यो लेख कसैलाई बचाउ गर्न, कसैलाई दोषी देखाउन, घटनालाई तोड्न, मोड्न कसैबाट प्रायोजित भएर लेखिएको हैन। यो मेडिकल क्षेत्रमा व्याप्त बेथितीहरु र त्यसका गलत विश्लेषण र सम्प्रेषणहरुले यो क्षेत्रमा बढ्दै गएको अविश्वासको खाडलदेखी चिन्तित भएर एउटा सक्कली डाक्टरको कलमबाट निस्केको स्वस्फूर्त लेख हो। - लेखक
केही दिन अघी एउटा साइटमा यस्तो समाचार छापिएको थियो। उक्त समाचार लाख पटक भन्दा धेरै पढिएको थियो, हजारौं पटक शेयर गरिएको थियो।
फेसबुकमा मृतकका आफन्तले
यस्तो लेखेको नि भेटिएको थियो। यो शेयर गरिएको लिन्क नै ३८ हजार भन्दा धेरैले हेरेका र लाइक गरेका थिए।
पत्रकार र आफन्तले घटना के हो र दोषी को भन्ने
फैसला सुनाइसकेपछी जनताले आफ्ना कुरा (गाली, आक्रोस, श्राप) थपेर
कमेन्ट गर्ने त भए नै।
घटना भएको सत्य हो, हिंडेर गएकी
विरामीलाई औषधी दिएपछी मृत्यु भएकै हो, अस्पतालले पनि क्षतिपूर्ती दिने सम्झौता गरेकै होला। त्यसो भए मलाई किन खसखस त?
(कसैलाई लाग्ला यो
डा. भोला रिजालको बचाउमा लेखिएको लेख रहेछ।
उहाँसँग मेरो मेडिकल शिक्षाको व्यापारीकरणबारे फरक मत छ र यो उहाँको अस्पतालको
समर्थनमा लेखिएको लेख हैन। यी दुई सम्बन्धित कुरा पनि हैनन्। गलतलाई गलत र सहिलाई
सहि भनिनुपर्छ भनेर लेखेको हुँ।)
धेरै साथीभाईहरुले भन्छन् कि "सबै ऐरेगैरे वेबसाइटहरुले के लेख्छ,
कसरी लेख्छ भनेर कमेन्ट गरेर बस्न सकिन्न,
साँचो कुरा के हो आँफैं थाहा भईहाल्छ, नबिराउनु नडराउनु"। तर यहाँ त कुखुरा
मर्यो भन्ने भन्दा नि स्याल पल्क्यो भन्ने चैं डर भईसकेको अवस्था हो। यस्तो गरेर
लेखिएका समाचारहरु नै धेरै पढिन्छन्, शेयर गरिन्छन् अनी समाजले यसैबाट नै आफ्नो धारणा नि बनाइरहेको हुन्छ। यही
समाचार १ लाख भन्दा धेरै पटक पढिएको, हजारौं पटक शेयर गरिएको छ
र यसमा हजारौंले कमेन्ट गरेका छन्। त्यसैले यस्ता घटनाहरुको गलत तरिकाले बयान
गरिनु जती डरलाग्दो हो त्यो भन्दा घातक सहि तरिकाले टुंगो नलाइनु हो। जसले गर्दा
यसबारे भ्रम समाजमा बसीरहन्छ र समाजको स्वास्थ्य क्षेत्रप्रतीको दृष्टिकोणमा नै
असर गर्छ।
समाचार लेखिएको
तरिका बारे विश्लेषण गरौं।
पूरै एकतर्फी कथा। के गल्ती भएको हो, कसको गल्ती हो, ज्यान कसरी गयो,
सबै आँफैले निर्णय गरेर लेखिएको लेख। शिर्षक 'भोला रिजालको ओम अस्पतालमा डाक्टरले गलत औषधी
खुवाएपछी महिलाको मृत्यु'। औषधी गलत भनेर
कल्ले भन्यो? पत्रकारज्यूले नि
मेडिसिन वा फार्मेसी पढ्नुभएको भए छुट्टै कुरा, नत्र कन्ट्रास्ट सिटी स्क्यान गर्नको लागि दिइने ‘ओम्निपाक’ भन्ने औषधी
विरामीमा त्यही जाँचको लागि दिनु कसरी गलत भयो? त्यो गलत औषधी भए खासमा उनलाई कुन औषधी दिनुपर्ने थियो त?
