Wednesday, October 28, 2015

नागरिक न्यूजलाई प्रश्न- सुत्केरी गराउदा पेटमा कसरी सियो हराउन सक्छ?

(यो लेख कुनै घटनामा स्पष्टीकरण दिन वा कसैलाई बचाव गर्न वा कसैलाई दु:ख पुर्याउन लेखिएको हैन। लेखकको घटनासँग सम्बन्धित कुनै पनि व्यक्ती वा समूह र लेख्ने, छाप्ने पत्रकार वा पत्रीकासँग कुनै पनि सम्बन्ध छैन। पीडित विरामीप्रती मेरो सहानूभूती छ र यसको छिट्टै समाधान होस् भन्ने कामना गर्दछु।)

हिजो भर्खर नागरिक न्युजमा 'चिकित्सकको लापरवाहीले सुत्केरीको पेटमै सियो हरायो' शिर्षकमा समाचार छापियो। म अचम्म परें, कस्तो नमिलेको शिर्षक लाग्यो, सिजेरियन अप्रेसन गर्दा सियो छुटेको हो कि भन्ने लागी पूरै समाचार पढेको हैन रहेछ, नर्मल डेलिभरीमै छुटेको रहेछ। म मेडिकल क्षेत्रको भएकोले समाचारमा लेखिएका गल्तीहरुबाट नि यसो भएको रहेछ भन्ने बुझें तर धेरैमा यसले भ्रम सिर्जना गर्न सफल भयो। त्यसैले ती भ्रमहरुलाई हटाउन केही सहयोग गर्छ कि भनेर यो लेख लेख्दैछु।

सुत्केरी गराउदा पेट चिरिन्छ?
चिरिदैंन। बच्चा जन्मदा योनीमार्ग भएर जन्मने भएकोले पेट चिर्ने आवश्यकता पर्दैन। कैलेकाही डेलिभरी भएर रगत धेरै बगेमा, रोक्नका लागि गरिएका सबै प्रयासहरु विफल भएमा अप्रेसन नै गर्नुपर्ने हुन्छ, त्यस्तो अवस्थामा भने पेट चिर्नुपर्ने हुन्छ।

सुत्केरी गराउदा योनिमार्ग चिरिन्छ?
चिरिन्छ, तर सबैलाई हैन। यसलाई अंग्रेजीमा Episiotomy/ इपिजियोटोमी भनिन्छ। बच्चा निस्कदा योनीमार्ग धेरै तन्किएर च्यातिने डर हुन्छ, यसरी आँफैं च्यातिदा धेरै र जथाभावी च्यातिन सक्छ, मलद्वारसम्म च्यातिने डर हुन्छ। त्यो खतरा कम गराउनका लागि बच्चाको टाउको निस्कन लाग्ने बेलामा निश्चित तरिकाले निश्चित दिशातिर योनिमार्गमा चिरा लगाइन्छ, प्राय: गरेर दाहिनेतिर। डेलिभरी भईसकेपछी यसलाई केही दिनमा आफैं हराएर जाने धागोले सिलाइन्छ।


पेट भनेको के हो?
'पेट' शब्दले धेरै अर्थ दिन्छ। अझै जनबोलीमा त माथिल्लो पेट, तल्लो पेट नि भनिन्छ। मेडिकल भाषामा पेट भनेको छाती भन्दा मुनी र काछ (Groin) भन्दा माथिको अगाडिको भागलाई भनिन्छ। साधारण भाषामा धेरै अर्थ लागे पनि पेट भन्नाले लगभग यही नै बुझाउछ। खाएको खाना जाने अंगलाई 'आमाशय/ Stomach' भनिन्छ, त्यसपछी जाने अंग 'आन्द्रा/ Intestine' हुन्। कसैकसैले 'तल्लो पेट' भनेर 'पाठेघर'लाई नि भन्ने गर्छन् तर यो सबैले बुझ्दैनन्, किनकी पुरुषहरुले नि तल्लो पेट दुखेको भन्या सुनेको छु।
त्यसैले समाचारमा 'पेटमा सियो हरायो' भनिए पनि त्यो पेटमा हैन, पाठेघरमा हैन, पाठेघरको मुख(cervix) मा नि हैन, 'योनीमार्गमा सियो हराएको' हो।

योनीमार्गमा सियो कसरी हराउन सक्छ?
साधारणतया: त्यो हुँदैंन। तर सिलाउने क्रममा सियो भाँचियो भने भाँचिएको टुप्पो सिलाइरहेको ठाउँमा हराउनसक्छ। अनुभवको कमी, हतारमा सिलाउदा, गलत तरिकाले सियो समाउदा, कमसल खालको सियो पर्दा सियो भाँचिन सक्छ। यस्तो घटना धेरैथोरै भई नै रहेका हुन्छन्। तर तत्काल नै खोजिने र भेटिएर निकालिने भएकोले खासै समस्या दिदैन। तर कहिलेकाही यसरी हराएको सियोको टुप्पो निकाल्न धेरै खोनुपर्ने र कहिलेकाही जती प्रयास गर्दा नि नभेटिने हुन पनि सक्छ।
भाँचिएको टुप्पो सानो हुने र लगातार चलाइरहदा योनीमार्गका विभिन्न मांशपेशीहरुको सतहमा यो सर्ने भएकोले हराएको सियो सजिलै नभेटिन सक्छ। यसरी हराएको सियो २० वर्षपछी पत्ता लागेको मेडिकल रिपोर्ट पनि छ।
यस्तै केसको एउटा रिपोर्ट- Missing needle during episiotomy repair http://cogprints.org/5930/1/2007-3-4.pdf

यसरी हराएको सियोले विरामीलाई के असर पार्छ?
लामो समयसम्म योनी दुख्ने, पेटको तल्लो भाग दुख्ने हुनसक्छ। शारिरिक सम्बन्धमा पनि असर गर्नसक्छ। तर यसको असर शारिरिक भन्दा नि मानसिकरुपमा बढी पर्ने गर्छ। तत्काल खोज्नका लागि गरिने पटक पटकको प्रयासले धेरै रगत बग्ने, रगत चढाउनु पर्ने, योनीमार्गको घाऊ ठुलो आदी हुन्छ। यसले गर्दा विरामी र विरामीको परिवारलाई मानसिक चिन्ता, अत्यास लाग्ने, रिस उठ्ने हुनु स्वाभाविक हो। चिकित्सकले यस्तो बेलामा विरामी र परिवारलाई राखेर सबै कुरा बुझ्ने भाषामा सम्झाउने प्रयास गर्नुपर्छ।

के यसरी सियो भाँचिनु, हराउनुमा चिकित्सक, नर्सको लापरवाही नै हुन्छ?
सधैं हुँदैंन। आफूले जानेको आधारमा, आफ्नो सीपको अनुसार राम्रो गर्न खोज्दाखोज्दै पनि कहिलेकाही यस्तो हुनसक्छ। सबै नराम्रा परीणाम आएका घटना लापरवाहीले नै हुन्छन् भन्नु ठीक हैन। नेपालमा अस्पतालमा हुने नर्मल डेलिभरी र तीनको व्यवस्थापनका कार्यहरु सबै प्राय: एसबीए (SBA- Skilled Birth Attendent) ट्रेनिङ पाएका नर्सहरुले नै गर्छन्।
'सुरुमा सिलाउदै गर्दा सियो भाँचिएको र पछि पुरै सियो भित्रै हराएको' समाचारमा यसो भनिएको छ। मैले यसको अर्थ बुझ्न सकिनँ। भाँचिएपछी भाँचिएको भाग भित्र हराउछ, पूरै सियो हरायो भन्नुको मतलव के हो?
‘डाक्टरले पेटमा सियो हराएको भने’ भनेर लेखिए पनि मलाई लाग्दैन डाक्टरले पेटमा हरायो भनेर भने होलान्, पत्रकारले बुझ्दा त्यसो बुझेका हुनसक्छन्।

लापरवाही भयो भएन भन्ने काम पत्रीकाको हो?
हैन। दु:खद र अप्रत्यासित नराम्रा परीणाम आउँदा जसको पनि मन विक्षिप्त हुन्छ, जसलाई नि दु:ख लाग्छ, रिस उठ्छ, त्यस्तो बेलामा उपचार गर्ने चिकित्सक, नर्सलाई दोष लगाइन्छ। तर त्यसो भन्दैमा त्यो सधैं सहि हुँदैंन। त्यसैले पत्रीकाले सिधै लापरवाहीले यस्तो भयो भन्नु उचित हैन। राष्ट्रीयस्तरका पत्रीका, पत्रकारहरुले यो कुरा बुझ्नुपर्ने हो, तर अहिलेसम्म बुझेका जस्तो देखिदैन।


