Thursday, February 17, 2011

स्वास्थ्य शिविरबाट फर्केपछी…..




केही दिन अघि म तनँहुको टुहुरे पसल भन्ने गाँउमा एकदिने स्वास्थ्य शिविरमा गएको थिएँ। त्यो गाँउ त्यति विकट त होइन तर त्यँहा पुग्ने बाटो चाँहि धेरै नै गाह्रो रहेछ। गाडी त चल्ने तर साह्रैं नै खत्तम बाटो। एउटा एम्बुलेन्समा हामी १२-१३ जना र शिविरमा वितरण गर्ने भनिएको औषधीहरु सबै कोचिएर उचालिदै, थिचारिदै, बत्तिदै, हुत्तिदै, जसोतसो गरेर बल्लबल्ल त्यहाँ पुग्यौं। त्यहाँका गाँउलेहरुको न्यानो र भव्य स्वागतपछि शिविर शुरु भयो। सहभागिता राम्रो थियो, व्यवस्थापन पनि ठिकै भन्नुपर्छ। तर मैले यहाँ उठाउन लागेको कुरा शिविर कस्तो भयो भन्ने भन्दा पनि शिविरमा विरामीहरु हेरेपछि उनिहरुका समस्याहरु सुनेपछि म आफुलाई लागेका केही कुराहरु हुन्।

शिविरमा अधिकांशको समस्या पेट पोल्ने, दुख्ने, छाती पोल्ने, ढाड जोर्नीहरु दुख्ने, टाउको दुख्ने, नसा (हातको, पेटको, खुट्टाको) दुख्ने आदी थिए। पेट पोल्ने, दुख्ने, छाती पोल्ने समस्या धेरैजसो ग्याष्टिक वा ग्यास्ट्राइटिस वा त्यससँग सम्बन्धित अन्य रोगहरुले गर्दा भएको बुझिन्थ्यो। यो समस्याको बारेमा यस अघिको लेखमा वृस्तितमा कुरा गरेको छु। यसका साथै शरीरका विभिन्न भागका नसाहरु दुख्ने फूल्ने समस्याहरु पनि धेरैमा देखियो। अनि कैयौं पटक औषधी गर्दा पनि ठिक नभएका पुराना रोगहरु पनि थुप्रै भेटिए।

नसाहरुको समस्यामा चाँही अचम्मलाग्दो कुरा के छ भने नसा सम्वन्धि रोगहरु भनेका के हुन्, त्यही नै स्पष्ट छैन। चिकित्सा विज्ञानको कुरा गर्ने हो भने नसा भनेको स्नायु (Nerve) को जनबोली शब्द हो। तर हामीहरु (बुझेर, नबुझेर) यो नसा शब्दको प्रयोग दुरुपयोग गर्छौं। रोगहरुकै कुरा गर्ने हो भने हाडहरुको बीचमा नसाहरु च्यापिने, मधुमेह तथा अन्य रोगहरुका कारणले नसामा खराबी देखिने, नसाहरु स्वयममा नै विभिन्न खराबीहरु आई तिनीहरुले आफ्नो काम गर्न नसक्ने आदी रोगहरु हुन्छन्। तर हामीकहाँ देखिने अधिकांश नसाका रोगी भनी भनिएकाहरुमा वास्तविक नसा अर्थात् स्नायुका रोगहरु भन्दा पनि अन्य समस्याहरु जस्तै मानसिक समस्याहरु आदि भएको पाइन्छ। एकजना विरामीले मेरो खुट्टाको नसाहरु दुख्छन् भनेर घुँडा पछाडीका कडा डोरी जस्तो लाग्ने कुरा देखाउनुभयो, जुन नसा वा स्नायु नभएर मांशपशी अर्थात् मासुलाई हाडहरुसँग जोड्ने भाग टेन्डन (Tendon) हो। त्यस्तै कतिले पेटको नसाहरु दुख्ने भनेर भन्नुभयो, कतिले टाउकोका, कतिले घाटीका नसाहरु दुख्ने भनेर भन्नुभयो तर धेरैको समस्याहरु वास्तवमै भन्ने हो भने नसा/ स्नायु सम्बन्धि थिएनन्। यसो भनेर मैले यो वहाँहरुको गल्ती भन्न खोजेको होइन। विरामीहरुलाई त त्यो कुरा थाहा हुदैंन, उनीहरुले त जे कुरा सुनेका छन्, जे कुरा बुझेका छन्, त्यही अनुसार आफ्नो समस्या राख्छन्। यो त हाम्रो कमजोरी हो कि हामी थाहा पाएकाहरुले पनि या त बुझाउनै खोज्दैनौं या त बुझाउन खोजे पनि बुझाउन सक्दैनौं। मैले यहाँ हामी भनेर डाक्टरहरुलाई मात्र नभई स्वास्थ्य क्षेत्रसँग सम्बन्धित नर्स, हेल्थ असिस्टेन्ट, फार्मेसीस्ट, अनमी आदी सबैलाई भन्न खोजेको हुँ।

