ओपीडीको दृश्य
रगतको जाँच भिडियो एक्स रे सिटी स्क्यान सबैको रिपोर्ट हेरिसकेपछि चिकित्सकले विरामीको छोरालाई विरामीलाई बाहिर राखेर आउन भने। बुवालाई बाहिर राखेर आएपछि छोरासँग कुरा गर्दै भने "उहाँलाई फोक्सोको क्यान्सर भएको छ र सबैतिर फैलिएको छ। लगभग अन्तिम जस्तै अवस्था छ।"
वार्डको दृश्य
आफ्नो बुवालाई क्यान्सरको शंका लागेपछि छोराले चिकित्सकलाई कुनामा बोलाएर सबै कुरा सोधे र भने "कृपया बुवालाई चाँही नभनीदिनुहोला टेन्सन बढि लिनुहुन्छ।" चिकित्सकले हुन्छ भनेर स्वीकृति जनाए।
आइसीयु को दृश्य
पेटको क्यान्सरका लागि एकदिन अघि अप्रेशन गरिएका आफ्ना मित्रलाई भेट्न आएका एक नाम चलेका र अनुभवी चिकित्सकले मलाई भनॆ "उहाँलाई चाँही क्यान्सर हो भनेर भनेको छैन है। तिमीले नि नभन्नु नि।" मैले सहमतिमा टाउको हल्लाएँ।
यी दृश्यहरु कुनै काल्पनिक घटनाहरु होइनन्, मैले देखेका भोगेका अनुभवहरु हुन्। यस्ता घटनाहरु अस्पतालमा सामान्य रुपमा घटिरहेका हुन्छन्।
हाम्रो नेपाली समाजमा विरामीलाई साधारणतया रोगको बारेमा जानकारी दिने प्रचलन छैन। विरामी प्राय: गरेर कोहि बुझ्ने आफन्तसँग आएका हुन्छन् र सबै जाँचपछि उसैलाई नै रोग र उपचारको जानकारी दिने गरिन्छ। अझ रोग जटिल किसिमको छ, उपचार गर्न नसकिने अवस्थाको छ भने त विरामीलाई बाहिर राखेर मात्र विरामीको अवस्थाका बारेमा कुराकानी शुरु गर्ने गरिन्छ।
किन त्यसो गरिन्छ भन्ने प्रश्नको जवाफमा प्राय: "विरामीलाई भनेर उहाँलाई टेन्सन मात्र धेरै पर्छ, रोगले भन्दा पहिले चिन्ताले जानुहोला भन्ने डर वा जति बाँच्नुहुन्छ हाँसीखुशी बाँच्नुहुन्छ नि बेकारमा किन भनिरहनु पर्यो र?" आदी आउने गर्छ। प्राय: चिकित्सकहरुले नभन्ने कारण पनि त्यस्तै हुन्छ। त्यस्तै कसैले चाँही विरामीलाई भनेपछि टेन्सन हुन्छ, अनि कसले सम्झाउने विरामीलाई, विरामीलाई भनेर बुझ्ने होइन किन भनिरहने, नलाग्नु रोग लागिसक्यो अब भनेर विरामीलाई अझ दु:ख किन दिने आदि कारणहरु दिने गर्छन्।
कुनै पनि ठूलो दु:ख परेपछि वा चिन्ताको कुरा सुनेपछि मानिसको सामान्य प्रतिकृया कस्तो कस्तो हुन्छ, भन्ने बारेमा कुब्लर रोस मोडल/Kubler-Ross Model (जसलाई दु:खका पाँच अवस्थाहरु/Five stages of Grief भनेर पनि भनिन्छ)ले राम्ररी बयान गरेको छ। विश्वप्रसिद्ध मानसिक रोग विशेषज्ञ एलिजावेथ कुब्लर रोसले लेखेको पुस्तक 'On Death and Dying' मा यी अवस्थाहरुको बारेमा वृस्तितमा बयान गरिएको छ(1,2)।
