Tuesday, February 14, 2012

डाक्टरको प्रेमपत्र/ Doctor's Love letter


ज फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डे। सबैतिर प्रेमको रँग घोलिएको छ, मायाको संगीत गुन्जिएको छ।  रातो गुलाफ साटासाट गरिदैछन, गिफ्टहरु आदन प्रदान गरिदैछन्, माया बाडिदैछन्। अर्थात Love is in the air. र यस्तो मायाको मौसममा म र मेरो ब्लग मात्रै कसरी अछुतो रहन सकोस् त। डाक्टरको पनि आखिर मनै त हो। त्यसैले यही मायाको दिनको मौका पारेर यो काल्पनिक, रमाइलो 'प्रेमपत्र' लेखेको छु, कसैको व्यक्तिगत जीवनसँग मेल खाएमा सन्योग मात्र हुनेछ। ;)


प्रिय,

आज भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस। तिमीलाई भेटेर तिम्रो हात समाती तिम्रो आँखामा आँखा जुधाई आफ्नो मनका सबै कुराहरु भन्न मन लागेको थियो। तर हेर न कस्तो, आजकै दिन डबल ड्युटी गर्नु परिरहेको छ। त्यसैले ड्युटीबाट खुस्स टाइम निकालेर यो पत्र लेख्दैछु।

तिमीलाई पहिलो पल्ट एक वर्ष अगाडी यही हस्पिटलको गेट बाहिर देखेको थिएँ। तिम्रो सुन्दरताको तस्विर मेरो रेटिना/Retinaमा पर्ने बित्तिकै मेरो शरीरको फिजीयोलोजी डामाडोल भएको थियो। एक्कासी आएको एट्रियल फिब्रीलेसन/Atrial fibrillationले मेरो मुटु घोडाजस्तै दौडिएको थियो। पोस्चुरल हाइपोटेन्सन/Postural Hypotensionले हो की भ्यासोभेगल शक/Vasovagal shockले हो म झन्डै बेहोस भएको थिएँ। तैपनि मैले आफुलाई जसोतसो सम्हालेको थिएँ। त्यसपछिका दिनहरुमा मेरो त्यो घोडाको जस्तो मुटुलाई न त बिटा ब्लकर/Beta blockerले रोक्न सक्यो न त क्याल्सीयम च्यानल ब्लकर/Calcium channel blockerले नै। धन्न डिसी सक/DC shock दिनुपर्ने अवस्था चाँही आएन।

मेरो हिप्पोक्याम्पस/Hippocampusमा तिम्रो नै सम्झनाका केमीकलहरु बनिरहन्थे, जसलाई मेटाबोलाइज गर्ने इन्जाइमहरु शायद इन्हिविट भएका थिए वा जीन/gene लेभलमै ब्लक भएका थिए। हरदम तिम्रै ह्यालुसिनेसन/Hallucination (भिजुअल/visual, अडिटरी/auditory, गस्टेटरी/gustatory सबै) आउँदाखेरी मलाई इन्सोम्नीया/Insomniaले सताएको थियो। एमीट्रीप्टालीन/Amitriptyline र एल्प्राजोलाम/Alprazolamले पनि मेरो इइजी/EEGमा डेल्टा वेभ/Delta wave ल्याउन सकेन।

तिमीलाई भेटेर आफ्नो बिग्रेको फिजीयोलोजी, बायोकेमेष्ट्री र साइकोलोजीको बेलीबिस्तार लगाउला भनेर धेरै पटक सोचे पनि। तर सर्टटर्म मेमोरी लसले हो की प्यानिक एट्याक/panic attackले हो, हाइपोग्लोसल नर्भ/hypoglossal nerveले कामै गदैनथ्यो। तिम्रो टम्म मिलेका इन्सीजर/incisor, क्यानाइन/canine हेर्दैमा म मख्ख पर्थे र केही बोल्नै सक्दिनथे।

मन त छ तिमीलाई मेरो मुटुको एसए नोड/SA node बनाएर राखुँ, मन त छ तिम्रै सम्झनामा मेरा सबै सेरेब्रम/cerebrumको मेमोरी पावर खर्चुँ, मन त छ तिमीसँग सधैं रिसेप्टर र एगोनिस्ट जस्तो जोडिएर बसुँ। तर यी सब कुराहरु भन्नको लागि मेरो एटीपी/ATPको प्रोडक्सन नै पुगेन। आज बल्लबल्ल ग्लाइकोलाइसीस, क्रेब्स साइकल, ग्लाइकोजेनोलाइसीस, ग्लुकोनियोजेनेसीस सबै एकैपटक गराएर भनेपनि मनको कुरा खोल्न एटीपीको थुप्रो जम्मा गरेको थिएँ, तर ERको डबल ड्युटीले धोका दियो।

त्यही पनि आज यही पत्र मार्फत भनेपनि तिमीलाई भन्न चाहन्छु, दमको विरामीले अक्सिजनलाई माया गरेजत्तिकै म तिमीलाई माया गर्छु, एआरभी/ARVले एचआइभी विरामीलाई बचाएजस्तै म तिमीलाई हरेक दु:खकष्टबाट बचाएर राख्छु, एन्जाइना/Angina हुँदा मुटुले रगतलाई मिस गरेजस्तै हरपल हरक्षण तिमीलाई मिस गरिरहन्छु र डिएनएको डबल हेलिक्स मोडल/Double Helix model जस्तै तिमीसँग सधैंभरी सँगै अँगालोमा बेरिएर बस्न चाहन्छु।

तिम्रो 'पोजिटिभ फिडब्याक'को आसमा,
उही तिम्रो,
डा. प्रेमी

Happy Valentine's Day..

बाँकी पढ्नुहोस् >>

Wednesday, February 8, 2012

छोरा वा छोरी, बन्छन् कसरी - भाग २?


माथि दिइएको तस्वीरका व्यक्तिहरु महिलाहरु हुन् की पुरुषहरु?

