Wednesday, May 1, 2013

मेडिकल साइन्सका केही कुराहरु..

शुक्रबारको इमर्जेन्सीको नाइट ड्युटी सकाएर शनिबारको कान्तिपुर बोकेर म कोठामा पुगेको थिएँ। ट्विटर खोलेको ब्रजेशदाई@brazeshk को "आज कान्तिपुर कोसेलीमा मेरो अनुभूति - मन नपरेका साथीहरू" भन्ने ट्विट देखेँ। खाना खाएर ढल्किदै पढ्न बसेको केही हरफ पढेपछी र लेखको तस्बिर देखेपछी उहाँका केही दिन अघीका ट्विटहरु याद आए। घुँडा दुखेको भन्ने थाहा पाएको थिएँ, दाईको बैशाखी टेकेरै हिंड्नुपर्ने भएछ। दाईलाई यहीबाट शिघ्र स्वास्थ्यलाभको कामना। लेखको अन्ततिरका केही वाक्यहरुले भने मेरो पोस्टड्युटीमा सुत्ने प्लान नै चेन्ज गरिदियो। अनी बसें यो लेख लेख्न।

"मलाई जाँच गर्ने पहिलो डक्टरले नै त्यो एमआरआई गराएको भए..." "मलाई जाच्ने डक्टरहरुले पनि सकेसम्म अन्दाजको भरमा यो होला र त्यो होला भनेर विरामीमाथी प्रयोग नगरेको भए, औषधी नखुवाएको भए, युरिक एसिड हो कि भनेर सुरुमै जाँच गरिदिएको भए मैले विनाकारण सात दिनसम्म बाथको औषधी खानुपर्दैनथ्यो।"

केही हप्ता अघी मैले कृष्ण धारावासीजीको 'पाण्डुलिपी' पढिसकेर फेसबुकमा एउटा स्टाटस लेखेको थिएँ - "परिणाम सोचेजस्तो नआउँदा फर्केर हेरेमा जहिल्यै गल्ती र भूल मात्रै देखिन्छ। तर के था त्यतिबेला गर्नसकिने त्यती नै थियो कि, त्यही नै ठीक ‘थ्यो कि।"

यो लेख वहाँहरुप्रती व्यक्तिगतरुपमा लक्षित भने छैन, धेरै पहिले देखी यो बिषयमा लेख्ने भनेर आईरहेको मेरो सोचलाई लास्ट पुस दिने काम गर्योप, ब्रजेश दाईको त्यो लेखले। यी दुवै ठाउँमा गल्ती भएन होलान् भनेर म भन्दिनँ तर मैले देखेको कुरा चाँही रिजल्ट आफुले सोचेको जस्तो भएन भने हामी जहिले नि फर्केर विचार गर्छौं र कही न कही यो गल्ती भयो, त्यो गल्ती भयो, यस्ले गल्ती गर्यो , त्यस्ले गल्ती गर्यो  भन्ने ठाउँ भेट्टाइहाल्छौँ। मैले भन्न खोजेको चै - "के थाहा त्यो सुरुको अवस्थामा त्यही गर्नु नै ठीक थियो कि? चाल्नसकिने सबैभन्दा राम्रो कदम त्यही मात्र पो थियो कि?"

मेडिकल प्राक्टिसमा कोही पनि शतप्रतिशत यकिनका साथ रोग पत्ता लगाएर मात्र उपचार थाल्छु भनेर चल्न सक्दैन। किनकी सुरुको अवस्थामा जाँचहरुमा केही पनि नदेखिन सक्छ किनभने रोग नै सुरुवातको अवस्थामा हुन्छ, जती बेला जस्तै जाँचले पनि रोग नभेट्टाउन सक्छ। अर्को कुरा, सुरुको अवस्थामा विरामीको समस्या सामान्य खालको छ भने कसैले पनि ठुलो रोग होला भनेर सोच्दैन, यो ह्युमन नेचर हो, जुन मेडिकल प्राक्टिसमा धेरै काम लाग्छ र यो धेरै ईकोनोमिकल पनि हुन्छ। अनी अर्को कुरा, विरामीको समस्या सुनेर, क्लिनिकल जाँच (रगत, पिसाब, एक्सरे जस्ता जाँच होइन कि डक्टरले गर्ने जाँच) गरेर आफ्नो क्लिनिकल ज्ञान र अनुभव, अनी रोगहरुको ईपिडेमियोलोजीको आधारमा के रोग हुनसक्छ भन्ने लगभग अनुमान गरेर नि औषधी चलाऊन सकिन्छ। त्यस्लाई साधारण भाषामा 'अन्दाज' मा वा कैलेकाही 'हचुवा'मा उपचार गरेको भन्ने नि गरिन्छ तर त्यो वास्तवमा 'क्लिनिकल डायग्नोसिस/Clinical Diagnosis' हो, जुन सामान्य अन्दाज भन्दा धेरै प्रतिशत ठीक हुन्छ।

'माथिका यी दुई घटनाले नै यस्लाई त कत्ती सार्हो चित्त दुखेछ कि क्या हो, यत्रो लेख नै लेख्नुपर्ने' भन्ने नि धेरैले सोच्नुहोला। तर मैले धेरै अघीदेखी यो कुराहरु भोगीआएको, सुन्दै आएको हुँ। मलाई लागेको कुरा चै हामी धेरै नन-मेडिकल मान्छेहरुमा मेडिकल प्राक्टिसमा कसरी विरामी हेरिन्छ, कसरी रोग पत्ता लगाइन्छ, कसरी उपचार गरिन्छ भन्ने कुराको हल्का नि ज्ञान नभएको जस्तो लाग्छ। त्यसैले हामी मेडिकल साइन्सबाट चमत्कारको आशा गर्छौ, गल्ती हुनसक्दैन, हुनैहुदैन भनेर सोच्छौ, जुन असम्भव जस्तै छ। यसो भनेर मैले जानीजानी गल्ती गर्न पाउनुपर्छ, गल्ती गर्नेलाई छुट दिनुपर्छ भनेको हैन। गल्ती गरेको हो भने, लापर्वाही नै गरेको रैछ भने त्यो अवश्य दण्डित हुनुपर्छ। तर मैले भन्न खोजेको मेडिकल साइन्सको लिमिटेसनको कुरा हो, जुन मेडिकल प्राक्टिस गर्नेहरुलाई थाहा हुन्छ तर त्यो सर्भिस लिने सामान्यलाई अन्दाजा नै हुँदैन। त्यसैले त्यो बारेमा केही कुरा शेयर गर्न खोजेको हुँ।

कुनै पनि समस्या लिएर विरामी डक्टरकोमा गएपछी डक्टरले उस्को समस्याको बारेमा सक्दो जानकारी लिन्छन्। कतिलाई "यो चाहिदो नचाहिंदो के सोधेर बसेको होला, खुरुखुरु औषधी नलेखेर" भन्ने नि लाग्न सक्छ। कतीले "के भएर आउनुभो" भन्दा "तपाईं डक्टर, तपाईंलाई पो थाहा हुनुपर्ने नि" भन्छन्। तर मेडिकल साइन्समा 'हिस्ट्री/History' भनेर भनिने यी प्रश्न र यिनका उत्तर जत्तिको महत्वपूर्ण कुरा केही पनि हुँदैन। विरामीको समस्याका बारेमा बढी भन्दा बढी जानकारी लिनाले रोग पत्ता लगाउन धेरै मद्दत पुर्या उनुका साथै रोगको मात्र नभै विरामीका बारेमा पनि जानकारी लिन सहयोग गर्छ जस्ले डक्टर-विरामीको सम्बन्ध सुमधुर बनाउछ। अनी प्रश्नहरुको कती लामो लिस्ट सोध्ने भन्ने कुरा समस्या तुरुन्तै उपचार गर्नुपर्ने इमर्जेन्सी हो या साधारण हो भन्ने कुराले मात्रै निर्धारण गर्दैन बरु डक्टर कत्तीको अनुभवी छ, विरामीको चाप कत्तीको छ, डक्टर र विरामीलाई कत्तीको हतार छ जस्ता कुराले असर गर्छ। विरामीको समस्याको बारेमा जानकारी लिएपछी डक्टरले विरामीको नाडीको चालको गती, रक्तचाप लिने देखी लिएर पेट, छाती आदी जाच्ने विभिन्न क्लिनिकल जाँचहरु गर्छन्। यी कुराहरुले विरामीको समस्या सुन्नबाट शुरु भएको रोग पत्ता जासुसको जस्तो काममा धेरै मद्दत मिल्छ।

उदाहरणको लागि ज्वरो आउने र पेट दुख्ने समस्या भएर कुनै विरामी आएमा त्यस्का हजार कारण हुनसक्छन्, सबैका लागि ल्याब जाँच गर्नु, सबैका लागि औषधी गर्नु सम्भव नि हुँदैन, ठीक पनि होइन। अनी त्यससँग भएका र नभएका अरु लक्षणहरुको बारेमा सोधेर, क्लिनिकल जाँच गरेर हुनसक्ने रोगको लिस्टलाई सकेसम्म कम गरिन्छ र बाँकी लिस्टबाट नि रोगको बारेमा निर्क्योलमा पुग्न ल्याब जाँचहरु, एक्सरे, सिटीस्क्यान गर्ने गरिन्छ। हुनसक्ने रोगहरुको त्यस्तो लिस्टलाई ‘डिफ्रेन्सियल डायग्नोसिस’ भनिन्छ। र सबैभन्दा सम्भाव्य डायग्नोसिसलाई ‘प्रोभिजनल वा वर्किङ डायग्नोसिस’ भनिन्छ। युरोप अमेरिकातिर सुरुमा आउने वित्तिकै सिटीस्क्यान र एमआरआई गरिन्छ होला तर हाम्रो जस्तो देशमा क्लिनिकल डायग्नोसिस गरेर साधारण जाँचबाट सुरु नगरि कोही नि सिधै त्यस्ता महंगा जाँचहरुमा हाम्फाल्दैन। विरामीको तर्फबाट प्रेसर आएन भने वा कमिसनको खेल भएन भने।। 

जुनसुकै डक्टरकोमा जानुस्, हातखुट्टा, जोर्नी दुखेर आएको विरामीलाई, यदी न्युरोलोजिकल साइन(क्लिनिकल जाँचमा स्नायुको गडबडीको जस्तो भेटिएन भने)छैन भने शुरुमा पेनकिलर र आरामको लागि भनिन्छ र गर्नैपर्ने जस्तो देखिएमा मात्र एक्सरे गरिन्छ तर शुरुमै एमआरआई त शायदै गरिन्छ होला। कुनै पनि समस्या लिएर विरामी आउँदा शुरुमा ‘कमन’ कुरा सोचिन्छ। माथिल्लो पेट दुखेर आएको छ भने ‘ग्यस्ट्राइटिस’ सोचिन्छ, दाँयापट्टी तल पेट दुखेको छ भने ‘एपेन्डिसाइटिस’ सोचिन्छ, लामो समयदेखी ज्वरो आउने खोकी लाग्ने छ भने ‘टिबी’ सोचिन्छ। किनकी मेडिसिनमा एउटा भनाइ छ- Uncommon symptoms of common diseases are more common than common symptoms of uncommon diseases. अनी अर्को कुरा, जस्तोसुकै समस्या होस् विरामीको ज्यान जानसक्ने रोगहरु छुट्नुहुदैन। जस्तो छाती दुखेकोलाई साधारण ग्यासले दुखेको भनेर मात्र बस्न मिल्दैन, हार्टएट्याक हो कि भनेर ईसीजी गराउनु पर्छ। पेट दुख्ने समस्यामा सधैं ग्यास्ट्राइटिस मात्र भन्न मिल्दैन, आन्द्रामा प्वाल परेको नि हुनसक्छ। रोग पत्ता लगाउने र उपचार गर्ने यो तरिका १००% सही भन्न त मिल्दैन तर धेरै सहि, उपयोगी, इकोनोमिकल र दुनियाँभरका स्वास्थ्यकर्मीहरुले मानेको तरिका हो।

पछी फर्केर हेर्दा शुरुमै यो गरेको भए, त्यो गरेको भए, यो औषधी चला'को भए; यत्ती चाडो रोग पत्ता लाग्थ्यो, मेरो रोग निको हुन्थ्यो, विरामीले यत्रो सास्ती त पाउथेन वा विरामीको ज्यान बच्न सक्थ्यो भन्न सजिलो हुन्छ तर डक्टर भगवान वा ज्योतिषी होइन सुरुकै बेलामा पछी यो हुनसक्छ भनेर भविश्यवाणी गर्नसक्ने। शायद मेडिकल सिरियल 'हाउस एमडी'का पर्फेक्ट डायग्नोसियन डा. हाउसले नि त्यसो भन्न सक्दैनन्। कसैले सुनाउछन् कि "डक्टरले मलाई १ महिना नि बाच्दैन भनेको २ वर्ष भैसक्यो म अझै ठीक छु, त्यसैले मलाई डक्टरहरुको विश्वासै लाग्दैन।" वास्तवमा भन्दा कुनै पनि डक्टरले विरामीको आयु तोक्न सक्दैन, मेडिकल साइन्सले उस्लाई त्यो सिकाएको हुँदैन। यस्मा त भएका अध्ययन अनुसन्धानका आधारमा "यो रोगको यो स्टेजमा भएका यती प्रतिशत विरामी यती वर्ष बाँचेको पाइएको छ" भन्ने मात्रै हुन्छ। यही विरामी यती दिनको पाहुना हो भनेर कसैले भन्छ भने त्यो गलत प्राक्टिस हो।

मलाई कैलेकाही डक्टरको काम जासुसको जस्तो लाग्छ। कुनै घटना भएपछी जासुसलाई बोलाइएजस्तो स्वास्थ्यमा केइ समस्या देखिए डक्टरकोमा कन्सल्ट गरिन्छ। अनी शुरु हुन्छ, दोषी पत्ता लगाउने खेल। सयौं चोर, अपराधीहरुको भिडबाट सकेसम्म छिटो, भरपर्दो तरिकाले आफ्नो विरामीलाई परेको समस्याको दोषी पत्ता लगाउन डक्टरलाई सहयोग गर्छन् उनका साथीहरु - विरामीसँग गरिएका समस्या सम्बधी प्रश्नउत्तर, क्लिनिकल जाँच, ल्याब जाँचहरु, रेडियोलोजिकल जाँचहरु (एक्सरे, सिटी, एमआरआई आदी)ले। कती घटनामा दोषी ठ्याक्कै पत्ता लाग्छ, कतीमा दुईतिन जनामा यो हो कि त्यो हो हुन्छ, कतीमा लाख प्रयास गर्दा नि अपराधी भेटिदैन, कतीमा दोषी पत्ता लागे पनि घटना यती अघी बढीसकेको हुन्छ कि हामी विरामी बचाउन असमर्थ हुन्छौ। किनकी मेडिकल साइन्सको नि आफ्नै लिमिटेसन हुन्छन्, जुन तपाईं हामी डक्टर, विरामी र विरामीका परिवारले थाहा पाउनैपर्छ र नचाहदा नचाहदै पनि मान्नैपर्छ।

