Thursday, August 29, 2013

मिठो झुट कि तितो सत्य: के चाहनुहुन्छ?

पोस्ट ड्युटीमा मज्जाले आराम गर्ने विचार 'थ्यो तर केही कुराले मलाई लेख्न वाध्य बनायो। म प्राय: कुनै कुरा (राम्रो होस् या नराम्रो)ले मन छोयो भने लेख्ने गर्छु। आज पनि अचानकै मैले आफुलाई लेख्न वाध्य भएको पाएँ।

आन्द्रामा प्वाल परेर दिसा पेट भरी फैलिएको अवस्था ‘पर्फोरेसन पेरिटोनाइटिस/ Perforation peritonitis’ भएको विरामी र आफन्तसँग कुरा गरेर हामीले अप्रेसन गर्नुपर्ने भनेर सम्झाएका थियौ। “अवस्था सिकिस्त रहेको, त्यसैले अप्रेसन गरेर विरामीलाई आइ सि यु राख्नुपर्ने हुनसक्ने, अवस्थामा अझै जटिलता आउनसक्ने तैपनी अहिलेको अवस्थामा अप्रेसनको विकल्प नरहेको र त्यो नगर्दा लगभग मृत्‍यु निस्चित रहेको र गरेमा सुधार हुनसक्ने सम्भावना रहेको” पनि भनेका थियौ। एक जना आफन्तले सोधे- "उहाको त चिनी रोग पनि छ अनी चिनी बढेको बेलामा त घाऊ निकै हुँदैन रे नि, अनी यस्तो बेलामा नि अप्रेसन गरेर घाऊ निको हुने ग्यारेन्टी दिनसक्नुहुन्छ त?" मलाई आफुले विरामिको अवस्थाको गम्भिरता बुझाउन नसकेको हो कि जस्तो नि लाग्यो, किनकी मेरो कुरा एउटा, उनिहरुको बुझाई अर्को भएको जस्तो लाग्यो। यहाँ ज्यानमै आफत आइसक्या’छ उनिहरु घाऊ निको हुने नहुनेमा अड्क्याछन्। घाऊ त पाक्ला नपाक्ला ज्यान बच्नुपर्‍यो नि, अनी त्यो सुगरको लेभल त घटाऊन सकिहालिन्छ नि। फेरी आम मानिसको बुझाउ कती सोझो हुन्छ भने यस्मा यो गर्नै हुन्न, त्यो गर्नै पर्छ भन्ने। चिनी रोगमा सबैको घाऊ पाक्ने त हैन नि, घाऊ निको हुन ढिलो हुने सम्भावना बढी मात्रै त हो नि। हामीले बुझाउने तरिका अनी उनिहरुको बुझाईमा कती फरक हुन्छ।

कुरा नबुझेको हो कि भनेर म पटक पटक गएर सम्झाए तर अप्रेसन गरेर नि ठीक हुने 'झुठो' ग्यारेन्टि नपाएकाले उनिहरु खुशी थिएनन्, शायद अप्रेसन गरेर नि ठीक नहुने भए किन गर्नु भनेर सोच्दै थिए कि, वा अप्रेसन गरेर नि ठीक पार्ने ग्यारेन्टि दिन नसक्ने डक्टरसँग के उपचार गराउनु भनेर सोच्दै थिए कि। म अनुमान मात्रै लगाउन सक्छु। तर एकछिन पछी थाहा भयो उनिहरु उपचार नै नगराउने भनेर हस्पिटलबाटै Left against medical advice गरेर गए रे। दु:ख लाग्यो, कुरा बुझाउन नसकेर हो कि उल्टो बुझेर हो कि नबुझेर हो, एउटा बाँच्नसक्ने जिन्दगी विना उपचार अस्पतालबाट फर्कियो। उस्लाई केही नहोस् वा उनिहरुलाई अर्को हस्पिटलमा भए नि जाने बुद्धी आओस्, त्यही कामना मात्र गर्नसक्छु अब त म।

अर्को घटना, २ हफ्ताकी सुत्केरी ‘ज्वरो आयो, पिडुला दुख्यो’ भनेर आएकी थिईन्, यस्तोमा पहिलो शंका डि भि टि अर्थात डिप् भेन थ्रोम्बोसिस (Deep Vein Thrombosis) नेपालीमा भन्दा ‘खुट्टाका शिरा/ रक्तनलीहरुमा रगत जमेको अवस्था’ नै हुन आउछ। त्यही अनुसार खुट्टाको रक्तनलीको डोप्लर/ Doppler गर्दा रोग त्यही नै देखियो। यो रोग बाहिरबाट हेर्दा साधारण देखिन्छ, ज्वरो आको, खुट्टा दुखेको मात्रै हुन्छ तर यस्मा जटिलता आइ खुट्टाका रक्तनलीमा जमेको रगत फोक्सोको रक्तनलीमा गएर अड्की फोक्सोमा रक्त संचालन नै बन्द भै सास फेर्न गाह्रो भै ज्यानसम्म जान सक्छ/ Pulmonary Embolism। अनी यस्को उपचारमा रगतलाई पातलो गर्नुपर्ने हुन्छ, जुन हेपारिन वा एल एम डब्ल्यु एक्स/LMWX नामको औषधीबाट गरिन्छ। यो उपचार दुई धारको तरवार जस्तो हो, रगत हुनुपर्ने जती पातलो नभए जमेको रगतले समस्या दिनसक्ने र हुनुपर्ने भन्दा बढी पातलो भए विभिन्न अङबाट रक्तस्राव हुनसक्ने खतरा रहन्छ। विरामीलाई उपचार शुरु गर्नु अघी आफन्तलाई यि सबै कुराको जानकारी त दिनुपर्‍यो नि।