प्रश्न देखेर तपाईंहरु अचम्म पर्नुभयो होला। यो के खालको बकवास प्रश्न सोध्यो भनेर। विकीपेडियाबाट लिइएको यो फोटो झट्ट हेर्दा यी सबै महिला जस्ता देखिन्छन्, किनभने सामाजिक रुपमा लिंग/Sex छुट्याउने भनेकै शारीरिक वनावट, बाहिरी प्रजनन अंग पुरुषको छ वा महिलाको भन्ने हेरेर हो। सामान्यरुपमा यो तरिका सही पनि हुन्छ। र यो तरिका अनुसार चित्रका व्यक्तिहरु महिलाहरु हुन्। तर यहाँ वर्णन गर्न लागिएको अवस्थामा यो तरिकाले काम गर्दैन। माथिका चित्रका व्यक्तिहरु बाहिरीरुपमा र सामाजिकरुपमा महिला हुन्, तर क्रोमोजोमको हिसाबले उनीहरु पुरुष हुन्। उनीहरुको क्रोमोजोम पनि सामान्य पुरुषको जस्तो एक्स वाई/XY छ। यो अवस्थालाई एन्ड्रोजेन इन्सेन्सीटिभिटी सिन्ड्रोम/Androgen Insensitivity Syndrome or AIS भनिन्छ।

यस्तो कसरी सम्भव हुन्छ भनेर बुझ्नका लागि यही लेखको पहिलो भाग 'छोरा वा छोरी, बन्छन् कसरी?' भन्ने पनि पढ्नुहोला।

त्यसमा भनिएजस्तै मानिसको भ्रुणमा भित्री प्रजनन अंगहरु बन्नको लागि विशेष दुई तन्तुहरु हुन्छन्। महिलाका भित्री प्रजनन अंगहरु पाठेघर, फेलोपियन ट्यव, योनीको भित्री भाग आदी बन्नको लागि मुलेरियन डक्ट/Mullerian Duct र पुरुषका भित्री प्रजनन अंगहरु इपिडिडाइमिस, भास डिफरेन्स आदी बन्नको लागि वुल्फियन डक्ट/Wollfian Duct हुन्छ। वाई/Y क्रोमोजोमले टिडिएफ/TDF-Testis Determining Factor बनाउँछ, जसले भ्रुणमा अण्डकोषको विकास गर्छ। अण्डकोषले मुलेरियन डक्टको विकासलाई रोक्न एमआईएफ/MIF-Mullerian Inhibiting Factor बनाउँछ, साथै पुरुषका भित्री र बाहिरी प्रजनन अंगहरुको विकास गर्नका लागि पुरुष हर्मोनहरु टेस्टोस्टेरोन र डिएचटी/DHT-Dihydrotestosterone बनाउने गर्छ। केही गरेर यी हर्मोनहरुको उत्पादन भएन वा यी हर्मोनहरुले काम गर्ने रिसेप्टर/receptorमा खराबी भएमा सेक्स क्रोमोजोम एक्स वाई/XY भए पनि र भित्रीरुपमा अण्डकोष र अन्य पुरुष प्रजनन अंगहरु भएपनि बाहिरी रुपमा भने महिलाका शारिरीक र प्रजनन अंगहरुको विकास हुनेगर्छ।

समाजमा जन्मको बेला छोरा वा छोरी छुट्याउने भनेको बाहिरी प्रजनन अंग हेरेर नै हो। त्यसैले माथिको समस्या भएको बच्चाको जन्म समाजमा छोरीको रुपमा नै हुन्छ, उसलाई छोरीकै रुपमा व्यवहार गरिन्छ, उ छोरीकैरुपमा हुर्कन्छ पनि। तर समस्या प्राय: गरेर पहिलोपल्ट त्यतिबेला बाहिर आउँछ, जब उसमा महिनावारी हुदैंन। यी महिलाहरुमा महिलाका भित्री प्रजनन अंगहरु जस्तै डिम्बाशय, पाठेघर आदी नहुनाले महिनावारी नहुने र सामान्यरुपमा बच्चा जन्माउन नसक्ने हुन्छन्।

तर याद राख्नुपर्ने कुरा के हो भने यो अवस्था भनेको  समलिंगी हुनु पक्कै होइन।

यो त भयो क्रोमोजोमल रुपमा पुरुष र शारिरीक रुपमा महिला हुने अवस्थाको कुरा। अब फर्टिलाइजेसन हुँदा एक्स ओ/XO भएमा अर्थात् एउटा मात्र सेक्स क्रोमोजोम भएमा के हुन्छ जानौं।

यो अवस्थालाई टर्नर सिन्ड्रोम/Turner Syndrome भनिन्छ। आमा र बुवाबाट आउने क्रमश: डिम्ब/ovum र शुक्रकिट/spermatozoon मा केही खराबी भएर बन्ने भ्रुणको क्रोमोजोममा एउटा सेक्स क्रोमोजोमको कमि हुन गएमा यस्तो अवस्था देखिन्छ। यसमा महिलाको उचाई सानो हुने, छाती फराकिलो हुने, घाँटीमा छालाको फराकिलो पत्र देखिने, कान सामान्यभन्दा तल हुने, हातखुट्टाहरु सुन्निएको हुने, स्तनको विकास नहुने, महिनावारी नहुने जस्ता समस्याहरु देखिने गर्छन्। त्यस्तै मुटुका जन्मजात समस्याहरु/Congenital Heart Diseases, मृगौलाका विकासका समस्याहरु/Horseshoe kidney, सानो र काम नगर्ने डिम्बाशयहरु/ Rudimentary ovaries पनि यो सिन्ड्रोम भएका महिलाहरुमा देखिन्छन्।

यो सिन्ड्रोमलाई पूर्णरुपमा निको पार्ने कुनै उपचार छैन। तैपनि यसमा देखिने स्वास्थ्यसम्बन्धि र अन्य समस्याहरुलाई विभिन्न उपायहरुबाट केही कम भने गर्न सकिन्छ।

सेक्स क्रोमोजोम सम्बन्धित अर्को अवस्था हो, क्लाइनेफेल्टर सिन्ड्रोम/Klinefelter Syndrome। यसमा सेक्स क्रोमोजोम एक्स एक्स वाई/XXY हुन्छ र यी शारिरीकरुपमा पुरुष हुन्छन्। हेर्दा सामान्य नै देखिने भएपनि यिनमा पुरुषका शारिरीक र प्रजनन अंगहरुको पूर्णरुपमा विकास भएको हुदैंन। अण्डकोषको आकार सानो हुने, काखी मुनि रौं, दाह्रींजुंगा नआउने, महिलाको जस्तो गुप्तांगको रौं/pubic hair को विकास हुने, महिलाको जस्तो स्तन बढेर जाने/gynaecomastia आदी हुन्छ। त्यस्तै यो सिन्ड्रोम भएका पुरुषहरुमा अण्डकोषको क्यान्सर, स्तनको क्यान्सर र हाडजोर्नीको रोग ओस्टियोपोरोसिस/Osteoporosis देखिने सम्भावना सामान्य भन्दा बढि हुन्छ। शारिरीक बनावट महिला जस्तो देखिने यी पुरुषहरु शुक्रकीटको उत्पादनको कमिका कारणले बच्चा जन्माउन नसक्ने/Infertile हुन्छन्।

