Sunday, November 26, 2017

स्वागत छ दुर्गमका जिल्ला अस्पतालहरुमा

 
  • के तपाईंले हातमा एक पिन्ट रगत विना पनि सिजेरियन अप्रेशन गर्नुपर्ने अवस्था आएको देख्नुभएको छ? 

  • के तपाईंले एउटा सानो पाइप (इन्डोट्राकियल ट्युब- मुखबाट छिराएर श्वासनलीसम्म पुर्याएर कृत्रिम सास दिने पाइप) अस्पतालमा र पूरा बजारभरी नपाएर विरामीले छट्पटिदै प्राण त्याग्नुपरेको देख्नुभएको छ?


  • के तपाईंले अप्रेशन गर्दागर्दै बगीरहेको रगत रोक्न खोज्दा झ्याप्प लाइन गएर मोबाइलको लाइटको भरमा बाँकी काम गर्नुपर्ने अस्पताल देख्नुभएको छ?


  • के तपाईंले नचाही नचाही पनि डिकेए (डायबेटिक केटोएसिडोसिस), सेप्टिक शक जस्ता डरलाग्दा रोगसँग जिल्ला अस्पतालमा जुध्नुपरेको छ र तीसँग लड्ने गोली (अत्यावश्यक औषधी) सकिएर आफ्नै आँखा अघी आफ्नो विरामीले प्राण त्यागेको देख्नुपरेको छ?



  • के तपाईंले विरामीको लागि औषधी किन्न भन्दा गोजीको थोरै पैसाले पेट भर्नु कि औषधी किन्नु भनेर दोधारमा परेको विरामीको आफन्त देख्नुभएको छ?


  • के तपाईंले इमर्जेन्सी सिजेरियन गर्नुपर्ने अवस्था आउँदा अप्रेशन कक्षमा बेहोस बनाउने औषधी नै नभएको वा अप्रेशन गर्दा लाउने पकाएका कपडा गाउन नै सकिएको सुन्नुभएको छ?

स्वागत छ दुर्गम नेपालका जिल्ला अस्पतालहरुमा।

नेपालका दुर्गमका अधिकांश जिल्ला अस्पतालहरुको हालत चित्रमा भएको ट्र्याक्टरको जस्तै दयनीय छ। यो ट्र्याक्टरलाई न धकेलेर चलाऊन सकिन्छ न त तानेर नै। त्यसको लागि पहिले त्यसको बिग्रेको चक्का बनाउनुपर्‍यो, धेरै वर्ष नचलेर इन्जिन बिग्रेको छ भने त्यो पनि बनाउनुपर्‍यो, बाटोको हालत हेर्नुस्, त्यो पनि बनाउनुपर्‍यो (नभए चल्दै गरेको ट्र्याक्टर फेरी फस्छ), अनी बल्ल ड्राइभरले गाडीमा आफ्नो सीप प्रयोग गरेर अघी बढाउन सक्छन्। दुर्गमका अस्पतालहरु नि ठ्याक्कै यस्तै हुन्। वर्षौंदेखी सिटामोल र कोट्रिम बाढेर बसेका जिल्ला अस्पतालहरुमा न त सामाग्री छन्, न चाहिने अत्यावश्यक औषधी छन्, न त काम गरौं भन्ने हुटहुटी। त्यसैले त्यहा डाक्टर मात्र पठाएर सबै कुराको समाधान हुन्छ भनेर कसैले सोच्छ भने त्यो पागलपन मात्र हो। त्यो ट्र्याक्टर चलाऊने ड्राइभर पुगिसक्यो तर न त ट्र्याक्टरको चक्का बनेको छ, न मबिल हालेको छ, न इन्जिन फेरेको छ, न बाटो नै सम्म्याएको छ। अनी ट्र्याक्टर किन चलेन भनेर सबैले दोष चै विचरा ड्राइभरलाई मात्र दिएका छन्।

कुनै पनि डाक्टरलाई विना सम्पूर्ण तयारी अप्रेशन गर्ने रहर हुँदैन। शहरमा आइसीयु, सुविधासम्पन्न अप्रेशन कक्ष भएका अस्पतालहरुमा एनेस्थेसियोलोजिस्ट र गाइनेकोलोजिस्टहरुले सिजेरियन गर्नको लागि २ पिन्ट रगत चाहिन्छ भन्छन्। यो पूर्वतयारी आवश्यक पनि छ। तर गाँउमा रगत नभै म अप्रेशन गर्दिनँ भन्यो भने कि त पेट भित्रको बच्चा मर्छ कि आमाबच्चा दुवै मर्छन्। किनकी न त्यहाँ भन्ने वित्तिकै रगत पाउने ब्लड बैंक हुन्छ न त रगत दिने रक्तदाता नै। सकेसम्म रगत जुटाउने कोशीस गरिन्छ, धेरैजसो रगत व्यवस्था गरेर नै अप्रेशन गरिन्छ तर कैलेकाही आफन्तलाई अवस्था, खतरा, जटिलता बुझाएर अनुमती लिएर नि गर्नुपर्ने हुन्छ। 

