Sunday, November 17, 2013

एउटा डाक्टरको आत्मविश्लेषण

१८ हजारभन्दा धेरैपटक सेयर गरिएको अनि ३ सयभन्दा धेरै कमेन्ट गरिएको कमला थापाजीको लेख ‘डा. भगवान, जवाफ देउ, मेरो बच्चा कसरी मर्‍यो?’ पढेपछि लाग्यो- “यत्ति धेरैले हामी चिकित्साकर्मीहरुको व्यवहारमा, काम गर्ने शैलीमा असन्तुष्टि देखाउँदा समर्थन जनाए, आफ्ना कटु अनुभवहरु पनि त्यसैमा थपेर सुनाए भने पक्कै पनि हामीमा केही खोट त छ।” अनि बसें, आफू र आफ्नै पेशाकर्मी साथीहरुको चिरफार गर्न।

कसैले तपाईंको व्यवहार, कामको पद्दति, विश्वसनीयतामाथि प्रश्न उठाउँछ भने के गर्नुहुन्छ? त्यसको गतिलो जवाफ दिनुहुन्छ, त्यसलाई चुप लगाउने प्रयास गर्नुहुन्छ। तर धेरैले धेरैपटक त्यसो गरे भने के गर्नुहुन्छ? त्यो बेलामा धेरैलाई चुप लगाउनुको साटो आफूमै पो केही कमजोरी छ कि, गल्ती मेरै पो हो कि, त्यसलाई सुधारेर आफू कसरी राम्रो, विश्वसनीय बन्ने भनेर आत्मविश्लेषण गर्नुपर्छ, गर्न जरुरी हुन आउँछ।

चिकित्सा पेसा र हामी स्वास्थ्यकर्मीमाथि व्यवहार राम्रो नभएको, विरामीप्रति संवेदनशील नभएको, सेवाको पेशालाई व्यापारीकरण गरेकोदेखि बिरामीको ज्यानमाथि खेलबाड गरेको, लापरवाही गरेर ज्यान लिएकोसम्मका आरोपहरु विगत केही वर्षदेखि लाग्ने गरेका छन्। यो क्रम घट्दो हैन, बढ्दो छ। तर पनि यो कम गर्न, यस सम्बन्धी कारबाही गर्न गम्भीरतापूर्वक काम भएको देखिँदैन। गल्ती हुँदै नभएको, सिस्टमको कमजोरी, अर्काको गल्ती, अरु विविध कारणहरुलाई एकातिर थाती राख्ने हो भने हामीमा भएको कमजोरीका घटना पनि प्रसस्तै देखिन्छन्। आउनुहोस्, आज हामीमा भएका केही कमजोरीहरुको कुरा गरौं, आत्मविश्लेषण गरौं, हामीप्रति उठेका शंका, अविश्वास, दोषका आवाज मनन गरेर हामी आफू कति ठीक कति बेठीक छौं भनेर चिन्तन गरौं। यो अविश्वासको वातावरण कम गर्नेतर्फ एक कदम अगाडि बढौं।

हामी घमण्डी छौं
हो, हामी धेरैजसो घमण्ड गर्छौ, डक्टर हुनुमा, नर्स हुनुमा, आफ्नो पेशाको कारणले गर्दा अरुभन्दा अलिकति भए पनि माथि रहेको सोच्छौँ। अलि अलि घमण्ड ठीक पनि हो तर यो व्यवहारमै देखिने गरेर, हामी र विरामीबीचको सम्बन्धमै असर पर्ने गरेर हुनु हुँदैन। सायद वर्षौंदेखि र अहिले पनि कति ठाउँमा डक्टरलाई भगवानसँग तुलना गरिने, समाजमा माथिल्लो दर्जामा राखेर हेरिने अनि सामान्यतया सम्पन्न घरको वा डाक्टर भएपछि सम्पन्न हुने भएकोले पनि यो घमण्ड रहेको हुनसक्छ। तर वास्तवमा पेशाले नै कोही ठूलो वा सानो हुने त हैन नि। व्यवहार सम्मानजनक हुनुपर्‍यो, काम त्यस्तो गर्नुपर्‍यो। अनि डाक्टर भनेका त बिरामीका साथी जस्तो हुनुपर्ने हो, जसले उसको स्वास्थ्यमा परेको समस्या नजिकबाट बुझेर त्यसलाई कम गर्न आफ्नो अनुभव, ज्ञान प्रयोग गर्छन्। बिरामी र डाक्टर, नर्स एउटै लेबलमा रहनुपर्‍यो, सेवा लिन आएको भनेर उ सानो हुने र उनीहरुलाई हाम्रो जरुरत छ भनेर हामी ठूलो हुने हैन।