यस्ता वंशानुगत अवस्थाहरु समस्याहरुका बारे हाम्रो देश, समाजमा प्राय: नसुनिने भएपनि नहुने चाँही पक्कै होइन। शिक्षा, जनचेतनाको कमि, सामाजिक परिवेशका कारणले यी अवस्थाहरु प्राय: गरेर लुकाइन्छ नै। र चिकित्सकसम्म पुगे पनि जाँचका उपायहरुको सर्वसुलभताका कमिका कारण पत्ता लाग्न गाह्रों हुने गर्छ। विकसित मुलुकहरुमा भने हरेक खालका रोग वा अवस्थाहरुका बारेमा जनचेतना दिनुका साथै ती समस्या भोगीरहेका व्यक्ति वा परिवारहरुले एकआपसमा सहयोग गर्न, शिक्षा, जानकारी आदनप्रदान गर्न विभिन्न संस्थाहरु खोलेका हुन्छन्। यस्ता समस्या भएका महिलाहरुको सहयोगको लागि भनेर बनेको एउटा समुह 'एन्ड्रोजन इन्सेन्सीटिभिटी सिन्ड्रोम सर्पोट ग्रुप/Androgen Insensitivity Syndrome Support Group-AISSG' पनि हो। नेपालमा यस्ता ग्रुपहरु हुदैं नभएका भने होइनन्। 'नेपाल अपुष्ट-रक्तकोष समूह' रगतको एउटा आनुवंशीय रोग 'थालासेमीया/Thalassemia'का बारेमा जानकारी दिने र त्यसका समस्या भोगीरहेका विरामी र परिवारलाई सहयोगका लागि शुरु गरिएको संस्था हो।

यस्ता वंशानुगत रोग वा सिन्ड्रोम/ Genetic Disease or Syndromeहरुको उपचार खासै सम्भव हुदैंन, मात्र त्यसमा देखिने विभिन्न खालका समस्याहरुको उपचार गर्ने गरिन्छ। त्यसैले यस्ता समस्याहरुको गर्भ रहँदाको अवस्थामै एम्नियोसिन्टेसिस/ Amniocentesis गरी क्रोमोजोमल एनालाइसिस/ Chromosomal Analysis गरी पत्ता लगाएर उपचार गर्नु वा त्यो गर्भ पतन गर्ने वा के गर्ने भनेर पतिपत्नीलाई निर्णयको अधिकार दिनु राम्रो हुन्छ। त्यस्तै यस्ता विभिन्न वंशानुगत रोगहरुको बारेमा पनि समाजमा जनचेतना जगाउनु आजको आवश्यकता हो। नत्र दैवले ठगेको, पूर्वजन्मको पापको फल भन्दै यस्ता रोगहरुलाई सधैं लुकाइन्छ वा उनीहरुलाई सधैं समाजले नराम्रो दृष्टिले हेरिरहन्छ।

केही दिन अघि 'न्युज 24' मा आफ्नो अंगहरु आफैं टोक्ने लक्षण हुने एउटा अति नै दुर्लभ वंशानुगत रोग 'लेस निहान सिन्ड्रोम/Lesch Nyhan Syndrome' को बारेमा समाचार दिइएको थियो, जुन सह्रायनीय कार्य हो। मिडियाले यस्ता रोग, समस्याहरुलाई समस्याको रुपमा मात्र अगाडि नल्याइ त्यसका बारेमा सम्बन्धित बिषयका चिकित्सक वा विशेषज्ञलाई पनि सोधेर पूर्ण समाचार दिँदा समाजमा साँचो र चेतनामुलक जानकारी पुग्न जान्छ।



स्रोतहरु:


बाँकी पढ्नुहोस् >>

Tuesday, January 24, 2012

मधुमेह रोगीले के खान हुन्छ, खानु हुदैंन?


धुमेह रोगीहरुले यो खान नहुने, त्यो खान नहुने, यो बार्नुपर्ने, त्यो बार्नुपर्ने भनेर भनिन्छ। विकसित देशहरुमा डायटिसियनसँग छलफल गरेर खानाको बारेमा राम्रो जानकारी लिएर त्यसै अनुसार गर्ने गर्छन्। हाम्रो देशमा त्यो अलि सम्भव हुदैंन। चिनीरोगीको खाना भनेको एक छाक सुख्खा रोटी, एक छाक उसिनेको चामलको भात, चिनी नहालेको चिया यस्तैयस्तै हुन्छ। गुलियो कुरा केही नि खानु हुदैंन, माटोमुनि फल्ने आलु, पिडालु खानुहुदैंन भन्ने गरिन्छ। आज मधुमेहका रोगीले के खान हुने, के नहुने बारे चित्रहरुका मार्फत केही जानकारी दिने प्रयास गर्दैछु।

वास्तवमा भन्ने हो भने मधुमेहका रोगीले (र सकेसम्म सबैले पनि)खानुपर्ने खाना भनेको 'सन्तुलित खाना/Balanced Diet' नै हो। चित्रमा देखाएको खानाहरुको समिश्रणलाई 'प्लेट मोडल' भनिन्छ अर्थात् सम्पूर्ण खानालाई एउटा प्लेट मानेर त्यसको कति भाग के खाने भनेर बाडिएको मोडल। जस्तो माथिको चित्रमा एक छाकको खाना/एक प्लेटलाई बराबर तीन भागमा बाँडिएको छ। एक भागमा कार्बोहाइड्रेट, दोस्रोमा भिटामीन र खनिज पदार्थ र तेस्रो भागमा प्रोटिन र चिल्लो पदार्थ राखिएका छन्। चित्रमा कार्बोहाइड्रेट, भिटामीन, खनिज, प्रोटिन, चिल्लो पदार्थ पाउने खानाहरु पनि देखाइएका छन्। त्यसैले मधुमेह रोगीहरुले पनि सबै खालका खानाहरु खान हुन्छ तर सन्तुलित रुपमा खानुपर्ने हुन्छ। सामान्य अवस्थामा खाना सन्तुलित नभए पनि तत्कालै खासै फरक पर्दैन तर मधुमेह रोग लागेपछि भने खाना सन्तुलित हुनु अति जरुरी हुनजान्छ, जुन गर्न अलि गाह्रैं हुन्छ। त्यसैले प्राय: चिकित्सकहरुले सजिलोको लागि गुलियो पदार्थ, चामलको भात नखानु भन्छन्, तर ती खानै नहुने भने पक्कै होइन।

शरीरमा चिनीको मात्रा नियन्त्रित राख्नु अति जरुरी हुन्छ। सामान्य अवस्थामा यो काम इन्सुलिन र अन्य हर्मोनहरुले आफैं गरिरहेका हुन्छन्। तर मधुमेह भएपछि त्यो सम्भव हुदैंन र रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने जटिल काम विरामी आफैंले परिवार, चिकित्सक र औषधीहरुको सहयोगमा गर्नुपर्ने हुन आउँछ। चिनीको मात्रा नियन्त्रित राख्न सकिएमा मधुमेहका खराब असरहरुलाई धेरै कम गर्न र पछाडी सार्न सकिन्छ।

मधुमेहमा पोषण सम्बन्धी पालना गर्नुपर्ने केही महत्वपूर्ण बुँदाहरु चित्रमा दिइएका छन्। माथि भनिए जस्तै यी कुराहरु मधुमेह रोगीका लागि मात्र नभएर सबैजनाले अपनाउनु सबैभन्दा उत्तम हुन्छ। त्यस्तै घरमा मधुमेह रोगीका लागि भनेर छुट्टै प्रकारको खाना बनाएर छुट्याउनु पनि हुदैंन। बरु घरका सबैजनाले सन्तुलित खाना खानु उचित हुन्छ।

कार्बोहाइड्रेट खानामा हुने शक्तिको प्रमुख स्रोत हो। त्यसैले यो अति जरुरी हुन्छ। दिनभरी चाहिने जम्मा क्यालोरी शक्तिको ५० देखि ६०% कार्बोहाइड्रेटबाट लिनुपर्छ। त्यसमा खस्रोपना भएका खानाहरु/Fibre Dietsको बढी मात्रामा प्रयोग गर्नुपर्छ, त्यो भन्नाले उसिना चामल, मिलमा नपिनीएको चामल, ब्राउन राइस, मकैको पिठो, गहुँको पिठो आदी पर्छन्।

माछामासु, अण्डा, दूधदही पनि खान नहुने भन्ने होइन। यिनमा प्रोटिनको मात्रा प्रशस्त हुन्छ र शरीरको वृद्धिविकास, मर्मतसम्भारको लागि यो आवश्यक हुन्छ। त्यसैले चिल्लो कम भएका प्रोटिनयुक्त खानाहरु आवश्यक मात्रामा खान जरुरी हुन्छ। मधुमेहका कारणले मृगौलामा समस्या देखापरेमा भने चिकित्सकको सल्लाहमा प्रोटिनयुक्त खानाको मात्रा घटाउनुपर्ने हुनसक्छ।

भिटामीन, खनिज पदार्थ भएका हरियो सागसब्जी, फलफूलहरु पनि आवश्यक मात्रामा सेवन गर्नुपर्छ। रेशादार खानाहरुले खानापछि रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्न, रगतमा बोसो कोलेष्टेरोलको मात्रा नियन्त्रणमा राख्न, कब्जियतको समस्या कम गर्न, रक्तचाप नियन्त्रणमा राख्न मद्दत गर्ने गर्छ।

चिल्लो पदार्थ पनि हाम्रो शरीरका लागि आवश्यक हुन्छ। तसर्थ यो पनि प्रयोग गर्नुपर्ने हुन्छ तर आवश्यक मात्रामा मात्र र स्वर्थवर्धक तेलको प्रयोग गर्नुपर्छ। के हो त स्वस्थवर्धक तेल भनेको? मुटुको लागि राम्रो मानिने बोसो HDL/एचडिएलको मात्रा बढाउने र हानिकारक बोसो(LDL)लाई घटाउने खालका तेलहरु (जस्तै चित्रमा हरियो बक्समा देखाइएका तेलहरु)लाई स्वस्थवर्धक तेल भनिन्छ। कुन तेल स्वस्थवर्धक हो र कुन होइन भनेर सजिलै थाहा पाउन- जुन तेल सामान्य तापक्रममा तरल हुन्छ, ती सामान्य तापक्रममा जम्ने तेल वा घ्युभन्दा स्वस्थवर्धक हुन्छन्। रातो बक्समा भएका तेल, घ्युहरु स्वास्थ्यका लागि हानिकारक हुन्, तिनीहरुको सेवन सकेसम्म कम गर्नुपर्छ। त्यस्तै ओमेगा-3 बोसो भएको माछाको सेवन पनि स्वास्थ्यको लागि राम्रो मानिन्छ।

माथिका खानाहरुको साथसाथै पानी पनि प्रशस्त मात्रामा सेवन गर्नुपर्छ। दिनभरमा कम्तिमा ६ देखि ८ गिलास पानी सेवन गर्ने गर्नुपर्छ।

अन्त्यमा,

मधुमेहका रोगीले खान नहुने र अन्य सबैजनाले पनि सकेसम्म कम खानुपर्ने केही खानेकुराहरु र भोक लागेमा थप खान सकिने खानाहरु:
खाना सम्बन्धी उचित ज्ञान लिइ आफ्नो जीवन सहज, सरल र सुखद बनाऔं।   
बाँकी पढ्नुहोस् >>

Tuesday, January 3, 2012

ज्युँदोमा नि:शुल्क, मरेपछी स:शुल्क..


नेपाल सरकारका नियमहरुले पनि बेलाबेलामा अचम्मै पार्ने गर्छ। अति पिछडिएका, लोपोन्मुख जातिका नेपालीहरुलाई सरकारले नि:शुल्क औषधी उपचार गर्ने भनेर नियम बनाएको छ। त्यसै अनुसार सरकारी अस्पतालहरुमा चेपाङ, बोटे जस्ता जातिका विरामीहरुको 'सकेसम्म' सम्पूर्ण औषधी उपचार नि:शुल्क हुने गरेको छ। 'सकेसम्म' भनेर चाहीं किन भन्नुपरेको भने कहिलेकाहीं उपचारका क्रममा अस्पतालमा नि:शुल्क भनेर सरकारले उपलब्ध नै नगराएको कुनै औषधी चलाउनुपर्ने हुन्छ अथवा अस्पतालमा हुदैंनहुने जाँचहरु जस्तै सिटी स्क्यान, एमआरआई गराउनुपर्ने हुन्छ, त्यस्तो बेलामा विरामीले उक्त औषधीको वा जाँचको खर्च आफैंले गर्नुपर्ने हुन आउँछ। तर ती अवस्थाहरुमा बाहेक अन्य सामान्य अवस्थामा नेपाल सरकारको नियम अनुसार सरकारी अस्पतालमा त्यस्ता जातिका विरामीहरुलाई नि:शुल्क नै उपचार गरिन्छ।

त्यसो भने अचम्म पर्ने कुरा चाहीं के भयो त भनेर तपाईंहरुले सोध्नुहोला।

भयो के भने हिजो मात्र यहाँको सरकारी अस्पतालमा चेपाङ जातिको एक जना विरामी ल्याइएको थियो। विरामीको अवस्था साह्रैं नै चिन्ताजनक थियो। २-३ महिनादेखिको विरामी संक्रमण शरीरभरी फैलेर सबैतिर असर गरिसकेको अवस्था थियो। ज्वरो १०२ डिग्री, शरीर जन्डिसले पूरै पहेंलो भएको र रक्तचाप पनि साह्रै नै कम थियो। विरामीको उपचार तुरुन्तै शुरु गरियो, नि:शुल्क रुपमा अस्पतालभित्रकै औषधीहरु चलाइयो र जाँचहरु पनि गरियो। तर दुर्भाग्यवश उपचारको क्रममा विरामीको मृत्यु भयो। विरामीको परिवारलाई त्यसबारे जानकारी दिएर मृत शरीरलाई जिम्मा लगाइयो। रात परिसकेको र पैसा अभावका कारणले उनीहरुले लाश घर लैजान नसक्ने र आज अस्पतालमै राख्ने निर्णय गरे। तर लाशलाई रातभर नै वार्डमा राख्न मिल्दैनथ्यो। त्यसैले लाशघरमा लगेर राख्ने सल्लाह दिइयो। तर अचम्म के भने उपचार नि:शुल्क गर्ने भन्नॆ नियमले लाशघरलाई चाहीं नछुँदो रहेछ। ज्युँदो हुँदा नि:शुल्क उपचार गराउनु भन्ने सरकारले मरेपछि नि:शुल्क लाशघरमा राख्ने व्यवस्था चाँही नगरेको रहेछ। अस्पताल क्षेत्रका हरेक सुविधा निशुःल्क भनेर नियम बनाएको भएपनि त हुन्थ्यॊ नि। रातभर वार्डमै राख्ने कि लाशलाई निकालेर बाहिर राख्ने कि यताउता केही गरेर एकरातको लागि लाशघरमा राख्ने व्यवस्था मिलाउने कि भन्ने अन्योल सिर्जना भयो। यी दुविधाहरुका बीच रुमल्लिरहेको बेला घडीले ८ बजेको संकेत दियो र अर्को साथीलाई ह्याण्डओभर दिएर म आफ्नो घरतिर लागें।

कहिलेकाहीं यस्ता नियमहरुले पनि अफ्ठ्यारो स्थितिको सिर्जना गर्छ। कति बेला गरिब विरामीहरुको उपचारका लागि पैसा हुदैंन, तुरुन्त नि:शुल्क गराएर उपचार शुरु गर्नुपर्ने हुन्छ। तर नि:शुल्क गराउनका लागि मेडिकल सुपरिटेन्डेन्टको हस्ताक्षरको आवश्यकता पर्छ, जुन भन्ने वित्तिकै सधैं पाउन सकिदैंन। हुन त सुविधाको दुरुपयोग नहोस् भनेर यस्ता नियमहरु बनाइएका होलान् तर यिनले बेलाबेलामा कामको गतिमा अवरोध ल्याउने गर्छन्। सरकारी अस्पताल र अन्य कुनै पनि सरकारी कार्यालयको कामको गति यस्तै कम व्यवहारिक नियमहरु र दृष्टिकोणहरुका कारण बदनाम भएका त होइनन्?


बाँकी पढ्नुहोस् >>

Thursday, December 29, 2011

मधुमेह र खुट्टाको हेरविचार/ Diabetic Foot Prevention


धुमेह एउटा दीर्घरोग हो र लामो समयमा यसले शरीरका विभिन्न अंगहरुमा खराब असर पार्छ। ती मध्ये डायवेटिक फुट/Diabetic Foot अर्थात् मधुमेह रोगमा देखिने खुट्टामा हुने घाउ र त्यसका कारणले औंला खुट्टा नै काट्नुपर्ने समस्या पनि एउटा हो।

चित्रमा भनिएका आधारमा नै अनुमान लगाउन सकिन्छ कि समस्या कति भयानक छ भनेर। तर उचित स्वास्थ्य उपचार सावधानीका उपाय र हेरविचारले यो समस्या ८५% सम्म कम गर्न सकिन्छ।

सबैभन्दा पहिले यस्तो समस्या किन आउँछ त्यो बारे केही बुझौं।

मधुमेहका कारणले पर्ने विभिन्न समस्याहरुमा शरीरका स्नायुहरुमा पर्ने खराब असर (डायवेटिक न्युरोप्याथी/Diabetic Neuropathy), सानाठुला रगतका नलीहरुमा पर्ने खराब असर (माइक्रो-म्याक्रो भास्कुलर कम्लिकेसन/Micro-macro vascular complications)हरु पनि पर्दछन्। यी असरहरु विशेष गरी शरीरमा लामो समयसम्म ग्लुकोजको मात्रा आवश्यकताभन्दा बढि भइरहेमा विस्तारै देखिन थाल्छन्। स्नायु/नसाहरुमा परेको असरका कारणले मधुमेहका विरामीका खुट्टाहरुमा दुखाइ, तातोचिसो थाहा पाउने शक्ति विस्तारै घट्दै जान्छ। जसका कारणले राम्रोसँग हेरविचार नगरेमा खुट्टामा घाउ हुनजाने सम्भावना बढेर जान्छ। त्यस्तै रक्तनलीहरुमा पर्ने असरका कारणले ती भागहरुमा राम्रो रक्तसंचार हुन पाउँदैन र घाउ राम्रोसँग ठिक नहुने, बढेर जाने र औंलाहरु मरेर जाने पनि हुन्छ।


चित्रमा देखाए जस्तै मधुमेहमा खुट्टामा रक्तसंचारमा कमि आई त्यसको रंग परिवर्तन हुँदैजाने, औंलाका कापहरु(जुन प्राय: राम्ररी सफा गरिदैंन)मा संक्रमण हुने, घाउ हुने, खुट्टाका औंलाहरु क्रमश: बांगो हुँदैजाने, घाउहरु बढ्दै गएर मरेर जाने, कालो हुने (ग्यांगरिन/Gangrene बन्ने) आदी समस्याहरु देखिन जान्छ। जसको समयमा उपचार नगरे संक्रमण शरीरभरी फैलेर विरामीको मृत्यु पनि हुनसक्छ। साथै उपचारका क्रममा खुट्टा वा खुट्टाका औंलाहरु काट्नुपर्ने हुनजान्छ।

मधुमेह रोगीहरुमा खुट्टाका यस्ता समस्याहरुबाट बच्नका लागि के गर्न सकिन्छ त? 

