न्युज24का टिभी जर्नालिस्ट तारा रेग्मीको २७वर्षको उमेरमा हृदयघातबाट निधन भएपछि युवाहरुमा यसको प्रकोप बढ्न लागेको हो त भन्ने प्रश्न फेरी एकपटक उठेको छ। फेसबुक र ट्वीटर जस्ता सामाजिक संजालहरुमा यसप्रति चिन्ता र बहस पनि चलेको छ। जुन एक हिसाबले राम्रो पनि हो। नत्र सामाजिक संजालका साइटहरुमा स्वास्थ्यका कुरा बिरलै हुने गर्छन्। 'युवावस्थामै हृदयघात'को चर्चा इन्द्र लोहनी र शौभाग्यजंग शाहको निधनको बेला पनि चलेको थियो।
मेडिकल भाषामा ४५वर्षभन्दा कम उमेरमा हृदयघात भएमा युवावस्थामा भएको हृदयघात भनिन्छ।
के साँच्चै हृदयघात युवाहरुतिर पल्केको हो त?
हुनसक्छ। अध्ययन-अनुसन्धान विना यकिनका साथ भन्न त गाह्रों छ तर हृदयघातको सम्भावना बढाउने जीवनशैली हिजोआजका युवाहरुले बढि अपनाउन थालेका हुनाले यसको प्रकोप युवाहरुतिर सरेको छैन वा नसर्ला भन्न सकिदैंन।
यसका लागि किन हृदयघात हुन्छ भन्ने जान्नु जरुरी छ।
हृदयघात भनेको मुटुको मांसपेशी मासुलाई अक्सिजन, ग्लुकोज पुर्याउने रगत बोकेको रक्तनली(coronary arteries)हरुमा केही कारणले अवरोध पुगेर मुटुको मांसपेशी मर्ने रोग हो। याद राख्नुहोला, मरेको कुरालाई जिउँदो बनाउन सकिदैंन, भन्नुको मतलब हृदयघात भैसकेपछि मुटु कहिल्यै पहिलेको जस्तो हुदैंन। रक्तनलीहरुमा अवरोध पुग्ने वा साधुँरो हुने प्रमुख कारण भनेको त्यसका भित्री भागहरुमा बोसो जम्मा हुनु(Atherosclerosis)हो। र यो रगतमा बोसो वा चिल्लो पदार्थको मात्रा बढि हुन गएमा हुने गर्छ। साथै रक्तनलीका भित्री भित्ताहरुमा खराबी ल्याइ रगत जम्ने वा बोसो जम्ने अवस्था बनाएर फ्री रेडिकल(Free radical)जस्ता केमिकलहरुले पनि हृदयघात गराइरहेका हुन्छन्।
रगतमा त्यस्तो बोसो कहाँबाट आउँछ त?
उत्तर सजिलो छ, हामीले खाने खानाबाट। खानामा हुने चिल्लो पदार्थ, कार्बोहाइडेट आदी चाहिने भन्दा बढि भएमा बोसोको रुपमा शरीरमा जम्मा भएर बस्छ। यसो भनेर बोसो हानिकारक मात्रै हुन्छ भन्ने होइन। एचडिएल/HDL स्वास्थ्यको लागि राम्रो मानिने बोसोको प्रकार हो। यसले रक्तनलीको भित्ताहरुमा जम्मा भएका बोसोहरुलाई सफा गर्ने काम गर्छ। त्यसैले यसको मात्रा बढि हुनु राम्रो मानिन्छ। एलडिएल/LDL, भिएलडिएल/VLDL जस्ता बोसोहरु भने निश्चित मात्रा भन्दा कम भएको स्वस्थकर हुन्छ। शरीरमा बोसो जम्मा हुने भनेको बिस्तारै र नियमित हुने प्रकृया हो, जुन बाल्यकालबाटै शुरु हुन थाल्छ र युवावस्था हुदैं प्रौढ उमेरमा पुग्दा धेरै नै बढि भएर मुटुका रक्तनलीहरु नै बन्द गराएर हृदयघात हुनेगर्छ। त्यसैले पनि प्रौढहरुमा यो समस्या बढि देखिन्छ। साथै बच्चा जन्माउने उमेरसमुहका महिलाहरुमा महिला हर्मोन इस्ट्रोजन र प्रोजेस्टेरोनले माथि भनिएका हानिकारक बोसोहरुको मात्रामा नियन्त्रण राख्ने काम गर्छन्, जसले गर्दा यो उमेर समुहका महिलाहरुमा हृदयघात कम देखिन्छ तर महिनावारी रोकिएपछि हर्मोनको मात्रा एक्कासी घट्ने भएकोले हृदयघातको सम्भावना उही उमेरका पुरुषको बराबरी नै हुन आउँछ।
मुटुका लागि हानिकारक जीवनशैली भनेको के हो?
