Thursday, December 1, 2011

एचआईभी र एड्स: केही भ्रम, केही सत्य

ज डिसेम्बर १, विश्व एड्स दिवस हो। दिनानुदिन बढी रहेको यो रोगका बारेमा रहेका केही भ्रम र सत्य कुराहरुलाई यहाँ प्रस्तुत गरेको छु।


एच आई भी हुनु भनेको एड्स हुनु हो। 
भ्रम
एच आई भी (Human Immunodeficiency Virus/ HIV) ले शरीरको रोगसँग लड्ने प्रतिरोधात्मक कोषिकाहरु सीडि फोर (CD 4) लाई मार्ने काम गर्छ। एचआईभीको संक्रमण भएर सीडि फोर कोषहरुको संख्या २०० भन्दा कम भएमा वा रोग प्रतिरोधात्मक शक्ति कमजोर भएका व्यक्तिहरुमा मात्र देखिने खालका संक्रमणहरु देखिएमा त्यस अवस्थालाई एड्स (Acquired Immunodeficiency Syndrome/ AIDS) भनिन्छ। सहि औषधीको प्रयोग र नियमित जाँचबाट एचआईभी संक्रमण भएको व्यक्ति पनि वर्षौं एड्स नभई बाँच्न सक्छन्।



साधारण सम्पर्कबाट एचआईभी संक्रमण सर्दैन।
सत्य 
साधारण सम्पर्क जस्तै अँगालो मार्ने, एउटै रुमालको प्रयोग गर्ने, जुठो खाने गर्नाले एचआईभी संक्रमण सर्दैन। साधारणतया रगत लिँदादिँदा पनि यो रोग सर्दैन किनकी त्यस्तो बेला एचआईभी लगायत हेपाटाइटिस बी जस्ता सर्नसक्ने रोगहरुको परिक्षण गरिएको हुन्छ। तर असुरक्षित यौनसम्पर्क, एउटै सई प्रयोग गरेमा, राम्ररी सफा नगरिएको सामानले टाटु गरेमा यो रोग सर्न सक्छ।


एचआईभी संक्रमण भइपछि केही समय मात्र बाँच्छ। 
भ्रम
यो विरामी अनुसार फरक हुन्छ। कसैमा केही एचआईभी संक्रमण भएको केही महिनामै एड्स हुन्छ भने कतिमा दशौं वर्षसम्म पनि केही हुदैंन र शरीरमा भाइरसको मात्रा धेरै बढ्दैन। यसमा नियमित रुपमा आफ्नो चिकित्सकसँगको जाँच र औषधीहरुको सेवनले पनि सहयोग गर्छ। अमेरिकी बास्केटबल खेलाडी म्याजिक जोन्सनले आफूलाई एचआईभी संक्रमण भएको घोषणा गरेको २० वर्ष भैसकेको छ, तरपनि उनलाई आज पनि एड्स भएको छैन।


एचआईभी संक्रमण भएको लक्षणबाट नै थाहा पाउन सकिन्छ। 
भ्रम 
कति मानिसमा संक्रमणको बेलामा केही पनि लक्षणहरु नदेखिने गर्छ। कतिलाई भने संक्रमण भएको केही साताभित्र ज्वरो आउने, थकाई लाग्ने, घाँटी दुख्ने जस्ता सामान्य लक्षणहरु देखिने गर्छ। यी लक्षणहरु पनि केही हप्तापछि हराएर जान्छन् र वर्षौंसम्म केही पनि लक्षण नदेखिने र पछि एड्स हुने हुन्छ। एचआईभी संक्रमण भए नभएको जान्ने एउटै मात्र तरिका भनेको रगतको परिक्षण हो। त्यसैले शंका लागेको छ भने रक्त परिक्षण गरी चाँडै पत्ता लगाएर उपचार गर्नु उत्तम हुन्छ।


एचआईभी अन्य सन्क्रमण जस्तै औषधी खाएमा पूर्णरुपमा ठिक हुन्छ। 
भ्रम 
आजको दिनसम्म यसलाई पूर्णरुपमा निको पार्ने कुनै औषधीको विकास भएको छैन। हामीसँग भएका औषधीहरु(Anti Retroviral Therapy/ ART) ले शरीरमा एचआईभीको संख्यालाई नियन्त्रणमा राखी शरीरको रोग प्रतिरोधात्मक शक्तिलाई सामान्य राख्न र एड्सको अवस्थामा पुग्नबाट बचाउने काम गर्छन्। आफ्नो चिकित्सकसँग सल्लाह गरी रगतको जाँच गरी कुन अवस्थामा औषधी शुरु गर्न सकिन्छ, आफ्नो शरीरमा भाइरसको मात्रा कति छ (Viral Load), रोग प्रतिरोधात्मक कोषहरुको संख्या कति छ (CD4 count) भनेर थाहा पाउन सकिन्छ।


जसलाई पनि एचआईभी संक्रमण हुनसक्छ। 
सत्य
के महिला, के पुरुष, के बच्चा, के वृद्ध, यो संक्रमण कसैलाई पनि हुनसक्छ। त्यस्तै समलिङी, विपरीतलिङी सबैलाई यो संक्रमण हुनसक्छ। त्यसैले आजैदेखि यो रोगबाट बच्ने तरिकाहरु जानी राखौं र प्रयोगमा पनि ल्याऔं।


दुवैलाई एचआईभी संक्रमण छ भने यौनसम्पर्क गर्दा कण्डम लगाउनु जरुरी हुदैंन। 
भ्रम 
दुवैलाई एचआईभी संक्रमण हुदैंमा कण्डमको प्रयोग बेकार भन्ने हुदैंन। यसले सम्पर्कको बेलामा एचआईभी का अन्य प्रकारहरु र यौनसम्पर्कबाट सर्ने अन्य खालका रोगहरु (Sexually Transmitted Diseases) बाट बचाँउछ। त्यस्तै तपाईंले एचआईभीको औषधी खाइराख्नु भएको छ र तपाई स्वस्थ महसुस गर्नुहुन्छ भने पनि तपाईंले अरुलाई यो संक्रमण सार्न सक्नुहुन्छ।


