Friday, November 11, 2011

परिवार नियोजन (Family Planning)


सुरक्षित गर्भपतन (Comprehensive Abortion Care/ CAC) को १० दिने तालिम लिदैं गर्दा महिला स्वास्थ्य, परिवार नियोजन र गर्भपतन सम्बन्धी विभिन्न तरिका, फाइदा बेफाइदा लगायत यी सम्बन्धी विविध जानकारी र अनुभव सँगाल्ने मौका मैले पाइरहेको छु। मैले पाएका यिनै जानकारी र अनुभवहरुलाई यहाँ बाँड्ने प्रयास गरेको छु।

गर्भान्तरको लागि परिवार नियोजनका साधनहरु:

केहि वर्ष बिराएर बच्चा पाउनु आमा र बच्चाको स्वास्थ्यका लागि उत्तम छ।

परिवार नियोजन (Family Planning)
महिलाहरुको प्रजनन् अधिकार सुरक्षित राखी आमा र बच्चाको स्वास्थ्य राम्रो हुने दम्पतीबीच कहिले र कतिवटा बच्चा जन्माउने भनी भविष्यका लागि तयार पारिएको परिवार बच्चा संख्यालाई परिवार नियोजन भनिन्छ। यसका विभिन्न आधुनिक उपायहरु निम्नानुसार छन्।

कण्डम (Condom) 
कण्डम के हो?
कण्डम पुरुषले प्रयोग गर्ने पातलो रबरको खोल हो। यसभित्र भएको चिल्लो पदार्थले गर्दा पुरुषले आफ्नो लिङमा सजिलैसँग लगाउन सक्छन्। हरेक पटकको सहवासमा यो प्रयोग गरेमा गर्भ हुनबाट बचाउँछ। साथै कण्डमको प्रयोग गरेमा यौनरोग तथा एच. आई. भी. एड्स हुनबाट पनि बचाउँछ।

कण्डमले कसरी गर्भ रोक्छ?
कण्डम लगाएर सहवास गरेमा पुरुषको लिङबाट निस्कने वीर्य कण्डमको टुप्पामा जम्मा भई शुक्रकीट महिलाको पाठेघरमा पुग्न पाउँदैन। जसले गर्दा महिला गर्भवती हुदैंनन्। कण्डम एकपटक प्रयोग गरेपछि फेरी प्रयोग गर्नुहुदैंन। लगाईसकेको कण्डम सुरक्षित ठाँउमा फ्याँक्ने वा जलाउने गर्नुपर्दछ।

पिल्स (Pills) 
पिल्स के हो?
पिल्स भनेको महिलाले खाने परिवार नियोजनको एक भरपर्दो अस्थायी साधन हो। यो छोटो अवधिका लागि गर्भान्तर गर्न चाहने महिलालाई धेरै नै उपयोगी छ। यो चक्की हरेक दिन नबिराई खाने गरेमा गर्भ रहँदैन। तर यो चक्की खान छोडेमा महिलाले तुरुन्तै गर्भधारण गर्न सक्छिन्।
पिल्स एक साइकल (एक पुरिया)मा जम्मा २८ चक्की हुन्छन्। २८ चक्कीहरुमध्ये २१ वटा सेतो र ७ वटा खैरो रंगको हुन्छ। महिलाले चक्की खान छाडेपछि उनको प्रजनन् शक्ति चाँडै नै फर्कन्छ। यसबाट उनको महिनावारी चक्रमा कुनै असर गर्दैन। यदि चक्की खान छाडेपछि पनि महिलाले गर्भधारण गर्न सकेनन् भने यो समस्या पिल्स छोडेको कारणबाट नभई अन्य कुनै कारण हुनसक्छ भनी सो कुराको जाँच गराउनुपर्छ।

पिल्सले कसरी गर्भ रोक्छ?
मिश्रित चक्की (पिल्स)ले डिम्ब परिपक्व भई निस्कने क्रियालाई रोक्छ। जसका कारणले मासिक डिम्ब निष्काशन हुन पाउँदैन। साथै पाठेघरबाट निस्कने तरल पदार्थलाई बाक्लो बनाउँछ। त्यसैगरी पाठेघरको भित्री भागलाई पातलो बनाई गर्भ रहनबाट रोक्दछ।

डिपोप्रोभेरा (Depoprovera) 
डिपोप्रोभेरा के हो?
संगीनी सुईको नामले परिचित यो सुई महिलाले प्रयोग गर्ने परिवार नियोजनको एक भरपर्दो अस्थायी साधन हो। एउटा बच्चा पाइसकेपछि अर्को बच्चा केही वर्षको फरकमा पाउन चाहने महिलाले हरेक ३-३ महिनामा एक-एक पटक यो सुई लगाउने गरेमा गर्भ रहँदैन। एक पटक लगाएको सुईले तीन महिनासम्म काम गर्दछ।






डिपोप्रोभेराले कसरी गर्भ रोक्ने काम गर्छ?
१. महिलाको शरीरभित्रको डिम्बाशयबाट डिम्ब निस्कन दिँदैन।
२. पाठेघरको मुखमा हुने तरल पदार्थलाई बाक्लो बनाएर शुक्रकिटलाई पाठेघरमा पस्न दिँदैन।
३. पाठेघरभित्रको पत्रलाई पातलो बनाइदिन्छ जसले गर्दा डिम्ब टाँसिन पाउँदैन।

नरप्लान्ट (Norplant) 
नरप्लान्ट के हो?
नरप्लान्ट महिलाले प्रयोग गर्ने परिवार नियोजनको अति भरपर्दो अस्थायी साधन हो। यो महिलाको पाखुरामा राखिने गर्भनिरोधक साधन हो। यसले सात वर्षसम्म गर्भ रहन दिँदैन। यो नरम रबरजस्तो वस्तुले बनेको हुन्छ। यसमा सिन्थेटिक प्रोजेस्टेरोन (लेभोनरजेस्ट्रोल/Levonorgestrol) हर्मोन भरिएको हुन्छ। यी ६ वटा पातला लचिला क्याप्सुलहरु सलाइको काँटी जस्ता हुन्छन्। यो महिलाको पाखुराको माथिल्लो भित्री भागको छालामुनि तालिमप्राप्त स्वास्थ्यकर्मीले राखीदिन्छन्। यो राखेको २४-४८ घण्टाभित्र काम गर्न थाल्दछ। साथै यसलाई निकालेपछि महिलाको प्रजनन् शक्ति तुरुन्तै फर्केर सामान्य रुपमा काम गर्न थाल्दछ।

नरप्लान्टले कसरी गर्भ रोक्छ?
यी क्याप्सुलहरु महिलाको पाखुराको माथिल्लो भित्री भागको छालामुनि राखिन्छ। यो हर्मोन क्रमश: रसाएर शरीर भित्र रगतमा मिसिन्छ।
1. क्याप्सुलको मुखबाट निस्कने स्रावलाई बाक्लो र थोरै बनाइदिन्छ र शुक्रकीटलाई छिर्न दिँदैन।
2. पाठेघरको भित्री पत्रलाई (Endometrium/इण्डोमेट्रियम)पातलो बनाउँछ।
3. डिम्ब निष्काशन प्रक्रियालाई दबाएर (Suppression/सप्रेशन) राख्छ।
नरप्लान्ट लगाएको सात वर्षपछि स्वास्थ्य संस्थामा गई झिक्नुपर्छ।

कपर-टी (Copper-T) 
कपर-टी के हो?
लामो समयसम्म गर्भ निरोध गर्नको लागि महिलाको पाठेघरमा राखिने परिवार नियोजनको अस्थायी साधनलाई कपर-टी भनिन्छ। यो अंग्रेजी अक्षर 'T' आकारको हुन्छ र तीनैतिर तामाको मसिनो तारले बेरिएको हुन्छ। यसको तल्लो टुप्पोमा सेतो मसिनो धागो हुन्छ र धागो पाठेघरको मुख बाहिरसम्म निस्किएको हुन्छ जुन महिलाले छामेर थाहा पाउन सकिन्छ। यो तालिमप्राप्त स्वास्थ्यकर्मीले महिलाको पाठेघरमा राखिदिन्छन्। एकपटक राखेको कपर-टीले १२ वर्षसम्म गर्भ रहन दिँदैन। सन्तानको रहर पुगेका वा लामो समयसम्म बच्चा पाउन नचाहने महिलाको लागि यो उपयुक्त र निकै नै भरपर्दो साधन हो। यसमा कुनै किसिमको रासायनिक पदार्थ नहुने भएकोले यसले शरीरलाई कुनै असर गर्दैन।

कपर-टीले कसरी गर्भ रोक्छ?
कपर-टी लाई महिलाको पाठेघरमा राखेपछि शुक्रकीटलाई डिम्बसँग मिल्न दिँदैन अथवा डिम्बलाई पाठेघरमा बस्न दिँदैन।

आफ्नो लागि कुन परिवार नियोजनको साधन उपयुक्त हुन्छ भन्ने कुरा सम्बन्धित स्वास्थ्यकर्मीसँग सल्लाह गरेर निर्णय गर्न सकिन्छ। 
बाँकी पढ्नुहोस् >>

Wednesday, October 19, 2011

कान्तिपुर सम्पादकीय सम्बन्धमा...


कान्तिपुरको आजको सम्पादकीय पढें। चितवन मेडिकल कलेजमा भएको पछिल्लो घटनाको बारेमा लेखिएको उक्त सम्पादकीयको आशय ठिकै होला तर उक्त घटनालाई जसरी उदाहरण दिएर त्यसले आफ्नो कुरा भन्न खोजेको छ त्यो चाँही मलाई उतिसारो ठिक लागेन।

"पानीको पोका भनेर बिरामीको दाँया मृगौला झिकेर गैरजिम्मेवार र लापरवाही प्रवृतिको नमुना पेश गरे।" "पानी जमेको डल्लो र मृगौलाबीचको अन्तर छुट्याउन नसक्ने चिकित्सकले कसरी शल्यक्रिया गर्ने अनुमति पाए?"

हो, कहिलेकाहि शल्यक्रिया गर्ने चिकित्सकले पनि त्यो अन्तर छुट्याउन सक्दैनन्। त्यसैले त चिकित्सा विधामा प्याथोलोजी/pathology र रेडियोलोजी/radiology भन्ने छुट्टै डिपार्टमेन्ट हुन्छ। नांगो आँखाले हेरेर सधैं सबै अंग र रोग पत्ता लगाउन सम्भव छैन, त्यसैले त अप्रेशन गर्नु अघि एक्सरे, भिडियो एक्सरे, सिटि स्क्यान, एमआरआई, आइभीयु जस्ता रेडियोलोजिकल जाँचहरु गर्ने गरिन्छ। यस्ता जाँचहरुले अप्रेशन अघि अप्रेशन गर्ने चिकित्सकलाई रोग र रोगको अवस्थाका बारेमा बढिभन्दा बढि जानकारी दिएर अप्रेशनमा सहयोग गर्छ। त्यस्तै कहिले अप्रेशन अघि नै र कहिले अप्रेशन गरेर निकालेपछि निकालिएको मासु वा तन्तुको प्याथोलोजिकल जाँच गर्न पठाइन्छ। विभिन्न प्रकारका केमिकलहरु प्रयोग गरेर शक्तिशाली माइक्रोस्कोपहरुबाट जाँच गरेर मात्रै निकालिएको तन्तुमा कस्तो प्रकारको रोग थियो, मेलिगनेन्ट/malignant (फैलन सक्ने क्यान्सर) वा बेनाइन/benign (नफैलने खालको क्यान्सर) हो, गरिएको अप्रेशन पूर्ण थियो वा फेरी दोहोराएर गर्नुपर्ने हो आदी भनेर थाहा हुन्छ। सामान्य अवस्थाको मृगौला भएको भए त एउटा कुरा, रोगले बिग्रेर पानीको डल्लो जस्तोमा परिणत भैसकेको मृगौलालाई अनुभवी सर्जनै भएपनि कसरी चिन्ने? जसरी विमान दुर्घटनामा क्षतविक्षत भएका शवहरुलाई आफ्नै आफन्तहरुले त चिन्न नसकेर डिएनए जाँचको भर पर्नुपर्ने हुन्छ, त्यसरी नै रोगले बिग्रेर सबै कुरा एउटै डल्लो भएको मृगौलालाई चिन्न नसक्नु सर्जनको कमजोरी हो जस्तो लाग्दैन।

अप्रेशन अघि राम्ररी भिडियो एक्सरे र सिटी स्क्यान गरिनुपर्थ्यो। यस घटनामा सिटी स्क्यानको लागि विरामीका आफन्तहरुलाई सुझाव दिइएको थियो तर आर्थिक अवस्थाका कमजोरीका कारण देखाइ त्यसलाई नगर्ने भनियो। र शुरुको भिडियो एक्सरे पनि एउटा रेडियोलोजिस्टले नभएर एक एमडिजीपीले गरेका थिए। म एमडिजीपीले भिडियो एक्सरे गर्नैहुन्न भनेर भन्दिन। हाम्रा गाँउघरतिर र कतिपय शहरी क्षेत्रहरुमा पनि एमडिजीपी र कहिले त एमबीबीएस डाक्टरले पनि केहि महिनाको ट्रेनिङको भरमा भिडियो एक्सरे गरिरहेका छन्।  उनीहरुले लामो दुरी पार गरेर शहरै पुग्नुपर्ने, धेरै पैसा खर्च हुने समस्याबाट केहि भनेपनि राहत दिएका हुन्छन्। अझ रेडियोलोजिस्टको अभाव भएका कति सरकारी अस्पातलहरुमा एमडिजिपिहरुले नै त्यो सेवा दिइरहेका हुन्छन। तर सम्झनुपर्ने के हो भने कम्लिकेटेड, जटिल अवस्थाहरुमा राम्रो डायग्नोसिस र रिपोर्टिङका लागि उनीहरुले रेडियोलोजिस्टको सहयोग लिने गर्नुपर्छ वा रेडियोलोजिस्टकोमा रिफर गर्ने गर्नुपर्छ, जुन बानीको हाम्रो समुदायमा कमी छ।

माथिको केसमा अप्रेशन गरेर निकालिएको त्यो पानीको डल्लोमा मृगौला पनि हुनसक्छ भनेर विरामीका आफन्तहरुलाई राम्ररी नसम्झाइनुमा गल्ति भएको हो, रोग र रोगको फैलावट र जटिलतालाई अप्रेशन अगावै पुनः रेडियोलोजिस्टसँग भिडियो एक्स रे र सिटि स्क्यान गरेर राम्ररी नहेरी विरामीका आफन्तको आर्थिक समस्यालाई ठुलो मानेर त्यहि अनुसार चल्नुमा लापरवाहि भएको हो। तर विरामी र उसको रोगको उपचारमा र गर्नुपर्ने अप्रेशनमा केहि गल्ति भएको छैन। गल्ति अप्रेशन अघि र पछि अप्रेशनका दौरान आइपर्नसक्ने र आइपरेका जटिलताका बारेमा विरामीका आफन्तहरुलाई राम्ररी समय दिएर नबुझाइनुमा भएको हो। तर त्यसलाई नेपालकै सबैभन्दा बढि बिक्री हुने दाबी गरेको पत्रिकाको पनि सम्पादकियमा राम्ररी कुरै नबुझी लेखिनु कत्तिको सम्वेदनशीलताको प्रर्दशन हो?

हल्लैहल्लाको देश हो नेपाल, तर त्यसमा पत्रकारहरु जस्तो जिम्मेवारी बोकेका मानिसहरुले त्यस्ता अनावश्यक हल्लाहरुलाई कम गरेर सम्वेदनशील क्षेत्र भनेर भनिएको स्वास्थ्य क्षेत्रमा बढ्दो अविश्वासको खाडललाई कम गर्न सहयोग गर्नुपर्नेमा हल्लाको पछि दौडेर सत्यतालाई झन बंगाउने काम गरेका छन्। त्यो हल्ला "उपचार गर्दागर्दै मृगौलै गायब", "मृगौला नचिन्ने सर्जन", "पेटको अप्रेशन गर्दा मृगौलासमेत झिकियो" हुँदाहुँदै साधारण जनमानसमा "विरामीको अर्कै रोगको अप्रेशन गर्दा नचिनेर गल्तिले राम्रै मृगौला झिकियो" वा अझ "अप्रेशन गर्ने चिकित्सकले विरामीको मृगौला गायब गरे" भन्ने सम्म बन्न गयो। यसले विरामीको अस्पताल र चिकित्सकहरु प्रतिको विश्वासमा कस्तो धक्का पुग्न जाला सहजै अनुमान लगाउन सकिन्छ।

अस्पताल र स्वास्थ्य क्षेत्र सम्वेदनशील क्षेत्र हो तर के यो चिकित्साकर्मीको हकमा मात्र लागु हुने कुरा हो र? के पत्रकार र पत्रिकाहरुलॆ यसको सम्बन्धमा लेख्दा यसले विरामी र चिकित्सक बीच घट्दै गैरहेको विश्वसनीयताको वातावरणलाई कत्तिको नकारात्मक असर पार्छ भन्ने कुरालाई ख्याल राख्नुपर्दैन? के त्यसमा चाँही उनीहरुले सम्वेदनशीलता देखाउनु उनीहरुको नैतिक जिम्मेवारी होइन? समाजलाई जागरुक बनाउनु, समाजमा भइरहेका नकारात्मक कुराहरुलाई सबैका अघि ल्याएर प्रस्तुत गरी त्यस्ता काम गर्ने, गराउनेहरुलाई हतोत्साहित पार्नु पत्रकारहरुको धर्म हो। यो मैले भनिराख्नुपर्ने कुरा हो जस्तो लाग्दैन। तर पहिलो बन्ने होडबाजीमा, अरु पत्रिका वा च्यानलभन्दा पहिले समाचार ब्रेक गर्ने कम्पिटिसनमा समाचारको गुदी कुरा नै नबुझी एक पक्षिय हिसाबले र आफ्नो सोचाइका अनुसारले समाचारलाई बंगाएर गलत अर्थ लाग्ने तरिकाले आम मानिसका सामु प्रस्तुत गरिनु कस्तो पत्रकार धर्म हो? सम्वेदनशील क्षेत्र भनेर कुर्लने अनि त्यहि क्षेत्रका बारेमा चाँही राम्ररी कुरै नबुझी दौडने अनि सबैलाई दौडाउन खोज्ने कस्तो सम्वेदनशीलता हो? हुन त "कागले कान लग्यो" भन्दा कान छाम्न छोडेर कागको पछी दौडने १०० मीटरका धावक जस्ता पत्रकारहरुको दौडने र दौडाउने बानी केहि समय अघिको "अनुजा काण्ड"ले पनि प्रस्टै देखाएको थियो। भलै कान्तिपुरले पछी त्यसमा क्षमा माग्यो। तैपनि पत्रिका र पत्रकार भनेका अझै पनि सबैभन्दा भरपर्दा माध्यम हुन्। उनीहरुको आवाज सबैले सुन्छन् र धेरैले पत्याउछन् पनि। त्यसैले त हामी उनीहरुको व्यवहारमा र रिपोर्टिङमा धावकियपन भन्दापनि सत्यता र सम्वेदनशीलताको आशा गर्छौं।

हो, हामीमा पनि कमजोरी छ। हामी मध्ये धेरै पैसाको पछि दौडेका छौं। विरामीलाई सेवा दिने भन्दा कसरी बढि भन्दा बढि विरामी हेर्ने र लगानी उठाउने भन्ने होडबाजीमा लागेका छौं। विरामी र उसका आफन्तसँग रोग र विरामीका अवस्थाका बारेमा राम्रोसँग एकछिन कुरा गर्न हामीसँग समय हुदैंन। विरामी र उसका आफन्तलाई रोगको बारेमा जानकारी दिएर उपचारका लागि फैसला उनीहरुलाई नै लिन दिने र त्यसका लागि उनीहरुलाई सहयोग गर्ने हाम्रो बानी छैन। नाफाकै लागि खोलिएका नर्सिङ होमहरुको त कुरै छाडौं, चिकित्सकहरुमा र चिकित्सक उत्पादन गर्ने मेडिकल कलेजहरुमा पनि व्यापारिकरणको भुतले छोएको छैन भन्दा गलत हुनेछ। तैपनि जानीजानी विरामीको लागि नराम्रो सोच्ने र नराम्रो गर्ने चिकित्सक त शायदै होलान्। आफ्नो क्षमताले भ्याएसम्म र अनुभवले जानेसम्म विरामीलाई उपचार दिन प्राय: सबै चिकित्सकले खोजेका हुन्छन्। यस्तोमा विरामी र चिकित्सकबीचको बचेखुचेको विश्वसनीयताको वातावरणलाई सुधार्नमा सहयोग गर्नुको साटो भएको पनि बिगार्ने गरी वास्तविकता नै नबुझी "कान्तिपुर" जस्तो पत्रिकाको सम्पादकीय लेख्नुले हामी चिकित्सकहरुको पत्रिका र पत्रकारप्रतिको विश्वासलाई हल्लाएको छ। अत: समाचार लेख्दा समाचारको सम्वेदनशीलता र सत्यता बुझेर त्यसलाई नबंगाई, अनावश्यक र गैरजिम्मेवारपुर्ण तरिकाले रंगीचंगी नबनाई लेखिदिनुहुन समस्त पत्रकार साथीहरुमा अनुरोध छ। तपाईंहरुको पनि आशय समाज जगाउने होला तर सत्यको बाङो अर्थ नलाग्ने गरी लेखेर त्यसो गरे कसो होला?

