Sunday, June 26, 2016

‘लखतरान डाक्टर’लाई एनएमएको अपिल कति व्यवहारिक?

२०७२ चैत्र १६ गते नेपाल मेडिकल एसोसिएसनको अपील पत्रपत्रिकाहरुमा छापिएको थियो, जसका केही वाक्यांशहरु यस्ता छन्,‘चिकित्सकहरु मनोटोनस हुने गरेका’ र ‘व्यक्तिगत जीवन र परिवारप्रतिको जिम्मेवारीमा समेत ह्रास आएको गुनासो।’

यसमा मेरो मत यस्तो छ। डाक्टरको दैनिकी एकदम व्यस्त हुन्छ, अस्पताल, क्लिनिक, बेलाबेला नाइट ड्युटी, घरमा पनि पढाई। लगातारको यो व्यस्तताले व्यक्तिगत स्वास्थ्य र पारिवारिक जीवनमा असर त पार्छ नै। यो कसैले गुनासो गरेपछि मात्रै बुझिने कुरा थिएन। संघमा पदासिन महानुभावहरुले आफ्नै वर्षौंको अनुभवका आधारमा पनि थाहा पाउनु पर्ने हो। अनि अहिले आएर यो एक दिने छुट्टीको लागि अपिल गर्ने जुक्ति कहाँबाट आयो? अचम्म लाग्यो! जे होस् ढिलै भए पनि डाक्टरहरुको समस्या बारे सोच्ने मौका मिलेछ।

‘सरकारी, गैरसरकारी तथा सम्पूर्ण स्वास्थ्य सेवा प्रदायक संघसंस्थाहरुले अनिवार्य रूपमा हप्ताको एक दिन चिकित्सकलाई सार्वजनिक विदा मिलाउन हुन संघ हार्दिक अपिल गर्दछ ।’

कुरा एकदम सही हो। कदम एकदम राम्रो हो तर यो अपिल औपचारिकता निभाउन मात्रै हो कि? यो देशमा अपिल गरेर कसैले कुनै कुरा सुन्छ र! नियम बनाएर लाद्न खोज्दा त नसकिने देशमा सबै सरकारी, गैरसरकारी र सम्पूर्ण स्वास्थ्य सेवा प्रदायक संघसंस्थाहरुलाई  र डाक्टरहरुलाई एक दिने छुट्टी मिलाउन पत्रिकामा अपिल छापेर एनएमएले जग हँसाएको छ। तीमध्ये कुनै पनि सरकारी वा निजी अस्पतालका सञ्चालक वा व्यवस्थापकले यो अपिल पढेर ‘ए एनएमएले अपिल गरेछ, अब हाम्रा डाक्टरलाई कसरी छुट्टी मिलाउने होला’ भनेर एकपटक पनि सोचेको भए आठौं आश्चर्य हुनेछ।
अपिलमा उल्लेख गरे जस्तो डाक्टरहरुको व्यस्त र ‘मोनोटोनस’ जिन्दगीप्रति र यसले गर्दा बिरामीको उपचारमा पर्न सक्ने असरप्रति साँच्चै एनएमए गम्भीर छ भने लागू भएर छाड्छ यो। यसमा केही गृहकार्य पक्कै गरेको हुनुपर्छ। औपचारिक रुपमा एउटा अपिल छापेर सस्तो लोकप्रियता खोजेको नहोस्। वैशाख आउन धेरै दिन बाँकी छैनन्। यो अपिलप्रति संघ र स्वास्थ्य संस्थाहरु कत्तिको गम्भीर छन्? चाँडै देख्न पाइएला।

अपिल आएको भोलिपल्ट (चैत्र १७ गते ) एक राष्ट्रिय दैनिक पत्रिकाको अग्रपृष्ठमा कार्टुन सहितको समाचार छापियो, ‘डाक्टर लखतरान’ शिर्षकमा। स्वास्थ्य र स्वास्थ्यकर्मीको समस्यालाई लिएर लेखिएको समाचारले कहलिएको राष्ट्रिय दैनिकको मुख्य पेजमा स्थान पाएको थियो । यो राम्रो कुरा पनि हो। अपिलमा सबै कुरा समेट्न नसकिने हुँदा अपिलकर्ताले समाचारमा खुलाएका होलान् भन्ने आशा थियो। समस्याको विश्लेषण र समाधानका उपाय पत्रिका मार्फत् प्रस्तुत गरे होलान् भनेर पढ्दै गएँ तर अपेक्षित कुरा भेटिनँ।

डाक्टरहरुको निरन्तरको तनावपूर्ण व्यस्तताले उनीहरुको व्यक्तिगत स्वास्थ्य र पारिवारिक जीवनमा त असर पार्छ नै यसरी थकित शरीर र मन लिएर काम गर्दा बिरामीको स्वास्थ्योपचारमा पनि गल्ती हुने खतरा बढेर जान्छ। त्यसोभने किन यसरी आफ्नो स्वास्थ्य र परिवारलाई नै नहेरी मरेर काम गर्छन् त डाक्टरहरु? पैसाको लोभ? के यही मात्र कारण हो त? त्यसोभए किन यति लोभ गर्छन् त डाक्टर? के उनीहरु आम नेपाली जत्तिकै लोभी हुन्? कि त्यो केही बढी लोभी हुन् त? केले गर्दा उनीहरुमा यस्तो व्यवहार देखियो होला?

समाचारमा डाक्टर ‘पैसा पैसा पैसा’ भन्छन् भनेर भनिए पनि लोभले मात्र यो व्यवहार देखिएको हो जस्तो मलाई लाग्दैन। समाचारमै भनिएको छ, ‘करोड रुपैयाँभन्दा बढी खर्च गरेर विशेषज्ञता हासिल गरेका डाक्टरको सरकारी तलब जोड्ने हो भने जिन्दगीभरी पनि त्यति कमिँदैन। कामअनुसारको प्रोत्साहन समेत छैन। त्यही कारण उनीहरू पैसाका लागि पनि खटेको खट्यै गर्नुपर्ने अवस्था छ।’ त्यसैले आफ्नो स्वास्थ्य र परिवारलाई नै पाखा लाएर मरिहत्ते काम गर्ने डाक्टरहरु धेरैजसो लोभले ग्रसित भन्दा नि बाध्यताले पीडित हुन् जस्तो लाग्छ।