यी अवस्थाहरु हुन् (3):-डिनायल(Denial)-यो अवस्थामा विरामीले "मलाई केहि भएकै छैन, म एकदम ठिक छु, मलाई केहि हुनैसक्दैन, मलाई यो रोग लागेकै छैन।" जस्ता कुराहरु भन्ने गर्छन्। यो दु:खप्रतिको प्रतिकृयाको एउटा अस्थायी अवस्था हो।
एंगर(Anger) वा रिस- "मलाई नै किन? यसको लागि को दोषी छ?" जस्ता प्रश्नहरु यो बेलामा आउने गर्छन्। यो अवस्थामा आफू, आफ्ना परिवार, साथीभाइ र भगवानप्रति समेत रिस उठ्न सक्छ। यो अवस्थामा भएका विरामीलाई हेरचाह, स्याहार गर्न धेरै गाह्रों हुन्छ। तर यो पनि दु:खलाई निको गर्ने प्राकृतिक प्रकृयाको एउटा महत्वपूर्ण अवस्था हो।
बार्गेन(Bargain) वा मोलतोल गर्नु- "थोरै अरु बाँच्न पाएँ भने.. मेरा नातानातिनीलाई मात्र हेर्न पाएँ भने… म राम्रो मानिस बन्ने कोसिस गर्छु, यदि मैले अरु केहि समय पाएँ भने.." जस्ता कुराहरु यो बेलामा आउने गर्छ। यो अवस्थामा उसले आफू मर्दैछु भन्ने थाहा पाएको हुन्छ, तरपनि केहि उपायले अरु बढि बाँच्न सकिन्छ कि भनेर भगवान वा दैवी शक्तिलाई पुकार गर्छ।
डिप्रेशन(Depression)- यो अवस्थामा विरामीले आफ्नो मृत्युलाई अवश्यम्भावी देख्छ। अनि उसको जीवन शुन्य हुन्छ, सबै कुरा सकिएको झैं भान हुन्छ। केहि कुराको पनि रुचि महत्व रहदैन। जुनसुकै कुरामा पनि "म अब मर्दैछु, जे भए नि के भो र" भन्ने भावना आउने गर्छ। अरुसँग भेट्न, बोल्न मन लाग्दैन। यो अवस्थाको मानिसलाई जवरजस्ती रमाइलो गराउन, हसाँउन खोज्नुहुदैंन। यो एउटा प्राकृतिक प्रकृया हो। दु:खको समाचार थाहा पाएर, आफ्नो आउँदै गरेको मृत्यु थाहा पाएर यस्तो हुनु स्वाभाविक हो।
एक्सेपटेन्स(Acceptance)- विरामीलाई आफ्नो अवस्थाको बारेमा ज्ञान हुन्छ, त्यो केहि गरेर पनि बदल्न सकिदैंन भनेर उसले थाहा पाँउछ र यो कुरालाई उसले स्वीकार्छ। र बाँकिको समय उसले कसरी बिताउने भनेर निर्णय गर्नसक्छ।
यी अवस्थाहरु एकपछि अर्को आउनै पर्छ भन्ने छैन, कुनै पनि अघिपछि आउनसक्छ र हरेक व्यक्तीमा सबै अवस्था देखिनैपर्छ भन्ने पनि छैन।
त्यसैले विरामीले उसको उपचार नहुने रोगको बारेमा थाहा पाएर चिन्ता मात्रै लिन्छन्, टेन्सन मात्रै गर्छन, डिप्रेशनमा मात्रै जान्छन् भन्नु गलत हुन्छ। प्रकृतिले हामीलाई दु:खहरुसँग लड्ने, त्यसलाई जितेर अगाडि बढ्ने विभिन्न उपायहरु दिएको हुन्छ। मात्र हामीले त्यसलाई विश्वास गरी साथ दिनु जरुरी हुन्छ। यदि माथिका उदाहरणमा जस्तै मीठो झुठ मात्रै बोलिएको भए 'अन्तर्मनको यात्रा' जस्तो राम्रो पुस्तक हामीले पढ्नै पाउने थिएनौं होला। लेखक जगदिश घिमिरेले आफूलाई मल्टिपल माएलोमा (Multiple myeloma) नामको रक्तक्यान्सर भएको र आफ्नो आयु केहि महिना मात्र बाँकी रहेको ज्ञान भएपछि उपचारको क्रममा सो पुस्तक लेखेका हुन्, जसले मदन पुरस्कार लगायत अन्य थुप्रै पुरस्कार र लाखौं पाठकको मन पनि जित्यो।