यही घटनाको समाचारलाई उपचार गर्ने चिकित्सक र नर्सको थप भनाइहरु राखेर, यस्तो किन हुन्छ, कसरी हुन्छ, विश्वमा भएका कती रिपोर्ट छन्, अदालती कार्वाही के भएका छन् जस्ता कुराहरु समेटेर लेखेको भए पूर्ण र राष्ट्रीयस्तरको पत्रीकाको स्तरको हुन जान्थ्यो। तर मौका हातबाट फुस्कियो।
बाँकी पढ्नुहोस् >>

Sunday, August 16, 2015

कान्तिपुर सम्पादकिय

२०७२ साउन १५ मा हाम्रो पत्रीकाको पहिलो पृष्‍ठमा प्रकाशित 'अप्रेसन गर्दा पेटमै पाइप छाडियो' समाचारबाट सम्पूर्ण चिकित्साक्षेत्रको ध्यानाकर्षण भएको थाहा हुन आएको छ। उक्त समाचारको शिर्षक र समाचारले पनि “अप्रेसनमा विरामीको शरीरमा पाइप बिर्सिएर छोडिएको र त्यसमा अप्रेसन गर्ने चिकित्सकको चरम लापरवाही थियो” भन्ने अर्थ लाग्ने भएतापनि पछी सम्बन्धित क्षेत्रका विज्ञहरुसँग सल्लाह गर्दा त्यो पाइप (डीजे स्टेन्ट) म्रिगौलाको पत्थरीको अप्रेसनपछी केही समयको लागि विरामीको शरीरमा राखिनु उपचारकै एउटा भाग रहेको खुल्न आएको छ। यसरी सम्बन्धित क्षेत्रका विज्ञसँग परामर्श नगरी समाचार छाप्दा गलत अर्थ लाग्न गएको र त्यसले गर्दा चिकित्साक्षेत्रको संवेदनशीलतामा पर्न गएको असर प्रति हामी क्षमाप्रार्थी छौं। नेपालमा मेडिकल जर्नालिज्मको अवधारणाको खासै विकास नभएको कारणले चिकित्सा विज्ञान सम्बन्धी समाचारहरु प्रकाशित गर्दा विषयको बुझाईमा फरक पर्न गएको हो, विगतमा पनि यस्ता केही घटना भएका थिए। अत: अब भविष्यमा सकेसम्म यस्ता घटनाहरु नदोहोरिउन् भन्ने उद्देश्यतर्फ हामी सचेत छौं र आजको मितिदेखी यस पत्रीकामा चिकित्सा क्षेत्र सम्बन्धी कुनै पनि समाचार वा लेख प्रकाशित गर्नु अघी सम्बन्धीत क्षेत्रका विज्ञसँग परामर्श लिएर मात्र छाप्ने निर्णय गरेको जानकारी गराउन चाहन्छौं।

चिकित्सा क्षेत्र भनेको सम्बेदन्शील क्षेत्र हो। यसमा बढीरहेको अन्धाधुन्दको व्यापारीकरणले लापरवाहीका घटनाहरु नि नबढेका भन्न सकिन्न। चिकित्सकहरुले चाहेर वा नचाहेर विरामीलाई पर्याप्त समय दिन नसकेका कारणले पनि रोग, उपचार पद्दतीका बारेमा विरामी र विरामीका आफन्तहरुलाई बुझाउन नसक्दा यो घटना भएको हुनसक्ने हाम्रो ठम्म्याई छ। त्यसैले चिकित्सकहरुको तर्फबाट पनि औषधी मात्र नलेखी आफ्ना विरामीहरुलाई पर्याप्त समय दिएर बुझ्ने गरी ‘काउन्सेलिङ’ भएमा ‘मिसकम्युनिकेसन’ले हुन जाने यस्ता समस्याहरु धेरै मात्रामा कम हुने थियो।

यो घटनाबारे सहि जानकारी दिनुभएर हामीलाई सुध्रने मौका दिनुभएका सबै चिकित्सकहरु अनि नेपाल मेडिकल काउन्सिल र नेपाल मेडिकल एसोसिएसनलाई पनि धन्यवाद दिन चाहन्छौं। साथै चिकित्सा लगायत सबै क्षेत्रका राम्रा कुरा अनि विकृति, विसंगतिलाई पनि हामी सधैं नै समाजको अघी सहिरुपमा ल्याउन आफूलाई चुस्त राखिरहनेछौं भनी प्रण गर्दछौं।

आज दिउसो झुपुक्कै निदाइएछ, सपनामा कान्तिपुरको यस्तो सम्पादकिय पो पढ्दै रहेछु। झसंग ब्युझें, अब चिसो पानीले मुख धुनुपर्‍यो। :D :D :D
बाँकी पढ्नुहोस् >>

Friday, August 14, 2015

अप्रेसन गर्दा शरीरभित्र रड छोडियो...

बीरबहादुर थापा(नाम परिवर्तन)भाँचिएको खुट्टा लिएर हजारौं खर्च गरी गाँउबाट शहरको ठुलो भनाउदो अस्पतालसम्म आईपुगेका थिए। लाखौं शुल्क तिरेर अप्रेसन पनि भयो, उनलाई निको हुने आस पनि थियो। तर अप्रेसनपछी पनि घाऊ निको हुनुको सट्टा झन पाक्दै गयो। घर जान्न भन्दाभन्दै नि डाक्टरले जबर्जस्ती डिस्चार्ज गरिदिए। अत्यधिक दुख्न थालेपछी अर्कै अस्पतालमा देखाउन जाँदा एक्सरे गरेपछी पो थाहा भयो उनको भाचिएको खुट्टा भित्र त अप्रेसनको बेला लामो रड नै छुटेको रहेछ। रडको साथमा थुप्रै नटबल्टुहरु नि छुटेका रहेछन्। डाक्टरको चरम लापरवाहीका कारण विरामीको रोग निको हुनुको साटो झन पिडा थपिएको छ। मेडिकल क्षेत्रमा यस्तो हदैसम्मको लापरवाहीको अन्त कहिले होला? सम्वेदनशीलताको कमी, व्यापारीकरणको कारणले यस्ता लापरवाहीहरु दिनानुदिन बढ्दै गईरहेका छन्, कहिले मुटुको भल्भ फेर्ने भनेर फलामका टुक्रा मुटुभित्र छोडिदिन्छन्, कहिले चालकलाई कडा एन्टीबायटिक दिएर दुर्घटना गराइदिन्छन्, कहिले अप्रेसन गर्नै नपर्ने रोगलाई नि अप्रेसन गर्नुपर्छ भनेर जबर्जस्ती पैसा असुल्ने गर्छन्।

माथिको घटना एउटा काल्पनिक व्यङ्य मात्र हो भनेर बुझिसक्नुभयो होला। तर यही तरिकाले स्वास्थ्य सम्बन्धी खबरहरुमा विना कुनै मेडिकल ज्ञान जथाभावी लेख्दै जाने हो भने भविष्यमा यस्ता खबर पनि नछापिएला भन्न सकिन्न। आफूलाई नेपालको नम्बर एक पत्रीका भन्ने पत्रीकामा छापिएको समाचार पढेपछी म लगायत धेरै मेडिकल क्षेत्रका साथीहरुलाई यस्तै लागेको छ। 'अप्रेसन गर्दा पेटमै पाइप छाडियो' जस्तो सनसनीपूर्ण शिर्षक देखेपछी के रहेछ भनेर पढ्दा पत्रकार महोदयले अरुको बेइज्जती गर्न खोज्दा आफ्नै धोती फुस्केको थाहा नपाएका रहेछन्। म्रिगौलाको ढुङ्गाको अप्रेसनपछी जुन पाइप छोडियो भनेर लापरवाहीको नाम दिइएको छ, विचरा उहाँलाई के थाहा कि त्यो उपचारकै एउटा प्रकृया हो भनेर। र ठूला पत्थरहरुको अप्रेसन गर्दा सबै ढुङ्गा एकैपटकमा ननिस्कन पनि सक्छ वा एकपटक अप्रेसन गर्‍यो भन्दैमा अब कहिले पनि पत्थरी हुँदैन भन्ने पनि हैन। जहाँसम्म यो कुराहरु विरामी वा विरामीका आफन्तहरुलाई किन भनिएन भन्ने सवाल छ, अप्रेसन गर्ने सर्जनले ती कुराहरु अवश्य भनेको हुनुपर्छ। या त उनीहरुले त्यसलाई सिरियस्ली लिएनन् वा बुझ्न चाहेनन्। हाम्रो समाजमा प्राय: विरामीहरु अस्पताल पुगेपछी सबै जिम्मा डाक्टर, नर्सको हो, रोगबारे उपचार पद्दती बारे बुझ्न नै चाहदैनन्। अनि हामी डाक्टरहरु पनि यी सबै कुरा बुझाउनलाई झन्झट मान्छौं।

पत्रकारिता भनेको संवेदनशील पेशा हो, हातमा कलम बोक्नु भनेको समाजलाई सहि बाटो देखाउने, गलत कुरालाई सबैको सामु ल्याउने जिम्मेवारी हो। तर न्युज ब्रेक गर्ने नाममा, आफ्नो बिक्री बढाउने नाममा समाचारलाई तोडेर, मोडेर, थपेर, घटाएर सनसनीपूर्ण बनाएर पिरो, अमिलो चाट जसरी बेच्ने पीत पत्रकारिता बढ्दो छ। मनोरन्जन क्षेत्रका तातापिरा गफहरु लेखे जस्तै मेडिकल क्षेत्र जस्तो संवेदनशील विषयलाई हल्का पाराले लेखिदिनाले समाजमा नराम्रो असर परेको छ। हो, मेडिकल क्षेत्रमा पनि सुधार गर्नुपर्ने धेरै कुराहरु छन्, तिनका बारेमा कुराहरु बाहिर आओस्, सबैले थाहा पाउन् भन्ने हामीलाई पनि लाग्छ। जस्तो विना रजिष्ट्रेसन, विना कुनै पढाई झोले डाक्टर बनेर दुनियाँ ठगिरहेका छन्, मान्छेका अंगहरुको साइज ग्यारेन्टीका साथ बढाइदिने, घटाइदिने भनेर तपाईंकै पत्रपत्रीकाहरुबाट प्रचारप्रसार गरिरहेका छन्, विना प्रेस्क्रिप्सन अन्धाधुन्द एन्टीबायटिक र अनावश्यक औषधीहरु चलाएर एकातिर पैसा नि लुट्दै, अर्कोतिर जनताको स्वास्थ्यमा नि खेलवाड गर्दैछन्। मेडिकल क्षेत्रमा पनि अनइथिकल व्यापारीकरण बढेको छ। राम्ररी खोज्ने हो भने यस्ता धेरै लापरवाहीका घटनाहरु देख्न पाईन्छन् तर त्यसलाई कमसेकम साधारण मेडिकल ज्ञान भएको आँखाले हेर्नुपर्छ। जसरी मलाई पत्रकारिता आउँदैन, त्यसरी नै पत्रकार साथीहरुलाई मेडिकल ज्ञान छैन भन्ने लाग्छ। तर आफूलाई थाहा नभएको कुरा लाखौं पाठकहरुले पढ्ने पत्रीकामा लेख्दा त सम्बन्धित विज्ञहरुसित परामर्श गरेर पो लेख्नुपर्थ्यो। त्यसो गर्नुभएको भए तपाईंको लेख स्तरिय पनि बन्थ्यो र समाजमा स्वास्थ्य सम्बन्धी ज्ञान पनि बढ्न जान्थ्यो। बरु भन्नुस् त्यस्तो सहयोग चाहिन्छ भने, हामी सकेसम्म सहयोग गर्न तयार छौं।

तपाईंको कलममा कति तागत छ भन्ने कुरा तपाईंको लेख कति पढियो, कति शेयर भए, मान्छेले कस्ता धारणा बनाए, कस्ता कमेन्ट गरे, त्यसैले देखाउछ। तर आफ्नो सस्तो लोकप्रियताको लागि विना अनुसन्धान लेखिएका यस्ता लेखले समाजमा मेडिकल क्षेत्रप्रती हेर्ने नजरमा कस्तो असर गर्छ, सम्बन्धीत डाक्टरको आत्मसम्मानमा कस्तो चोट पुग्छ भन्ने कुरा कहिले ख्याल गर्नुभएको छ? हुन त अरुको सम्वेदनामा पर्ने असर बारे पत्रकारितामा पढाईन्न होला। तैपनी सत्यतथ्य जे जस्तो हो त्यो त्यसरी नै अघी ल्याउनु भनेर त तालिम दिइएकै होला।

हुन त यो घटना पहिलो हैन, यस्ता संवेदनहिन पत्रकारिता पहिले पनि देखी आएको हो र केही वर्षदेखी बढ्दो छ। यो कुरा पत्रकारिता क्षेत्रका जिम्मेवार व्यक्तिहरुले बुझिरहनुभएकै होला। केही हप्ताअघी एउटा विरामीको फेसबुक स्टाटसमा लेखिएको कुरालाई सम्बन्धित अस्पताल र डाक्टरसँग एकपटक पनि बुझ्दै नबुझी केही अनलाइन न्युजपोर्टलहरुले सन्सनीपूर्णरुपमा छापेका थिए। सोसल मिडियाको जमानामा यस्तो कुरा आगो जसरी फैलिहाल्यो, हुन त मान्छेहरु पनि छापिएका हरेक न्युज पत्याइहाल्छन्, पूर्वाग्रही कमेन्ट गरिहाल्छन् र शेयर पनि गरी हाल्छन्। अनि त्यो समाजको ठुलो हिस्साको धारणा बन्न जान्छ। कुरै नबुझी एकतर्फीरुपमा लेख्नुको साटो सम्बन्धित डाक्टरसँग बुझेर विषयबारे ज्ञान लिएर लेख्न बसे आफ्नो नि ज्ञान बढ्थ्यो, समाजमा नि सहि सन्देश जान्थ्यो।

लगभग ४ वर्ष अघी पनि पेटको अप्रेसन गर्दा मिर्गौला निकालियो भनेर केही अब्बल भनाउदा पत्रपत्रीकाहरुले हंगामा गरेका थिए। त्यसको बारेमा मैले त्यती बेला नै एउटा ब्लग लेखेको थिए, यहाँ हेर्नुस्- 'कान्तिपुर सम्पादकीय सम्बन्धमा...' यो लेख सम्बन्धित पत्रीका, पत्रकारसम्म पुग्यो कि पुगेन थाहा भएन तर त्यसपछी न त त्यो घटना बारे केही समाचार आए, न सच्याएर केही लेखियो नै। मैले त्यती बेला नि लेखेको थिए- "कागले कान लग्यो भन्दा कान छाम्न छोडेर कागको पछी दौडने १०० मीटरका धावक जस्ता पत्रकारहरुको दौडने र दौडाउने बानी केहि समय अघिको "अनुजा काण्ड"ले पनि प्रस्टै देखाएको थियो। भलै कान्तिपुरले पछी त्यसमा क्षमा माग्यो। तैपनि पत्रिका र पत्रकार भनेका अझै पनि सबैभन्दा भरपर्दा माध्यम हुन्। उनीहरुको आवाज सबैले सुन्छन् र धेरैले पत्याउछन् पनि। त्यसैले त हामी उनीहरुको व्यवहारमा र रिपोर्टिङमा धावकियपन भन्दापनि सत्यता र सम्वेदनशीलताको आशा गर्छौं।" तर यो प्रव्रितीमा अझै केही परिवर्तन आएको रहेनछ, बरु झन बढेको झै लाग्दैछ।


यस्ता घटनाहरुमा हामी डाक्टरहरु पनि या त फेसबुकमा आफ्नो ग्रुपमा पोस्ट गरी पत्रकारहरुलाई एकतर्फी गाली मात्र गरेर बस्छौं, वा यस्ताहरुसँग के बोल्नु भनेर चुप बस्दिन्छौं। नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एसोसियसन जस्ता मेडिकल क्षेत्रको लागि काम गर्ने भनिएका संस्थाहरुले पनि खै किन हो यस्ता कुराहरुमा आवाज नउठाएको? यो विषयमा सम्बन्धित पत्रकार र पत्रीकाको ध्यानाकर्षण होस् र माफी सहित घटनालाई सहिरुपमा सच्याएर फेरी लेखियोस् भन्ने मेरो माग छ। हुन त नेपालको एक नम्बरको पत्रीकाले हाम्रो कुरा के मान्ला र। यसमा एनएमसी, एनएमए ले केही पहल गर्छ कि भन्ने आस छ। साथै आउँदा दिनहरुमा मेडिकल क्षेत्रको सुधारको लागी, मेडिकल जर्नालिज्मको विकासको लागि डाक्टर र पत्रकारहरु मिलेर संयुक्तरुपमा केही काम होस् भन्ने पनि चाहना राख्छु।  
बाँकी पढ्नुहोस् >>