बिरामी र बिरामीको परिवारसँग हामीलाई मिठो बोल्न, राम्रो व्यवहार गर्न आउँदैन
हो, मिठो बोल्ने डाक्टर मैले पनि कमै देखेको छु। तनावको वातावरणमा काम गर्नुपर्ने, माग अनुसार जनशक्ति नभएकाले कामको लोड अत्याधिक भएकोले, काममा सन्तुष्टि नभएकोले हो कि धेरैजसो डक्टर, नर्सहरु बिरामीहरुसँग झर्केको नै देखिन्छन्। बिरामीहरु पनि रिसाइ पो हाल्छन् कि, केही भनी पो हाल्छन् कि भनेर डाक्टरहरुसँग सजिलै बोल्न सक्दैनन् र हच्किन्छन्। केही कुरा चित्त नबुझेर सोध्यो भने "तपाई डाक्टर कि म डाक्टर?" "एउटै कुरा कत्ति सोधेको?", “तपाईंलाई मात्र यस्तो परेको हो र?” भन्ने जवाफ झर्केर आउँछ। थोरै बोल्ने, भेट्न गार्‍हो हुने, सधैं व्यस्त रहने व्यक्ति ठूलो हो भन्ने सोचाइले पनि काम गरेको हुनसक्छ। बरु नर्सहरुसँग बिरामी र उनका आफन्तहरु सहज मान्छन्। उनीहरुसँगै नजिक हुन्छन् पनि। मैले यहाँ व्यवसायिक निकटताको कुरा गरेको हुँ, जुन डाक्टर र उसको बिरामीबीच अलि कमै देखिन्छ।

पछिल्लो पटक टिचिङ अस्पतालको सुत्केरी वार्डमा भएको घटनामा लेखक र उनको परिवारको दु:खप्रति म समवेदना व्यक्त गर्दछु। यस्तो दु:खको बेलामा पनि उत्तेजित नभई स‌ंयम तरिकाले लेखमार्फत प्रस्तुत हुनुभएकोमा उहाँलाई धन्यवाद। यस्ता कुराहरु बाहिर आउनैपर्छ र यिनका बारेमा छलफल गरिनु जरुरी पनि छ। त्यो घटनामा लापरवाही भएको नभएकोबारे मलाई जानकारी छैन तर मेरो अनुभवमा प्राय: गल्ती उपचारमा भन्दा पनि बिरामीहरुसँग त्यसबारे गरिने छलफल, व्यवहार, कुराकानीको तरिका आदिमा हुन्छन्। अनुसन्धानले पनि भनेका छन् कि तपाईं आफ्नो बिरामीसँग राम्रो तरिकाले बोल्नुहुन्छ, राम्रो व्यवहार गर्नुहुन्छ भने तपाईं माथि कानुनी कार्वाही, दोष लाग्ने सम्भावना कम रहन्छ।

