Showing posts with label kantipur. Show all posts
Showing posts with label kantipur. Show all posts

Friday, February 1, 2013

क्षतिपूर्तिमा ५०लाख!! गल्ती चाँही कस्को त??



"अस्पतालले दियो ५० लाख क्षतिपूर्ति"

यो खबर सुन्दा धेरैलाई "ए, अस्पतालले, डाक्टरले गल्ति गरेछ, विरामी मरेछ अनि जरिवाना तिरेछ, कति धेरै तिरेछ त" भन्ने मात्रै लाग्न सक्छ।

यसलाई अलि गहिरिएर हेर्दा मैले चाँही दुईटा कुराहरु देखें।

एउटा अस्पतालको गल्ति: अस्पतालले क्षतिपूर्ति भनेर त्यत्रो रकम दिएको छ तर 'डाक्टर वा अस्पतालको तर्फबाट गल्ति भएको' भनेर चाँही स्विकारेको छैन। त्यसो भए त्यो रकम विरामीका आफन्तलाई किन दिएको त? सहानुभुति स्वरुप? वा तोडफोडमा उर्लेर आएको भीडलाई शान्त गराउनलाई मात्र? खोई मैले त बुझ्न सकिन। यदी गल्ति भएको हो र गल्तिका कारण विरामीले ज्यान गुमाउनु परेको हो र त्यसैको क्षतिपूर्तिका लागि जरिवाना दिएको हो भने अस्पतालले, डाक्टरले गल्ति पनि स्विकार्न सक्नुपर्यो, अनि पो जरिवाना दिएको पनि मतलव हुन्छ। हैन भने भीडलाई शान्त बनाउन मात्र दिइएका यस्ता केही रकमले तत्काललाई त फाइदा नै होला तर भीडको शक्तिले जे पनि गर्न सकिन्छ भन्ने गलत सोचाइले फस्टाउने मौका पाउँछ। साथै "लापरवाही, गल्ति नगरेको भए त्यत्रो क्षतिपूर्ति किन दियो त" भनेर अस्पताल र डाक्टरको विश्वसनीयतामा पनि शंका उब्जाउछ।

अर्को चाँही विरामीको आफन्तहरुका कुरा। विरामीको मृत्युमा अस्पताल वा उपचाररत डाक्टर वा अरु कसैको लापरवाही देख्नु आजभोलि स्वाभाविक हुदैं गएको छ र त्यसका वापत क्षतिपूर्तिको माग पनि। तर यहाँ अस्पतालले गल्ति, लापरवाही नस्विकारीकन दिएको रकम चुपचाप लिनुले उनीहरुको सोचाइ माथि पनि प्रश्न उठाएको छ। अस्पतालले आफ्नो तर्फबाट भएको गल्ति स्विकारेको छैन भने के का लागि त्यत्रो पैसा दिइरहेको छ भन्ने उनीहरुले पनि सोच्नुपर्थ्यो। कि त्यो अस्पतालले हरेक विरामीको मृत्युमा सहानुभुतिका लागि रकम बाढ्दै बस्छ? यसले विरामीका आफन्तको विरामीको उपचारमा भएको लापरवाही र त्यसका कारणले भएको मृत्यु (यदी भएकै रहेछ भने) प्रति न्यायको अपेक्षाभन्दा पनि क्षतिपूर्तिको रकमसँगको मोह बढि रहेछ भन्ने देखाउँछ। सिधै भन्दा नमिठो सुनिएला तर हिजोआज यस्तो प्रवृति मौलाईरहेको पाईन्छ।