वर्षौंदेखी नचलेको मेसिनमा खिया लागेको हुन्छ। त्यस्तै वर्षौं हेल्थपोस्ट जसरी चलेका जिल्ला अस्पतालहरुमा इमर्जेन्सी पर्दा चाहिने न त औषधी हुन्छन् न त सामाग्री नै। एउटा अस्पतालमा छुट्नै नहुने ज्यान बचाउन अत्यावश्यक सामान पाइदैन। हुन त कहिल्यै प्रयोगमा आएको भए पो चाहिन्थ्यो होला, ल्याइन्थ्यो होला। तर यो मुगुमा गएर म:म खोज्या जस्तो त हैन नि। अस्पताल भनेर खोलेपछी त्यसले दिईरहेको सेवा के कस्तो छ भनेर मूल्यांकन गरिनुपर्दैन? यत्रो वर्ष ती जनतालाई देशको स्वास्थ्य सेवाले हैन भगवानले बचाएका हुन्, भाग्यले बचाएको हो। हुन त अवस्था विस्तारै सुधार हुँदैंछ तर अझै पनि यो भित्रबाट गुदि भरिएर बलियो गरी सुधारिएको छैन, बाहिरबाट रंग पोतिएको जस्तो मात्र देखिएको हो। बुझ्नेले बुझ्नेछन् यो कुरा, नबुझ्ने सोध्नुहोला कुनै दिन भन्नेछु।


हिजोआज लापरवाहीका धेरै कुरा उठ्छन्, म बेलाबेलामा सोच्नेगर्छु, अप्रेशन गर्दागर्दै लाइन गएर राम्ररी गर्न नसकी विरामीको मृत्‍यु भयो भने कसको लापरवाही हुन्छ होला? लाइनको वैकल्पिक व्यवस्था नगरी अप्रेशन थाल्ने डाक्टरको कि सोलार, जेनेरेटरको व्यवस्था नगरिदिने अस्पताल व्यवस्थापन समितिको कि अस्पताल जस्तो सम्वेदनशील ठाउँमा लाइन काट्ने विधुत प्राधिकरणको कि त्यस्तो अस्पताललाई चल्न दिने स्वास्थ्य मन्त्रालयको कि त्यस्तो असुविधा, अभावमा खतरापूर्ण स्वास्थ्यसेवा दिईरहेको अवस्थामा नि चुप लाग्ने अनी आफूलाई पर्दा शहरका ठूला अस्पताल भागीहाल्ने स्थानीय बुद्धिजीवी, नेता, धनीमानीहरुको कि त्यस्तो अस्पतालमा अप्रेशन गराउने विरामीको? हुन त जती नै दुर्गम भए पनि हिजोआज जोसँग नि स्मार्टफोन हुन्छ, त्यसको चम्किलो लाइट हुन्छ, त्यसैमा अप्रेशन गर्न, डेलिभरी गराउन सकिन्छ तर के त्यो सुरक्षित हुन्छ?

जिल्ला अस्पतालमा आइसीयु चाहिने सिकिस्त विरामी राखेर उपचार गराउने कसैलाई रहर हुँदैन, न त त्यहाँका डाक्टरलाई न त विरामीका आफन्तलाई। तर गरिवी र रोगले एकैपटक हानेपछी यो बाध्यता बन्न जान्छ। डायबेटिक केटोएसिडोसिस (डायबेटिज रोगको एकदमै जटिल अवस्था) भएको विरामी गोजीमा २-३ हजार लिएर थोरै गोली र झोल बोकेर घर फर्कने भन्ने सोचले जिल्ला अस्पताल आएका हुन्छन्। सेप्टिक शक (संक्रमण शरीर भरी फैलिएको अवस्था) भएका विरामी जिल्ला अस्पताल नै अन्तिम लक्ष्य हो, जे गर्ने त्यही गर्ने, त्यही नि:शुल्क उपचार गर्ने नभए मर्ने भनेर २ छाक खानलाई मात्र पैसा बोकेर आउछन्। अब तिनलाई रोगको हिसाबले त तुरुन्तै आइसीयु राखेर घण्टैपिच्छे सुगर, सोडियम, पोटासियम, एबीजी हेर्नुपर्छ, कडा एन्टिबायटिक दिनुपर्छ, मनिटरमा राख्नुपर्छ भनेर त मेडीकल किताब पढेको जोसुकैले पनि फररर भन्नसक्छ। तर गोजीमा सुको पैसा र भोको पेट लिएर तीनका आफन्तले एम्बुलेन्सका हजारौं भाडा वा भनौं एयर एम्बुलेन्सका लाखौं भाडा तिरेर कसरी त्यस्तो ठाउँमा लैजान सकुन् जहाँ मोटामोटा मेडिकल किताबमा लेखिएका जटिल निर्देशिकाहरु अक्षरश: प्रयोग गर्न सकियोस्। तिनले त्यस्तो बेला घर लैजानमै फाईदा हुने हिसाब निकाल्छन्। अनी लड्न तालिम पाएका हामी जस्ता सिपाहीहरु बरु जे हुन्छ हुन्छ भनेर जिल्ला अस्पतालमै अन्तिम लडाईं लड्न तयार हुन्छौं, खिया लागेका बन्दुक र ओस्सिएका सिमित गोलीहरु लिएर। अनी जब शत्रुले जित्दै जान्छ, आफ्ना गोली सकिदै जान्छ हार मानेर घुँडा टेक्नु भन्दा अर्को विकल्प हुन्न। अनी जीवन मृत्‍यु त भगवानको खेला हो भनेर चित्त बुझाउदै फेरी अर्को विरामीको लागि त्यस्तै अर्को युद्द लड्न तयार भईन्छ। तर कहिलेकाही भने यस्ता दुस्साहसपूर्ण लडाईंहरुमा विजयप्राप्त हुन्छ, जसको मजा आइसीयुमा राखेर विरामी निको पारीएको भन्दा हजारौं गुणा हुन्छ, किनकी त्यो विजयसँग धेरै अनिदा रातहरु, व्यग्रता, पीर, माया जोडीएको हुन्छ।