Wednesday, August 12, 2015

स्वास्थ्यसम्बन्धी भ्रमहरुसँगको लडाईं


“मेरो विरामीलाई पखाला लागेको छ, उसको जीउ तातो खालको हो, भित्र हपहप पोल्छ रे, उस्लाई ‘सलामी’ चढाइदिनुपर्‍यो डाक्साब।" विरामी कुर्सीमा बस्ने वित्तिकै विरामीको श्रीमानले भने। “सलामी!!” म झसंग भएँ, तर पछी मैले बुझें, उनले सलाइनलाई सलामी भनेका रहेछन्। "बुवा, पहिले विरामीलाई जाच्छु अनी चाहिने भए लगाम्ला नभए किन लगाउने, हुन्न?" तर उनी आफ्नै सुरमा पखाला लाग्या छ, भित्री ज्वरो छ, सलामी त जसरी नि चाहिन्छ भन्दै थिए। मैले विरामी जाँचे, पखाला हिजोदेखी मात्रै थियो, प्रेसर ठिकै थियो, पानीको कमी भईसकेको थिएन। त्यसैले मैले जीवनजल र जिंक चक्की मात्रै लेख्दै भनें, पखालाले गर्दा शरीरमा पानीको कमी भएको छैन, प्रेसर नि ठिकै छ, जीवनजल मुखैबाट खा’को राम्रो। उनीहरुले मानेनन्। मैले सम्झाउन खोजें, “वान्ता भको छैन भने मुखैबाट खानु राम्रो हुन्छ, सलाइन महंगो नि हुन्छ, जीउमा घोच्नु नि पर्‍यो।“ तैपनी उनीहरुले मानेनन्, जसरी नि सलामी लगाउनु पर्‍यो भने। अन्तत: मैले हारेर सलाइन लगाइदिनु भनेर भन्नैपर्‍यो।

मान्छेहरुका स्वास्थ्यसम्बन्धी अचम्मका विश्वास, भ्रमहरु हुन्छन्। खै कसरी बन्छ त्यस्ता भ्रमहरु। धेरैजसो त हामी स्वास्थ्यकर्मीहरुले नै राम्रोसँग नबुझाएर, गलत अर्थ लाग्नेगरी बुझाएर वर्षौंदेखी बनेका विश्वासहरु हुन्, जसको जरा धेरै भित्रसम्म गढेको हुन्छ। त्यसैले त त्यो भ्रम तोड्नको लागि मेरो केही मिनेटको प्रयास पर्याप्त भएन। किनकी उनले वर्षौं देखी मानिआएको, विश्वास गरिआएको गाउँका डाक्टरले त्यसै भनेका थिए होलान्, गाउँमा सबैले त्यही मान्छन् होला, सलाइन चढायो भने ताकत आउछ, सलाइन चढायो भने भित्रको तातो निको हुन्छ, चिसो हुन्छ। कसैले त सलाइन चढाएको कारणले चिसो बढेर निमोनिया भयो पनि भन्छन्।

अस्ति भर्खर एउटी गर्भवती महिलालाई पाठेघरमा पानी कम भयो भनेर सुत्केरीको लागि भर्ना गरेको विरामीले "हामीलाई त बच्चाको पानी कम छ, ठुलो अस्पताल गएर सलाइन चढाउनुपर्छ भनेर गाउँबाट पठाको" भनेर भन्दैथिन्। हाँसो पनि लाग्छ, अचम्म नि लाग्छ, रिस पनि उठ्छ। विचरा विरामीहरुसँग हैन, हामी आँफैंसँग, हामी सबै तहका स्वास्थ्यकर्मीहरुसँग। हाम्रो मेडिकल प्राक्टिस देखेर उदेक लाग्छ। थाहा नभएको कुरा नबोल्दिनु, नगर्दिनु, अथवा जानेर, बुझेर सल्लाह दिनु। हचुवामै जे मन लाग्यो त्यही भनेका छन्, अनी त्यही कुरालाई नै विरामीहरुले आधार मानेर भ्रम पालेर बस्छन्, जुन विस्तारै झनै गहिरो र गाढा भएर जान्छ।

जण्डिस सम्बन्धी भ्रम।
खै किन हो यो जन्डिस देखी यस्तो डर मानेका। आयुर्वेदले ठुलै रोग भनेर भन्छ कि जन्डिसलाई, थाहा भएन। तर एलोप्याथीमा जन्डिस रोग हैन लक्षण हो, र यो प्राय: गरेर भाईरल हेपाटाइटिस अर्थात भाईरल संक्रमणको कारण कलेजोको सुजनमा देखिन्छ, जुन केही हप्तामा आँफैं निको भएर जान्छ। हाम्रो किताबमा जन्डिसको बेलामा न चिल्लो नखा भनेको छ, न मासु नखा भनेको छ, न बेसार नखा भनेको छ, न मसला नखा भनेको छ। स्वस्थ र सन्तुलित खाने, सफा पानी खाने, आराम गर्ने, बस् त्यत्ती हो, न Liv-52 न तागत दिने मल्टी भिटामिन नै खानु भनेको छ। हुन त जन्डिस देखिने रोगको आधारमा उपचार फरकफरक पर्न सक्छ, तर हामी धेरैले गर्नेजस्तो ‘मान्छे विरामी नै पर्ने गरेर सादा जाउलो नुनसँग खानुपर्दैन’। जन्डिस देखिएर महिनादिनसम्म जाउलो र उसिनेको साग मात्र खाएर बस्ने अनी कमजोरी भो, खाना रुचेन भनेर आउनेहरु धेरै देखेको छु। अरे बाबा, महिना दिन त्यस्तो खाएपछी त सद्देमान्छे नि विरामी पर्छ। त्यस्तै नवजात शिशुमा देखिने जन्डिस धेरैजसो साधारण प्रक्रीया हो, र त्यसको लागि आमाले केही पनि बार्नुपर्दैन, बच्चालाई पनि केही औषधी गर्नुपर्दैन। यस्ता केही दिनका बच्चाहरुलाई नि जन्डिसको औषधी भनेर के के खुवाएका भेटेको छु। उपचारको नाममा भएको लापर्वाही त यो पो हो त। यस्तो अन्धाधुन्दको व्यापारीकरणको पो विरोध गर्नु नि। 

टाइफाईड सम्बन्धी भ्रम।
ज्वरो बिग्रियो भने टाइफाइड हुन्छ। ज्वरो आको बेलामा मुख बारेन भने, मसलादार खाना, मासु खायो भने ज्वरो बिग्रन्छ र टाइफाइड हुन्छ। खै कल्ले यसरी बुझाउछन् उनीहरुलाई। पक्कै पनि हामीहरु मध्ये कसैको काम हो। वास्तवमा टाइफाइड ज्वरो बिग्रेर हुने हैन, ‘साल्मोनेला टाइफी’ भन्ने जीवाणुको संक्रमणले गर्दा टाइफाइड हुन्छ र ज्वरो त्यसैको एउटा लक्षण हो, मासु खाएर, भात खाएर ज्वरो गडेर त्यस्तो हुने हैन। फेरी एकदुई दिनको ज्वरोमै ‘सेफिक्सजिम’, ‘सेफ्पोडोक्सिम’ जस्ता 'कडा' एन्टिबायटिक खाएर आएका हुन्छन्, जस्ले टाइफाइड, निमोनिया सबै रोगलाई काम गर्छ। अनि तेस्रो, चौथो दिनमा अस्पतालमा आएर डाक्टरसँग ज्वरो बिग्रेर टाइफाइड भयो कि भनेर डर पोख्छन्। हामी धेरै स्वास्थ्यकर्मीहरु जो गाँउगाँउमा काम गर्छौं (पारामेडिक्स, फार्मेसी चलाएर बस्ने स्वास्थ्यकर्मीहरु, डाक्टरहरु), उनीहरुसँग विरामीको पहिलो संपर्क हुन्छ, त्यो बेलामा उनीहरुलाई सहि सल्लाह र सहि उपचार दिन सकियो भने यस्ता स्वास्थ्य सम्बन्धी भ्रमहरुलाई विस्तारै हटाउन सकिन्छ।