त्यसो भने विरामीलाई के भन्ने त "तपाईंको रोग उपचार गर्न सकिदैंन, तपाईं अब चाडैं मर्दै हुनुहुन्छ" भनेर भन्ने? मैले त्यसो भन्न खोजेको होइन। हो, सत्य तितो हुन्छ, तर त्यो तपाईंको भन्ने तरिकामा पनि भर पर्छ। नराम्रो दु:खको समाचार कसरी सुनाउने (Breaking bad news) भन्ने विषयको एउटा छुट्टै पाटो छ, जुन शायदै कुनै मेडिकल कलेजमा सिकाइन्छ (4,5)। विरामीको त्यस्तो अवस्थाका बारेमा विरामीलाई जानकारी दिँदा कस्तो वातावरणमा दिने, कस्ता शब्दहरुको प्रयोग गर्ने, विरामीका प्रश्न, आशाहरुलाई कसरी सम्बोधन गर्ने, विरामीलाई कसरी बाँकी रहेको समयको सदुपयोग गर्न सिकाउने, कसरी जस्तोसुकै अवस्थामा पनि म तपाईंको साथ छु भनेर भन्ने कुराहरु महत्वपूर्ण हुने गर्छन्। त्यस्तै साँचो कुरा भन्ने भनेर जवरजस्ती विरामीलाई सबै कुरा भन्नु पनि हुदैंन। विरामीसँग कुरा गरेर कति कुरा थाहा पाउने उसको इच्क्षा छ भन्ने बुझ्नुपर्छ र त्यहि अनुसारको जानकारी दिनुपर्छ। पश्चिमी देशका मानिसहरुको तुलनामा एशियालीहरु यस्तो समयमा आफ्ना आफन्तहरुसँगै भएको रुचाँउछन् र आफु कति बाँच्छु भन्ने सम्बन्धमा छलफल गर्न चाँहदैंनन् भन्ने कुरा अनुसन्धानहरुमा देखिएको छ (6)। यो सामाजिक सांस्कृतिक संरचनाको फरकले गर्दा भएको हुनसक्छ। विरामीको यस्तो चाहनाको सम्मान गर्नुपर्छ।
अन्त्यमा,
शुरुमा दिइएका जस्ता अवस्थाहरुमा आफूलाई पाउँदा विरामिलाई "तपाईंलाई साधारण पेट दुखेको मात्रै हो, ५-६ दिनमा ठिक हुन्छ" भनेर मिठो झुठ बोल्नु अघि अलिकति समय निकालेर विरामीको अवस्था आशाका बारेमा राम्ररी बुझी, विरामीको कति थाहा पाउने चाहना छ बुझी, "तपाईंलाई यस्तो यस्तो भएको छ, उपचारहरु यस्तो यस्तो हुन्छन्, ठिक हुने नहुने यस्तो सम्भावना छ, तर जस्तोसुकै अवस्थामा पनि म तपाईंलाई सजिलो पार्न र तपाईंको उपचारको लागि तपाईको साथ हुन्छु। तपाईंलाई लागेका कुनै पनि प्रश्न मलाई सोध्न सक्नुहुन्छ।" भनेर साँचो कुरा तर सहयोगी, सहृदयी र सान्त्वनाका शब्दहरुका साथ भन्न सकिन्छ कि भनेर एकपटक सोचीदिनुभयो भने म मेरो यो लेख फलदायी भएको ठान्नेछु।
स्रोतहरु: