीहरु 'केही' ठिक पनि हुन्। सुतिरहेको बच्चा औषधी लगाएको केही छिनमा नै एकोहोरो भएको छ, नीलो भएको छ, के भ'को के भ'को थाहा छैन, हो न हो औषधीले नै पो रियाक्सन गर्यो कि, मेरो बच्चा अब मर्ने पो हो की, जताततै लापरवाहीले मरेको भन्ने सुनिन्छ अचेल, यहाँ पनि लापरवाही त गर्यो होला नि। सामान्य मानिसको दिमागमा आजको अविश्वासको वातावरणमा शायद यस्तै कुरा चल्छन् होला। अनि त्यस्तो कुरामा "हो मा हो" मिलाउनेहरुको यहाँ कुनै कमि पनि हुदैंन र केही अप्रिय घटना भयो भने 'डाक्टर, नर्स र अस्पतालको लापरवाहीका कारणले ज्यान गयो' भनेर समाचारले भन्छ।
यो त एक साइडको मात्र कुरा भो। अब उपचारमा संलग्न नर्स र डाक्टरको ठाँउमा पनि आफूलाई राखेर हेर्ने की? दिनरात केही नभनी ड्युटी गरिरहेका हुन्छन्, बेलाबेलामा विरामीको भाइटल्स/vitals(बीपी, तापक्रम, नाडीको चाल हेर्ने) लिने, ठिकठिक समयमा औषधी दिने, बाफ लगाउने आदी गरिरहेका हुन्छन्, त्यस्तो गर्दा पनि जस पाउनुको साटो "तेरो टाउको फोर्दिन्छु, तेरो लापरवाहीले गर्दा हो" भन्ने नमिठा वचनहरु सुन्नुपर्दा कस्तो हुन्छ होला। आफ्नो गल्ति भए त "ल, केही छैन" भन्न नि हुन्छ, हुदैंनभएको गल्तिका लागि पनि यस्तो धम्की र गाली खानुपर्दा कस्तो लाग्छ होला सोच्नुस् त। अझ विरामीलाई के के औषधी दिएर मार्न लागेको, नानाथरीका अनावश्यक जाँच गराएको, विनाकारण भर्ना गरेर पैसा खान पल्केको जस्ता मनै कुँढिने दोष लगाएको पनि सुनिन्छ। एक पटक आफूलाई नर्स र डाक्टरको स्थानमा राखेर सोच्नुस् त।
त्यसो भने गल्ति कसको हो त? सच्चिनुपर्ने को हो त?
गल्ति हामी सबैको हो र सच्चिनुपर्ने पनि हामी सबै नै हो। अस्पताल जस्तो सम्वेदनशील क्षेत्रमा त्यसरी आवेगमा आएर उपचार गर्ने स्वास्थ्यकर्मीलाई धम्काएर केही फायदा हुने होइन। मैले पहिले देखि नै भन्दै र लेख्दै आएको छु "अस्पतालमा कोही भगवान वा जादुगर बस्दैन, उपचार भनेको जादुको छडी घुमाएको जस्तो पनि होइन। साधारण मान्छेहरुले आफूले पढेको र जानेको भरमा उपलब्द औषधी र उपाय लगाएर अस्पतालमा उपचार गरिन्छ।" यसरी गरिने उपचारबाट शतप्रतिशतलाई कुनै पनि देशको कुनै पनि कुनामा ठिक पार्न सकिदैन र यहीं विरामीलाई ठिक पार्छु भनेर ग्यारेण्टि पनि दिन सकिदैंन। उपचार भनेको त विरामी (र उसका परिवार) र चिकित्साकर्मी दुई समूहको आपसको विश्वास सल्लाहका आधारमा गरिने हो। यसमा डाक्टर र नर्सको भुमिका सल्लाहकार र सहयोगीको हुनुपर्छ। विशेष परिस्थितिहरुमा बाहेक निर्णयको अधिकार विरामी र उसका परिवारको नै हुन्छ, हुनुपर्छ र उनिहरुलाई नै दिनुपर्छ पनि।
त्यस्तै हरेक औषधी र उपचारका फायदा र बेफायदा हुन्छन्। त्यसको बारेमा सक्दो जानकारी दिने काम डाक्टरको हो र आफ्नो विरामीलाई कुन औषधीले नराम्रो भन्दा राम्रो बढि गर्छ भनेर सल्लाह दिने र त्यही अनुरुप उपचार गर्ने काम डाक्टरको हो। उपचार गरेपनि हरेक विरामीको हरेक रोग ठिक हुदैंन र त्यसका आफ्नै खालका कम्लिकेसनहरु देखिन्छन्। तर उपचारका क्रममा देखिने हरेक खालका साइड इफेक्ट, खराब असर, कम्लिकेसनको दोष डाक्टर र नर्सहरुमाथि लगाउन मिल्दैन। त्यस्तै उपचारमा रहेका विरामी र