Friday, August 14, 2015

अप्रेसन गर्दा शरीरभित्र रड छोडियो...

बीरबहादुर थापा(नाम परिवर्तन)भाँचिएको खुट्टा लिएर हजारौं खर्च गरी गाँउबाट शहरको ठुलो भनाउदो अस्पतालसम्म आईपुगेका थिए। लाखौं शुल्क तिरेर अप्रेसन पनि भयो, उनलाई निको हुने आस पनि थियो। तर अप्रेसनपछी पनि घाऊ निको हुनुको सट्टा झन पाक्दै गयो। घर जान्न भन्दाभन्दै नि डाक्टरले जबर्जस्ती डिस्चार्ज गरिदिए। अत्यधिक दुख्न थालेपछी अर्कै अस्पतालमा देखाउन जाँदा एक्सरे गरेपछी पो थाहा भयो उनको भाचिएको खुट्टा भित्र त अप्रेसनको बेला लामो रड नै छुटेको रहेछ। रडको साथमा थुप्रै नटबल्टुहरु नि छुटेका रहेछन्। डाक्टरको चरम लापरवाहीका कारण विरामीको रोग निको हुनुको साटो झन पिडा थपिएको छ। मेडिकल क्षेत्रमा यस्तो हदैसम्मको लापरवाहीको अन्त कहिले होला? सम्वेदनशीलताको कमी, व्यापारीकरणको कारणले यस्ता लापरवाहीहरु दिनानुदिन बढ्दै गईरहेका छन्, कहिले मुटुको भल्भ फेर्ने भनेर फलामका टुक्रा मुटुभित्र छोडिदिन्छन्, कहिले चालकलाई कडा एन्टीबायटिक दिएर दुर्घटना गराइदिन्छन्, कहिले अप्रेसन गर्नै नपर्ने रोगलाई नि अप्रेसन गर्नुपर्छ भनेर जबर्जस्ती पैसा असुल्ने गर्छन्।

माथिको घटना एउटा काल्पनिक व्यङ्य मात्र हो भनेर बुझिसक्नुभयो होला। तर यही तरिकाले स्वास्थ्य सम्बन्धी खबरहरुमा विना कुनै मेडिकल ज्ञान जथाभावी लेख्दै जाने हो भने भविष्यमा यस्ता खबर पनि नछापिएला भन्न सकिन्न। आफूलाई नेपालको नम्बर एक पत्रीका भन्ने पत्रीकामा छापिएको समाचार पढेपछी म लगायत धेरै मेडिकल क्षेत्रका साथीहरुलाई यस्तै लागेको छ। 'अप्रेसन गर्दा पेटमै पाइप छाडियो' जस्तो सनसनीपूर्ण शिर्षक देखेपछी के रहेछ भनेर पढ्दा पत्रकार महोदयले अरुको बेइज्जती गर्न खोज्दा आफ्नै धोती फुस्केको थाहा नपाएका रहेछन्। म्रिगौलाको ढुङ्गाको अप्रेसनपछी जुन पाइप छोडियो भनेर लापरवाहीको नाम दिइएको छ, विचरा उहाँलाई के थाहा कि त्यो उपचारकै एउटा प्रकृया हो भनेर। र ठूला पत्थरहरुको अप्रेसन गर्दा सबै ढुङ्गा एकैपटकमा ननिस्कन पनि सक्छ वा एकपटक अप्रेसन गर्‍यो भन्दैमा अब कहिले पनि पत्थरी हुँदैन भन्ने पनि हैन। जहाँसम्म यो कुराहरु विरामी वा विरामीका आफन्तहरुलाई किन भनिएन भन्ने सवाल छ, अप्रेसन गर्ने सर्जनले ती कुराहरु अवश्य भनेको हुनुपर्छ। या त उनीहरुले त्यसलाई सिरियस्ली लिएनन् वा बुझ्न चाहेनन्। हाम्रो समाजमा प्राय: विरामीहरु अस्पताल पुगेपछी सबै जिम्मा डाक्टर, नर्सको हो, रोगबारे उपचार पद्दती बारे बुझ्न नै चाहदैनन्। अनि हामी डाक्टरहरु पनि यी सबै कुरा बुझाउनलाई झन्झट मान्छौं।