सरकारी डाक्टरहरुको तलब स्केल न्यून छ, पढाईमा लागेको खर्च, परिवार पाल्ने हो भने त्यो सुख्खा तलबले पुग्दै पुग्दैन। प्राइभेट प्राक्टिस गर्नैपर्ने हुन्छ। प्राइभेट प्राक्टिसमा पनि भने जस्तो सजिलो पक्कै छैन। दैनिक यति मात्रै बिरामी हेर्न पाउने वा यति घण्टा मात्रै बिरामी हेर्न पाउने भन्ने कडा नियमको अभावमा नयाँ डाक्टरलाई प्रतिस्पर्धामा टिक्नै गार्हो छ। भ्याए पनि नभ्याए पनि, राम्ररी समय दिए पनि नदिए पनि, बिरामीहरु पनि नाम चलेको पुरानै डाक्टरकोमा देखाउन जाने फेसनै छ। यसले स्थापित डाक्टररुको कमाइ त राम्रो होला तर उनीहरुको व्यस्तता धान्नै नसकिने गरेर बढेर जान्छ र आशा गरिए जति डाक्टरबाट समय र सेवा नपाउँदा बिरामीहरुको असन्तुष्टी पनि बढेर जान्छ। यसो भन्दा नयाँ डाक्टरले पुराना स्थापित डाक्टरहरुको आरिस गरेको जस्तो देखिएला तर मेरो उद्देश्य बिरामीहरुले चित्तबुझ्दो उपचार, कन्सल्टेसनमा डाक्टरहरुको पर्याप्त समय पाउन् र डाक्टरहरु आफूले पनि आराम पाउन् भन्नु मात्रै हो। यसको लागि एउटा डाक्टरले दिनमा यति घण्टा प्राइभेट प्राक्टिस गर्न पाउने, एउटा बिरामीलाई लगभग यति समय दिनुपर्ने भन्ने मापदण्ड बनाइनुपर्छ। सातामा एक दिन अनिवार्य विदा लिने अपिल सुन्दा कर्णप्रिय लागे पनि त्यति व्यवहारिक भने देखिदैन।

खासमा यो निर्णय कस्ता डाक्टरका लागि भन्ने कुरा नै स्पष्ट छैन। मेडिकल अफिसरका लागि वा कन्सल्टेन्टका लागि वा एमडी गरिरहेका रेजिडेन्टहरुका लागि? सरकारी डाक्टरहरुका लागि वा प्राइभेट मात्र गरिरहेकाहरुका लागि पनि? वा एनएमएका सदस्य डाक्टरहरुका लागि मात्र? सबैका लागि भनेर सजिलो जवाफ दिन सकिएला तर त्यो अनुसार लागू गर्न धेरै गाह्रो छ। जागिरे मेडिकल अफिसर र कन्सल्टेन्टले त नियमले पनि एक दिन बिदा पाइरहेका हुन्छन् नै (कागजी रुपमा भए पनि) तर एमडी रेजिडेन्ट, जसले मेडिकल कलेजहरु चलाइरहेका हुन्छन्, उनीहरु पढाईको त नाममा गधा जसरी पेलिएका हुन्छन्। यो डिपार्टमेन्ट र कलेज अनुसार केही फरक होला तर व्यस्त हुने ठाउँमा आज बिहान ८ बजे शुरु भएको ड्युटी भोली बेलुका ३–४ बजे बल्ल सकिन्छ, लगभग ३०–३२ घण्टे ड्युटी हुन्छ। त्यसपछि पर्सिपल्ट फेरि बिहान ८ बजे हाजिर हुन पुग्नुपर्छ। विकसित देशमा त यो खालको अमानवीय शैलीको पेलाइमा परिवर्तन आइसकेको छ तर हाम्रो र हाम्रा छिमेकी देशहरुमा यो अझै बाँकी छ। के एनएमएको अपिलले रेजिडेन्टहरुलाई ड्युटीमा खटाइने यो शैलीलाई पनि सम्बोधन गरेको हो? कि एनएमएका लागि एमडी रेजिडेन्टहरु डाक्टर नै होइनन्। अनि तिनले हेर्ने बिरामीको स्वास्थ्यप्रति ऊ गम्भीर नै छैन? तर, एमडी रेजिडेन्टहरुको ड्युटीको समयलाई तलमाथि गर्न अपिलले मात्र पुग्दैन। कलेज र विश्वविद्यालयसँग बहस नगरी हाललाई यो सम्भव छैन भन्दा हुन्छ।

मेडिकल अफिसरहरुको हकमा धेरैजसो सरकारी अस्पतालमा पर्याप्त मात्रामा डाक्टर नभएकाले नाइट ड्युटी गरेपछि बिदा बस्न नपाइने अवस्था छ। साथै धेरैजसो स–साना पोलिक्लिनिक भनेर खोलिएका केही बेड सहितका औषधि पसलहरुले डाक्टरलाई राम्रै तलब दिएर २४ घण्टा ७ दिन ड्युटी भनेर पनि खटाएको हुन्छ। यो अपिलले यस्ता जागिरहरुलाई कसरी सम्बोधन गर्ला त?

कन्सल्टेन्टको हकमा पनि केही अन्यौल छ। जस्तै अनकल ड्युटीलाई ड्युटी मान्ने कि नमान्ने? त्यो ड्युटी गरेपछि उसले अर्को दिन बिदा पाउने कि नपाउने? बिदा पायो भने त्यसैलाई उसको एकदिने छुट्टीमा गन्ने कि नगन्ने? कि अर्को दिन फेरि छुट्टी बस्नुपर्ने हो? यो एक दिने छुट्टीको नियम नै बनाएर लगाइयो भने सबैभन्दा बढी असर गर्ने भनेको धेरै व्यस्त रहने प्रख्यात सिनियर डाक्टरहरुलाई नै हो र उनीहरुले यो कुरा सजिलै मान्छन् जस्तो लाग्दैन। हेरौं एनएमएले आफ्नो यो अपिललाई कसरी कहाँसम्म बोकेर लैजान सक्छ?

सरकारीमा मात्र वा प्राइभेटमा मात्र काम गर्ने डाक्टरमा यो नियम लगाउन सजिलो होला (मानिदिए भने) तर सरकारी र प्राइभेट दुवैमा काम गर्ने डाक्टरहरु(धेरैजसो यही समूहमा पर्छन्)को हकमा भने यो गाह्रो देखिन्छ। जस्तो सरकारी डाक्टरले आइतबारदेखि शुक्रवारसम्म त सरकारी अस्पतालको ओपिडीमा काम गरेको हुन्छ। अब त्यसको मतलब शनिवार ऊ छुट्टीमा बस्नुपर्यो। अर्थात् धेरैजसो डाक्टर शनिबार छुट्टी बस्नुपर्ने हुन्छ। त्यसो हो भने त शनिबार प्राइभेट क्लिनिकहरु बन्द गर्नुपर्ने हुन्छ। जुन असम्भव कुरा हो। एनएमएले त्यसो गर्न खोजेको पनि पक्कै होइन होला। त्यसो भए उसले यो लिनैपर्ने एक दिने छुट्टीको नियमलाई कसरी लागू गर्ने भनेर सोचेको छ त?

