Saturday, February 5, 2011

मानसिक स्वास्थ्यका बारेमा केही कुराहरु


नवरी १६, २०११ को ‘दि काठमाडौं पोस्ट’मा प्रकाशित यो लेख डा.रवि शाक्यले लेख्नुभएको हो। हाल वहाँ मानसिक रोग अस्पताल, लगनखेलमा मानसिक रोग विशेशज्ञको रुपमा कार्यरत हुनुहुन्छ। यो लेखलाई मैले नेपालीमा उल्था गरी यो ब्लगमा प्रकाशित गरेको छु। यसमा पुर्‍याउनु भएको सहयोगको लागि वहाँलाई धेरै धेरै धन्यवाद।



हाम्रो नेपाली समाजमा मानसिक स्वास्थ्य बारे कहिले पनि खुला रुपमा कुरा गरिदैन। अझ समस्या भएको व्यक्ति, उनका परिवारले त यस्ता कुरालाई सकेसम्म नकार्ने र अरुले थाहा नपाओस भनेर अस्पताल पनि नजाने/नलाने गरेको पाइन्छ। कति चिकित्सकहरुले पनि रगत, पिसाब, एक्स-रे आदि जाँचहरुको रिपोर्ट ठीक छ भने विरामीलाई - "तपाईंलाई केही भएको छैन, बढी चिन्ता लिनु भएको मात्रै हो" भनि मानसिक रोगलाई सोच्न पनि खोज्दैनन। फेरी कुनै चिकित्सकले "तपाईंलाई यस्तो खालको मानसिक रोग हुनसक्छ, एक पटक मानसिक रोगको डक्टरलाई देखाउनु होला" भन्यो भने विरामीले त्यसलाई पुरै नकारी "मलाई त्यस्तो केही भएको छैन, म पागल हो र पागलको डक्टरकोमा जानलाई, मलाई खाली निन्द्रा नपरेको त हो नि वा अलि बढी चिन्ता लिएको मात्रै हो" भन्ने जवाफ पाइन्छ र सायद फेरि कहिले उक्त चिकित्सककोमा जादैनन पनि। अनि यस्ता समस्या भएको व्यक्ति र उनका परिवारले पनि मानसिक रोगको विशेशज्ञलाई देखाउनु भन्दा तन्त्रमन्त्र जान्ने, झाक्री, फुक्न जान्नेलाई देखाउन नै ठीक मान्छन्। यो हाम्रो समाजमा व्याप्त अशिक्षा, अन्धविश्वास र कुरितीहरुको प्रतिफल हो।

लगभग आधा शताव्दी अघि विश्व स्वास्थ्य संगठन (World Health Organisation) ले स्वास्थ्यलाई यसरी परिभाशित गरेको थियो - कुनै रोग/खराबी नहुनु मात्र नभै सम्पुर्ण शारिरिक, मानसिक र सामाजिक रुपमा नै ठीक/सन्तुलित रहनु नै स्वस्थ हुनु हो। तर आजसम्म पनि हामीले हाम्रो स्वास्थ्यको एउटा महत्वपूर्ण पाटो मानसिक स्वास्थ्यलाई खासै महत्व दिएको पाइदैन। अझ झाडापखाला, कुपोशण जस्ता साधारण रोगहरुले हजारौं मान्छे मर्ने हाम्रो देशमा त मानसिक स्वास्थ्यको बारेमा उच्च तहका नीति बनाउने व्यक्तीहरुले सोचेको पनि पाइदैन।

त्यस्तै आजसम्म पनि मानसिक स्वास्थ्य अधिकांश मेडिकल कलेजहरुको पढाईको करिकुलम (Curriculum) को मुख्य बिषय भित्र पर्दैन र परे पनि एकदमै थोरै मात्र पढाइन्छ। अनि त्यस्ता कलेजहरुबाट पढेका कति चिकित्सकहरुलाई मानसिक स्वास्थ्य, मानसिक रोगहरुको बारेमा आवस्यक ज्ञान पनि हुदैन। कति नाम चलेका, अनुभवी चिकित्सकहरुले पनि मानसिक रोगीहरुलाई 'पागल, बौलाहा' भन्ने र त्यस सम्बन्धी चिकित्सकहरुलाई 'पागलको डक्टर' भनेर खिसी गर्ने, तल्लो नजरले हेर्ने गरेको पाइन्छ। साथै मानसिक रोगका डाक्टरहरु पछि गएर मानसिक रोगको विरामी जस्तै हुन्छन् पनि भन्ने गरिन्छ। आफ्नै चिकित्सा क्षेत्रको अवस्था त यस्तो छ भने बाहिर समाजको त झन कस्तो होला? हालसालैको कुरा हो एक जना चिकित्सकले मानसिक रोग सम्बन्धी बिषयमा एम.डी. गर्ने निर्णय गर्दा उस्को आमाबुवाले उसलाई भन्नुभयो रे- "मैले त्यत्रो पैसा खर्च गरेर तलाई पढाएको पागलको डक्टर बन्नलाई हैन, पागलको बिषय नै पढ्ने तेरो निर्णय हो भने त हामीसँग नबसे हुन्छ। समाजमा हामी यस्तो अपमान सहन सक्दैनौ।" अब तपाईंले अनुमान लगाउन सक्नुहुन्छ होला, नेपालमा मानसिक रोग सम्बन्धी बिषय सुरु भएको ५० वर्श पुगे पनि यो सम्बन्धी कति विशेशज्ञ होलान्। मात्र ५० जना, अढाइ करोड नेपालीको लागि। २५ जना भन्दा बढी नेपाली मानसिक रोग विशेशज्ञहरु त देश बाहिरै छन्।

