“मेरो विरामीलाई पखाला
लागेको छ, उसको जीउ तातो खालको हो,
भित्र हपहप पोल्छ रे, उस्लाई ‘सलामी’ चढाइदिनुपर्यो डाक्साब।" विरामी कुर्सीमा बस्ने
वित्तिकै विरामीको श्रीमानले भने। “सलामी!!” म झसंग भएँ, तर पछी मैले बुझें, उनले सलाइनलाई सलामी भनेका रहेछन्। "बुवा, पहिले विरामीलाई
जाच्छु अनी चाहिने भए लगाम्ला नभए किन लगाउने, हुन्न?"
तर उनी आफ्नै सुरमा पखाला लाग्या छ, भित्री ज्वरो छ, सलामी त जसरी नि चाहिन्छ भन्दै थिए। मैले विरामी जाँचे,
पखाला हिजोदेखी मात्रै थियो, प्रेसर ठिकै थियो, पानीको कमी भईसकेको थिएन। त्यसैले मैले जीवनजल र जिंक चक्की
मात्रै लेख्दै भनें, पखालाले गर्दा
शरीरमा पानीको कमी भएको छैन, प्रेसर नि ठिकै छ,
जीवनजल मुखैबाट खा’को राम्रो। उनीहरुले मानेनन्। मैले सम्झाउन खोजें, “वान्ता भको छैन भने मुखैबाट खानु राम्रो हुन्छ,
सलाइन महंगो नि हुन्छ, जीउमा घोच्नु नि पर्यो।“ तैपनी उनीहरुले
मानेनन्, जसरी नि सलामी लगाउनु पर्यो
भने। अन्तत: मैले हारेर सलाइन लगाइदिनु भनेर भन्नैपर्यो।
मान्छेहरुका
स्वास्थ्यसम्बन्धी अचम्मका विश्वास, भ्रमहरु हुन्छन्। खै कसरी बन्छ त्यस्ता भ्रमहरु। धेरैजसो त हामी
स्वास्थ्यकर्मीहरुले नै राम्रोसँग नबुझाएर, गलत अर्थ लाग्नेगरी बुझाएर वर्षौंदेखी बनेका विश्वासहरु
हुन्, जसको जरा धेरै भित्रसम्म
गढेको हुन्छ। त्यसैले त त्यो भ्रम तोड्नको लागि मेरो केही मिनेटको प्रयास पर्याप्त
भएन। किनकी उनले वर्षौं देखी मानिआएको, विश्वास गरिआएको गाउँका डाक्टरले त्यसै भनेका थिए होलान्, गाउँमा सबैले त्यही मान्छन् होला, सलाइन चढायो भने ताकत आउछ, सलाइन चढायो भने भित्रको तातो निको हुन्छ,
चिसो हुन्छ। कसैले त सलाइन चढाएको कारणले चिसो
बढेर निमोनिया भयो पनि भन्छन्।
अस्ति भर्खर एउटी
गर्भवती महिलालाई पाठेघरमा पानी कम भयो भनेर सुत्केरीको लागि भर्ना गरेको विरामीले
"हामीलाई त बच्चाको पानी कम छ, ठुलो अस्पताल गएर सलाइन चढाउनुपर्छ भनेर गाउँबाट पठाको" भनेर भन्दैथिन्।
हाँसो पनि लाग्छ, अचम्म नि लाग्छ,
रिस पनि उठ्छ। विचरा विरामीहरुसँग हैन, हामी आँफैंसँग, हामी सबै तहका स्वास्थ्यकर्मीहरुसँग। हाम्रो मेडिकल प्राक्टिस
देखेर उदेक लाग्छ। थाहा नभएको कुरा नबोल्दिनु, नगर्दिनु, अथवा जानेर,
बुझेर सल्लाह दिनु। हचुवामै जे मन लाग्यो त्यही
भनेका छन्, अनी त्यही कुरालाई नै
विरामीहरुले आधार मानेर भ्रम पालेर बस्छन्, जुन विस्तारै झनै गहिरो र गाढा भएर जान्छ।
जण्डिस सम्बन्धी भ्रम।
खै किन हो यो
जन्डिस देखी यस्तो डर मानेका। आयुर्वेदले ठुलै रोग भनेर भन्छ कि जन्डिसलाई,