अन्तमा सम्पादकीयकै अर्को वाक्य सापटी लिन्छु, "यो अवस्थामा सरकार, स्वास्थ्य मन्त्रालय, मेडिकल कलेजहरु, अस्पताल व्यवस्थापन, मेडिकल काउन्सिल लगायत स्वास्थ्य क्षेत्रका नेतृत्वदायी संघसंस्थाहरु गम्भीर हुनुपर्छ। जनतामा चिकित्सा पेसाप्रति उत्पन्न हुदैं गएको डर र आशंकालाई चिर्न केन्द्रित हुनुपर्छ।" यसमा म सानो कुरा थप्न चाहन्छु, यो काममा पत्रकार र पत्रिकाहरुको पनि गम्भिरताको आवश्यकता छ र उनीहरु पनि यस काममा सम्वेदनशीलताका साथ हातेमालो गर्छन् भन्ने आशा राखौं।

बाँकी पढ्नुहोस् >>

Sunday, October 16, 2011

आफ्नो आँङको भैसी नदेख्ने, अर्काको आँङको जुम्रा देख्ने


हामी नेपालीहरु कति चाँडो अर्काले जिम्मेवारी पूरा नगरेको, लापरवाही गरेको भनेर कुर्लन्छौं, तोडफोड गर्छौं। आफ्नो जिम्मेवारी के हो, आफूले त्यो पूरा गरियो, गरिएन भनेर कहिल्यै विचार गर्दैनौं। अर्काको गल्ति देखाउन, अर्कालाई "तेरो काम यो हो, तैंले यो काम राम्ररी गरिनस् है" भनेर थर्काउने, खबरदार गर्ने काममा हामी धेरै अघि छौं। तर जब आफ्नो पालो आउँछ, तब हामी मुसा लुकेजस्तो लुसुक्क त्यहाँबाट बाटो तताउँछौं (यदी केहि लाज बाकि छ भने) र त्यो पनि छैन भने बेफ्वाकको घमण्ड देखाएर त्यही बसिरहन्छौं।

अस्पताल आइरहेको कुनै विरामी इमर्जेन्सी कक्षको बाहिर बेहोस भएर लड्यो भने के गर्नुहुन्छ? उसका आफन्तलाई विरामीलाई चाँडोभन्दाचाँडो इमर्जेन्सी कक्षभित्र लैजान सहयोग गर्नुहुन्छ कि भित्र गएर त्यहाँ अर्को विरामी हेरिरहेका स्वास्थ्यकर्मीलाई "ल त्यहाँ विरामी ढलेको छ है, हेर्न जानु" भनेर आफ्नो कर्तव्य पूरा भएको ठान्नुहुन्छ? इमर्जेन्सीमा खबर गरिदिनु त ल ठिकै मान्न सकिएला तर स्वास्थ्यकर्मी गएर त्यहि ढलेकै ठाँउमा उपचार गर्ने त होइन। अनि डाक्टर त्यही गएर विरामीलाई हेरी उसलाई इमर्जेन्सी भित्र लैजानका लागि सहयोग माग्दा दिने कि नदिने? के त्यति सहयोग त मानवताको नाताले पनि दिनुपर्छ, होइन र? तर मैले त्यो सहयोग पाइनँ। खोइ मानिसहरुमा मानवता हराएको हो वा उनीहरु सम्वेदनाविहिन भएका हुन्। कुनै जरुरी काम गरेरै बसेका भएपनि एउटा कुरा। मस्त गफ हाँकेर बसेकाहरु र त्यहि विरामीलाई घेरेर 'विचरा' भनेर बसेकाहरु मात्र थिए, त्यहाँ। अनि जब सहयोग मागियो तब पालैपालो लाखापाखा लागे सबै गोहिका आँसु खसाउनेहरु।

अर्काको दु:खमा सहानुभुति देखाउनेहरु यहाँ थुप्रै भेटिन्छन्, च्वच्वच्व गर्दै "विचरा, कठै" भन्दै दु:खी मुहार देखाउने सयौं देखिन्छन् तर जब केहि सहयोगको आवश्यकता पर्छ, तब अघि सर्ने कोहि हुदैंन। ठूलो सहयोगको पनि आस गरेको होइन तर सानो सहयोग पनि पाउन यहाँ मुश्किल छ।

त्यहि घटनामा फेरि यदि अस्पतालबाट कोहि पनि हेर्न नगएर "विरामीलाई पहिले भित्र ल्याउनुस्, अनि हेरौंला" भनेर त्यसै छोडेको भए त्यो ठूलो इश्यु बन्न जान्थ्यो। "यहि अस्पतालको अगाडि विरामी ढलेको छ, के हो तपाईंहरु हेर्न नजाने, के गर्न बसेको यहाँ, विरामीको उपचार गर्न होइन, आदी आदी भनाइहरु सुन्न पाइन्थ्यो होला। के थाहा तोडफोड पनि गर्थे कि? मानौं कि सेवाको सम्पूर्ण जिम्मेवारी हामी स्वास्थ्यकर्मीले मात्रै लिएको जस्तो। सम्वेदनशीलताको दायित्व, हाम्रो काँधमा मात्र भएको जस्तो।

हामी नेपालीहरुमा आफ्नो जिम्मेवारी पहिले निभाउने अनि अर्काको दायित्व सम्झाउने बानी कहिले आउँला? आफ्नो कर्तव्य पूरा गर्ने अनि बल्ल अधिकारको कुरा गर्ने बानी कहिले आउँला? आफ्नो आँङको भैसी नदेख्ने अर्काको आँङको जुम्रा देख्ने बानी कहिले सुध्रिएला?

बाँकी पढ्नुहोस् >>

Wednesday, October 12, 2011

डाक्टर भगवान होइन। Doctor is not a GOD.



लाई कहिलेकाही इमर्जेन्सीमा सब विरामीहरुको बीचमा बसेर मज्जाले हाँस्न मन लाग्छ। मलाई पागल नठान्नुहोला। जब कुनै पनि कुरा तपाईंको नियन्त्रण भित्र हुन्छ वा तपाईंले कुनै पनि काम आफ्नो तरिकाले, राम्रो तरिकाले गर्न भ्याउनुहुन्छ तब तपाईंलाई यस्तो बेमौसमको हाँसोको जरुरत पर्दैन। तर जब कुनै कुरा तपाईंको हातबाट बाहिर जान्छ, तपाईं त्यसको लागि केहि गर्न सक्नुहुन्न, त्यतिबेला तपाईं कराएर, रोएर, झगडा गरेर आफ्नो प्रेसर रिलिज गर्नुभन्दा हाँसेर हल्का महसुस गर्न सक्नुहुन्छ। 'मुन्नाभाई एमबीबीएस' को प्रोफेसर अस्थानाको जस्तै।

तपाईं एकपटकमा कति जना विरामी हेर्न भ्याउनुहुन्छ, एक दिनमा कति विरामी हेर्नुहुन्छ भनी विकसित मुलुकका डाक्टरलाई सोध्नुहोस् जवाफमा २०-२५ भन्दा बढि पाउनुहुन्न। एउटा विरामीलाई कम्तिमा पनि ९-१० मिनेट त हेर्ने गरिन्छ। अब हाम्रो अवस्थाको कुरा गर्नुहोस्। प्राइभेट होस् वा सरकारी वा मेडिकल कलेज विरामीको भीड त हामी सबैले देखेकै कुरा हो। त्यत्रो भीडलाई सीमीत संख्याका डाक्टरहरुले जाँच गर्नुपर्ने हुन्छ। त्यस्तो अवस्थामा एउटा विरामीलाई शायदै ५ मीनेट समय दिन सकिन्छ होला। अझ सरकारी अस्पतालको अवस्था त झनै दयनीय हुन्छ। एउटा विरामी जाँचीरहेको हुन्छ, अरु १०जना विरामी उसका कथा सुनिरहेका हुन्छन्। यस्तोमा विरामीको कुराको गोपनीयताको कुरा त नसोचे नि हुन्छ। भ्याइनभ्याइकन विरामी हेरेको बेलामा केको गोपनीयता? मैले यो भनेर मेरो संवेदनहीनता देखाएको होइन, यो हाम्रो वाध्यता हो। यदी मजाले समय दिएर विरामी हेर्ने हो भने दिनभरका विरामी जाँचेर सक्न दुई दिन लाग्छ होला। त्यसैले जब सेवा लिनेको र दिनेको संख्या बीच ठूलो फरक हुन्छ तब दिइने सेवामा नचाहदाँनचाहदैं पनि केहि कमि हुनजान्छ। जस्तो हरेक वार्डमा ८ विरामी बराबर १ नर्स हुनुपर्ने अन्तराष्ट्रिय मान्यता छ, तर हाम्रो देशमा १ नर्सले २०-२५ सम्म विरामी हेर्नुपर्ने हुन्छ। एउटै डाक्टर ओपीडि, वार्ड कुद्नुपर्ने हुन्छ। अनि कसरी गुणस्तरिय सेवा दिन सकिन्छ?