यस्ता घटनाहरु हिजोआज हाम्रो समाजमा धेरै नै बढेर गएका छन्। अस्पतालको जुन कुनै मृत्युलाई पनि डाक्टरको लापरवाहीको नाम दिएर शक्तिका साथ मैदानमा उत्रने र न्यायको लागि भन्दा पनि क्षतिपूर्तिको लागि दवाव दिने। धेरैले क्षतिपूर्तिको रकम पाइरहेका छन् तर थोरैमा मात्र अस्पताल र डाक्टरले गल्ति स्विकारेका छन् र त्यस्ता घटनाको निर्क्योल नै नभै टुङ्याइएका छन्। न्याय दिलाउने वा क्षतिपूर्ति दिलाउने यो एकदम गलत परम्परा हो। यो कानुनीरुपमा हुनुपर्नेमा हाम्रोमा कानुनको कमजोरीका कारण कानुनलाई बाइपास गरिदैंछ। यस्ता घटनाहरुको छिनोफानो लगाउनका लागि राम्रो र भरपर्दो कानुन नबनेसम्म न डाक्टर, अस्पतालको साँच्चै लापरवाही भएको थियो भनेर उनीहरुलाई कारवाही हुन्छ न त विरामीका आफन्तहरुले लगाएको दोष मात्र थियो भनेर त्यस्तालाई निरुत्साहित पारिन्छ। अनि भीडको दबाबमा जे पनि गर्न सकिने भन्ने गलत नजिर बस्न जान्छ। अत: सम्बन्धित सबैले यसका बारेमा बेलैमा सोच्ने की?

नोट: यो लेख 'कसैको गल्ती थियो' भनेर दोश दिन वा 'कसैको गल्ती थिएन' भनेर बचाउ गर्न लेखिएको हैन। यहाँ व्यक्तिको भन्दा पनि गलत प्रवृतिको विरोध गरिएको हो।
बाँकी पढ्नुहोस् >>

Thursday, October 4, 2012

स्वाइन फ्लु/Swine Flu देखियो: खतराको घन्टी?


'स्वाइन फ्लु देखियो।' आज(२०६९/०६/१७ )को कान्तिपुरको पहिलो पृष्ठको समाचा। यो खबरले धेरैलाई त्रसित बनाएको हुनसक्छ। यहाँ यसको बारेमा केही जानकारी दिने प्रयास गरेकोछु।

के हो स्वाइन फ्लु/Swine Flu?
यो एक प्रकारको भाइरसले गराउने रुघा अर्थात फ्लु नै हो। तर यो अलि जटिल र खतरनाक हुनसक्छ। यो गराउने भाइरसलाई एच१एन१/H1N1 भाइरस भनिन्छ, यो इन्फ्लुइन्जा भाइरसको एउटा जाति हो। यसका धेरै प्रकारहरु हुन्छन्, जस्तो बर्ड फ्लु भाइरस एच५एन१ इन्फ्लुएन्जा भाइरस हो।

यसका बारेमा जान्न किन जरुरी छ?
तपाईंहरुलाई याद होला सन् २००९मा संसारका थुप्रै मुलुकहरुमा एकैपटक स्वाइन फ्लुका विरामी देखिएका थिए। मेक्सिकोबाट शुरु भएको त्यो संक्रमण अमेरिका, दक्षिण अमेरिका हुदैं युरोप र एशियामा पनि देखिएको थियो। २०१०को अगष्टमा विश्व स्वास्थ्य संगठनले यसको प्यानडेमिक प्रकोप सकिएको घोषणा गरेको थियो। यसको प्रकोपलॆ संसारभर गरेर १८,००० भन्दा धेरैको ज्यान लिएको थियो। त्यतिखेरको प्यानडेमिकमा नेपालमा पनि यो भाइरस देखिएको थियो, जसले करिब ४० जनाको ज्यान लिएको थियो। प्यानडेमिक भन्नाले कुनै पनि रोगको संसारका धेरैजसो ठाँउहरुमा एकैपटक प्रकोप देखिनुलाई बुझाउँछ।
अहिले काठमाण्डौ लगायत देशका विभिन्न स्थानका भाइरल ज्वरोका विरामीबाट संकलन गरिएको रगतको नमूनाको परिक्षणमा एच१एन१ इन्फ्लुएन्जा भाइरस देखिएको समाचार आएको छ। यो हामीसबैको स्वास्थ्यको लागि खतरा हुनसक्छ, त्यसैले यसको बारेमा जानीराख्नु राम्रो हुन्छ।

यसका लक्षणहरु के के हुन्?
सामान्य रुघाखोकी भाइरल संक्रमणको भन्दा यसका लक्षणहरु खासै फरक हुदैंनन्। ज्वरो आउने, घाँटी दुख्ने, खोकी लाग्ने, जीउ दुख्ने, टाउको दुख्ने, नाक बन्द हुने, सिँगान बगिरहने, कमजोर महसुस हुने आदी हुन्छ। साधारणतया ७-१० दिनमा ठिक हुने यो रोग यसपाली दुई हप्तासम्म पनि लम्बिएको अनुभव गरिएको छ। साथै ज्वरो ठिक भएपनि टाउको दुख्ने समस्या रहिरहेको पनि देखिएको छ। कसैकसैलाई पातलो दिसा हुने, बान्ता हुने पनि गर्छ। धेरैजसोमा यसको सामान्य लक्षणहरु मात्र देखिने गर्छ र अन्य रुघाखोकीबाट छुट्याउन नि गाह्रै हुन्छ।

