केही दिन अघि माओवादीका नेता जनार्दन शर्मालाई एयर एम्बुलेन्स(हेलिकप्टर)मा राखेर उपचारका लागि भारत लगियो। काठमाडौंको त्रिवि शिक्षण अस्पतालको सधन उपचार कक्षमा राखी केही दिन उपचार गरिएको उनलाई ९०% जापानिज इन्सेफलाइटिस भएको शंका थियो र रोग कन्फर्म गर्न र अरु उपचार गर्न 'शायद' नेपालमा नसकिएर भारत लगिएको थियो।
एमालेका अध्यक्ष झलनाथ खनालको प्रोस्टेट ग्रन्थीको शल्यक्रिया भारतको अपोलो अस्पतालमा गरियो। जबकी प्रोस्टेटका विभिन्न प्रकारका उपचार पद्धतीहरु हाम्रै देशमा उपलब्द छन्।
एमालेकै अर्का नेता केपी शर्मा ओली मृगौला सम्बन्धी रोगी छन् र बेलाबेलामा भारतमा स्वास्थ्य जाँचका लागि पुगिरहेका हुन्छन्।
उपप्रधानमन्त्री विजयकुमार गच्छदार आँखाको समस्याको उपचारका लागि भनेर भारत पुगेका थिए, जबकी सबैलाई थाहा छ आँखाको समस्याका लागि उच्च स्तरिय अस्पताल र ख्यातिप्राप्त डाक्टरहरु हाम्रै देशमा पनि छन्।
यो अहिले शुरु भएको चलन भने होइन, पहिले पनि तत्कालिन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई बेलाबेलामा उपचारको लागि विदेश लगिने गरिन्थ्यो। र अरु पनि विभिन्न नेताहरु उपचारका लागि विदेश जाने गर्थे र गरिरहेका छन्।
एउटा विरामीको उपचार गराउँदा पनि विरोध गर्ने म यहाँ सम्वेदनाहीन व्यक्ति जस्तो देखिनसक्छु, डाक्टरको नाममा ढोंग देखिनसक्छु। तर हामीहरु धेरैलाई थाहा नहुनसक्छ जापानिज इन्सेफलाइटिसको उपचार 'सर्पोटिभ/Supportive' मात्रै हो अर्थात् यसको ठ्याक्कै औषधी हुदैंन र विरामीको अवस्था अनुसार उसमा देखिएको समस्या अनुसार उसको उपचार गर्दैजाने हो। र जस्तोसुकै सिकिस्त विरामीको सर्पोटिभ उपचार गर्ने सुविधायुक्त सधन उपचार कक्ष/आइसीयुहरु, सम्बन्धित विशेषज्ञहरु हाम्रो देशमा नभएका जस्तो त मलाई लाग्दैन।
यसो भनेर मैले कुनै व्यक्ति विशेष वा कुनै पार्टीका नेतालाई मात्र आक्षेप लगाउन खोजेको होइन, न त उनीहरुलाई कुनै पनि अवस्थामा सरकारी पैसा खर्च गरी विदेशमा उपचार गर्ने व्यवस्था गर्नुहन्न भन्न खोजेको नै हुँ।
मैले त नेपालमा उपचार सम्भव हुँदाहुँदै पनि, नेपालमा भन्दा विदेशमा हुने उपचारले परिणाममा खासै फरक नपर्ने अवस्थामा पनि र सम्बन्धित रोग वा अवस्थाका विशेषज्ञ डाक्टर र उपचार आफ्नै देशमा पाइने अवस्थामा पनि सरकारी ढुकुटी खर्च गरेर विदेशमा उपचार गर्न जाने प्रवृतिको विरोध गरेको हुँ। देशको लागि काम गर्ने, सार्वजनिक हितमा लागेका व्यक्तिहरु (नेताहरु मात्र नभई कलाकार, खेलाडी, साहित्यकार आदी) सबै देशका सम्पत्ति हुन्। उनीहरुलाई आवश्यकता पर्दा देशले हेर्नुपर्छ। तर सरकारी पैसा त जाने हो नि भनेर नेपालमै गर्न सकिने उपचारमा पनि यहाँको डाक्टर उपचारलाई विश्वास नगरी विदेशतिरै दौड्नुपर्ने भनेको त 'नजिकको जोगी गिद्ध, टाढाको जोगी सिद्ध' भन्ने उखान जस्तै हो। आफ्नै घरको क्षमता र विकासमा विश्वास नगर्ने, आफ्नै विशेषज्ञहरुको कार्यक्षमता, दक्षताप्रति शंका गर्ने परम्परा हो।
यो हाम्रा नेताहरुमा मात्र देखिएको प्रवृति भने होइन, एकछिन विचार गर्यो भने यो हामीमा पनि केही मात्रामा भएको पाउँछौं। फरक यत्ति हो कि उनीहरु यसका लागि सरकारी सम्पत्ति प्रयोग गर्छन्, हामी व्यक्तिगत। यो प्रवृति सरकारी स्कुलका टिचरहरुले आफ्ना छोराछोरीलाई चाँही महंगा बोर्डिङ स्कुलमा भर्ना गराएको जस्तै होइन त?
यो चलन, प्रवृति तपाईंहरुलाई कस्तो लाग्छ?
No comments:
Post a Comment