यस्तोमा स्वास्थ्यकर्मीको लापरवाही हुदैंहुदैंन भनेर म भन्न सक्दिनँ तर कति बेलामा चाहेर पनि सबैलाई समयमा सोचेको जस्तो सेवा दिन सकिदैन। यो हाम्रो बाध्यता हो। यसलाई सधैं लापरवाहीको नाम नदिइयोस्। यसले त्यस्तो भ्याइनभ्याइको वातावरणमा पनि सक्दो काम गरिरहेकाहरुलाई पनि निरुत्साहित बनाउने काम गर्छ। विरामी र उनका परिवारले आफ्नो मात्र समस्या नहेरी स्वास्थ्यकर्मीहरुले कस्तो वातावरणमा काम गरिरहेका छन् त्यो बुझिदिने थोरै मात्र प्रयास गरिदिनुभयो भने पनि हाम्रो लागि काफि हुन्छ।

अझ हाट बजारको जस्तो दृश्य त हाम्रा इमर्जेन्सी कक्षहरुमा देख्न सकिन्छ। जेसुकै, जस्तोसुकै समस्याको लागि पनि इमर्जेन्सी छिर्ने हाम्रो नराम्रो बानीले गर्दा पनि यस्तो भीडभाड भएको हो। सानोभन्दा सानो समस्याका लागि पनि इमर्जेन्सीमा चाँडो हुन्छ भनेर देखाउन आइपुग्छन्। साधारण ढाड दुखेको सामान्य, टाउको दुखेको, दाँत दुखेको देखी लिएर दादको, छाला चिलाएको विरामीहरुसम्म पनि इमर्जेन्सीमा आइपुग्छन्। कति त यो वार्ड कहाँ, त्यो वार्ड कहाँ भनेर सोध्नका लागि पनि इमरजेन्सी छिर्छन्, जुन कुरा बाहिरका गार्डहरुलाई सोधेर पनि पत्ता लगाउन सकिन्छ। कोही भने अस्पताल बाहिरै घर भएकाहरु पनि दिनभरी ओपीडीमा नदेखाएर जब रात पर्छ अनि समस्या पर्ला जस्तो लागेर इमर्जेन्सी आइपुग्छन्। मैले यसो भनेर हामी यस्ता विरामीलाई इमर्जेन्सीमा हेर्दैनौं भन्न खोजेको होइन। हामी आएका विरामी सबैलाई हेर्छौं तर यस्ता सामान्य समस्याका विरामीले गर्दा वास्तविक इमर्जेन्सी वा आकस्मिक सेवा चाहिएका विरामीलाई पर्याप्त समय दिन सकिदैंन र यी समस्याहरु इमर्जेन्सीमा नभई ओपीडीमा देखाउनुपर्ने समस्याहरु हुन्। हुन त यो हामी सबैको समस्या हो। पर्याप्त अस्पताल र डाक्टरहरु नहुँदा विरामी भएपछि समस्या लिएर कहाँ जाने त? उहि २४सै घण्टा खुल्ने, जुनसुकै रोगको उपचार गर्नैपर्ने इमर्जेन्सीमा। अझ रोगको मात्र उपचार गर्नुपरे त ठिकै हुन्थ्यो, कहिले त अस्पतालको जुनसुकै कुनामा जेसुकै समस्या परेपनि उजुरी गर्ने ठाँउ बन्नपुग्छ, इमर्जेन्सी। हुन त यसमा विरामीका आफन्तहरुको मात्रै गल्ति होइन। अस्पतालको व्यवस्थापन पक्षको पनि कमजोरी हो। त्यस्ता समस्याहरु बारे, अस्पतालका अन्य समस्याहरु बारे सोधपुछ गर्ने छुट्टै स्थानको व्यवस्था गरेमा यो समस्या केहि कम हुने थियो कि। साथै आममानिसहरु पनि आफ्नो स्वास्थ्य बारे जानकारी राख्ने, समयमै सचेत हुने गर्नुपर्छ, जब पर्‍यो राती, तब बुढी ताती गर्नु हुँदैन।

अस्पताल एउटा सम्वेदनशील स्थल हो, यो सबैलाई थाहा छ। तर यो सम्वेदनशीलता स्वास्थ्यकर्मीको तर्फबाट मात्र खोज्न चाँहि मिल्दैन। सम्वेदनशील क्षेत्र हो भने विरामी र विरामीका आफन्तहरु पनि जिम्मेवारपूर्ण तरिकाले प्रस्तुत हुनुपर्छ। अस्पतालमा विरामीको उपचार गर्न लग्ने हो। त्यहाँ कुनै जादुको छडि हुदैंन न कुनै जादुगर बस्छ त्यहाँ न त भगवान नै। डाक्टर भनेको पनि मानिस नै हो, मानिसको शरीर, रोग, त्यसको उपचारको बारेमा केहि पढेको, केहि जानेको मानिस। एक पल्ट छोएमै ठिक हुने, बोलेमै ठिक हुने भन्ने चाँही विरामीको डाक्टरप्रतिको विश्वास हो। त्यो विश्वासको हामीले सम्मान गर्नुपर्छ र डाक्टर र विरामीको सम्बन्धमा दुई पक्षिय विश्वास सबैभन्दा ठूलो कुरा हो। तर त्यहि विश्वासको कुनै डाक्टरले गलत फाइदा उठाउँछ, त्यसमा घमण्ड गर्छ भने त्यो राम्रो डाक्टर होइन। त्यस्तै त्यो विश्वास 'डाक्टरले जेपनि गर्नसक्छ' भन्ने अन्धविश्वाससम्म पुग्न दिनुहुदैंन। किनभने यो अन्धविश्वास टुट्यो भने सबैलाई नराम्रो धक्का लाग्छ, जुन भयानक रुपमा पनि बाहिर आउनसक्छ। अस्पतालमा विरामीको जाँच गरेर रोग अवस्था पत्ता लगाएर त्यसको उपचारका लागि विरामी, उसका परिवार र डाक्टर मिलेर सौहार्दपूर्ण वातावरणमा छलफल गरेर उपचार गर्ने हो। तर यहाँ त कहिलेकाहि कतिसम्म हुन्छ भने "मेरो विरामीलाई केहि भयो भने तलाईं मैले जानेको छु" भन्ने सम्म पनि सुनिन्छ। त्यस्तो तातो रिस र फुर्ति देखाउने ठाँउ हो र अस्पताल? अनि कहिले चाँही "विरामी ठीक हुने ग्यारेन्टि चाहियो" भन्ने पनि सुनिन्छ। अस्पताल भनेको विरामीको ज्यानको ग्यारेन्टि दिने ठाँउ होइन। क्षमा गर्नुहोला, यो सुन्दा नमिठो, नराम्रो सुनिएला, तर वास्तविकता यहि हो। अस्पतालमा ग्यारेन्टि दिएर कुनै पनि डाक्टरले उपचार गर्न सक्दैन। यदि कसैले त्यस्तो गर्छ भने त्यो नराम्रो मेडिकल प्राक्टिस हो। किनभने चिकित्सा शास्त्रमा कुनै पनि रोगको ग्यारेन्टि उपचार भन्ने हुदैंन। यसको उपचार यो, यो नभए त्यो, त्यो नभए अर्को, अर्को भन्ने हुन्छ। सबै रोगको उपचार सम्भव पनि हुदैंन। त्यस्तै हरेक अवस्था, औषधी र अप्रेशनका आफ्नै समस्या र जटिल अवस्थाहरु पनि हुन्छन्। बाहिर सामान्य लाग्ने समस्या पनि भित्र ठूलो हुनसक्छ। सामान्य लाग्ने औषधीले पनि ज्यानैजाने रियाक्सन गर्न सक्छ। सानो भनिएको अप्रेशन पनि समस्या आइदिएर जटिल हुनसक्छ। त्यसका लागि लापर्वाही नै हुनुपर्छ भन्ने छैन।

हामी समाचारमा कति सुनिरहेका हुन्छौं। खुट्टा भाँचेको विरामीको अप्रेशन गर्दा विरामीको ज्यान गयो। बाहीरबाट हेर्दा त ठूलै लापरवाही भएको जस्तो लाग्छ। तर हाड भाँचिदाको कम्प्लिकेसन स्वरुप फ्याट इम्बोलिजम/Fat embolism (हाडभित्रको बोसो रगतमा गएर फोक्सोमा पुगॆर पल्मोनरी इन्फार्कसन जस्तो प्राणघातक अवस्था) हुनसक्छ। त्यस्तै हिंडेर आएको विरामी मर्यो वा मार्यो भन्ने पनि सुनिन्छ। तर विरामीको अवस्था कस्तो थियो, उसका रिपोर्टहरुले के देखाएको थियो भनेर जान्ने प्रयास गरिदैंन। हेमोग्लोविन १ र प्लेटेलेट हुदैं नभएको विरामी, रक्तचाप २२०/१२० भएको विरामी, आन्द्रामा प्वाल परेर पेरोटिनाइटिस/Peritonitis भएको विरामी पनि हिडेरै आएको हुनसक्छ। साधारण लाग्ने टिटिको सूई, दुखाईको सूईको पनि ज्यानै जाने एलर्जीसम्म हुनसक्छ। अब तपाईंहरु आफैं भन्नुस्, यी सबै कुराको जानकारी भएको कुनै पनि डाक्टरले कसरी विरामीको ग्यारेन्टि लिनसक्छ? कदापी सक्दैन। र त्यो लिने कुरा पनि होइन। यो रोग भएको विरामीको यति प्रतिशतमा यस्तो हुन्छ, यतिमा यस्तो हुन्छ, यति पूर्णरुपमा ठिक हुन्छ भन्न सकिन्छ, तर यहि विरामी ठिक हुन्छ र यहि विरामीमा थप जटिलता आउँछ भनेर त कसरी भन्ने खै?

तर यो भनेर डाक्टरले विरामी उपचारको जिम्मेवारीबाट पन्छिन मिल्दैन। उपचार गर्नु उसको कर्तव्य हो। उपचारका साथै रोग र उपचारका कारणले आइपर्नसक्ने सबै मूख्य र जटिल खालका समस्याहरुबारे राम्ररी जानकारी दिनु पनि उपचार गर्ने डाक्टरको कर्तव्य हो। र यहि कुरामा चाँही हाम्रा धेरैजसो डाक्टरहरु कमजोर हुन्छन्। डाक्टरले विरामीलाई पर्याप्त समय दिन नसकेर हो वा नचाहेर हो वा विरामी र आम मानिसले बुझ्ने भाषामा डाक्टरी भाषाका समस्याहरु बुझाउन गाह्रो परेर हो, रोग र विरामीको अवस्थाका बारेमा विरामी र उसका आफन्तलाई राम्रो जानकारी नभएको र नदिइएको धेरै नै देखिने गर्छ। र विरामी र डाक्टरका बीचको अविश्वासको खाडल बढाउने काममा यसैको ठूलो हात हुन्छ। त्यसैले मिसअन्डरस्ट्यान्डिङको यो समस्यालाई कम गरी डाक्टर र विरामी बीचको अविश्वासको यो खाडल केहि कम गर्न सके विरामी र उसका परिवार सेवाबाट सन्तुष्ट हुनुका साथै बेलाबेलामा हुने रोगको कम्प्लिकेसनलाई पनि डाक्टरको लापरवाहीको नाम दिने नराम्रो प्रथा पनि केहि घट्ने थियो की?