कस्ता ब्यक्तिहरुमा यसको जटिलता देखिने बढि सम्भावना रहन्छ?
१. ५ वर्षभन्दा मुनिका बालबालिकाहरुमा, खासगरी २ वर्षमुनिकाहरुमा
२. ६५ वर्ष वा त्यो भन्दामाथिका वृद्धवृद्धाहरुमा
३. गर्भवती महिलाहरुमा
४. दम, सिओपीडी, मुटुको रोग, कलेजोको रोग, मृगौलाको रोग जस्ता दिर्घ रोगहरु भएका, रोगप्रतिरोधात्मक क्षमता कम गराउने अवस्थाहरु वा रोग भएका विरामीहरुमा

कस्ता लक्षणहरु देखिएमा तुरुन्त चिकित्सककहाँ देखाउनुपर्छ?
सामान्य रुघाखोकी लागेको बच्चाहरुमा छिटोछिटो सास फेर्ने, सास फेर्दा गाह्रों भएको जस्तो देखिने, नीलो हुने, खाना, झोलकुराहरु खान नसक्ने, ज्वरो खोकी बढ्दै जाने जस्ता लक्षणहरु देखापरेमा त्यो स्वाइन फ्लुको संक्रमणको जटिलता देखिएको हुनसक्छ।
वयस्कहरुमा सास फेर्न गाह्रों भएमा, छातीपेट दुखेमा, लगातार वान्ता भइराखेमा, चक्कर लाग्ने, होस कम हुने भएमा, साधारण रुघा ठिक भएर पछि फेरी ज्वरो र खोकी झन साह्रों भएमा तुरुन्त चिकित्सकलाई देखाउनुपर्छ।

यो रोग कसरी सर्छ?
श्वासप्रश्वासको माध्यमबाट यो रोग सर्ने गर्छ। विरामीले साधारण स्वास फेर्दा, हाँछ्यु गर्दा, खोक्दा यसका भाइरस बाहिर वातावरणमा आउँछ र अन्य स्वस्थ मानिसलाई संक्रमण गर्छ। यसको नाम स्वाइन(सुँगुर)फ्लु भएपनि यो बँगुरसुँगुरको मासु खाएर भने सर्दैन। यो भाइरसको जीन/gene (वंशानुगत गुणका लागि प्रयोग हुने आरएनए/RNA, प्रोटिनहरु)का भागहरु सुँगुरमा पाइने इन्फ्लुएन्जाको भाइरसकोसँग मिल्ने भएकोले यसलाई स्वाइन फ्लु भनिएको हो।

यो रोग किन यस्तो डरलाग्दो तरिकाले फैलिएको होला?
यसका लागि इन्फ्लुएन्जा भाइरसको बारेमा केही जान्नुपर्ने हुन्छ। हरेक जीवमा जस्तै यो भाइरसमा पनि वंशानुगत गुण बोक्ने जीनहरुमा केही फेरबदल भैरहन्छ, तर यसको आरएनएको संरचना र विशेष गुणका कारणले यसमा छिटो र ठुलो फेरबदल/Antigenic shift-drift हुनसक्छ। जसबाट नयाँ बन्ने भाइरस पुरानोभन्दा फरक र विल्कुलै नयाँ प्रकृतिको बन्ने गर्छ। हामी मानिसहरुको रोग प्रतिरोधात्मक प्रणालीले त्यस्तो बिल्कुलै नयाँ भाइरसको लागि प्रतिरोधात्मक शक्ति बनाएकै हुदैंन, त्यसैले शुरुमा यो सजिलै र भयानक रुपमा फैलने गर्छ। एक पटक रुघा/इन्फ्लुएन्जा लागिसकेपछि त्यसका लागि प्रतिरोधात्मक शक्ति बनेपनि हरेक पटक नयाँ खालको भाइरस बन्ने भएकाले हरेक वर्ष यसको संक्रमण भैरहने हो। तर कहिलेकाहीं सन् १९१८को स्पेनिस फ्लु, १९५६को एशियन फ्लु, २००६-७को बर्ड फ्लु आदी बाहेक अन्य बेला सामान्य संक्रमण मात्र देखिने गर्छ।