मानसिक रोगीहरुलाई कस्तो व्यवहार गर्ने, कस्तो प्रक्रिया अप्नाउने भनेर हाम्रो कानुनमा पनि स्पस्ट रुपमा व्याख्या गरेको पाइदैन। मानसिक रोगीहरुलाई प्रमुख जिल्ला अधिकारी (CDO) को आदेशमा जेल राख्न सकिने भनिएको छ। त्यस्ता रोगीहरुलाई उपचार उपलब्ध गराउनुको साटो जेलमा राख्ने, बाँधेर राख्ने, सजाय दिने जस्ता क्रियाकलापहरु गर्नु आजको २१ शताब्दीमा साह्रै घ्रिणित र तल्लो स्तरको काम हो।

के मानसिक स्वास्थ्य समस्याहरुलाई वेवास्ता गर्नु उचित हुन्छ?
मानसिक रोगहरु अन्य शारिरिक रोगहरु जस्तो सजिलै बाहिरबाट हेर्नासाथ नै थाहा पाइने हुदैनन। तर पनि मानसिक रोगहरुले पार्ने असर, पीडा कुनै पनि शारिरिक रोगहरुको भन्दा कम हुदैन। विश्व स्वास्थ्य संगठन (WHO) ले संसार भरमा मानिसहरुलाई पुर्याउने खराब असर र समस्याको आधारमा तयार पारेको रोगहरुको लिस्टमा पहिलो १० रोगहरुमा ५ वटा मानसिक रोगहरु परेका छन्। WHO ले सन् २०२० सम्ममा डिप्रेसन (Depression) अन्य  मुटु, फोक्सोका रोगहरु, सन्क्रमणहरुलाई पछाडि छोड्दै, नम्बर १ स्वास्थ्य समस्याको रुपमा आउने अनुमान गरेको छ। हाम्रै देशमा गरिएको सानो अनुशन्धानमा पनि ३०% नेपालीहरुमा कुनै न कुनै मानसिक समस्या रहेको देखिएको छ, जसमा करिब १% लाई तुरुन्त उपचार गर्नुपर्ने देखिन्छ। जबकी WHO को तथ्यांक अनुसार संसारमा करिब १५-२० % मानिसहरुमा मानसिक समस्या रहेको देखिन्छ।

हरेक बर्ष दशौंलाख मानिसहरुले आत्महत्याबाट ज्यान गुमाउछ्न्, यो संख्या कुनै युद्ध, प्राक्रितिक प्रकोपमा मारिने संख्या भन्दा धेरै हुन आँउछ। नेपालको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार जम्मा आमा मृत्यु दरमा करिब १७% मृत्यु आत्महत्याले हुने गरेको देखिन्छ। र विश्वभरीका अनुशन्धानहरुले करिब ९०% आत्महत्याको पछाडि केही न केही मानसिक समस्या रहने गरेको देखाएका छन्। त्यस्तै युवाहरुको मृत्युको एउटा प्रमुख कारण मद्धपान र लागुपदार्थ सेवन पनि कुनै न कुनै मानसिक समस्यासँग केही न केही रुपमा जोडीएको पाइन्छ। साथै हरेक शारिरिक रोगसँग केही मानसिक समस्या पनि जोडिएर आउने गर्छ। त्यस्तै प्राक्रितिक प्रकोप, आन्तरिक कलह, गृहयुद्ध आदि संगै विभिन्न प्रकारका मानसिक समस्याहरु आउने गर्छन्। नेपालको परिप्रेक्ष्यमा भर्खरै रोकिएको माओवादी र सरकार बीचको हतियार युद्धको दौरानमा र त्यसपछी कतिलाई कस्ता कस्ता मानसिक समस्या परेका होलान् भनेर यतिकै भन्न सकिदैंन।