पत्रकारिता भनेको संवेदनशील पेशा हो, हातमा कलम बोक्नु भनेको समाजलाई सहि बाटो देखाउने, गलत कुरालाई सबैको सामु ल्याउने जिम्मेवारी हो। तर न्युज ब्रेक गर्ने नाममा, आफ्नो बिक्री बढाउने नाममा समाचारलाई तोडेर, मोडेर, थपेर, घटाएर सनसनीपूर्ण बनाएर पिरो, अमिलो चाट जसरी बेच्ने पीत पत्रकारिता बढ्दो छ। मनोरन्जन क्षेत्रका तातापिरा गफहरु लेखे जस्तै मेडिकल क्षेत्र जस्तो संवेदनशील विषयलाई हल्का पाराले लेखिदिनाले समाजमा नराम्रो असर परेको छ। हो, मेडिकल क्षेत्रमा पनि सुधार गर्नुपर्ने धेरै कुराहरु छन्, तिनका बारेमा कुराहरु बाहिर आओस्, सबैले थाहा पाउन् भन्ने हामीलाई पनि लाग्छ। जस्तो विना रजिष्ट्रेसन, विना कुनै पढाई झोले डाक्टर बनेर दुनियाँ ठगिरहेका छन्, मान्छेका अंगहरुको साइज ग्यारेन्टीका साथ बढाइदिने, घटाइदिने भनेर तपाईंकै पत्रपत्रीकाहरुबाट प्रचारप्रसार गरिरहेका छन्, विना प्रेस्क्रिप्सन अन्धाधुन्द एन्टीबायटिक र अनावश्यक औषधीहरु चलाएर एकातिर पैसा नि लुट्दै, अर्कोतिर जनताको स्वास्थ्यमा नि खेलवाड गर्दैछन्। मेडिकल क्षेत्रमा पनि अनइथिकल व्यापारीकरण बढेको छ। राम्ररी खोज्ने हो भने यस्ता धेरै लापरवाहीका घटनाहरु देख्न पाईन्छन् तर त्यसलाई कमसेकम साधारण मेडिकल ज्ञान भएको आँखाले हेर्नुपर्छ। जसरी मलाई पत्रकारिता आउँदैन, त्यसरी नै पत्रकार साथीहरुलाई मेडिकल ज्ञान छैन भन्ने लाग्छ। तर आफूलाई थाहा नभएको कुरा लाखौं पाठकहरुले पढ्ने पत्रीकामा लेख्दा त सम्बन्धित विज्ञहरुसित परामर्श गरेर पो लेख्नुपर्थ्यो। त्यसो गर्नुभएको भए तपाईंको लेख स्तरिय पनि बन्थ्यो र समाजमा स्वास्थ्य सम्बन्धी ज्ञान पनि बढ्न जान्थ्यो। बरु भन्नुस् त्यस्तो सहयोग चाहिन्छ भने, हामी सकेसम्म सहयोग गर्न तयार छौं।

तपाईंको कलममा कति तागत छ भन्ने कुरा तपाईंको लेख कति पढियो, कति शेयर भए, मान्छेले कस्ता धारणा बनाए, कस्ता कमेन्ट गरे, त्यसैले देखाउछ। तर आफ्नो सस्तो लोकप्रियताको लागि विना अनुसन्धान लेखिएका यस्ता लेखले समाजमा मेडिकल क्षेत्रप्रती हेर्ने नजरमा कस्तो असर गर्छ, सम्बन्धीत डाक्टरको आत्मसम्मानमा कस्तो चोट पुग्छ भन्ने कुरा कहिले ख्याल गर्नुभएको छ? हुन त अरुको सम्वेदनामा पर्ने असर बारे पत्रकारितामा पढाईन्न होला। तैपनी सत्यतथ्य जे जस्तो हो त्यो त्यसरी नै अघी ल्याउनु भनेर त तालिम दिइएकै होला।