यसको अर्को मुख्य समस्या भनेको यसले समस्याको गुदीलाई सम्बोधन गर्दैन। मात्र बाहिरी खोल टल्काउने काम गर्छ। डाक्टरहरु यसरी मरिहत्ते गरेर काम गर्नुको एउटा मुख्य कारण थोरै तलब हो। एक त महंगो र लामो पढाई (एमबीबीएस, एमडी, डिएम सबै) अनि अर्काेतर पढाई सकेपछिको तलब पनि चित्तबुझ्दो नहुने (स्कुल, प्लसटुका सँगैका मेडिसिन नपढेका साथीहरुले आफूले एमबीबीएस भ्याउँदा मास्टर्स सकिसकेर जागिर वा व्यापार शुरु गरिसकेको हुन्छन्)। अनि परिवारको उत्तरदायित्व, समाजले आफूप्रति हेर्ने दृष्टिकोण आदि कुराको सन्तुलन मिलाउन धेरै गाह्रो पर्छ। यस्तोमा उसलाई पढाइको बेला लागेको लगानी उठाउन (ऋण पनि हुनसक्छ), नयाँ बनेको स्टाटस मेन्टेन गर्न, पारिवारिक जिम्मेवारी पूरा गर्न नैतिक दवाव पर्छ। शायद यसैले ऊ सबै बिर्सेर पैसा कमाउन लागिपर्छ। पुराना नाम चलेकाहरुका हकमा भने बजारमा आफ्नो बढेको मागलाई सम्बोधन गर्नैपर्ने भन्ने दवाव वा गरिएन भने भोलि आफ्नै बजारमा असर गर्ला कि भन्ने डर हुन्छ, सायद। त्यसैले छोड्न सक्दैनन् र आएका जति सबैलाई हेर्ने गर्छन्। केहीमा आएको लक्ष्मी किन छोड्ने भन्ने लोभ त हुन्छ नै, आखिर मान्छे नै हुन्।

समस्याको यो भित्री पाटोलाई सम्बोधन नगरी जबरजस्ती एक दिने छुट्टी भनेर आइरहेको कमाइ काट्ने नियम लगाइयो भने राम्रै सोचेर ल्याइएको भएपनि शायदै कसैले मान्छन् होला।

आफ्ना डाक्टरहरुको समस्यालाई मनन गर्नु, बिरामीको उपचारप्रति गम्भिर हुनु सकरात्मक कुरा हो। मुद्दा सही उठाइएको हो। रातभर नाइटबस चलाउने ड्राइभरले त दिउसो सुत्न पाउँछ किनकी निद्रा नपुग्या ड्राइभरले बस चलाउँदा दुर्घटना हुने सम्भावना बढ्छ रे। त्यसो हो भने रातभर ड्युटी गरेको डाक्टरले अर्को दिनभर बिरामी हेर्दा वा बिना आराम हरेक दिन १ सय भन्दा बिरामी हेर्दाचाहिँ गल्ती, दुर्घटना हुने सम्भावना बढ्नु स्वाभाविक हो।  तर, यसको समाधान भनेर यस्तो हल्का खालको अपिल गर्नुको साटो गृहकार्य गरेर कसरी यो कम गर्न सकिन्छ भनेर वैचारिक मन्थन गरेको भए हुन्थ्यो।

जस्तो कि डाक्टरहरुको तलब बढाउनलाई दवाव दिने, तलव बढाउनलाई के समस्या हो? बरु तालिमहरुका अनावश्यक भत्ताहरु काटेर पो तलव बढाउन सकिन्छ कि? एक दिने छुट्टीको साटो एक हप्तामा निश्चित घण्टामात्र (प्राइभेट र सरकारी दुवै गरी) बिरामी जाँच्न पाउने, एउटा बिरामीलाई निश्चित समय दिनुपर्ने, कसले कति समय काम गरिरहेको छ भन्ने रेकर्ड राख्ने संयन्त्र बनाउने आदि। साथै मेडिकल शिक्षामा राज्यले लगानी गरेर कसरी सस्तो र सकेसम्म निःशुल्क बनाउन सकिन्छ भनेर छलफल गर्न सकिन्छ। किनकी कुनै पनि क्षेत्रमा आफ्नो लाखौंको लगानी लगाएपछि प्रतिफल आउने बेलामा त्यो व्याज सहित असुल गर्न खोज्नु त साधारण मानवीय व्यवहार हो।

पढ्ने बेलामा लाखौं खर्च भएको चाहिँ नदेख्ने अनि पछि चिकित्सकिय धर्म भित्रै रहेर पनि कमाउन खोज्दा पनि ‘समाजसेवा गर’, ‘डाक्टर भएर पैसाको लोभ गर्ने!’ भनेर आँखा तरेर हेर्ने दोहोरो चरित्रको हाम्रो समाजको सोच बारे पनि मन्थन हुनु जरुरी छ। यसो नगरिए यो एउटा अपिल मात्र बन्नेछ र नियम नै बनाएर लगाइए पनि धेरै डाक्टरहरुले यसलाई मान्ने छैनन्। नेपालका अन्य धेरै नियमहरु जस्तै यो पनि कागजमा मात्र सजिएर बस्ने निश्चित छ।

यो लेख २०७२ चैत्र २६ गती 'स्वास्थ्यखबर पत्रीका' मा छापिएको थियो।
बाँकी पढ्नुहोस् >>

Tuesday, February 23, 2016

प्रसूति अप्रेसन गर्दा पाठेघरै झिकियो...



यो लेख घटनामा कसैलाई दोषी देखाउन वा कसैलाई दोषबाट बचाउन लेखिएको हैन। लेखक दुवैतर्फसँग सम्बन्धित छैनन्। यो लेख सेतोपाटीमा प्रकाशित खिलानाथ ढकालले लेख्नुभएको 'प्रसूती अप्रेसनगर्दा पाठेघरै झिकियो' भन्ने लेख पढेपछीको प्रतिकृया हो। यसलाई घटनाको छानवीनको लागि कानुनीरुपमा प्रयोग नगरियोस्।