थाहा भएन। तर एलोप्याथीमा जन्डिस रोग हैन लक्षण
हो, र यो प्राय: गरेर भाईरल
हेपाटाइटिस अर्थात भाईरल संक्रमणको कारण कलेजोको सुजनमा देखिन्छ, जुन केही हप्तामा आँफैं निको भएर जान्छ। हाम्रो
किताबमा जन्डिसको बेलामा न चिल्लो नखा भनेको छ, न मासु नखा भनेको छ, न बेसार नखा भनेको छ, न मसला नखा भनेको छ। स्वस्थ र सन्तुलित खाने, सफा पानी खाने, आराम गर्ने, बस् त्यत्ती हो,
न Liv-52 न तागत दिने मल्टी भिटामिन नै खानु भनेको छ। हुन त जन्डिस देखिने रोगको
आधारमा उपचार फरकफरक पर्न सक्छ, तर हामी धेरैले
गर्नेजस्तो ‘मान्छे विरामी नै पर्ने
गरेर सादा जाउलो नुनसँग खानुपर्दैन’। जन्डिस देखिएर
महिनादिनसम्म जाउलो र उसिनेको साग मात्र खाएर बस्ने अनी कमजोरी भो, खाना रुचेन भनेर आउनेहरु धेरै देखेको छु। अरे
बाबा, महिना दिन त्यस्तो खाएपछी
त सद्देमान्छे नि विरामी पर्छ। त्यस्तै नवजात
शिशुमा देखिने जन्डिस धेरैजसो साधारण प्रक्रीया हो, र त्यसको लागि आमाले केही
पनि बार्नुपर्दैन, बच्चालाई पनि केही औषधी गर्नुपर्दैन। यस्ता
केही दिनका बच्चाहरुलाई नि जन्डिसको औषधी भनेर के के खुवाएका भेटेको छु। उपचारको
नाममा भएको लापर्वाही त यो पो हो त। यस्तो अन्धाधुन्दको व्यापारीकरणको पो विरोध
गर्नु नि।
टाइफाईड सम्बन्धी
भ्रम।
ज्वरो बिग्रियो
भने टाइफाइड हुन्छ। ज्वरो आको बेलामा मुख बारेन भने, मसलादार खाना, मासु खायो भने ज्वरो बिग्रन्छ र टाइफाइड हुन्छ। खै कल्ले यसरी बुझाउछन्
उनीहरुलाई। पक्कै पनि हामीहरु मध्ये कसैको काम हो। वास्तवमा टाइफाइड ज्वरो बिग्रेर
हुने हैन, ‘साल्मोनेला टाइफी’ भन्ने जीवाणुको संक्रमणले गर्दा टाइफाइड हुन्छ र ज्वरो
त्यसैको एउटा लक्षण हो, मासु खाएर,
भात खाएर ज्वरो गडेर त्यस्तो हुने हैन। फेरी
एकदुई दिनको ज्वरोमै ‘सेफिक्सजिम’, ‘सेफ्पोडोक्सिम’ जस्ता 'कडा' एन्टिबायटिक खाएर आएका हुन्छन्, जस्ले टाइफाइड, निमोनिया सबै
रोगलाई काम गर्छ। अनि तेस्रो, चौथो दिनमा
अस्पतालमा आएर डाक्टरसँग ज्वरो बिग्रेर टाइफाइड भयो कि भनेर डर पोख्छन्। हामी धेरै
स्वास्थ्यकर्मीहरु जो गाँउगाँउमा काम गर्छौं (पारामेडिक्स, फार्मेसी चलाएर बस्ने स्वास्थ्यकर्मीहरु, डाक्टरहरु), उनीहरुसँग विरामीको पहिलो संपर्क हुन्छ, त्यो बेलामा उनीहरुलाई सहि सल्लाह र सहि उपचार
दिन सकियो भने यस्ता स्वास्थ्य सम्बन्धी भ्रमहरुलाई विस्तारै हटाउन सकिन्छ।
“निमोनिया गढेर बसेको छ,
बेलाबेला फर्कन्छ।“
धेरै विरामीले
यस्तो भनेको सुन्छु। मेडिकल साइन्समा यस्तो हुंदैन भन्दा पनि हुन्छ। निमोनिया भनेको