एचआइभी संक्रमित आमाको बच्चालाई एचआईभी नहुनसक्छ।
सत्य
एचआईभी संक्रमित आमाले बच्चा पाउँदा गर्भाधारणको बेलामा वा सुत्केरी हुने बेलामा बच्चालाई यो संक्रमण सर्नसक्छ। तर यो शतप्रतिशतमा हुदैंन। चिकित्सकसँगको सल्लाह, औषधीको सेवन, नियमित जाँच आदीले बच्चामा यो संक्रमण सर्ने सम्भावनालाई घटाउन सकिनछ।


रोग प्रतिरोधात्मक शक्ति कमजोर भएको अवस्थामा हुने खतरनाक संक्रमणहरु (Opportunistic Infections) बाट केही गरेपनि बच्न सकिदैंन। 
भ्रम 
एचआईभी पोजिटिभ भएका व्यक्तिहरुको रोग प्रतिरोधात्मक शक्ति कम हुने हुँदा क्षयरोग, क्यान्डीडीयासीस/ Candidiasis, न्युमोसिस्टीस न्युमोनिया/ Pneumocystis Pneumonia जस्ता रोगहरु हुने सम्भावना धेरै हुन्छ। तर एचआईभीका औषधीहरुको प्रयोग र ती संक्रमणहरुबाट बचाउने औषधीहरुको प्रयोगले त्यो सम्भावनालाई कम गर्न सकिन्छ।


अन्त्यमा,
नेपाल सरकारले एचआइभी सन्क्रमणका औषधीहरु नि:शुल्क वितरण गर्ने गर्छ। त्यस्तै यो सम्बन्धी रक्तपरिक्षण सेवाहरु पनि नि:शुल्क प्रदान गरी रहेको छ। तरपनि यो सबै सन्क्रमितहरुको लागि पर्याप्त छैन। साथै यसको औषधी र यसका सन्क्रमितहरुलाई सेवा मात्र उपलब्ध नगरी अन्य सामान्य जनमानसमा यो रोग सम्बन्धी जनचेतना जगाउने काम पनि गर्नुपर्छ। हामी स्वयम् पनि जागरुक भएर यसको बारेमा जानकारी दिने र लिने गरी एचआइभी र एड्सको विरुद्धको लडाईंमा सह्भागी हुनुपर्छ।


स्रोत:
http://www.medicinenet.com/hiv_aids_myths_and_facts_pictures_slideshow/article.htm









बाँकी पढ्नुहोस् >>

Tuesday, November 22, 2011

मधुमेह सम्बन्धी जानकारी - बाँकी अंश

धुमेहका लक्षणहरु के-के होला भनेर कसैलाई पनि सोध्दा बढि भोक लाग्ने, बढि प्यास लाग्ने, बढि पिसाब लाग्ने भन्ने उत्तर पाइन्छ। तर ती भनेका पछिका वा रोगले बढि नै असर गरिसकेपछिका लक्षणहरु हुन्। त्यसैले रोगलाई पहिले नै समाएर त्यसका जटिलताहरुबाट आफूलाई बचाउनका लागि यसका सुरुका लक्षणहरु थाहा पाउनुपर्ने हुन्छ। अन्य दिर्घरोगहरुमा जस्तै यसमा पनि शुरुमा केहि पनि लक्षणहरु नदेखिन सक्छ। त्यस्तो बेलामा अघिल्लो पोष्टरमा भनिएका मध्ये मधुमेह हुनसक्ने सम्भावना भएका कुनै अवस्था वा समस्या भएमा आफूलाई मधुमेह भए नभएको जाँच गर्नुपर्छ।


के मधुमेह निको पार्न सकिन्छ त?
सकिदैंन। उचित रेखदेख र उपचारबाट यसलाई नियन्त्रणमा मात्र राख्न सकिन्छ र एक पटक यो रोग लागिसकेपछि हाम्रो प्रयास पनि यसलाई नियन्त्रणमा राखेर यसका कारणले अन्य अंगहरुमा जटिलता नआओस् भन्ने नै हुन्छ न कि चमत्कारिक रुपमा यसलाई ठिक पार्ने, जुन सम्भव पनि छैन र यसका विरामी र सामान्य व्यक्तिहरुले पनि यो बुझ्नु अति जरुरी छ।


त्यसोभने यस्तो महामारीको रुपमा फैलिदै गरेको दीर्घरोगबाट बच्ने कुनै उपाय छैन त? त्यसो होइन। यदी तपाईं मधुमेह हुनसक्ने सम्भावित सूचीमा पर्नुहुन्छ भने तल दिइएका उपायहरु अपनाएर यो रोग लाग्ने सम्भावनालाई धेरै कम गर्न सक्नुहुन्छ। यसमा पेटको गोलाई (नाइटोको वरीपरिको)/Abdominal Girth अति महत्वपूर्ण हुन्छ। यसको नाप पुरुषहरुमा ९० सेमी भन्दा कम र महिलाहरुमा ८० सेमी भन्दा कम राख्नुपर्छ। यी उपायहरु स्वस्थ जीवन शैलीका तरिकाहरु हुन्, जुन रोग लागेपछि वा रोग लाग्ने सम्भावना देखिएका व्यक्तिहरुले मात्र नभई सबैले अपनाउनु फाइदाजनक हुन्छ।


मधुमेह नियन्त्रणका उपलब्ध विधिहरु निम्न हुन्। ध्यान दिनुहोस्- औषधी र इन्सुलिन यसको पाचौं नम्बरमा परेको छ र पहिले नम्बरमा शिक्षा र ज्ञान छ। मधुमेह, उच्च रक्तचाप जस्ता दीर्घरोगहरुमा रोग लागेर उपचार गर्नुभन्दा पहिले नै रोगका बारेमा जानकारी ज्ञान लिएर त्यसलाई लाग्नै नदिने उपायहरु अपनाउनु बुद्धिमानी हुन्छ।