९ महिना गर्भमा राखेर अनि अन्तिम समयमा शिशु गुमाउनु पर्दाको पीडा त्यो भोगेको एउटा महिलाले मात्रै अनुमान गर्नसक्छिन्। तर दिनहुँ त्यसता र अझै दु:खद् मृत्यु अनि पीडाका घटना देख्ने हामी डाक्टर, नर्सहरुका लागि त्यो यति सामान्य भइसकेको हुन्छ कि त्यस्तो बेला हामी एकछिन बिरामीसँग बसेर सामान्य दु:खमनाउ गर्न पनि बिर्सन्छौं, सहानुभूति देखाउन भुल्छौं, आफ्नो यो व्यवहारको लागि व्यस्ततालाई मात्र दोष दिनु अलि उचित हुँदैन। त्यो हाम्रो बानी नै छैन, हामीलाई सिकाइएको नै छैन। हामी रोगलाई हेर्छौ, रोगको उपचार गर्छौं, हामीलाई रोगीको के चिन्ता। हाम्रो लागि विरामी एउटा केस हो, उसकै अगाडी बसेर हामी उसकै रोगको बारेमा छलफल गर्छौ, भए भरको नबुझिने मेडिकल शब्दहरुमा कुराकानी गर्छौं, तर बिरामीसँग थोरै बोल्छौं, उसलाई सामान्य शिष्टाचार देखाउन बिर्सन्छौं, मानवीय व्यवहार गर्न भुल्छौं, उसको मनमा के प्रश्न, दुबिधा चलिरहेको होला बुझ्न खोज्दैनौं, जाँचको बेलामा उसको अप्ठ्यारोपन बुझ्दैनौं, प्राइभेसी दिन बिर्सन्छौं, किनकी यी सबै हाम्रा दैनिकी भैसकेका छन्, हामी यसरी नै गर्दै आइरहेका छौं, बिरामीहरुको लागि पो यो पहिलोपटक हुन्छ, नौलो हुन्छ। त्यसैले हामी हाम्रो ठाउँमा बसेर हेर्दा हाम्रा कृयाकलाप, व्यवहार ठिकै लाग्छन् तर एक पटक बिरामीको ठाउँमा बसेर हेर्नुस् त, वा त्यो बिरामीको ठाउँमा आफ्नो मान्छेलाई राखेर हेर्नुस् त, अनि थाहा हुन्छ कि?

हामीलाई बिरामी र उसका आफन्तलाई राम्रो काउन्सेलिङ गर्न आउँदैन
हामी स्वास्थ्यकर्मीहरुको काम मान्छेहरुसँग व्यवहार गर्ने, जिउँदो मान्छेको उपचार गर्ने हो, न कि कुनै भावना, सोचाइ, मन नभएको मेसिनको। त्यसैले उपचार भनेको ठूलाठूला जाँचहरु, महँगा औषधी, अप्रेसन मात्रै हैन। बिरामीको पीडा, भावना, चाहना बुझ्ने, त्यसको सम्मान गर्ने पनि एउटा स्वास्थ्यकर्मीको कर्तव्यभित्र पर्छ।

मैले देखे, सुने, भोगेअनुसार काउन्सेलिङ कसरी गर्ने भनेर हामी मध्ये धेरैलाई थाहा छैन। रोगबारे जानकारी दिने, “यो हुनसक्छ, त्यो हुनसक्छ, ज्यान जानसक्छ” भनेर ठूला ठूला मेडिकल भाषामा बिरामी र उसका आफन्तसँग कुराकानी गर्नु मात्रै काउन्सेलिङ हैन। कहीँ पढेको थिएँ, डक्टरहरुले बोलेको ७०-८०% कुरा सामान्य मानिसले बुझ्दैनन् रे। हामीलाई पो त्यही पढेर आएको ब्याकग्राउन्डमा “यत्ति त बुझिहाल्छन् नि” जस्तो लाग्छ, तर मानव शरीरको सामान्य पनि ज्ञान नभएका विरामी, उसका आफन्तले कसरी बुझुन् तपाईं हाम्रा मेडिकल शब्दावलीले भरिएका कुराकानी।

'आइ सि यु'मा राख्न लाग्दा निमोनिया भ'को विरामीलाई किन ‘आइस’ मा राख्ने, झन चिसोले निमोनिया बढ्दैन र? भन्ने रगतको जाँच भनेको सबै एउटै हो भनि पटकपटक कति जाँच गरेको भनी सोध्ने, मुटु नचलि अन्तिम अवस्थामा पुग्दा छाती थिचेर गरिने सिपीआरलाई ‘झन विरामीको छाती थिचेर मार्यो’ भन्ने जस्ता कैयौं उदाहरणहरु छन्। विरामीले हाम्रा कुरा, काम गर्ने तरिका बुझ्दैनन् र हामीले चाहिने जति बुझाउन सकेका छैनौं। तपाईंले काउन्सेलिङ गरेपछि एक पटक सोध्नुस् त "ल भन्नुस् तपाईंले के के बुझ्नुभो” भनेर। तपाईंले बोल्दा "हजुर हजुर" भनेर धेरैले टाउको हल्लाए पनि प्राय:ले के बुझे भनेर भन्न सक्दैनन्।