'प्रसुती अप्रेसन गर्दा पाठेघरै झिकियो।'
यो वाक्यको आशय के होला? सामान्य मान्छेले यो पढ्दा के बुझ्छन्? मैले झट्ट हेर्दा चैं प्रसुती अप्रेसन गर्दा गल्ती वा लापरवाहीले ननिकाल्नुपर्ने पाठेघर निकालियो, विरामीको स्वास्थ्यमा खेलबाड गर्दै डाक्टरहरुले उनको पाठेघर नै झिकिदिए भन्ने बुझें। सिजेरियन अप्रेसन वा प्रसुती अप्रेसनमा अनुभव भएको नाताले म के भन्न सक्छु भने कुनै पनि डाक्टरले यो अप्रेसन गर्दा चाहेर अनावश्यकरुपमा वा नचाहेर लापरवाही भए पनि पाठेघर झिक्न सक्दैन। सहि अवस्थाको मगज भएको डाक्टरले बच्चा जन्मेपछी पाठेघर नखुम्चिएर अत्यधिक रक्तस्राव भयो भने आमाको ज्यान बचाउनका लागि पाठेघर निकाल्ने अप्रेसन गर्छन् न कि लापरवाही गरेर झुक्किएर वा रमाइलोको लागि। यदी चाहेर नै अनावश्यकरुपमा दु:ख दिन झिक्छ भने त्यो 'क्रिमिनल माइन्ड'को जनावर हो, मान्छे हैन। त्यसैले भएको घटनालाई सहि उद्रित गरेको भए पनि यो शिर्षकको आशय एकदमै गलत देखिन्छ।
'चौबिसै घन्टा विशेषज्ञ सेवा दिनुपर्ने अस्पतालमा शनिबार भन्दै डाक्टर आएनन्।'
के साँच्चै यो भएको हो? के त्यो दिन कोही ड्युटीमै थिएनन्? के त्यो दिन राउन्ड नै भएन त? कुनै पनि अस्पतालमा २४ घण्टा भरी राउन्ड नै नहुने भनेको चैं लापरवाही हो, यदी समाचार सहि हो भने। यो कुरा त अनुसन्धान गरे पत्ता लाग्ने कुरा हो, एकजना भिजिटरले डाक्टर आएनन् भन्दैमा पत्याउन मिल्दैन, कैले उ नभएको बेलामा राउन्ड भएको हुनसक्छ।
'डाक्टर….आइपुगिन्। चेकजाँच नगरी हात हालिन्। बच्चा निस्किएन।'
'चेकजाँच नगरी हात हालिन्' यो भन्या के हो, बुझिएन। पाठेघरको मुख कती घर सेमी खुल्यो, बच्चा कती तल आयो, बच्चाको टाउकोको अवस्था के छ, तल आउन केइले रोकेको छ कि छैन आदी सबै बुझ्नलाई योनीबाट औंला हालेर जाचिन्छ।
'परिवारलाई खाली कागजमा सही गराए।'
कसैले पनि खाली कागजमा सहि गराउछ भने त्यो एकदमै गलत हो। के साँच्चै उनीहरुलाई खाली कागजमै सहि गराईएको थियो त? यदी 'थियो' भने यो पूरै अपराध हुनजान्छ तर मलाई यो कुरामा विश्वास छैन। आफन्तले सहि गर्ने भने मन्जुरीनामाको कागजमा हो, जसमा के अप्रेसन गर्न लागिएको हो, के कस्ता जटिलताहरु आउन सक्छन् आदी सबै प्रष्टसँग लेखिएका हुन्छ्न्, त्यसको तल सहि गर्नुको मतलब 'सबै पढें र सबै जानकारी भयो र यसको लागि तयार छु' भन्ने बुझाउछ। त्यसैले कुनै कुरामा सहि गर्नु अघी के हो, किन गर्ने सोध्नुपर्छ र बुझिएन भने फेरीफेरी सोध्नुपर्छ।
'त्यतिलाई पनि सहिरहेका थिए तर जब डाक्टरले पाठेघर झिकेको खबर गरे अनि परिवारलाई झन् चिन्ता लाग्यो।'
कैलेकाही जे अप्रेसन गर्न अप्रेसन कोठाभित्र लगिएको हो, त्यो बाहेक केही थप वा फरक अप्रेसन गर्नुपर्ने अवस्था आउन सक्छ। त्यस्तो बेला एकजना डाक्टर बाहिर आएर सो बारे परिवारलाई जानकारी गराउनुपर्छ। हतारमा, इमर्जेन्सी अवस्थामा, तनावले गर्दा कती बेला अप्रेसन गर्ने डाक्टरहरुले यो कुरा बिर्सन्छन्। सकेसम्म यो जानकारी सो अप्रेसन गर्नु अघी दिनुपर्छ तर ज्यान जोगाउन गरिने इमर्जेन्सी अप्रेसनहरुमा पहिले ज्यान जोगाएर पछी जानकारी गराए पनि हुन्छ।
गल्ती भयो, लापरबाही भयो, जे भयो नराम्रो नमान्दिनुस्,’ दुबै डाक्टरले भनेछन्।
अप्रेसन गर्ने दुवै डाक्टरले यसो भनेकै हुन् त? दुवैले गल्ती, लापरवाही स्विकारेका भए त कुरै सकियो, उहाँहरुलाई सिधै के गल्ती भएको हो, के लापरवाही भएको हो भनेर स्पष्ट सोधेर त्यही लेखिदिनुभएको भए झन राम्रो हुन्थ्यो। तर मैले धेरैपटक सम्बन्धित व्यक्तिले एउटा कुरा भनेको समाचारमा फरक अर्थ लाग्ने गरी बङ्याइएर लेखेको पाएको छु, त्यसैले यो कुरामा नि मलाई शंकै लाग्छ।

पत्रकारसाथीहरु र सम्पादकज्यूहरुलाई फेरी पनि अनुरोध।
स्वास्थ्य क्षेत्र यसै पनि संवेदनशील हो, त्यस माथि नक्कली डाक्टरहरु भेटिएका छन्, अस्पतालहरु व्यापारिक लाभका लागि चलाइन थालइएको छ, गलत रिपोर्ट दिने ल्याबहरु फेला पर्न थालिएको छ। तर यो भनेर सबैलाई एउटै आँखाले हेर्न मिल्दैन। हामी पनि यो क्षेत्रमा भएका विक्रिती छिटो पत्ता लागोस्, यसको सुधार होस् भन्ने चाहन्छौं। हामी पनि मान्छे हौं गल्ती चाहेर नचाहेर हुन्छ तर भएका घटनाहरुलाई तोडमरोड गरेर काँटछाँट गरेर आफूले चाहेजस्तो गरी सबैको अघी पस्केर समाजलाई दिगभ्रमित गर्नु ठीक हुन्न। कुनै एक पक्षको सतही कुरा सुनेर त्यसमा आफ्नो इमोसनल डायलगहरु भरेर धेरै बिक्ने कथा लेख्दा तपाईंको पत्रीकाको भ्यू र विक्री त बढ्ला तर यसले स्वास्थ्य क्षेत्रको संवेदनशीलतामा वर्षौंसम्म गहिरो असर पार्छ।
उक्त लेखको शेयरमा सेतोपाटीको पेजमा यस्ता प्रतिकृयाहरु लेखिएका थिए, शायद लेखक र सम्पादकले यस्तै खोज्नुभएको हो कि?  
डाक्टर, नर्स वा सबै स्वास्थ्यकर्मी साथीहरुलाई अनुरोध।
हामीले विरामीको उपचारमा दिनदिनै धेरै कुरा गरिरहेका हुन्छौं तर ती कामकुराहरुलाई विरामी र उनका आफन्तहरुलाई सहि तरिकाले बुझाउन सकेका हुँदैनौं। र धेरैपटक यही मिस कम्युनिकेसन नै हामी माथि लापरवाहीको दोषको रुपमा आउने गर्छ। विरामीको अवस्था अनुसार गरिएको उपचार, औषधी सहि नै हुन्छ तर सर्वसाधारणले अहिलेको शंकालु नजरले हेर्दा गल्ती वा लापरवाही देख्ने गर्छ। राम्रोसँग बुझाईएन भने सीपीआर (मुटु बन्द हुँदा छाती थिचेर गरिने उपचार प्रकृया) गर्दा तपाईंलाई 'विरामीको छाती थिचेर मार्यो' भन्ने दोष लाग्न सक्छ, श्वासनली बन्द हुँदा इमर्जेन्सी ट्र्याकियोस्टोमी (घाँटीमा हावा आउनजान वैकल्पिक बाटो खोल्ने अप्रेसन) गर्दा 'घाँटी काटेर मार्यो' भन्ने दोष आउन सक्छ। त्यसैले हामीले गर्ने जाँच, औषधी, उपचार, अप्रेसनहरुको बारेमा सकेसम्म बढीभन्दा बढी जानकारी दिने कोशीश गरौं र उनीहरुले सहि बुझेका छन् कि छैनन् भनेर पनि कन्फर्म गर्ने गरौं। साथै उपचार प्रकृयाका कुराहरुको सकेसम्म रेकर्ड राख्ने गरौं, हिजोआज 'मेडिकोलेगल' प्रकृया हुने सम्भावना धेरै नै बढेर गएको छ।
बाँकी पढ्नुहोस् >>