हामीहरु आफैँ पनि कैयौं चोटी जानी नजानी यो शब्दको जथाभावी प्रयोग गरिरहेका हुन्छौं। शरीरका विभिन्न अंगहरु दुख्ने, जति जाँच गरेपनि खराबी केही नभेटिने, पत्ता नलाग्ने, जति औषधी गरेपनि ठिक नहुने रोगहरु, जुन मानसिक स्वास्थ्य सम्बन्धी रोगहरु कन्भस्रन डिसअडर (Conversion Disorder), सोमाटोफर्म डिसअडर (Somatoform Disorder), पेन डिसअडर (Pain Disorder) आदी हुन्। तर हामी विरामीहरुलाई भन्दा त्यसलाई एक प्रकारको मानसिक रोग भन्नु भन्दा पनि नसा सम्बन्धी रोग भन्न रुचाउछौं, जुन एउटा मीठो झुठ हो। हुन त हामीले विरामी र उनका परिवारलाई नराम्रो लाग्ला भनेर त्यसो भनेको भन्ने गर्छौं तर वास्तवमा भन्ने हो भने प्रायः विरामीको प्रतिकि्रया कस्तो आउँला भन्ने डरले वा विरामीलाई अनावश्यक रुपमा कुरा बुझाइरहनुपर्ने झन्झटबाट बच्न त्यसो गर्ने गरिन्छ। हामी विरामीसँग ५-१० मिनेट बढी कुरा गर्नु भन्दा वा मानसिक रोग विशेषज्ञकहाँ पठाउनुभन्दा एमीट्रिपटालिन (Amitryptyline) औषधी लेखेर घर पठाउन सजिलो मान्छौं। तर यसो भन्दा इच्छा हुँदाहुँदै पनि समयको कमीका कारणले, विरामीको ठूलो संख्यालाई डाक्टरहरुको सानो संख्याले जसरी पनि जाँच गरेर भ्याउनै पर्ने बाध्यताहरुलाई भने बिस्रन हुदैंन। अनुसन्धानहरुले देखाए अनुसार डाक्टर र विरामी बीच राम्रो सम्बन्ध बन्नको लागि हरेक भेट/ कन्सल्टेसन १२-१५ मिनेटको हुनुपर्छ। तर हाम्रो परिवेशमा यस्ता स्वास्थ्य शिविरका त के कुरा अस्पतालको ओपीडी, प्राइभेट क्लिनिकमा पनि विरामीको ठूलो संख्याको कारण त्यसो गर्न गाह्रैं पर्छ।

मेरो मनमा खड्केको अर्को कुरा भनेको स्वास्थ्यको अनियन्त्रित अनैतिक र अमर्यादित व्यापारीकरण हो। विरामीको समस्याको लागि अनावश्यक महंगा जाँचहरु गर्ने पहिले भैसकेको भएपनि अनावश्यक रुपमा दोहर्याउन लगाउने, अनावश्यक कडा र महंगा औषधीहरु लेख्ने आदि कि्रयाकलापहरु हाम्रो समाजमा धेरै नै हुदैं आइरहेका छन्। साधारण टाउको दुखाइका लागि सिटि स्क्यान (CT scan), एम आर आइ (MRI) गर्न सुझाव दिने गरिन्छ, जबकि ती जाँचहरु गर्ने निश्चित समस्या र लक्षणहरु हुन्छन्। त्यस्तै पेट दुख्यो कि भिडियो एक्स-रे गर्न लगाइन्छ। हुन त यसमा विरामीहरुको पनि केहि गल्ती हुन्छ, उनीहरुले पनि डाक्टरसँग आफ्नो समस्याको बारेमा छलफल गरेर के जाँच गर्न सकिन्छ, के उपचार गर्न सकिन्छ भन्ने निर्णय गर्नुभन्दा मलाई टाउकोको सिटि स्क्यान गर्नुपर्यो, पेटको भिडियो एक्स-रे गर्नुपर्यो भनेर भन्न आउँछन्। अनि स्वास्थ्यकर्मीहरुले पनि आफ्नै फाइदा त हुने हो नि भनेर चुपचाप त्यस्ता महंगा तर अनावश्यक जाँचहरु गराउँछन्।