इन्जेक्सनमा दिनुपर्ने मुखबाट दिएर यस्तो भयो
भन्ने कुरा नि आयो। त्यो औषधीको अनलाइन जानकारीमा पनि हेर्नुभए हुन्छ, त्यो इन्जेक्सन, ढाडबाट, मुखबाट नि अवस्था
र जाँच अनुसार दिन मिल्छ। त्यसैले विरामीको जाँचको लागि दिईएको औषधीलाई “गलत औषधी दियो, विष दियो” भनेर प्रचार गरिनु सरासर
गलत हो। विरामीको मृत्युले विक्षिप्त बनेका आफन्तले “विष दियो” भन्यो भन्दै लेखमै
त्यही लेखिदिनु कहाँसम्मको ‘प्रोफेसनालिज्म’ हो?
'हिंडेर गएका
महिलाको आधा घण्टामै मृत्यु'
यो एकदमै अप्रत्याशित दु:खदायी घटना हो, तर हिंडेर गएका भन्दैमा स्वस्थ हुन् भन्ने हुँदैन। हिंड्न
सक्नु, नसक्नु भनेको बाहिरबाट
देखिने कुरा हो, तर उसको रोग के
थियो, अवस्था कस्तो थियो भन्ने
कुरा फरक हो। प्रेसर २२०/१२० भएका पनि हिंडेर अस्पताल आउन सक्छन्, रगतको मात्रा (हेमोग्लोबिन) २-३ भएका नि हिंडेर आउन सक्छन्। त्यसैले मिडियाले हिंडेर
आएको विरामी भनेर भन्नु अघी उसको रोग के हो, अवस्था के थियो, हुनसक्ने जटिलता के थियो भनेर बुझ्नु जरुरी हुन्छ। दुनियाँले पढ्ने गरी लेख लेखिसकेपछी
गलत भएमा मलाई “त्यो विषयमा जानकारी भएन” भनेर उम्कन पाइदैन। थाहा थिएन भने डाक्टर वा
स्वास्थ्यकर्मीलाई सोध्नुपर्छ। लेखमा देखाइएका डकुमेन्टहरुका आधारमा उक्त विरामीको
खुट्टा सुन्निएको, तल्लो पेटमा केही
डल्लो भएको हुनसक्ने (पेल्भिक मास) भन्ने बुझिन्छ। मेडिकल भाषामा त्यसलाई डिभीटि
अर्थात् डिप भेन थ्रोम्बोसिस अर्थात खुट्टाका भित्री तहका रक्तनली (शीराहरु)मा रगत
जमेर बसी खुट्टा सुन्निएको अवस्था भनेर भनिन्छ। त्यसैले उनको तल्लो पेटमा भएको
मासुको डल्लो (पेल्भिक मास) के हो भनेर जाँच गर्न औषधी दिएर गरिने सिटी स्क्यान (सिटी
एन्जियोग्राफी) गर्न भनेर ओम अस्पताल पठाइएको थियो।
यी हुन् गलत औषधी खुवाउने डाक्टर भनेर जसको फोटो देखाइएको छ, उनी आँफैले आफू रेडियो टेक्निसियन भनेर भनेका
रहेछन्। "अस्पताल वा औषधी पसलमा काम गर्ने पुरुष जती सबै डाक्टर, महिला जती सबै नर्स" नपढेका नबुझेका