१. नराम्रो चिल्लो पदार्थको बढि र राम्रो चिल्लो पदार्थको कम सेवन
नराम्रो चिल्लो पदार्थ भनेको जुन खाँदा शरीरमा हानिकारक बोसो एलडिएल, भिएलडिएलको मात्रा बढ्छ र राम्रो भनेको जुन खाँदा लाभदायक बोसो एचडिएलको मात्रा बढ्छ त्यो चिल्लो पदार्थ हो। प्राय: गरेर सामान्य कोठाको तापक्रममा तरल अवस्थामा रहने चिल्लो पदार्थहरुमा पोलीअनस्याचुरेटेड फ्याटीएसिड(PUFA)को मात्रा बढि हुन्छ जसको सेवनले एचडिएलको मात्रा बढ्न जान्छ अर्थात त्यस्तो चिल्लो पदार्थ शरीरको लागि राम्रो खालको मानिन्छ। जस्तै तोरीको तेल, ओलिभको तेल, सूर्यमुखीको तेल, भटमासको तेल आदि। त्यस्तै सामान्यतया जमेर बस्ने घ्यु, नौनी, चीज आदीमा स्चुरेटेड फ्याटीएसिड बढि हुन्छ जसले हानिकारक बोसोहरु एलडिएल, भिएलडिएलको मात्रा बढाउँछ। तैपनी वनस्पति घ्यु, जम्ने तेलमा बनाइने म:म, चाउमीन हाम्रो फेभरेट फुड बनेकै छ।
फलफूलहरुको सेवनले कोलेस्टेरोल, एलडीएलको मात्रा घटाऊनुका साथै फ्री रेडिकलहरुको उत्पादनमा कमि ल्याइ रक्तनलीहरु साघुरिने र बन्द हुने(Atherosclerosis)सम्भावनालाई घटाउँछ।
२. चुरोट सेवन गर्ने बानी
यो बानीले आजभोलिका युवा र टिनएजर पुस्तालाई पनि नराम्रोसँग गाँजेको छ। ९-१० क्लासमा पढ्ने केटाकेटीहरु मजाले चुरोटको धुँवा उडाइरहेको देख्नु कुनै नौलो कुरा होइन। चुरोटमा पाइने निकोटिन लगायतका कैयौ केमिकलहरुले फोक्सोमा त असर गर्छ नै शरीरमा कोलेस्टेरोल, एलडिएल, फ्री रेडिकलहरुको मात्रा बढाएर मुटु लगायतका अन्य रक्तनलीहरु बन्द गराएर हृदयघात र अरु थुप्रै रोगहरु गराउँछ। चुरोट खाने महिलाहरुमा महिला हर्मोनका कारणले मुटुलाई जुन सुरक्षा दिएको हुन्छ, त्यो कम भएको र युवा उमेरमै हृदयघातको सम्भावना बढेको देखिएको छ।
३. रक्सी तथा अन्य मादक पदार्थको सेवन
धेरैलाई अचम्म लाग्नसक्छ, सीमित मात्रामा रक्सीको सेवन मुटुको लागि लाभदायक भएको कुरा अनुसन्धानहरुमा देखिएको छ। तर प्राय: डाक्टरहरुले यो कुरा आफ्ना विरामीहरुलाई भन्दैनन् किनभने त्यसैपनि रक्सी खाइरहने मान्छेलाई यो कुराले झन खान प्रोत्साहन गर्छ र नखानेले पनि अलिअलि गरेर खान थालेर बानी पर्नसक्छ। तर अत्यधिक रक्सी सेवनले पनि शरीरमा हानिकारक बोसोहरुको मात्रा बढाउँछ। अर्को कुरा रक्सी तथा मादक पदार्थमा रक्सी, बियर, वाइन, तुम्बा, जाँड सबै खालका पर्छन्। कसैकसैले जाँड, तुम्बा पनि रक्सी हो र भन्ने गरेको सुनेको छु। लागुऔषधमा कोकिन सेवनले हृदयघात भएको धेरै युवाहरुमा देखिएको छ।