एकजना २०-२२ वर्षको युवाको साधारण छाती दुखाइ सम्भवत कोन्ड्राइटिस (Chondritis- छातीको अघिल्लो भागका कुरकुरे हाडहरुको इन्फ्लामेसन) को लागि विना अन्य कुनै इन्डिकेसन छातीको सिटि स्क्यान गरेको भेटियॊ। उसलाई त आफ्नो छाती दुखाइको कारण ठूलै रोग पनि हुनसक्छ भन्ने लागेको हुन्छ र उ जस्तोसुकै जाँच उपचार गराउन पनि तयार हुन्छ। तर त्यस्तो बेला आफूलाई जान्नेबुझ्ने भनाउन रुचाउने स्वास्थ्यकर्मीहरुले अलिकति समय दिएर विरामीलाई रोगको बारेमा बुझाएको भए त्यो अनावश्यक जाँच गरिराख्नुपर्ने थिएन। तर व्यापारीकरणको कारणले पैसा कमाउने दौडमा लागेकाहरुलाई त्यस्तो सोच्ने फुर्सतै कहाँ हुन्छ र यस्तै अनियन्त्रित अनैतिक र अमर्यादित व्यापारीकरणले गर्दा वर्षौं कति अनावश्यक जाँचहरु गरिन्छन्, कति अनावश्यक अप्रेशनहरु गरिन्छन्, कति पाठेघरहरु अनावश्यक रुपमा फालिन्छन्, त्यसको कुनै लेखाजोखा नै छैन। त्यस्तै छारेरोगको लागि दिइने औषधी कारबामाजेपीन (Carbamazepine) पनि विना डाक्टरको सल्लाह औषधी पसलबाट चलाइएको पाइयो। हुन त यस्ता उदाहरणहरु मैले दिइराख्नु पर्दैन, यी हामी सबैलाई थाहा भएकै कुराहरु हुन्, मात्र हामीले ध्यान नदिएका हौं।

यी समस्याहरु, हाम्रो देशको स्वास्थ्य क्षेत्रको यस्तो अवस्था बारे मलाई पहिले पनि थाहा नभएको होइन। तर एउटा विकसित राष्ट्रको स्वास्थ्य क्षेत्रको छोटो अनुभवले, त्यहाँका सचेत विरामीहरुसँगको सानो उठबसले मलाई हामी कति पछाडी रहेछौं भन्ने ज्ञान दिलाइदियो। स्वस्थ नेपालको उदेश्य अगाडी यस्ता धेरै समस्याहरु छन्। यस्ता समस्याहरुलाई कसरी हटाउन सकिन्छ त?

पहिलो कुरा अहिले हामी ठगिन चाहने उपभोक्ता र ठग्न चाहने व्यापारीको जोडी जस्तो छौं। ठग्न चाहने व्यापारीलाई रोक्न सजिलो हुदैंन तर हामी आफैं सचेत भएर ठगिन चाहने उपभोक्ताबाट आफ्नो समस्याको बारेमा राम्ररी छलफल गरेर निर्णय गर्ने बुझक्की बन्नसक्यौं भने यसलाई केही कम गर्न सकिन्छ। यो सबैभन्दा महत्वपूर्ण कुरा हो। हामी आफू सचेत भयौं भने आफ्नो रोग समस्याका बारेमा सक्दो जानकारी राख्ने, डाक्टरसँग राम्रोसँग छलफल गर्ने गर्यौं भने यस्ता समस्याहरु धेरै नै कम हुन्छ। साथै धेरै र महंगा औषधी मात्रै लेख्ने, धेरै जाँच गराउने डाक्टर राम्रो होइन कि तपाईंको समस्याको बारेमा तपाईंसँग वृस्तितमा छलफल गर्ने, समस्याका बारेमा सम्पूर्ण कुराहरु बुझाएर निर्णयको अधिकार तपाईंलाई दिने डाक्टर राम्रो हो भन्ने बुझ्नुपर्छ।

अर्को कुरा चाँही हामी स्वास्थ्यकर्मीहरुले गर्नुपर्ने हो। हामीले बढ्दो व्यापारीकरणको पछाडी मात्र नदौडेर विरामीको स्वास्थ्यलाई प्राथमिकता दिने प्रयास गर्नुपर्छ। कुनै पनि औषधी दिनुभन्दा अगाडी त्यसको आवश्यकता कति छ बुझ्नुपर्छ। कुनै पनि अप्रेशन गर्नुभन्दा अगाडी त्यसको औचित्य कति छ बुझ्नुपर्छ। अनि कुनै पनि औषधी शुरु गर्नुभन्दा अघि कुनै पनि रोगको उपचार शुरु गर्नुभन्दा अघि विरामी वा उनका परिवारलाई त्यसको बारेमा राम्ररी सरल भाषामा बुझाउने गर्नुपर्छ। त्यस्तै आफ्नो अधिकारभन्दा बाहिरको आफ्नो पढाइ वा अनुभवले भ्याउने क्षेत्रभन्दा बाहिरको रोग समस्याहरुमा हचुवामा सुझाव दिने औषधी चलाउने गर्नु हुदैंन। हामी धेरै औषधीहरु चलाउने मेसीन वा धेरै अप्रेशन गर्ने रोवोट बन्नुभन्दा विरामीको समस्या बुझ्ने उसका कुरा सुन्ने र समाधानका लागि राम्रो र उचित सल्लाह दिने साथी बन्नु उचित हुन्छ।

यी समस्याहरु धेरै नै ठूला गहिरा र पुराना हुन्, तर हामी सबै मिलेर स्वस्थ नेपाल र स्वस्थ नेपालीको उद्देश्य राखी यसका लागि आफ्नो तर्फबाट लागीपर्यौं भने यी समस्याहरु समाधान भई एक दिन स्वस्थ नेपाल बन्ने कुरा असम्भव चाँही पक्कै होइन।

No comments:

Post a Comment