साधारण जनताहरुले मात्र यसो भन्छन् होला भन्ने मेरो सोचाइ थियो। तर हैन रहेछ,
देशको चौथो अंग भनेर चिनिने कलम भन्ने
शक्तिशाली हतियार बोक्ने पत्रकार साथीहरु पनि यही भ्रममा हुनुहुने रहेछ। अब शुरुमा
डाक्टर भनेको के हो, नर्स भनेको के हो,
ल्याब टेक्निसियन भनेको के हो, रेडियोग्राफर भनेको के हो भनेर पढाउन शुरु
गर्नुपर्ने देखियो। थाहा नपाउनु नराम्रो हैन, सबैलाई सबै कुरा थाहा पनि हुँदैन। मलाई पनि पत्रकारिताको
धेरै कुरा थाहा छैन तर थाहा छैन भने त्यसबारेमा बोल्नु, लेख्नु अघी त्यसबारे बुझेका मान्छेहरुसँग सोध्नुपर्छ।
हावैहावामा सबै जानेको छु भन्ने भ्रममा दौडिनु हुँदैन र दुनियाँलाई दौडाउनु पनि हुँदैन।
‘अस्पतालले साँढे
२१ लाख दिने निर्णय गर्यो’ भनेर नि लेखिएको
रहेछ। कतीले “गल्ती नगरेको भए यत्रो
पैसा किन त्यसै दिन्थ्यो त? पक्कै पनि केही
लुकाउनका लागि यसो गरेको हो” भनेर अन्दाजैको
भरमा निर्णय गरेको पाइयो। त्यो सहि हुन पनि सक्छ। तर त्यही लेखमा लेखिए अनुसार 'पहिले सामान्य वादविवाद भएको र पछी आन्दोलनले हिंसात्मक रुप लिन थालेपछि उक्त
क्षतिपूर्ती दिने मौखिक सम्झौता भएको' भनेर लेखिएको छ। अस्पतालले आफ्नो सम्पत्तीमा
धेरै हानी नोक्सानी नपुगोस्, अस्पतालको नाम
मिडियामा नआओस् भनेर सामसुम पार्न त्यसो गरेको हुनसक्दैन? मेरो अनुभवमा प्राइभेट अस्पतालहरुले धेरैले त्यसो गरेको
पाईन्छ। गल्ती हुने बेलामा त दिने भए नै नहुने बेलामा पनि धेरै हल्ला नहोस्,
बाहिर नाम नआओस् भनेर केही पैसा दिएर घटना मिलाउने
गरेको देखिएको छ।
हिजोआज कती प्राइभेट अस्पतालहरुमा चैं केही यस्ता समूहहरु हुन्छन् रे, जो कुनै विरामीको मृत्यु भएमा विवाद बढाउने,
उचाल्ने र पर्यो भने तोडफोडमा पनि उत्रने
हुन्छन् रे, बदलामा आएको
क्षतीपूर्तीको केही प्रतिशत उनीहरुको गोजीमा जाने शर्तमा। यो सुनेको कुरा हो,
सहि नहुन पनि सक्छ, सहि नहोस् पनि।
हुनुपर्ने के थियो? छानवीन कसरी गरिनुपर्थ्यो?