मैले यी सबै कुरा भनेर डाक्टर वा अन्य कुनै पनि स्वास्थ्यकर्मीको लापरवाही ढाकछोप गर्न खोजेको होइन वा त्यस्ता लापरवाही अवश्यम्भावी छ भनेर नजरअन्दाज गर्न भनेको पनि होइन। मात्र विरामीको उपचारको क्रममा डाक्टरको जिम्मेवारी मात्रै खोज्ने तर आफ्नो जिम्मेवारी र कर्तव्य चटक्कै विस्रने गर्नुभएन भन्न खोजेको हुँ। हामी डाक्टर र अन्य स्वास्थ्यकर्मीहरुमा पनि कमजोरी नभएको होइन। हामीमा पनि रिस छ, लोभ छ, पीडा छ, थकान छ, इर्श्या छ, प्रशंसाको भोक छ, एउटा मानिसमा हुने सबै खालका बानीहरु छन्, त्यसैले त हामी पनि मानिस हौं। तर विरामीको उपचारको क्रममा हामी सकेसम्म ती सबैलाई बिर्सेंर काम गर्ने प्रयास गर्छौं र विरामी र उसका परिवारको तर्फबाट पनि त्यस्तै व्यवहारको आशा राख्छौं, जुन स्वाभाविक पनि हो, होइन र?

अस्तु।

बाँकी पढ्नुहोस् >>

Wednesday, September 28, 2011

टिटि भ्याक्सिन/TT vaccine


टिटि भनेको टिटानस टोक्सोइड हो। यो भ्याक्सिन टिटानस रोगबाट बच्नको लागि दिइन्छ। तर हाम्रो देशमा सम्भवत: सबैभन्दा बढि दुरुपयोग हुने भ्याक्सिन यहि होला। हामी सानोभन्दा सानो काटेको, कोतरेको, छाला गएको जस्तोसुकै घाउको लागि पनि टिटानसबाट बचाउने भनेर यो भ्याक्सिन लगाइहाल्छौं। त्यसो गर्न या त अस्पतालका स्वास्थ्यकर्मीले नै सल्लाह दिन्छन् या त आफैं भएपनि लगाउने भनेर भन्छौ। कहिले हामीले सोचेका छौं कि यो कस्तो खालको भ्याक्सिन हो, यसले के काम गर्छ, कति पटकसम्म लगाउन सकिन्छ, जस्तोसुकै घाउमा पनि यो लगाउनै पर्ने हो कि होइन, यसका बेफाइदा छन् कि छैनन्। आज यी सबैको बारेमा चर्चा गरौं।

पहिले भ्याक्सिनको बारेमा केहि जानौं।
भ्याक्सिनको काम शरीरमा रोग प्रतिरोधक क्षमताको विकास र वृद्धि गर्ने हो। भ्याक्सिनहरु प्राय: गरेर तीन प्रकारका हुन्छन्। लाइभ एट्टेनुएटेड/Live attenuated, किल्ड/Killed र टोक्सोइड/Toxoid।

भ्याक्सिनले कसरी काम गर्छ? 
भ्याक्सिन बनाउनको लागि रोग लगाउने किटाणु/Virus, जीवाणु/Bacteria लाई मारेर वा जिउदो भएपनि रोग लगाउन नसक्ने अवस्थाको बनाएर वा ती किटाणु, जीवाणुले बनाउने रोग लगाउने पदार्थको प्रयोग गरिन्छ। लाइभ एट्टेनुएटेड/Live attenuated भन्नाले त्यसमा रोग लगाउने किटाणु वा जीवाणु जिउदै हुन्छ तर मानिसको शरीरमा प्रवेश गरेपनि तीनलाई रोग लगाउन नसक्ने गरी निस्क्रिय बनाइएका हुन्छन्। किल्ड/Killed भ्याक्सिन रोग लगाउने जीवाणु वा किटाणुलाई विभिन्न तरिकाले मारेर तयार पारिएका हुन्छन्। त्यस्तै टोक्सोइड/Toxoid भ्याक्सिन जीवाणु वा किटाणुले बनाउने रोग लगाउने पदार्थ/Toxin बाट तयार पारिएका हुन्छन्।

यी सबै खालका भ्याक्सिन लगाएपछि ती पदार्थ शरीरभित्र प्रवेश गर्छन्, जसलाई निस्क्रिय पार्न शरीरले प्रतिरोधक पदार्थ एन्टिबडि/Antibody बनाउँछ। शरीरमा भ्याक्सिनको रुपमा प्रवेश गराइएको पदार्थले एन्टिजेन/Antigen को काम गर्छ र त्यसको विरुद्धमा शरीरले त्यसलाई निस्क्रिय पार्ने पदार्थ बनाउँछ, जसलाई एन्टिबडि भनिन्छ। शरीरले यी सबै कुराको सम्झना राख्ने गर्छ। अत: भविष्यमा त्यस्तै खालको किटाणु वा जीवाणुको संक्रमण हुँदा शरीरले त्यसका विरुद्धमा प्रतिरोधक पदार्थ/Antibody बनाइ रोग लाग्नबाट जोगाउँछ।

टिटानस टोक्सोइड भ्याक्सिन नामले भनेजस्तै एउटा टोक्सोइड भ्याक्सिन हो। यो टिटानस रोग गराउने जीवाणु क्लसट्रीडियम टेटानी/Clostridium tetani ले उत्पादन गर्ने टक्सिन टेटानोस्पाज्मीन/Tetanospasmin बाट तयार पारिएको हुन्छ।

टिटानस/धनुस्टन्कार, डिपीटी/DPT र हाम्रो देशमा त्यस्को अवस्था कस्तो छ?
टिटानस रोग मुख्यतया सुत्केरी हुने बेलामा फोहर गरेर सुत्केरी गराइयो भने, खिया लागेको वा फोहर ब्लेडले बच्चाको नाल काटियो भने आमा र बच्चामा हुनेगर्छ। बच्चामा हुने त्यसखालको टिटानसलाई नियोनेटल टिटानस/Neonatal Tetanus भनिन्छ। नेपालबाट नियोनेटल टिटानस उन्मुलन भैसकेको भनेर सन् २००५ डिसेम्बरमा भनिएपनि २००७ मा १३ जना यसका रोगी बच्चाहरु भेटिएका थिए।

यो रोगबाट आमा र बच्चालाई बचाउनका लागि गर्भ रहनसक्ने उमेरका महिलाहरु/Reproductive age group women लाई गर्भवती भएको बेलामा वा अन्य समयमा टिटि भ्याक्सिन लगाउने गरिन्छ। यो सुई गर्भवती भएको समयमा जतिसक्दो चाँडो पहिलोपटक र त्यसको कम्तिमा ४ हप्तापछि दोस्रो पटक लगाउनुपर्छ। त्यसको ६ हप्तामा वा अर्को गर्भ रहने बेलामा तेस्रो पटक, त्यसको १ वर्षमा वा अर्को गर्भ रहँदा चौथो पटक र त्यसको १ वर्षमा वा अर्को गर्भ रहँदा पाँचौ पटक गरी जीवनभरमा जम्मा ५ पटक लगायो भने जिन्दगीभरलाई पुग्छ। यसको तेस्रो पटकसम्मको डोज/dose ले ५ वर्ष र चौथो पटकसम्मको डोजले १० वर्ष टिटानस रोगबाट बचाँउछ।

त्यस्तै बच्चाहरुलाई नियमित खोपको कार्यक्रम/Extended Program of Immunization/EPI अन्तर्गत डिपीटि सुई लगाउने गरिन्छ। यसले बच्चालाई डिपथेरिया/भ्यागुते रोग, परट्युसिस/Pertusis/लहरे खोकी र टिटानस/धनुषटंकार रोगबाट बचाउने गर्छ। यो खोप बच्चाहरुलाई २,४ र ६ महिनाको उमेरमा दिइन्छ। चौथो डोज १५-१८ महिनामा र पाँचौ डोज ४-६ वर्षको उमेरमा दिने गरिन्छ। यी नियमित समयका भ्याक्सिनका डोजहरु छुटेमा त्यहि अनुसारका सुझावहरु छन्, जुन लेखका विषयभन्दा बाहिर पर्छ।
समग्रमा जम्माजम्मी पाँचवटा टिटि भ्याक्सिन र हरेक १० वर्षमा एउटा बुस्टर डोज लगाएमा त्यसले जीवनभरीलाई पुग्छ। 

हाम्रो देशमा यो खोप कार्यक्रमको प्रभावकारीता राम्रो छ। EPI भनिने यसको प्रभावकारीता डिपीटीको तेस्रो डोज/DPT3 कति प्रतिशतले लगाउँछन् भन्नेबाट निकालिन्छ, जुन सन् २००९ मा करिब ८२% थियो।

कुनै पनि समयमा घाउ हुँदा वा काट्दा टिटि सुई लगाउने वा नलगाउने भन्ने कुरा घाउको प्रकृति, कत्तिको फोहर लागेको छ अर्थात् टिटानस हुने सम्भावना छ कि छैन भन्ने कुरा र विरामीले विगतमा कतिवटा भ्याक्सिन लिएको थियो, पछिल्लो भ्याक्सिन कति समय अगाडि लिएको थियो भन्ने कुरामा भर पर्छ।

टिटानस हुनसक्ने घाउहरु/Tetanus prone wounds भन्नाले गहिरो काटेको घाउ, जनावरले टोकेको घाउ, फोहर, माटो, गोबर लागेको घाउ, पीप जमेको वा पाकेको घाउ, जलेको घाउहरुलाई जनाउँछ। यस्ता घाउहरु भएको अवस्थामा पनि कम्तिमा ३ वटा टिटि सुई (डिपीटि समेत गरेर) लगाएको छ र अन्तिम डोज लगाएको ५ वर्षभन्दा बढि समय भएको छैन भने थप भ्याक्सिन लगाउनु जरुरी हुदैंन। अझ साधारण खालको र फोहर नभएका घाउहरुमा त पछिल्लो भ्याक्सिन लगाएको १० वर्षसम्म अर्को टिटि भ्याक्सिनको आवश्यकता पर्दैन। त्यस्तै डिपीटिका सबै खोपहरु लगाएका बच्चाहरुलाई ६ वर्षसम्मको उमेरसम्ममा थप टिटि भ्याक्सिनको जरुरत नै हुदैंन।