“निमोनिया गढेर बसेको छ, बेलाबेला फर्कन्छ।“
धेरै विरामीले यस्तो भनेको सुन्छु। मेडिकल साइन्समा यस्तो हुंदैन भन्दा पनि हुन्छ। निमोनिया भनेको भाईरल वा ब्याक्टेरियल संक्रमणको कारणले हुने फोक्सोको रोग हो। एन्टीभाइरल वा एन्टिव्याक्टेरियल औषधी चलाएर निको भएपछी त्यो गढेर बस्ने भन्ने हुँदैन। अर्कोपल्ट फेरी निमोनिया हुनु भनेको अर्को संक्रमण हुनु हो। कोइकोइ रोगसँग लड्ने क्षमता कम भएका व्यक्तीहरुमा पटकपटक यस्तो संक्रमण देखिनसक्छ तर यो थोरैमा मात्रै देखिन्छ। हुन त हामीहरु स्वास्थ्यकर्मीहरुले नै खोकी लाग्यो कि निमोनिया, स्वास्वा गर्‍यो कि निमोनिया भनेर एन्टिबायटिक भिडाएर नि यस्तो भ्रम बढेको हो। वास्तवमा ज्वरो आएर खोकी लाग्दैमा, छाती दुख्दैमा सबै निमोनिया हुँदैनन्।

जाँचहरु सम्बन्धी भ्रम
“मेरो एक्सरे गर्दिनुपर्‍यो, मेरो भिडियो एक्सरे गर्दिनुपर्‍यो। के गर्दा मेरो रोग देखिन्छ, सिटी स्क्यान, एम आर आई के गर्नुपर्‍यो?” यस्तो भन्ने विरामीहरु धेरै भेटिन्छन्। रोग पत्ता लागोस् भनेर सोच्नु राम्रो हो, रोगले उनीहरुलाई धेरै सताएको नि होला, तर कुन समस्यामा कस्तो जाँच गर्नुपर्छ, कुन जाँचमा के हेर्नुपर्छ भन्ने कुरा डाक्टरलाई थाहा हुन्छ। त्यसैले सिधै मेरो यो गर्नुपर्‍यो त्यो गर्नुपर्‍यो भन्नु भन्दा नि आफ्नो समस्या सबै डाक्टरलाई सुनाएर केके गर्न सकिन्छ भनेर छलफल गर्ने हो। यहाँ त लड्ने वित्तिकै एक्सरे गर्नु परीहाल्छ, शरीरको कुनै भाग दुख्यो कि एक्सरे गरिहाल्नुपर्छ। अनि कतीको भ्रम के छ भने भिडियो एक्सरेबाट सब कुरा छर्लङ देखिन्छ, त्यसैले त पेट दुखे पेटको, टाउको दुखे टाउकाको, खुट्टा दुखे खुट्टाको भिडियो एक्सरे गर्ने भनेर भन्छन्। यो कुरा गलत हो, शायद स्वास्थ्य क्षेत्रको व्यापारीकरणको कारणले जथाभावी जाँचहरु गराउनाले नि यस्तो भ्रमहरु फैलनलाई मद्दत पुगेको हो कि।

खानासम्बन्धी भ्रम
ओपिडी, वार्डमा हरेकजसो विरामीको प्रश्न हुन्छ "खाना के खानुहुन्छ के बार्नुपर्छ?" केही रोगलाई छोडेर अरु सबैमा सन्तुलित खाना खानु भन्ने हामीले पढिआएको हो। पिनासमा दुध र दुधका पारीकार खान नहुने, दममा चिसो पानी, चिसो फलफूल खान नहुने, भैंसीको मासु खायो भने दाद सन्चो नहुने, ज्वरो आउँदा भात खान नहुने, टाइफाइडमा सार्हो खाना खान नहुने, यो लिस्ट निकै लामो छ।  केही हप्ताअघी अन्नपूर्णपोस्टमा छापिएको एउटा मेडिकल लेख, जुन एउटा डाक्टरले नै लेखेका थिए, टाइफाईड सम्बन्धी त्यो लेखमा ‘आन्द्रामा प्वाल पर्ने सम्भावना भएकोले सार्हो खाना खानुहुन्न’ भनेर लेखिएको थियो। जती नै सार्हो खाना खाएपनी आन्द्रासम्म पुग्दा के त्यो सार्हो रहिरहन्छ र? किन हामी यस्तो भ्रामक सन्देश दिन्छौं?

अचम्म लाग्छ, दिनदिनै रक्सी, चुरोटमासु खानेले ज्वरो आउँदा मैले के के बार्नुपर्छ भनेर सोधेको सुन्दा। के हामीले विरामी हुने बेलामा मात्र स्वस्थ सन्तुलित खाना खाने, अरु बेलामा जे खाए नि हुने हो र? अरु बेला पिरो, अमिलो, चिल्लो, नुनिलो खाना खाने अनि रोगले समातेपछी चै सादा जाउलो खाने हो र? खानासम्बन्धी यो भ्रम आयुर्वेदतिरबाट नि आएको हो जस्तो लाग्छ। यो खाना तातो, यो खाना चिसो भन्ने आयुर्वेदमै हुन्छ जस्तो लाग्छ। अनि यो विषयमा हामी आँफैं सर्वज्ञानी हुन्छौं, एउटा अस्पतालको क्यान्टिनकी साहुनीले खाना माग्दा जन्डिस भको विरामीलाई बेसार, तेल भको दिनुहुन्न भनेर सादा जाउलो दिएर पठाएछिन्, पछी "केही नबारी भातदालतरकारी नै खुवाउनु र तपाईंलाई दिएन भने मलाई भन्नु" भनेपछी बल्ल विरामीले मिठो भातदालतरकारी खान पाए।

रोगलाई हेर्ने र बुझ्ने हामी स्वास्थ्यकर्मीहरुको सोचाइ र विरामीहरुको सोचाइमा धेरै फरक हुन्छ। मैले ग्यास्ट्राइटिस वा ग्यास्ट्रिक भन्दा जे बुझेको हुन्छु, विरामीले अर्कै बुझेको हुन्छ, उसको लागि त्यो गानो गोला, छातीमा भुकभुक हान्ने, गोला घुम्ने रोग हुन्छ। मैले निमोनिया भन्दा भाईरल वा ब्याक्टेरियल संक्रमणको कारणले भनेर औषधी चलाएको हुन्छु, उसले चिसो गढेर वा पानीमा भिजेर निमोनिया भयो भनेर बुझेको हुन्छ। मैले प्रेसर घटेर ‘सक’ हुँदा वा शरीरमा पानी कम हुँदा सलाइन चढाउनुपर्छ भन्ने पढेको हुन्छु विरामीले भित्री तातोपनालाई कम गर्न, तागत दिन, अनि कसैकसैलाई सलाइन चढाउने बानी परेकाले सलाइन चढाउनुपर्छ भन्ने बुझेका हुन्छन्।

हाम्रा विरामीहरु अनि विरामीका आफन्तहरु अनि अरु सर्वसाधारणहरु र धेरै स्वास्थ्यकर्मीहरुमा पनि स्वास्थ्यसम्बन्धी यस्ता धेरै भ्रमहरु छन्, हामीले हरेक दिन यस्ता भ्रमहरुको सामना गर्नुपर्छ। त्यस्तो बेला “ह्या यो यस्तै हो” भनेर छोड्नुको साटो केही समय बढी खर्चेर आफूले जानेको, बुझेको कुरालाई विरामी र उनका मान्छेहरुलाई बुझाउने कोसिस गर्नुपर्छ। विरामीले नि औषधी लिएर चुपचाप फर्कनुको साटो आफ्नो रोगबारे बुझ्न डाक्टरसँग प्रश्नहरु गर्ने गर्नुपर्छ। अनि उपचारका सम्बन्धमा मनमा लागेका कुरा आफ्नो डाक्टरसँग सल्लाह गर्ने गर्नुपर्छ, न कि गाँउशहर, छरछिमेकका भनाई सुनेर औषधी लिने। वर्षौंदेखी गढेका यी भ्रमहरु एकदिनको एकछिनको प्रयासले त अवश्य जादैनन् तर हामी स्वास्थ्यकर्मीहरु लगायत शिक्षित सर्वसाधारणहरुको प्रयासले यस्ता भ्रमहरु बिस्तारै हराउदै जान्छन् भन्ने आस गर्न सकिन्छ।

नोट: स्वास्थ्यसम्बन्धी तपाईंले अनुभव गर्नुभएका केही विश्वासहरु, केही भ्रमहरु छन् भने शेयर गर्नुहोला।


नसासम्बन्धी रोगका भ्रमहरुबारेको मेरो अनुभव यहाँ पढ्नुस्।  ‘स्वास्थ्य शिविरबाट फर्केपछी…’
बाँकी पढ्नुहोस् >>

Thursday, February 5, 2015

पाठेघर नै फाल्या महिला नि गर्भवती!! के मिलेन त?