Monday, January 11, 2016

नवजात शिशुमा देखिने जण्डिसको बारेमा थाहा पाउनैपर्ने केही जानकारी।


स्रोत: इन्टरनेट
प्युठान जिल्ला अस्पतालमा पनि नवजात शिशुमा देखिने जन्डिसको लागि नीलो बत्तीमा राखेर गरिने उपचार प्रविधी (फोटोथेरापी) शुरु गरिएको छ। ठुलामा देखिने जन्डिसभन्दा अलि भिन्न खालको हुने नवजात शिशुको जन्डिस धेरैजसो सामान्य खालको नै हुन्छ। कसैकसैमा यसको मात्रा धेरै नै बढी भएमा यस्तो नीलो बत्तीमा राखेर यसको उपचार गर्ने गरिन्छ। 
प्युठान जिल्ला अस्पतालमा फोटोथेरापी दिदैं गरिएको।
  
जन्डिस भनेको के हो?

सामान्य भाषामा भन्दा पहेंलो देखिनुलाई 'जन्डिस' भनिन्छ। जन्डिस एउटा रोग होइन, यो एउटा लक्षण मात्र हो र धेरै रोग तथा समस्याहरुमा जन्डिस देखिन्छ। पहेंलो देखिने कारण रगतमा 'बिलीरुबीन' भन्ने पहेंलो पदार्थको मात्रा बढ्नाले हो। यो रगतमा भएको राता रक्तकोषहरु मरेर बन्ने गर्छ।


नवजात शिशुमा किन जन्डिस देखिन्छ?

३७ हफ्ताभन्दा बढि समय पुगेर जन्मिएका लगभग ६०% र त्यसभन्दा अघि(समयभन्दा अघि)जन्मिएका ८०% नवजात शिशुहरुमा केहिनकेहि मात्रामा जन्डिस देखिनेगर्छ। शिशु गर्भमा रहँदा उसको शरीरका धेरै कृयाकलापहरुका लागि आमामा निर्भर रहन्छ, यो काम साल वा प्लासेन्टाको मद्धतले भैरहेकोहुन्छ। पहेंलो पदार्थ बिलिरुबीन पनि यसैले नै शिशुको शरीरबाट बाहिर लैजान्छ। तर जन्मपछि यो काम शिशुको आफ्नै कलेजोले गर्नथाल्छ जसका लागि कलेजो पूर्णरुपमा सक्षम भैसकेको हुदैंन। त्यसैले जन्मपछिका शुरुका केही दिनहरुमा शिशुको रगतमा बिलिरुबीनको मात्रा बढेर जान्छ र जन्डिस देखिन्छ। यसलाई मेडिकल भाषामा 'फिजियोलोजिकल जन्डिस' भनिन्छ। 


यसका साथै कहिलेकाहीं बच्चा र आमाको ब्लडग्रुप नमिल्दा, बच्चामा विभिन्न वंशानुगत रोगहरुका कारणले, संक्रमणका कारणले पनि जन्डिस देखिनसक्छ।


मेरो बच्चालाई जन्डिस भएनभएको कसरी थाहा पाउन सक्छु?

पहेंलो पदार्थ बिलीरुबीनको मात्रा बढि हुने हुनाले जन्डिस भएको बच्चा पहेंलो देखिन्छ। घामको उज्यालोमा बच्चा पहेंलो भएनभएको राम्ररी छुट्याउन सकिन्छ। बच्चाको निधारमा, छातीमा वा हातखुट्टामा औंलाले केहीबेर थिचेर छोड्दा त्यहाँ पहेंलो देखिन्छ/देखिदैंन, त्यो हेरेर जन्डिस छ/छैन थाहा पाउन सकिन्छ। जन्डिस टाउको, अनुहारबाट शुरु भएर रगतमा त्यसको मात्रा बढ्दै जाँदा क्रमश: छाती, पेट, हातखुट्टा र हत्केला, पैतालामा देखिन्छ।


के यो मेरो बच्चाको लागि हानिकारक हुन्छ?

हुनसक्छ। बच्चा कति महिना/हप्तामा जन्मेको हो, कति दिनको भयो, कति तौलको छ, अन्य समस्याहरु पनि छ/छैन, त्यस अनुसार निश्चित मात्रा सम्मको जन्डिसलाई सामान्य मान्न सकिन्छ। त्यसभन्दा बढि भएमा जन्डिस(अर्थात बिलिरुबिन)बच्चाको दिमागमा जम्मा भई पछिसम्म पनि त्यसको असर देखिनसक्छ।


बच्चालाई जन्डिस देखिएपछि आमाले केके बार्नुपर्छ?

केही पनि बार्नुपर्दैन। बच्चाको जन्डिस आमाको कारणले नभै बच्चाको आफ्नै शरीरभित्रको परिवर्तनका कारणले देखिएको हुनाले आमाले चिल्लो खाना, माछामासु केही पनि बार्नुपर्दैन। खाना बार्नाले आमाको शरीरको दूध उत्पादन क्षमतामा कमि आइ बच्चालाई दूध नपुगेर जन्डिस झन बढ्नसक्छ। त्यसैले बच्चालाई जन्डिस भएको बेलामा आमाले सामान्य पौष्टिक खाना खानुपर्छ।


जन्डिस देखिएको नवजात शिशुहरुमा केके कुरामा ध्यान दिनुपर्छ?

नवजात शिशुहरुमा देखिने जन्डिस धेरैजसो 'फिजियोलोजिकल' नै हुन्छ अर्थात त्यो माथि भनिएजस्तो बच्चाको कलेजोले राम्रोसँग आफ्नो काम गर्न नसकेकोले देखिन्छ। तर कहिलेकाहीं यही फिजियोलोजिकल जन्डिसको मात्रा पनि धेरै बढेर बच्चालाई हानि पुर्याउनसक्छ। जस्तै: आमा र बच्चाको ब्लडग्रुप नमिल्दा(विशेषगरी आमाको ''पोजिटिभ/नेगेटिभ र बच्चाको अरु भएमा), बच्चालाई दूध राम्रोसँग नपुगेमा, जन्मको बेला बच्चाका टाउकोमा, अन्य कतै चोटका कारण रगत जमेमा, मधुमेह भएका आमाको बच्चाहरुमा, बच्चाले ढिलो दिसा गरेमा, बच्चालाई भ्रुण अवस्थामा पाठेघरभित्रै संक्रमण भएमा आदि। यदी जन्डिसको लेभल सामान्य भन्दा बढि भएमा त्यसका लागि उपचार गर्नुपर्छ, त्यसैले आफ्नो बच्चाका जन्डिस कत्तिको कडा देखिएको छ, टाउको/छातीमा मात्र नभै हत्केला/पैतालामा पनि देखिएको छ/छैन हेर्नुपर्छ। 


साथै बच्चाको अवस्था कस्तो छ, दूध राम्ररी चुस्न सक्छ कि सक्दैन, खाएको सबै वान्ता गर्छ कि, उठाउँदा उठ्छ कि उठ्दैन, कत्तिको रुन्छ जस्ता खतराका लक्षणहरु देखिएको छ/छैन विचार पुर्याउनुपर्छ।


बच्चालाई जन्डिसका साथै माथिका लक्षणहरु पनि देखिएमा तुरुन्त अस्पताल लैजानुपर्छ।


यसको लागि के उपचार गर्नुपर्छ?