घाउको प्रकृति, उमेर, टिटि लगाएको समय आदिका आधारमा टिटि भ्याक्सिनको आवश्यकताको वृस्तित विवरण यो लिन्कमा हेर्नसक्नुहुन्छ

यसका बेफाइदा वा हानीहरु के के हुन्?
हरेक औषधीका फाइदा, बेफाइदा दुवै हुन्छन् भन्या जस्तै यसका पनि बेफाइदाहरु छन्। यसको प्रयोगले कसैकसैमा एलर्जी देखिने हुनसक्छ। छालामा राताराता दागहरु देखिने, चिलाउने, ज्वरो आउने देखि लिएर खतरनाक र ज्यानै जाने एलर्जीक प्रतिकृया/Allergic reaction पनि हुनसक्छ। त्यस्तै लाखौंमा १-२ जनालाई विभिन्न प्रकारका नसासम्बन्धी रोगहरु/Neurological disorders देखिन सक्छ। याद गर्नुहोस् नसा सम्बन्धी रोग र मानसिक रोग/Psychiatric Disorder भनेका फरक रोगहरु हुन्। 

लगातार बढि मात्रामा भ्याक्सिन लगाउने र चाहिने भन्दा बढि लगाउने गर्नाले माथिका बेफाइदाहरु हुने सम्भावना बढेर जान्छ। त्यसैले विरामीलाई बेनिफिट अफ डाउट/Benefit of doubtको नाममा हरेक साना घाउहरुमा टिटि भ्याक्सिन लगाउने सल्लाह दिनु पनि राम्रो उपचार पक्कै होइन।

यसको दुरुपयोग किन भैरहेको छ? 
यसको दुरुपयोग हुनुमा धेरै कारणहरु छन्। जस्तै:

१. यो भ्याक्सिनको बारेमा जानकारी नहुनु।
धेरैजसो मानिसहरु (र कतिपय स्वास्थ्यकर्मीहरुको पनि)को सोचाइ जस्तो यसले तपाईको भैसकेको घाउबाट हुनसक्ने टिटानसबाट सामान्यतया बचाउदैंन। यसले त भविष्यमा हुनसक्ने टिटानसको लागि एन्टिबडि बनाउनलाई प्रेरित गर्ने काम मात्रै गर्छ। यो एउटा एक्टिभ भ्याक्सिन भएकोले यसले काम गर्न यो शरीरमा प्रवेश गरिसकेपछी कम्तीमा शरीरलाई यसको विरुद्ध एन्टिबडी बनाउने समय चाहिन्छ। तपाईं हामीले सोचेका जस्तो काम गर्ने भ्याक्सिन प्यासिभ भ्याक्सिन/Passive vaccine हो, जसलाई टिटानस इम्युनोग्लोबुलिन/Tetanus immunoglobulin भनिन्छ।

२. आफ्नो भ्याक्सिनेसन अवस्था/vaccination status को बारेमा राम्रो जानकारी नराख्नु। 
हामी मध्ये धेरैले बच्चामा सबै खोपहरु लगाएका छौं, तर कमैसँग मात्र ती लगाइएका खोपहरुका कागजपत्र होलान्। आफूले लगाएका खोपहरुको विवरण भएमा भविष्यमा त्यस्तै प्रकारका खोपहरु थप्नु पर्ने, नपर्ने जानकारी लिन धेरै सजिलो हुन्छ। साथै अनावश्यक रुपमा खोपहरु लिइराख्नुपर्दैन।

३. टिटानस रोगको बारेमा जानकारी नहुनु।
हामी के सोच्छौं भने फलामले काट्यो कि टिटानस हुन्छ, घाउ भयो कि टिटानस हुन्छ। तर सफा घाउ छ, साधारण खालको घाउ छ र आफुले बच्चामा डिपिटि र पछि त्यसको बुस्टर डोज/Booster dose पनि लगाएको छ भने तपाईं आत्तिनुपर्दैन। तपाईंको शरीरमा टिटानससँग लड्ने एन्टिबडि पर्याप्त मात्रामा भएको खण्डमा टिटानस हुदैंन। त्यस्तै टिटानसबाट बच्ने उपाय टिटि खोप मात्र होइन। घाउ भएपछि त्यसलाई राम्रो तरिकाले साबुन पानीले सफा गर्ने, त्यसमा माटो, गोबर पर्न नदिने, सुत्केरी गराउँदा सफा, नयाँ ब्लेडले नाल काट्ने, सफा हातले सुत्केरी गराउने गर्नाले पनि टिटानसको सम्भावनालाई धेरै कम गर्छ।

४. सस्तो र सर्वसुलभरुपमा टिटि खोप पाइनु। 
अन्य खोपहरु जस्तो यो महंगो र पाइन गाह्रों हुदैंन। तर त्यसो भनेर यसको दुरुपयोग गरिनु उचित हुदैंन।

अन्त्यमा, 
विना जानकारी कुनै पनि खोप वा सुई लिनु हानिकारक हुनसक्छ। त्यसैले त्यस्तो सुई लिनु अघि त्यसको बारेमा, त्यसले गर्ने कामको बारेमा, आफुलाई त्यसको आवश्यकता भएनभएको बारेमा राम्रो जानकारी लिनु स्वस्थकर हुन्छ। सस्तो छ, सर्वसुलभ छ भन्दैमा अनावश्यक र हानीकारक हुनसक्ने कदम नचालौं।

स्रोतहरु:
बाँकी पढ्नुहोस् >>

Wednesday, September 21, 2011

Polycystic ovary syndrome (डिम्बाशयमा पानीका फोकाहरु हुने सिन्ड्रोम)


यो सिन्ड्रोमको नामले महिलाको डिम्बाशयमा थुप्रै पानीका फोकाहरु हुने अवस्थालाई जनाउँछ तर यो सिन्ड्रोम त्यतिमा मात्र सिमित छैन। स्टेन लेभेन्थल सिन्ड्रोम(Stein-Leventhal Syndrome) भनेर पनि भनिने यो अवस्थामा महिलाहरुमा हर्मोनको अनियमितताको कारणले विभिन्न प्रकारका लक्षणहरु देखिन्छन्। महिनावारीमा गडबडी, महिनावारी हुदैं नहुने/ Primary amenorrhoea, थोरै हुने/ Oligomenorrhoea, भएपनि डिम्बाशयबाट डिम्ब ननिस्कने/ Anovulation, जसले गर्दा गर्भ रहन नसक्ने वा गाह्रो हुने, मोटोपना, मधुमेह, उच्च रक्तचाप जस्ता विभिन्न थरिका समस्याहरु यो सिन्ड्रोममा देखिन सक्छन्। यसलाई छोटकरीमा पीसिओएस (PCOS) पनि भनिन्छ। 
नेपालमा यसका रोगीको संख्या यतिनै भन्न सकिने गरी अध्ययन भएको छैन। तर अमेरिकामा करिब ५-१०% महिलामा यो समस्या देखिने गर्छ र बाझोपनाको एउटा प्रमुख कारणको रुपमा यो सिन्ड्रोम पर्छ। प्राय: गरेर १५-२५ वर्षभित्रको उमेरमा यो सिन्ड्रोम देखिनेगर्छ। प्राय:जसोमा महिनावारीमा समस्याहरु देखिएर यो रोग शुरु हुने भएपनि कसैकसैमा पछिसम्म पनि थाहा हुदैंन र बाझोपना भएर जाँच गर्दा मात्र यो पत्ता लाग्ने गर्छ। 


यसका लक्षणहरु के के हुन्? 
यसमा देखिने प्रमुख समस्या भनेको हर्मोनको गडबडी हो। महिलाहरुमा हुने महिला हर्मोनहरु इस्ट्रोजन/Estrogen र प्रोजेस्टेरोन/Progesterone हुन्, जुन डिम्बाशयले उत्पादन गर्छन्। त्यस्तै एलएच/LH र एफएसएच/FSH हर्मोनहरु पनि हुन्छन्, जुन पिट्युटरी ग्रन्थि/Pituitary Gland (मस्तिष्कभित्र हुने एउटा ग्रन्थि) ले उत्पादन गर्छ। यी हर्मोनहरुको स्तर र काम ठिक मात्रामा हुँदा महिलामा सामान्यरुपमा हरेक महिनामा महिनावारी हुने, महिनाको एक पटक डिम्बाशयबाट डिम्ब निस्कने र गर्भधारण सम्भव हुने र महिलामा हुने अन्य शारीरिक परिवर्तनहरु हुनेगर्छ। 
त्यसैले यो सिन्ड्रोममा महिनावारी सम्बन्धी समस्याहरु देखिने गर्छन्। महिनावारी शुरु नै नहुने, धेरै अन्तरालमा हुने, धेरै रगत बग्ने, महिनावारी भएपनि डिम्बाशयबाट डिम्ब ननिस्कने जस्ता समस्याहरु देखिने गर्छन्। त्यस्तै महिला हर्मोनको मात्रामा कमि र पुरुष हर्मोन एन्ड्रोजन/Androgen को मात्रा बढि हुने हुँदा शरीरमा पुरुषको जस्तो शारीरिक परिवर्तनहरु/Hirsutism (बढि रौंहरु आउने, दाह्रींजुंगा आउने, स्वर मोटो हुने, पुरुषको जस्तो तालु खुइलिने) हुनसक्छ। 
त्यस्तै अन्य लक्षणहरुमा मोटोपना, मधुमेह (शरीरमा इन्सुलिनले राम्रो काम नगर्ने हुँदा/Insulin resistance), घाँटी, कुइनाका छालामा कालो दागहरु/Acanthosis nigricans देखिने आदी पर्छन्। त्यस्तै रगतमा नराम्रो बोसो एलडिएल/LDL को मात्रा बढ्ने र राम्रो बोसो एचडिएल/HDL को मात्रा घट्ने, उच्च रक्तचापको समस्या देखिने पनि हुनसक्छ। 
माथिका लक्षणहरु, मुख्यरुपमा महिनावारीको गडबडी, गर्भ रहन समस्या र पुरुषको जस्तो शारीरिक परिवर्तनहरु, भएको महिलामा भिडियो एक्सरेमा डिम्बाशयमा पानीका फोकाहरु/Cysts(सिस्टहरु) देखिएमा त्यसलाई पोलिसिस्टिक ओभेरियन सिन्ड्रोम (PCOS) भन्ने गरिन्छ।