हाम्रो बोलीमा 'इम्प्याथी' हुँदैन। "मैले तपाईंको दु:ख बुझेको छु, हामी सबै तपाईंको, तपाईंको बिरामीको लागि सक्दो प्रयास गर्दैछौं, गम्भीरतापूर्वक लागि पारेका छौं" भनेर हामीले बोलिमा अनि व्यवहारमा पनि देखाउन सकेका हुन्नौं। "बिरामीको अवस्थामा खासै सुधार छैन, मुटुको धड्कन बढी छ, प्रेसरको लागि औषधी चल्दैछ, पिसाब राम्रो भ'को छैन, होस ठीक छैन, अझै केही दिन भन्न सकिन्न।" हाम्रो काउन्सेलिङ यस्तो हुन्छ। अरे, बिरामी मेसिन हो र, उसको बारेमा यसरी जानकारी दिन? कि हामीले मेसिन बनाइदियौं? सबैभन्दा मानवता हुनुपर्ने भनिने पेशामा खै हाम्रो मानवीय स‌ंवेदना ? कृपया यसको लागि व्यस्ततालाई मात्र दोष नदिनुहोला। मान्नुस् यो हामीलाई आउँदैन, यो हामीलाई सिकाइएकै छैन। र सिक्नु, जान्नु जरुरी छ।

दोष मात्र देख्यो भन्नुहोला तर नर्सिङ क्षेत्रमा पनि बिरामीसँग नराम्ररी बोल्ने, गाली गर्ने, जति बोलाँउदा नि नहेरिदिने, रुखो व्यवहार गर्ने जस्ता घटनाहरु मैले देखेको, सुनेको र भोगेको छु। तपाईंलाई कामको लोड होला, एक जनाले १०-२० जना बिरामीलाई औषधी दिने, पल्स, प्रेसर लिने, वार्डका अरु बिभिन्न काम गर्नुपर्ने होला तर त्यो अत्यधिक लोडको रिस तपाईंले बिरामीमाथि पोख्न पाउनुहुन्न। बरु हामीलाई काम गर्ने मान्छे पुगेन, लोड बढी भयो भनेर व्यवस्थापनलाई भन्ने हो। (हुन त माथिका ले पनि सुनिदिए पो, त्यो समस्या आफ्नै ठाउँमा छ।) लोड नै भएपनि मिठो बोलिरहेका, मज्जाले खटिरहेका, तैपनि मुस्काइरहेका नर्सहरु पनि मैले देखेको छु। त्यसो भए तपाईं चाहिँ किन फरक नि, तपाईंलाई मात्र त्यसो गर्न केले रोक्ने नि? हो यसमा आँउछ आत्मविश्लेषणको कुरा, मैमा पो केही खराबी छ कि, मैले सुध्रिनुपर्छ कि भन्ने कुरा।

