बार्सिलोना फुटबल क्लब र मेस्सीको नाम नसुनेको मानिस शायद कमै होलान्। मेडिकल कलेज पढ्दाताका होस्टेलमा साथीहरु रातको १२-१ बजेसम्म नि क्लब फुटबल हेर्नको लागि जागा बस्नेगर्थे। एकदुई पटक मैले नि प्रयास नगरेको होइन तर निन्द्रा फालिफालि रातभर जागा बस्न (अझ पेनाल्टी भएको बेलामा त कहिलेकाही त बिहानै हुन्थ्यो) मनै लागेन। म बार्सिलोनाको डाइहार्ड फ्यान र फुटबल भनेपछि मरिहत्ते गर्ने मान्छे होइन। तैपनि साथीभाइहरुको कुरा गफगाफ सुनेर, रेकर्डेड म्याचहरु हेरेर(कहिलेकाही लाइभ पनि), पत्रपत्रिकाका लेखहरु पढेर यति थाहा भएको छ कि बार्सिलोनाले जहिले सुन्दर फुटबल प्रदर्शन गर्छ। कसैकसैलाई यो कुरा मन नपर्न सक्छ, विशेषगरी अरु टिमका फ्यानहरुलाई। तर मेरो विचारमा फुटबल भनेको गोल मात्रै होइन, खेल भनेको जित्नु मात्र होइन। शुरुदेखि अन्त्यसम्म कसरी खेल अगाडी बढाउँछ, खेल अवधीभर कस्तो प्रदर्शन गर्छ वास्तविक खेल त त्यो पो हो। गोलमा मात्र आँखा लगाउनु भनेको त वर्षभरीको लगनशीलता पढाइ नहेरी खाली अन्तिम जाँचमा कति नम्बर ल्यायो, त्यो मात्र हेरेर विधार्थी राम्रो नराम्रो भन्नु जस्तै हो।
तपाईंहरुलाई अचम्म लाग्नसक्छ, फुटबल र मेडिसिनको यो कस्तो कम्पेरिजन/तुलना भनेर। दिमाग अलिकति खुला छोडेर विचार गर्ने हो भने यी उस्ताउस्तै लाग्छन्। मेडिसिन भनेको जुन हामी रोग पत्ता लगाउने र उपचार गर्ने मात्र भनेर सोच्छौं (फुटबलमा गोललाई मात्र हेरेको जस्तै) त्यतिमात्र पटक्कै होइन। मेडिसिन भनेको अन्य विज्ञानहरु जस्तो नियम/प्रिन्सिपलले मात्र नि चल्दैन, यसमा अन्य विज्ञानमा जस्तो निर्जीव पदार्थहरु, प्रोग्रामहरु वा सजीव नै भए पनि डाइरेक्ट प्रतिकृया दिन नसक्ने रुखविरुवा वा जनावरहरुसँग उठबस गर्नुपर्ने होइन। यसमा हामीले मानवीय संवेदना भएको, सोच्नसक्ने, विचार गर्नसक्ने, निर्णय गर्नसक्ने हामीजस्तै मानिसहरुसँग व्यवहार गर्नुपर्ने हुन्छ। त्यसैले मेडिसिन रोगको डायग्नोसिस र उपचारमा मात्र सीमित छैन। विरामीहरुसँगको कुराकानी, दोहोरो सम्बन्ध, उनीहरुसँग गरिने व्यवहार, उनीहरुलाई उपचारक्रममा दिइने सहयोग, सद्भाव, साथ र उनीहरुको डाक्टर आफैंले गर्ने जाँच आदी सबैको उत्तिकै महत्व हुन्छ। यी सबैलाई मेडिकल भाषामा क्लिनिकल मेथड्स(Clinical Methods) भनिन्छ। जसमा महंगा जाँचहरु, ठूलाठूला मेसिनहरुबाट गरिने जाँचहरु नभई विरामीलाई समय दिएर उनीहरुसँग गरिने कुराकानी, डाक्टर आफैंले हातले वा साधारण सामानहरुले गर्ने जाँचहरु पर्छन्। यसले डाक्टर र विरामीबीचमा विश्वासको वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्छ, जसले रोगको डायग्नोसिस र उपचारमा पनि सजिलो पर्न जान्छ।
आफ्नो उपचार गर्ने डाक्टरलाई मनका कुराहरु भन्न पाउँदा, डाक्टरले स्पर्श गरेर विरामीलाई कहाँ दुखेको, नदुखेको जाँच गर्दा नै वास्तवमा उपचार शुरु भैसकको हुन्छ। किनकी उपचार भनेको ठूलाठूला मेसिनबाट गरिने जाँच र महंगा औषधीको थुप्रो मात्र होइन। यो त विरामी र डाक्टरबीचको विश्वासको, साथको, अन्तर्सम्बन्धको पवित्र प्रयास हो जुन आजभोलि हराउदै गएको छ। जसरी गोल कति भयो भन्ने मात्र फुटबल खेल होइन, ९० मिनेटभित्र गरिने पास, टिम इफोर्ट, बनाइने मुभहरु सबै फुटबलका भागहरु हुन्, त्यसरी नै विरामीसँग गरिने सद्भाव, स्पर्शका साथ गरिने जाँच, विरामीको मनमा म ठिक हुनसक्छु भन्ने विश्वास पैदा गराउन सक्ने व्यवहार आदी क्लिनिकल मेथड्सका अभिन्न अंगहरु हुन्।
किन हराउदैं छ त क्लिनिकल मेथड्स?