यो सिन्ड्रोम किन र कसरी हुन्छ? 
माथि भनिएजस्तै महिला हर्मोनहरु (इस्ट्रोजन/Estrogen, प्रोजेस्टेरोन/Progesterone, एलएच/LH र एफएसएच/FSH) को गडबडीको कारणले यसका लक्षणहरु देखिन्छन्। त्यसैले गर्दा नै डिम्बाशयमा पानीका फोकाहरु जस्तो देखिने गर्छ। त्यस्तै पुरुष हर्मोन एन्ड्रोजेन/Androgen को मात्रा बढ्नाले पुरुषमा जस्तो शारीरिक परिवर्तनहरु देखिने गर्छ। तर हर्मोनहरुमा त्यो गडबडी किन देखिन्छ भन्ने कुरा चाँही थाहा हुनसकेको छैन। कसैमा यो समस्या वंशानुगत रुपमा देखिन्छ भने वातावरणीय कुराहरुको पनि प्रभाव रहेको देखिन्छ। 


यो सिन्ड्रोम कसरी पत्ता लाग्छ?
कसैलाई माथि भनिए जस्तो लक्षणहरु (महिनावारीको गडबडी, पुरुषको जस्तो शारीरिक परिवर्तनहरु, अत्यधिक मोटोपना आदि देखिएको छ भने स्त्रीरोग सम्बन्धी विशेषज्ञको सल्लाह लिनुपर्छ। यी लक्षणहरु डिम्बाशयका एन्ड्रोजन उत्पादन गर्ने ट्युमरहरु, थाइरोइड/Thyroid हर्मोनको कमि, प्रोलाक्टिन/Prolactin हर्मोनको ट्युमर, स्टेरोइड/Steroid जस्ता विभिन्न औषधीहरुको लामो सेवन आदी अवस्थाहरुमा पनि देखिन सक्छन्। त्यसैले पीसिओएस भनेर भन्नुभन्दा अघि विभिन्न जाँचहरु गरी अन्य अवस्थाहरुलाई छुट्याउनुपर्छ। 


यो रोग पत्ता लगाउनका लागि माथि भनिएका जस्तै विभिन्न हर्मोनहरुको जाँच, रगतमा ग्लुकोजको मात्राको जाँच, रगतमा बोसोको मात्राको जाँच जस्ता रगतका जाँचहरु गर्न सकिन्छ। तर अलि महंगो र हाम्रो देशमा सजिलै उपलब्द नहुने यी जाँचहरु कमै मात्रामा गरिन्छ। बरु यी जाँचहरु भन्दा तल्लो पेटको भिडियो एक्सरे बढि मात्रामा गर्ने गरिन्छ। यसमा भिडियो एक्सरेमा डिम्बाशयमा पानीका फोका जस्ता आकारहरु देखिन्छन्। तर थाहा पाउनुपर्ने कुरा के हो भने यस्ता पानीका फोकाहरु हुदैंमा विरामीलाई पीसिओएस छ भन्न मिल्दैन। किनभने साधारण ओभेरियन सिस्ट, डिम्बको संक्रमण, क्यान्सर, डिम्बाशयको विकासमा हुने गडबडी जस्ता विभिन्न समस्याहरु पनि यस्तै खालका पानीका फोकाहरु देखिनसक्छन्। त्यसैले भिडियो एक्सरेको रिपोर्टको पछि मात्र नलागेर चिकित्सकसँग आफूमा देखिएका लक्षणहरुबारे राम्रोसँग छलफल गरी यो समस्या भएनभएको निश्चित गर्नुपर्छ। 
त्यस्तै डिम्बाशयका क्यान्सरहरुसँग छुट्याउनका लागि सिटी स्क्यान, एमआरआइ पनि गर्नुपर्ने हुनसक्छ।

यो सिन्ड्रोममा के के समस्याहरु देखिनसक्छन्? 
पीसिओएस भएका महिलाहरुलाई निम्नलिखित समस्याहरु हुने बढी सम्भावना रहन्छ। 
इन्सुलिनले काम नगर्ने/Insulin resistance, मधुमेह, 
पाठेघरको क्यान्सर, 
उच्च रक्तचाप, 
रगतमा बोसोको मात्रामा गडबडी हुने अवस्था/Hyperlipidemia, 
मुटु सम्बन्धी रोगहरु, हार्ट एट्याक, 
बाझोपना/Infertility, 
डिप्रेसन, मानसिक चिन्ता/Anxiety आदी 


यसको उपचार के हो? 
यसको उपचार मुख्यरुपमा चार कुरामा केन्द्रित हुन्छ। 
रगतमा इन्सुलिनको मात्रामा सन्तुलन ल्याउने, मधुमेहबाट बचाउने वा त्यस्को उपचार गर्ने, 
गर्भ रहन भएको समस्याको उपचार गर्ने, 
महिलामा देखिएका पुरुषका शारीरिक परिवर्तनको उपचार गर्ने र 
महिनावारीको समस्याको उपचार र पाठेघरको क्यान्सरबाट बचाउ गर्ने। 


मोटोपना हुने, मधुमेह हुने, रगत र शरीरमा बोसोको मात्रा गडबडी हुने भएकोले कम कार्बोहाइड्रेट भएको खाना खाने, फलफूल, हरियो सागसब्जीको नियमित सेवन गर्ने, नियमित व्यायाम गर्ने गर्नाले तौल घटाउनका साथै यसमा देखिने समस्या पनि घटाउन मद्धत गर्छ। 
रगतमा इन्सुलिनको मात्रामा नियन्त्रण गर्न र मधुमेहको उपचारका लागि मेटफर्मिन/Metformin, ग्लिटाजोन/Glitazone जस्ता खाने चक्कीहरु प्रयोग गर्न सकिन्छ। 
त्यस्तै बाझोपनाको लागि क्लोमिफेन साइट्रेट/Clomiphene citrate औषधी प्रयोग गर्न सकिन्छ। यो सिन्ड्रोममा गर्भ रहन समस्या रहनुको कारण डिम्बाशयबाट नियमितरुपमा डिम्ब ननिस्कने भएर हो। यो औषधीले डिम्बाशयलाई डिम्ब उत्पादन गर्नका लागि प्रेरित गर्छ र गर्भ रहने सम्भावना बढ्न जान्छ। त्यस्तै एलएचआरएच/LHRH जस्ता हर्मोनहरु पनि प्रयोग गर्न सकिन्छ। साथै आइभिएफ/In-Vitro Fertilization वा कृत्रिम गर्भाधारण पनि गराउन सकिन्छ। 
महिलामा देखिएका पुरुषको जस्तो शारीरिक परिवर्तनहरुको उपचारका लागि साधारण गर्भनिरोधक पिल्स/Oral contraceptive pills वा एन्टिएन्ड्रोजन/Anti-androgen भएको पिल्स प्रयोग गर्न सकिन्छ। गर्भ रहन समस्या परेको अवस्थामा गर्भ निरोधक पिल्सले कसरी फायदा देला भनेर अचम्म लाग्नसक्छ। तर यसमा महिलामा हुनुपर्ने हर्मोनहरु आवश्यक मात्रामा हुन्छ, त्यसैले यसको नियमित सेवनले महिनावारी नियमित हुनुका साथै शरीरमा महिला हर्मोनको मात्रा सामान्य राखी महिलाको शारीरिक परिवर्तन फर्काउन पनि मद्धत गर्छ। तर विरामीलाई गर्भ बसाउने इच्छा छ भने पिल्सभन्दा अरु औषधीहरु प्रयोग गर्नु उचित हुन्छ। जस्तै पिसाब लगाउने औषधी स्पीरिनोल्याक्टोन/Spirinolactone को एन्टीएन्ड्रोजन असरबाट पनि फायदा लिनसकिन्छ। 


अन्त्यमा
पीसिओएस/PCOS भनेको भिडियो एक्सरेमा डिम्बाशयमा पानीका फोकाहरु देखिनु मात्र कदापी होइन। त्यसको साथमा महिनावारीमा समस्या, गर्भ रहन समस्या साथै पुरुषको जस्तो शारीरिक परिवर्तनहरु देखिने जस्ता लक्षणहरु पनि विरामीमा देखिए मात्र पीसिओएस छ भन्न सकिन्छ। त्यस्तै यसका रोगीलाई भविष्यमा उच्च रक्तचाप, मधुमेह, मुटुका रोगहरु, पाठेघरको क्यान्सर हुने सम्भावना सामान्य महिलामा भन्दा बढि रहन्छ। 

स्रोतहरु:
http://www.medicinenet.com/polycystic_ovary/article.htm#1whatis
बाँकी पढ्नुहोस् >>

Friday, September 16, 2011

लेख, प्रतिक्रिया र त्यसपछीको प्रतिक्रिया


यो लेख माइ संसारमा सेप्तेम्बर १६, २०११ मा 'आन्दोलन सर्वोच्चको फैसलाविरुद्ध हैन ढिलासुस्तीको विरोधमा' शीर्षकमा छापिएको थियो। 

माइ संसारमा प्रकाशित डा. बद्री चापागाईंले लेख्नुभएको लेख 'सर्वोच्चको फैसला विरुद्ध चिकित्सक किन आन्दोलनमा?' पढें र त्यसका प्रतिकृया स्वरुप आएका भनाइहरु पनि प्राय: सबैजसो पढें। यो सबै पढेपछि केहि कुरा लेख्न मन लाग्यो।

पहिला लेखको बारेमा केहि कुरा भनौं। लेखको शिर्षकले भनेको जस्तो मन्त्रालयको छात्रवृतिमा पढेका चिकित्सकहरु आन्दोलनमा त छन् तर त्यो सर्वोच्चको फैसलाको विरुद्धमा होइन रहेछ। मैले यहि आन्दोलनका एक सक्रिय साथीसँग कुरा गरेको थिएँ। उनी भन्दै थिएँ- "सर्वोच्चले त त्यो सेवा अवधिलाई ५ वर्ष बनाउनैपर्छ भन्ने कुरालाई गलत ठहराइ सकेको छ र जसको २ वर्ष सेवा अवधि पुगीसक्यो उनीहरुलाई क्लियरेन्स गरिदेउ भनेर मन्त्रालय र विभागलाई पनि आदेश दिईसकेको छ तर मन्त्रालय र विभागले त्यसलाई कार्यान्वयन गर्नमा ढिलासुस्ती गरिरहेको छ। र यो आन्दोलन त्यसको विरुद्धमा हो न कि सर्वोच्चको फैसलाको विरुद्धमा।"