नियमित व्यायामले शरीरमा इन्सुलिनको कार्य प्रभावकारिता बढाई रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्छ। त्यस्तै शरीरको तौल नियन्त्रणमा राख्ने र शरीरलाई स्फूर्त राख्ने गर्छ।


मधुमेह रोग एउटा भएपनि शरीरका धॆरै अंगहरुमा यसले असर गर्छ। त्यसैले नियमित रुपमा रगतमा चिनीको मात्रा जाँचेर मात्र यसको असर र अवस्थाका बारेमा थाहा पाउन सकिदैंन। पोष्टरमा भनिएजस्तै नियमित समयमा मृगौला, आँखा, मुटु, खुट्टा आदीको जाँच गरिरहनुपर्छ।


मधुमेहका विरामीहरुमा आपतकालीन दीर्घकालीन गरी दुई थरीका जटिलताहरु देखिनसक्छन्। चिनीको मात्रा अचानक कम हुनु/Hypoglycemia बढि हुनु/Diabetic KetoAcidosis (DKA) or HyperOsmolar Non-Ketotic coma (HONK) ले विरामीको ज्यान पनि जानसक्छ। त्यसैले विरामी र उसका परिवारले यस्ता अवस्थाका लक्षण र त्यस्तो बेलामा गर्नुपर्ने उपचारका बारेमा जानकारी लिइराख्नुपर्छ। कहिलेकाही चिनीको मात्रा कम हुँदा र बढि हुँदाको अवस्थाका लक्षणहरु छुट्टयाउन गाह्रों हुनसक्छ, त्यस्तो बेलामा चिनीको मात्रा कम भएको ठानेर ग्लुकोज पानी वा गुलियो कुरा खानुपर्छ, किनकी चिनी कम हुने अवस्थाले विरामीको ज्यान तुरुन्तै जानसक्छ भने बढि हुने अवस्थामा त्यस्तो स्थिती आउन केही घण्टा वा दिन लाग्नेगर्छ साथै चिनीको मात्रा बढि भैरहेको बेलामा थप केही बढि भएमा खासै फरक पर्दैन तर चिनीको मात्रा कम हुँदा क्षणभरमा ज्यान जानसक्छ।


दीर्घकालीन रोगहरुमा धुम्रपान जस्ता कुलतले समस्या र जटिलताहरुलाई बढाउने छिटो ल्याउने काम गर्छ।


त्यसैले त्यस्ता कुलतहरुलाई चटक्कै छोडेर स्वस्थ जीवन जीउनु नै बुद्धिमानी हुन्छ।

बाँकी पढ्नुहोस् >>

Sunday, November 20, 2011

मधुमेह सम्बन्धी जानकारी

'विश्व मधुमेह दिवस' नोवेम्बर १४ को उपलक्ष्यमा यही मङ्सीर ४ गते भरतपुर अस्पतालको प्रांगणमा 'मधुमेह सम्बन्धी जानकारी मुलक कार्यक्रम' राखिएको थियो। शिक्षण अस्पताल/IOM, काठमाडौंका प्राध्यापक डा. प्रदीप श्रेष्ठको नेतृत्व र भरतपुर अस्पतालका केही मेहेनेती साथीहरुको सहयोगमा गरिएको यो कार्यक्रममा मधुमेह रोगका बारेमा विभिन्न सामान्य तर महत्वपूर्ण जानकारीहरु दिइएको थियो। कार्यक्रममा मधुमेह सम्बन्धी थुप्रै जानकारीमुलक पोष्टरहरु राखिएका थिए। ती पोष्टरहरुलाई म यो ब्लगमा क्रमैसँग प्रकाशित गर्नेछु।


मधुमेह चिनी बढी खानाले वा गुलियो कुरा धेरै खानाले हुन्छ भन्ने भ्रम धेरैलाई छ, जुन सत्य होइन। यो रोग पोस्टरमा भनिए झै इन्सुलिन/Insulin को कमी वा भएको इन्सुलिनले काम गर्न नसकी रगतमा चिनीको मात्रा सामान्य भन्दा बढी भएर लाग्ने गर्छ। 


माथि देखाइएको जस्तै मधुमेह ४ प्रकारको हुन्छ। आजभोलि संसारमा र हाम्रो देशमा पनि महामारीको रुपमा देखिन थालेको चाँही दोस्रो प्रकारको मधुमेह/Type 2 Diabetes हो र अबका जानकारीहरु यही दोस्रो प्रकारको मधुमेह सम्बन्धी हुन्। 


माथि भनिएका १० मध्ये कुनै पनि अवस्था वा समस्या भएको व्यक्तीलाई मधुमेह हुने सम्भावना बढी हुन्छ। र तपाईंमा माथिका कुनै १ भन्दा बढी अवस्थाहरु छन् भने त्यो सम्भावना झन् बढेर जान्छ। जस्तो तपाईंको परिवारमा मधुमेह छैन तर तपाईं मोटो हुनुहुन्छ, तपाईंको शारीरिक कृयाकलाप थोरै छ, तपाईंलाई उच्च रक्तचाप छ भने तपाईंलाई मधुमेह हुने सम्भावना धेरै नै बढी हुन्छ। 

'महिलाको डिम्बाशयमा पानी भएका गोलाहरु धेरै भएमा' भनेर Polycystic ovary syndrome (डिम्बाशयमा पानीका फोकाहरु हुने सिन्ड्रोम) लाई भन्न खोजिएको हो, जसमा पनि मधुमेह हुने सम्भावना बढी हुन्छ। 

क्रमश:
बाँकी पढ्नुहोस् >>

Tuesday, November 15, 2011

औषधीको प्रयोग द्वारा गरिने सुरक्षित गर्भपतन/ Medical Abortion

यस्तो लोगो राखिएको स्वास्थ्य संस्था मा मात्र सुरक्षित गर्भपतन सेवा प्रदान गरिन्छ। 

यस विधिबाट ९ हफ्ता(६३ दिन) भित्रको गर्भलाई सुरक्षित रुपमा गर्भपतन् गर्न सकिन्छ।

यो कसरी गरिन्छ, यो गर्दा के के कुरामा ध्यान पुर्‍याउनुपर्छ, कहाँबाट यो सेवा लिन सकिन्छ, कतिको प्रभावकारी छ आदीबारे केही चित्रहरु मार्फत बुझाउने प्रयास गरेको छु।


तालिमप्राप्त स्वास्थ्यकर्मीद्वारा सुचिक्रित स्वास्थ्य संस्थामा मात्र यो सेवा दिइन्छ। तर अनुगमन र कारवाहीको कमीको कारणले हाम्रो देशमा यी औषधीहरु सामान्य औषधी पसलहरुमा पनि सजिलै पाईन्छ। उनीहरुले राम्रो तरिकाले सबै कुराको जानकारी दिएर खाने तरिका राम्ररी बाबताइदिए त अलि ठिकै पनि हो तर विना तालिम र साधारण जानकारी हचुवाको भरमा विरामीलाई औषधी दिएर पठाउछन् र पछि कति जटिल समस्या लिएर स्वास्थ्य संस्थामा आइपुग्छन्।


तालिमप्राप्त स्वास्थ्यकर्मीद्वारा सुचिक्रित स्वास्थ्य संस्थामा महिलाको शारीरिक जाँच गरेर, प्रयोग गरिने औषधीको नराम्रो असर देखिने अवस्था छ, छैन निर्णय गरेर, पाठेघरको आकार छामेर ९ हफ्ता भन्दा कमको हो, होइन निस्चित गरेर मात्रै यो सेवा दिनु र लिनु पर्छ। साथै दोस्रो औषधी घरमा आँफैले नै लिन सकिने भएकोले त्यो कसरी, कुन बेला लिने, त्यसपछी शरीरमा के-के परिवर्तन आउन सक्छन, के भएमा खतरा हो भनी बुझेर स्वास्थ्य संस्था जाने आदी सबै कुराको जानकारी यो सेवा लिने बेलामै दिनुपर्छ, जुन साधारण औषधी पसलमा शायदै दिईन्छ।



गर्भपतनलाई परिवार नियोजनको साधनको विकल्पको रुपमा कदापी लिनु हुँदैन। त्यसैले सकेसम्म गर्भ रहन नदिनको लागि परिवार नियोजनका अस्थायी/ स्थायी साधनहरुको प्रयोग गर्नुपर्छ।

गर्भपतन गरेको १० दिन भित्र तुरुन्तै अर्को गर्भ रहनसक्ने सम्भावना भएकोले गर्भपतन गरिसकेपछी परिवार नियोजनको साधनको प्रयोग गर्नुपर्छ।

बाँकी पढ्नुहोस् >>

Friday, November 11, 2011

परिवार नियोजन (Family Planning)


सुरक्षित गर्भपतन (Comprehensive Abortion Care/ CAC) को १० दिने तालिम लिदैं गर्दा महिला स्वास्थ्य, परिवार नियोजन र गर्भपतन सम्बन्धी विभिन्न तरिका, फाइदा बेफाइदा लगायत यी सम्बन्धी विविध जानकारी र अनुभव सँगाल्ने मौका मैले पाइरहेको छु। मैले पाएका यिनै जानकारी र अनुभवहरुलाई यहाँ बाँड्ने प्रयास गरेको छु।

गर्भान्तरको लागि परिवार नियोजनका साधनहरु:

केहि वर्ष बिराएर बच्चा पाउनु आमा र बच्चाको स्वास्थ्यका लागि उत्तम छ।

परिवार नियोजन (Family Planning)
महिलाहरुको प्रजनन् अधिकार सुरक्षित राखी आमा र बच्चाको स्वास्थ्य राम्रो हुने दम्पतीबीच कहिले र कतिवटा बच्चा जन्माउने भनी भविष्यका लागि तयार पारिएको परिवार बच्चा संख्यालाई परिवार नियोजन भनिन्छ। यसका विभिन्न आधुनिक उपायहरु निम्नानुसार छन्।

कण्डम (Condom) 
कण्डम के हो?
कण्डम पुरुषले प्रयोग गर्ने पातलो रबरको खोल हो। यसभित्र भएको चिल्लो पदार्थले गर्दा पुरुषले आफ्नो लिङमा सजिलैसँग लगाउन सक्छन्। हरेक पटकको सहवासमा यो प्रयोग गरेमा गर्भ हुनबाट बचाउँछ। साथै कण्डमको प्रयोग गरेमा यौनरोग तथा एच. आई. भी. एड्स हुनबाट पनि बचाउँछ।

कण्डमले कसरी गर्भ रोक्छ?
कण्डम लगाएर सहवास गरेमा पुरुषको लिङबाट निस्कने वीर्य कण्डमको टुप्पामा जम्मा भई शुक्रकीट महिलाको पाठेघरमा पुग्न पाउँदैन। जसले गर्दा महिला गर्भवती हुदैंनन्। कण्डम एकपटक प्रयोग गरेपछि फेरी प्रयोग गर्नुहुदैंन। लगाईसकेको कण्डम सुरक्षित ठाँउमा फ्याँक्ने वा जलाउने गर्नुपर्दछ।

पिल्स (Pills) 
पिल्स के हो?
पिल्स भनेको महिलाले खाने परिवार नियोजनको एक भरपर्दो अस्थायी साधन हो। यो छोटो अवधिका लागि गर्भान्तर गर्न चाहने महिलालाई धेरै नै उपयोगी छ। यो चक्की हरेक दिन नबिराई खाने गरेमा गर्भ रहँदैन। तर यो चक्की खान छोडेमा महिलाले तुरुन्तै गर्भधारण गर्न सक्छिन्।
पिल्स एक साइकल (एक पुरिया)मा जम्मा २८ चक्की हुन्छन्। २८ चक्कीहरुमध्ये २१ वटा सेतो र ७ वटा खैरो रंगको हुन्छ। महिलाले चक्की खान छाडेपछि उनको प्रजनन् शक्ति चाँडै नै फर्कन्छ। यसबाट उनको महिनावारी चक्रमा कुनै असर गर्दैन। यदि चक्की खान छाडेपछि पनि महिलाले गर्भधारण गर्न सकेनन् भने यो समस्या पिल्स छोडेको कारणबाट नभई अन्य कुनै कारण हुनसक्छ भनी सो कुराको जाँच गराउनुपर्छ।

पिल्सले कसरी गर्भ रोक्छ?
मिश्रित चक्की (पिल्स)ले डिम्ब परिपक्व भई निस्कने क्रियालाई रोक्छ। जसका कारणले मासिक डिम्ब निष्काशन हुन पाउँदैन। साथै पाठेघरबाट निस्कने तरल पदार्थलाई बाक्लो बनाउँछ। त्यसैगरी पाठेघरको भित्री भागलाई पातलो बनाई गर्भ रहनबाट रोक्दछ।

डिपोप्रोभेरा (Depoprovera) 
डिपोप्रोभेरा के हो?
संगीनी सुईको नामले परिचित यो सुई महिलाले प्रयोग गर्ने परिवार नियोजनको एक भरपर्दो अस्थायी साधन हो। एउटा बच्चा पाइसकेपछि अर्को बच्चा केही वर्षको फरकमा पाउन चाहने महिलाले हरेक ३-३ महिनामा एक-एक पटक यो सुई लगाउने गरेमा गर्भ रहँदैन। एक पटक लगाएको सुईले तीन महिनासम्म काम गर्दछ।






डिपोप्रोभेराले कसरी गर्भ रोक्ने काम गर्छ?
१. महिलाको शरीरभित्रको डिम्बाशयबाट डिम्ब निस्कन दिँदैन।
२. पाठेघरको मुखमा हुने तरल पदार्थलाई बाक्लो बनाएर शुक्रकिटलाई पाठेघरमा पस्न दिँदैन।
३. पाठेघरभित्रको पत्रलाई पातलो बनाइदिन्छ जसले गर्दा डिम्ब टाँसिन पाउँदैन।

नरप्लान्ट (Norplant) 
नरप्लान्ट के हो?
नरप्लान्ट महिलाले प्रयोग गर्ने परिवार नियोजनको अति भरपर्दो अस्थायी साधन हो। यो महिलाको पाखुरामा राखिने गर्भनिरोधक साधन हो। यसले सात वर्षसम्म गर्भ रहन दिँदैन। यो नरम रबरजस्तो वस्तुले बनेको हुन्छ। यसमा सिन्थेटिक प्रोजेस्टेरोन (लेभोनरजेस्ट्रोल/Levonorgestrol) हर्मोन भरिएको हुन्छ। यी ६ वटा पातला लचिला क्याप्सुलहरु सलाइको काँटी जस्ता हुन्छन्। यो महिलाको पाखुराको माथिल्लो भित्री भागको छालामुनि तालिमप्राप्त स्वास्थ्यकर्मीले राखीदिन्छन्। यो राखेको २४-४८ घण्टाभित्र काम गर्न थाल्दछ। साथै यसलाई निकालेपछि महिलाको प्रजनन् शक्ति तुरुन्तै फर्केर सामान्य रुपमा काम गर्न थाल्दछ।

नरप्लान्टले कसरी गर्भ रोक्छ?
यी क्याप्सुलहरु महिलाको पाखुराको माथिल्लो भित्री भागको छालामुनि राखिन्छ। यो हर्मोन क्रमश: रसाएर शरीर भित्र रगतमा मिसिन्छ।
1. क्याप्सुलको मुखबाट निस्कने स्रावलाई बाक्लो र थोरै बनाइदिन्छ र शुक्रकीटलाई छिर्न दिँदैन।
2. पाठेघरको भित्री पत्रलाई (Endometrium/इण्डोमेट्रियम)पातलो बनाउँछ।
3. डिम्ब निष्काशन प्रक्रियालाई दबाएर (Suppression/सप्रेशन) राख्छ।
नरप्लान्ट लगाएको सात वर्षपछि स्वास्थ्य संस्थामा गई झिक्नुपर्छ।

कपर-टी (Copper-T) 
कपर-टी के हो?
लामो समयसम्म गर्भ निरोध गर्नको लागि महिलाको पाठेघरमा राखिने परिवार नियोजनको अस्थायी साधनलाई कपर-टी भनिन्छ। यो अंग्रेजी अक्षर 'T' आकारको हुन्छ र तीनैतिर तामाको मसिनो तारले बेरिएको हुन्छ। यसको तल्लो टुप्पोमा सेतो मसिनो धागो हुन्छ र धागो पाठेघरको मुख बाहिरसम्म निस्किएको हुन्छ जुन महिलाले छामेर थाहा पाउन सकिन्छ। यो तालिमप्राप्त स्वास्थ्यकर्मीले महिलाको पाठेघरमा राखिदिन्छन्। एकपटक राखेको कपर-टीले १२ वर्षसम्म गर्भ रहन दिँदैन। सन्तानको रहर पुगेका वा लामो समयसम्म बच्चा पाउन नचाहने महिलाको लागि यो उपयुक्त र निकै नै भरपर्दो साधन हो। यसमा कुनै किसिमको रासायनिक पदार्थ नहुने भएकोले यसले शरीरलाई कुनै असर गर्दैन।

कपर-टीले कसरी गर्भ रोक्छ?
कपर-टी लाई महिलाको पाठेघरमा राखेपछि शुक्रकीटलाई डिम्बसँग मिल्न दिँदैन अथवा डिम्बलाई पाठेघरमा बस्न दिँदैन।

आफ्नो लागि कुन परिवार नियोजनको साधन उपयुक्त हुन्छ भन्ने कुरा सम्बन्धित स्वास्थ्यकर्मीसँग सल्लाह गरेर निर्णय गर्न सकिन्छ। 
बाँकी पढ्नुहोस् >>

Wednesday, October 19, 2011

कान्तिपुर सम्पादकीय सम्बन्धमा...


कान्तिपुरको आजको सम्पादकीय पढें। चितवन मेडिकल कलेजमा भएको पछिल्लो घटनाको बारेमा लेखिएको उक्त सम्पादकीयको आशय ठिकै होला तर उक्त घटनालाई जसरी उदाहरण दिएर त्यसले आफ्नो कुरा भन्न खोजेको छ त्यो चाँही मलाई उतिसारो ठिक लागेन।

"पानीको पोका भनेर बिरामीको दाँया मृगौला झिकेर गैरजिम्मेवार र लापरवाही प्रवृतिको नमुना पेश गरे।" "पानी जमेको डल्लो र मृगौलाबीचको अन्तर छुट्याउन नसक्ने चिकित्सकले कसरी शल्यक्रिया गर्ने अनुमति पाए?"

हो, कहिलेकाहि शल्यक्रिया गर्ने चिकित्सकले पनि त्यो अन्तर छुट्याउन सक्दैनन्। त्यसैले त चिकित्सा विधामा प्याथोलोजी/pathology र रेडियोलोजी/radiology भन्ने छुट्टै डिपार्टमेन्ट हुन्छ। नांगो आँखाले हेरेर सधैं सबै अंग र रोग पत्ता लगाउन सम्भव छैन, त्यसैले त अप्रेशन गर्नु अघि एक्सरे, भिडियो एक्सरे, सिटि स्क्यान, एमआरआई, आइभीयु जस्ता रेडियोलोजिकल जाँचहरु गर्ने गरिन्छ। यस्ता जाँचहरुले अप्रेशन अघि अप्रेशन गर्ने चिकित्सकलाई रोग र रोगको अवस्थाका बारेमा बढिभन्दा बढि जानकारी दिएर अप्रेशनमा सहयोग गर्छ। त्यस्तै कहिले अप्रेशन अघि नै र कहिले अप्रेशन गरेर निकालेपछि निकालिएको मासु वा तन्तुको प्याथोलोजिकल जाँच गर्न पठाइन्छ। विभिन्न प्रकारका केमिकलहरु प्रयोग गरेर शक्तिशाली माइक्रोस्कोपहरुबाट जाँच गरेर मात्रै निकालिएको तन्तुमा कस्तो प्रकारको रोग थियो, मेलिगनेन्ट/malignant (फैलन सक्ने क्यान्सर) वा बेनाइन/benign (नफैलने खालको क्यान्सर) हो, गरिएको अप्रेशन पूर्ण थियो वा फेरी दोहोराएर गर्नुपर्ने हो आदी भनेर थाहा हुन्छ। सामान्य अवस्थाको मृगौला भएको भए त एउटा कुरा, रोगले बिग्रेर पानीको डल्लो जस्तोमा परिणत भैसकेको मृगौलालाई अनुभवी सर्जनै भएपनि कसरी चिन्ने? जसरी विमान दुर्घटनामा क्षतविक्षत भएका शवहरुलाई आफ्नै आफन्तहरुले त चिन्न नसकेर डिएनए जाँचको भर पर्नुपर्ने हुन्छ, त्यसरी नै रोगले बिग्रेर सबै कुरा एउटै डल्लो भएको मृगौलालाई चिन्न नसक्नु सर्जनको कमजोरी हो जस्तो लाग्दैन।

अप्रेशन अघि राम्ररी भिडियो एक्सरे र सिटी स्क्यान गरिनुपर्थ्यो। यस घटनामा सिटी स्क्यानको लागि विरामीका आफन्तहरुलाई सुझाव दिइएको थियो तर आर्थिक अवस्थाका कमजोरीका कारण देखाइ त्यसलाई नगर्ने भनियो। र शुरुको भिडियो एक्सरे पनि एउटा रेडियोलोजिस्टले नभएर एक एमडिजीपीले गरेका थिए। म एमडिजीपीले भिडियो एक्सरे गर्नैहुन्न भनेर भन्दिन। हाम्रा गाँउघरतिर र कतिपय शहरी क्षेत्रहरुमा पनि एमडिजीपी र कहिले त एमबीबीएस डाक्टरले पनि केहि महिनाको ट्रेनिङको भरमा भिडियो एक्सरे गरिरहेका छन्।  उनीहरुले लामो दुरी पार गरेर शहरै पुग्नुपर्ने, धेरै पैसा खर्च हुने समस्याबाट केहि भनेपनि राहत दिएका हुन्छन्। अझ रेडियोलोजिस्टको अभाव भएका कति सरकारी अस्पातलहरुमा एमडिजिपिहरुले नै त्यो सेवा दिइरहेका हुन्छन। तर सम्झनुपर्ने के हो भने कम्लिकेटेड, जटिल अवस्थाहरुमा राम्रो डायग्नोसिस र रिपोर्टिङका लागि उनीहरुले रेडियोलोजिस्टको सहयोग लिने गर्नुपर्छ वा रेडियोलोजिस्टकोमा रिफर गर्ने गर्नुपर्छ, जुन बानीको हाम्रो समुदायमा कमी छ।

माथिको केसमा अप्रेशन गरेर निकालिएको त्यो पानीको डल्लोमा मृगौला पनि हुनसक्छ भनेर विरामीका आफन्तहरुलाई राम्ररी नसम्झाइनुमा गल्ति भएको हो, रोग र रोगको फैलावट र जटिलतालाई अप्रेशन अगावै पुनः रेडियोलोजिस्टसँग भिडियो एक्स रे र सिटि स्क्यान गरेर राम्ररी नहेरी विरामीका आफन्तको आर्थिक समस्यालाई ठुलो मानेर त्यहि अनुसार चल्नुमा लापरवाहि भएको हो। तर विरामी र उसको रोगको उपचारमा र गर्नुपर्ने अप्रेशनमा केहि गल्ति भएको छैन। गल्ति अप्रेशन अघि र पछि अप्रेशनका दौरान आइपर्नसक्ने र आइपरेका जटिलताका बारेमा विरामीका आफन्तहरुलाई राम्ररी समय दिएर नबुझाइनुमा भएको हो। तर त्यसलाई नेपालकै सबैभन्दा बढि बिक्री हुने दाबी गरेको पत्रिकाको पनि सम्पादकियमा राम्ररी कुरै नबुझी लेखिनु कत्तिको सम्वेदनशीलताको प्रर्दशन हो?