अलिअली बिग्रेको गाडी पो ड्राइभरले, खलासीले बनाउन सक्छ, पूरै मेसिन नै खतम भएको बनाउन त मेकानिक चाहिन्छ, ग्यारेजमै लैजानुपर्छ। व्यवस्थापनका समस्या अलीअली भए पो स्वास्थ्यकर्मीले सुधार्नसक्छ, पूरै व्यवस्था नै खिया लागेको भए एक दुई डाक्टर वा स्वास्थ्यकर्मीले कसरी चुस्त काम गर्नु? दुर्गमका धेरै जीपी साथीहरु हुनुहुन्छ जसले अस्पतालमा चाहिनसक्ने अत्यावश्यक औषधी आँफैंले बोकेर जानुहुन्छ। के अस्पतालमा फार्मेसी छैन र? के ती फार्मेसीमा चाहिने इमर्जेन्सी औषधी हुन्नन् र? के ती फार्मेसी २४ घण्टा खुल्दैनन् र? हरेक जिल्लामा गएर सोध्नुस्, आँफैं हेर्नुस्, थाहा हुन्छ। हाम्रा कागजका नीति नियमहरु कहाँ छन् र वास्तविकता कहाँ छ। के एउटा डाक्टरले एउटा संस्थाले दिएको बजेटले आँफैले औषधी किनेर दिईरहेको सेवा स्थायी हुन्छ? पछील्लो समय विभिन्न जिल्ला अस्पतालका सेवाहरुमा जती पनि सुधार भएका छन् ती स्थायी हैनन् ती खदिंला छैनन्, जबसम्म देशको सरकारी स्वास्थ्य प्रणाली भित्रबाट यो सुधारको तरिका र बाटहरुलाई आत्मसाथ गरिन्न, ए यसरी पो गर्नुपर्ने रहेछ भनेर तत्परताका साथ अवलम्बन गरिन्न तबसम्म यी सुधारहरु पानीका फोका सरह हुन्छन्। के सरकारसँग बजेट अभाव भएको हो? हैन कदापी हैन। योजना, लक्ष्य नभएको हो? त्यो पनि हैन। तर पनि खै किन हो यो खाले कछुवा हिडाइ?


कैलेकाही लाग्छ हामीले अली बढी आस गर्यौं कि? हाम्रो गती अली छिटो भयो कि? तर देशको जनता भएपछी, भोट दिएर पठएपछी, कर तिरेपछी स्वास्थ्य जस्तो नैसर्गिक अधिकार पनि खोज्न नपाउनु? हामी भन्दा अघिल्ला पुस्ताका जीपीहरुसँग कुरा गर्दा पनि यस्तै दुरावस्था भएका जिल्ला अस्पतालहरु ३०-४० वर्षपछी पनि उही अवस्थामा हल्लिरहेको हुनुलाई सुधारमा हिंडेको भन्नु कि चक्का, मेसिन बिग्रिएर थन्किएको गाडी झैं छ भन्नु? सम्बन्धित सबैको ध्यानाकर्षण भएर दुर्गमका अस्पताल लगायत सबै स्वास्थ्य संस्थाहरुको यो अवस्थामा छिट्टै सुधार आउँला भन्ने आशा राखौं।

के यो भेगका नेपालीको जीवन कहिले परिवर्तन होला त?

No comments:

Post a Comment