भाईरल वा ब्याक्टेरियल संक्रमणको कारणले हुने फोक्सोको रोग हो। एन्टीभाइरल वा
एन्टिव्याक्टेरियल औषधी चलाएर निको भएपछी त्यो गढेर बस्ने भन्ने हुँदैन। अर्कोपल्ट
फेरी निमोनिया हुनु भनेको अर्को संक्रमण हुनु हो। कोइकोइ रोगसँग लड्ने क्षमता कम
भएका व्यक्तीहरुमा पटकपटक यस्तो संक्रमण देखिनसक्छ तर यो थोरैमा मात्रै देखिन्छ।
हुन त हामीहरु स्वास्थ्यकर्मीहरुले
नै खोकी लाग्यो कि निमोनिया, स्वास्वा गर्यो
कि निमोनिया भनेर एन्टिबायटिक भिडाएर नि यस्तो भ्रम बढेको हो। वास्तवमा ज्वरो आएर
खोकी लाग्दैमा, छाती दुख्दैमा सबै
निमोनिया हुँदैनन्।
जाँचहरु सम्बन्धी
भ्रम
“मेरो एक्सरे गर्दिनुपर्यो, मेरो भिडियो एक्सरे गर्दिनुपर्यो। के गर्दा मेरो रोग देखिन्छ, सिटी स्क्यान, एम आर आई के गर्नुपर्यो?” यस्तो भन्ने विरामीहरु धेरै भेटिन्छन्। रोग पत्ता लागोस् भनेर सोच्नु राम्रो
हो, रोगले उनीहरुलाई धेरै सताएको नि होला, तर कुन समस्यामा कस्तो जाँच गर्नुपर्छ, कुन जाँचमा के हेर्नुपर्छ
भन्ने कुरा डाक्टरलाई थाहा हुन्छ। त्यसैले सिधै मेरो यो गर्नुपर्यो त्यो गर्नुपर्यो
भन्नु भन्दा नि आफ्नो समस्या सबै डाक्टरलाई सुनाएर केके गर्न सकिन्छ भनेर छलफल
गर्ने हो। यहाँ त लड्ने वित्तिकै एक्सरे गर्नु परीहाल्छ, शरीरको कुनै भाग दुख्यो कि एक्सरे गरिहाल्नुपर्छ। अनि कतीको भ्रम के छ भने
भिडियो एक्सरेबाट सब कुरा छर्लङ देखिन्छ, त्यसैले त पेट दुखे पेटको, टाउको दुखे टाउकाको, खुट्टा दुखे खुट्टाको भिडियो एक्सरे गर्ने भनेर
भन्छन्। यो कुरा गलत हो, शायद स्वास्थ्य क्षेत्रको व्यापारीकरणको कारणले जथाभावी जाँचहरु गराउनाले नि यस्तो भ्रमहरु
फैलनलाई मद्दत पुगेको हो कि।
खानासम्बन्धी
भ्रम
ओपिडी, वार्डमा हरेकजसो विरामीको प्रश्न हुन्छ
"खाना के खानुहुन्छ के बार्नुपर्छ?" केही रोगलाई छोडेर अरु सबैमा सन्तुलित खाना खानु भन्ने
हामीले पढिआएको हो। पिनासमा दुध र दुधका पारीकार खान नहुने, दममा चिसो पानी, चिसो फलफूल खान नहुने, भैंसीको मासु
खायो भने दाद सन्चो नहुने, ज्वरो आउँदा भात
खान नहुने, टाइफाइडमा सार्हो खाना
खान नहुने, यो लिस्ट निकै लामो छ। केही हप्ताअघी
अन्नपूर्णपोस्टमा छापिएको एउटा मेडिकल लेख, जुन एउटा डाक्टरले नै
लेखेका थिए, टाइफाईड सम्बन्धी त्यो लेखमा ‘आन्द्रामा प्वाल पर्ने सम्भावना भएकोले सार्हो खाना
खानुहुन्न’ भनेर लेखिएको थियो। जती
नै सार्हो खाना खाएपनी आन्द्रासम्म पुग्दा के त्यो सार्हो रहिरहन्छ र? किन हामी यस्तो भ्रामक सन्देश दिन्छौं?
