धेरैलाई यो कुरा सानो लाग्ला, यती जाबो कुरामा नि के सिरियस भको भन्लान्, तर मलाई चै व्यस्तता र बानी परेकोले साधारण सम्वेदना पनि गुमाउन लागेका हौं कि भन्ने डर लाग्यो।
आज म्याटरनिटी वार्ड/ सुत्केरीहरु राखिने वार्डमा नवजात शिशुहरुको राउण्ड लिदैथिएँ। भर्खर जन्मिएका बच्चाहरुले भरिएको वार्डमा प्राय: सबै नै खुशी थिए, कसैकसैको बच्चाको यो भयो, त्यो भयो भन्ने सामान्य समस्याहरु मात्रै थिए। एउटा बेडमा पुगेपछी मैले बच्चा देखिनँ, तर आफ्नो रजिष्टर हेर्दा बच्चा पाउनको लागि अप्रेशन CS/सिएस भको भन्ने देखियो। अनी "बच्चा खै त" भनेर सामान्य रुपमा सोधेँ, श्रीमान श्रीमती दुबै थिए, दुबैले अफ्ठ्यारो पाराले एकअर्कालाई हेरे र "भित्र आइसियु मा छ" भने, तर उनको नाम गरेको बच्चा भित्र भको जस्तो मलाई लागेन। तैपनी उनी दुई जनाको व्यवहार, हाउभाउले मैले केही अरु नै होला, अर्थात बच्चा खेर गको वा त्यस्तै केइ होला भन्ने शंका गरिसकेको थिएँ। अनी धेरै सोध्न आँफैलाई अफ्ठ्यारो लाग्यो र त्यहाँबाट अर्को बेडमा गएँ।
एकछिनमा नर्सलाई सोधेपछी थाहा भयो, Neonatal Death/NND/एनएनडी को केस रे, अर्थात अप्रेशन गरिएको तर बच्चाको मृत्यु भएको रहेछ। यो थाहा पाएर पछीसम्म नि आँफैलाई नमज्जा लागिरहेको थियो। उनिहरुको दुखिरहेको घाऊलाई मैले कोट्ट्याइदिएँ कि भनेर नमिठो लागि रहेको थियो। भिड, धेरै विरामीहरु भको बेलामा सबै जनाको बारेमा डिटेलमा बुझ्न, सम्झन नि गाह्रो हुन्छ।
यहाँ मैले भन्न खोजेको कुरा चै त्यती धेरै नवआमा, नवजात शिशुहरुको बीचमा बच्चा गुमाएको आमाबुवा बस्दा उनिहरुको मन कती दुख्दो हो। यता पट्टी बच्चाको रुवाइ, उता पटी बच्चालाई दुध खुवाएको देख्दा नौ महिना कोखमा पालेर कत्रो सपना देखेका आमाबुवाको छाती कती दुख्दो हो। हुन त त्यो दु:खलाई कसैले परिवर्तन गर्न सक्दैन, आफ्नो भागको दु:ख सबैले भोग्नु नै पर्छ, तर भर्खर बच्चा गुमाएका, वा भनौ अन्तिम समयमा आएर आमाबुवा बन्नबाट रोकिएका जोडीलाई सबै हँसिला नवआमाबुवाहरुको बीचमा राख्दा उनीहरुप्रती अली सम्बेदनहिनता देखियो कि भन्ने मलाई लाग्यो। तर व्यस्तता र सधैं यस्तै हुने गर्ने हुनाले बानी परेको वार्डका अरुलाई खासै केही लागेन। शायद म अलि बढी एमोसनल भएँ कि? "यस्तो विरामीलाई छुट्टै राख्ने चलन छैन, उनिहरुलाई अली अफ्ठ्यारो हुँदैन न त?" भन्दा सिस्टरले "छैन त, यस्तै हो के गर्ने" भन्नुभो।
व्यवस्था गर्न नसकिने कुरा होइन, तर यसका लागि हाम्रो दृष्टिकोणमा परिवर्तन हुनु जरुरी छ, हाम्रो एट्टिच्युड बद्लिनु आवश्यक छ। हाम्रा वरिपरी यि र यस्तै थुप्रै साना तर सम्बेदनशील कुराहरु छन्, जुन परिवर्तनको लागि ठुलो स्रोत, श्रमको हैन, हेराइको शैलीमा मात्रै परिवर्तनको जरुरी छ। यस्तै त हो नि भन्ने बानी परिसकेको हाम्रा आँखाहरुले यस्ता कुरा देख्नै गाह्रो मान्छन्। त्यसैले समाज परिवर्तनको लागि हामीले हाम्रो दृष्टिकोण र शैलीमा अलिकती परिवर्तन गर्नुपर्ला कि??
No comments:
Post a Comment