त्यसैले मानसिक रोगहरु र त्यस्का समस्याहरुलाई सानो नठानी माथिल्लो स्तरबाटै यस सम्बन्धी उचित विचार विमर्श गरी नीतिनियम बनाउनुपर्छ। व्यक्तिगत रुपमा भने यस्ता समस्या र रोगहरुलाई बढी चिन्ता लागेको, निन्द्रा नलागेको मात्रै भनेर वेवास्ता गर्ने, सामाजिक अपहेलनाको बिषय बनाउने नगरी त्यस बारेमा सम्बन्धित चिकित्सकसँग राम्ररी बुझ्नुपर्छ। किनभने अन्य शारिरिक रोग जस्तै यो कसैलाई पनि हुन सक्छ, तर खुशीको कुरा के छ भने प्राय: सबै खालको मानसिक रोगको उपचार हुन्छ।

मानसिक रुपमा स्वस्थ व्यक्तिमा पाइने गुणहरु:
मानसिक रुपमा स्वस्थ हुनु भनेको आफु र आफ्नो वरपरको वातावरण (परिवार, साथीभाइ, समाज) बीच सन्तुलन कायम राख्न सक्नु हो। मानसिक रुपमा स्वस्थ व्यक्तिमा निम्न ३ मुख्य गुणहरु भेटिन्छन्:
१.      उ आफ्नो अवस्थाको बारेमा सजिलो महसुस गर्छ। आफ्नो क्षमताहरुलाई बुझेको हुन्छ, आफ्नो कमीहरुलाई स्विकार्छ र आफ्नो आत्मविस्वासलाई कायम राख्छ।
२.      उसले आफ्नो वरपरको मानिसहरुको बारेमा राम्रो र सुमधुर सम्बन्धको अनुभव गर्छ। उस्को साथिभाइहरुसँगको सम्बन्धबाट उ सन्तुस्त हुन्छ। उस्ले अरुलाई मन पराउन, विस्वास गर्न जानेको हुन्छ। उस्ले आफ्नो परिवार प्रतिको, समाज प्रतिको दायित्व बुझेको हुन्छ र निभाउछ पनि।
३.      उसले आफ्नो दैनिक जीवनमा आइपर्ने समस्याहरुको समाधान खोज्ने, त्यसको बारेमा निर्णय गर्ने क्षमता राख्छ। डर, रिस, माया, लोभ जस्ता भावनाहरुमा बगेर आफ्नो दायित्व र कर्तव्यलाई बिर्सेर आफ्नो र आफुसँग सम्बन्धितहरुको जीवनमा असर पर्न दिदैन।

मानसिक समस्या हुनसक्ने केही लक्षणहरु:
(यदी तलका प्रश्नहरुमा कुनै एउटाको उत्तर 'हो' भन्ने भएमा एकपटक मानसिक रोग विशेशज्ञलाई भेटी सल्लाह लिनु उचित हुन्छ।)
१.      के तपाईं सधैं चिन्ता लिइराख्नुहुन्छ?
२.      के तपाईं विनाकारण केही काममा पनि ध्यान दिन सक्नुहुन्न?
३.      के तपाईं विनाकारण सधैं दु:खी रहनुहुन्छ?
४.      के तपाईंलाई धेरैजसो र सजिलैसँग रिस उठीरहन्छ?
५.      के तपाईंलाई धेरैजसो निन्द्रा नलाग्ने भईरहन्छ?
६.      के तपाईंको मिजाज (Mood) धेरै परिवर्तन भईरहने/कहीले धेरै खुशी हुने, कहीले धेरै दु:खी हुने र त्यसले गर्दा तपाईंको दैनिक व्यवहारमै समस्या आउने हुन्छ?
७.      के तपाईंलाई मानिसहरुसँग व्यवहार गर्न, घुलमिल हुन सधैं मन नलाग्ने वा समस्या हुने हुन्छ?
८.      के तपाईंको दैनिक जीवनमा थोरै पनि परिवर्तन भएमा तपाईंलाई तनाव हुने हुन्छ?
९.      के तपाईंका बालबच्चाको व्यवहारले तपाईंलाई सधैं रिस उठ्ने, झर्को लाग्ने हुन्छ?
१०.  के तपाईं सधैं अल्छी मान्ने, झर्को मान्ने, दु:खी हुने गर्नुहुन्छ?
११.  के तपाईंलाई केही कुरा देखि विनाकारण डर लाग्छ?
१२.  के तपाईंलाई आफु सधैं ठीक र अरु सधैं गलत भएको जस्तो लाग्छ?
१३.  के तपाईंलाई शरीरका विभिन्न भागहरुमा दुखिरहने तर जति औषधी गर्दा पनि ठीक नहुने समस्या छ?

No comments:

Post a Comment