गोललाई मात्र महत्व दिने प्रवृतिले, खेल जित्नुलाई मात्र ठूलो मानिनाले।
आधुनिक युगमा मेडिसिनको विकाससँगसँगै नयाँनयाँ प्रकारका जाँचहरु निस्कदै गए, विरामीको रोग पत्ता लगाउन ठूलाठूला मेसिनहरु, एक्सरे, सिटीस्क्यान(CT scan), एमआरआइ(MRI), पेट स्क्यान(PET scan) आदी बन्दै गए र रोग पत्ता लगाउन बाँया हातको खेल जस्तो बन्न गयो, पैसा भयो भने। यो विकासको क्रममा हामीले विरामीसँग बिताइने समय, गरिने कुराकानी, डाक्टर आफैंले गर्ने जाँच, विरामी र डाक्टरको बीच विश्वासको वातावरणको महत्व आदीलाई चाँही पछाडी छोड्यौं।
सेवाको भाव मुख्य हुनुपर्ने पेशामा व्यापारिपनको प्रवेश यसको एउटा प्रमुख कारण हो। जति विरामी हेरिन्छ, त्यतिलाई राम्रो तरिकाले हेर्ने भन्दा पनि धेरैभन्दा धेरै विरामी हेर्ने प्रवृतिले यस्तो हुन गएको हो। तर यसरी सीधा डाक्टरहरुलाई मात्र दोष थोपारीहाल्न पनि मिल्दैन। हाम्रो देशमा डाक्टर र विरामीको रेसियो कति छ, एकजना डाक्टरले एकदिनमा औषतमा कति विरामी 'हेर्नुपर्ने' हुन्छ, त्यसले पनि असर गरेको छ। मैले यहाँ 'हेर्नुपर्ने' भने 'हेर्ने' भनिनँ किनकी धेरैजसो यो हाम्रो वाध्यता हुन्छ। विरामीको भीडलाई त्यसै छोडेर जान सकिदैंन, त्यो भन्दा त छोटोमा अलिअलि जाँचेर सकाउनु ठिक होला भन्ने सोचाइ आउँछ, आखिर नहुनुभन्दा त कानो मामा नै ठिक हो नि। यसले गर्दा चाहेर पनि हामी विरामीसँग धेरै समय विताउन पाइरहेका हुदैनौं र आवश्यक अनावश्यक जाँचहरुमा हामी बढि भर पर्ने गर्छौं।
तर यो भनेर हामी डाक्टरहरु दुधले नुहाएका पनि हुदैनौं। प्राइभेट अस्पतालमा गरिने जाँचहरु, दिइने औषधीहरुको थुप्रो आदीको पछाडी ल्याव, एक्सरे, इसीजी, सिटी स्क्यान आदीबाट पाइने कमिसन, औषधी कम्पनीहरुबाट पाइने कमिसनले पनि ठूलो भूमिका खेलेको हुन्छ। यो पवित्र चिकित्सा पेशामा घुसेका अमानविय, धुर्त र स्वार्थी तत्वहरु र नाफा मात्र खोज्ने चरम व्यापारीपनाको फेटल कम्बिनेसन(Fatal combination)को परिणाम हो।
विरामीहरुमा स्वास्थ्यसम्बन्धी ज्ञानको अभाव र कहिलेकाहीं अल्पज्ञान, जसलाई एक्स्ट्रा शो अप गर्ने प्रवृति पनि यसका दोषी हुन्। एक थरी विरामी यस्ता हुन्छन् जो डाक्टरले भनेका हरेक कुरालाई नतमस्तक भएर भगवानको वाणी मानेर शिरोपर गर्छन्, किन, कसरी, केका लागि, के हुनसक्छ, केके गर्न सकिन्छ केही पनि सोध्दैनन् वा भनौं डाक्टरहरुले सोध्ने वातावरण नै बनाउदैनन/बन्न दिदैंनन्। अनि अर्काथरी चाहीं सीमित ज्ञान भएका हुन्छन् जो डाक्टरका हरेक कुरामा शंका गर्ने, यसोगर्न, उसोगर्न सल्लाह भन्दा पनि अनावश्यक दबाब दिने गर्छन्। यी दुवै थरीका विरामीकहरुले आफूलाई परिवर्तन गर्न जरुरी छ र त्यसका लागि आवश्यक वातावरण बनाइदिनु डाक्टरहरुको कर्तब्य हो।
साधारण भाइरल ज्वरोलाई पनि छिटो ठिक पार्नुपर्यो, सामान्य औषधीले छोएन, "आराम गर्नु र सिटामोल खानु मात्र भन्ने नि के डाक्टर" भनेर महंगा तर अनावश्यक एन्टिवायटिक लेख्न दवाव दिने चलन राम्रो होइन। र त्यस्तोमा सम्झाउन अलिकति पनि प्रयास नगरी एमआर(MR)ले घोकाएको औषधी खुरुखुरु लेख्ने डाक्टरहरुको बानी पनि ठिक होइन। यसमा दुवै पक्षले सुध्रिनु जरुरी छ।
हुनुपर्ने कस्तो हो त?
