पहिले भाइरल फिभर होला भनेर सिटामोल मात्रै खाएर बसेको थिएँ तर ज्वरो ठिक नै नभएपछि अरु केही होकी भनेर रगत जाँच गरी एन्टीवायटिक नि शुरु गरियो।
लौ, विरामी हुँदाको अनुभव लेख्छु भनेर बसेको ज्वरोको विवरण पो दिदैंबसेछु। विरामी हुँदा यो भयो, त्यो भयो भन्दा पनि विरामी भएर बस्दा, अस्पतालमा जाँच्न जाँदा, आफ्नो उपचार गर्दा आफूले अनुभव गरेका, मनमा लागेका केही कुराहरु चाँही यहाँ लेख्न लागेको छु।
१. विरामीलाई हामी जति सजिलोसँग "सन्चो भैहाल्छ, नआत्तिनु" भनेर भन्छौं नि, आफैं विरामी हुँदा थाहा हुँदोरहेछ, ती शब्दहरुमा भावना छैन, तीनमा केयरको भाव छैन भने ती फगत शब्दहरु मात्र लाग्दॊरहेछन, जसले विरामीलाई केही सहयोग गर्दैनन्। विरामीलाई "तपाईंको लागि म छु, मैले तपाईंलाई राम्रोसँग जाँच गरेको छु र आफूले जानेको आफ्नो क्षमताले भ्याएसम्म तपाईंको उपचार गर्नेछु" भन्ने विश्वास दिलाउनु भनेको धेरै ठुलो कुरा रहेछ। यदी तपाईंले उपचार गरिरहेको विरामीले तपाईंमाथि विश्वास गर्दैन वा भनौं तपाईंले विरामीको विश्वास जित्न सक्नुहुन्न भने तपाईं औषधीको थुप्रो मात्र दिने 'क्वाक/Quack' भन्दा केही फरक हुनुहुन्न। त्यसोभने विरामीको विश्वास कसरी जित्ने त? सजिलो छ। विरामीसँग कुरा गरेर, विरामीलाई आफ्नो कुरा भन्ने समय दिएर, विरामीलाई समय लिएर राम्रोसँग जाँचेर, उपचारमा गरिने कुराहरु, जाँचहरु, हुनसक्ने जटिलताहरु बारे छलफल गरेर। यी सबै गरेपछि मात्र डाक्टरले "नआत्तिनुहोस्, सन्चो हुन्छ" भन्नुको वास्तविक अर्थ आउँछ।
२. डाक्टरहरुको पनि आफ्नै खालका लिमिटेसनहरु हुन्छन्। मैले बारम्बार भन्दै आएको छु डाक्टरहरु पनि भगवान होइनन्। उनीहरुले पनि पढेको जानेको अनुभवका आधारमा, उपलब्ध फ्यासिलिटीका अनुसार उपचार गर्ने हो, जादुको छडी घुमाउने होइन। तर हामीकहाँ विरामीलाई यस्तरी अस्पताल कुदाइन्छ मानौं त्यहाँ पुग्ने बित्तिकै सबै आफैं ठिक भैहाल्छ। तर त्यसो हुदैंन। डाक्टरले गर्ने भनेको विरामीसँग समस्याका बारेमा कुरा गर्ने, जानकारी लिने, उसलाई जाँच गर्ने, तत्कालको उपचारका लागि औषधी लेख्ने, रोग पत्ता लगाउनका लागि रगत, पिसाबका जाँचहरु आदि गर्ने, हुनसक्ने रोगको बारेमा जानकारी दिने र ठिक हुनका लागि शुभकामना दिने यत्ति नै हो। रोगसँगको लडाईं त विरामी आफैंले नै लड्नुपर्छ, त्यसका लागि हौसला बढाउने काममा उसको परिवार, नजिकका मानिसहरुले राम्रो भूमिका खेल्न सक्छन्। त्यसैले जादुको आशा राखेर पुर्याउने बित्तिकै डाक्टरले हेरेर ठिक भैहाल्ला भनेर अस्पताल कुदाउँदा पनि निराश हुनुपर्ने हुन्छ।
