Wednesday, September 21, 2011

Polycystic ovary syndrome (डिम्बाशयमा पानीका फोकाहरु हुने सिन्ड्रोम)


यो सिन्ड्रोमको नामले महिलाको डिम्बाशयमा थुप्रै पानीका फोकाहरु हुने अवस्थालाई जनाउँछ तर यो सिन्ड्रोम त्यतिमा मात्र सिमित छैन। स्टेन लेभेन्थल सिन्ड्रोम(Stein-Leventhal Syndrome) भनेर पनि भनिने यो अवस्थामा महिलाहरुमा हर्मोनको अनियमितताको कारणले विभिन्न प्रकारका लक्षणहरु देखिन्छन्। महिनावारीमा गडबडी, महिनावारी हुदैं नहुने/ Primary amenorrhoea, थोरै हुने/ Oligomenorrhoea, भएपनि डिम्बाशयबाट डिम्ब ननिस्कने/ Anovulation, जसले गर्दा गर्भ रहन नसक्ने वा गाह्रो हुने, मोटोपना, मधुमेह, उच्च रक्तचाप जस्ता विभिन्न थरिका समस्याहरु यो सिन्ड्रोममा देखिन सक्छन्। यसलाई छोटकरीमा पीसिओएस (PCOS) पनि भनिन्छ। 
नेपालमा यसका रोगीको संख्या यतिनै भन्न सकिने गरी अध्ययन भएको छैन। तर अमेरिकामा करिब ५-१०% महिलामा यो समस्या देखिने गर्छ र बाझोपनाको एउटा प्रमुख कारणको रुपमा यो सिन्ड्रोम पर्छ। प्राय: गरेर १५-२५ वर्षभित्रको उमेरमा यो सिन्ड्रोम देखिनेगर्छ। प्राय:जसोमा महिनावारीमा समस्याहरु देखिएर यो रोग शुरु हुने भएपनि कसैकसैमा पछिसम्म पनि थाहा हुदैंन र बाझोपना भएर जाँच गर्दा मात्र यो पत्ता लाग्ने गर्छ। 


यसका लक्षणहरु के के हुन्? 
यसमा देखिने प्रमुख समस्या भनेको हर्मोनको गडबडी हो। महिलाहरुमा हुने महिला हर्मोनहरु इस्ट्रोजन/Estrogen र प्रोजेस्टेरोन/Progesterone हुन्, जुन डिम्बाशयले उत्पादन गर्छन्। त्यस्तै एलएच/LH र एफएसएच/FSH हर्मोनहरु पनि हुन्छन्, जुन पिट्युटरी ग्रन्थि/Pituitary Gland (मस्तिष्कभित्र हुने एउटा ग्रन्थि) ले उत्पादन गर्छ। यी हर्मोनहरुको स्तर र काम ठिक मात्रामा हुँदा महिलामा सामान्यरुपमा हरेक महिनामा महिनावारी हुने, महिनाको एक पटक डिम्बाशयबाट डिम्ब निस्कने र गर्भधारण सम्भव हुने र महिलामा हुने अन्य शारीरिक परिवर्तनहरु हुनेगर्छ। 
त्यसैले यो सिन्ड्रोममा महिनावारी सम्बन्धी समस्याहरु देखिने गर्छन्। महिनावारी शुरु नै नहुने, धेरै अन्तरालमा हुने, धेरै रगत बग्ने, महिनावारी भएपनि डिम्बाशयबाट डिम्ब ननिस्कने जस्ता समस्याहरु देखिने गर्छन्। त्यस्तै महिला हर्मोनको मात्रामा कमि र पुरुष हर्मोन एन्ड्रोजन/Androgen को मात्रा बढि हुने हुँदा शरीरमा पुरुषको जस्तो शारीरिक परिवर्तनहरु/Hirsutism (बढि रौंहरु आउने, दाह्रींजुंगा आउने, स्वर मोटो हुने, पुरुषको जस्तो तालु खुइलिने) हुनसक्छ। 
त्यस्तै अन्य लक्षणहरुमा मोटोपना, मधुमेह (शरीरमा इन्सुलिनले राम्रो काम नगर्ने हुँदा/Insulin resistance), घाँटी, कुइनाका छालामा कालो दागहरु/Acanthosis nigricans देखिने आदी पर्छन्। त्यस्तै रगतमा नराम्रो बोसो एलडिएल/LDL को मात्रा बढ्ने र राम्रो बोसो एचडिएल/HDL को मात्रा घट्ने, उच्च रक्तचापको समस्या देखिने पनि हुनसक्छ। 
माथिका लक्षणहरु, मुख्यरुपमा महिनावारीको गडबडी, गर्भ रहन समस्या र पुरुषको जस्तो शारीरिक परिवर्तनहरु, भएको महिलामा भिडियो एक्सरेमा डिम्बाशयमा पानीका फोकाहरु/Cysts(सिस्टहरु) देखिएमा त्यसलाई पोलिसिस्टिक ओभेरियन सिन्ड्रोम (PCOS) भन्ने गरिन्छ।


