Sunday, May 12, 2013

विश्वास - अन्धविश्वास


मान्छेको विश्वास भनेको नि अचम्मको कुरा हो। हुन त जस्ले त्यो विश्वास लिएको हुन्छ उस्को लागि त त्यही नै सत्य हुन्छ, अझ कतीको विश्वास त यती गाढा हुन्छ कि जस्तो सुकै प्रमाण दिएपनी आफ्नो झुटो विश्वासबाट टसमस हुँदैनन्। शायद यो विश्वास हामी जुन बातावरणमा हुर्कन्छौं, जुन संस्कारमा बढ्छौं त्यसबाट विस्तारै विकसित हुँदै आएको हुन्छ र यो रातारात परिवर्तन हुँदैन र गर्ने दुस्साहस नि गर्नु हुँदैन। स्वास्थ्य सम्बन्धी पनि हाम्रो समाजमा यस्ता थुप्रै विश्वासहरु व्याप्त छन्। कती त सत्य होलान्, आधुनिक चिकित्साले नि प्रमाणित गरेको, कती गर्न बाँकी भने कती गलत भनेर सावित गरेको। तैपनी आधुनिक, शिक्षित हुँदैगएको हाम्रो समाजले तिनलाई छोड्न सकेको छैन। यो हाम्रो मात्र हैन हरेक समाजको गुण/ अवगुण हो।

ज्वरो आएको बेलामा भात खान नहुने - सोझो रुपमा सोच्ने हो भने नि भात नि चामलले बन्ने जाउलो नि चामलले बन्ने। तर "ज्वरो आ'को बेलामा भात खान हुन्छ" भन्यो भने विरामीका आफन्तले खाउला जस्तो गरेर हेर्छन्। के नहुने कुरा गरेर मेरो विरामीलाई झन नराम्रो गर्न लाग्यो भने जस्तो लाग्ने गरेर हेर्छन्।

टाइफाईड भ'को बेलामा मासु खान नहुने - मेडिकल साइन्सको किताबमा त कतै यस्तो लेखेको छैन। झन यस्तो बेलामा बढी मात्रामा प्रोटिन भएको खाना खानुपर्छ भनेको छ। तर हामी यस्तै सुन्दै, गर्दै हुर्केका हौं र हामीमा यस्तो बेला मासु खायो भने खराब गर्छ भन्ने डर भित्रसम्म गढेको छ। म आँफैलाई टाइफाईड भ'को बेलामा पनि "यस्तो बेलामा मासु खायो भने आन्द्रामा प्वाल पर्छ" भनेर घरमा खान दिनुभएन। र म यो भित्रसम्म गढेको विश्वासलाई च्यालेन्ज गर्ने दुस्साहस नगरी ठुलाको मन राख्न चुपचाप मानें।

जान्नेहरुप्रतीको विश्वास - हात हेर्ने, चिना हेर्नेहरुको पनि हाम्रो समाजमा ठुलो विश्वास छ, जस्लाई चेन्ज गर्न सानोतिनो च्यालेन्जले सकिदैन। मान्छेहरु स्वास्थ्य सम्बन्धी समस्या लिएर नि त्यस्ता जान्नेहरु कहाँ जान्छन् र ति प्राय: घरको मूल देउता रिसा'को, कतातिरको दशा लागेको, कस्को आँखा लागेको जस्ता कुनै न कुनै डायग्नोसिस बनाइहाल्छन् पनि र आफ्नै किसिमको उपचार पनि गर्छन्। अल्लि अघी एक दिन मेरो ममीको आँखामा धुलो वा केही पसेर बिझा'को जस्तो भ'को थ्यो, पछी एक्छिनमा त्यो बढेर एकदम गार्हो भएर चक्कर लाग्ने, पसिना आउने, छोपेको जस्तो हुने भयो भनेर आत्तिनु भयो। मलाई थाहा थियो त्यो आँखाको धुलोले गरेर बढी दुखाइ भई डरको कारणले सिम्पेथेटिक सिस्टमको ओभर एक्टिभिटीले गर्दा त्यसो भएको भनेर। अलिकती शान्त भएको भए त्यो विस्तारै ठीक हुन्थ्यो होला। ममीले आत्तिएर "लौ, मलाई केले समायो, छोप्यो" भनेर "त्यो अगाडिको बाजेलाई बोलाएर ल्या त" भन्नुभो। घरअगाडीको एउटा बाजेले फुक्ने, मन्छाउने गर्नुहुन्थ्यो। ममीको त्यो विश्वासलाई मैले केइ नि विरोध नगरि त्यो बाजेलाई बोलाएर ल्याएँ, उहाले खरानी ल्याएर एक्छिन फुक्नुभयो, कतातिरको के लाग्या रैछ भन्नुभो, ममी एक्छिन आरामले सुत्नुभो अनी सब ठीक भो।

समाजमा व्याप्त यस्ता विश्वासहरुलाई सिधै नराम्रो भन्दिन म। यदी बेफाईदा गर्दैन भने यस्ता विश्वास चाहे त्यो अविश्वास नै किन नहोस् मान्नुमा म त केइ नराम्रो देख्दिनँ। विश्वासमै अडेको संसार त हो।
मान्छेहरु यस्तामा प्राय: मेडिकल साइन्सले पत्ता लगाउन नसकेको रोगहरु, अचानक आइपरेका स्वास्थ्य समस्याहरु, अनी मानसिक समस्याहरु लिएर जान्छन्, कती ठीक पनि हुन्छन्, कती त्यस्तामा जाँदाजाँदा उपचारको अमुल्य समय गुमाउछन् र पछी बिग्रिसकेको बेलामा अस्पताल लगेर विरामी नि।