हामी पैसाको पछि दौडेका छौं, सेवाको पेशालाई व्यापार बनाएका छौं
यो दोष पनि हामीले स्विकार्नैपर्छ, चिकित्सापेशाको हिजोआज व्यापारिकरण भएकै हो। एमडी सम्मको पढाईमा एक, डेढ करोड नै लगानी गर्नुपर्ने भएपछि पढाइ सकेर काम गर्दा जस्को पनि उद्देश्य त्यो लगानी उठाउने नै हुन्छ, त्यो स्वाभाविक नै हो। तर व्यापारीकरणको सिमाले मानवताको परिधि नाघ्नु भएन। सक्ने बिरामी त ठिकै छ खर्च गर्छन् नसक्ने, नभएका बिरामीलाई नि किनबेच गर्ने (प्राइभेटमा रिफर गरेर चर्को फी असुल्ने), रेगुलर ओपिडीमा राम्रोसँग नहेरी पेइङमा बोलाउने, क्लिनिकमा पठाउने, रेगुलर अप्रेसनमा सकेसम्म थोरै गर्न खोज्ने, चर्को मूल्य तिराएर पेइङ अप्रेसन गराउन लाउने, कमिसनका आधारमा महँगा औषधी, महँगा जाँचहरु गराउन लाउने जस्ता कामहरु हामी डाक्टरहरुबाट नभएका हैनन्। हुन त दुधले नुहाएको को होला र? “अरुले गरेका छन् भने हामीले चैँ किन गर्न नहुने” भन्नेहरु पनि होलान्। तर अरुले गलत गर्‍यो भन्दैमा आफुले पनि त्यस्तो गर्नुलाई जायज मान्नु कतिसम्म ठीक हो, आफैँ विचार गर्नुहोला।
मलाई एक जना साथीले ट्विटरमा सोध्नुभएको थियो, के तपाईं दिनको २-४ जना बिरामी फ्रीमा हेर्न सक्नुहुन्छ? पर्‍यो भने २-४ जना मात्रै हैन, १०-१२ जना पनि हेर्नसक्छु तर मैले बिरामी जाँचेर मात्रै रोग निको हुँदैन, औषधी किन्नुपर्‍यो, जाँच गर्नुपर्‍यो। चिकित्सासेवा भनेको जोइन्ट एफोर्ट हो, त्यसैले नि:शुल्क सेवा दिने, सेवामा छुट दिने कुरा सिस्टम र नियमको माध्यमबाट आएको राम्रो। मेरो एकजना साथीले आफूले बिरामी हेरेर उस्को उपचारमा आफूले अर्को डाक्टरलाई रिफर गर्नु बाहेक खासै उपलब्धिको काम गर्ननसकेको भनेर आफ्नो ओपिडी टिकटको पैसा नै फिर्ता दिएको पनि देखेको छु। सबैलाई यस्तै हुनुपर्छ भनेर म भन्दिन, तर सेवा, मानवता र व्यवसायको सन्तुलन हुनु जरुरी छ, हाम्रो पेशामा।

अन्त्यमा, एउटा इन्जिनियरमा, एउटा सरकारी कर्मचारीमा, एउटा प्राइभेट कर्मचारीमा, एउटा नेतामा, एउटा कलाकारमा, एउटा पत्रकारमा, एउटा व्यापारीमा, एउटा किसानमा, एउटा मजदुरमा, एउटा विरामीमा, एउटा विरामीको कुरुवामा र समग्रमा भन्दा एउटा मान्छेमा जे जे कमी, गुण, अवगुण हुन्छन् ती सबै हामीमा पनि छ, किन कि हामी नि मान्छे हौं। तर कमजोरी हुनु नराम्रो कुरा हैन, कमजोरी छ भनेर स्वीकार नगर्नु, त्यसलाई कसरी सुधार गर्न सकिन्छ भनेर नसोच्नु, त्यसको लागि काम नगर्नु चाहिँ बरु ठीक हैन। आउनुहोस् साथीहरु, हामी आफूमा भएका कमजोरीहरुलाई स्वीकार गरेर सुधारको लागि पाइला चालौं। मेरो आफ्नै एउटा पूरानो लेख 'डाक्टर भगवान हैन' भन्नेबाट मलाई मनपरेको एउटा वाक्य यहाँ लिन्छु, 'हामीमा पनि रिस छ, लोभ छ, पीडा छ, थकान छ, इर्श्या छ, प्रशंसाको भोक छ, एउटा मानिसमा हुने सबै खालका बानीहरु छन्, त्यसैले त हामी पनि मानिस हौं।' कृपया हामीलाई भगवान नबनाउनुस् र दानव पनि नबनाइदिनुस्, किनकि हामी दुवै हैनौं।

आशा छ यो लेखले हामी चिकित्साकर्मीहरुलाई आफू आफूमा आत्मविश्लेषण गर्न, म कति ठीक छु म कति बेठीक छु भनेर आफैँले मुल्याङ्कन गर्न अभिप्रेरित गर्छ। किनकि आत्मविश्लेषण नै अगाडि बढ्न पहिलो कदम हो। अनि अरुको हामीप्रति हेर्ने दृष्टिकोणमा केही परिवर्तन आउला कि?

सेतोपाटीमा यो लेख 'बच्चा गुमाएकी आमाको प्रश्नपछि टिचिङकै डाक्टरको आत्मविश्लेषण: हो, हामी घमण्डी छौं' शिर्षकमा छापिएको थियो। 

1 comment:

  1. हजुरको लेख मलाई ऐकदम चित्त बुझ्यो। यसरी नै अरु डाक्टरहारुले सोचिदिए काति राम्रो हुनेथियो।

    ReplyDelete