पहिलो कुरा त खुट्टाको हेरविचार नै हो। आफ्नो अनुहारको जस्तै खुट्टाको पनि हेरविचार गर्नुपर्छ। हरेक दिन सुत्नुभन्दा अघि खुट्टाको सरसफाइ गर्नुका साथै राम्रोसँग सुख्खा पनि राख्नुपर्छ। धेरै सुख्खा खालको छाला छ भने हल्का भ्यासलिन लगाएर छाला नरम राख्नु राम्रो हुन्छ। त्यस्तै नंग काट्दा भित्रसम्म छोटो गरेर काट्नु हुदैंन।


त्यस्तै नांगो खुट्टा कहिल्यै हिड्नु हुदैंन। हिटर, आगोमा खुट्टा सेक्नु हुदैंन।


राम्रोसँग जाँच गरेर मात्र जुत्ता लगाउने गर्नुपर्छ। जुत्ताभित्र पहिले हात छिराएर राम्रोसँग जाँचेर मात्र आफ्नो खुट्टा छिराउने गर्नुपर्छ। आफ्नो खुट्टाको नाप अनुसारको जुत्ता लगाउनुपर्छ।

नियमितरुपमा व्यायाम गर्ने गर्नुपर्छ, जसले गर्दा खुट्टामा रक्तसंचार राम्रोसँग भएर डायबेटिक फुट हुने सम्भावना कम रहन्छ।


कुनैपनि कस्सिने वस्तुहरु खुट्टा वा खुट्टाका औंलामा नलाऔं।


खुट्टामा देखिएको समस्याका आधारमा चिकित्सकलाई कतिकति समयमा देखाउनुपर्छ भन्ने जानकारी तलको चित्रमा दिइएको छ। 


र अन्त्यमा, 



धुम्रपानले शरीरका रक्तनलीहरुलाई पनि खराब असर पार्ने भएकोले डायबेटिक फुटको समस्यालाई धेरै गुणाले बढाउने गर्छ। त्यसैले धुम्रपान त्याँगौं र बेलाबेलामा चिकित्सकको सल्लाह लिन नहिच्किचाउँ।


बाँकी पढ्नुहोस् >>

Friday, December 16, 2011

अर्काको गल्तिबाट सिक्नु राम्रो हुन्छ।


केही दिन अघि भारतको कोलकाताको एउटा ठुलो प्राइभेट नर्सिङहोम एएमआरआई/AMRI (एडभान्स्ड मेडिकेर एण्ड रिसर्च इन्सिच्युट)मा आगलागी भएको घटना त धेरैले थाहा पाउनु भएकै होला। उक्त घटनामा हालसम्म विरामी र अस्पतालका कर्मचारी गरेर करिब ९६ जनाको मृत्यु भैसकेको पुष्टि भएको छ। धेरै जनाको मृत्यु आगोका कारणले भन्दा पनि धुँवामा निसास्सिएर भएको थियो। आगलागी हुँदा सुचना दिने फायर अर्लामको प्रयोग नभएको, आगलागीलाई रोक्ने उपकरणहरु जडान नगरिएको, बचाउकार्य ढिलो शुरु गरिएको जस्ता थुप्रै कारणहरुले गर्दा त्यति ठुलो संख्यामा मानिसहरुको मृत्यु भएको भनेर प्रारम्भिक छानविनमा भनिएको छ।

कारण जेसुकै भएपनि यो हेलचेक्राइको एउटा चरम विन्दु हो। अस्पताल जस्तो सम्वेदनशील क्षेत्रमा आकस्मिक भवितव्य पर्दा अपनाइनुपर्ने सुरक्षाका उपायहरु बारे बेलैमा नसोचिनु भनेको लापरवाहीको उच्च नमुना हो। प्राइभेट अस्पताल नै हो, सेवा दिनका लागि मात्र त पक्कै बनाइएको होइन, व्यवसायकै लागि खोलिएको हो। तर पनि व्यवसायमा उपभोक्ताप्रतिको जिम्मेवारी भन्ने कुरा पनि त हुन्छ। हाम्रो देश र केही छिमेकी देशहरुमा व्यवसायमा व्यवसायिकता/Professionalism को कमि देखिन्छ। नाफाका लागि खोलिएको भन्दैमा सामाजिक जिम्मेवारीको बोध नगरी आफ्ना सेवाग्राहीहरुको सुविधा र सेवालाई चटक्कै बिर्सेंर व्यापार मात्र गरिएको उदाहरण यहाँ थुप्रै देख्न पाइन्छ।

हुन त यो विकासशील देशहरुमा प्राय: गरेर देखिने समस्या हो। तर विकास हुनुनहुनुसँग भन्दा पनि नियम कानुन कतिको कडा छ, मानिसहरुमा जिम्मेवारीपन कत्तिको छ भन्नेसँग यसको बढि सम्बन्ध छ। विकसित देशहरुमा ससाना देखि लिएर ठुला घरहरुमा सुरक्षाका यस्ता उपकरणहरु, आपतकालीन अवस्थामा निस्कनका लागि आकस्मिक ढोकाहरु आदी सबैको व्यवस्था गरिएको हुन्छ र कानुनले पनि ती विनाका घरहरुको निर्माण गर्न रोक लगाएको हुन्छ। तर हाम्रोमा केकस्तो हुन्छ सबैलाई थाहा भएकै कुरा हो।

यस्तै अर्को उदाहरण आजका समाचारपत्रहरुमा देखियो। विषाक्त मदिराको सेवनले भारतमा लगभग १४३ जनाको मृत्यु। स्थानीय रुपमा बनाइएको मदिरामा स्वाद बढाउन र थप कडा पार्नका लागि मिसाइएको एमोनियम नाइट्रेट र अन्य रसायनहरुका कारण यस्तो समस्या देखिएको भनाइ छ। यो त के मिसाइएको थियो, मिसाएको रक्सी सेवन गर्दा के भयो भन्ने कुरा भयो। तर किन यस्तो घटनाहरु दोहोरिरहन्छ, भइरहन्छ भन्ने प्रश्नको फरक पाटो छ। माथि भनेको जस्तै नियममा कडाइ, व्यापारीहरुमा व्यावसायिकताको कमि र उपभोक्ताहरुमा जागरुकता र शिक्षाको कमिले पटकपटक यस्तो हुनेगर्छ।