उसका परिवारलाई रोग, अवस्था, भइरहेको उपचार, हुनसक्ने खराब असरहरुका बारेमा "सक्दो र बुझ्ने भाषामा" बुझाउने प्रयास गर्नुपर्छ। यो उसको कर्तव्य र दायित्व पनि हो। यहाँ मैले "सक्दो र बुझ्ने भाषा" किन भनेको भन्दा हाम्रो जस्तो विरामी र डाक्टरको अनुपात एकदमै धेरै भएको ठाँउमा, एउटै डाक्टरले दिनमै सयौं विरामी हेर्नुपर्ने हुन्छ र सबैलाई चाहेको र दिनुपर्ने जति समय दिन सकिदैन। त्यस्तै डाक्टरले रोग उपचारका बारेमा भनेका आधाभन्दा धेरै कुरा सामान्य मानिसले बुझेका हुदैंनन्। त्यसैले समयले भ्याएजति र सम्भव भएसम्म विरामी र उसका परिवारलाई रोग, त्यसका असर उपचार र त्यसका सम्भावित परिणामहरुका बारेमा सरल भाषामा जानकारी दिने गर्नुपर्छ। साथै उपचार भनेको औषधी मात्र होइन। विरामी अवस्थामा विरामी र उसका परिवारका विश्वासिलो साथी र सहयोगीका भुमिकामा डाक्टर र नर्सहरुले आफूलाई उभ्याउन सक्नुपर्छ। खाली रोगका कम्लिकेसन, औषधीका साइड इफेक्टका बारेमा मात्र कुरा सुनाएर विरामी तर्साउने र 'राखे राख्नुस्, नराखे अरु अस्पताल लैजानुस' भन्ने प्रवृति (जुन सरकारी अस्पतालहरुमा बढि देखिन्छ) पनि उचित होइन। त्यस्तै विरामी अन्त जाला भनेर जस्तोसुकै ठुलो अप्रेशनलाई नि सामान्य भन्ने, हुनसक्ने कम्लिकेसनहरु पनि लुकाउने बानी (जुन प्राइभेट नर्सिङ होमहरुमा बढि पाइन्छ) पनि ठिक होइन।
लेखको शुरुमा भने जस्तो स्वास्थ्य क्षेत्र पनि विश्वासमै अडेको छ। तर आजभोली यसको बढ्दो व्यापारीकरण (नाफा कमाउने राम्रो व्यवसाय बन्दै छ, औषधी पसल, पोलीक्लिनिक र प्राइभेट नर्सिङ होमहरु), आवश्यक अनुगमनको कमि, विरामीहरुमा पनि चेतनाको कमि, आफ्नो रोग र उपचारका बारेमा उचित जानकारी लिनुभन्दा "पैसा जति नि तिर्छु, तर ठिक हुनुपर्छ" भन्ने प्रवृति आदीले यो क्षेत्रमा अविश्वासको खाल्डो खन्दैछ। त्यसमाथि बेलाबेलामा समाचारमा आउने 'अस्पताल, डाक्टरको लापरवाही' शिर्षकका खबरहरुले पनि यसलाई अझ बढि मौलाउन दिएको छ। यी छापा, रेडियो, टिभीमा आइरहने यस्ता समाचारहरु पूर्णरुपमा झुठ त पक्कै होइनन, हावा नचलीकन पात त पक्कै हल्लदैन। तर पनि भएको घटनाको राम्रो खोजखबर गरेर दुवै पक्षका कुरा राखेर विज्ञका पनि विचार राखेर त्यसको विश्लेषण गर्नुभन्दा कहिले इमोसनल र कहिले डरलाग्दो ब्याकग्राउण्ड म्युजिक सहित 'हिन्दी फिल्मी स्टाइल'मा दिइने यस्ता समाचारले घटनालाई अतिरन्जित बनाएका हुन्छन्। पत्रकार महोदयहरुमा यो क्षेत्रमा प्रोफेसनालिज्म कहिले आउने होला?
अब सुध्रिन शुरु कसले गर्ने त?
यसले, उसले भन्नु भन्दा पनि हामी सबैले नै सुध्रिनु जरुरी छ र यसको शुरुवात गर्न ढिलो गर्नुहुन्न। सबैले आफ्नो मात्र भलो सोच्ने, आफ्नो मात्र दुनो सोझ्याउने, अरुको मात्र दोष देख्ने र अरुलाई मात्र दोष दिने, घटनाको वास्तविकता नबुझी हल्लाको पछि मात्र दौडने नगरी आपसी छलफल गरेर विश्वासलाई कायम राख्दै एकअर्काको सहयोग गरेमा नै सबैको भलाई हुनेछ। र तपाईं हामी बीच बन्दै र बढ्दै गरेको यो 'अविश्वासको खाडल' चाडै नै पुरिनेछ भन्ने आशा राखौ।
अन्तमा,
डाक्टरहरुलाई यस्तो ड्रेस पक्कै पनि सुहाउदैन र उनीहरु लगाउन चाहदैनन् पनि। :)