घरमा तीनवटा बच्चा छन् रे उनका, यो आठौ गर्भ हो रे, अरु कोइ पेटमै खेर गए, कोइ जन्मेर खेर गए रे। लेखाजोखा नै छैन, उनलाई याद नि छैन। पछील्लो बच्चा जन्मेपछी पाठेघर खस्ने समस्या भएर पाठेघर फालेको रे। कालिकोट मान्मको शिविरमा फालेको भन्थिन्। अहिले गर्भवती भएर आएकी थिईन्। हुनै नसक्ने कुरा। पाठेघर नै फालेपछी कसरी गर्भ बस्छ, कहाँ गर्भ बस्छ। हुन त उनी अति नै विपन्न, चेतनाको स्तर न्युन भएकी देखिन्थिन्। गाउघरका धेरैजसो विरामी यस्तै हुने रहेछन्। आफ्नो अवस्थाको बारेमा केही थाहा नहुने, के औषधी खाएको, के अप्रेसन गरेको त झनै थाहा हुने कुरै भएन। उनलाई आफ्नो पाठेघर फालिएको भन्ने चै शायद शिविरमा उपचार पछी कसैले भनेको थियो होला। उनको साथमा कोइ बुझ्ने मान्छे आएको छ कि भनेर सोद्धा जेठी श्रीमतीको छोरा आएका रहेछन्, उनलाई धेरै थाहा नभए नि "शिविरमा आङ खस्ने समस्याको उपचार गरेको, त्यो बेला अरुहरुको पनि पाठेघर फालेको थियो" भनेर मात्रै भन्न सके। पेटमा सुन्दा खेरी बच्चाको मुटुको धड्कन चै सुनिन्थ्यो। पेटमा काटेको दाग केही नभए पनि तलबाट जाच्दा औंला हाली जाच्दा भने योनी एकदम साघुरिएको थियो। सिजेरियन अप्रेसन गरियो, पाठेघर सङ्लै थियो, बच्चा राम्रै भयो।

उनको पाठेघर निकालिएकै थिएन। पाठेघर खस्ने समस्याको लागि योनीमार्गको अप्रेसन (Pelvic floor repair) मात्रै गरिएको थियो कि, उनलाई बुझाउदा पाठेघर नै फालेको भनेर पो बुझिन् कि। अथवा पाठेघर नै ननिकाली निकालेको पो भनेका हुन् कि। जे पनि हुनसक्छ।

मैले यहाँ भन्न खोजेको चै हाम्रो उपचार प्रणालीमा 'डकुमेन्टेसन'को कमजोरी र स्वास्थ्य प्रणालीमा गरिनुपर्ने सुधार बारे हो। ती महिलाको के उपचार, अप्रेसन गरिएको थियो भनेर लिखित रेकर्ड कतै भएको भए यति 'कन्फ्युजन' नै हुन्थेन। हो, विरामीलाई के कस्तो उपचार, अप्रेसन भनेर सबै बुझाउन सकिदैन, सबैको त्यत्तिको मेडिकल ज्ञान पनि हुँदैन। तर कुनै पनि विरामीको उपचारको कतै रेकर्ड हुने सिस्टम भयो भने त्यो व्यक्तीको जिन्दगी भरको लागि सजिलो हुन्छ।

हाम्रोमा कती विरामी अस्पताल आउनु अघी नै विभिन्न एन्टीवायटिक, थरीथरीका औषधी खाएर आएका हुन्छन्, के खानुभाथ्यो भनेर सोध्यो भने नाम थाहा हुने त कुरै भएन अनी एउटा सेतोसेतो लामो ट्याब्लेट थ्यो, अर्को गुलियो गुलियो झोल थ्यो, दिनको ३ पटक खाने, यस्तै यस्तै भन्छन्, त्यसैका आधारमा अन्दाज मानेर यो खाएको होला भनेर चल्नुपर्ने हुन्छ। कति बेला पहिल्यै चलेको औषधी फेरी दोहोरिन्छ, भन्न सकिदैन। कसै कसैले पुराना कागजात, औषधीहरुको थुप्रो बोकेर आएका हुन्छन्, कतिले त के बोक्ने के नबोक्ने थाहा नपाएर औषधीको, जाचहरुका बिलहरु पनि लिएर हिड्छन्। पुराना प्रेस्क्रिप्सनहरु पनि कहिले कस्कोमा देखा'को हुन्छ, कहिले कस्कोमा। एउटै औषधी दोहोरिएको हुन्छ, एउटै जाच अनावश्यकरुपमा पटक पटक भईरहेका हुन्छन्, पैसा अनावश्यक खर्च भईरहेको हुन्छ, समस्या जहिको तही हुन्छ। विरामीले नि पटक पटक डक्टर फेरेको भएर डक्टरसँगको कुनै स्थायी सम्बन्ध अनुभव गर्न पाएका हुँदैनन्, डक्टरहरुले नि ४-५ मिनेटको भेटमा विरामीलाई खासै केही सेवा दिन सकिरहेका हुँदैनन्।    

त्यसो भने हुनुपर्ने के हो त? कस्तो हो त?

खासमा हुनुपर्ने के भने कुनै एउटा निश्चित क्षेत्रको लागि एउटा एमडीजीपी डक्टर वा फेमिली डक्टर हुनुपर्छ, जस्को जिम्मामा त्यो क्षेत्रका सबै महिला, पुरुष, बच्चा, बुढाबुढी, सबैको स्वास्थ्य अवस्थाको हेरचाह हुनुपर्छ। कुनै महिला गर्भवती भईन् भने गर्भावस्थाको जाच गर्ने, टिटी सूई लाउने, आइरन चक्की खाने आदी सबै काम उसैको मातहतमा हुनुपर्छ, र त्यो सबको रेकर्ड उसको अफिसमा हुनुपर्छ। र केही गरेर रिफर गर्नुपर्यो भने उसले नै केन्द्रको स्त्री रोग विशेषज्ञकोमा रिफर गर्ने र रिफरको बेला आवश्यक जानकारी सम्बन्धित विशेषज्ञकोमा पठाउने जिम्मा नि उही डक्टरको हुनुपर्छ। त्यसै गरी त्यो क्षेत्रका हरेक बच्चाबच्चीको स्वास्थ्य अवस्था, खोप लाए नलाएको रेकर्ड, जन्मको बेलाको रेकर्ड, प्रत्येकपल्ट विरामी हुँदा, अस्पताल भर्ना हुँदाको रेकर्ड त्यो क्षेत्रको जीपीको अफिसमा हुनुपर्छ। त्यस्तै क्यान्सर, उच्च रक्तचाप, मधुमेह जस्ता विभिन्न दिर्घरोगहरुको पनि नियमित फलोअप उनैको अफिसबाट हुनुपर्छ। केन्द्रका ठुला अस्पतालहरुमा भर्ना भएर, अप्रेसन गरेर फर्केका विरामीहरुको पनि फलोअप गर्नको लागि क्षेत्रकै जीपीको माध्यमबाट गरिनुपर्छ, जसले गर्दा विरामीलाई नि शहर नै धाउनुपर्ने झन्झट हुँदैन र डक्टर-डक्टर बीचको कम्युनिकेसनबाट फलोअप हुने हुँदा गलत जानकारी जाला भन्ने डर पनि हुँदैन। साथै जीपीले आफ्नो क्षेत्रका विरामीको रिफरलका लागि व्यवस्था मिलाउने, केन्द्रका स्पेसलिस्टलाई विरामीको मेडिकल रेकर्ड उपलब्ध गराउने, गरिएको उपचार, औषधीका बारेमा थाहा दिने, केही नबुझिएको भए थप जानकारी दिने अनी विरामीको मेडिकल प्रवक्ताको रुपमा काम गर्ने पनि गर्नुपर्छ।

प्राय: विकसित देशहरुमा यस्तै खाले मेडिकल प्रणाली सरकारीरुपमा नै लागू भएको हुन्छ। यसले जनताको स्वास्थ्य अवस्थाको रेकर्ड राम्रो रहन्छ, विरामीलाई आफ्नो स्वास्थ्य समस्या आफ्नो क्षेत्रको जीपी वा फेमिली डक्टरलाई भन्ने भनेर निश्चित हुन्छ, विरामीको उपचारमा निरन्तरता हुन्छ, रिफरलको राम्रो सिस्टम नि बस्छ, कम्युनिकेसन ग्याप पनि हुँदैन। सरकारले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न सरकारीरुपमै स्वास्थ्य विमा गर्ने कानुन ल्याएर त्यस अन्तर्गत यस्तो प्रणाली बसाल्न सक्यो भने हाम्रो पनि स्वास्थ्य क्षेत्र व्यवस्थित भएर जान्थ्यो कि।