सामान्य मात्राको 'फिजियोलोजिकल जन्डिस' बच्चालाई राम्रोसँग दूध खुवायो भने ७-१० दिनभित्रमा हराएर जान्छ। बच्चालाई नपोल्ने र चिसो पनि नलाग्ने गरेर घाममा राख्नाले पनि जन्डिस घटाउन मद्धत पुग्छ। तर जन्डिस धेरै नै देखिएको छ भने बच्चालाई विशेषप्रकारको निलो बत्ती (फोटोथेरापी/Phototherapy) मा राख्नुपर्छ। साथै धेरै नै बढि भएमा बच्चाको रगत फेर्ने पनि गर्नुपर्छ।
बाँकी पढ्नुहोस् >>

Tuesday, December 29, 2015

किन हुन्छ विरामीको किनबेच? के हो त यसको समाधान?



  
'सिकिस्त विरामीको किनबेच' शिर्षकमा अडियो सहितको सनसनीपूर्ण लेख केही दिनअघी हिमाल खबर पत्रिकामा छापियो। यस्तै लेख केही समय अघी पनि छापिएको थियो, केही समय खैलाबैला मच्चेको थियो र पछी सेलाएर गयो। बाहिरी मान्छेहरुका लागि यो नौलो, आश्चर्य लाग्ने कुरा भए पनि स्वास्थ्य क्षेत्रमा काम गरिरहेकाहरु धेरैलाई यो कुनै अचम्मको कुरा हैन, यस्तो भईरहेको छ भनेर धेरैलाई थाहा थियो। खासमा यो नेपाली समाजमा मौलाएको, झांगिएको, जरा गाडीसकेको कमिसन संस्क्रितीको एउटा विक्रित रुप मात्र हो। मान्छेको जीवन, स्वास्थ्यसँग सम्बन्धित क्षेत्र भएको भएर मात्र यो खबर धेरैको लागि आश्चर्य र डरलाग्दो भएको हो। नत्र कमिसनतन्त्रले आजको नेपालको हर क्षेत्रलाई नराम्ररी जकडेको छ। यही असरबाट स्वास्थ्य क्षेत्र नि अछुतो रहन नसकेको मात्र हो र दिनानुदिन व्यापारीतन्त्र मौलाएको स्वास्थ्य क्षेत्र यसबाट टाढा रहन नसकेकोमा अचम्म मान्नुपर्ने कारण पनि छैन।

केही वर्षअघी म चितवनमा काम गर्दाताका पनि काठमाण्डौंका प्राइभेट नर्सिङ होमहरु विरामी खोज्दै चितवनतिर आउने गर्थे। त्यहाँका डाक्टर, पारामेडिक्सहरुलाई विरामी आफ्नो अस्पतालमा रिफर गरे प्रत्येक विरामी वापत निश्चित रकम कमिसन दिने भनेर खुल्लमखुल्ला भन्ने गर्थे। टिचिङ अस्पतालमा एमडी गर्दाताका इमर्जेन्सी पोस्टिङ् हुने बेला नि वरपरका थुप्रै नर्सिङ होमहरुले उनीहरुकोमा विरामी रिफर गरिदिए केही कमिसन दिन्छौं भनेर प्रस्तावहरु राख्ने गर्थे। प्राय: विरामीको भिड लाग्ने, राजधानी बाहिरबाट पनि थुप्रने र बेड नभएर धेरैजसो बाहिर पठाउनुपर्ने भएकोले पनि 'धेरै माछा भएको पोखरी'को रुपमा प्राइभेट नर्सिङ होमहरुले टिचिङ अस्पताल, वीर अस्पतालको इमर्जेन्सीमा जालो थाप्नु स्वाभाविक नै हो। हो खुल्लम खुल्ला नदेखिएला तर अहिले त्यो अवस्था परिवर्तन भयो, सुध्रियो भनेर कसैले भन्यो भने म पत्याउन्न। किनकी त्यो रोक्न टिचिङ अस्पतालमा बीचमा केही समय रिफरमा कडाई गरिनु बाहेक अरु केही भएकै छैन, जुन पछील्लो समय फितलो भएर गयो। वीर अस्पतालबारे मलाई खासै जानकारी भएन।

हिमाल खबर पत्रीकाको लेखमा एम्बुलेन्स ड्राइभरहरुलाई कमिसन दिएर विरामी आफ्नोमा ल्याउने चलनबारे भण्डाफोर गरिएको छ, तर यो रिफर गरेर कमिसन खाने धन्दाबाट डक्टर र अन्य स्वास्थ्यकर्मीहरु पनि अछुतो चैं पक्कै छैनन्। व्यापारिक सोचको अर्को तहमा पुगिसकेको छ नेपालको स्वास्थ्य क्षेत्र। यो झन डरलाग्दो अवस्था हो।

सो लेखमा केही वर्षअघी सार्वजनिक गरिएपछी कम हुनुपर्नेमा झन बढेको र खुल्लमखुल्ला कारोबार हुन थालेको भनेर आश्चर्य प्रकट गरिएको रहेछ। यसमा मेरो प्रश्न- यो अवस्था सार्वजनिक भएपछी कुन चैं निकायले यसको बारेमा छानविन, अध्ययन गरेर किन यस्तो भएको हो, यसको समाधान कसरी गर्न सकिन्छ भनेर कार्वाही अगाडि बढायो? कसैको चासोको क्षेत्र भित्र यो पर्‍यो? कोही कार्वाहीमा परे? अनि कसैले केही नगरेपछी किन यत्तिकै घटोस् त यो नाफाको व्यापार?