विरामीको मृत्यु अप्रत्यासित भएको हो भने मृत्युको कारण पत्ता लगाउन
पोस्टमार्टम गरिनुपर्छ। लेखबाट पाएको जानकारी अनुसार यो केसमा मृत्युका हुनसक्ने
कारणहरुमा एउटा कन्ट्रास्टको लागि दिईएको औषधीको एनाफाइलाक्सिस(Anaphylaxis) वा एलर्जी हो भने
अर्को खुट्टाको डिभीटी(DVT)बाट भएको पल्मोनरी ईम्बोलिज्म(Pulmonary Embolism) अर्थात खुट्टाका रक्तनलीमा
जमेको रगत मुटु हुँदै फोक्सोमा गएर फोक्सोले काम नगर्ने हुनु। यी दुवै अवस्थामा
विरामी तुरुन्त सिकिस्त हुने र समयमा उपचार नपाए र कहिलेकाही उपचार गर्दागर्दै पनि
मृत्यु हुनसक्छ। डिभिटीमा पल्मोनरी ईम्बोलिज्म भएर विरामी मर्नुमा डाक्टर वा कोही
स्वास्थ्यकर्मीको कुनै दोष हुन्छ जस्तो लाग्दैन। एक त पल्मोनरी ईमबोलिज्म भएको
तुरुन्त पत्ता लगाउन गार्हो हुन्छ त्यस माथि नेपालमा डिभिटीपछी पल्मोनरी ईम्बोलिज्म
हुन नदिन गरिने उपचार धेरैजसो अस्पतालहरुमै छैनन्। बेलाबेलामा गर्भवती र सुत्केरी
महिलाहरुको अचानक मृत्यु हुने कारणहरु मध्ये यो पनि एक हुनेगर्छ।
अर्को कारण एनाफाइलाक्सिस वा ज्यान लिनेगरी भएको एलर्जी। कतिपय औषधीहरुको सेवन
गर्दा वा सूईबाट दिदा हजारौंलाखौंमा एक दुईजनालाई यस्तो हुनसक्छ। पेनिसिलिन
इन्जेक्सन, दुखाइका सूईहरु, कन्ट्रास्टका औषधीहरुको प्रयोगमा यस्तो देखिन
सक्छ। यस्तो समस्याको उपचारको लागि एड्रेनालिन इन्जेक्सन दिनुपर्ने हुन्छ। यस्ता
एनाफाईलाक्सिस रियाक्सन हुनसक्ने औषधीहरु प्रयोग गरिने स्थलहरुमा एड्रेनालिन
इन्जेक्सन थिए कि थिएनन्? त्यो अवस्था
तुरुन्त पत्ता लगाइ इन्जेक्सन दिईएको थियो कि थिएन? एनाफाईलाक्सिस रियाक्सनको उपचारमा गरिनुपर्ने प्रकृयाहरु
गरिएका थिए कि थिएनन्? गर्नुपर्ने सबै
उपचार समयमै गरेर पनि विरामीको मृत्यु भएको हुनसक्छ। त्यस्तोमा विरामीलाई मारेको
भन्न कदापी मिल्दैन। त्यो हरसम्भव प्रयास गर्दा पनि बचाउन नसकिएको हो। अस्पतालमा
भएका उपचारका रेकर्डहरुको आधारमा के गरिएको थियो थिएन भनेर छानवीन गर्न सकिन्छ।
छानवीनबाट उपचारमा गल्ती भएको हो वा कमजोरी भएको हो भने के कहाँ गल्ती भएको हो
पत्ता लगाऔं, अनी भविष्यमा त्यस्तो हुन नदिन के सुधार गर्न
सकिन्छ त्यो गरौं। उपचार गर्दागर्दै पनि बचाउन नसकिएको हो भने त्यसबाट भविष्यको
लागि के पाठ सिकिएको हो मेडिकल फिल्डमा शेयर गरौं, सबैको लागि शिक्षाको काम
गर्न सक्छ। व्यवस्था सुधार हुने भनेको त यसरी पो हो। तोडफोड गरेर क्षतीपूर्ती
मात्रै लिने दिने, घटनाको सहि छानवीन नहुने, गल्ती, कमजोरीको सुधारको प्रयास नहुने हो भने अहिलेको