विरामीको उपचारमा विश्वासको ठुलो भूमिका हुन्छ, मेरो राम्रो उपचार हुँदैछ, म ठीक हुन्छु भन्ने विश्वासले नि रोग ठीक हुनुमा धेरै ठुलो असर पारेको हुन्छ। र यो विश्वास दिलाउन हामी मेडिकल डाक्टरहरुभन्दा धामी, झाँक्री र गुरुजीहरु बढी चुस्त हुन्छन्। किनकी हामीले भनेको कुरा, गरेको उपचार, लागेको रोगको प्रकृति उनिहरुले आधाभन्दा बढी बुझ्दैनन् उनिहरु। भने धामीझाँक्रीले समाजमा जुन विश्वास व्याप्त छ त्यसबाट समस्या भएको भनी यही चलेको चलनबाट उपचार नि गर्छन्। अनी विचरा उनिहरु बुझ्ने कुराको पछी लाग्ने कि नबुझ्ने 'एलियन' कुराको पछी?

एकजना गाउँतिरको मान्छेको मुख बांगो भ'को थियो। पहिले नराम्रोसँग कान दुखेर पछी विस्तारै मुख चलाऊन नि गाह्रो हुने, आँखा बन्द गर्न नमिल्ने भएर एकातिरको मुख नै बांगो भो रे। अस्पतालमा देखाएर केही औषधी उपचार नि गरे त्यै नि खासै ठीक भएन अनी पछी जान्नेलाई देखाउदा कुलदेउता रिसाएर यस्तो भ'को भनेछ। उन्ले करिब १-२ लाख खर्च गरेर ठुलाठुला गुरुहरु बोलाएर भव्य पूजा आयोजना गरे र केही हफ्तामा उन्को समस्या ठीक भो। समस्या सुन्ने वित्तिकै कुनै पनि मेडिकल पर्सनले भन्न सक्छ कि त्यो फेसियल नर्भ/ Facial Nerve को भाईरल सन्क्रमण वा केइ कारणले उक्त स्नायुले काम नगर्ने रोग (Bell's Palsy/ बेल्स पाल्सी) भ'को थियो भनेर। जुन ३-४ हफ्तामा ठीक भएर जान्छ। उपचार गर्ने डाक्टरले उन्लाई बुझाउन सकेनन् वा उन्को विश्वास जित्न सकेनन्, उन्ले रिसाउदै नरिसाएको कुल देउता खुशी पार्न त्यत्रो रकम खर्चे।

हाम्रो समाजमा यस्तै धेरै उदाहरण पाईन्छन् विश्वास, अन्धविश्वासको कारणले समयको, पैसाको र कती बेला त ज्यानको क्षति भएको। त्यस्तो बेलामा चै यस्ता सबैखाले अन्धविश्वासलाई उखेलेर फाल्नुपर्छ जस्तो लाग्छ। तर यस्तो विश्वास भएको कोहीसँग कुरा गरेर हेर्नसक्नुहुन्छ यि र यस्ता विश्वासको जरा कति गहिरो र दरो छ भनेर। यस्तो बेलामा मलाई हाम्रो साइक्याट्रीको सरले सुनाउनुभ'को कथा जहिल्यै याद आउछ।

कहिल्यै तर्बुजा नदेखेको एउटा गाउँ थियो रे। एकदिन कस्ले कहाँबाट बाटोको बिच चोकमा एउटा तर्बुजा राख्देछ रे। सबजना अचम्म माने, के हो के हो, मान्छे अनुसारको कुरा भयो त्यहा। कतिले भगवानको प्रसाद भने कतिले कहिल्यै नदेखेको यो त राक्षसको फल हो, प्रेतआत्माले राखेको कुनै स्राप लाग्ने कुरा हो भने। कतिले अनिस्टको संकेत भनी खुब डराए, कति अब पृथ्वीको अन्त्य हुने भो भन्दै हल्ला गरे। एकजना टुरिस्ट यो सब हेरिरहेका थिए, उन्लाई थाहा थियो त्यो तर्बुजा भनेर। उन्ले "यो एउटा फल हो, अरु केही नि होइन" भनेर बुझाउन खोजे। तर त्यो चिन्नु न जान्नुको मान्छेले भनेको भरमा वर्षौ देखीको भगवान, भुतप्रतीको विश्वास सजिलै कहाँ छुट्थ्यो र। अनी उन्ले अब त अत्ती भो भनेर "ल हेर्नुस्, यो खाने फल हो" भनेर चक्कुले काटेर मजाले कपाकप खाइदिए। सबै जना जिल्लै। तर त्यसपछी भिडमा कसैले त्यस्तो राक्षसको फल नि खान सक्ने यो त झन ठुलो राक्षस रहेछ, यस्लाई त मार्नुपर्छ भने। हुलमा सबैले हो हो भने र आखिरमा ढुङ्गैढुङाले हानेर उन्को हत्या गरे।

अन्धविश्वासलाई मेट्ने भनेर क्रान्तिकारी पारामा लिडेढिपी गरेर विश्वासको गहिराइ ननापी रातारात परिवर्तनको आगो बाल्न खोज्नु नि ठीक हुन्न। आशा छ, हामी विस्तारै, तर नियमित रुपमा परिवर्तनको लागि अघी बढी रहनेछौँ। स्वास्थ्य सम्बन्धी तथा अन्य पनि धेरै अन्धविश्वासहरु हटाउन सक्नेछौं।।

No comments:

Post a Comment