यो लेखमा यस्तो किन हुन्छ, कसरी हुन्छ र यसको समाधान के हुनसक्छ भन्ने विषयमा मेरो अनुभव र बुझाईका केही कुराहरु केही लेख्न खोज्दैछु।

यस्तो किन हुन्छ?
यसको लागि हाम्रो स्वास्थ्य प्रणाली बुझ्नु जरुरी हुन्छ। यस्ता विरामी कहाँबाट आउछन् त? प्राय: यी विरामी उपत्यकाबाहिरबाट बेडको अभाव वा रोगको जटिलताको कारणले रिफर गरिएका हुन्छन्। हाम्रो स्वास्थ्य प्रणालीमा विरामी रिफर गरिदा वा गरिएपछीको जिम्मेवारी उपचार गर्ने स्वास्थ्यकर्मी वा अस्पतालको भागमा पर्दैन। "हाम्ले सक्दैनौं, ठुलो ठाँउमा जानुस्" वा "हाम्रोमा बेड खाली छैन, अरु अस्पताल जानुस्" भनेर भनिदिएपछी विरामीप्रतीको त्यो स्वास्थ्यकर्मी र अस्पतालको जिम्मेवारी सकियो। अब विरामी जतासुकै लगोस्, उसको टाउको दुखाइको कुरा हुँदैन। उदाहरणको लागि मैले प्युठान जिल्ला अस्पतालबाट कुनै विरामी रिफर गर्नुपर्‍यो भने 'Referred to higher center’ भनेर पर्ची थमाइदिए मात्र पुग्छ, त्यो विरामी कहाँ जान्छ, कसरी जान्छ, जानसक्छ कि सक्दैन भन्ने मेरो चासोको विषय नै हुँदैन। अहिलेको सिस्टम यही नै हो, यहाँ विरामी मेरो वा अस्पतालको भन्ने नै छैन, उसको स्वास्थ्यको जिम्मेवारी स्वास्थ्यकर्मीको वा अस्पतालको भन्ने नै छैन। यदी कोही स्वास्थ्यकर्मीले सहयोगको हिसाबले त्यसो गर्न चाहे भने पनि उसको व्यक्तिगत परिश्रम वा लगानीमा गर्नुपर्ने हुन्छ, आफैंले चिनेजानेका ठाउँमा आफ्नै खर्चमा फोन गरेर बुझ्नुपर्ने हुन्छ, यो काम उपचार गर्ने स्वास्थ्यकर्मीको नहुनुपर्ने हो, अस्पताल व्यवस्थापन आँफैले वा कोही व्यक्ति तोकेर त्यो काम गर्नुपर्ने हो। यो मानवता वा नैतिकताले आउने/नआउने कुरा त हो, तर यसलाई सिस्टमले जिम्मेवारीको रुपमा बोध गराइदियो भने उत्तम हुन्छ। अनि यदी कसैले यही नै अस्पताल वा यही नै डाक्टरकोमा जानुस् भन्यो भने झन् रिफर गरेर कमिसन खान लागेको हो कि भनेर शंका गरिन्छ (हुन त कतिले खान्छन् पनि)। रिफर गरिएका ती विरामीलाई कहाँ जाने, आफ्नो रोगको उपचार कहाँ हुन्छ, कहाँ कति खर्च लाग्छ, कुन अस्पताल राम्रो, कुन महंगो, केही थाहा हुँदैन। अनि अब उनीहरु कस्को हातमा पर्छन् त? एम्बुलेन्सवाला र व्यापारीक अस्पतालहरुका हातमा। एम्बुलेन्स ड्राइभरहरुले उनीहरुलाई आफ्नो फाईदा हेरी जुनसुकै अस्पतालमा पुर्याउन सक्छन्। विरामीको अवस्था हेरेर उपचारको लागि हजारौं लाखौं बोकेर हिंडेका यस्ता विरामीलाई व्यापारिक आँखाले मात्र हेर्दा मालदार ग्राहक देखिनु स्वाभाविक हो। र शुद्द व्यापारिक दृष्‍टिकोणले खोलिएका धेरैजसो प्राइभेट अस्पतालहरु अर्थात एउटा व्यापारिक केन्द्रले एउटा मालदार ग्राहक उसकोमा तान्नलाई सबै खाले प्रयास गर्छ। अनि एजेन्टको रुपमा काम गर्ने केही एम्बुलेन्स ड्राइभरहरुले पनि त्यस्तो ग्राहक लगिदिए वापत केही कमिसन आस गर्नु, माग्नु कुनै अचम्मको कुरा भएन। बरु कसैले कमिसन नलिए चै अचम्म मान्नुपर्छ, त्यो पनि उसको मानवीय धर्मले नदिएर हुनसक्छ। सधैं सबैको मानवीय धर्म, भावनामा मात्र भर परेर पनि कहीं व्यवस्था चल्छ?

हुनुपर्ने के हो ? हुनुपर्ने के हो भने अस्पतालले आफ्ना रिफरल सेन्टरहरु तोकेको हुनुपर्ने र त्यहाँ बेडको अवस्था के छ, त्यहीं रिफर गरिने हो भने त्यहाँका स्वास्थ्यकर्मीलाई यस्तो यस्तो विरामी आउँदैछ भनेर हेन्डओभर दिएर विरामी लिन तयार रहन जानकारी दिनुपर्ने हो। यसले विरामीको उपचारमा एउटाबाट अर्को अस्पताल जाँदा जानकारी मिस भएर उपचारमा ढिलाई, गड्बडी भएर, दोहोर्याएर जाँचहरु भएर खर्च बढ्ने समस्या आउन पाउदैन, साथै विरामीलाई पनि 'कन्ट्युनिटी अफ केयर'को आभाष भईराख्छ, अर्थात मेरो उपचार एउटाले अर्कोलाई दियो भन्दा पनि टिमको रुपमा भईरहेको छ भन्ने अनुभुती हुन्छ। र पछी ठीक भईसकेपछी फेरी फलोअपको लागि त्यही स्थानिय अस्पतालमा पठाइने गरिनुपर्छ। यो एउटा आइडियल सिस्टम हो, जसमा विरामीको उपचारको जिम्मेवारी उपचार गर्ने अस्पतालले वा राज्यले लिएको हुन्छ। प्राइभेट अस्पतालहरुमा यो लागू गर्न केही अफ्ठ्यारो होला (स्वास्थ्य मन्त्रालयको संयोजकत्वमा प्राइभेट अस्पतालहरुको एसोसिएसन अन्तर्गत सबै प्राइभेट अस्पतालहरुलाई सेवा र सुविधाको आधारमा तह वर्गीकरण गरी विभिन्न ठाउँका लागि निश्चित अस्पताललाई रिफरल सेन्टर तोकेर त्यही अनुरुप काम गराउन सकिन्छ।) तर सरकारी अस्पतालहरुमा भने यो लागू गरिनुपर्छ। जनताको स्वास्थ्यको जिम्मेवारी सरकारले लिने भनेको यसरी नै हो। सकेसम्म आफ्ना जनतालाई स्वास्थ्य सेवा सरकारी अस्पतालबाट दिने र विभिन्न तहका सरकारी अस्पतालहरु बीच विरामी रिफर हुँदा राम्रो कम्युनिकेसन गराउने नियम कार्यान्वयनमा ल्याउनुपर्छ। हुन त हाम्रोमा यस्तो नियम नभएको पनि हैन, छ तर कागजमा मात्र। साथै यस्तो सेवा दिनको लागि सरकारी अस्पतालहरुको स्तर बढाउनुपर्छ नै र सरकारी अस्पतालहरुलाई जनताको पहिलो रोजाइमा पार्न सक्नुपर्छ। 