यी त छिमेकी देशका घटनाहरु भए। तर हाम्रो देशमा पनि यस्तो नहोला भन्न कदापी सकिदैंन। राम्रो संरचना, सुरक्षाका उपायहरु विना खोलिएका प्राइभेट अस्पतालहरुमा कुनै दिन यस्तै दु:खदायी घटना नहोला भन्न सकिदैंन। तर कुरा प्राइभेट अस्पतालहरुको मात्र चाहीं पक्कै होइन। सरकारी अस्पतालका भवनहरुमा पनि सुरक्षाका उपायहरु अपनाइएको देखिएको छैन। आपतकालीन अवस्थामा बाहिर निस्कने आकस्मिक बाटोहरु/ Emergency exits, बाहिर निस्कने बाटोहरुको बारे जानकारी, आगो लागेमा सुचना दिने फायर अर्लाम, आगो निभाउन प्रयोग गरिने उपकरणहरुको व्यवस्था जस्ता आपतकालीन अवस्थाका व्यवस्थाहरु गरिनुपर्छ। साथै यस्ता आपतकालिन अवस्थाहरुमा के गर्ने भनेर आममानिसहरुलाई नि शिक्षा दिनुपर्छ। त्यस्तै यहाँ नीतिनियमहरुमा कडाइ, व्यापारीहरुमा जिम्मेवारीपन र उपभोक्ताहरुमा पनि जागरुकताको टड्कारो खाँचो देखिन्छ।

तर आफैंलाई परेर मात्र चेत्ने हामी नेपालीले के अरुको गल्तीबाट केही सिकौंला त? 

बाँकी पढ्नुहोस् >>

Monday, December 12, 2011

छोरा वा छोरी, बन्छन् कसरी?



स्याउ किन तल झर्छ भन्ने न्युटनलाई झक्झकाउने प्रश्न जस्तै सामान्य जनजीवनमा यो प्रश्न कमै मानिसको मनमा आउँछ होला। तर विज्ञानको भाषामा यो प्रश्नको उत्तरमा नै संसार र सारा प्राणी जगतको अस्तित्व अडेको छ। आज यही प्रश्न र यससँग सम्बन्धित केही स्वास्थ्य सम्बन्धि समस्याहरुका बारेमा चर्चा गर्दैछु।

माथिको प्रश्नको उत्तर दिनु अघि अर्को प्रश्नको उत्तर थाहा पाउनुपर्ने हुन्छ। मानिसले ठ्याक्कै मानिस नै कसरी जन्माउँछ अथवा कुनै पनि जीवले ठ्याक्कै त्यही जीव कसरी जन्माउँछ, जस्तै विरालोले विरालो नै, कुखुराले कुखुरा नै। सामान्यरुपमा सोच्दा यी बौलाहा प्रश्नहरु हुन् तर संसारका सम्पूर्ण जीवीत वस्तु (प्राणी वा वनस्पति)को आधार त्यसैमा अडेको छ। यसलाई प्रजनन शक्ति/ Reproduction भनिन्छ। र यसरी आफू जस्तै अर्को जीवनको शुरुवात गर्ने क्षमता क्रोमोजोम/Chromosome भन्ने कुरामा रहेको हुन्छ। हरेक जीवीत वस्तुको शरीरका कोषहरुमा एउटा निश्चित संख्याका क्रोमोजोमहरु रहेका हुन्छन्। यी क्रोमोजोमहरु जोडीमा मिलेर बसेका हुन्छन्। जस्तै हरेक सामान्य मानिसका कोषहरुमा ४६ वटा वा २३ जोडा क्रोमोजोमहरु हुन्छन्। त्यस्तै बिरालोको १९ जोडा, कुखुराको ३९ जोडा क्रोमोजोम हुन्छन्। तर फरक देखिनु क्रोमोजोम को सँख्यामा मात्र नभै त्यस्मा हुने जीनहरु/Genes मा पनि भर पर्छ।

क्रोमोजोमहरु हजारौ लाखौं जीनहरु मिलेर बनेका हुन्छन्, जसमा जीवीत वस्तुका विभिन्न गुणहरुका मेमोरी/memory (सम्झना) बसेको हुन्छ। आँखा कस्तो हुने, कपालको रंग कस्तो हुने, कतिको अग्लो हुने, छालाको रंग कस्तो हुने जस्ता विभिन्न गुणहरु यिनै क्रोमोजोममा भएका जीनहरुले निर्धारण गर्छन्। र यी जीनहरु बच्चाहरुले आमाबुवाबाट पाउने गर्छन्, त्यसैले त साधारणतया बच्चाहरुमा आमाबुवाका जस्ता शारिरीक गुणहरु देखिन्छन्।

मानिसमा हुने २३ जोडा क्रोमोजोमहरुमा २२ जोडा अटोजोम/Autosome र १ जोडा सेक्स क्रोमोजोम/Sex chromosome हुन्छन्। अटोजोममा शरीरका विभिन्न गुणहरुको सम्झना/ मेमोरी रहेको हुन्छ र त्यसैका आधारमा बच्चाको शरीरको निर्माण हुन्छ भने सेक्स क्रोमोजोममा मुख्यरुपमा बच्चाको लिङ निर्धारण गर्ने मेमोरी रहेको हुन्छ। महिलामा यो एक्स-एक्स/XX र पुरुषमा एक्स-वाई/XY रहेको हुन्छ।






यौनसम्पर्कको बेलामा पुरुषको वीर्य/Semen महिलाको योनीमार्गमा छोडिन्छ। वीर्यमा करोडौंको संख्यामा शुक्रकिटहरु/Spermatozoa हुन्छन्, जुन गएर महिलाको डिम्बाशय/Ovaryबाट निस्केको डिम्ब/Ovumसँग फेलोपियन ट्युव/Fallopian tubeमा मिल्छ। यसलाई फर्टिलाईजेसन/Fertilization वा डिम्ब निशेचन हुनु भनिन्छ। यही फर्टिलाइजेसन हुने बेलामा बन्ने नयाँ जाइगोट/Zygote वा नयाँ जीवन एक्स-एक्स/XX हुने वा एक्स-वाई/XY हुने भनेर फैसला हुन्छ र त्यहीबाट शुरु हुन्छ छोरा वा छोरीको जन्म हुने कथा।