४. बाइक, कारको विलाशी जीवनशैली
मैले बाइक, कार चढ्ने सबैलाई विलाशी भन्न खोजेको होइन, परेको बेला चढ्नुपर्छ। तर आजभोली साइकल चढ्नु भनेको त गरीबी देखाउनु जस्तो भैसकेको छ। स्कुल पढ्ने केटाकेटीहरु पनि बाइक, स्कुटरमा आवतजावत गर्छन् भलै त्यो नजिकै किन नहोस्। नजिकै जानु परे पनि हामी बाइक निकालीहाल्छौं, कार निकालीहाल्छौं। अलिकति परिश्रम गरेर हिंड्ने हाम्रो बानी हराइसकेको छ, अलिकति पसिना बगाउन सकिने साइकल लोप नै हुने अवस्थामा पुगेको छ वा गरीबीको पहिचान बनेको छ र त्यसमा चढ्नु आफ्नो बेइज्जत ठान्ने मानसिकता बिकास हुदैं आएको छ। सार्वजनिक गाडिहरुमा पनि आफूले भनेको ठाँउमा ठ्याक्कै रोक्नुपर्छ हामीलाई, अलिकति अघिपछि भएमा थोरै हिंड्न पनि सक्दैनौ हामी। सानो दुरीमा पनि गाडी चढिहाल्नुपर्ने बानी बसेको छ हाम्रो। हफ्तामा ५-६ दिनजस्तो ३०मिनेट हरेक दिन हिंड्ने गरेमा मुटुको लागि राम्रो हुन्छ।
हृदयघात हुनबाट बच्न के गर्ने त?
माथि भनिएका मुटुका लागि हानिकारक जीवनशैली छोड्ने। यो भनेजस्तो सजिलो त पक्कै पनि छैन। म आफू र प्राय: डाक्टरहरु पनि यो जीवनशैलीबाट धेरै पर छैनौं। किनकी यो आजभोलिको आधुनिक जीवनशैली बनेका छ। तर परिवर्तनका लागि संकल्प त गर्न सकिन्छ, प्रयास त गर्न सकिन्छ नि।
यसो भनेर स्वस्थ जीवनशैली अपनाउने कसैलाई पनि मुटुको रोग नलाग्ने, हृदयघात नहुने र हानिकारक जीवनशैली अपनाउने चाँही सबैलाई रोग लाग्छ भन्न चाँहीं सकिदैंन। किनकी हृदयघात गराउन सक्ने कैयौं वंशानुगत अवस्था, रोगहरु(Familial Hyperlipidemia, Homocysteinuria, Antiphospholipid syndrome etc), रक्तनलीका रोगहरु (Prinzmetal's angina) थाहा नपाइकन, विना लक्षण भैरहेको हुनसक्छ र एक्कासी हृदयघात हुने र मृत्यु हुने अवस्थामा पुग्ने पनि हुनसक्छ।
शुरुमा भनिएका सार्वजनिक छविका व्यक्तिहरुले पनि आधुनिक भनिएको जीवनशैलीको कारणले युवाहरुतिर पल्केको हृदयघातको कारणले ज्यान गुमाउनु परेको हो वा उनीहरुलाई पहिलेदेखि नै कुनै हृदयघातको सम्भावना बढाउने अवस्थाहरु थिए यसै भन्न गाह्रों छ। यो मैले किन भनेको भन्दा युवाहरुमा हृदयघातको सम्भावना बढ्दै गएको हुनसक्छ तर सार्वजनिक छवीका व्यक्तिहरुलाई हृदयघात हुँदा, भलै त्यो अन्य व्यक्तिगत शारीरिक अवस्था, रिस्कका कारणले भएको किन नहोस्, त्यसले जनमानसमा चेतना जगाउने, डरकै कारणले भए नि त्यस बारे जान्ने उत्सुकता जगाउने काम भने गर्छ।
अन्तमा, पत्रकार तारा रेग्मीप्रती श्रदान्जली।