ब्युटिफुल मेडिसिन/Beautiful Medicine।
के हो त ब्युटिफुल मेडिसिन भनेको?
बार्सिलोनाले जस्तो उत्कृष्ट फुटबल प्रदर्शन गर्दै खेल पनि जित्ने। गोललाई मात्र फुटवल नठानी सम्पूर्णरुपमा उत्कृष्ट प्रदर्शन गर्ने, र यदी गोल गर्न सकिएन, खेल जित्न सकिएन भने पनि आफ्नो सुन्दर गेम खेल्न नछोड्ने।
भन्नुको अर्थ क्लिनिकल मेथड्सको पनि प्रयोग गर्दै साथमा आवश्यक नयाँ विकसित जाँच पद्दतिहरुको पनि उपयोग गरी रोग पत्ता लगाई उपचार गर्नुपर्छ। विरामीसँग गरिने सद्भाव, सानासाना कुराकानी, उनीहरुलाई 'रोगको रुपमा' मात्र नहेरी 'मानव'को रुपमा हेर्ने, सहानुभूति नभई समानुभूति/empathy दिने, आत्मविश्वास जगाउन सहयोगी भूमिका खेल्ने आदी प्रयासहरुको ठाउँ आधुनिक जाँचहरु, कम्प्युटराइज्ड मेसिनहरुले कदापी लिन सक्दैनन्। विरामीको फाइदाको लागि आवश्यकता अनुसार नयाँ विकसित पद्दतिहरुको पनि प्रयोग गर्नुपर्छ तर क्लिनिकल मेथड्सको बदलामा कदापी होइन। त्यस्तै सधैं रोग पत्ता लाग्छ, पत्ता लागेको रोग निको पार्न सकिन्छ भन्ने नि हुँदैन, त्यस्तो बेलामा नि आफ्नो लिमिटेसन/Limitationहरु भनेर, वास्तविक अवस्थाको जानकारी विरामी र उस्का परिवारलाई दिइ सहयोग र सद्भावको भावना राख्नुपर्छ।
जसरी बार्सिलोनाको फुटवललाई ब्युटिफुल फुटवल/Beautiful football भनिन्छ, मेडिसिनको यो सम्पूर्ण प्रकृयालाई म ब्युटिफुल मेडिसिन/Beautiful Medicine भन्न चाहन्छु, किनकी यो साच्चिकै सुन्दर हुन्छ।
आशा छ, भविष्यमा हामी रोग चिनेर औषधीको थुप्रो मात्र लेख्नुलाई मात्र नभई विरामी र डाक्टरबीचको विश्वासको अन्र्तसम्बन्धलाई पनि महत्व दिनेछौं, कमिसनको लागि जथाभावी महंगा जाँचहरु लेखेर विरामी र उसका आफन्तको ढाड सेक्ने कामलाई भन्दा क्लिनिकल मेथड्सलाई प्रयोग गरी अन्य जाँचहरुलाई त्यसको सहयोगको लागि मात्र प्रयोग गर्नेछौं।
छोटोमा भन्दा, ब्युटिफुल मेडिसिनको प्राक्टिस गर्नेछौ/गराउनेछौं। We will and help others practice 'Beautiful Medicine'.
फेरि एउटा सेयर गर्ने परि लेखिएको उत्कृष्ट आलेख ! । मैले सेयर गरेँ है !
ReplyDeleteThank u Dilipji.
DeleteBeautiful article :)
ReplyDeleteThank u Santosh.
Deleteसारै मन पर्यो। fc barcelona मेरो मन पर्ने एउटा मात्र फुटबल टिम हो............ यो लेख चाही दिलिप सरले ट्विटरमा लिंक राख्नु भएको रहेछ त्यही बाट पढ्ने मौका पाए....... दिलिप सर तथा यस्को लेखकलाइ धन्यवाद !
ReplyDeleteThank u Lakshmanji.
Deletegreat article! All medicos must view this.....
ReplyDelete