यो भएपछि के गर्न सकिन्छ?
यो एउटा भाइरल संक्रमण भएकोले र साधारणतया सामान्य संक्रमण नै हुने भएकोले धेरैमा आँफै कम भएर जान्छ। र सबैको लागि अस्पताल गैहाल्नुपर्छ भन्ने पनि छैन, किनकी अस्पतालको वातावरणमा तपाईंलाई अरु विरामीको संक्रमण सर्नसक्ने धेरै सम्भावना हुन्छ। यस्तो बेलामा-
आराम गर्ने प्रशस्त पानी र अन्य झोल कुराहरु पिउने।
अरु मान्छेहरुलाई नसरोस् भनेर नजिकको सम्पर्कबाट अलि टाढा बस्ने।
ज्वरो आउने, जीउ दुख्ने, टाउको दुख्नेको लागि सिटामोल, आइबुप्रोफेन(फ्लेक्सन) खाने।
हाछँयु गर्दा, खोक्दा नाकमुख रुमालले राम्ररी छोपेर मात्र गर्ने, थुकखकार जथाभावी नफाल्ने। मास्क लगाएर बस्ने, नाकमुख सफा गरेपछि हात राम्रोसँग धुने।
लक्षणहरु बढ्दै गएमा वा विरामी बच्चा, वृद्ध, गर्भवती भएमा चिकित्सकलाई भेटेर सल्लाह लिने।

यसको उपचार के हो?
धेरैजसो संक्रमणमा साधारण रुघाको जस्तो लक्षणहरु मात्र देखिएर यो रोग सन्चो हुने गर्छ। माथि भनिएका अवस्थाहरुमा कसैकसैमा यसका जटिलताहरु देखिएर ज्याने जान पनि सक्छ। यो भाइरल संक्रमण भएको एन्टिबायटिकले ठिक गर्दैन तर पछि थपिएर भएको ब्याक्टेरियल संक्रमणका लागि एन्टिवायटिकले फाइदा दिनसक्छ। यसको लागि एन्टिभाइरल ओसेल्टामीभिर/Oseltamivir औषधी प्रयोग गरिन्छ तर सामान्य संक्रमणको लागि यसको आवश्यकता पर्दैन।
यसबाट बच्नको लागि भ्याक्सीन पनि उपलब्द छ। तर यसको औषधी र भ्याक्सीन सर्वसुलभ र सस्तो भने छैन।

विरामीको हेरचाह गर्दा केके कुरामा ध्यान दिनुपर्छ?
विरामीसँग सीधा मुखमुख हुने गरेर कुरा गर्ने गर्नुहुदैंन। विरामीको हेरचाह गरिसकेपछि, विरामीको लुगा, रुमाल आदी छोएपछि तुरुन्तै साबुनपानीले राम्रोसँग हात धुनुपर्छ। विरामीलाई सकिन्छ भने छुट्टै कोठा दिनुपर्छ, जसले गर्दा परिवारका अरु स्वस्थ सदस्यहरुलाई रोग सर्ने डर कम हुन्छ। हेरचाह गर्ने ब्यक्तिले पनि मास्क लगाएर हेरचाह गर्ने गर्नुपर्छ। अरु मान्छेको विरामीसँगको भेट सकेसम्म कम गर्नुपर्छ।




यो रोग भयानक रुपमा फैलनसक्ने भएकोले सम्बन्धित निकायको साथसाथै आमजनस्तरबाट पनि यसबाट सुरक्षित रहने उपायहरु अपनाउनु र अरुलाई जानकारी गराउनु जरुरी हुन आउँछ। 




स्रोतहरु:

  1. http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=281105
  2. http://www.hindustantimes.com/world-news/Nepal/Nepal-hit-by-swine-flu-outbreak/Article1-939138.aspx
  3. http://www.cdc.gov/h1n1flu/general_info.htm
  4. http://en.wikipedia.org/wiki/2009_flu_pandemic


बाँकी पढ्नुहोस् >>