घटना त साम्य होला तर यसले एकदमै गलत नजिर बस्छ र भविष्यमा पटक पटक फेरी यस्तै
हुने सम्भावना बढेर जान्छ र थप तोडफोड हुने, अस्पताल र स्वास्थ्यकर्मीहरु
असुरक्षित हुने खतरा एकदमै बढेर जान्छ, जसले अन्तमा असर विरामीको
उपचारमा नै पर्ने हो। दिनैपर्ने औषधी दिदा नि हुनसक्ने जटिलताको लागि आफूलाई दोष
लगाइन्छ भने कसले जोखिम लिएर औषधी दिन्छ? कसले जोखिम लिएर अप्रेसन
गर्छ? भोली पेनिसिलिन इन्जेक्सन लगाउन नि आइसीयु भएको अस्पतालमा
रिफर गरियो भन्ने सुन्नुपर्दा अचम्म नमाने हुन्छ।
हो अस्पतालमा कोही पनि मर्छु भनेर जादैन, बाच्छु भनेरै जाने हो, तर अस्पतालमा पनि कोही स्वास्थ्यकर्मी विरामी मार्छु भनेर
बसेको हुन्छ जस्तो लाग्दैन, बचाउछु भनेर नै
बसेको हुन्छ जस्तो लाग्छ। सधैं बचाउन सकिदैन त्यो अलग कुरा हो। तर हरेक बचाउन नसकिएका विरामीको मृत्युमा उनै
बचाउन लागेका स्वास्थ्यकर्मीहरुलाई नै दोष लगाइन्छ भने कसैले आफ्नै ज्यान
हत्केलामा राखेर किन विरामीको उपचार गर्न अघी सर्छ र?
औषधी दिएर विरामीको मृत्यु भयो भन्दैमा दिने व्यक्ति दोषी, औषधी विष हो भन्न मिल्दैन। सबै औषधी एक
प्रकारको केमिकल नै हो, सबैको धेरै थोरै
केही न केही साइड ईफेक्ट हुन्छन् नै। त्यसैले त भनेको नि औषधीलाई चना र भट्मास
जसरी नबेचौं, नखाऔं, आवश्यक पर्ने औषधी आवश्यक मात्रामा मात्र खाऔं।
अन्तमा घटनाको सहि छानवीन होस्, सत्य तथ्य खुलोस्, निर्दोषलाई दोष
नलगाइयोस्, गल्ती भएको भए कार्वाही
होस्, भविष्यमा यस्तो नहोस्
भनेर सावधानी अपनाईयोस्, यस्ता घटनाहरु
लेख्नु अघी मिडिया जिम्मेवार बनोस्, आँसुको व्यापार नगरोस्, दुनियाँ समाजले
पनि एउटै न्यूजका आधारमा आफ्नो धारणा बनाउनुको साटो समाचारको शैली र विश्वासनीयता
हेरेर निर्णय गरोस्।
हिजोआज मेडिकल क्षेत्रमा स्वास्थ्यकर्मी र विरामीका बीच विश्वासको खाडल बनेको
छ। विरामीलाई 'यो डाक्टरले मलाई
नराम्रो पो गर्ने हो कि, यो नक्कली डाक्टर
पो हो कि, यसले मेरो ज्यान पो लिने
हो कि' भन्ने शंका छ भने
डाक्टरलाई 'यो विरामीलाई केही भयो
भने मलाई हातपात गर्ने पो हो कि, सहि गर्दागर्दै
नि परीणाम सोचेजस्तो नआए मलाई क्षतीपूर्ती माग्दै तोडफोड पो गर्ने हुन् कि'
भन्ने डर छ। यस्तो वातावरणमा कसरी सहि ढंगले
उपचार गर्न सकिन्छ? यो अवस्था आउनुमा
स्वास्थ्यकर्मीहरु, विरामी, विरामीका आफन्त, मिडिया सबैको केही न केही भूमिका छ। यसको समाधान नि सबै
मिलेर मात्र गर्न सकिन्छ, जुन बेलैमा नगरिए
देशको स्वास्थ्य क्षेत्रमा ठुलो संकट आउने स्पष्ट देखिन लागेको छ।
No comments:
Post a Comment