३. उपचार भनेको औषधी मात्र होइन रहेछ। विरामी भयो, यो रोग लागेकोरहेछ, ल यो औषधी खाने, ठिक भैहाल्छ। प्राय: यत्तिमै सकिन्छ, हामी डाक्टरहरुले गर्ने उपचार। तर उपचार भनेको औषधी मात्र हुँदैहोइन र यो डाक्टरले मात्र गर्न सक्ने कुरा पनि होइन। विरामी अवस्थामा विरामीको सेवा, विरामीलाई सहयोग, औषधी खुवाउने, दिने आदीमा नर्सहरुको र विरामीका परिवारको ठूलो हात हुन्छ, जुन बाहिर देखिदैंन र धन्यवादका पात्र प्राय: डाक्टरहरु मात्र हुने गर्छन्। म एक्लो हुँदा आफैंले पकाएर खाएर, औषधी पनि खाएर बस्नु र बहिनीले कोठाका सबै काम गरिदिएर, ज्वरो आएको बेलामा पानीपट्टी लगाइदिनु र पछि घरैबाटै आमा आएर सबै कामको जिम्मा लिनु आदीले म ठिक हुनुमा आकाशजमीनको फरक पारेको छ। म औषधीले मात्र ठिक भएको होइन, म ठिक हुनुमा आमाको स्याहार, बहिनीको माया र साथीहरुको सहयोग पनि उत्तिकै महत्वपूर्ण छन्। त्यसैले उपचारमा औषधीको जति भूमिका हुन्छ, त्यतिकै भूमिका विरामीलाई गरिने हेरचाह, समयमा औषधी दिने, ठिक हुनसक्छु भन्ने विश्वास दिलाउन सक्ने व्यवहार, माया, सहयोगको पनि हुन्छ। विरामीको उपचारको टिम लिडर डाक्टर होला तर टिममा हरेक पात्रको आफ्नै तर महत्वपूर्ण भूमिका हुन्छ र त्यस अनुसारको उनीहरुले सम्मान पनि पाउनुपर्छ। जुन हाम्रो समाजमा अलि कमै देखिन्छ।
४. डाक्टरहरुले प्राय: आफ्नो लागि औषधी किन्छन् जस्तो लाग्दैन। यताउता गरेर एमआरहरुबाट चाहिने औषधी निकालिरहेका हुन्छन्। मैले नि पहिले सानोतिनो विरामी हुँदा, ग्यास्ट्राइटिसका औषधीहरु एमआर(MR) हरुबाट नै लिने गरेको थिएँ। तर यसपालीको उपचारमा प्रयोग भएका एन्टीवायटिकहरु सेफ्ट्रायक्जोन, एजिथ्रोमाइसिन आफैंले नै किनियो। अनि थाहा भयो औषधीहरु कतिको महंगो हुँदा रहेछन्। २ हप्ताको विरामी भएर औषधी मात्र किन्दा त यस्तो खर्च हुन्छ भने काठमाण्डौं बाहिरबाट आएर अस्पतालमा भर्ना भएर दिनकै महँगा औषधी किनेर, जाँचहरु गरेर होटलको खाना खाएर विरामीको उपचार गराउनु कम्ताको महँगो हुन्छ होला। कल्पनै गर्न सकिन्न। उपचारका लागि लाखौं सकिएको, गाँउका खेत बेचिएको, घर बन्धकमा राखिएका कथाहरु साच्चिकै सत्य कथाहरु हुन्, जसलाई परिवर्तन गर्नुपर्ने खाँचो छ।
५. कुनै पनि रोग सानो भन्ने नहुदोरहेछ. आफैंलाई परेपछि त्यो रोग कस्तो हो, त्यसले कत्तिको सास्ती दिन्छ भन्ने कुरा आफैंलाई बाहेक कसैलाई थाहा नहुँदो रहेछ। डाक्टरको लागि त्यो एउटा रोग वा केस हुन्छ तर विरामीको लागि त उसको सारा शरीर नै डामाडोल भएको, संसार नै उथलपुथल भएको अवस्था हुन्छ। त्यस्तै हालत विरामीका परिवारको पनि भैरहेको हुन्छ। अझ कठिन परिस्थितिबाट त दिर्घरोग कहिले निको नहुने रोगका विरामी र उन्का परिवारले गुज्रिनुपर्छ। नियमित डायलाइसिस गरिरहनुपर्ने मृगौलाको रोग, पक्षघात, सेरेब्रल पाल्सी जस्ता दीर्घ रोगहरुका विरामी र उनका परिवारले भोग्नुपरेको दु:ख अरुले कल्पनै गर्न सक्दैनन्। विरामीहरुसँग कुरा गर्दा, व्यवहार गर्दा उनीहरुको धरातलमा आफूलाई उभ्याएर हेर्यो भने पनि हिजोआज देखिरहेको डाक्टरले राम्ररी हेरेन, राम्रो व्यवहार गरेन, लापरवाही गर्यो भन्ने आरोप लाग्ने अलि कम हुन्थ्यो की।