शुक्रकिट/Spermatozoon र डिम्ब/Ovum भनेका के हुन्?
यी वास्तवमै मानिसको जीवनका उदगम विन्दुहरु हुन्। माथि भनेको जस्तो मानिसको हरेक कोषिका/Cellमा २३ जोडा क्रोमोजोम हुने भए शुक्रकिट र डिम्ब (जुन पनि मानव शरीरका एक प्रकारका कोषहरु हुन्) मिलेर नयाँ कोष बन्दा त्यसमा किन ४६ जोडा क्रोमोजोम भएर त्यो अर्कै जीव किन बन्दैन? यसैमा प्रकृतिको जादु लुकेको छ। हरेक कोषको विभाजन भएर नयाँ कोष बन्ने बेलामा साधारणत: माइटोसिस/Mitosis प्रकृयाबाट जस्ताको तस्तै १ बाट २ र २ बाट ४ कोषहरु बन्छन्। तर प्रजननका लागि प्रयोग हुने कोषहरु पुरुषमा शुक्रकिट र महिलामा डिम्ब बन्ने बेलामा केहि फरक हुन्छ। यसलाई मिओसिस/Meiosis प्रकृया भनिन्छ। यो प्रकृयामा पुरुषमा एउटा कोषबाट चारवटा शुक्रकिटहरु/Spermatozoa बन्छन्, जसमा २३ वटा मात्रै क्रोमोजोम हुन्छन्। त्यस्तै महिलामा पनि २३ वटा क्रोमोजोम भएका चारवटै कोष बन्छन्, जसमा एउटा मात्र डिम्ब/Ovum बन्छ र बाँकी ३ वटा पोलार बडिज/Polar bodies बन्छन्।

माथि भनिएजस्तै महिला र पुरुषका शरीरका कोषहरुमा भएका अटोजोमल क्रोमोजोमहरु एकै खालका हुन्छन् तर १ जोडा क्रोमोजोमहरु, जसलाई सेक्स क्रोमोजोम/Sex chromosomes भनिन्छ, तिनीहरु केही फरक हुन्छन्। महिलामा यो एक्स-एक्स/XX हुन्छ भने पुरुषमा एक्स-वाई/XY हुन्छ। यसैले नै मानिसको लिगं निर्धारण गर्ने काम गरेको हुन्छ।

पुरुषमा शुक्रकिट बन्ने बेलामा हुने मिओसिस प्रकृयामा बन्ने चारवटा शुक्रकिटहरुमा दुईटामा एक्स/X सेक्स क्रोमोजोम र बाँकी दुईटामा वाई/Y बस्न जान्छन्। महिलामा भने बन्ने एउटै डिम्बमा एक्स/X क्रोमोजोम बस्छ। फर्टिलाइजेसनको बेलामा यदी एक्स/X बोकेको शुक्रकिट र डिम्बको मिलन भएमा नयाँ कोष/जाइगोट/ एक्स-एक्स (XX) सेक्स क्रोमोजोम भएको बन्छ, जुन पछि गएर छोरी बन्छ। त्यस्तै वाई/Y बोकेको शुक्रकिट र डिम्बको मिलन भएमा एक्स-वाई(XY) सेक्स क्रोमोजोम भएको जाइगोट बन्छ, जसबाट छोराको जन्म हुन्छ।

यो त भयो क्रोमोजोमल सेक्स/Chromosomal sex को कुरा। अर्को हुन्छ, बाहिरबाट देखिने शारीरिक रुपमा महिला वा पुरुष भन्ने कुरा।

वाई/Y क्रोमोजोम हुदैंमा बच्चाको कसरी पुरुषको प्रजनन अंगको र नहुदैंमा कसरी महिलाको प्रजनन अंगको विकास हुन्छ? 
यसमा वाई/Y क्रोमोजोममा भएका जीनहरुले काम गर्छन्। भ्रुणमा प्रजनन अंगहरु बन्नको लागि मुलेरियन डक्ट/Mullerian Duct/Paramesonephric Ductवुल्फियन डक्ट/Wollfian duct/Mesonephric Duct गरी २ प्रकारका नलीहरु हुन्छन्। मुलेरियन डक्टबाट महिलाको भित्री प्रजनन अंगहरु जस्तै फेलोपियन ट्युव, पाठेघर, योनीको भित्री भाग आदी बन्छ भने वुल्फियन डक्टबाट पुरुषको भित्री प्रजनन अंगहरु जस्तै इपीडिडाइमिस/Epididymis, भास डिफरेन्स/Vas deferens आदी भागहरु बन्छन्। डिम्बाशय र अण्डकोष भने अर्कै भागबाट बन्ने गर्छ।

वाई/Y क्रोमोजोमको जीनले बनाउने टेस्टिस डिटरमाइनिगं फ्याक्टर/Testes Determing Factor/टिडिएफ (TDF) ले भ्रुणमा अण्डकोष बनाउने गर्छ, जुन बनेपछि पुरुष हर्मोन टेस्टोसटेरोन/Testosterone, डिएचटी/DHT, मुलेरियन इन्हीबिटिगं फ्याक्टर/Mullerian Inhibiting Factor/एमआईएफ(MIF) उत्पादन गर्छ। यी हर्मोनहरुले मुलेरियन डक्टको विकासलाई रोक्छ र वुल्फियन डक्टको विकासलाई सहयोग गर्छ, जसले गर्दा भ्रुणमा पुरुष प्रजनन अंगहरुको विकास हुनगई बच्चा पूर्णरुपमा छोराको रुपमा जन्म लिन्छ। र यदी वाई/Y क्रोमोजोम छैन भने मुलेरियन डक्टको विकास हुनगई भ्रुण छोरीको रुपमा विकसित हुन्छ।

यो त सामान्य अवस्थामा भ्रुण छोरा वा छोरी बन्ने प्रकृया भयो।
यदी यसमा केही गडबडी भयो भने के हुन्छ?


जस्तै फर्टिलाइजेसन हुँदा एक्स-ओ/XO भएमा अर्थात डिम्ब वा शुक्रकिट कुनै एक सेक्स क्रोमोजोम नै नभएको परेमा के हुन्छ? अथवा एक्स-एक्स-वाई/XXY अर्थात एउटा एक्स क्रोमोजोम बढी भएमा के हुन्छ? त्यस्तै फर्टिलाइजेसन त एक्स-वाई/XY को रुपमा भयो अर्थात क्रोमोजोमल सेक्स पुरुषको तर शारीरिक विकास महिलाको रुपमा हुनसक्छ कि सक्दैन?

यी र यस्तै स्वास्थ्य सम्बन्धी समस्याहरुको बारेमा अर्को भागमा चर्चा गर्नेछु।


स्रोतहरु:



बाँकी पढ्नुहोस् >>