यसको समाधान के हो त?
कतिलाई लाग्ला दोषी देखिएका अस्पताल, व्यवस्थापन, व्यक्तिलाई कडा कार्वाही गरे यो समस्या सजिलै समाधान हुन्छ। तर त्यती सजिलो छैन। केहीलाई कार्वाही मात्र गरी समस्याको मूल जरालाई बेलैमा सम्बोधन गरिएन भने बाहिर नदेखिएला तर भित्रभित्र यो समस्या झनझन फैलदै जान्छ। दुई व्यक्ति बीचको व्यापारमा कसैले कमिसन लिए नलिएको थाहा पाउन धेरै नै गार्हो कुरा हो। यस्ता स्टिङ अपरेसन बेलाबेलामा हुनु राम्रो कुरा हो तर यसले समस्याको सानो टाउको मात्र बाहिर देखाउछ, केही व्यक्ति र संस्थाका नाम उछालिन्छन् तर यसले समस्याको वास्तविक भीमकाय शरीरलाई खोतल्न सक्दैन। यसको लागि यो समस्याको उद्गम विन्दुमा प्रहार गर्नुपर्छ। 

यसको उद्गम विन्दु भनेको विभिन्न कारणहरुले गर्दा जीर्ण अवस्थामा पुगेका सरकारी स्वास्थ्य संयन्त्रहरु र नियन्त्रण, अनुगमनका अभावमा अन्धाधुन्ध बढेका प्राइभेट अस्पतालहरु हुन्। सरकारी स्वास्थ्य निकायहरु हरेक जिल्ला, निर्वाचन क्षेत्र, गाविसमा ठड्याइएका त छन् तर यी धेरैको लागि कमाइ खाने भाँडो मात्र भएको छ, वर्षौंदेखी धेरैले धेरै तरिकाबाट चुस्दै आएका कारणले यी अस्पतालहरु कागज र कानुनमा लेखिए अनुसारका आफ्ना न्युनतम सेवा र सुविधा दिनका लागि नि लायक छैनन्। सरकारी अस्पताल जनताको पहिलो रोजाइमा पर्दैनन्। त्यहाँ जाने भनेको कि अति विपन्नहरु जो चाहेर पनि अन्त कतै जान सक्दैनन्, कि नि:शुल्क औषधी, जाँच र सेवा पाईन्छ भनेर जानेहरु, कि पहुँचवालाहरु जसको स्वागतका लागि अस्पतालले आफ्नो वास्तविक स्वरुप नै परिवर्तन गरिदिन्छ, हरु मात्र हुन्छन्। सरकारी स्वास्थ्य संस्थालाई साधनसुविधा सम्पन्न तथा 'डेडिकेटेड', योग्य स्वास्थ्यकर्मी र व्यवस्थापनका कर्मचारीहरुले पूर्ण बनाएर धेरै भन्दा धेरै जनताको विश्वास जित्नु नै यो समस्या समाधानको मूल उपाय हो। अनि सरकारी स्वास्थ्य संस्थाहरुलाई बाध्ने नीति नियमहरुलाई कागजमा मात्र नभै व्यवहारमा उतारेर देखाउन सक्नुपर्छ। एउटा सरकारी अस्पतालबाट अर्को सरकारी अस्पतालमा रिफर गर्दा कसैले कमिसन खाएको सुनिएको छ? समस्याको मूल जरामा हानेपछी यसका 'बाइप्रोडक्ट'हरु आँफैं ओइलाएर झर्छन्।

अर्को भनेको दिनहुँ बढ्दो प्राइभेट अस्पतालहरुलाई नियन्त्रण र अनुगमन गरी सेवाको स्तर निर्धारण गर्नु हो। धेरैजसो प्राइभेट अस्पतालहरु सेवाभन्दा नि नाफाको हिसाबले खोलिएका हुन् भन्दा कसैले अचम्म नमाने हुन्छ। व्यापारिक संस्था हो, लगानी लागेको हुन्छ, हरेक सेवा, सुविधामा आफ्नो खर्च परेको हुन्छ, आफ्नो परिश्रम परेको हुन्छ, यो सबै कसैले मानवताको लागि वा धर्मको लागि मात्र गर्ला भनेर म पत्याउन सक्दिनँ, कसैले त्यस्तो अव्यवहारिक आस नराखेकै बेस। आफ्नो व्यापारिक संस्थाबाट नाफा कमाउन पाउनु उनीहरुको अधिकार पनि हो। यसलाई नियन्त्रण गर्ने जिम्मा त सरकारको हो नि। उसले नीतिनियममा कडाइ गरेर दुवै पक्ष(सेवा बेच्ने र सेवा किन्ने)लाई धेरै असर नपर्ने गरी नियन्त्रण गर्नुपर्छ। सेवाको निश्चित दर तोकिदिने, सेवाको गुणस्तर हेर्ने, सुविधा अनुसार अस्पतालहरुको तह वर्गीकरण गरिदिने, तोकिए अनुसार नभए कार्वाही गर्ने आदी काम स्वास्थ्य मंत्रालयले प्राइभेट अस्पतालहरुको एसोसिएसनसँग मिलेर गर्नुपर्छ। आखिर सेवा सुविधा नि:शुल्क त आउँदैन नै। कसैले महंगो दर तोकेर अन्तराष्ट्रीय स्तरको सेवासुविधा दिन्छ भने त्यो पनि ठिकै छ, सक्नेले लिन्छन्। सरकारले उनीहरुले भने बमोजिमको स्तरको छ छैन हेर्नुपर्‍यो।  स्तर तोकेर कुन प्राइभेट अस्पतालहरु रिफरल सेन्टर हुन् भनेर तोकियो र रिफर गर्ने बेलैमा ह्याण्डओभर सहित विरामी पठाइयो भने एम्बुलेन्स चालकहरुले कमिसन लिएर जथाभावी विरामी लैजाने ठाउँ रहदैन। साथै प्राइभेट अस्पतालका हरेक सेवा सुविधाको दररेट उक्त अस्पतालको स्तर अनुसार निर्धारण गरियो भने अस्पतालले कमिसन दिएर विरामी तानोस् वा जे गरेर तानोस्, विरामीलाई त्यसको थप आर्थिक बोझ पर्दैन र त्यसले उसले पाउने स्वास्थ्य सेवामा पनि असर गर्दैन।

अब कुरा आयो यो समस्यालाई सम्बोधन कसले गर्ने त? नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एसोसिएसनले यो हेर्दैन। यो हेर्नुपर्ने भनेको प्राइभेट अस्पतालहरुको एसोसिएसनले हो, र त्यसलाई अनुगमन गर्ने काम स्वास्थ्य मंत्रालयले गर्नुपर्छ। तर माथि भनिएजस्तो केही व्यक्ति र संस्थालाई कार्वाही गरेर बाहिर देखिएको समस्याको बोक्रालाई मात्र सफाइ गर्ने र वास्तविक जरालाई छोडिदिने हो भने केही वर्षपछी फेरी यस्तै खोजविन गर्दा यो समस्या अझै बढेर गएको पाउने निश्चित नै छ।
बाँकी पढ्नुहोस् >>