६. अरु मान्छे विरामी हुँदा भन्दा डाक्टर विरामी हुँदा अलि फरक अफ्ठ्यारो पर्दोरहेछ। "डाक्टर भएर नि विरामी भएको त" भनेर मान्छेहरुको जिस्काइ पो खेप्नुपर्दोरहेछ। हाम्रोमा डाक्टर विरामी नै हुन्नन् भन्ने जस्तो सोच्छन् भन्या। के भन्ने खै। अझ 'रेसिडेन्ट डाक्टर' भएर त सकिन्छ भने भुलेर पनि विरामी हुनुहुदैंन। वर्षभरीमा पाइने १४ दिने विदामा नि यति लामो विरामी भयो भने त छुट्टी सबै सकिहाल्यो नि। त्यसमाथि ड्युटी मिलाएर मात्र विरामी विदामा बस्न पाइने। अब विरामी हुनुको टेन्सन त छदैंछ, ड्युटी गर्न कसलाई भन्ने होला, ड्युटी मिल्ला कि नमिल्ला भन्ने टेन्सन नि लिनुपर्ने। तैपनि सहयोगी साथीहरु र डिपार्टमेन्टको कारणले खासै समस्या भने परेन। डाक्टर विरामी हुँदा फाइदा चाँही के हुँदोरहेछ भने भर्ना नै हुनुपर्ने अवस्थामा पनि साथीहरुको सहयोगमा क्यानुला(रगतको नलीबाट औषधी दिन हातखुट्टामा लगाइराखिने प्लास्टिकको सुइ) लगाएर घरमै रगतको नसा/नलीबाट औषधी लगाइ बस्न सकिदोरहेछ। आखिर जे भएपनि अस्पतालमा भर्ना भएर बस्नुभन्दा घरमै बस्नु धेरै नै सजिलो हुन्छ। यसपाली क्यानुलाबाट औषधी दिने काम मेरी आमाले नै गर्नुभयो, उहाँ मेडिकल फिल्डको त होइन तर अलिअलि सिकाएपछि खासै गाह्रों काम होइन। तर यदी तपाईं आफू कोइ एकजना मेडिकल फिल्डको हुनुहुन्न भने भुलेर पनि यस्तो प्रयास नगर्नुहोला।
आखिर चोर वा भनौं डनलाई माइक्रोबायलोजीले नै समात्यो। रगतको कल्चरमा 'साल्मोनेला पाराटाइफी' देखिएपछि टाइफाइड भएको कन्फर्म भयो। रगत/ब्लड कल्चर/Blood Culture भनेको विरामीको ५-१० मीली रगतलाई किटाणु हुर्कनसक्ने वातावरण/मिडियामा २-३ दिन राखी कुनै खालको किटाणु हुर्कन्छ की भनेर हेर्ने जाँच हो। यो किटाणुलाई मैले 'काठमाण्डौंको डन' किन भनेको भने तपाईं जुनसुकै उमेर, पद, ओहदाको होस् जतिसुकै धनी किन नहोस्, काठमाण्डौंमा बसेपछि कुनैपनि बेला यसको आक्रमणमा तपाईं पर्न सक्नुहुन्छ। तपाईंलाई भाग्यले भन्दा अरु केहीले यसबाट बचाएको छ जस्तो लाग्दैन। किनकी यहाँ पैसा तिरेर पनि तपाईंले खाने खाना, पानी सफा, ताजा र सुरक्षित छ भनेर तपाईं ढुक्क रहन सक्नुहुन्न। जोन स्नोले सन् १८५४मा (लगभग १६० वर्ष अघि) लण्डनमा देखिएको हैजाको इपीडेमिक खानेपानीमा भएको संक्रमणले हुनगएको भन्ने पत्ता लगाएर त्यसलाई नियन्त्रणमा ल्याएका थिए। तर हाम्रो देशको राजधानीमा आज २१औ शताब्दीमा पनि हामीले खाने पानीमा के कति ढल मिसिएको छ, के कति रोगका किटाणु तैरिरहेका छन्, भगवान पशुपतिनाथलाई मात्र थाहा होला। यसको नियन्त्रण गर्ने कुरा त परै जाओस्।
अन्तत, ३० वटा(१५ ग्राम)सिटामोल, आधा फाइल फ्लेक्सन, ५ ग्राम एजिथ्रोमाइसिन र १४ ग्राम सेफ्ट्रायक्जोन, अनि मेरो यो वर्षको लगभग आधा छुट्टी खाएर यो रोग सन्चो भयो।
यस्तो विरामी त कसैले पनि हुनुनपरोस्। सबैको भगवान पशुपतिनाथले रक्षा गरुन्, आखिर उनैले त हामी सबै नेपालीलाई बचाएका छन्।
यस्तो विरामी त कसैले पनि हुनुनपरोस् :-)
ReplyDelete