हुन त यो घटना पहिलो हैन, यस्ता संवेदनहिन पत्रकारिता पहिले पनि देखी आएको हो र केही वर्षदेखी बढ्दो छ। यो कुरा पत्रकारिता क्षेत्रका जिम्मेवार व्यक्तिहरुले बुझिरहनुभएकै होला। केही हप्ताअघी एउटा विरामीको फेसबुक स्टाटसमा लेखिएको कुरालाई सम्बन्धित अस्पताल र डाक्टरसँग एकपटक पनि बुझ्दै नबुझी केही अनलाइन न्युजपोर्टलहरुले सन्सनीपूर्णरुपमा छापेका थिए। सोसल मिडियाको जमानामा यस्तो कुरा आगो जसरी फैलिहाल्यो, हुन त मान्छेहरु पनि छापिएका हरेक न्युज पत्याइहाल्छन्, पूर्वाग्रही कमेन्ट गरिहाल्छन् र शेयर पनि गरी हाल्छन्। अनि त्यो समाजको ठुलो हिस्साको धारणा बन्न जान्छ। कुरै नबुझी एकतर्फीरुपमा लेख्नुको साटो सम्बन्धित डाक्टरसँग बुझेर विषयबारे ज्ञान लिएर लेख्न बसे आफ्नो नि ज्ञान बढ्थ्यो, समाजमा नि सहि सन्देश जान्थ्यो।

लगभग ४ वर्ष अघी पनि पेटको अप्रेसन गर्दा मिर्गौला निकालियो भनेर केही अब्बल भनाउदा पत्रपत्रीकाहरुले हंगामा गरेका थिए। त्यसको बारेमा मैले त्यती बेला नै एउटा ब्लग लेखेको थिए, यहाँ हेर्नुस्- 'कान्तिपुर सम्पादकीय सम्बन्धमा...' यो लेख सम्बन्धित पत्रीका, पत्रकारसम्म पुग्यो कि पुगेन थाहा भएन तर त्यसपछी न त त्यो घटना बारे केही समाचार आए, न सच्याएर केही लेखियो नै। मैले त्यती बेला नि लेखेको थिए- "कागले कान लग्यो भन्दा कान छाम्न छोडेर कागको पछी दौडने १०० मीटरका धावक जस्ता पत्रकारहरुको दौडने र दौडाउने बानी केहि समय अघिको "अनुजा काण्ड"ले पनि प्रस्टै देखाएको थियो। भलै कान्तिपुरले पछी त्यसमा क्षमा माग्यो। तैपनि पत्रिका र पत्रकार भनेका अझै पनि सबैभन्दा भरपर्दा माध्यम हुन्। उनीहरुको आवाज सबैले सुन्छन् र धेरैले पत्याउछन् पनि। त्यसैले त हामी उनीहरुको व्यवहारमा र रिपोर्टिङमा धावकियपन भन्दापनि सत्यता र सम्वेदनशीलताको आशा गर्छौं।" तर यो प्रव्रितीमा अझै केही परिवर्तन आएको रहेनछ, बरु झन बढेको झै लाग्दैछ।


यस्ता घटनाहरुमा हामी डाक्टरहरु पनि या त फेसबुकमा आफ्नो ग्रुपमा पोस्ट गरी पत्रकारहरुलाई एकतर्फी गाली मात्र गरेर बस्छौं, वा यस्ताहरुसँग के बोल्नु भनेर चुप बस्दिन्छौं। नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एसोसियसन जस्ता मेडिकल क्षेत्रको लागि काम गर्ने भनिएका संस्थाहरुले पनि खै किन हो यस्ता कुराहरुमा आवाज नउठाएको? यो विषयमा सम्बन्धित पत्रकार र पत्रीकाको ध्यानाकर्षण होस् र माफी सहित घटनालाई सहिरुपमा सच्याएर फेरी लेखियोस् भन्ने मेरो माग छ। हुन त नेपालको एक नम्बरको पत्रीकाले हाम्रो कुरा के मान्ला र। यसमा एनएमसी, एनएमए ले केही पहल गर्छ कि भन्ने आस छ। साथै आउँदा दिनहरुमा मेडिकल क्षेत्रको सुधारको लागी, मेडिकल जर्नालिज्मको विकासको लागि डाक्टर र पत्रकारहरु मिलेर संयुक्तरुपमा केही काम होस् भन्ने पनि चाहना राख्छु।  

No comments:

Post a Comment