यो बाहेक उहाँले यो लेखमा लेख्नुभएको धेरै कुरामा सत्यता छ। छात्रवृतिमा पढेका चिकित्सकहरुलाई २ वर्ष दुर्गममा सेवा गर्नुपर्ने नियम लागु भएपछि धेरै चिकित्सकहरु कहिल्यै नसुनेको र नपुगेको गाँउहरु पुगेका थिए। मेरै कति साथीहरु गाडी, मोटरसाइकल त के हिडेर जान पनि गाह्रों हुने ठाँउहरुमा पुगेर काम गरेका थिए। त्यसरी नियम बनाएर चिकित्सकहरुलाई गाँउगाँउ त पुर्याइयो तर त्यहाँ बसेर उनीहरुले काम गर्ने वातावरण छ वा छैन भनेर माथिल्लो निकायले कहिले जानकारी लिने कोशिश गर्यो त? गरोस् पनि कसरी माथिल्लो निकायमा भएकालाई मात्र प्रचारबाजीको लागि "गाँउगाँउमा डाक्टर पुर्याएका छौं है" भनेर सानसँग सबैलाई सुनाउदैंमा फुर्सद छैन। मैले यहाँ 'काम गर्ने वातावरण' भनेर कुनै सुविधा, बस्ने क्वार्टर, सुरक्षाको कुरा गरेको हैन। चिकित्सक कुनै जादुगर होइन, उसले कुनै जादुको छडी घुमाएर रोग पत्ता लगाएर अनि उपचार गर्ने। उसले रोग पत्ता लगाउनको लागि उसलाई ल्याब, एक्स-रे को सुविधा हुनु जरुरी हुन्छ, जसले रोगको राम्रो पहिचान गरी उपचार गर्न उसलाई सहयोग पुर्याउँछ। तर यहाँ गाँउगाँउमा डाक्टर पुर्याउने नाममा मात्र डाक्टरलाई त्यहाँ जाने नियुक्ति पत्र दिएर माथिल्लो निकाय आफ्नो जिम्मेवारीबाट पन्छियो। एक्सरे बोकेर जाने काम, ल्याबको काम चिकित्सकको होइन, यी सबको व्यवस्था सरकार मन्त्रालयले हेर्नुपर्थ्यो।

यही लेखका लेखक डा. बद्री चापागाईंले केहि वर्ष अगाडी एभिन्युज च्यानलको एउटा कार्यक्रममा भनेका कुरा म अझै पनि सम्झन्छु। एभिन्युज च्यानलले त्यतिबेला पश्चिमका अति पीछडिएका विभिन्न क्षेत्रका बारेमा रिर्पोटिङ गरिरहेको थियो र त्यहींको अस्पताल (शायद जिल्ला अस्पताल)मा काम गरिरहनु भएको थियो उहाँले। "विरामीको उपचारका लागि हामी हाम्रो तर्फबाट प्रयास गर्छौं, तर ल्याब, एक्सरे जस्ता सुविधा भएमा रोगको पहिचान र उपचारमा हामीलाई सजिलो हुन्थ्यो। सरकारसँग यो कुरामा ध्यान पुर्याउन माग गर्छु।" उहाँले भन्नुभएको थियो। मैले भन्न खोजेको के भने चिकित्सक मात्र पुर्याएर मन्त्रालय र नेताले प्रचार त खुबै कमाउलान् तर वास्तविकतामा त्यहाँका जनतालाई सोचे जतिको फाइदा चाँही हुदैंन। त्यसैले नियम बनाउँदा प्रचारमुखी भन्दा पनि अलि व्यवहारिक र बढि परिणाममुखी बनाउनुपर्यो र त्यही अनुरुप कार्यान्वयन पनि हुनुपर्यो।

लेखमा भएको बालकको तस्वीर शायद त्यही बेलातिरको होला। तस्वीरसँग जोडिएको उहाँको छुट्टै कथा होला, त्यो बच्चालाई ठिक बनाएर उहाँले घर नि पठाउनु भयो होला तर लेखसँग तस्वीर अलि असम्बन्धित जस्तो लाग्यो।

उक्त लेखका प्रतिक्रियाहरुको बारेमा चर्चा गर्दा केहि प्रतिक्रियाहरु अति नै तल्लो स्तरमा गरिएका छन्। ती प्रतिक्रियाहरुको बारेमा म यति मात्रै भन्न चाहन्छु। मान्छेले अरु प्रति गर्ने बोली,व्यवहारले नै उसको स्तर निर्धारण गर्छ। हुन त आजभोलि हाम्रो देशमा जताततै तातो रिस पोख्ने चलन नै चलेको छ, शायद व्यवस्थाको अस्थिरताले गर्दा पनि हो की। त्यसैले पनि त्यस्तै खालका प्रतिक्रिया धेरै आएका र त्यस्तै प्रतिक्रियाहरुमा हरियो अंक ज्यादा भएको होला। तर पनि त्यसो भनेर आफ्नो मर्यादा र सभ्यता त छोड्न भएन नि।

अरु केही प्रतिक्रियाहरु पढ्दा धेरैमा केही गलत बुझाइ/मिसअन्डर स्ट्यान्डिङ भएको जस्तो लाग्यो। त्यसलाई मेटाउने प्रयास गर्दैछु।
१. छात्रवृतिमा पढेका चिकित्सकहरु दुर्गममा गएर काम गर्नबाट भाग्न खोज्छन्।
केहीको हकमा यो सत्य होला तर धेरैजसो यसलाई एउटा मौकाको रुपमा हेर्छन्। केहि सिक्ने, केहि अनुभव बटुल्न पाउने र देश देख्न पाउने एउटा सुनौलो मौका। कतिले यो दुई वर्षले भर्खरै एमबीबीएस सकेका चिकित्सकहरुमा परिपक्वता/म्याच्युरिटी ल्याउनलाई सहयोग गर्छ नि भन्छन्। त्यसैले उनीहरुको माग नि दुर्गममा काम गर्न जानु नपरोस् भन्ने कदापी होइन। बरु त्यहाँ बसुन्जेलसम्मको अवधीलाई बढि परिणाममुखी बनाउने भन्ने हो। ल्याब, एक्सरे लगायतका सुविधा, भिडियो एक्सरे जस्ता उपयोगी जाँचहरुको ट्रेनिङ र सुविधा आदी उपलब्द गराउने मागहरु हुन्।

२. अर्को माग भनेको एम डी पढाइका लागि केही सिटहरुको व्यवस्था गर्ने भन्ने हो।
धेरैजसोको प्रतिक्रियामा चिकित्सकहरुलाई सकेसम्म गाँउमा काम गर्न लगाएर सरकारले उसमाथि गरेको खर्च जसरी नि उठाउनु बुद्धिमानी हो र ठिक हो भनेको पाइयो। तर यसलाई यसरी सोचौं न। बरु २ वर्ष दुर्गममा काम गर्न लगाउने अनि त्यो अवधीमा उसले गरेका कामका आधारमा उच्च शिक्षाका लागि उसलाई थप सहयोग प्रदान गर्ने र भविष्यमा विशेषज्ञ/स्पेसलिस्टका रुपमा गाँउगाँउमा सेवा गर्न लगाउने। त्यसो गरे कसो होला? उहाँहरुको माग पनि त्यहि हो। ५-५ वर्ष एमबीबीएसको डिग्रीमा मात्र झुण्डिएर बसेर विरामी मात्रै हेर्यो भने त पढेका धेरै कुरा विर्सिन्छ किनकी साधारण ज्वरो र झाडापखालाका विरामी मात्र हेर्दा पढेको धेरैजसो कुरा प्रयोगमा आउँदैनन्। त्यसैले बरु २ वर्षको सेवा पछि एमडीको लागि सिटहरु दिने र भविष्यमा पनि पहिलेको जस्तै गाँउमा गएर सेवा गर्ने मन्जुरीनामा गर्ने। वास्तवमा लोकसेवा आयोगबाट सरकारी अस्पतालमा काम गरेका चिकित्सकहरुलाई यस्तो सुविधा छ तर छात्रवृतिमा पढेकाहरुलाई 'करारका डाक्टर' नाम दिएर यो सुविधाबाट बन्चित गरिएको छ।

३. छात्रवृतिमा पढेका सबै विषयका सबैलाई यो नियम एकै प्रकारले लाग्नुपर्ने हो।
देशका सबै नागरिकको देशप्रति जिम्मेवारी हुन्छ, तर छात्रवृतिमा पढेका कुनै पनि विषय माथि राज्यले थप लगानी गरेको हुनाले उसको राज्यप्रति थप जिम्मेवारी हुन आउँछ। यस्तोमा यो विषय उ विषय भन्ने हुनुहुदैंन भन्ने मेरो सोचाइ छ। त्यस्तै शिक्षा मन्त्रालय अन्तर्गत छात्रवृति पाएर विभिन्न प्राइभेट मेडिकल कलेजहरुमा एमबीबीएस पढेका चिकित्सकहरुलाई मात्र होइन टिचिङ हस्पिटल महाराजगंज, वीपीकोस्वाविप्र धरानमा पढेका चिकित्सकहरुलाई पनि यस खालको नियम लागु हुनुपर्छ भन्ने मेरो सोचाइ छ। किनकि झट्ट सुन्दा मन्त्रालयबाट मात्रै छात्रवृतिमा पढेको जस्तो लाग्छ तर टिचिङ हस्पिटल, वीपीकोस्वाविप्रमा पनि पढ्दा त्यो वा त्यो भन्दा कम खर्छ लाग्छ र सरकारले उसमाथि नि उत्तिकै खर्छ गरेको हुन्छ। तर माथि भनेको जस्तो डाक्टर पठाउने नियम मात्र बनाएर जबरजस्ती लाद्ने होइन कि डाक्टरलाई सहयोगी र आवश्यक सुविधाहरु पनि गाँउगाँउमा पुर्याउनुपर्छ साथै उच्च शिक्षाका लागि सिटहरुको व्यवस्था गरिदिनुपर्छ।

कति साथीहरुले कमेन्ट गर्दा पुरा लेख पनि नपढि कमेन्ट गर्नुभए जस्तो लाग्यो। शायद व्यस्तताले हो वा कमेन्ट गर्ने हतारले हो। लेखको प्रतिकृयामा आएका चिकित्सा सेवाको व्यापारिकरण, चिकित्सकहरुबाट भएको लापर्वाही, बाटोमा एक्सिडेन्ट हुँदा सधैं गाडी र ड्राइभरकै दोस देखे जस्तै विरामीको मृत्‍युमा चिकित्सककै दोस, लापर्वाही देख्ने पुर्वाग्रही सोचाइ आदीको बारेमा अरु कुनै लेखहरुमा चर्चा गरौला। आजलाई यति नै।

बाँकी पढ्नुहोस् >>