हल्लैहल्लाको देश हो नेपाल, तर त्यसमा पत्रकारहरु जस्तो जिम्मेवारी बोकेका मानिसहरुले त्यस्ता अनावश्यक हल्लाहरुलाई कम गरेर सम्वेदनशील क्षेत्र भनेर भनिएको स्वास्थ्य क्षेत्रमा बढ्दो अविश्वासको खाडललाई कम गर्न सहयोग गर्नुपर्नेमा हल्लाको पछि दौडेर सत्यतालाई झन बंगाउने काम गरेका छन्। त्यो हल्ला "उपचार गर्दागर्दै मृगौलै गायब", "मृगौला नचिन्ने सर्जन", "पेटको अप्रेशन गर्दा मृगौलासमेत झिकियो" हुँदाहुँदै साधारण जनमानसमा "विरामीको अर्कै रोगको अप्रेशन गर्दा नचिनेर गल्तिले राम्रै मृगौला झिकियो" वा अझ "अप्रेशन गर्ने चिकित्सकले विरामीको मृगौला गायब गरे" भन्ने सम्म बन्न गयो। यसले विरामीको अस्पताल र चिकित्सकहरु प्रतिको विश्वासमा कस्तो धक्का पुग्न जाला सहजै अनुमान लगाउन सकिन्छ।

अस्पताल र स्वास्थ्य क्षेत्र सम्वेदनशील क्षेत्र हो तर के यो चिकित्साकर्मीको हकमा मात्र लागु हुने कुरा हो र? के पत्रकार र पत्रिकाहरुलॆ यसको सम्बन्धमा लेख्दा यसले विरामी र चिकित्सक बीच घट्दै गैरहेको विश्वसनीयताको वातावरणलाई कत्तिको नकारात्मक असर पार्छ भन्ने कुरालाई ख्याल राख्नुपर्दैन? के त्यसमा चाँही उनीहरुले सम्वेदनशीलता देखाउनु उनीहरुको नैतिक जिम्मेवारी होइन? समाजलाई जागरुक बनाउनु, समाजमा भइरहेका नकारात्मक कुराहरुलाई सबैका अघि ल्याएर प्रस्तुत गरी त्यस्ता काम गर्ने, गराउनेहरुलाई हतोत्साहित पार्नु पत्रकारहरुको धर्म हो। यो मैले भनिराख्नुपर्ने कुरा हो जस्तो लाग्दैन। तर पहिलो बन्ने होडबाजीमा, अरु पत्रिका वा च्यानलभन्दा पहिले समाचार ब्रेक गर्ने कम्पिटिसनमा समाचारको गुदी कुरा नै नबुझी एक पक्षिय हिसाबले र आफ्नो सोचाइका अनुसारले समाचारलाई बंगाएर गलत अर्थ लाग्ने तरिकाले आम मानिसका सामु प्रस्तुत गरिनु कस्तो पत्रकार धर्म हो? सम्वेदनशील क्षेत्र भनेर कुर्लने अनि त्यहि क्षेत्रका बारेमा चाँही राम्ररी कुरै नबुझी दौडने अनि सबैलाई दौडाउन खोज्ने कस्तो सम्वेदनशीलता हो? हुन त "कागले कान लग्यो" भन्दा कान छाम्न छोडेर कागको पछी दौडने १०० मीटरका धावक जस्ता पत्रकारहरुको दौडने र दौडाउने बानी केहि समय अघिको "अनुजा काण्ड"ले पनि प्रस्टै देखाएको थियो। भलै कान्तिपुरले पछी त्यसमा क्षमा माग्यो। तैपनि पत्रिका र पत्रकार भनेका अझै पनि सबैभन्दा भरपर्दा माध्यम हुन्। उनीहरुको आवाज सबैले सुन्छन् र धेरैले पत्याउछन् पनि। त्यसैले त हामी उनीहरुको व्यवहारमा र रिपोर्टिङमा धावकियपन भन्दापनि सत्यता र सम्वेदनशीलताको आशा गर्छौं।

हो, हामीमा पनि कमजोरी छ। हामी मध्ये धेरै पैसाको पछि दौडेका छौं। विरामीलाई सेवा दिने भन्दा कसरी बढि भन्दा बढि विरामी हेर्ने र लगानी उठाउने भन्ने होडबाजीमा लागेका छौं। विरामी र उसका आफन्तसँग रोग र विरामीका अवस्थाका बारेमा राम्रोसँग एकछिन कुरा गर्न हामीसँग समय हुदैंन। विरामी र उसका आफन्तलाई रोगको बारेमा जानकारी दिएर उपचारका लागि फैसला उनीहरुलाई नै लिन दिने र त्यसका लागि उनीहरुलाई सहयोग गर्ने हाम्रो बानी छैन। नाफाकै लागि खोलिएका नर्सिङ होमहरुको त कुरै छाडौं, चिकित्सकहरुमा र चिकित्सक उत्पादन गर्ने मेडिकल कलेजहरुमा पनि व्यापारिकरणको भुतले छोएको छैन भन्दा गलत हुनेछ। तैपनि जानीजानी विरामीको लागि नराम्रो सोच्ने र नराम्रो गर्ने चिकित्सक त शायदै होलान्। आफ्नो क्षमताले भ्याएसम्म र अनुभवले जानेसम्म विरामीलाई उपचार दिन प्राय: सबै चिकित्सकले खोजेका हुन्छन्। यस्तोमा विरामी र चिकित्सकबीचको बचेखुचेको विश्वसनीयताको वातावरणलाई सुधार्नमा सहयोग गर्नुको साटो भएको पनि बिगार्ने गरी वास्तविकता नै नबुझी "कान्तिपुर" जस्तो पत्रिकाको सम्पादकीय लेख्नुले हामी चिकित्सकहरुको पत्रिका र पत्रकारप्रतिको विश्वासलाई हल्लाएको छ। अत: समाचार लेख्दा समाचारको सम्वेदनशीलता र सत्यता बुझेर त्यसलाई नबंगाई, अनावश्यक र गैरजिम्मेवारपुर्ण तरिकाले रंगीचंगी नबनाई लेखिदिनुहुन समस्त पत्रकार साथीहरुमा अनुरोध छ। तपाईंहरुको पनि आशय समाज जगाउने होला तर सत्यको बाङो अर्थ नलाग्ने गरी लेखेर त्यसो गरे कसो होला?