यो सिन्ड्रोम किन र कसरी हुन्छ? 
माथि भनिएजस्तै महिला हर्मोनहरु (इस्ट्रोजन/Estrogen, प्रोजेस्टेरोन/Progesterone, एलएच/LH र एफएसएच/FSH) को गडबडीको कारणले यसका लक्षणहरु देखिन्छन्। त्यसैले गर्दा नै डिम्बाशयमा पानीका फोकाहरु जस्तो देखिने गर्छ। त्यस्तै पुरुष हर्मोन एन्ड्रोजेन/Androgen को मात्रा बढ्नाले पुरुषमा जस्तो शारीरिक परिवर्तनहरु देखिने गर्छ। तर हर्मोनहरुमा त्यो गडबडी किन देखिन्छ भन्ने कुरा चाँही थाहा हुनसकेको छैन। कसैमा यो समस्या वंशानुगत रुपमा देखिन्छ भने वातावरणीय कुराहरुको पनि प्रभाव रहेको देखिन्छ। 


यो सिन्ड्रोम कसरी पत्ता लाग्छ?
कसैलाई माथि भनिए जस्तो लक्षणहरु (महिनावारीको गडबडी, पुरुषको जस्तो शारीरिक परिवर्तनहरु, अत्यधिक मोटोपना आदि देखिएको छ भने स्त्रीरोग सम्बन्धी विशेषज्ञको सल्लाह लिनुपर्छ। यी लक्षणहरु डिम्बाशयका एन्ड्रोजन उत्पादन गर्ने ट्युमरहरु, थाइरोइड/Thyroid हर्मोनको कमि, प्रोलाक्टिन/Prolactin हर्मोनको ट्युमर, स्टेरोइड/Steroid जस्ता विभिन्न औषधीहरुको लामो सेवन आदी अवस्थाहरुमा पनि देखिन सक्छन्। त्यसैले पीसिओएस भनेर भन्नुभन्दा अघि विभिन्न जाँचहरु गरी अन्य अवस्थाहरुलाई छुट्याउनुपर्छ। 


यो रोग पत्ता लगाउनका लागि माथि भनिएका जस्तै विभिन्न हर्मोनहरुको जाँच, रगतमा ग्लुकोजको मात्राको जाँच, रगतमा बोसोको मात्राको जाँच जस्ता रगतका जाँचहरु गर्न सकिन्छ। तर अलि महंगो र हाम्रो देशमा सजिलै उपलब्द नहुने यी जाँचहरु कमै मात्रामा गरिन्छ। बरु यी जाँचहरु भन्दा तल्लो पेटको भिडियो एक्सरे बढि मात्रामा गर्ने गरिन्छ। यसमा भिडियो एक्सरेमा डिम्बाशयमा पानीका फोका जस्ता आकारहरु देखिन्छन्। तर थाहा पाउनुपर्ने कुरा के हो भने यस्ता पानीका फोकाहरु हुदैंमा विरामीलाई पीसिओएस छ भन्न मिल्दैन। किनभने साधारण ओभेरियन सिस्ट, डिम्बको संक्रमण, क्यान्सर, डिम्बाशयको विकासमा हुने गडबडी जस्ता विभिन्न समस्याहरु पनि यस्तै खालका पानीका फोकाहरु देखिनसक्छन्। त्यसैले भिडियो एक्सरेको रिपोर्टको पछि मात्र नलागेर चिकित्सकसँग आफूमा देखिएका लक्षणहरुबारे राम्रोसँग छलफल गरी यो समस्या भएनभएको निश्चित गर्नुपर्छ। 
त्यस्तै डिम्बाशयका क्यान्सरहरुसँग छुट्याउनका लागि सिटी स्क्यान, एमआरआइ पनि गर्नुपर्ने हुनसक्छ।

यो सिन्ड्रोममा के के समस्याहरु देखिनसक्छन्? 
पीसिओएस भएका महिलाहरुलाई निम्नलिखित समस्याहरु हुने बढी सम्भावना रहन्छ। 
इन्सुलिनले काम नगर्ने/Insulin resistance, मधुमेह, 
पाठेघरको क्यान्सर, 
उच्च रक्तचाप, 
रगतमा बोसोको मात्रामा गडबडी हुने अवस्था/Hyperlipidemia, 
मुटु सम्बन्धी रोगहरु, हार्ट एट्याक, 
बाझोपना/Infertility, 
डिप्रेसन, मानसिक चिन्ता/Anxiety आदी 


यसको उपचार के हो? 
यसको उपचार मुख्यरुपमा चार कुरामा केन्द्रित हुन्छ। 
रगतमा इन्सुलिनको मात्रामा सन्तुलन ल्याउने, मधुमेहबाट बचाउने वा त्यस्को उपचार गर्ने, 
गर्भ रहन भएको समस्याको उपचार गर्ने, 
महिलामा देखिएका पुरुषका शारीरिक परिवर्तनको उपचार गर्ने र 
महिनावारीको समस्याको उपचार र पाठेघरको क्यान्सरबाट बचाउ गर्ने। 


मोटोपना हुने, मधुमेह हुने, रगत र शरीरमा बोसोको मात्रा गडबडी हुने भएकोले कम कार्बोहाइड्रेट भएको खाना खाने, फलफूल, हरियो सागसब्जीको नियमित सेवन गर्ने, नियमित व्यायाम गर्ने गर्नाले तौल घटाउनका साथै यसमा देखिने समस्या पनि घटाउन मद्धत गर्छ। 
रगतमा इन्सुलिनको मात्रामा नियन्त्रण गर्न र मधुमेहको उपचारका लागि मेटफर्मिन/Metformin, ग्लिटाजोन/Glitazone जस्ता खाने चक्कीहरु प्रयोग गर्न सकिन्छ। 
त्यस्तै बाझोपनाको लागि क्लोमिफेन साइट्रेट/Clomiphene citrate औषधी प्रयोग गर्न सकिन्छ। यो सिन्ड्रोममा गर्भ रहन समस्या रहनुको कारण डिम्बाशयबाट नियमितरुपमा डिम्ब ननिस्कने भएर हो। यो औषधीले डिम्बाशयलाई डिम्ब उत्पादन गर्नका लागि प्रेरित गर्छ र गर्भ रहने सम्भावना बढ्न जान्छ। त्यस्तै एलएचआरएच/LHRH जस्ता हर्मोनहरु पनि प्रयोग गर्न सकिन्छ। साथै आइभिएफ/In-Vitro Fertilization वा कृत्रिम गर्भाधारण पनि गराउन सकिन्छ। 
महिलामा देखिएका पुरुषको जस्तो शारीरिक परिवर्तनहरुको उपचारका लागि साधारण गर्भनिरोधक पिल्स/Oral contraceptive pills वा एन्टिएन्ड्रोजन/Anti-androgen भएको पिल्स प्रयोग गर्न सकिन्छ। गर्भ रहन समस्या परेको अवस्थामा गर्भ निरोधक पिल्सले कसरी फायदा देला भनेर अचम्म लाग्नसक्छ। तर यसमा महिलामा हुनुपर्ने हर्मोनहरु आवश्यक मात्रामा हुन्छ, त्यसैले यसको नियमित सेवनले महिनावारी नियमित हुनुका साथै शरीरमा महिला हर्मोनको मात्रा सामान्य राखी महिलाको शारीरिक परिवर्तन फर्काउन पनि मद्धत गर्छ। तर विरामीलाई गर्भ बसाउने इच्छा छ भने पिल्सभन्दा अरु औषधीहरु प्रयोग गर्नु उचित हुन्छ। जस्तै पिसाब लगाउने औषधी स्पीरिनोल्याक्टोन/Spirinolactone को एन्टीएन्ड्रोजन असरबाट पनि फायदा लिनसकिन्छ। 


अन्त्यमा
पीसिओएस/PCOS भनेको भिडियो एक्सरेमा डिम्बाशयमा पानीका फोकाहरु देखिनु मात्र कदापी होइन। त्यसको साथमा महिनावारीमा समस्या, गर्भ रहन समस्या साथै पुरुषको जस्तो शारीरिक परिवर्तनहरु देखिने जस्ता लक्षणहरु पनि विरामीमा देखिए मात्र पीसिओएस छ भन्न सकिन्छ। त्यस्तै यसका रोगीलाई भविष्यमा उच्च रक्तचाप, मधुमेह, मुटुका रोगहरु, पाठेघरको क्यान्सर हुने सम्भावना सामान्य महिलामा भन्दा बढि रहन्छ। 

स्रोतहरु:
http://www.medicinenet.com/polycystic_ovary/article.htm#1whatis

No comments:

Post a Comment