शुरुको केसमा शायद हाम्रो स्वास्थ्य सेवा प्रणाली नमिलेको हो, कुनै मेडिकल चमत्कार भएको हैन।

बाँकी पढ्नुहोस् >>

Sunday, January 18, 2015

लेखको प्रतिकृया अनि मनका केही कुरा।

धेरै अघी दिलिप आचार्यजीको यो लेख ‘के चिकित्सकहरु कमिसनकै लागि यस्तो गर्छन् त?’ पढ्ने बेलामै मनमा लागेका कुराहरु लेख्ने भन्ने सोचिरहेको थिए तर के के नमिलेर लेख्न भ्याएको थिईन। आज अलि फुर्सद भएकोले त्यो लेख पढ्दा मनमा लागेका कुराहरु लेख्न लाग्दैछु। लेख पुरानो भए पनि यी सन्दर्भहरु हामीकहा अझै सधैंजसो नै भई नै रहन्छन्, र हामी मध्ये धेरैले आफूसँग यी कुराहरु कतै न कतै जोडीएको पाउनेछौ।

सर्वप्रथम् यो लेख डक्टर वा कोही पनि स्वास्थ्यकर्मीको कुनै पनि गलत कार्यको बचाउको लागि लेखिएको हैन। उनीहरु पनि मान्छे नै हुन् र उनीहरुबाट नजानीकन र कती बेला जानीजानीकन गल्तीहरु र अपराधको कामहरु समेत हुनसक्छन्। तिनको सही छानविन गरी गल्ती, अपराध अनुसारको सजाय दिनुपर्छ भन्नेमा कसैको दुई मत हुनै सक्दैन।

लेखकले उक्त लेखमा राख्नुभएको आफ्नो धारणा जस्तै धेरैले आफ्नो वा आफन्तको उपचारको क्रममा त्यस सम्बन्धी आफ्नै धारणा बनाएका हुन्छन्। यो लेख मार्फत मैले त्यसलाई फरक दृष्टिकोणले पनि हेर्न सकिन्छ र हेर्दा दृष्य र घटनाहरु फरक देखिन्छन् भन्ने मात्रै बताउन खोजेको हुँ। साथै आफ्न केही कुराहरु नि जोडेको छु।

पहिलो घटना-
केही दिनदेखी पेट दुखेको भनेर पेट रोग विशेषज्ञकोमा देखाउन जानुभएको, डक्टरले केही सोधपुछ मात्रै गरेर जाचहरु पठाइदिए, जुनमा खासै केही खराबी देखिएन, पछी घरमै बस्ने हड्डीका डक्टरले दिएको अमिबाको औषधी खाएर ठीक भो भन्ने कुरा।

विरामीसँगको सोधपुछ, जसलाई ‘हिस्ट्री लिने’ भनिन्छ, राम्ररी समय लगाएर गरिएको छ भने रोगबारे धेरै कुरा त्यसैबाट अन्दाज लगाउन सकिन्छ। त्यसको आधारमा विरामी जाच्दा के के हेर्नुपर्छ भन्ने कुरा डक्टरको दिमागमा खेलिरहेको हुन्छ। अनि त्यस अनुसार ल्याब टेस्टहरु पठाएर रोगलाई खुट्याउन थप सहयोग मिल्छ। रोग पत्ता लगाउने यो तरिका संसारभर उस्तै हो। तर अवस्था अनुसार यसमा केही फेरबदल हुन्छ नै। जस्तो रोग सामान्य झै लाग्यो र लक्षणहरुको आधारमा लगभग पक्का जस्तो भो भने विना ल्याब टेस्टहरु नै उपचार शुरु गरेर कत्तीको सुधार हुन्छ हेर्न सकिन्छ। त्यस्तै विरामी सिकिस्त छ भने रिपोर्ट कुरेर रोग निर्क्यौल गरेर मात्रै औषधी चलाऊन नभ्याइने हुन्छ, त्यसैले हिस्ट्री र विरामी जाच्दाको प्रमाणहरु अनुसार हुनसक्ने रोगहरुको लागि भनेर औषधी शुरु गरिन्छ।  यो प्रक्रीया डक्टर अनुसार अलिअलि फरक पर्छ नै।
लेखकले भने अनुसार ती विशेषज्ञ डक्टरले विरामीलाई हात नै नलगाई भिडियो एक्सरे, स्टुल आदीको जाच लेख्दिएका थिए, जुन मेडिकल हिसाबले गलत हो। जस्तै सामान्य समस्याको विरामी भए पनि एकपटक राम्ररी विरामी जाँच्नैपर्छ। तर लेखकको यो धारणा पनि गलत हो कि पेट छामेर नै अमिबाले दु:ख दिएको पत्ता लाग्छ। हो उनको पेट दुखाइ अमिबाको औषधी खान शुरु गरेको दोस्रो दिनदेखी नै ठीक हुन थाल्यो, तर त्यो औषधीले नै त्यो जादु गरेको होला भनेर मेडिकल साइन्स पढेको कुनै पनि मान्छेले शायदै पत्याउला। र पेट दुख्ने मात्र समस्याको लागि मात्र पेट छामेर अमिबाको औषधी (पक्कै पनि मेटोनिडाजोल एन्टिबायटिक होला) चलाउनु उचित हुँदैन। पेट रोग विशेषज्ञले शुरुमा दिएको ५ दिने औषधी नै पो एन्टिबायटिक थिए कि? तिनले पनि अमिबालाई ठीक गर्थे कि?
खासमा हुनुपर्ने के हो भने डक्टरले विरामी जाचिसकेपछी “मलाई यो यो रोगको शंका लागेको छ, यो यो जाच गराएर यी रोगहरु हो हैन हेरौ, अनि यसको लागि यो औषधी चलाऊदैछु” भनेर जानकारी दिनुपर्छ। र विरामीसँग उसको राय, भन्न मन लागेको कुराहरु बारे नि छलफल गर्नुपर्छ। विरामीले पनि डक्टरले भनेको सबै कुरा यत्तिकै मान्नुभन्दा सकेसम्म आफ्नो रोगबारे, भनिएका जाचहरु बारे, आफूलाई चलाइएको औषधी बारे जान्ने प्रयास गर्नुपर्छ।

दोस्रो घटना-
१० वर्षकी बच्चीको पेटको समस्या जती औषधी गरे पनि निको नभएको तर आँफैले गुगल गरेर जुकाको औषधी चलाएको भोलिपल्टै ठीक भएको भन्ने घटना।

कुनै एक डक्टरको उपचार गराउदा ठीक नभएपछी हामी प्राय: डक्टर परिवर्तन गरिहाल्छौ र रोग ठीक नभएसम्म गरी नै रहन्छौ। यो खासमा आफ्नो डक्टरप्रति विश्वास नभएको हो वा भनौ डक्टरले विरामीको विश्वास जित्न नसकेको हो। "म तपाईंको समस्या समाधानको लागि सक्दो प्रयासरत छु, हामी मिलेर यसको हल निकाल्न सक्छौ र केही गरेर मबाट भएन भने सही विशेषज्ञकोमा रिफर गर्नेछु" भन्ने विश्वास विरामी, उसको परिवारलाई दिन सकियो भने ‘डक्टर सपिङ’को यो चलन केही कम गर्न सकिन्छ कि। नत्र फरक फरक अस्पताल र डक्टर चाहर्दाचाहर्दा विरामीको खर्च नि बढ्छ, अनावश्यकरुपमा जाचहरु नि दोहोरिन्छन्, सुधार नगरेका औषधीहरु नि पटक पटक उही चल्छन्। त्यसैले विरामीले पनि सकेसम्म एउटै डक्टरकोमा लगातार देखाउने र उक्त डक्टरले विरामीसँगको सल्लाहपछी रिफर गरेर मात्रै अर्को डक्टरकोमा जाने बानी गर्नुपर्छ।
खासमा हुनुपर्ने के हो भने, शुरुमा समस्याहरु सधैं एकै जेनेरल फिजिसियन वा फेमिली डक्टरलाई देखाउने गर्नुपर्छ, त्यसो भएमा उनलाई विरामीको, उसको परिवारको बारेमा धेरै जानकारी हुन्छ र शुरुका सामान्य रोगहरुको उपचार उसैले गर्छ र कुनै जटिलता आएमा रोग, अवस्था अनुसारको विशेषज्ञकोमा रिफर गर्छ। धेरैजसो विकसित देशहरुमा यसप्रकारको सिस्टम नै हुन्छ।
अर्को कुरा हामी उपचारको क्रममा औषधीको साइड इफेक्ट भएको होला भनेर प्राय: शंका गर्दैनौ, अनि साइड इफेक्ट भयो भने पनि त्यसलाई काट्न अर्को औषधी थपिदिन्छौ। र कतीपय बेला रोगले भन्दा नि औषधीको साइड इफेक्टले विरामीलाई झन बढी सिकिस्त बनाइरहेको हुन्छ। त्यसो हो भने सोही डक्टरकोमा गएर मलाई यस्तो यस्तो भयो भनेर थाहा दिनु उचित हुन्छ।
हुन त लेखकले ३ घण्टा गुगल गरेर पत्ता लगाएर एक डोज जुकाको औषधी दिएर भोलीपल्टै च्वाट्टै निको भयो भनेका छन् तर किन किन मलाई पहिले चलाईएका औषधीहरु बन्द गरेकाले साइड इफेक्ट विस्तारै हराएर आँफै ठीक भएको हो कि भन्ने लागिर'छ, तर वाह वाह चै एक डोज अल्बेन्डाजोलले पायो कि।