यि सबै कुरा भनेर “यस्तो रोग हो, उपचार यसरी गरिन्छ, यस्तो यस्तो समस्या 'हुनसक्छ', तर हामी आफ्नो तर्फबाट गर्नसक्ने सबै कुरा गर्छौ। जहाँ पनि गर्ने उपचार यही हो” भन्दा उनिहरु आत्तिए। “तपाईं त विरामीको यो विग्रन सक्छ त्यो हुनसक्छ भन्नुहुन्छ कसरी उपचार गर्ने” रे। अरे बाबा अहिले हामीले “विरामिलाई सबै ठीक हुन्छ, न आत्तिनुस्, केही बिग्रदैन” भन्यो अनी पछी रोगको जटिलताको कारणले विरामीलाई केइ तलमाथी भो भने डक्टरको लापर्वाही, अस्पताल दोषी भनेर उफ्रन्छन्। यि यस्ता रिस्क त तपाईं जहाँसुकै उपचार गराउनुस् न, हुन्छ नै। त्यो रिस्क त विरामी र उस्का आफन्तले निर्णय गरेर लिने कुरा हो नि, यस्मा डक्टरले केइ गर्न सक्दैन। १००% विरामी ठीक त संसारको कुनै कुनाको डक्टर, अस्पतालले नि गर्न सक्दैन।

अनी हामीलाई रोग अवस्थाहरुको जटिलताहरुको बारेमा सुन्ने बानी नभ'को हो कि के हो, यस्तो यस्तो हुनसक्छ भन्यो भने सब डरले कालोनिलो हुन्छन्। यो यो हुनसक्छ को मतलव यो हैन कि तपाईंकै विरामीलाई हुन्छ, १०० जनामा ५-१० जनामा यस्तो हुनसक्छ, अरु ९०-९५ जना त केइ नभै ठीक भएरै जान्छन् नि। हामी खाली ग्यारेन्टिका साथ यो भन्न सक्दैनौ कि तपाईं त्यो ९५ जनामा पर्नुहुन्छ कि ५ जनामा। उपचार गरे ९५ प्रतिशत ठीक हुने सम्भावना छ र नगरे रोग निकै हुँदैन भने त्यस्मा नि उपचार गर्ने कि नगर्ने भनेर सोचिराख्नु पर्छ र? उपचार नै नगर्ने भन्दा त यो फायदाकै सम्झौता हुन्छ हैन र? तर हामीलाई पहिलेदेखी नै डक्टरले हुनसक्ने जटिलताहरु बारे शायदै सुनाउथे, अझ पहिले पहिले प्राइभेटमा त विरामी तर्सेर अर्कोमा जाला भनेर ‘सबै ठीक हुन्छ’ भनेर झुटो आस्वासन नि दिईन्थ्यो। यस्ता झुटा आस्वासन केही नहुदासम्म त गज्जब लाग्छन्, त्यस्तो डक्टर अती सिपालु, जान्ने, ‘भगवान’ झै लाग्छ तर त्यो झुट सधैं सत्य रही नरहनसक्छ। अनी त्यो बेला के हुन्छ आँफै सोच्नुहोला।

म एउटा कुरा नढाँटीकन ‘फ्र्यान्क्ली’ भन्छु है - कुनै पनि डक्टर, अस्पतालले “जस्तोसुकै रोगको पनि ग्यारेन्टिका साथ उपचार गर्दिन्छु, केही कम्प्लिकेसन आउँदै आउँदैन” भन्न सक्दैन। यदी कसैले त्यस्तो भन्छ भने उस्ले तपाईंलाई मिठो झुट बोलिरहेको हुन्छ। होला सामान्य रुघाखोकीमा ९९%, ९९.९% ठीक होला तर सबै ठीक हुन्छ वा तपाईंलाई ठीक पार्दिन्छु भनेर ग्यारेन्टि दिन सक्दैन, दिन मिल्दैन पनी। त्यसैले कृपया डक्टरहरुसँग उपचारको ग्यारेन्टि नमाग्नुहोला, त्यो झुटो आस्वासन हुनेछ बरु के के उपचार गर्न सकिन्छ, विकल्प के के छन्, कुन तरिकाबाट गर्दा फाईदा बढी छ, कम्प्लिकेसन रोक्न के के गर्नसकिन्छ आदी बारे खुलेर छलफल गर्नुस्। त्यसो भएमा हामी नि खुशी हुनेछौ किनकी त्यो नै सही तरिका हो।

हामीले रोगको अवस्था, रोगीको अवस्था, उपचारको तरिका, हुनसक्ने जटिलता विरामी र उस्का परिवारलाई भन्ने उनिहरुलाई तर्साउनलाई भन्ने हैन, आफ्नो रोग, अवस्थाको बारेमा जान्नु उनिहरुको अधिकार भएर हो, सो जानेर त्यस अनुसार आफ्नो लागि ठीक के हुन्छ आँफैले निर्णय गर्न सकुन् भनेर हो। किनभने रोग आफ्नो, शरीर आफ्नो, खर्च आफ्नो, अनी निर्णय नि आफ्नै हुनुपर्छ, हामी डक्टरहरु त सो अनुसार सेवा गर्ने, मद्दत गर्ने मात्रै हौं।

धन्न दोस्रो विरामी चै भर्ना हुन मानिन् र उन्को उपचार शुरु गरियो। अब हामीले उनलाई ठीक पार्न आफ्नो तर्फबाट सक्दो गर्नेछौ, बाँकी भविश्य त कस्ले पो देखेको छ र?

No comments:

Post a Comment