अचम्म लाग्छ,
दिनदिनै रक्सी, चुरोटमासु खानेले ज्वरो आउँदा मैले के के बार्नुपर्छ भनेर
सोधेको सुन्दा। के हामीले विरामी हुने बेलामा मात्र स्वस्थ सन्तुलित खाना खाने,
अरु बेलामा जे खाए नि हुने हो र? अरु बेला पिरो, अमिलो, चिल्लो, नुनिलो खाना खाने अनि रोगले समातेपछी चै सादा
जाउलो खाने हो र? खानासम्बन्धी यो
भ्रम आयुर्वेदतिरबाट नि आएको हो जस्तो लाग्छ। यो खाना तातो, यो खाना चिसो भन्ने आयुर्वेदमै हुन्छ जस्तो लाग्छ। अनि यो
विषयमा हामी आँफैं सर्वज्ञानी हुन्छौं, एउटा अस्पतालको क्यान्टिनकी साहुनीले खाना माग्दा जन्डिस भको विरामीलाई बेसार,
तेल भको दिनुहुन्न भनेर सादा जाउलो दिएर
पठाएछिन्, पछी "केही नबारी
भातदालतरकारी नै खुवाउनु र तपाईंलाई दिएन भने मलाई भन्नु" भनेपछी बल्ल
विरामीले मिठो भातदालतरकारी खान पाए।
रोगलाई हेर्ने र
बुझ्ने हामी स्वास्थ्यकर्मीहरुको सोचाइ र विरामीहरुको सोचाइमा धेरै फरक हुन्छ।
मैले ग्यास्ट्राइटिस वा ग्यास्ट्रिक भन्दा जे बुझेको हुन्छु, विरामीले अर्कै बुझेको हुन्छ, उसको लागि त्यो गानो गोला, छातीमा भुकभुक हान्ने, गोला घुम्ने रोग हुन्छ। मैले निमोनिया भन्दा भाईरल वा
ब्याक्टेरियल संक्रमणको कारणले भनेर औषधी चलाएको हुन्छु, उसले चिसो गढेर वा पानीमा भिजेर निमोनिया भयो भनेर बुझेको
हुन्छ। मैले प्रेसर घटेर ‘सक’ हुँदा वा शरीरमा पानी कम हुँदा सलाइन चढाउनुपर्छ भन्ने
पढेको हुन्छु विरामीले भित्री तातोपनालाई कम गर्न, तागत दिन, अनि कसैकसैलाई
सलाइन चढाउने बानी परेकाले सलाइन चढाउनुपर्छ भन्ने बुझेका हुन्छन्।
हाम्रा विरामीहरु
अनि विरामीका आफन्तहरु अनि अरु सर्वसाधारणहरु र धेरै स्वास्थ्यकर्मीहरुमा पनि
स्वास्थ्यसम्बन्धी यस्ता धेरै भ्रमहरु छन्, हामीले हरेक दिन यस्ता भ्रमहरुको सामना गर्नुपर्छ। त्यस्तो
बेला “ह्या यो यस्तै हो” भनेर छोड्नुको साटो केही समय बढी खर्चेर आफूले जानेको,
बुझेको कुरालाई विरामी र उनका मान्छेहरुलाई बुझाउने
कोसिस गर्नुपर्छ। विरामीले नि औषधी लिएर चुपचाप फर्कनुको साटो आफ्नो रोगबारे बुझ्न
डाक्टरसँग प्रश्नहरु गर्ने गर्नुपर्छ। अनि उपचारका सम्बन्धमा मनमा लागेका कुरा
आफ्नो डाक्टरसँग सल्लाह गर्ने गर्नुपर्छ, न कि गाँउशहर, छरछिमेकका भनाई सुनेर औषधी लिने। वर्षौंदेखी गढेका यी भ्रमहरु एकदिनको एकछिनको
प्रयासले त अवश्य जादैनन् तर हामी स्वास्थ्यकर्मीहरु लगायत शिक्षित
सर्वसाधारणहरुको प्रयासले यस्ता भ्रमहरु बिस्तारै हराउदै जान्छन् भन्ने आस गर्न
सकिन्छ।
नोट: स्वास्थ्यसम्बन्धी तपाईंले अनुभव गर्नुभएका
केही विश्वासहरु, केही भ्रमहरु छन्
भने शेयर गर्नुहोला।