तर क्राइम जासुसी र मेडिकल प्राक्टिसमा एउटा ठुलो फरक छ, त्यो के हो तपाईंहरुलाई थाहा छ? त्यो हो, मेडिकल प्राक्टिसमा डक्टरले मानविय सम्वेदना, भावनाको नि ख्याल राख्नुपर्छ। हिजोआज स्वास्थ्य क्षेत्र अती नै सम्वेदनशिल बन्दै गैर'को, डक्टर, नर्सको लापर्वाही बढी रहेको, दिनप्रतिदिन अस्पताल तोडफोड, स्वास्थ्यकर्मी माथि हातपात भैर'को सुन्नमा आउछन्। तर मलाई लाग्छ हाम्रो स्वास्थ्य क्षेत्रमा यस्ता लापर्वाही(साच्चै भएका र नाम दिईएका)का घटनाहरु पहिले देखी नै भैरहेका हुन्। अहिले मात्र मान्छेको चेतनाको स्तर बढेर, सुचना, संचारको बिकास भएर यी कुरा बाहिर आएका हुन्। तर चेतनाको ठाउँ अल्पज्ञानले ओगटेपछी, सुचनाको नाममा 'बायस' भएर समाचार लेखेपछी सबेदनशिल बन्दै गएको यस्को सम्बेदनशीलताको भारी स्वास्थ्यकर्मीको काँधमा मात्र पर्न आउछ, जुन उस्ले बोक्नै सक्दैन। 

त्यसैले अन्तमा यती मात्रै- 

स्वास्थ्य सम्बेदनशील क्षेत्र हो र यस्को बारेमा लेख्दा, विचार राख्दा, निर्णय गर्दा सबैले सम्बेदनशील हुनु जरुरी छ, स्वास्थ्यकर्मी, स्वास्थ्य सेवाग्राही, सामान्य जनता र उस्को निर्णय विचारमा प्रतक्ष्य असर पार्ने संचारकर्मीहरु सबैले। हाम्रा नि लिमिटेसनहरु छन्, हामीले नि उपलब्ध तरिका, प्रविधी, ज्ञानको सहाराले नै तपाईंहरुको रोग पत्ता लगाइ उपचार गर्ने हो न कि कुनै जादु वा दैवी शक्ति। यस्को लागि हामीलाई तपाईंहरुको सहयोग नभै हुन्न। 

4 comments:

  1. डा. समिर जी, मेडिकल प्राक्टिस र उपचारबारे जानकारी दिनु भएकोमा धन्यवाद । हामी आम नागरिक वा बिरामीको प्रवृत्ति नै यस्तो हुन्छ, “त्यो नगरेर यो गरेको भए, पहिला नै यस्तो गरिदिएको भए ।” आम नागरिक र डाक्टरले रोग र उपचारका बारे सोच्ने सोचाईमा फरक हुने गरेकाले नै यस्तो देखिएको हो । बिरामी आफ्नो रोग छिटो निको होस् भन्ने चाहन्छ नै, तर रोग पहिचानमा ढिला हुने बित्तिकै पहिले नै यस्तो गरिदिएको भए, यस्तो हुने थिएन भन्ने सोच भएकाले यस्तो देखिएको हो । बिरामीले जस्तो सोचे पनि डाक्टरहरुले आफ्नो कर्तव्यबाट विचलित नभई इमान्दारिपूर्वक दायित्व बहन गर्नु नै ठूलो कुरो हो ।

    ReplyDelete
  2. हरेक अवस्थामा आफूअनुकुल हुनुपर्छ भन्ने मानिसको प्रवृति नै त हो

    ReplyDelete
  3. किरणजी, प्रतिकृयाको लागि धन्यवाद। तपाईं हामी दुवै पक्षले यी कुराहरु बुझेर समझदारीमा अघी बढ्नुपर्छ। सबैले तपाईंले जस्तै सोचिदिए...

    ReplyDelete
  4. अरुको अवस्था र समस्या नि अल्लीकती बुझिदिए धेरै राम्रो हुन्थ्यो केरे भन्ने मात्रै नि..:)

    ReplyDelete