तेस्रो घटना-
विशेषज्ञले जाच गर्दा, इन्डोस्कोपि गरेर औषधी चलाऊदा नि ठीक पार्न नसकेको पेट दुखाइ एमबीबीएस पास गरेका तर नाम नचलेको "क्वाक डक्टर" ले दिएको एउटा औषधीले ठीक गरेको घटना।

पहिलो कुरा एमबीबीएस पास गरेको तर नाम नचलेको भन्दैमा ती डक्टर कसरी "क्वाक डक्टर" भए, बुझिएन। त्यसो हो भने त नेपालमा गाउगाउ सेवा गर्ने एमबीबीएस पास डक्टरहरु त सबै नै 'क्वाक' हुने भए। दोस्रो कुरा ती क्वाक भनिएका डक्टरले दिएको Razo-20 भन्ने औषधी Rabeprazole/राबेप्राजोल हो, जुन ग्यास्ट्राइटिस रोगहरुमा चलाइन्छ। ती शुरुका विशेषज्ञ डक्टरले उनको पेट दुखाइका लागि त्यही ग्रुपको कुनै औषधी (प्यान्टोप्राजोल ओमेप्राजोल, एस्मोप्राजोल आदी) चलाएनन् होला भनेर मलाई चै पत्यार लाग्दैन। हो, ती औषधीहरुले उनको दुखाइ ठीक भएन त्यो आफ्नो ठाउँमा छ, तर एउटा समस्या ठीक पारेको, नपारेको आधारमा कोही डक्टर राम्रो वा नराम्रो भनिहाल्न मिल्दैन। हामी धेरैले डक्टरको उपचारलाई त्यसरी नै तौलिरहेका हुन्छौ। कसैले धेरै औषधी लेख्ने डक्टर राम्रो भन्छन्, कसैले एउटै समूहका फरक औषधी लेखेर ठीक हुँदा शुरुको खत्तम, पछीको दामी डक्टर भन्छन्, कसैले मेडिकल साइन्सले नै गर्न नसक्ने ग्यारेन्टी दिएर औषधी गर्ने, अप्रेसन गर्ने डक्टरलाई विश्वास गरिरहेका हुन्छन्। हुन त यो मान्छेको आ-आफ्नो विश्वासको कुरा हो, यसले खासै फरक त पर्दैन तर सत्य नबुझी बनाइएका यस्ता धारणाले भविष्यमा धोका दिनसक्छ।

आफ्नो लेखमा लेखकले शंका गरेजस्तै ती डक्टरहरुले कमिसनकै लागि अनावश्यक जाचहरु पठाएका पनि हुनसक्छन्। यो समस्या हाम्रो मेडिकल क्षेत्रमा धेरै नै छ। त्यसैले जाचहरु गर्दा किन गरिएको, के रोगको शंका हो भनेर बुझाउने वा कम्तीमा बुझाउन प्रयास गर्ने डक्टरलाई देखाउनु बेस हुन्छ। साथै आँफैले पनि आफ्नो स्वास्थ्यको बारेमा जान्ने, खोजविन गर्ने प्रयास गर्नुपर्छ।

"सामान्य रोगलाई जटिल भन्दिने र जटिललाई सामान्य मान्दिने" कुरा बारे -
डक्टरले विरामीको हिस्ट्री, जाच्दाका देखिएका प्रमाणहरु, ल्याब रिपोर्टहरु अनि आफ्नो ज्ञानका आधारमा नै रोगको पहिचान गर्ने हो, त्यसमा कोही पनि सधैं शतप्रतिशत सही हुन्छ भनेर संसारको कुनै पनि भागमा ग्यारेन्टि दिन सकिदैन। त्यसैले त मेडिसिन साइन्स हो, जादु हैन। फेरी त्यो भनाइ सबैकुरा वितेपछी पछाडि फर्केर हेरी गरिएको कमेन्ट हो, फर्केर हेर्दा कहाँ को के गलत भयो, ठीक भयो भन्न सजिलो हुन्छ, तर शुरुको अवस्थामा भएका लक्षण, जाचका प्रमाण, ल्याब रिपोर्टहरु, उपलब्ध पूर्वाधारहरुका आधारमा गर्नसकिने त्यति नै थियो कि, त्यही नै थियो कि।

सबैलाई मेरो सुझाव-

  • उपचारको लागि विरामीसँग राम्रोसँग कुरा गर्ने, सबै समस्या बुझ्न कोसिस गर्ने, विरामी जाँच्नलाई समय दिने डक्टरलाई विश्वास गर्नुहोला न कि हतार हतारमा कुरा सुनेर औषधी लेख्ने डक्टरलाई। नामै चलेको डक्टर भए पनि विरामीको कुरा राम्ररी नसुनी, राम्ररी नजाची उसले गरेको उपचार गलत हुनसक्छ। त्यसैले कस्को क्लिनिकमा बढी भिड लाग्छ उसैलाई देखाउने भन्दा नि कस्ले समय दिएर विरामी हेर्छन् उस्लाई आफ्नो डक्टर छान्नुहोला। 
  • औषधी शुरु गर्नु अघी आफूलाई वा आफ्नो आफन्तलाई के समस्या भएको हो डक्टरसँग सोध्ने गर्नुहोला। एउटै रोग ठ्याक्कै भन्न नसकिए पनि के रोगको शंका छ, के के हुनसक्छ भनेर डक्टरले सोचेको हुन्छ नै, त्यसैको आधारमा नै औषधी चलाऊने हो। कहिलेकाही त्यो शुरुको प्रोभिजनल डायग्नोसिस पछी फेरिन सक्छ, फरक रोग हुनसक्छ, त्यसैले भनेको मेडिकल साइन्सले १००% ग्यारेन्टि दिन सक्दैन। तर तपाईंको डक्टरले रोग पत्ता लगाउनका लागि सकेसम्म प्रयास गरेका छन् भन्ने कुरामा तपाईं ढुक्क हुनुपर्यो। 
  • टाउको दुखेको छ भने टाउकोको डक्टर, छाती दुखेको छ भने छातीकै डक्टर, पेट दुखेको छ भने पेटकै डक्टर खोज्नुभन्दा पहिले जेनेरल फिजिसियन वा जेनेरल प्राक्टिसनर वा एमडी जीपीलाई देखाउनुहोला, जसले तपाईंको रोगबारे बुझेर समस्या साधारण भए उपचार गर्दिन्छन् र सम्बन्धित रोगकै विशेषज्ञ चाहिने भए रिफर गर्दिन्छन्। यसो गर्दा ग्यास्ट्राइटिस, निमोनिया भएको विरामी गंगालाल (मुटुरोग अस्पताल) पुग्नुपर्दैन, सर्जनले हेर्नुपर्ने पेट दुखाइको विरामी मेडिसिनको डक्टरको मा लाइन बस्नुपर्दैन, मानसिक रोग विशेषज्ञले हेर्नुपर्ने विरामी सबै अस्पताल चहारी हिंड्नुपर्दैन।  


धन्यवाद...
बाँकी पढ्नुहोस् >>