अन्तमा सम्पादकीयकै अर्को वाक्य सापटी लिन्छु, "यो अवस्थामा सरकार, स्वास्थ्य मन्त्रालय, मेडिकल कलेजहरु, अस्पताल व्यवस्थापन, मेडिकल काउन्सिल लगायत स्वास्थ्य क्षेत्रका नेतृत्वदायी संघसंस्थाहरु गम्भीर हुनुपर्छ। जनतामा चिकित्सा पेसाप्रति उत्पन्न हुदैं गएको डर र आशंकालाई चिर्न केन्द्रित हुनुपर्छ।" यसमा म सानो कुरा थप्न चाहन्छु, यो काममा पत्रकार र पत्रिकाहरुको पनि गम्भिरताको आवश्यकता छ र उनीहरु पनि यस काममा सम्वेदनशीलताका साथ हातेमालो गर्छन् भन्ने आशा राखौं।

बाँकी पढ्नुहोस् >>

Sunday, October 16, 2011

आफ्नो आँङको भैसी नदेख्ने, अर्काको आँङको जुम्रा देख्ने


हामी नेपालीहरु कति चाँडो अर्काले जिम्मेवारी पूरा नगरेको, लापरवाही गरेको भनेर कुर्लन्छौं, तोडफोड गर्छौं। आफ्नो जिम्मेवारी के हो, आफूले त्यो पूरा गरियो, गरिएन भनेर कहिल्यै विचार गर्दैनौं। अर्काको गल्ति देखाउन, अर्कालाई "तेरो काम यो हो, तैंले यो काम राम्ररी गरिनस् है" भनेर थर्काउने, खबरदार गर्ने काममा हामी धेरै अघि छौं। तर जब आफ्नो पालो आउँछ, तब हामी मुसा लुकेजस्तो लुसुक्क त्यहाँबाट बाटो तताउँछौं (यदी केहि लाज बाकि छ भने) र त्यो पनि छैन भने बेफ्वाकको घमण्ड देखाएर त्यही बसिरहन्छौं।

अस्पताल आइरहेको कुनै विरामी इमर्जेन्सी कक्षको बाहिर बेहोस भएर लड्यो भने के गर्नुहुन्छ? उसका आफन्तलाई विरामीलाई चाँडोभन्दाचाँडो इमर्जेन्सी कक्षभित्र लैजान सहयोग गर्नुहुन्छ कि भित्र गएर त्यहाँ अर्को विरामी हेरिरहेका स्वास्थ्यकर्मीलाई "ल त्यहाँ विरामी ढलेको छ है, हेर्न जानु" भनेर आफ्नो कर्तव्य पूरा भएको ठान्नुहुन्छ? इमर्जेन्सीमा खबर गरिदिनु त ल ठिकै मान्न सकिएला तर स्वास्थ्यकर्मी गएर त्यहि ढलेकै ठाँउमा उपचार गर्ने त होइन। अनि डाक्टर त्यही गएर विरामीलाई हेरी उसलाई इमर्जेन्सी भित्र लैजानका लागि सहयोग माग्दा दिने कि नदिने? के त्यति सहयोग त मानवताको नाताले पनि दिनुपर्छ, होइन र? तर मैले त्यो सहयोग पाइनँ। खोइ मानिसहरुमा मानवता हराएको हो वा उनीहरु सम्वेदनाविहिन भएका हुन्। कुनै जरुरी काम गरेरै बसेका भएपनि एउटा कुरा। मस्त गफ हाँकेर बसेकाहरु र त्यहि विरामीलाई घेरेर 'विचरा' भनेर बसेकाहरु मात्र थिए, त्यहाँ। अनि जब सहयोग मागियो तब पालैपालो लाखापाखा लागे सबै गोहिका आँसु खसाउनेहरु।

अर्काको दु:खमा सहानुभुति देखाउनेहरु यहाँ थुप्रै भेटिन्छन्, च्वच्वच्व गर्दै "विचरा, कठै" भन्दै दु:खी मुहार देखाउने सयौं देखिन्छन् तर जब केहि सहयोगको आवश्यकता पर्छ, तब अघि सर्ने कोहि हुदैंन। ठूलो सहयोगको पनि आस गरेको होइन तर सानो सहयोग पनि पाउन यहाँ मुश्किल छ।

त्यहि घटनामा फेरि यदि अस्पतालबाट कोहि पनि हेर्न नगएर "विरामीलाई पहिले भित्र ल्याउनुस्, अनि हेरौंला" भनेर त्यसै छोडेको भए त्यो ठूलो इश्यु बन्न जान्थ्यो। "यहि अस्पतालको अगाडि विरामी ढलेको छ, के हो तपाईंहरु हेर्न नजाने, के गर्न बसेको यहाँ, विरामीको उपचार गर्न होइन, आदी आदी भनाइहरु सुन्न पाइन्थ्यो होला। के थाहा तोडफोड पनि गर्थे कि? मानौं कि सेवाको सम्पूर्ण जिम्मेवारी हामी स्वास्थ्यकर्मीले मात्रै लिएको जस्तो। सम्वेदनशीलताको दायित्व, हाम्रो काँधमा मात्र भएको जस्तो।

हामी नेपालीहरुमा आफ्नो जिम्मेवारी पहिले निभाउने अनि अर्काको दायित्व सम्झाउने बानी कहिले आउँला? आफ्नो कर्तव्य पूरा गर्ने अनि बल्ल अधिकारको कुरा गर्ने बानी कहिले आउँला? आफ्नो आँङको भैसी नदेख्ने अर्काको आँङको जुम्रा देख्ने बानी कहिले सुध्रिएला?

बाँकी पढ्नुहोस् >>